शृंगी ऋषिका शाप परेकाले, नागराज तक्षकको उग्र डँसाइबाट ६० वर्षको उमेरमा राजा परीक्षितको दुःखद कारुणिक निधन भइसकेपछि, राज्यव्यवस्थाको उच्चतम निकायका सदस्यहरुको सर्वसम्मतिले भरखरैको उमेरका नवयुवा राजपुत्र जनमेजयलाई हस्तिनापुरको राजा बनाइयो ।

राजा जनमेजय परीक्षितका छोरा, अभिमन्युका र उत्तराका नाती र त्रिभुवनैकख्यात पराक्रमी गाण्डीवी अर्जुन र सुभद्राका पनाति थिए । राजा भइसकेपछि उनलाई मन्त्रिपरिषद्का मान्य मन्त्रिगणबाट आफ्ना पिताको अल्पायुमै भएको निधन बारे यथार्थ विवरण सबै विदित भएपछि, पिताको आत्माको शान्तिकामनाका साथ, प्रतिशोधको भावना लिएर उनले आफ्ना पिताको हत्यारालाई समुचित दण्ड दिने निधो गरी भयानक, अकृतपूर्व सर्पयज्ञको अनुष्ठान विधिपूर्वक आयोजना गर्ने निधो गरे ।

यज्ञ गर्ने निश्चय भएपछि राजा जनमेजयको आज्ञाले यज्ञमण्डपको तैयारी प्रारम्भ भयो । यज्ञविद् तपोपूत पुरोहितहरुको ठहरअनुसार निश्चित गरिएको स्थानमा यज्ञमण्डपको निर्माण हुन लाग्दै गर्दा एउटा अनिष्ट देखा परयो । वास्तुशास्त्रमा पारंगत विद्वान् एवं अनुभवसम्पन्न शिल्पवेत्ता सूतले आएर भने : जुन ठाउँमा यज्ञमण्डपको नापो लिने काम हुँदैछ त्यहाँ जोखाना हेर्दा के संकेत मिल्दछ भने : यो यज्ञ सम्पन्न हुन सक्दैन, एक जना तपोनिष्ठ ब्राह्मणले आएर यज्ञानुष्ठानलाई रोकिदिनेछन् ।

नयाँ राजाले दृढ हुँदै भने : त्यहाँ कुनै पनि अपरिचित व्यक्तिलाई आउन कडाइका साथ अनुमतिबिना प्रवेश निषेध गरिनेछ, अनि हेरौं त ! कसले रोक्दो रहेछ यज्ञ ?

त्यसपछि विनाअवरोध एक भव्य यज्ञमण्डप बन्यो । अनि विधिवत् शुभ साइतमा सर्पयज्ञका विशेषज्ञ नैष्ठिक पुरोहितको निर्देशन अनुसार यज्ञानुष्ठान प्रारम्भ भयो । ऋत्विग्हरुले त्यस अभिचारनिमित्तक यज्ञमा काला कपडा लगाएका थिए । विधिवत् मन्त्रोच्चारण गर्दै सर्पजातिलाई उद्देश्य गरेर स्वाहा गर्दा अनन्त आकाशबाट नजाने कहाँ कहाँका सर्पहरु विवश हुँदै, रुँदै कराउँदै आएर त्यस भयंकर यज्ञज्वालावलीमा होमिन्थे । ती अनेकौँ रंग, जाति, प्रकार र स्वरूपका थिए । एक अंगुली लम्बाइका ससाना अणुप्रमाण सर्पदेखि लिएर योजनौं लामा विशालाकार सर्पहरु जसमध्य् कसैका दुई शिर, कसैका तीन, कसैका पाँच, अनि कसैका सात शिर थिए– ती सबै पनि धमाधम विराट् गगनावकाशमा कतै अज्ञात ठाउँबाट उदित हुन्थे र विवशतासाथ क्रन्दन गर्दै, छटपटाउँदै त्यस विकराल ज्वालावलीमा होमिन्थे ।

त्यस यज्ञमा तत्कालीन ख्यातनामा यज्ञविद् श्रेष्ठ ब्राह्मणहरु प्रायः सबै ऋत्विक् र तिनका सदस्य बनेका थिए । यथा :  च्यवनवंशज चण्डभार्गव, कौत्स, जैमिनि ब्रह्मा, शाङ्र्गरव र पिंगल यी सबै अध्वर्यु थिए । त्यसै गरी सशिष्य भगवान् वेदव्यास, उद्दालक, प्रमतक, श्वेतकेतु, पिंगल, असित, देवल, नारद, आत्रेय, श्रुतश्रवा, देवशर्मा, मौद्गल्य आदि धेरै ब्राह्मणहरु त्यस यज्ञानुष्ठान समितिका सदस्य थिए ।

त्यो भयानक ज्वालावलीमा सर्पहरु अनवरत जलेकाले सारा वातावरण दारुण दुर्गन्धले व्याप्त बनेको थियो । सर्पहरुको करुण क्रन्दनले दशै दिशा भीषण कोलाहलमय बनेको थियो । सर्पका मेदा र चर्बी पग्लिएर कैयौँ खोल्साहरु त्यहाँ बगिरहेका थिए । परिवेश बीभत्स बन्दै गइरहेको थियो ।

एता, राजा परीक्षितका असली हत्यारा नागराज तक्षकचाहिं परैबाट यो सारा वृत्तान्त सुनेर भयभीत हुँदै देवराज इन्द्रका शरणमा पुगेको थिए । इन्द्रले भने : तिमी मेरो घरमा सुरक्षित छौ, म शरणको मरण हुन दिन्नँ, निर्भय बनेर बस । उता नागराज वासुकिलाई पनि मन्त्रबलले मूच्र्छा आउन थाल्यो । शरीरमा जलन हुन थाल्यो । उनले आफ्नी बहिनी जरत्कारुलाई भने : बहिनी, अब संकटको घडी आउन लाग्यो, म पनि मन्त्रबलले अवश बनेर त्यस भीषण अग्नितिर तानिन लागिसकें । अब विलम्ब नगर । हामीले तिम्रो बिहा तपस्वी ब्राह्मण जरत्कारुसँग गराएको पनि यसै दिनका लागि हो, अब आफ्नो छोरा, हाम्रा भान्जा– तपस्वी तेजोमय ब्रह्मचारी अस्तीकलाई यो सर्पयज्ञ रोक्नका लागि चाँडै पठाऊ । मलाई स्वयं ब्रह्माले यसै भन्नुभएको थियो : आस्तीकले नै सर्पयज्ञ रोक्नेछन् ।

हवस् दाजु! भनेर जरत्कारुले आफ्नो छोरो आस्तीकलाई सबै पुरावृत्त बेलिविस्तार लगाएर भनिन् : बाबू, अब तिमी जाऊ र त्यो यज्ञ बन्द गराऊ, समस्त मातृकुललाई बचाऊ ।

हवस् मात!, भनेर ती ब्रह्मवर्चस्ले देदीप्यमान आस्तीक यज्ञस्थलतिर प्रस्थान गरे । तर, त्यहाँ नियुक्त रक्षकहरुले उनलाई यज्ञक्षेत्रमा प्रवेश गर्न दिएनन् । उनले त्यसै यज्ञस्थलको निकट रहेर राजा जनमेजय, ऋत्विक्गण तिनका सदस्य अनि स्वयं अग्निदेवको भव्य स्तुति गर्न लागे ।

उनको त्यो भव्य ओजोमय वाणीमा गरिएको उत्तम स्तुति सुनेर ती सबै प्रसन्न भए । राजा जनमेजयले भने : हे आदरणीय ब्राह्णगण, यी बालक बालकै भए तापनि यिनको वाणीमा जुन दिव्यता छ, ओज छ अनि उत्तम कवित्व छ, त्यो सुन्दा सुनीरहूँ जस्तो लाग्ने छ । यिनका स्तुति पद्धति सुनेर मेरो मन परमआनन्दित बनेको छ । म यिनलाई यिनले इच्छाएको वर दिन चाहन्छु । तपाइँहरु के भन्नुहुन्छ ?

सबैले एकमतले भने : हो, यिनलाई अभीप्सित वर दिनु उपयुक्त हो ।

राजाले आस्तीकलाई भने : हे तेजोनिधि ब्रह्मचारी, तपाइँको उत्तम प्रतिभा देखेर म प्रसन्न भएँ, तपाइँ के चाहनुहुन्छ , माग्नुहोस् म तपाइँको अभीप्सित वर दिने प्रतिज्ञा गर्दछु ।

उता यज्ञ चलिरहेकै थियो । नागराज तक्षकका नाममा मन्त्र पढिसकिएको थियो । उनी छट्पटाउन थालिसकेका थिए । इन्द्रका विमानमा उनी लुकेको थाहा पाएर ती होताहरुले इन्द्रसहित तक्षकलाई उद्देश्य गरेर मन्त्र उच्चारण गरे । विवश बनेर इन्द्र स्वयं स्वर्गबाट तल झरे । त्यहाँ उनले त्यो भयानक यज्ञ देखेर त्राहि माम् हुँदै तक्षकलाई त्यहीं छोडेर स्वर्गलोकतिर कुलेलम ठोके । तक्षक मन्त्रबलले बेहोश बनेर अग्निमा होमिनै लागेका थिए ।

यही सबैभन्दा उपयुक्त वेला हो– भन्ने बुझेर आस्तीकले भने : तपाइँ साँच्चिकै मसँग प्रसन्न हुनुहुन्छ र आफ्नो वचन पूरा गर्न प्रतिबद्ध हुनुहुन्छ भने म एउटै कुरा माग्दछु : यो यज्ञ तत्काल बन्द गराउनुहोस् । अब यस यज्ञकुण्डमा एउटै सर्प पनि नखसोस् !

राजा परीक्षित् खङ्र्याङ् खुंग्रुङ् भए । उनले भने : अरु नै केही माग्नुभए हुन्थ्यो , धन सम्पत्ति जे जति चाहिन्छ म सबै दिन तैयार छु ।

तर आस्तीक आफ्नो मागबाट पछि हटेनन् । राजाले बिलखबन्दमा परेर सकल याज्ञिक ब्राह्मणहरुलाई सोधे : अब के गर्ने ?

सबैले एकमुख लागेर भने : ती तेजोमय ब्राह्मणलाई वचन दिइसकेपछि त पूरा गर्नै पर्दछ, नत्र अनिष्ट हुन्छ ।

केही उपाय लागेन । आखिर, राजाले आफ्नो शिर झुकाएर आस्तीकको वचन पूरा गर्न करै लाग्यो ।

भयो के भने– त्यस यज्ञको प्रमुख लक्ष्य तक्षकको नाममा मन्त्र पढिसकिएको थियो र अब उनी त्यहाँ खस्नै लागेका थिए । इन्द्रले बीचमै छोडेर गएपछि बेहोश भएर आकाशबाट त्यस भीषण अग्निज्ज्वालामा खस्दै गरेका तक्षक नागलाई लक्ष्य गरेर, आकाशतिर हेर्दै आस्तीकले तीन पटक भने :

तिष्ठ, तिष्ठ, तिष्ठ : त्यहीं रोकिऊ, त्यहीं रोकिऊ, त्यहीं रोकिऊ !

अनि, उनको शब्दशक्तिले नागराज तक्षक आकाशमै जहाँको तहीं रोकिएका थिए ।

त्यसै बेला सबै यज्ञकर्ता ब्राह्मणहरुले राजा जनमेजयलाई– आफूले ती ब्रह्मचारीवटुलाई दिएको वचन पूरा गर्नैपर्छ – भन्ने वारवार आग्रह गरेपछि राजा जनमेजयले भन्न करै लाग्यो : तथास्तु । तपाइँको इच्छा पूरा होस् !

…..

यसरी, त्यो सर्पयज्ञको भीषण कृत्य तत्काल बन्द गराइयो, यसरी नागराज तक्षकको ज्यान बच्यो । सबै खुशी भए । तेजोनिधि ब्राह्मणवटुलाई वर दिन पाएर राजाको मन पनि प्रसन्न भयो । उनले त्यस यज्ञमा आएका समस्त पुरोहितगणलाई प्रशस्त धनधान्य पूर्वक यथेष्ट दक्षिणा दिएर प्रसन्न तुल्याए । ती तेजस्वी ब्राह्मणबटु अस्तीकलाई राजा जनमेजयले भने : म अब एउटा विराट् अश्वमेध यज्ञ गर्न लाग्दैछु । त्यसमा हजुरलाई निम्ता गर्दछु । कृपापूर्वक पाल्नुहोला र मलाई कृतार्थ तुल्याउनुहोला ।

आस्तीक पनि स्वीकृति दिँदै तथास्तु भनेर त्यहाँबाट विदा भए ।

अन्तमा नागराज वासुकि, नागराज तक्षक लगायत बचेका सबै नागगणले मुक्तकण्ठले आस्तीकको स्तुति गरे र भने : भान्जाबाबू, तपाइँले हामी सबैको ज्यान बचाइदिनुभयो, हामी तपाइँका लागि केही गर्न चाहन्छौ । भन्नुहोस्, तपाइँको कुन मनोरथ पूर्ण गरौं?

अस्तीकले भने : अरु त मलाई केही चाहिन्न । बस् यति नै चाहन्छु : हे नागगण, जो जसले प्रसन्नचित्तले मेरो यो उपाख्यान पढ्दछ, उसलाई तपाइँहरुबाट कुनै भय नहोस् ।

नागहरुले एकमुखले भने : तथास्तु ।

प्रिय पाठकवृन्द, अन्त्यमा महाभारत उद्घोष गर्दछ :

जसले असित, अर्तिमान्, र सुनीथ यी तीन मन्त्रलाई रात अथवा दिनमा स्मरण गर्दछ उसलाई सर्पबाट कहिल्यै कुनै भय हुनेछैन ।

हे महाविषधर सर्प, तपाईँ जानुहोस् । जनमेजय यज्ञको समाप्तिमा ऋषि आस्तीकलाई जे वचन दिनुभएको थियो त्यो स्मरण गर्नुहोस् । जुन सर्प आस्तीकका वचनको शपथ सुनेर पनि फर्किँदैन, त्यसको फणा सय टुक्रा भएर खस्नेछ :

असितं चार्तिमन्तं च सुनीथं चापि य : स्मरेत् ।

दिवा वा यदि वा रात्रौ नास्य सर्पभयं क्वचित् ।।

आस्तीकः सर्पसत्रे व : पन्नगान् योभ्यरक्षत ।

तं स्मरन्तं महाभागा न मां हिंसितुमर्हथ ।।

सर्पापसर्प भद्रं ते गच्छ सर्प महाविष ।

जनमेजयस्य यज्ञान्ते आस्तीकवचनं स्मर ।।

–महाभारत, आादि. ५८.२५

…………………………

महाभारत, आदिपर्वबाट ।