आमा कद्रूले आफूले भनेको नमान्ने जति सबै सन्तानहरुलाई शाप दिइन् :
तिमीहरु जलेर मर !
जेठा दाजु शेष तपस्या गर्न भनेर घर छोडेर हिँडिहाले । अनि माइला वासुकिका थाप्लामा सबै नौ सय अन्ठान्नब्बे भाइहरुको अभिभावकत्व आयो । सबैले एकमतले उनलाई नागराजका पदमा अभिषिक्त गरिदिए । अब, आमाको यो भयंकर शापबाट कसरी बच्ने भन्ने विषयमा गम्भीर छलफल गर्नुपरेकाले नागराज वासुकिले सबैलाई तु. आउनू भनेर बैठक डाके ।
सबै भेला भएपछि उनले भने :
हेर भाइ हो, आमाले हामीहरुलाई भयंकर शाप दिइहालिन्, उता स्वयं लोकपिता ब्रह्माले पनि त्यसको अनुमोदन गर्नुभयो । त्यसैले हाम्रा लागि यो एउटा गम्भीर समस्या खडा भएको छ । राजा जनमेजयले सर्पयज्ञ गर्ने तैयारी गरिरहेका छन्, जसमा हामी सबैलाई स्वाहा! गर्नेवाला छन् । अब यसबाट बच्ने उपाय त निकाल्नुप¥यो नि, त्यसैका लागि तिमीहरुलाई मैले बोलाएको हुँ । हेर भाइ हो, हामी नागजाति बल र बुद्धिमा पनि कोहीभन्दा केही कम छैनौं । जसरी परापूर्वकालमा सारा देउताहरु मिलेर गुफमा लुकेका अग्निदेवलाई खोजेर पत्ता लगाएका थिए त्यसै गरी हामी पनि सबै मिलेर यस समस्याको समाधान पत्ता लगाऔं । अब समाधानका पक्षमा सबैले आ–आफ्ना विचारहरु क्रमशः व्यक्त गर ।
तुरुन्तै केही मुखर नागहरुले एकमुख लागेर भने :
हामी सबै श्रेष्ठ ब्राह्मणको रूप धारण गरेर राजा जनमेजयको दरबारमा जाऔं र भिक्षा मागौं : तपाइँ यो सर्पयज्ञको अनुष्ठान रद्द गर्नुहोस् ।
आफूलाई निकै ठूला पण्डित ठान्ने केही नागले भने :
त्यसरी हुँदैन केटा हो । हामी सबै ती राजाका विश्वासपात्र मन्त्री बनौं । अनि उनले जुनसुकै काम गर्दा पनि हामीसँग मन्त्रणा गरिहाल्छन् , त्यसबेला हामी यस्तो भयंकर काम गर्नु इहलोक र परलोक दुवै बिगार्ने कुरा भएकाले यज्ञ गर्नु मुनासीब छैन तार्किक ढंगले मन्त्रणा गरौंला । काम भैगयो ।
अथवा, राजाले तैपनि मानेनन् भने, जो यस यज्ञका आचार्यमा नियुक्त होलान् उनैलाई हामीमध्ये कुनै एक भाइले गएर चूपचाप डसेर आऊँ, अनि कामै खत्तम । न रहे बाँस न बजे बाँसुरी !
यो सुनेर केही धर्मात्मा र दयालु स्वभावका नागहरुले भने :
यस्तो सोच्नु तिमीहरुको मूर्खता हो । ब्रह्महत्या गरेपछि झन् ठुलो आपत् आइलागिहाल्छ नि । यस्ता नीच काम गर्न थाल्ने हो भने यस्तो पापप्रवृत्ति समस्त जगत्मा फैलिनेछ र एक दिन सारा संसार समाप्त हुनेछ ।
आफूलाई चंख चलाख ठान्ने केही नागहरुले नयाँ जुक्ति झिके :
जब त्यो यज्ञ शुरु हुन्छ, हामी बिजुलीहरुसहित मेघ बनेर मुसलधारे वर्षा गरौं अनि आगो नै निभाइदिऔं न , कामै खतम् ।
अथवा, हामी सबै गएर त्यस यज्ञका सारा खानेकुरामा मलमूत्र विसर्जन गरेर आऔं, सक्किगो नि !
आफूलाई अझ बाठा ठान्ने केही नागहरुले नवीन युक्ति यसरी निकाले :
हामी यज्ञमा ऋत्विग् बनेर जाऔं । अनि, हामीले फर्माएको दक्षिणा देऊ भनेर आदेश गरौं । त्यसपछि आफूले जे चाहेको हो त्यो मागौं, भइगयो नि ।
अरु केही जब्बर नागहरुले यस्तो जुक्ति झिके :
त्यसो होइन । जब राजा जनमेजय जलक्रीडा गर्न जान्छन् त्यसबेला उनलाई त्यहाँबाट तानेर बलपूर्वक अपहरण गरी हामी आफ्ना घर लिएर आऔं र डोरीले टुन्क्याएर एक कुनामा थुपारौं न । अनि हेरम्, कसरी गर्दा रहेछन् सर्पयज्ञ !
यो झन्झटिलो उपाय केही नागहरुलाई मन परेन । आफूलाई निकै चनाखो ठान्ने तिनीहरुले भने :
हामी जनमेजयलाई समाएर डसिदिऊँ, राजा मरेपछि अनर्थको जडै सकिन्छ, भैगयो नि ।
अन्तमा सबै मिलेर एक स्वरमा भने :
हो हो , त्यही ठीक हो ! तेसै गरम् !!
र फेरि राजा वासुकितिर हेरेर भने :
हे आँखाले सुन्ने चक्षुश्रवा नागराज ! हामी सबैको बुद्धिले त यही निश्चय गर्यौं । तर तपाईं जे ठीक सम्झनुहुन्छ, हामीलाई आज्ञा गर्नुहोस् । त्यसै गरौँला ।
सबैले एकसाथ आफ्ना मुखतिर हेरेर पर्खिरहेको देखेर नागराज वासुकिले भने :
हे भाइहरु हो, तिमीहरुको बुद्धिले जे जति उपाय निकाल्यौ, त्यसका लागि धन्यवाद । तर ती कुनै पनि उपाय व्यवहारमा ल्याउन मिल्ने देखिँदैनन् । जसरी तिमीहरुका विचार मलाई जँचेन, हुनसक्छ मेरो विचार पनि तिमीहरुलाई नजँचोस् । तर, म के भन्छु भने : म तिमीहरु सबैको अभिभावक नागराज भएकाले तिमीहरु सबैको कल्याण हुने काम गर्नु नै मेरो एकमात्र कर्तव्य हो । मेरा विचारमा त यस समस्याको समाधानका लागि हाम्रा मावली हजुरबा महर्षि कश्यपलाई प्रसन्न तुल्याउनु नै उपयुक्त हुन्छ जस्तो लाग्दछ । उहाँले जे उपाय बताउनुहुन्छ – त्यसैबाट हामी नागजातिको कल्याण होला भन्ने मेरो विचार छ ।
ती सबै नागमध्ये तेह्रौं भाइ थियो : एलापत्र । त्यो वास्तवमै निकै ज्ञानी र भलादमी पनि थियो । उसले अन्तमा मुख खोल्यो :
भाइहरु हो, मेरा विचारमा यो सम्भव छैन कि : यो सर्पयज्ञ नहोस् । अनि यो पनि सम्भव छैन कि : राजा जनमेजयको कुनै बिगार हामीले गर्न सकौंला । हे राजन्, यस लोकमा जो व्यक्ति दैवाहत हुन्छ उसले त्यसबाट मुक्त हुन पनि दैवकै शरणमा जान पर्छ । भाइहरु सुन, जब आमाले हामीलाई यो भयंकार शाप दिनुभएको थियो त्यसबेला तिमीहरु सबैको त भागाभाग भैहाल्यो, तर म डरका मारे आमाकै काखमा लुक्न पुगेंछु । त्यसै बेला दुःखी हुँदै स्वयं लोकपिता ब्रह्माका समीप आएका देवगणले भने : ओहो, स्त्रीहरुको स्वभाव बडो कठोर, बडो कठोर ! हे देवदेव पितामह, तीक्ष्ण स्वभाव भएकी यो क्रूर कदू्रबाहेक यस जगत्मा त्यस्ती को आमा होली जसले प्रिय पुत्रहरुलाई यति कठोर शाप दिंदी हो, त्यो पनि तपाइँकै सामू । हे पितामह, फेरि तपाइँले तथास्तु भनेर कद्रूका शापको अनुमोदनै गर्नुभयो नि, आखिर किन, हामी जान्न चाहन्छौं ।
ब्रह्माले भन्नुभयो :
आजभोलि भयानक रूप र उग्र बिषले अझ भयंकर बनेका यी सर्पहरुको उपद्रो धेरै बढेको छ । समस्त प्रजाजनको हितका लागि नै मैले अनुमोदन गरेको हुँ । हेर देवगण, जनमेजयको सर्पयज्ञमा त्यस्ता सर्पहरु मात्र डढेर मर्नेछन्, जो क्षुद्र स्वभावका छन् र निर्दोष प्राणीहरुलाई पनि जथाभावी डस्दै हिँड्छन् तेस्ता पापाचारीहरुको मात्र विनाश हुनेछ, जो धर्मात्मा छन् तिनलाई केही हुने छैन । अनि समय आएपछि सर्पजातिलाई यो महान् भयबाट छुटकारा पनि मिल्नेछ । यसको पनि उपाय छ । त्यो कसरी भने : पछि गएर यायावर कुलमा जरत्कारु नामका एक महातपस्वी ब्राह्मण हुनेछन् । तिनीबाट एक महातेजस्वी तपोनिष्ठ पुत्र आस्तीक जन्मनेछन्, जसले त्यो सर्पयज्ञलाई बन्द गराइदिनेछन् ।
फेरि देवताहरुले सोधे :
ती जरत्कारु ब्राह्मणले कसको गर्भबाट त्यस्तो पुत्र जन्माउनेछन् प्रभो !
अनि प्रजापतिले भन्नुभयो :
जरत्कारुले आफ्नैजस्तो नाम भएकी कन्यासँग बिहा गर्नेछन् । सर्पराज वासुकिकी बहिनीको नाम पनि जरत्कारु नै राखेका छन् । तिनैको गर्भबाट त्यो तेजस्वी ब्राह्मण आस्तीक जन्मनेछ ।
अन्तमा एलापत्रले भन्यो :
त्यसैले हे नागराज वासुकि, म त के भन्दछु भने तपाइँ जानुहोस् र ती परमतपस्वी यायावर ब्राह्मण जरत्कारुलाई खोज्नुहोस् । हाम्री प्यारी बहिनी जरत्कारु उनलाई भिक्षाका रूपमा दिनुहोस् । यस भयंकर मातृशापबाट छुट्ने एकमात्र उपाय यही हो ।
सबैले यस कुराको अनुमोदन गरे र बैठक टुंगियो । अनि वासुकिले त्यसै दिनदेखि हाम्रो विपत्तिनाश गर्ने बहिनी यही हो भनेर जरत्कारुलाई धेरै माया गरेर हुर्काउन लागे ।
….
त्यसपछि देवता र असुर मिलेर समुद्रमन्थन गरे । त्यसको सबैभन्दा ठूलो लाभ देवताहरुलाई भयो, किनभने तिनीहरुले अमृत पाए । त्यस कार्यमा मन्दराचलरूपी मदानीको नेती बनेर नागराज वासुकिले सारा देवगणलाई ठूलो गुन लगाएका थिए । हुन त एलापत्रले शापमुक्तिको रहस्य बताएकै थियो । तैपनि त्यो पक्का हो होइन वासुकिलाई निधो गर्न मन लाग्यो । उनले देवगणलाई आफूलाई परेको मर्का सबै भने । उनको पीडा बुझेर सारा देवगणले ब्रह्माजीलाई सिफारिश गरे :
यिनले हामीलाई ठूलो गुन लाएका छन् । माताको शापबाट मुक्त तुल्याउन अब हामीले यिनको मदत गर्न पाए हुन्थ्यो ।
ब्रह्माले भन्नुभयो :
एलापत्रलाई त्यो बैठकमा त्यसो भन्न मैले नै प्रेरित गरेको हुँ । उसले जे भन्यो त्यो सबै साँचो हो । त्यस यज्ञमा पापाचारी सर्पहरु मात्र डढेर मर्नेछन् । बाँकी सबै धर्मात्मा नागहरुलाई आस्तीकले नै बचाउनेछन् । हे वासुकि , तिमी ढुक्क परेर जाऊ र ऋषि जरत्कारुसँग आफ्नी बहिनी जरत्कारुको बिहे गर्ने चाँजोपाँजो मिलाऊ ।
यो कुरा सुनेर प्रसन्न हुँदै ब्रह्माजीलाई प्रणाम गरी ढुक्क हुँदै नागराज वासुकि विदा भए । अनि जरत्कारु ऋषिका वारेमा पत्तो लाउन सारा भाइहरुलाई आज्ञा दिए ।
…..
महाभारत आदिपर्वबाट ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।