‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक – राजेश ढुंगानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’, जानुका गुरागाईंको ‘परिवेशका सुसेली’, रिवाज रोक्काको ‘पथिक’, रमण जैसरीको ‘कथा हुन् कथा हैनन्’ ।

—-

१. सुकिला मान्छेको सामूहिक मृत्यु – राजेश ढुंगाना

कवि तथा साहित्यकार राजेश ढुंगानाकृत कवितासंग्रह हो – “सुकिला मान्छेको सामूहिक मृत्यु” ।

१ सय २४ पृष्ठमा आबद्ध यस कृतिमा ‘मान्छे’, ‘जनता’, ‘हामी आफैँले’, ‘आफ्नै मृत्युको समाचार’, ‘राजेश ढुंगाना अर्थात् म आफ्नै दृष्टिमा’, ‘रोजाइ’, ‘सुकिला मान्छेको सामूहित मृत्यु’, ‘यात्रा प्रारम्भ गरे हुन्छ’, ‘आधुनिक ताजमहल’ लगायत ५५ थान कविता संग्रहित छन् ।

ढुंगानाको कवितासंग्रहबारे ध्रुवचन्द्र गौतम लेख्छन्, “ढुंगानाका कविता मानिस, मन, स्वतन्त्रता, देश र जनता वरिपरि घुमेका छन् । कवितामा आफ्नो समयप्रति चिन्तन र चिन्ता दुबै बलियो किसिमले व्यक्त भएका छन् । निराशाको बादल पनि छ, तर फेरि उनै कवितामा जिजीविषा र आशाको सङ्केत पनि घतलाग्दो गरी प्रयोग गरिएको छ । यी सङ्केतहरू पर्याप्त व्याख्यात्मक छन्, जस्तो :

मान्छेको लागि मान्छे

स्वयम् आफैँमा

एउटा सिङ्गो ब्रह्माण्ड छ

अथवा

मरुभूमिमा नै बाँच्नुपरे पनि

हामी मान्छे

निराश बन्नु हुँदैन

क्याक्टसमा पनि त

जीवन हुन्छ मान्छेले आँटेपछि

सदैव डढेलो लागिरहने सूर्यमै पनि कुनै दिन

ओस पलाउन सक्छ ।”

पुस्तकको पछाडि बाहिरी पृष्ठमा अशेष मल्ल लेख्छन्, “राजेश ढुंगाना कविताका अक्षरहरूमा मानौँ आफ्ना जीवन बिच्छ्याउन चाहन्छन् । जीवन दर्शनको बोझिलो व्याख्या होइन प्रेमको सुमधुर भाव हो, उनका कविता बुझ्न यति बुझे पुग्छ । उनका पछिल्ला कविताहरू पढेपछि यस्तै अनुभूत भयो । हुन त यस संग्रहमा नयाँ कविता छैनन् । साढे तीन दशकको उनको काव्य यात्रा नै यस संग्रहमा भेटिन्छ (त्यसो त यतिबेला दोस्रो संस्करण निस्कँदा उनको कविता यात्रा साढे चार दशक पुगेको छ) ती सबै कविताहरूको अध्ययन गर्दा प्रस्तुतिमा केही फरक अवश्य देखिन्छ । तर, समग्रतामा उनको एउटा मूल विशेषता भने टड्कारो देख्न सकिन्छ, त्यो हो- मानवतावादी चिन्तन ।”

पुस्तकको पछाडि पृष्ठमा डा. विष्णुविभु घिमिरे लेख्छन्, “आकारमा छोटा-छोटा लाग्ने उनका कविता अत्यन्त तीक्ष्ण भाव र भावनालाई समातेर कलात्मक रूपमा अभिव्यक्त भएका छन् । प्रतीक र विम्बहरूको सन्तुलित प्रयोग र सरल भाषामा बुनिएका यी कविताहरूमा जो कोही पाठक पनि गहिरो रूपमा आकर्षित हुन्छ । माया प्रेम, निस्सारता, विद्रोह र मानवीय स्वतन्त्रता उनका सिर्जनामा पाइने मूल विशेषता भनौं या दर्शन जे भने पनि राजेशभित्रको कवि प्रवल चेतना बीचबाट निरन्तर कविता भएर पहाडको छाती फुटाएर जन्मेको नदी झैँ सलल बगेको म अनुभूति गर्छु ।”

पुस्तकलाई मुकुन्द ढुंगानाले प्रकाशनमा ल्याएका हुन् । पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

—-

२. परिवेशका सुसेली – जानुका गुरागाईं

कवि तथा कथाकार जानुका गुरागाईंको पहिलो गजलसंग्रह हो – “परिवेशका सुसेली” ।

‘परिवेशका सुसेली’मा कुल १ सय थान गजल संग्रहित छन् । संग्रहका ९७ वटा गजल पाँच सेरमा, एउटा गजल ६ सेरमा र २ वटा गजल ७ सेरमा संरचित छन् ।

भूमिकामा हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ लेख्छन्, ”

वैदेशिक सहायता अर्थात् ऋण लिने कार्यप्रति व्यङ्ग्य:

नखोज्नू म भन्दै छु दाता निरन्तर

हुँदै हुन्न बुझ्नू मुनाफा निरन्तर (गजल नं ५४)

जीवन जिउने कला:

नजाने चल्न तालमा बेकार बन्छ जिन्दगी

छरे सुवास प्रेमका बहार बन्छ जिन्दगी (गजल नं ९०)

पशुप्रतिको प्रेम भाव:

ठानेर पशु हेला नगर्नू, कान छन् तिनका पनि शब्दार्थ छैनन् किन्तु,

अन्तर्ज्ञान छन् तिनका पनि (गजल नं ९४)

जीवन जगतप्रतिको अनुभूति:

कतै देख्छु काँडा कतै फूल हुन्छ

कतै नम्र माया कतै शूल हुन्छ (गजल नं ९७)

त्यस्तै, जनमानसमा खुब प्रचलित उखानलाई पनि आफ्ना सेरहरूमा प्रशस्त प्रयोग गर्नुभएको छ गजलकार गुरागाईँले । जस्तो कि,

दिलमा सियोझैँ पसेको थियो

अहो ! आज फाली बनी निस्कियो (गजल नं ४०)

यो गजल सङ्ग्रहमा भाषागत पक्षलाई नियालेर हेर्दा गजलकार जानुका गुरागाईँ सरल, स्पष्ट र स्वाभाविक अर्थ बोकेका शब्द र वाक्य रचनालाई महत्त्व दिनुहुन्छ भन्ने सहज अनुमान गर्न सकिन्छ । कम शैक्षिक योग्यता भएका दर्शक र पाठकहरूलाई पनि प्रत्येक शेरहरूको भाव बुझ्न कुनै कठिनाइ नहुने भाषाको प्रयोगले गजल लेखनमा सरलता र स्पष्टताको अपेक्षालाई न्याय दिनुभएको छ । गजलहरूमा बिम्ब, अलङ्कार र अमूर्त भावहरूको प्रयोगलाई गुरागाईंले प्रश्रय दिनुभएको छैन । यथार्थ चित्रण गरी पाठहरूसमक्ष पुऱ्याउन गजलकार माहिर हुनुहुन्छ । वर्णविन्यास र हिज्जेहरूको शुद्धतालाई पनि विशेष महत्त्व दिइएको सहजै देख्न सकिन्छ ।”

मिलनकुमार ढुङ्गाना उल्लेख गर्छन्, “जानुका गुरागाईंका गजलहरूमा पनि विविध क्षेत्रबाट विषयवस्तु ग्रहण गरिएको छ- प्रेम, शृङ्गार, समाज, राजनीति, विकृति- विसङ्गति, व्यङ्ग्यात्मकता आदि । सघनता भने राजनीतिक सामाजिक विषयवस्तुको देखिएको छ । हाम्रो समाज र राजनीतिमा रहेका विकृति-विसङ्गतिप्रति व्यङ्ग्य गरिएका सेरहरूकै प्रधानता यो सङ्ग्रहमा छ । कोमल भाव, हाम्रै परिवेशका घटना परिघटना, भाषिक सरलता र व्यङ्ग्यात्मकता आदिलाई नै वहाँको गजलकारिताका मुख्य विशेषता मान्न सकिन्छ ।”

१ सय ३९ पृष्ठमा बुनिएको ‘परिवेशका सुसेली’ को मूल्य ३ सय रुपियाँ रहेको छ । पुस्तकलाई सम्पूर्ण किताबले प्रकाशनमा ल्याएको हो ।

—-

३. पथिक – रिवाज रोक्का

लेखक तथा उपन्यासकार रिवाज रोक्काकृत नवीनतम उपन्यास हो – “पथिक” ।

दुई शब्दमा रिवाज रोक्का पुस्तकबारे उल्लेख गर्छन्, “पथिक अर्थात् एउटा पथ वा भनूँ बाटोमा हिँडिरहेको व्यक्ति । उपन्यास ‘पथिक’ एउटा त्यस्तै नायकको वरिपरि घुम्छ, जो पढ्दैन । उसलाई अरू नै केही कुराको नशा छ । त्यही नशाका माध्यमबाट ऊ प्रसिद्ध बन्छ । सफल हुन्छ ।

कति पढ्नु ? र, अझै कति पढ्नुपर्ने ? के नपढी चाहिँ जीवन सफल हुन सक्दैन ? के नपढी ठूलो मान्छे बन्न सकिँदैन ? यही सोचबाट सिर्जित उपन्यास हो पथिक ।

‘पढ्नु भनेको सिक्नु हो र सिक्नका लागि पढ्नु नै पर्छ भन्ने छैन, पढाइबाहेक अन्य माध्यमबाट पनि हामीले सिक्न सक्छौं भन्ने कुरालाई उपन्यासको नायकका माध्यमबाट मनमोहक शैलीमा प्रस्तुत गरिएको छ ।”

उपन्यासभित्र लेखिएको छ, “पागल वैज्ञानिक टाइम-मेसिन बनाउने धुनमा छ। उसले टाइम-मेसिन त बनाउन सक्दैन, तर एउटा यस्तो प्रविधि पत्ता लगाउँछ, जसले गर्दा मानिसको आँखाले देख्ने र दिमागले प्रशोधन गर्ने क्षमतालाई आवश्यकताअनुसार बढाउन वा घटाउन सकिन्छ । क्षमता बढाउँदा शरीरका हरेक गतिविधिमा तीव्रता आउने हुनाले आफूअघि घटित हरेक घटनालाई अति नै सूक्ष्म अन्तरालमा देख्न सकिने हुन्छ । यसले गर्दा समय रोकिएको भान हुन्छ । तर, क्षमता घटाउँदा त्यसको विपरीत हुन गई समय अति नै तीव्र रूपमा चल्न थालेर आफू रोकिन पुग्छ । वैज्ञानिकले त्यो प्रविधि एउटा घडीमा हालेर घडीको एउटा बटन थिच्दा समय रोकिने र अर्को बटन थिच्दा आफू रोकिने बनाएको हुन्छ । वैज्ञानिकले बिर्सेर । समय रोक्ने बटनको सट्टा आफूलाई रोक्ने बटन थिच्छ । आफूलाई रोकेको हुनाले ऊ मूर्तिजस्तो हुन पुग्छ ।”

पुस्तकलाई लाइफ रिसर्च एण्ड पब्लिकेशन प्रा. लि. ले बजारमा ल्याएको हो । ४ सय १६ पृष्ठको ‘पथिक’ उपन्यासको मूल्य ७ सय ७५ रुपियाँ रहेको छ ।

—-

४. कथा हुन् कथा हैनन् – रमण जैसेरी

कथाकार तथा नियात्राकार रमण जैसरीकृत नवीनतम कथासंग्रह हो – “कथा हुन् कथा हैनन्” ।

२ सय १२ पृष्ठमा मौलाएको यस संग्रहमा ‘मासुभात’, ‘मायालु कलिङ्’, ‘अन्तिम क्रान्ति’, ‘कट्टु’, ‘गुलाबको कथा’, ‘के यो माया हो र ?’, ‘छाता’, ‘छोराको जन्मदिन’, ‘आधा सगरमाथा’, ‘मास्टरी’, ‘४ युरो ५० सेन्ट’, ‘माया गरेको पो त लाटी !’, ‘टीका’ गरी १३ थान कथा संग्रहित छन् । संग्रहित कथाहरू फरक र आकर्षित छन् । सरल र मीठो भाषाशैलीमा बुनिएका कथाहरूमा प्रायः प्रेम फुलेको छ भने कताकतै जनयुद्धको व्यथा पनि जुमेको पाइन्छ । कथाहरूमा समाजको आवाज पाइन्छ भने पात्रहरू काल्पना भन्दा यथार्थबाट उत्रिएका छन् ।

आफ्नो संग्रहको बारेमा जैसरी पुष्टि गर्छन्, “भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा हामीले आफू वरपरको समाज देख्न सक्छौं । त्यस्तै साहित्यको माध्यमबाटै । वैकल्पिक संसारको उद्घाटन गर्न पनि सकिन्छ । यथार्थ चित्रण र कल्पनाको प्रयोगको सङ्गम हुने साहित्यले हामीलाई समाजको वास्तविकताको बारेमा त थाहा गराउँछ नै, त्यसको अन्त्य यस्तो पनि हुन सक्छ भन्ने वैकल्पिक कथाहरू पनि सुनाउँछ । त्यसरी लेख्दै गर्दा कहिलेकाहीँ मनमा प्रश्न पनि उठ्ने गर्छन्, आफूले लेख्दै गरेको कथा साँच्चै कथा हो या होइन । कथा भनौं, पूरै काल्पनिक होइन । कथा होइनन् भनौं, ती पात्रलाई ज्युँका त्युँ वास्तविक संसारमा खोज्न हिँड्यो भने तिनका छाया भेटिएलान् तर तिनै चाहिँ भेटिन्नन् । हो, त्यही दुबिधालाई प्रतिनिधित्व गर्न सङ्ग्रहको नाम ‘कथा हुन्, कथा होइनन्’ भनेर जुराइएको हो ।”

मार्मिक शैली ‘छाता’ कथा यसरी अगाडि बढेको छ, “ऊसँगका सबै चिनोहरू मेटाउन खोजे पनि मैले त्यो दिन सँगै ओढेको छाता भने अझै जोगाएर राखेकी छु । मेरो बिछ्यौनाको गोड्यानतिरको भित्तामा ठोकिएको किल्लामा अडिएको त्यो छाताले मलाई बारम्बार ममाथि भएको घातको सम्झना दिलाइरहन्छ । मैले मेरो मन कमलो गर्न खोज्दा त्यसो नगर्न सचेत गराइरहन्छ । हो, त्यो छाता म जीवनभर त्यसरी नै सजाएर राख्ने छु । कुनै पनि सम्बन्ध र साथमा विश्वास गरेर पूरै परनिर्भर हुनबाट त्यसै छाताले मलाई रोकोस् । अरू घरमा देवताको मूर्ति राख्छन्, मेरो मन्दिर र मूर्ति त्यही छाता हुने छ ।”

‘कथा हुन् कथा हैनन्’लाई शब्दमिडिया प्रा. लि. (साहित्यपोस्ट इ-दैनिक) ले बजारमा ल्याएको हो र यसको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।