– जीवनलाई परिभाषा गर्नु अर्थहीन अर्थ

– पानीलाई परिभाषा गर्नु अर्थहीन अर्थ

– आगोलाई परिभाषा गर्नु अर्थहीन अर्थ

आगो–पानी–जीवन– अर्थहीन अर्थ भएका नामहरु हुन् र कामहरु पनि हुन् ।

भन्छन्, बसन्त लागेपछि वन फुल्छ । बैँस लागेपछि मन फुल्छ । इन्द्रेणी लागेपछि आकाश फुल्छ । वन, बैंँस र आकाश फुलिसकेपछि म सधैँ सधैँ उनीहरूलाई सोध्ने गर्छु, के फुल्यौ ? कहाँ फुल्यौ ? कसरी फुल्यौ ? भनेर । जहिले पनि सबैको एउटै जवाफ हुन्छ – ‘हामी फुलेको कसैलाई देखाउन हैन, कसैलाई सिँगार्न पनि हैन । मलाई जवाफ अलिकति मनपर्छ र अलिकति मन पर्दैन पनि ।

झट्ट गीताको एउटा टुक्रा ममा सुटुक्क टुसाउँछ ‘समयभन्दा पहिले भाग्यमा भन्दा बढी कसैले केही पनि पाउने छैन ।’ समय नभएरै त होला मन फुलेको, वन फुलेको, नबुझेको । सायद भाग्यमा नभएरै होला चिठ्ठाले सधैंँको बजेट मात्र घटाएको । हुन त भाग्यमा के छ के छैन । आयु कति छ ? कहिलेसम्म छ भनेर थाहा पाउने भए जीवन कति अर्थपूर्ण हुन्थ्यो होला । थाहा हुने भए जीवनको अर्थ पनि जीवनजस्तो हुन्थेन होला । थाहा नहुने भनेकै यही त हो नि । थाहा नहुने भएरै त होला नि अर्थहीन अर्थहरुको प्रभुत्व बढेको ।

लेखियो, पढियो र सिद्धियो । जहाँ लेखेको भए पनि जसरी लेखेको भए पनि पढेपछि त्यसको अर्थ रहँदैन र रहन्छ पनि । त्यसो त भनिएकै छ नि लेखिएको आफ्नो हो, देखिएको हैन । भेटिएको आफ्नो हो खोजिएको होइन । अब लेखिएका कुराहरु अर्थहीन हुन्छन् वा अर्थपूर्ण हुन्छन् भन्ने मेरो न्यायको तराजुमा जोखिनै सक्दैन ।

आएको थियो एउटा खामबन्दी पत्र । मित्रले अनुनयपूर्वक मनको भ्रमणका लागि गरिएको सौहार्द निम्तोपत्र । उसको अर्थात् मनमा भ्रमण गर्न दिन चाहने मान्छेको । पत्याउनु कि नपत्याउनु ? म अलमलमा पर्छु । अरुले त देश विदेश भ्रमणका लागि निम्ता गरेका हुन्थे । कुनै सभा, समारोहजस्ता काम विशेषमा सहभागी हुने निम्तो हुन्थ्यो । भोज भतेरमा सशुल्क वा निःशुल्क भोजनका लागि निम्ता हुन्थे । तर त्यो मान्छे किन मलाई मनको यात्राको निम्ति निम्तो गर्छ ?

म बुझ्न खोजेर पनि सुक्दिन । लाग्छ के घुम्न जानु जाबो मनमा । के नै हुन्छ र मनमा ? हुनेजति सबै कुरा त आफैसँग छँदैछ नि । तर लेखिएको आफ्नो हुन्छ भन्ने पढिएकोले हो कि त्यतिकै बेवास्ता पनि गर्न मन मानेन । अनुमान लगाउँछु । कतै त्यो मन पनि मेरैजस्तै भएर पो कि ? मेरोजस्तै आकारप्रकारको मन भएर पो हो कि ? मेरोजस्तै सफा र चोखो मन भएर पो हो कि ? वा कुनै समय हामीबिच कुनै पर्खाल अग्लिएर विभाजित पो भएको थियो कि ? कतै अहिले पर्खाल भत्किएकोले आफ्नै मनसँग परिचय गरेर एक हुन पो खोजिएको हो कि ? म बेवास्ता गर्नेतर्फ भन्दा बढी अर्थ खोज्नेतिर लाग्छु ।

अर्थहीन अर्थहरू

अर्थहीन अर्थहरू

फेरि मन भनेको सानो कुरा कहाँ हो र ? अलिकति दुख्नासाथ सानोभन्दा सानो हुन्छ खाज्नैपर्ने गरेर । खुसी हुँदा फेरि मन सगरमाथाभन्दा अग्लो हुन्छ भन्छन् । समुद्रभन्दा बढी फैलिएको र गहिरो हुन्छ भन्छन् । आकाशभन्दा विशाल र सफा हुन्छ भन्छन् । यस अर्थमा मनको यात्रा भनेको सानो यात्रा होइन । सामान्य यात्रा पनि होइन । यस अर्थमा उनको मनयात्रा निकै बृहत् यात्रा पो हुन्छ कि ? निकै अर्थपूर्ण पो हुनेछ कि ? जेसुकै होस्, आखिर मनको यात्रा गर्न गरिएको निम्तो न ठहरियो । अर्थहीन भए पनि अर्थहरु हुने नै छ । अर्थपूर्ण हुँदा नहुने कुरै भएन ।

समय र धैर्यले मात्र मानिसलाई सक्षम बनाउँछ । तर ममा भएको यात्राको आतुर र अधीरले मलाई असक्षम मानिस सावित गर्न खोजिरहेको छ । यात्राको साइत जुराउन हम्मेहम्मे पर्न थालेको छ । ज्योतिषीहरु जन्मपत्रिका हेरर फुर्सद पाइरहेका छैनन् । त्यसो त मलाई ज्योतिषी र साइतले कुनै अर्थ राख्दैन । तर मलार्इृ मैले नै रोक्न खोजिरहेजस्तै भएर पो मा¥यो त । यत्रो उत्साह बोकिसकेपछि फेरि किन आफैले आफैलाई रोकेको हुँला ? कस्तो अनर्थ । अरु कसैले रोक्न नसक्ने भएर मलाई मैले नै रोकिरहेको हुँ कि ? कसैले सताउन नसक्ने भएर आफैले सताइरहेको हुँ कि ?

म अहिले आफैसँग हैरान भएको छु । निसासिएर कुचुक्क परेको छु । आफैसँग हार्नु परेकोमा लाजले भुतुक्क भएर चिसिएको पनि छु । फलाम पोलेपछि मात्र पग्लने गर्छ तर मनचाहिँं पोलेर पिटेर नपग्लने रहेछ । मन पग्लन निकै गाहे हुन्छ । अलिकति हार्दिकताले हृदय मिलेपछि भने स्वात्तै पग्लँदोरहेछ । पग्लेपछि मनलाई बटुलेर एकत्रित गर्नु गाह्रो हुन्छ ।

निम्ता गर्ने मनभित्र कत्रो आस्था छ होला ? कत्रो माया छ होला ? विचरा त्यो मनवालाले म आउने आशामा कसरी सपना बुनिरहेको होला ? मलाई घुमाउन आफ्नो मनलाई कसरी धोई–पखाली स्निग्ध्र पारेको होला ? फूलहरुलाई उन्दैउन्दै मनमा स्वागतार्थ स्वागतद्वारहरु बनाएको होला । कल्पनामा रमाउन थालेपछि भित्र स्वात्त भूकम्प गएजस्तो लाग्छ । परेलीमा बग्नुपर्ने जल छातीमा भेल बनेर उर्लेकोजस्तो लाग्न थाल्छ । पोलेपछि पग्लने फलामभन्दा छिटै पग्लन्छु र यत्रतत्र बग्न थाल्छु ।

निम्तो मेरो लागि अर्थहीन थियो कि अर्थपूर्ण । मलाई वास्ता लाग्न छोडेको छ, किनभने मनवालाको मन दुख्ला भन्ने पीर लाग्न थालेको छ । ओहो ! मनमा सजाएका ढोकाहरु विनास्वागत उप्काउन पर्दा कति दुख्छ होला घाउजस्तै । कति पीडा हुन्छ होला ? कति रातसम्म बग्छ होला खहरेजस्तै भएर ? डर लाग्न थाल्छ, कतै मन नै उप्कियो भने वा मन नै भत्क्यो भने के होला ? बाल्यकालमा सुनेका कथाहरु सम्झन्छु । पापीहरुलाई दिइन्छ भनेका सजायँका प्रकारहरु आँखाअगाडि देख्न थाल्छु । म आत्तिन थाल्छु । ममा दयासँगसँगै डर पनि जन्मन थाल्छ । मनको सुन्दर निम्तोमा नभई मनलाई कठोर आघात पु¥याएवापत मनकै कारागारमा बन्दी बन्नुप¥यो भने । म सम्भावित अपराधी भएर बन्दी बन्नुपर्दाको क्षणमा छट्पटिन्छु । जुनसुकै समयमा जेसुकै त्याग गर्नुपरे पनि मनको यात्रा गर्नैपर्छ भन्ने निर्णय निकाल्न थाल्छु । सानोठुलो जुनै भए पनि चरासँग मित्रता गाँस्छु । त्यसपछि एकैछिन भए पनि त्यही चराको पखेटा सापटी लिएर पुग्ने छु त्यही मनमा । म दृढ हुन्छु तर थाहा छैन यो आवेगको निर्णय मेरो निम्ति अर्थपूर्ण हुन्छ कि अर्थहीन ?

ठूलो जिज्ञासा र उत्साह बोकेर निम्तालु मनवालाको मनमा पुग्छु । निम्तालुको मन छुनासाथ थाहा पाउँछु उनको मन पनि ठ्याक्कै मेरोजस्तै रहेछ । लाग्छ, कुनै समय एउटै थियो । कुनै आँधीबेहरीले दुईटुृक्रा बनाएर दुई ठाउँमा पु¥याइएजस्तो । जति नै वर्षपछि भेट हुँदा पनि आमाले आफ्नो सन्तानलाई चिनेजस्तै, आफ्नो रगतलाई चिनेजस्तै हुन्छ । दुवैले दुवैको मनलाई त्यसरी नै चिनिहाल्छौंँ । मेरो मन उता पुगेको र उताको मन यता भएजस्तै । भएर पनि हामीसँग भएको मन आ–आफ्नो कुलमा फर्कन मान्दैन । यथावत साटिएर नै बस्न खोज्छ । हामी दुवै स्वीकृति प्रदान गर्छौंँ ।

केही दिन भने भयौँ एकअर्काको नभएजस्तो । सद्भाव र गहिराइमा चुर्लुम्मै डुब्नसम्म डुब्याैँ र निथ्रुक्कै भिज्याैँ । म दिन रात औंँलाहरु निधार र सिउँदोमा खेलाइरहन्थे । ऊ मेरो कपाल सुमसुम्याइरहन्थ्यो । हामी रातमा सपना पनि लोभलाग्दो देख्थ्यौंँ । उनको सपना म देख्थेंँ र मेरो सपना ऊ देख्थ्यो । हामी एकआपसमा पालैपालो आँखाभित्र पौडिन्थ्याैँ । मनभित्र बिहार गथ्र्याैँ ।

हामीलाई कुनै चन्द्रले रात बनाउन सक्थेन । कुनै सूर्यले दिन बनाउन पनि सक्थेन । हामी आफ्नो इच्छाअनुसार दिन रातको सिर्जना गथ्र्यौँ । न कुनै सडकहरुले हामीलाई हिँंडाउन सक्यो । न कुनै ठाउँहरुले हामीलाई घुमाउन सक्यो । हुन त कसैले लोभ्याएन र केहीले भुलाएन पनि । हामी आफैँसँग घुम्थ्यौँं र आफैँमा हिंँड्थ्यौं । हाम्रो उपलब्धि, हाम्रो प्राप्ति र हाम्रो सम्पूर्ण एकको अर्कोमा हुन्थ्यो, पाउँथ्यौँ । यस्तो लाग्थ्यो हाम्रो खुसी उच्चतम शिखर हो, सर्वोच्च भावना हो । हामीले एक प्रकारको लघुस्वर्ग निर्माण गरेका थियाैँ । हाम्रो निम्ति स्वर्ग र स्वर्गको निम्ति हामी भएका थियौंँ । यत्रतत्र सर्वत्र खुसीको धुप सुवास भएर बहिरहेको हुन्थ्यो । हामी बैँसको मृग जोडीझैँ बुर्कुसी मारिरहन्थ्यौंँ । यसरी हामीले सिर्जना गरेको सुन्दा र स्वर्ग देखेर राजदेव इन्द्रले रिस गर्ला कि भनेर डराउँथ्यौंँ । इन्द्रले थाहा पायो भने कि हामीसँग डेरा मागेर बसाई सर्न आउनेछ कि युद्ध आव्हान गर्नेछ ।

जागतृ मनमा तरङ्गित भइरहेका स्वप्निल यात्राका साङ्गीतिक आरोह–अवरोहको पटाक्षेप हुन्छ । यथार्थको भुइँकुहिरो उडेर मनमा सूर्य उदाउँछ । कस्तो अलछिना कुखुरा रैछ, कानैनिर बासेर मर्छ । अलि पर आँगनमा गएर बासेको भए पनि हुन्थ्यो नि । यति मीठो सपनालाई नाथे भालेले पनि किन ईष्र्या गरेको होला । अँ ! इन्द्रलाई असह्य भएको रै छ । बिहानको समय सपनाबाट बिथोल्ने सबैभन्दा राम्रो तरिका ठानेर नै भाले भएर बासेको होला । कति डाहा गर्दोरहेछ इन्द्र, उसको राज्य कल्पनामा पनि नसहने । हामी पृथ्वीकाले एक क्षणका लागि स्वर्गको निर्माण गरे पनि सौताको रुपमा लिने । तिलजत्रो पनि छैन होला उसको मन । उसकै स्वर्गमा परेको भए वा उसका परीहरुसँग अलिकति निकटमा गाँसेको भए तीर नै छाड्थ्यो होला कि तोप पड्काएर बाह्रै बजाउँथ्यो होला ।

मलाई धित मरेकै थिएन सपनाको । फेरि आँखा बन्द गरेर बाँकी सपना हेर्न खोज्छु । तर चाहेको जस्तो कहाँ हुन्छ र ? भेटिएकोलाई पो आफ्नो भन्न सकिन्छ । खोजिएकोलाई कहाँ आफ्नो भन्न सकिन्छ र ?

जे होस् रात मीठो भएर गुज्रियो । रात राजतस्तो नभइकनै बित्यो । घामजस्तो उज्यालो भएर बित्यो । फुलेको गुलाफजस्तो भएर बित्यो । जेजे भएको भए पनि ममाथि इन्द्रले जति नै ईष्र्या गरेको भए पनि । भालेले चिच्याएर बिथोलेको भए पनि । मैले निम्तोमा मनको यात्रा गर्न पाइहाँले क्यारे । यात्राको स्वादिलो अनुभूति गर्न पाइहाँले क्यारे । नगएरै त्यस ठाउँमा पुग्नसकिहालेँ क्यारे । नहेरेरै सबै कुरा देखिहालेँ क्यारे । नबोलेरै सबै कुरा भन्न पाएँ र सुन्न पाएँ क्यारे । सपनामा नै त्यस्तो थियो भने यथार्थ कस्तो होला ? अनुमान मात्र गर्दा पनि सगरमाथा होचो बन्छ ।

यति भएर पनि एउटा प्रश्न टुसाएको छ, के मनको यात्रा भनेको अर्थहीन भएर नै अर्थ हुने हो ?

– जनमत मासिक (२०५०) …