आम मानिसहरू आत्म-पहिचानको विषयलाई अधिक महत्त्व दिन्छन् र सो कुरा कायम राख्नका लागि कुनै पनि हदसम्म जान तयार हुन्छन्। भनाइको अर्थ, उनीहरू आफूबारे निश्चित बुझाइ राख्छन्। आफूलाई निश्चित रुपमा अरु माझ चिनाउन चाहन्छन्। निश्चित भूमिका खेल्नुका साथै निश्चित व्यवहार देखाउँछन्। यति मात्र होइन, अरुले आफ्नो पहिचानका आधारमा व्यवहार या कार्य गरोस् भन्ने समेत अपेक्षा राख्छन्। जसकारण उनीहरू अनेकन् दुःख, कष्ट, हैरानी/परेसानी एवं जटिल जीवन परिस्थितिहरू बेहोर्न पुग्छन्। तपाईँ हामी पनि स्वतःसिद्ध यिनै आम मानिसहरूको वर्ग वा श्रेणीमा अटाउन पुग्छौँ।

यसलाई यसरी लिऊँ । तपाईँ आफूलाई जुन रुपमा लिनुहुन्छ र बुझ्नुहुन्छ तपाईँले सोहीअनुरुप व्यवहार गर्नुपर्छ भन्ने छैन। तपाईँ अरुले आफ्नो पहिचानका आधारमा व्यवहार गरोस् भन्ने अपेक्षा राख्नुहुन्छ। यस्तोमा अरुले तपाईँलाई सोहीअनुरुप व्यवहार गर्छन् नै भन्ने ग्यारेन्टी हुँदैन। अझ पनि तपाईँले आत्म-पहिचानको विषयलाई बढी नै महत्त्व दिनुभयो र सोहीअनुसार भूमिका खेल्ने र व्यवहार गर्न थाल्नुभयो भने? अवस्यनै तपाईँले जीवनमा विविध दुःख, कष्ट, हैरानी तथा जटिलताहरू व्यहोर्नुपर्ने हुन्छ। कसरी? यो कुरा बुझ्न तपाईँ हामीले खेल्ने केही भूमिकाहरू र तपाईँ हामीले गर्ने केही व्यवहारहरू संक्षेपमा वर्णन गरौँ।

अद्वितीय व्यक्ति

अरुभन्दा बिल्कुलै फरक, विशिष्ट या अद्वितीय व्यक्ति बन्न सकियो भने धेरै मानिसहरूको ध्यान आफूतर्फ खिच्न सकिन्छ। ती मानिसहरूले आफूबारे राख्ने धारणा परिवर्तन गर्न सकिन्छ। विशिष्ट व्यक्तिले पाउने व्यवहार, सत्कार र सम्मानको हकदार बन्न सकिन्छ। तर यसो भन्दैमा अद्वितीय व्यक्तिको पहिचान बोक्नु चाहिँ कुनै पनि तरिकाले लाभप्रद पुष्टि हुन सक्दैन। अनेकन् दुःख, कष्ट, हैरानी र जटिलताहरूसँग जुध्नुपर्ने हुन्छ। मानौँ, तपाईँले आफूलाई निकै अद्वितीय व्यक्ति मान्नुभयो। अब तपाईँ अरुभन्दा अलग र विशिष्ट छु भन्ने देखाउन कुनै पनि हदसम्म जान र जस्तोसुकै गतिविधिहरूमा संलग्न हुन तयार हुनुहुन्छ। जस्तैः तपाईँ विचित्रको ड्रेसअप गर्न (पोशाक लगाउन), अनौठो हेयर स्टाइल राख्न, अप्राकृतिक मेकअप गर्न, अस्वभाविक भावभङ्गिमा तथा चालढाल प्रदर्शन गर्न उद्धत रहनुहुन्छ। यी गतिविहरूले तपाईँको आकर्षण होइन, विकर्षण बढाउँछन्। मानिसहरू तपाईँलाई आदर्श व्यक्तिको रुपमा स्वीकार्ने, फलो गर्ने (पछ्याउने) पक्षमा रहँदैनन्। तपाईँसँग सङ्गत गर्न, अन्तरक्रिया गर्न र सम्बन्ध जोड्न कत्तिपनि लालायित हुँदैनन्। तपाईँ केवल हाँसोको पात्र बन्न, आलोचित हुन र सबैबाट अपहेलित हुन पुग्नुहुन्छ। त्यसैगरी तपाईँ अजीब तरिकाले बोल्न, संवाद र सम्बोधन गर्न थाल्नुहुन्छ। यो सबैलाई मनपर्छ भन्ने छैन। जसले गर्दा उनीहरूसँग मित्रवत एवं व्यवसायिक सम्बन्ध रहने सम्भावना न्यून रहन्छ। त्यसैगरी तपाईँ असामान्य व्यवहार गर्न र नौलो तरिकाअनुसार कार्य गर्न थाल्नुहुन्छ। यो सबैलाई स्वीकार्य हुन्छ भन्ने छैन। जसले गर्दा तपाईँलाई संस्था वा परियोजना सञ्चालन कार्यमा आवश्यक साथ, सहयोग र हौसला प्रदान गर्नेहरू निकै कम हुन्छन्। त्यसैगरी तपाईँ कुनै महिलालाई प्रेम प्रस्ताव राख्नुपर्यो भने अपरम्परागत, अनपेक्षित शैली अपनाउनुहुन्छ। यो शैलीका कारण ती महिला तपाईँप्रति प्रभावित हुन्छिन् भन्ने ग्यारेन्टी हुँदैन। जसले गर्दा तपाईँहरूबीच प्रेम-सम्बन्धको नयाँ अध्याय सुरु हुनै सक्दैन।

धेरै कडा व्यक्ति

कतिपय समय र परिस्थितिमा कडा व्यवहार देखाउन सक्नुपर्छ। तर यसो भन्दैमा आफूलाई धेरै कडा व्यक्तिका रुपमा प्रस्तुत गर्न खोज्नु या कठोरता नै आफ्नो पहिचान बनाउन खोज्नु चाहिँ कुनै पनि कोणबाट हितकारी हुन सक्दैन। मानौँ, तपाईँले आफूलाई धेरै कडा व्यक्तिको रुपमा लिनुभएको छ। यस्तोमा तपाईँ सहनशील हुन सक्नुहुन्न। नरम हुनुपर्ने ठाउँमा/परिस्थितिमा पनि कडा रुपमा प्रस्तुत हुनुहुन्छ। उदाहरणको लागि, कसैले सामान्य नियमकानून मिचे या गल्ती गरे तपाईँलाई असह्य हुन्छ। ती व्यक्तिको जीवन परिस्थिति र भावना बुझ्ने कोसिस गर्नुहुन्न। त्यसमा तपाईँको कुनै चासो रहँदैन पनि। ती व्यक्तिको सानो गल्तीलाई नजरअन्दाज गरेर माफी दिनुको साटो सानो गल्तीलाई पहाड बनाउन, उसलाई कठोर वचनहरू लगाउन र भरसक सजायको भागीदार बनाउन तत्पर रहनुहुन्छ। त्यसैले मानिसहरू तपाईँसँग खुला मस्तिष्कले संवाद गर्न चाहँदैनन्। असहज महसुस गर्छन्। उनीहरू तपाईँदेखि डराएपनि सम्मान भने गर्दैनन्। अब तपाईँ निश्चित भूमिका वा जिम्मेवारीमा रहँदा धेरै कडा हुनुभयो भने के-कस्ता दु:ख, कष्ट, हैरानी र जटिलताहरू व्यहोर्नु पर्छ भन्नेमा चर्चा गरौँ:

एक, कडा शिक्षकको भूमिकामा रहँदा। एक शिक्षकको सफलता-असफलता उसले कक्षा कोठाभित्र कस्तो व्यवहार देखाउँछ, कस्तो वातावरण सिर्जना गर्छ र शिक्षण विधि कत्तिको सहभागितामूलक बनाउन सक्छ भन्ने कुराहरूमा भरपर्छ। यदि तपाईँले आफूलाई कठोर शिक्षकको रुपमा स्थापित गराउनुभयो या सोही रुपमा आफूलाई चिनाउनुभयो भने तपाईँ कक्षा कोठाभित्र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न नसक्नुका साथै शिक्षण विधिलाई सहभागितामूलक बनाउन सक्नुहुन्न। यस्तोमा विद्यार्थीहरू तपाईँ निकट रहन रुचाउँदैनन्। केवल डरको वातावरण सिर्जना हुँदा उनीहरू अनुशासित देखिन शान्त रहन्छन्। नबुझेका विषयहरू सोध्न, अन्तरक्रिया गर्न हच्किने गर्छन्। यसको सिधा नकारात्मक प्रभाव उनीहरूको शैक्षिक नतिजामा देखिन्छ। यसरी तपाईँमा योग्यता हुँदाहुँदै पनि एक सामान्य, प्रभावहीन र असफल शिक्षकको वर्गमा समाहित हुन पुग्नुहुन्छ।

दुई, कडा अभिभावकको भूमिकामा रहँदा। बच्चाहरू गलत बाटोमा नलागुन् भन्ने उद्देश्यले उनीहरूप्रति केही हदसम्म कडा हुनु अनुचित होइन। तर तपाईँले आफू कडा अभिभावक रहेको तथ्यलाई आफ्नो पहिचान बनाउनु भयो भने? बच्चाहरू तपाईँसँग सुरक्षित महसुस गर्दैनन्। उनीहरू आफ्ना इच्छाहरू खुलस्त रुपमा व्यक्त गर्न डराउँछन्। सो इच्छा आकांक्षाहरू सजिलै पूरा हुनेमा विश्वस्त हुनै सक्दैनन्। यसर्थ उनीहरू आफ्ना इच्छाहरू परिपूर्ति गर्न गलत कार्यको साहारा लिन या गलत बाटो रोज्न सक्छन्। चरणबद्ध रुपमा कयौँ गल्तीहरू देखि जघन्य अपराधसम्म गर्न पुग्छन्। उनीहरू यी सम्पूर्ण गतिविधिहरू गोप्य रुपमा नै गर्छन्। यसरी तपाईँ आफ्ना बच्चाहरूप्रति अति कठोर भएकै कारण उनीहरू अपराधी बन्न पुग्छन्। अनि तपाईँ? एक विवस, असन्तुष्ट र असफल अभिभावकको वर्गमा सम्मिलित हुन पुग्नुहुन्छ।

तीन, कडा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहँदा। कुनै पनि संस्थाको नेतृत्व तहमा रहँदा कडा बन्न सक्नुपर्छ। तर अति कडा प्रमुख कार्यकारी अधिकृत हुनुलाई नै आफ्नो पहिचान बनाउनुभयो भने? तपाईँ आफ्नो पहिचान कायम राख्नकै लागि कर्मचारीहरूप्रति लचक हुन सक्नुहुन्न। उनीहरूबाट साधारणभन्दा साधारण गल्ती हुन गएतापनि मौखिक दुरुपयोग गर्न, संस्थाबाट निष्कासित गर्न र नयाँ कर्मचारी नियुक्त गर्न कत्तिपनि ढिलाइ गर्नुहुन्न। यसले उनीहरूको मनमा आफ्नो जागिर सुरक्षित नभएको र आफू कुनै पनि बेला बर्खास्तीमा पर्नसक्ने भय उत्पन्न गराउँछ। यस्तोमा उनीहरू कामभन्दा बढ्ता तपाईँको चाप्लुसी गर्न थाल्छन्। कतिपयले संस्था छाड्न सक्छन्। त्यसैगरी संस्थामा कुनै समस्या खडा भए उनीहरू तपाईँसँग संवाद गर्न, आइडिया सेयर गर्न या भनौँ प्रभावकारी समाधानहरू सिफारिस गर्न संकोच मान्छन्। यी सम्पूर्ण कुराहरूको सिधा नकारात्मक प्रभाव संस्थाको उत्पादकता, गरिमा र प्रगतिमा पर्न जान्छ। त्यसमाथि मानिसहरूले तपाईँको नेतृत्वदायी भूमिकाबारे पनि प्रश्न तेर्स्याउन सक्छन्। यसरी तपाईँ आफ्ना कर्मचारीहरूप्रति अति कठोर भएकै कारण एक अदूरदर्शी, अदक्ष र असफल प्रमुख कार्यकारी अधिकृतको वर्गमा समाविष्ट हुन पुग्नुहुन्छ।

सुपर मोडल

सुपर मोडल हैसियत बनाएर सारा विश्वको ध्यान आफूतर्फ केन्द्रिकृत गराउन सक्नु साधारण उपलब्धि होइन। तर यसो भन्दैमा यसैलाई आफ्नो पहिचान बनाउनु चाहिँ कुनै पनि दृष्टिकोणको आधारमा लाभदायक हुन सक्दैन। अनेकन् दुःख, कष्ट, हैरानी र जटिलताहरूको सामना गर्नुपर्ने हुन्छ। केहीबारे चर्चा गरौँ:

एक, तपाईँ आफ्नो शरीर र शारीरिक आकर्षणलाई नै सबैथोक मान्नुहुन्छ। आफ्नै शरीर र शारीरिक सुन्दरताप्रति आशक्ति राख्नुहुन्छ। सोही शारीरिक सुन्दरता कायम राख्नका निम्ति जस्तोसुकै कदम चाल्न तयार हुनुहुन्छ। आफूलाई सबैभन्दा आकर्षक देखाउन अत्याधिक मेकअप गर्नुहुन्छ। विभिन्न ब्राण्डका मेकअप सामाग्रीहरू खरिद गरेर परिक्षण गर्नुहुन्छ। यसले गर्दा तपाईँको अनावश्यक खर्च बढ्नेदेखि छालाको समस्या बढ्न थाल्छ।

दुई, मानिसहरूले तपाईँको गलत मूल्यांकन गर्नुका साथै तपाईँप्रति गलत नियत राख्न सक्छन्। उनीहरूले तपाईँको मेकअप, पहिरन र रहनसहन देखेर यौनकर्मी सरह मूल्यांकन गर्न थाल्छन्। पैसाले यौन किन्न खोज्छन्। कतिपय त झन् तपाईँ निकट रहेर, प्रेमको नाटक गरेर उल्टै तपाईँबाट आर्थिक लाभ लिन र शारीरिक आवश्यकता पूर्ति गर्न प्रयासरत रहन्छन्। यसले गर्दा तपाईँ यौन वस्तुको रुपमा प्रयोग हुनसक्ने सम्भावना उच्च रहन्छ।

तीन, तपाईँको गोपनीयता सुरक्षित हुन सक्दैन। सुपर मोडल भएको नाताले लाखौं, करोडौं मानिसहरू फलोअर्स (अनुयायीहरू) बन्न पुग्छन्। तपाईँका हरेक गतिविधि नजिकबाट नियाल्छन्। सेलिब्रेटीको हैसियत हासिल हुँदा केही दिन, महिना या वर्ष मज्जा लाग्न सक्छ। तर निकट भविष्यमै सो हैसियत झन्झट, घाँडो लाग्न सक्छ। किन? तपाईँ स्वतन्त्रतापूर्वक सार्वजनिक ठाउँमा घुम्न, खान र रमाउन सक्नुहुन्न। आफूले चाहेको पुरुषलाई खुला रुपमा भेट्न, संवाद गर्न सक्नुहुन्न। भेट गरेको रहस्य खुलेको खण्डमा पत्रपत्रिकाहरूमा विभिन्न अड्कलबाजीका समाचारहरू आउन थाल्छन्। यसले तपाईँलाई अनावश्यक तनाव दिन्छ नै। त्यसैगरी जस्तो पायो त्यस्तै अवस्थामा आफूलाई प्रस्तुत गर्न सक्नुहुन्न। आफ्नो निश्चित स्तर कायम राख्नुपर्ने हुन्छ, जुन सधैँ सम्भव हुने कुरा होइन।

चार, मानिसहरूले तपाईँलाई आदर्श मान्न सक्छन्। एक स्रोत व्यक्तिको रुपमा सम्मान भाव प्रकट गर्छन्। तपाईँले जे भन्नुहुन्छ, त्यही विश्वास गर्छन्। त्यसैले विभिन्न संघसंस्थाहरूले तपाईँको नाम प्रयोग गरेर फाइदा उठाउन खोज्छन्। आफ्नो संघसंस्थाको प्रचार गर्ने मनसायले तपाईँलाई कुनै एक विषयमा केही कुराहरू राखिदिन आग्रह गर्न सक्छन्। तपाईँ सो विषयको विशेषज्ञ नभए पनि ठूलो पारिश्रमिक दिन राजी हुन्छन्। त्यसैगरी तपाईँलाई ब्राण्ड प्रतिनिधिको रुपमा नियुक्ति गर्न कुनै पनि मूल्य तिर्न इच्छुक रहन्छन्। यस्तोमा तपाईँले ब्राण्ड प्रतिनिधिको प्रस्ताव स्वीकार गर्नुभयो भने ती संस्थाको सेवा सुविधाहरू जे जस्तो रहेपनि उत्कृष्ट भन्नुपर्ने हुन्छ। यसले तपाईँलाई निकै अप्ठ्यारो परिस्थितिमा पुर्याउँछ। पैसाको प्रभावमा आई कुनै पनि विषयमा जानिनजानि आफ्ना विचारहरू व्यक्त गर्दा र संस्थाको औसत सेवा सुविधाहरूलाई पनि सर्वोत्कृष्ट भनेर प्रवर्द्धन गर्दा तपाईँको इमान्दारिता र प्रतिष्ठामा प्रश्न उठ्न सक्छ, नमेटिने दाग लाग्नसक्छ।

पाँच, सन्तुष्टिका साथ जीवन बाँच्न सक्नुहुन्न। तपाईँ सुपर मोडल रहने निश्चित समयावधि मात्र हो। तपाईँ जवान रहुन्जेल, शारीरिक आकर्षण कायम रहुन्जेल मात्र सुपर मोडलको रुपमा चिनिन सक्नुहुन्छ। बढ्दो उमेर सँगै तपाईँको सुन्दरता घट्दै जान्छ। सुन्दरता घटेपछि तपाईँको महत्त्व पनि घट्दै जान्छ। तपाईँ आकर्षणको केन्द्र रहन सक्नुहुन्न। कुनै अर्की महिलाले तपाईँलाई विस्थापित गरिदिन्छिन्। मानिसहरू तपाईँलाई भुलेर नयाँ सुपर मोडलप्रति ध्यान मोड्न थाल्छन्। तर तपाईँ सुपर मोडल पहिचान आफ्नो मनमस्तिष्कबाट मेटाउन सक्नुहुन्न। आफू सुपर मोडल नरहेको यथार्थलाई सहजै स्वीकार्न सक्नुहुन्न। जसले गर्दा तपाईँलाई अनावश्यक चिन्ता हुन्छ, असीमित पीडाबोध हुन्छ र सन्तुष्टिका साथ जीवनमा अघि बढ्नै सक्नुहुन्न।

पूर्णतावादी

काममा आवद्ध भइसकेपछि सो काम सकेसम्म उत्कृष्ट शैलीमा गर्न, पूर्णता दिन सक्नुपर्छ। उत्कृष्ट परिणाम प्राप्तिका लागि प्रयत्नशील रहनुपर्छ। अन्यथा काम गर्नुको कुनै अर्थ रहँदैन। यसो भन्दैमा पूर्णतावादी सोच राख्नु, हरेक कार्यमा उत्कृष्टता खोज्नु ठीक होइन। अनेकन् दुःख, कष्ट, हैरानी र जटिलताहरू झेल्नुपर्ने हुन्छ। केहीबारे चर्चा गरौँ:

एक, काममा एकल खटाइ। तपाईँलाई अरुले गरेको काम चित्तै बुझ्दैन। उनीहरूले दिएको परिणामप्रति कत्तिपनि खुसी हुन सक्नुहुन्न। सामान्य भन्दा सामान्य कमीकमजोरीहरू स्वीकार्न तयार हुनुहुन्न। माइक्रोम्यानेज (सूक्ष्म व्यवस्थापन) गर्न, यसो गर, उसो नगर भनेर सुझाव दिन थाल्नुहुन्छ। यसो गरेको कसैलाई पच्दैन र काम त्यसै छाडिदिन्छन्। यस्तोमा तपाईँ आफैं काममा खटिनुपर्ने हुन्छ। उदाहरणको लागि, तपाईँलाई आफ्नै घरका सदस्यहरूले भाँडा माझेको, लुगा धोएको, खाना पकाएको, घर सरसफाई गरेको मन नपर्न सक्छ। अब तपाईँ उनीहरूलाई कसरी भाँडा माझ्ने, कसरी लुगा धुने, कसरी मिठो परिकार बनाउने, कसरी घरको सरसफाई गर्ने भनेर सुझाव दिनुहुन्छ। यी सुझावहरू उनीहरूलाई फिटिक्कै मन पर्दैन र सबै घरायसी कामहरू तपाईँकै काँधमा आइपर्छन्। त्यसैगरी तपाईँलाई आफ्नै समूहका सदस्यहरूले गरेको काम या उनीहरूले दिएको योगदानप्रति चित्त नबुझ्न सक्छ। अब तपाईँ उनीहरूलाई सुझावहरू दिन थाल्नुहुन्छ जुन उनीहरू पचाउनै सक्दैनन्। जसले गर्दा समूहको सबै कामहरू तपाईँकै थाप्लोमा आइपर्छन्। यसरी तपाईँ एक्लै काममा सक्रिय हुनुपर्ने परिस्थिति निर्माण हुन्छ।

दुई, कार्य निष्पादनमा अस्वभाविक ढिलाइ। तपाईँ कुनै पनि कार्य सुरुवात गर्न र सो कार्यलाई पूर्णता दिन ढिलाइ गर्नुहुन्छ। सबै भनेजस्तो होस् अनिमात्र सुरु गरौँला भन्ने मनस्थितिमा रहनुहुन्छ। यदि कुनै कार्य सुरु गर्नुभयो भने आफ्नै शैली र गतिअनुसार चल्न र सोहीअनुसार कार्य सम्पन्न गर्न रुचाउनुहुन्छ। यति मात्र कहाँ हो र, तपाईँ आफूले प्राप्त गरेको परिणामबाट सन्तुष्ट हुन सक्नुहुन्न। अनि काममा आवश्यकता भन्दा बढी समय, उर्जा र पैसा लगानी गर्न थाल्नुहुन्छ। आफूले सोचेजस्तो परिणाम प्राप्त नहुन्जेलसम्म काममा निरन्तर डटिरहनुहुन्छ। तपाईँले कुनै एक कार्य पूरा गर्न जति समय, उर्जा र पैसा लगानी गर्नुहुन्छ, त्यतिमा त तपाईँका समकालीन प्रतिस्पर्धीहरूले धेरै कार्यहरू पूरा गर्न भ्याउँछन्। नसोचेको परिणाम दिन सक्छन्। जसकारण उनीहरू तपाईँभन्दा प्रभावकारी, उत्पादक र व्यवसायिकताका हिसाबले धेरै अगाडि पुग्छन्। केही उदाहरणहरू लिऊँ। मानौँ, तपाईँले पुस्तक लेखन कार्य सुरु गर्नुभयो। तपाईँले आफूलाई पूर्णतावादी मानेका कारण पुस्तक सकेसम्म सर्वोत्कृष्ट बनाउने योजनामा हुनुहुन्छ। पुस्तक लेखन कार्यमा अधिक समय, उर्जा र पैसा लगानी गर्नुहुन्छ। पुस्तकको स्वरुप आफूले परिकल्पना गरेजस्तो नभएसम्म, पुस्तक हेर्दा आत्म-सन्तुष्टि प्राप्त नहुँदासम्म पुस्तक प्रकाशनको प्रक्रियामा जानुहुन्न। अनि एउटै पुस्तक प्रकाशन गर्न समेत पाँचदेखि दस वर्ष लगाइदिनुहुन्छ। यति समयावधिमा त तपाईँका प्रतिस्पर्धीहरूले पाँचवटा पुस्तक प्रकाशन गर्न सक्छन्। जसकारण उनीहरूले लेखन कार्यमा तपाईँलाई धेरै नै पछाडि पारिदिन्छन्। चाँडैनै व्यवसायिक सफलताको शिखरमा पुग्न सफल हुन्छन्। त्यसैगरी मानौँ, तपाईँले भिडियो गेम डिजाइन कार्य सुरु गर्नुभयो। अब तपाईँले आफूलाई पूर्णतावादी मानेका कारण पूर्ण, दोषहीन या सर्वोत्कृष्ट गेम डिजाइन गर्ने पक्षमा उभिनुहुन्छ। यसैको लागि अधिकतम् समय, उर्जा र पैसा लगानी गर्नुहुन्छ। भिडियो गेम आफूले परिकल्पना गरेजस्तो र खेल्दा अत्याधिक आनन्द दिने गुणस्तरको नहुँदासम्म बजारमा उपलब्ध गराउन तयार हुनुहुन्न। अनि एउटै गेम डिजाइन गर्न र प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउन समेत दशकौं लगाइदिनुहुन्छ। यति समयावधिमा त तपाईँका प्रतिस्पर्धीहरूले त कयौँ गुणस्तरीय भिडियो गेम डिजाइन गरेर बजारमा उपलब्ध गराउन सक्छन्। अर्को महत्त्वपूर्ण कुरा, तपाईँको अवधारणा अनुसार बन्न लागेको भिडियो गेम पूरानो र अप्रचलित बन्न पुग्छ। जसकारण उनीहरू गेम डिजाइन कार्यका अग्रणी बन्न पुग्छन् भने तपाईँ चाहिँ एक संघर्षरत र असफल भिडियो गेम डिजाइनरको हैसियतमा सीमित रहनुहुन्छ।

सबैलाई खुसी तुल्याउने व्यक्ति

मानिसहरूलाई खुसी बनाउन खोज्नु सही अभिप्राय हो। तर सबैलाई खुसी बनाउन खोज्नु, त्यसैका लागि मरिमेट्नु, आफ्नो खुसीलाई तिलाञ्जलि दिनु या सबैलाई खुसी तुल्याउने व्यक्तिका रुपमा आफ्नो पहिचान स्थापित गराउन खोज्नु चाहिँ बुद्धिमानी होइन। अरु मानिसहरूसँग गरिने यस किसिमको व्यवहार कारण अनेकन् दुःख, कष्ट, हैरानी र जटिलताहरूको सामना गर्नुपर्ने हुन्छ। केहीबारे चर्चा गरौँ:

एक, तपाईँ ‘नो’ भन्न सक्नुहुन्न अर्थात् सिधा अस्वीकृति जनाउन वा मनिसहरूको इच्छा विपरीत जान सक्नुहुन्न। तपाईँ आफूले नचाहेको काम गर्नुहुन्छ। उदाहरणार्थ, बिहेको लागि परिवारले कुरा चलाएको महिलालाई अस्वीकार गर्न सक्नुहुन्न। तपाईँ र ती महिलाबीच केही मिल्दैन। तापनि परिवार र ती महिला दुःखी हुने चिन्ताले तपाईँ बिहेका लागि तयार हुनुहुन्छ। यसरी जोडिएको सम्बन्धको अन्तिम परिणाम भनेको सम्बन्धविच्छेद नै हुन्छ। त्यसैले अरुलाई खुसी बनाउन सुरु गरेको तपाईँको वैवाहिक जीवन कुनै पनि क्षण अन्त्य हुनसक्छ। अर्को उदाहरण लिऊँ। तपाईँलाई सहकर्मी साथीले काममा पालो दिन आग्रह गरे तपाईँ मन नहुँदा नहुँदै पनि उसलाई अस्वीकार गर्न सक्नुहुन्न। साथी रिसाउने, उसले नराम्रो मान्छ कि भन्ने डरले काममा पालो दिन राजी हुनुहुन्छ। त्यसैगरी तपाईँ आफ्नो क्षमता भन्दा बाहिरको काम गर्न पनि तम्तयार हुनुहुन्छ। उदाहरणको लागि, कुनै एउटी महिला साथिले कविता लेखिदिन आग्रह गरिन् भने तपाईँ सक्दिनँ भन्नै सक्नुहुन्न। कनिकुथी कविता रचना कार्यमा लाग्नुहुन्छ। तपाईँमा कविता लेखन कला नहुँदा लामो समयसम्म पनि कविता पूरा गर्न सक्नुहुन्न। ती महिलालाई तपाईँले झुलाएको हो कि भन्ने भान पर्न जान्छ। केहीजानी तपाईँले जेनतेन कविता लेखन कार्य पूरा गर्नु भए पनि त्यो कविता गुणस्तरीय मान्न सकिँदैन। यस्तोमा ती महिलाप्रति तपाईँको नकारात्मक छाप पर्न जान्छ। उनीलाई तपाईँले केवल कामचलाउ कविता लेखिदिएर झारा टार्ने काम गर्नुभएको हो कि भन्ने भान हुन्छ। यसैकारण तपाईँहरूको मैत्रीय सम्बन्धमा चिसोपना उत्पन्न हुनसक्छ।

दुई, तपाईँ आफ्नो जीवन उद्देश्य हासिल गर्न या भविष्य निर्माण कार्यमा दत्तचित्त हुन सक्नुहुन्न। अरु मानिसहरूले केही सोच्ने हुन् कि, केही बोल्दा या कार्य गर्दा गलत अर्थ लगाउने पो हुन् कि भन्नेमा तपाईँ बढी चिन्तित हुनुहुन्छ। आफ्नो सम्पूर्ण समय, उर्जा र पैसा अरुलाई प्रसन्न बनाउनमै खर्च गर्नुहुन्छ। यस्तोमा तपाईँ आफ्नो जीवन उद्देश्य हासिल गर्नका लागि पर्याप्त समय, उर्जा र पैसा लगानी गर्न सक्नुहुन्न। सुनिश्चित भविष्यका लागि मजबुत आधार निर्माण गर्न या सफलताको पूर्वाधार व्यवस्थापन गर्न सक्नुहुन्न। यसैकारण तपाईँ एकपछि अर्को असफलता व्यहोर्दै जानुहुन्छ।

तीन, तपाईँसँग व्यक्तिगत समय भन्ने हुँदैन। स्पष्ट रुपमा भन्नुपर्दा, तपाईँ आफ्नो लागि समय छुट्याउन सक्नुहुन्न। आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य ख्याल गर्न, कायम राख्नका लागि तपाईँसँग समय नै हुँदैन। तपाईँको समय तालिका, कार्यसूची अरुकै लागि भरिएको हुन्छ। व्यक्तिगत स्वार्थ पूर्तिका लागि अरुले तपाईँलाई प्रयोग गरेको भेउ पाउनै सक्नुहुन्न। जुन दिन यसबारे आत्मबोध गर्नुहुन्छ, त्यसदिन तपाईँलाई अति पीडाबोध हुन्छ। यसरी अरुलाई खुसी बनाउँदा बनाउँदै आफैं असन्तुष्ट, निराश र दुःखी बन्न पुग्नुहुन्छ।

व्यवसायी, उद्यमी एवं परोपकारी

जो कोही व्यक्तिलाई एक सफल व्यवसायी, उद्यमी एवं परोपकारी बन्ने जीवन उद्देश्य तय गर्न पूर्ण स्वतन्त्रता छ। तर यसैलाई आफ्नो पहिचान बनाउनु चाहिँ दुर्भाग्यपूर्ण रहन्छ। अनेकन् दुःख, कष्ट, परेसानी र जटिलताहरू भोग्नुपर्ने हुन्छ। यसबारे चर्चा गरौँ:

एक, अनिश्चित भविष्य र दुःखको अनुभूति। मानौँ, तपाईँले आफूलाई सिर्फ व्यवसायी र उद्यमीका रुपमा चिन्नुभयो। यस्तोमा तपाईँले जागिरमा सुनिश्चित भविष्य देख्न, परिकल्पना गर्न सक्नुहुन्न। जागिर खानु तपाईँका लागि उपयुक्त विकल्प हुँदाहुँदै पनि त्यसप्रति आकर्षित हुन सक्नुहुन्न। केही प्रतिष्ठित संस्थाहरूबाट लोभलाग्दो पारिश्रमिक सहित जागिरको प्रस्ताव आउँदा समेत तपाईँ सो प्रस्तावलाई अस्वीकार गरिदिनुहुन्छ। जागिर खाने होइन, खुवाउने हो भन्दै विभिन्न व्यवसायिक आइडिया/योजनामा आफ्नो भाग्य र भविष्य कोर्ने कार्यमा दत्तचित्त हुनुहुन्छ। तपाईँका सबै व्यवसायिक आइडिया/योजनाहरू दमदार र सही हुन्छन् भन्ने छैन। त्यसकारण तपाईँले गलत व्यवसायिक आइडिया/योजनामा अत्याधिक समय, उर्जा र पैसा खेर फाल्ने सम्भावना उच्च रहन्छ। परिणामस्वरूप तपाईँको जीवन संकटपूर्ण, अनिश्चित र अन्धकार बन्न जान्छ। त्यसैगरी मानौँ, तपाईँले आफूलाई परोपकारीका रुपमा पनि बुझ्नु भएको छ। यस्तोमा तपाईँ परोपकारी कार्य गर्न पाइने अवसरको खोजीमा हुनुहुन्छ। आफ्नो आर्थिक हैसियत मजबुत नभएतापनि नाम राख्नकै लागि या आफ्नो पहिचान कायम राख्नकै लागि आर्थिक सहयोग गर्नमा, दान दक्षिणा दिनमा जोडतोडले अघि सर्नुहुन्छ। कथमकदाचित त्यसो गर्न नसकेको अवस्थामा दुःखी/निराश हुनुहुन्छ।

दुई, धूमिल ओज/प्रतिष्ठा/साख। मानौँ, तपाईँ वास्तवमै सफल व्यवसायी, उद्यमी एवं परोपकारी बन्नुभयो। यस्तोमा तपाईँ यसैलाई आफ्नो पहिचान बनाउनुहुन्छ र विशेष विशेषाधिकारको अपेक्षा राख्नुहुन्छ। आफू वास्तविक व्यवसायी, उद्यमी एवं परोपकारी हुँ भन्ने पहिचान सुरक्षित राख्न र सोही पहिचानलाई थप सशक्त बनाउन शक्तिकेन्द्र निकट रहन थाल्नुहुन्छ। समय र परिस्थिति अनुसार राजनीतिक दल छनोट गर्नुहुन्छ। पैसाले राजनीतिक दल खरिद गरि आफू अनुकूल नीति, नियम र कानून निर्माण गर्ने दुष्प्रयास गर्नुहुन्छ। त्यसपछि व्यवसाय फैलाउन, आर्थिक अवस्था सुदृढ गराउन निष्फिक्री अनैतिक तथा गैरकानूनी कार्यमा संलग्न हुनुहुन्छ। केहीजानी तपाईँको दुष्कर्म छताछुल्ल भए या तपाईँ कुनै प्रकरणमा फँसे आफ्नो बचाउमा अनेक हथकण्डा र कुटिल चाल अपनाउनुहुन्छ। आफ्ना गल्तीहरू अस्वीकार गर्ने मात्र नभएर कानूनको दायरामा आउन चाहनुहुन्न। आत्म-रक्षामा जनभावना आफू अनुकूल बनाउने प्रकृतिका, कानून र अनुसन्धान प्रक्रियालाई समेत प्रभाव पार्ने खालका अभिव्यक्तिहरू दिन थाल्नुहुन्छ। जस्तैः यतिका धेरै मानिसहरूलाई रोजगार दिएको छु, राज्यलाई वर्षौं देखि राजश्व तिर्दै आएको छु, नियमित रुपमा परोपकारी कार्यमा सक्रिय छु, म जत्तिको व्यक्तिले बयान दिँदै हिँड्नुपर्दा जनतामा कस्तो सन्देश गयो होला, यो देशमा व्यवसाय गर्ने वातावरण नै भएन, सरकारले व्यवसायी, उद्यमी र लगानीकर्ता माथि राजनीति गर्यो, स्टन्टबाजी गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनु जरुरी छैन, आदि/इत्यादि। जब तपाईँ यस प्रकृतिका अभिव्यक्तिहरू दिनुहुन्छ, स्वभावतः तपाईँको ओज/प्रतिष्ठा/साख धूमिल हुँदै र गुम्दै जान्छ।

बौद्धिक व्यक्तित्व

समाजले बौद्धिकता र तर्कसङ्गत कुरालाई अति महत्त्व दिन्छ। तर यसो भन्दैमा आफूलाई बौद्धिक व्यक्तित्वका रुपमा चिनाउन तत्पर रहनु चाहिँ बुद्धिमत्ताको उच्चतम प्रयोग होइन। यसो गरेको खण्डमा अनेकन् दुःख, कष्ट, परेसानी र जटिलताहरू सहनुपर्ने हुन्छ। केहीबारे छोटकरीमा चर्चा गरौँ:

एक, अनावश्यक वादविवाद। मानौँ, तपाईँले आफूलाई बौद्धिक व्यक्तित्व मान्नुभयो। यस्तोमा तपाईँको इगो भयानक रहन्छ। आफूलाई उच्च श्रेणीमा र अरुलाई निम्छरो वर्गमा राख्नुहुन्छ। मस्तिष्कको क्षमता, तर्क, गणित र ज्ञानलाई सबैथोक ठान्नुहुन्छ। हरेक कुरामा आफ्ना धारणाहरू व्यक्त गर्न, ज्ञान प्रदर्शन गर्न हरदम तयार हुनुहुन्छ। थाहा भएन, आउँदैन वा बुझेको छैन भन्ने तपाईँको बानी नै हुँदैन। हरेक अन्तरक्रिया वा संवादमा आफू हावी हुन, म सही छु र अरुहरू सतप्रतिशत गलत छन् भन्ने प्रमाणित गर्नमा सक्रिय हुनुहुन्छ। यी सम्पूर्ण व्यवहारहरूले गर्दा तपाईँको अरु बौद्धिक, तार्किक व्यक्तित्वसँग अनावश्यक मनमुटाव, झैझगडा र वादविवाद हुन जान्छ। यसरी तपाईँ आफ्नो बौद्धिकता होइन, मुर्खता प्रदर्शन गर्ने अवस्थामा पुग्नुहुन्छ।

दुई, प्रेम-सम्बन्धमा अनावश्यक बाधा अड्चन। मानौँ, तपाईँले बौद्धिक व्यक्तित्वको पहिचानलाई बढवा दिनुभयो। यस्तोमा तपाईँ अरुको मनोभावना बुझ्न सक्नुहुन्न। आफूले व्यक्त गर्न चाहेका कुराहरू सिधा भनिदिनुहुन्छ। यो शैली भावनात्मक व्यक्तिहरूलाई मन पर्दैन। उनीहरूले आफ्नो भावनालाई ठेस पुगेको ठान्छन् र तपाईँहरूबीचको सम्बन्धमा तिक्तता पैदा हुन्छ। त्यसैगरी मानौँ, तपाईँ अलि बढी भावनात्मक हुनुहुन्छ। एउटी महिलालाई प्रेमभाव व्यक्त गर्ने क्रममा तिमी चन्द्रमा जस्तै सुन्दर छौ, आकाशको तारा झारेर तिम्रो हत्केलामा राखिदिन सक्छु भन्नुभयो भने? ती महिला भावनात्मक नभई अति तार्किक छिन् भने? तपाईँले भनेका तमाम् कुराहरू कत्तिपनि चित्त बुझाउन सक्दिनन्। तपाईँका भावनात्मक भनाइहरूलाई उति महत्त्व दिन सक्दिनन्। कारण? तर्कसङ्गत रुपमा हेर्ने हो भने चन्द्रमा एक मृत वस्तु हो। त्यसको सतह निकै नराम्रो छ, धूलोमूलो र क्रेटरहरूले (ज्वालामुखीका मुखहरू) भरिपूर्ण छ। त्यसमाथि त्यसको छुट्टै आफ्नो प्रकाश पनि छैन। अर्को कुरा, तारालाई झारेर हत्केलामा राख्छु भन्नु हास्यास्पद कुरा हो। त्यसैले चन्द्रमा र ताराहरूबारे वैज्ञानिक व्याख्या र विश्लेषण गर्ने ती महिलालाई तपाईँका भनाइहरू चित्तबुझ्दो लाग्ने सम्भावनै रहँदैन। आफ्नो प्रशंसा भएको भन्दा पनि खोइरो खनिएको, मजाक उडाइएको बुझ्छिन्। आफूलाई हल्का रुपमा लिएको र केवल नाटकबाजी गरेको ठान्छिन्। फलस्वरुप तपाईँहरूबीच प्रेम-सम्बन्ध स्थापित गराउने सिलसिलामा अनावश्यक बाधा अड्चनहरू आइपर्छन्।

पीडित

जीवन सधैँ एकनासले चल्दैन। कहिले सुखानुभूति हुन्छ त कहिले पीडाको अनुभूति। अब लामो समयसम्म पीडाको अनुभूति गर्नुपर्दा पीडित मानसिकता विकास गर्नुभयो या आफूलाई पीडित व्यक्तिको रुपमा लिनुभयो भने निश्चयनै त्यसको परिणाम सकारात्मक हुन सक्दैन। अनेकन् दुःख, कष्ट, परेसानी र जटिलताहरू आत्मसात गर्नुपर्ने हुन्छ। समग्रमा भन्नुपर्दा, तपाईँको जीवन परिस्थिति यथावत् रहन्छ, निरन्तर असफलता प्राप्त गर्नुहुन्छ र आधारभूत आवश्यकताहरू पनि परिपूर्ति गर्न सक्नुहुन्न। यसबारे स्पष्ट हुने कोसिस गरौँ।

यदि तपाईँले आफूलाई पीडित व्यक्तिको पहिचान दिनुहुन्छ भने तपाईँमा हीन भावना जागृत हुन्छ। अभावको मानसिकता विकास हुन्छ। त्यसपश्चात् अवसर होइन, अरुको आश्वासन र सहानुभूति खोज्नुहुन्छ। अरुबाट विशेष ख्याल र सहयोगको अपेक्षा राख्नुहुन्छ। त्यसैगरी तपाईँमा प्रेरणाको स्तर, आत्मविश्वास र इच्छाशक्ति हराउँदै जान्छन्। भाग्यमै पीडित हुन लेखेको रहेछ भनेर पहिल्यै हार मान्नुहुन्छ। अनि आफ्नै अग्रसरतामा कुनै कार्य गर्नुहुन्न। आफूले चाहेका कुराहरू प्राप्तिका निम्ति कठोर संघर्ष गर्न तथा प्रतिस्पर्धात्मक कार्यमा भाग लिन चाहनुहुन्न। त्यसैगरी तपाईँ संकटको घडीमा शान्त, एकाग्र र आत्मविश्वासी रहन सक्नुहुन्न। त्यस क्षणदेखि उन्मुक्त रहन चुनौतीपूर्ण कदम चाल्न सक्नुहुन्न। आफ्नै सुरक्षाको घेराभित्र बस्न रमाउनुहुन्छ। त्यसैगरी तपाईँ पूर्ण जिम्मेवारी लिन तयार हुनुहुन्न। अरुलाई दोषारोपण गर्न थाल्नुहुन्छ। कसैले रचनात्मक सुझावहरू, मार्गनिर्देशन दिए सहजताका साथ ग्रहण गर्न सक्नुहुन्न। उल्टै झन्झट मान्ने, रिसाउने र उग्र व्यवहार देखाउन थाल्नुहुन्छ। यी सम्पूर्ण कुराहरू कारण तपाईँ आफ्नो जीवन परिस्थिति उकास्न या परिवर्तन गर्न सक्नुहुन्न। क्रमशः असफलताको खाडलमा डुब्दै जानुका साथसाथै आधारभूत आवश्यकताहरू समेत जोहो गर्न सक्नुहुन्न।

सच्चा प्रेमी

प्रेम-सम्बन्धमा आफूलाई सच्चा प्रेमीको रुपमा प्रस्तुत गर्न खोज्नु राम्रो हो। तर आफू सच्चा प्रेमी रहेको कुरालाई अति महत्त्व दिनु वा आफ्नो पहिचान नै सच्चा प्रेमी रहेको स्थापित गर्न खोज्नु चाहिँ कदापी फलप्रद हुन सक्दैन। मानौँ, तपाईँले आफूलाई सच्चा प्रेमीको रुपमा बुझ्नु भएको छ। अब तपाईँ अरु मानिसहरू पनि सच्चा प्रेमी होउन् र उनीहरूबाट सच्चा प्रेम प्राप्त होस् भन्ने अपेक्षा राख्नुहुन्छ, जुन सतप्रतिशत पूरा नहुन सक्छ। यस्तोमा तपाईँ अनेकन् दुःख, कष्ट, हैरानी र जटिलताहरू व्यहोर्न पुग्नुहुन्छ। केहीबारे चर्चा गरौँ:

एक, प्रेम-सम्बन्ध सुरु गर्ने क्रममा अस्वीकृति सहज रुपमा स्वीकार्न सक्नुहुन्न। कुनै एउटी महिलाले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको खण्डमा अधिक पीडा महसुस गर्नुहुन्छ। म एक सच्चा प्रेमी हुँ, म उनीलाई निस्वार्थ भावले प्रेम गर्छु, उनीलाई मैले जत्तिको प्रेम गर्ने अरुहरू कोही छैनन्, यसर्थ उनीले पनि मलाई सच्चा प्रेम गर्नैपर्छ भन्ने जस्ता सङ्कुचित सोचहरू राख्नुहुन्छ। त्यसमाथि तपाईँ पागल प्रेमी जसरी उनीलाई नियमित फोन गर्ने, म्यासेज पठाउने, सामाजिक सञ्जाल लगायत सार्वजनिक ठाउँमा पछ्याउने गर्नुहुन्छ। यति गर्दा पनि सम्बन्ध जोड्ने प्रक्रियामा कुनै प्रगति नभए तपाईँ उनीलाई एउटी घमण्डी, अहंकारी र भावनाविहीन महिलाको रुपमा चित्रण गर्नुहुन्छ। तपाईँका यी सम्पूर्ण व्यवहारहरूले गर्दा तपाईँ झन् अप्ठ्यारो परिस्थितिमा फँस्दै जानुहुन्छ।

दुई, तपाईँ प्रेम-सम्बन्धमा सुरक्षित महसुस गर्न सक्नुहुन्न। प्रेमिकालाई यति धेरै प्रेम गर्दा के उनीले मलाई उत्तिकै प्रेम गर्छिन्? के उनीले मैले जस्तै चोखो प्रेम गर्छिन्? उनीप्रति मेरा जस्ता भावनाहरू छन् के उनी मप्रति त्यस्तै भावनाहरू राख्छिन्? कतै उनी अरु पुरुषहरूसँग बोल्दैछिन् कि? यी यावत् प्रश्नहरूले तपाईँलाई सताउन थाल्छन्। त्यसैले तपाईँ आफ्नी प्रेमिकालाई पूर्ण स्वतन्त्रता दिने पक्षमा हुनुहुन्न। पलपलको जानकारी लिन थाल्नुहुन्छ। उनी परपुरुषसँग बोलेको, घुमघाम गरेको देख्न र परिकल्पना गर्न सक्नुहुन्न। कसैसँग बोलेको या भेटेको देखे तुरुन्तै सोधपुछ गरि हाल्नुहुन्छ। यसले तपाईँहरूबीच गोपनीयता भङ्ग हुन जान्छ। अविश्वासको खाडल पैदा हुन्छ। यस अतिरिक्त, तपाईँको आकर्षण घट्दै जान्छ। जसकारण तपाईँकी प्रेमिका तपाईँबाट कुनै पनि क्षण अलग हुन सक्छिन्।

तीन, तपाईँ ब्रेकअप या प्रेमिकासँग छुट्टिए पश्चात जीवनमा अगाडि बढ्न सक्नुहुन्न। तपाईँको मनमस्तिष्कमा सच्चा प्रेम पाउन कठिन छ, सबै महिलाहरू अवसरवादी हुन्छन्, म जस्ता सच्चा प्रेमीलाई सबै महिलाहरूले प्रयोग गर्छन् भन्ने जस्ता निराशावादी विचारहरू उत्पन्न हुन थाल्छन्। तपाईँ नयाँ महिला वा प्रेमिका खोज्न सक्नुहुन्न। नयाँ सम्बन्ध जोड्ने पर्याप्त अवसरहरू, विकल्पहरू उपलब्ध हुँदाहुँदै तपाईँ अलिकति भए पनि हिम्मत गर्न सक्नुहुन्न। नयाँ सम्बन्ध जोड्नका लागि सक्रियता बढाउन चाहनुहुन्न। जसकारण तपाईँको प्रेम जीवनमा नयाँ प्रेम-सम्बन्ध सुरुवातका लागि कुनै आधार र वातावरण सिर्जना हुन सक्दैन। तपाईँ लामो समयसम्म सिंगल (एक्लो) बस्नुपर्ने बाध्यात्मक परिस्थिति खडा हुन्छ।

अत्याधिक काम गर्ने व्यक्ति

अपेक्षित परिणाम प्राप्त गर्नका लागि काम गर्नुको अर्को विकल्प छैन। यसो भन्दैमा काम, काम र काममै व्यस्त हुनु, त्यसैका बारेमा मात्रै सोचिरहनु र आराममा ध्यान नदिनु भने अनुत्पादक बन्न जान्छ। मानौँ, तपाईँले आफूलाई अत्याधिक काम गर्ने वा धेरै भन्दा धेरै काम गर्न सक्ने व्यक्तिका रुपमा लिनु भएको छ। यस्तोमा तपाईँले अरु महत्त्वपूर्ण कुराहरूलाई थाँती राखेर कामलाई नै पहिलो प्राथमिकतामा राख्नुहुन्छ। विभिन्न चरण या लटमा काम सम्पन्न गर्नु भन्दा एकैपटक धेरै काम गर्नुलाई, एकछिन आराम नगरी निरन्तर काममा सक्रिय हुनुलाई सर्वोस्व ठान्नुहुन्छ र त्यसैबाट कृत्रिम सन्तुष्टि लिनुहुन्छ। काम बाहेकका गतिविधिहरूमा संलग्न हुनुलाई समयको बर्बादीका रुपमा व्याख्या गर्नुहुन्छ। निरन्तर काममा आबद्ध हुनु तपाईँको बानीको रुपमा विकास हुन्छ। यस्तो बानीले तपाईँलाई अनावश्यक दुःख, कष्ट, हैरानी र जटिलताहरू तर्फ धकेल्छ। केहीबारे चर्चा गरौँ:

एक, तपाईँ यान्त्रिक बन्नुहुन्छ। काम अस्वीकार गर्न या कसैलाई जिम्मा दिन सक्नुहुन्न। जसरी एक मेशिन वा यन्त्रलाई कुनै काम दिने बित्तिकै काम गर्न थाल्छ, त्यसैगरी कसैले तपाईँलाई काम दिने बित्तिकै तपाईँ सो काम गर्नका लागि तत्काल तयार हुनुहुन्छ। सो काम गर्नु कत्तिको अत्यावश्यक, जरुरी र महत्त्वपूर्ण छ भन्नेमा ध्यान दिन सक्नुहुन्न। जसले गर्दा तपाईँ अर्थहीन र अनावश्यक काममा आफ्नो बहुमूल्य समय, उर्जा र पैसा खर्चिन पुग्नुहुन्छ।

दुई, तपाईँ आराम गर्न सक्नुहुन्न। कयौँ घण्टा काम गरेपछि आरामको आवश्यकता पर्छ। तर एकछिन खाली बस्नु पर्यो भने तपाईँमा छट्पटाहट बढ्छ। के गरौँ, कसो गरौँ हुन्छ। विश्रामको समय नसकिँदै, पूर्ण रुपमा थकान नमेटिँदै अर्को काममा हात बढाउन थाल्नुहुन्छ। जसले गर्दा तपाईँको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ। अनि निकट भविष्यमा आफूले अथक परिश्रम गरेर कमाएको सम्पूर्ण धनसम्पत्ति स्वास्थ्य बनाउन, सुधार्नमै खर्च हुन जान्छ।

तीन, परिवारलाई गुणवत्ता समय दिन सक्नुहुन्न। आफू आवद्ध संस्थामा धेरै काम रहेको खण्डमा अतिरिक्त समय खट्न तयार हुनुहुन्छ। प्रायः कार्यकक्षमा गर्नुपर्ने बाँकी काम घरमा गर्न थाल्नुहुन्छ। काममा यति धेरै हराउनुहुन्छ कि आफू वरिपरि पारिवारिक सदस्यहरूको उपस्थिति, रोकटोक या बाधा अड्चन सहजै स्वीकार्न चाहनुहुन्न। उल्टै झन् उनीहरूप्रति काम गर्न नदिएको, काम बिगारिदिएको भनेर उग्र रुप देखाउन थाल्नुहुन्छ। जसले गर्दा तपाईँको परिवारभित्र कलह, झैझगडा हुने क्रम बढ्दै जान्छ र अन्ततोगत्वा पारिवारिक सदस्यहरूबीच सुमधुर, कसिलो तथा सामंजस्यपूर्ण सम्बन्ध कायम हुन सक्दैन।