परापूर्वकालमा एकजना अत्यन्त प्रभावशाली ऋषि थिए । तिनको नाम थियो जरत्कारु । ती ऊर्ध्वरेता थिए, आहारविहारमा अत्यन्त संयमी, परम धर्मज्ञ, तपोबलोद्दीप्त एवम् ब्रह्मचारी थिए । यायावरहरुमा उनी सबैभन्दा श्रेष्ठ थिए ।
सदा वरपर विचरण गरिरहने मुनिलाई यायावर भनिन्छ । यता उता घुमिरहने, मुनिवृत्तिले रहने, एउटा गाउँमा एक रातभन्दा बढी नबस्ने, एक पक्षमा एकपटकमात्र अग्निहोत्र सम्पन्न गर्ने, यसैगरी सारा संसार घुमीरहने, घुम्दाघुम्दै जाँदा जहाँ साँझ पर्छ त्यहीँ वास बस्ने जीवनशैली भएका एक प्रकारका जातिविशेषलाई यायावर भनिन्छ –
यायावरा नाम ब्राह्मणा आसन् । ते अर्धमासादग्निहोत्रमजुह्वन् : भारद्वाज ।
जरत्कारु पनि घुमीरहन्थे, जहाँ साँझ पर्यो त्यहीं वास बस्थे । ती सारा तीर्थहरुमा स्नान गर्दै घुम्दथे । ती महातेजस्वी मुनिले कठोर व्रतको दीक्षा लिएर यो दुस्साध्य यात्रा प्रारम्भ गरेका थिए । ती कहिले वायुपान मात्र गरेर रहन्थे । भोजन नगरी नगरी आफ्नो शरीरलाई सुकाइरहन्थे । तिनले निद्रामाथि पनि विजय हासिल गरेका थिए । उनी अग्निझैँ तेजस्वी देखिन्थे ।
…..
एक दिन घुम्दै जाँदा उनले आफ्ना दिवंगत पितृहरुलाई देखे । तिनीहरु उँधोमुण्टो लाएर एउटा गहिरो खाडलमा झुण्डिएका थिए । तिनीहरुलाई देखेर करुणा र विस्मयले अभिभूत हुँदै जरत्कारुले सोधे :
तपाइँहरु को हुनुहुन्छ अनि किन यसरी उँधोमुण्टो लाएर झुण्डिनुभएको ? अनि फेरि यो तपाइँहरुको उझिण्डो बनेको घाँसका त्यान्द्राले बनेको कमजोर डोरीलाई पनि मुसाले काटिसक्नैे लागेको छ ।
उनीहरुले भने : हामी कठोर व्रतधारी यायावर मुनि हौं, आफ्नो सन्तानपरम्परा विच्छिन्न भएकाले अब उः तल मत्र्यलोकमा झर्न विवश बनेका छौँ । हाम्रो जम्मा एउटै सन्तान बचेको छ, त्यसको नाम हो जरत्कारु । त्यस मूर्खले बिहा नै नगर्ने निधो गरेको छ । उसले बिहे नै नगरेपछि सन्तान पनि हुने भएनन् । सन्तान नभएपछि हामीलाई पिण्डपानी गर्ने पनि कोही नहुने भो । अनि त हाम्रो अधोगति हुने भैगयो नि !
तर, तपाइँ किन हामीलाई यो कुरा सोध्दै हुनुहुन्छ ? अनि किन हाम्रो दुर्भाग्यप्रति चासो देखाउँदै हुनुहुन्छ ?
जरत्कारुले भने : जरत्कारु भनेको मै हुँ , अनि तपाइँहरु मेरै पितृगण हुनुहुँदो रहेछ । अब भन्नुहोस् , म तपाइँहरुको के सेवा गरुँ ?
बाबू, तिमीले बिहा गर्नुपरयो , सन्तान जन्माउनुपरयो । यसैबाट हाम्रो कल्याण हुनेछ र तिम्रो पनि ।
हुन त मैले बिहा नगर्ने नै निधो गरेको थिएँ । तर, तपाइँहरुले भनिहाल्नुभयो , तपाइँहरुको उद्धारका लागि भए पनि मैले अब बिहा गर्नै पर्ने भयो । तर, मेरा दुइटा शर्त छन् : एक, मैले बिहा गर्ने कन्याको नाम पनि मेरैजस्तो हुनुपर्नेछ । दुई, त्यस कन्याका बन्धुबान्धवहरुले मेरै निम्ति भनेर त्यसलाई राखेको हुनुपर्नेछ , अनि भिक्षाको रूपमा स्वयं त्यो कन्या मलाई प्राप्त भइछे भने म विधिपूर्वक त्यसको पाणिग्रहण गरुँला । किनभने म एक दरिद्र ब्राह्मण हुँ , मलाई कसले पो आफ्नी कन्या देला र ? यदि यो शर्त अनुसार मेरो बिहा भएछ भने र ती कन्याबाट सन्तान भएछ भने उसले तपाइँहरुको पिण्डपानी गर्ला, अनि तपाइँहरु आफ्नो सनातन पितृलोकमा सुबिस्तासाथ रहनुहोला ।
वास्तवमा त्यो गहिरो खाडल मत्र्यलोकको प्रतीक थियो । स्वर्गवासी पितृहरुलाई पिण्डपानी दिने कोही भएन भने सदा मत्र्यलोकमै झरिने डर रहिरहन्छ । उनीहरु उँधोमुन्टो झुण्डिनुको तात्पर्य पनि त्यही हो । काल नै मूसो हो । वंशपरम्परा नै ती पितृहरुलाई अड्याइराख्ने तृणहरुको डोरी हो, जरत्कारुले बिहे गरेर सन्तान नजन्माउनाले त्यो सुकिसकेको र मूसाले काटेर चुँडिनै लागेको पनि थियो ।
….
त्यस उप्रान्त ती कठोर ब्रह्मचर्यव्रत धारण गरेका तपस्वी जरत्कारु आफूले चिताएजस्ती कन्याको खोजीमा सारा संसार परिभ्रमण गर्र्दै रहे, तर कतै त्यस्ती कन्या पाउन सकेनन् । एक दिन कुनै अटव्य जंगलमा पुगी आफ्ना पितृहरुको वचन सम्झँदै एकाग्र भावले त्यस सूनसान ठाउँमा पुकार गर्न लागे :
मलाई भिक्षाका रूपमा कन्या दिने कोही छ कि ?
एक पटक भने, कोई आएन !
दोस्रो पटक भने, कोई आएन !!
तर तेस्रो पटक यो आह्वान गरिसकेका मात्र के थिए एक्कासि नागराज वासुकि आफ्नी बहिनीलाई लिएर त्यहाँ आविर्भूत भए र भने :
यो भिक्षा ग्रहण गर्नुहोस् ।
जरत्कारुले सोधे : हे नागराज, तपाइँकी यी बहिनीको नाम के हो ? भन्नुहोस् ।
उनलाई आश्चर्यचकित बनाउँदै नागराज वासुकिले भने : हे ब्राह्मणदेव जरत्कारु, यी मेरी बहिनीको नाम पनि जरत्कारु नै हो , अनि यिनी– छिनेको कमर भएकी हाम्री बहिनी तपाइँलाई नै समर्पित गर्ने निधो गरेर हामीले यस घडीको प्रतीक्षा गरिरहेका थियौँ, अतः अब तपाईं यिनलाई ग्रहण गर्नुहोस् ।
यति भनेर वासुकि नागराजले ती आफ्नी बहिनी जरत्कारु ती तपस्वी ब्राह्मण जरत्कारुलाई समर्पित गरिदिए । अनि शास्त्रीय विधिले विवाह गरी ती जरत्कारु दम्पति सानन्द रहन लागे । तिनीहरुबाट एक सन्तान जन्मियो । त्यो तेजस्वी एवं मनोहर थियो । त्यस बालकको नाम राखियो : आस्तीक । पछि गएर ती वेदवेदांगवित्, तपस्वी, प्राणीमात्रमा समभाव राख्नेवाला महात्मा बने ।
तिनले अनेकौं व्रत गरे । स्वाध्याय सम्पन्न गरे । पछि विवाह पनि गरे । सन्तान पनि जन्माए र समस्त पितृकुलको उद्धार पनि गरे ।
यस्ता पुत्र सबैका होऊन् ।
ती आस्तिकले जनमेजयको सर्पयज्ञमा गएर आफ्ना ससुराली खाल नागहरुलाई मृत्यु हुनबाट पनि जोगाए ।
रहस्यको कुरा चाहिँ के छ भने : नागमाता कद्रूले उच्चैःश्रवा घोडाको पुच्छरमा लपेटिएर बस्ने आज्ञा नमानेकाले, आफ्ना सन्तानहरुमाथि आगोमा जलेर नष्ट होऊन् भन्ने शाप दिएकी थिइन् । सर्पयज्ञमा ती सबै नागहरु जलेर खरानी हुनेवाला थिए । तर ती महात्मा ब्राह्मणदेव महाकारुणिक आस्तीकको सामथ्र्यले ती नागहरुको संरक्षण भयो ।
वास्तवमा यसैका लागि त नागराज वासुकिले यायावर दरिद्र ब्राह्मण नै भए पनि जरत्कारुलाई बहिनी दिएर आफ्ना ज्वाइँ बनाएका थिए नि त !
….
महाभारत आदिपर्वबाट ।
सनतकुमार, अक्षरालय , २०८० चैत्र २३ गते शुक्रवार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।