पूर्वकथन:
साहित्य नामको नाङ्लोमा काव्य, आख्यान, नाटक र निबन्ध लगायत अनेकन् विधाहरू निरन्तर ‘पट्याँसपट्याँस’ गरिरहन्छन् । शब्द र अर्थको सहभावले बुनिएको यस वस्तुमा बिट आवश्यक छ, अन्यथा यो ओइरिने जोखिम ब्युँतिरहन्छ । यसर्थ, च्याटजिपिटीको यस युगमा साहित्य नामको यस कठिन, जटिल र व्यापक नाङ्लोको महता उजिल्याउन सिर्जनात्मक एवं विमर्शात्मक परिदृश्यहरू आवश्यक पर्दछन् । सिर्जनात्मक परिदृश्यको हकमा आजभोलि म ‘ठप्पै’ हुनाले विमर्शात्मक परिदृश्य खिच्न खोजिरहेको छु । यस शब्दपट्याँस नामको विमर्शात्मक परिदृश्यमा एकाध प्रश्न र एकाध उत्तरहरू रहनेछन् ।
कथन:
प्रथमतः पूर्वकथनलाई सविस्तार व्याख्या गरौँ ।
कविता लेख्न छाडेपछि कविताबारे आल्तुफाल्तु प्रश्न गर्नु मेरो पछिल्लो दैनिकी बनेको छ । कविता लेख्न छाड्नुको कारण ‘लेखेर मात्रै कविता हुँदैन’ भन्ने धीरगम्भीर पाराको ठिस बुझाइ र टिठलाग्दो काइते मनोदशा हाबी हुनु हो । भन्नलाई के लाज, तोरीलाहुरे कविता लेखेर बद्मानी र बेइज्जती खेप्नु भन्दा राम्रा कविता लेखिरहेकाहरूप्रति ईर्ष्या र द्वेष जस्तो ‘प्रतिष्ठित समकालीन मनोराग’ पाल्दै उनीहरूतर्फ दिक्कैलाग्दो प्रश्न तेर्साउनु पो मजा लागिरहेछ । अर्काको बारीको काँक्रो नपाएपछि चोरी औँलो तेर्साउनु नै ठिक ! यसलाई कविता लेख्न नसकिरहेको यस पङ्क्तिकारको एउटा निन्दनीय अड्चन वा घोप्टे पारा मान्दिदा अलि सहज होला !
अझ, लाजै पचाएर भन्नुपर्दा- औँलोको टुप्पोमा एकाएक काव्यिक चाउरीपना आइपरेपछि देखिएको ‘दुई चिया चम्चा बराबर भ्यासलिन प्रयोग गरौँ’ भन्ने चिकित्सकीय उपचारपद्धति हो, यो । अझ, यस्तो चाउरीपन निकै नभएपछि एउटा पाकेको एभोकार्डोमा दुई चिया चम्चा बराबर बदाम तेल दलेर औँलोको टुप्पो हुँदै हृदयसम्म देखिएको साहित्यिक सुक्खापनलाई चिल्लो पार्ने मेलोमेसो पनि हो, यो ।
भन्नुस्, लेख्न सकिनँ भनेर हृदयमा मडारिएको चैतको हुरीलाई सामसुम पार्ने तौरतरिका ।
मोही पार्नेले नौनी दलेजस्तो !
मह काढ्नेले हात चाटेजस्तो !
अचार बनाउने औँलो चुसेजस्तो !
– एउटा आफूनुकुल परिस्थितिको खोजी ! सायद पाठक झुक्क्याउने आँट पनि !..
यति भनिसकेपछि, यस शृङ्खलाले साहित्यिक अन्तर्वार्ता विधाको कट्टु तान्दिएको छ भन्नेमा त कुनै शङ्कै रहेन । तर, नेपाली साहित्यलाई नांगेझार पार्नु यस शृङ्खलाको सोचविचार होइन । उद्देश्य होइन । अठोट होइन । हठ होइन ।..
नेपाली समाजका अनेकन् किसिमका नूतन र पुरातन चिन्तनबिच भीषण सङ्घर्ष भइरहँदा सांस्कृतिक–साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टा–द्रष्टाहरूलाई जिस्काउन मन लागेर यति गरेको ! एउटा साहित्यिक व्यक्तिलाई राजनीतिक, सामाजिक वा सांस्कृतिक विषयमा केरकार गर्नुभन्दा उसको साहित्यिक जीवनमै देखापरिरहेका कैयौँ विरोधाभासहरूलाई कोट्याइदिऊ न भनेर यति गरेको ! उसको हृदयमा जमेको लुतो कन्याइदिऊ न भनेर । उसलाई चिरिक्क चिमोटिदिऊ न भनेर । प्याट्ट हिर्काइदिऊ न भनेर । च्याट्ट उसको साहित्यिक खानपिनमा चोखे ल्याइदिऊ न त भनेर । फ्याट्ट मुखाले भई खाऊ न त भनेर ! ..
उत्तर आधुनिकतावादले नेपाली समाजले जन्माएको तमाम प्राज्ञिक कौतुहलताहरूमध्ये मेरो प्रिय साहित्यिक कौतुहलतालाई बुझाऊ न त भनेर पनि यसो गरेको ! कविताबारे बहस (समालोचना ?) गरिरहनेहरूले कविको हेराई, बुझाई, भोगाइबारे बहस गर्न अल्छी गरिरहेको चाल पाएर यो फन्टुसगिरि गरेको ! समकालीन विचार, विमर्श, चिन्तन, दर्शन, कला, साहित्य, भाषा, जीवनपद्धति, संस्कृति, चाडपर्व, उपभोग संस्कृति, राजनीति, शिक्षा, विकासका नीति, अभ्यास, आयाम आदिआदिबारे सोचविचार गरेर नदुखेको टाउको दुखाउनु भन्दा यस्तै गरेर पनि दिन बियाँल्न सकिन्छ कि भन्ने लागेर पनि यसो गरेको ! सजिलो बाटो खोजेको ! किनभने, कविता लेखिरहने कविलाई जिस्काउनु भनेको सामाजिक व्यवहारिकतालाई बुझ्नु हो । यसमा सबैको मतैक्य छ कि ‘कविता समाजको दार्शनिक मूल खाँबो हो’, यसैले समाजको गतिशीलता र सजीवता चिन्नलाई कविता वा कविसँग ठोक्किनुपर्छ ।
यसो किन गरेको भन्ने सम्बन्धमा अझ बताउँदा- समकालीन कविता पढिरहेको तर विवेचना गर्न अल्छी लागिरहँदा पनि समकालीन कविलाई चाहिँ पढौँ न त भन्ने लागेकाले यो टपरटुइयाँ गरेको ! कविता पढिरहँदा कविलाई पनि त पढिन्छ नि । अनि पढिएका कविताबारे कविसँग नै ठोक्किनु गलत पनि त होइन (सही पनि होइन) । कि कसो हाउ ?
थप भनौँ, नेपाली सांस्कृतिक, सामाजिक अवस्थाको लथालिङ्गता देखेर साहित्यले खुच्चिङ मारिरहेको त छैन भन्ने संशयको पिलो हृदयमा उठेर पनि यसो गरेको हुँ । यसो गर्दा अन्यथा गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो !’
फेरी, लोकतान्त्रिक समयका कवि, साहित्यकारलाई प्रश्न गर्नु साह्रो बोर काम हो किनभने जिज्ञासा र उत्साह नै शिथिल भएको समय हो यो । जीवनमुखी (भौतिकवाद) र आदर्शमुखी (साम्यवाद) यसबेलामा प्रश्न गर्नु र उत्तर दिनु दुवै अन्धविश्वास, रुढीवाद, पुरोहितवाद भइरहेको नयाँनौलो थोक रहेन । यसप्रकारको समकालीन परिस्थितिजन्य भावभूमिमा निरन्तर काव्य साधना गरिरहेकाहरूले सङ्कीर्णतामाथि प्रहार एवं विकीर्णता र अनेकताप्रति सचेतता देखाइरहेका छन् भने यसप्रकारको झर्कोलाग्दो प्रश्न गर्नु पनि ठिकै हुन्छ कि लागेर यसो गरेको ! भन्नुस्, एउटा काव्यिकावेग मेरो !
फेरी, प्रश्न र उत्तर ‘प्रश्न र उत्तर मात्रै नहोस्’ भन्ने आशावादी उद्गार पनि मकन कति छ कति । भन्नुस्, जसरी पनि अबजसे बनिछाड्ने मनोरोग पालि बसेको छु । हाय.. एउटा अपजस्याहा प्रवृत्ति मेरो !
कथनभूमि:
अब प्रश्नको रचनागर्भ (कथनभूमि) के थियो भन्नेबारे केहीबेर गनगन गरौँ । भन्नुस्, अनावश्यक स्पष्टीकरण दिइहाल्ने समकालीन साहित्यिक प्रवृत्तिको प्रतिनिधित्व गरौँ । भन्नुस्, कविता सुन्न बस्नुभएको तपाईँलाई सुरुमा एउटा मुक्तक झटारो हानिहालौँ ।
‘देश लागूऔषध हो तर, सेवन गर्न नजान्नु हाम्रो भुल हो’ भन्दै २ वर्षदेखि देशाटन गरिरहँदा कविता, कथा नपढी सुतेको रात छैन । हरेक रात फरक बिछ्यौनामा पल्टिएर फरक-फरक कविता पढिरहँदा कहिले भुसुक्कै निदाएको छु, कहिले सिङ्गो रातको निन्द्रा गायब भएको छ । मजस्तो भावुक यात्रुलाई ठाउँअनुसारका दन्त्यकथा, पौराणिक कथा र सामाजिक व्यथाले लखेट्नु पनि छँदै छ, त्यसमा अग्रज एवं समकालीन कविहरू देश-विदेशबाट आधुनिकता सुसेल्दै मोबाइल स्क्रिनसम्म आइदिनाले मेरो यात्रा र यात्रा संस्मरण साह्रो रोचक बन्न पुगेको छ । यसरी आइपुगेका कविताहरूमा कतै मानवताको समर्थन छ, कतै विवेकको दादागिरी पनि । तर, प्रायशः कवितामा सामाजिक सङ्कीर्णताको दुहाई र आधुनिकताप्रतिको मोहभंगता भेटिरहेको छु । वासनामय जीवनको क्षणिकता र भोगवादको तुच्छता आदिले कवितामा स्थान पाएको देख्दा डल्लै खुसी भएर अर्को दिनको नक्सा बोकेर रुक्स्याक कस्न हौसिएका घटनाहरू मकन मनग्ये छन् । कविताले जुरुक्क उचालेको ‘कल्पनाको काव्यिक प्रहार’ले भाङ खाएजस्तो भएका शीतलहरी बिहानहरू पनि छन् । फेरी, समसामयिक चेतना र सामाजिक परिवेश भेट्दै नभेटेर रिनिन्न भएका घाम चर्का मध्यान्हहरू पनि ।
फुइँ ल्याएको होइन तर, कविता पढ्ने र पढिरहने आदतका कारण संस्कृति र सभ्यताको उकाली–ओरालीहरू चढ्न मलाई सजिलो भएको छ । कतै लुङ्दर भए, महिनौँ फरफराइरहेँ । कतै देउरालीका ढुङ्गा भएँ, फूलपाती बटुल्दै रहेँ । यसो गरिरहँदा मलाई बोध भएको छ- आफूले लेखेर मात्रै खुसी भइने होइन रहेछ, अरूले लेखिरहेको देखेर बढ्ता प्रफुल्ल भइँदो रहेछ । मुला, एउटा हृदय यसरी पनि बुझ्दो रहेछ !
अनि हृदय बुझेपछि म एउटा निचोडमा पुगेको छु- समाजको यथार्थ र गतिलावस्थालाई नियाल्नका दुई मध्ये एक गरे पुग्ने रहेछ- साहित्य पढ्ने/लेख्ने वा यात्रा गर्ने । पढ्न धेरै कम, लेख्न ठ्वाप्पै भएको मैले जानेर-नजानेर थोरबहुत रूपमा दुवै गरेछु । अलिअलि कविता पढेछु, अलिअलि देश डुलेछु । यसैले त गाउँगाउँ डुलिहिँड्दा सामाजिक अन्धताले बेस्मारी डामिएको बेला कविताले हृदय सेक्न सकेको छु । यसैले भन्न मन लाग्छ- यात्रामा हिँड्नेले लसुन र तोरीको तेल नै बोक्नुपर्छ भन्ने छैन, ५/१० थान कविता बोकेर एक हप्ता सजिलै काट्न पनि सकिन्छ ।
अनुकथन:
अब यस भूमिकालाई थप लम्बेतान बनाउनु हुँदैन ।
तर, पनि यति चाहिँ भन्नैपर्छ, वर्तमान समयमा कविता लेखिरहँदा एउटा कन्जुस्याइँ गर्नैपर्छ- दार्शनिक पनि भइहाल्न मिल्दैन, राष्ट्रवादी पनि भइदिई हाल्नु हुँदैन । सिद्धान्तवादी भएर पनि धर छैन । स्पष्टीकरण दिँदै हिँड्नु त पाठकले चर्न छाडेका (पढ्न छाडेका) सुख्खा अक्करे भिरबाट फ्याल हान्नु हो । सिधै मृत्यु नशिव ! यस कुरा लेखिरहेकाहरूले बुझेकै हुनुपर्छ, लेख्न छोडेको मैले पनि राम्रैसँग बुझेको छु । तर, आफूले लेख्न छोड्दा पनि समकालीन कविताहरूमा सामाजिक व्यङ्ग्य, हार्दिकता, उदात्तता, विनोद प्रियता आदिआदि मस्तै भेटिदा म फुर्किएको छु । मौलिकताबाट पछाडि नहटीकन उनीहरूले चिन्तनमा चतुरता र रचनात्मकता देखाइरहेको पाउनाले म कविता पढिरहेको छु । फेरी, आशुकवित्वको बोलवालाले निराश भएर घोसेमुन्टो लगाएका क्षणहरू पनि छन्, त्यसबारे अन्यत्र चर्चा गरौँला ।
कला-साहित्यमा शिथिलता देखियो भन्नेहरू एवं नूतन प्रयोग बढ्दै छ भन्ने दुवै गुटले अनेकन् बहस गरिरहेका छन् । त्यस्ता बहसहरूमा अझ पनि कर्पोरेट लचकता, एकेडेमीगत प्रभाव र वैचारिक तालमेल प्रष्ट देखिरहेको हुन्छु । प्रश्न सोध्ने र दिने दुवैले कतै न कतै भन्न बाँकी राखेर नै भनिरहेका पाउँछु, सीमितता देख्छु ! त्यसलाई भत्काउन आवश्यक भनेर पनि यसो गरेको हुँ । यस प्रयासलाई साहित्य नामको नाङ्लो निफन्दा नाङ्लोबाट निस्किएको ‘पट्याँस, पट्याँस’ मान्दिदा बेस हुन्छ ।
अझ, कला–साहित्यमा ज्ञानात्मक पक्ष अनिवार्य हो कि नैसर्गिक हो भन्ने बहस पनि छँदै छ । यो बहस चाहिँ किनभने राजनीतिक परिवर्तनअनुसार तिनले आफ्नो समय र सन्दर्भको प्रतिनिधित्व गरे कि गरेनन् भनेर हेरिनाले जनताको चेतना र आवश्यकतालाई समृद्ध तुल्याउनु पनि कवि/साहित्यकारको दायित्व हुन् आएको छ । ढाटे मरिजाऊ, यसो गर्न नसकेर पनि मैले कविता नलेखेको हुँ ।
अनि कविता लेखेर मात्रै हुँदैन, प्रकाशन, बजारीकरण, समालोचना आदि पनि क्रमागत हुन् आउँछन् । अनि यस्तो साह्रोगाह्रो स्थितिमा कोही किन कविता लेख्छ र लेखिरहन्छ भन्ने लागेर यसो गरेको हुँ । यसकारण यसलाई ‘अन्तर्वार्ता विधाको कट्टु तान्ने काम’ भन्दा पनि ‘विविध मतमतान्तरको बटुलाबटुल’ भनेर बुझिदिँदा ठिक हुनेछ । यसो गर्दा अन्यथा गरिएछ भने आफ्नो बचाउमा एकै थोक भन्न सकिन्छ – ‘हामी यस्तै त हो नि ब्रो’ ।
कथोपकथन:
विक्रम पवन परियारसँग शब्दपट्याँस :
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैं कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
पहिलो प्रश्नको लागि भाइलाई धन्यवाद ! प्रश्न गम्भीर छ । थोरै व्यङ्ग्यात्मक पनि जस्तो पनि लाग्यो तर यथार्थ प्रश्न । सही हो म नै जन्मन्छु यो १००% सत्य थिएन । जन्मने क्रम पछि मात्रै म म भएको हुँ । जन्म मृत्यु जस्तो अन्तिम सत्य हैन । त्यसकारण पनि जन्म हुनु दुर्लभ प्राप्ति नै हो र जन्म पछि असल मानिस हुनु कठिन कार्य हो जस्तो लाग्छ । असल मानिस हुनकाे लागि मानिसमा तत्त्वबाेध हुनुपर्छ । काँचो फलामलाई गालेपछि मात्रै फलामले विभिन्न आकार लिन्छ हो त्यस्तै हो असल मानिस पनि । मलाई कसैले तारिफ गरोस् नगरोस् त्यसको चासो पनि लाग्दैन । म के हुँ ? म के चाहिँ हैन ? त्यो मलाई बाहेक अरू कसैलाई थाहा हुँदैन । म बाहेक मेरो मलाई कसैले चिन्न सकेका छन् जस्तो लाग्दैन किन कि म समयसँग हारिरहेको मानिस हुँ । यहाँ मान्छेहरू बाहिरी आवरणको पछि लागेर तारिफ गर्ने हुन् । तर म भित्रको पीडा दर्द उल्झन कसले देखेको छ र ? मलाई तारिफ गरुन् नगरुन् मलाई कहिल्यै चासो भएन । तर यो साहित्य क्षेत्रमा यस्तो प्रवृत्ति नभएको चाहिँ हैन । कविता राम्रो होस् नहोस् तर गुट उपगुटका मान्छेले पालैपालो तारिफ चाहिँ गरेको देखेको छु । मेरो कुनै गुट छैन । किन कि म यौटा फकिर हुँ जसको जिन्दगीमा कोही छैन म बाहेक । म सबैलाई आफ्नै दाजुभाइ आफन्त ठान्छु । अरूले मलाई के भन्छन् ? त्यो महत्त्वपूर्ण विषय हैन । म के गर्दैछु त्यो चाहिँ मेरालागि महत्त्वपूर्ण पाटो हो ।
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार !
हाे, म कविता पढ्ने मान्छे हुँ । तर कविता जबर्जस्ती चाहिँ कहिल्यै पढ्दिनँ । म कसैकाे निर्देशनमा याे याे फलानाेकाे कविता पढ् भनेर कसैले भन्छ भने पनि पढ्दिनँ । मलाई पढ्नकाे लागि मुड हुनुपर्छ । मलाई मन लागेपछि म जसकाे कविता पनि पढ्छु । कविता किन पनि पढ्छु भने कविता पढेपछि नै हाे कविता कस्ताे रहेछ भन्ने थाहा पाइन्छ । कविता मेराे जीवन हाे । कविता ऐना पनि हाे । जसले छर्लङ्ग पारिदिन्छ । कवितामा सबथाेक हुन्छ जीवन दर्शन, समाज, देश, भुगाेल सबै भेटाउँछु कवितामा त्यसकारण पनि कविता पढ्छु । मैले सबैभन्दा पहिला पढेकाे कविता प्राथमिक तहमा हुँदा नै हाे “टालाटुली बाटुली” ।
म एक त धेरै कम पढ्छु कथा, कविता, उपन्यास, निबन्ध, गजल । जति पढ्छु अक्षर अक्षर छामेर पढ्छु । पढेका जति सबै राम्रा, उत्कृष्ट छन् भन्ने पनि छैन । म एक कसैलाई हाेच्याएर पनि समीक्षा गर्दिनँ । ‘तैट कविता’ पनि भन्दिनँ । तर पछिल्लाे समय कवित्व हाेस् नहाेस् जाे पनि कवि भएका छन् । डा. ताेसिमा कार्की सम्ममा आइपुगेकाे छ कविताकाे बाढी जसले कवितालाई अकविता बनाइदिएकाे छ । हामीमा के भ्रम छ भने जसरी लेखेपनि आखिर कविता नै बन्छ कविता नै हाे भन्ने साेचकाे विकास भयाे जसले गर्दा कविताकाे हत्या भएकाे छ । याे नेपाल हाे जहाँ ३ कराेड नेपाली नै कवि हुन् । अँ साँच्चै भन्नूपर्दा कान्तिपुरले सधैँ छपाइ राख्ने कविका प्रगतिशील तर नाराजस्ता कविता, डिकाे नदिएका थुप्रै कविता पढ्दा पढ्दै झ्याउ लागेका चाहिँ पक्कै छ । फेरि पाठक पनि त्यस्तै छन् हाम्रा । कवितामा इमाेस्नल ज्यादा प्रयाेगले पाठकहरू रुन्छन् अब त्याे कविता भयाे भएन भन्दा पनि कविता हाे । छाेडिदिनुस् यार कविता लेख्न दिनुपर्छ पछि सब फिल्टर हुन्छन् । मैँ पनि भाेली फिल्ट भएर पत्तासाप हुन पनि सक्छु तर मलाई स्वीकार छ ।
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता संग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है । नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् !
थुप्रै हुनुहुन्छ दामी दामी कविहरू नाम छुट्न सक्छ त्यसकारण नाम नलिऊँ । पछिलाे समय पढेकाे कविता मध्ये मलाई “पर्वत पर्वतमा बटुवा घाम” बहुत मन परेकाे कविता सङ्ग्रह हाे । अरू पनि थुप्रै छन् कविता सङ्ग्रहहरू मन परेका लिस्ट लामै छन् । कविता भनेर लेखिसकेपछि कविता लेखियाेस् भन्ने लाग्छ । मलाई झुर लागेका कविताहरू कसैलाई मन पर्न सक्छ फेरि मैले झुर भनेर पनि हुने के हाे र ? याे बजारमा अहिले कस्मेटिक सामान बढी बिक्री हुन्छ । अन्य देशका कविहरूका कविता जति पढेकाे छु त्यति मन परेका छन् । म थाेरै कविताहरू मात्रै पढेकाे कवि हुँ । त्याे पनि अनुवाद भएका कविताहरू मात्रै । म पनि सिक्दैछु । कवि बन्नकाे लागि संघर्षमै छु । पछिल्लाे समय अमृता प्रितमका कविताहरू पढेकाे छु । बहुत मन पर्ने कविताहरू छन् अमृता प्रितमका । चर्चित कवि रिमा के.सी. द्वारा अनुवादित “अमृत्ता प्रितमकाे छानिएका कविता” भित्रका कविताहरू जति पढेँ सबै कविताले छाेए । साहिर लुधियानीका गजल, गीत सुन्दा यस्ताे लाग्छ नेपाली साहित्यमा पछिल्लाे पुस्ताले यस्ता कविता गीत गजल त लेख्नै सकिरहेका छैनन् र छैनाैँ पनि ।
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको, आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस यार..।
कविता लेख्ने क्रममा र कविता लेख्दै विभिन्न ठाउँमा जाने क्रममा हण्डर धेरै खाएको फकिर हुँ म । जीवनमा कविता लेख्न नपरोस् भनेर सङ्कल्प गरेको थिएँ कुनै समय । तर नलेखी बस्न पनि सकिनँ । केही सम्बन्ध पनि बिग्रिए कविताकै कारण । घर परिवार नातागोता आफन्तबाट बहुत दुरदुर पनि भएँ । यही कविता लेखनकै उपलब्धि हो । म अहिले जहाँ छु जे गर्दैछु खुसी भएरै गरिरहेको छु । बाँचिरहेको छु । असफलता त कति भइयो होला तर मैले कहिल्यै असफलता भएको चाहिँ महसुस गरिनँ किनकि म समयलाई छाडिदिन्छु । समय हो समयले सफलता असफलता चखाइ रहन्छ । जिन्दगीलाई बचाई राख्ने क्रममा मैले धेरै ठक्कर खाएको छु । ममा विचलन पनि आयो । मर्छु अब भनेर पनि कति पटक प्रयास पनि गरियो तर सबैभन्दा ठूलाे कुरा प्रेम रहेछ जसको कारण म बाँचिरहेँ । बाँचिरहेको छु ।
असफलतामा को विरक्त हुँदैन र ? तर पनि आत्तिनु हुँदैन । आज यौटा खुड्किलो चढ्न सके भोलि अर्को खुड्किलो अवश्य चढ्न सकिन्छ भन्ने हिम्मत राख्नुपर्छ भन्ने लाग्छ । मलाई यस्तो पनि लाग्छ कि म नाै रसले भरिएको मानिस हुँ । कसैकाे असफलता पीडा दर्द देख्नै सक्दिनँ भावुक भई हाल्छु । भाइलाई थाहै होला रोल्पा कार्यक्रमको घटना । म कति भावुक हुन्छु है ? कविता लेख्न पनि गाह्रो काम हो र कविता सरसरती पढ्न सजिलो छ तर भावको गहिराइमा पुग्न चाहिँ गाह्रो काम हो । म कविता उपन्यास पढेर धेरै पटक रोएको छु । पुरस्कार त धेरै थापियो खुसी पनि भइयो यार तर जिम्मेवारी थपिएको महसुस गरेको छु । म पुरस्कारलाई नै ठूलै उपलब्धि चाहिँ ठान्दिनँ । प्रतियोगितामा पाइने पुरस्कार भनेको जति जना जज हुन्छन् जजकै आँखामा परेको कविताले पाएको पुरस्कारकाे म चाहिँ धाक लगाउँदै हिँड्ने कविमा पर्दिनँ ।
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोही प्रकारको न्यूनतम दायित्त्व निर्वाह गरेको कि अझ अरू केहि बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो । त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
याे गुदी नभएका कवि र कवितामाथि गरिएकाे व्यङ्ग्यात्मक प्रश्न हाे जस्ताे महसुस गरेँ । मलाई लाग्छ कवि लेखकले समाज र मानवप्रतिकाे दाहित्व निर्वाह गर्नु पर्छ । जबसम्म हामीले देश समाज भूगाेलकाे महत्त्व बुझ्छाैँ नि तब मात्रै सबै नागरिकले देशलाई प्रेम गर्छ । मैले देशकाे सेवा गरेकाे छु । आधा उमेर मैले देशकै सेवामा समर्पित गरेकाे गरिसकेको छु । याे मेराे कर्तव्य पनि हाे । कविता लेखेर त केही दिन सकेकाे छु जस्ताे लाग्दैन तर देशलाई केही दिएर मर्ने ठूलाे इच्छा छ । म कवि हुने क्रममै छु । त्यसकारण पनि कवितासँग खुब संवाद गर्छु । कविता लेख्दा लेख्दै पढ्दापढ्दै पनि रुन्छु । कहिले आफैले लेखेकाे कवितासँग झगडा पनि गर्छु । कहिले कवितासँग रिसाउँछु पनि । मेराे जिन्दगीकाे सहारा भन्नू पनि यहि कविता हाे ।
भाइले भनेजस्ताे ‘कविले आफ्नाे ओछ्यान मिलाउन छाेड्याे’ भनेजस्ताे पनि नहाेला तर मेराे हकमा चाहिँ याे कुरा सही छ यथार्थ छ । भाइलाई त मैले के भनू ? तर आफ्नाे ओछ्यान हाे मिलाऊ या त नमिलाऊ नितान्त तिम्राे जिन्दगी हाे, तिम्रो स्वभाव हाे । कसैले कसले के खान्छ ? काे कसरी सुत्छ त्याे अरूले चासाे राख्ने कुरै हैन किनकि व्यक्तिगत कुरा हाे । नेपाली कविताकाे सामाजिक संरचनामा फस्टाउँदै वाह दिव्य हुनु पर्ने थियाे पछिल्लाे समय याे हुन सकेकाे छैन । सबै लेखक कविहरू छिटाे चर्चाकाे लागि बजारले के मागिरहकाे छ ? हाे त्यहि कस्मेटिक सामानकाे पछि लागेका छन् । नेपाली साहित्यकारहरू धेरैजसाे टिकाउ भन्दा बिकाऊ साहित्य सिर्जना गरेकाे आभास हुन्छ । खैर, म पनि भर्खर बामे सर्दैछु । सकेसम्म बिकाऊ साहित्य चाहिँ लेख्दिनँ बरू गतिलाे लेख्न सकिनँ भने लेख्नै छाेडिदिन्छु ।
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केहि भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् !
कसलाई कविता गीत गजल उपन्यास कथा निबन्ध छपाउन मन नहाेला र ? नेपालमा प्रकाशकले छापिदिने हाे भने वर्षमा १००० वटाभन्दा पनि बढी पुस्तकहरू छापिएर बजारमा आउन सक्छन् तर नेपाली बजार सानाे पनि छ र प्रकाशकहरू अनुहार हेरेर लगानी गर्छन् । चर्चामा आएका लेखकले जस्तै झुर लेखे पनि मटाे रकम राेयल्टी दिएर भएपनि छपाइदिन्छन् । किनकि प्रकाशकलाई पैसा कमाउनु छ । नेपाली साहित्यलाई बिगार्नमा सबैभन्दा महत्त्वपूर्ण भुमिका ‘ताेरी प्रकाशक’ र ‘ताेरी पत्रकार’हरूले नै खेलेका छन् । अहिले केही नयाँ प्रकाशकहरू पनि उदाएका छन् जसले लेखकबाट पैसा असुलेका छन् । प्रकाशक संस्थाकाे नाम त के लिनु ? लेख्दा लाजै मर्दाे हुन्छ । घृणा पनि लाग्छ । कतै थुक्न मन पनि लाग्छ । जाे लेखककाे बाैद्धिकतालाई किनेर ब्यापर गर्छन् उनै म प्रकाशक हुँ भन्दै शानले हिँड्छन् । हेर्दै जानुहाेस् एक दिन याे देशमा ठगहरूकाे मात्रै हालिमुहाली हुनेछ ।
नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनुभाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो । मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् ।
हेर्नू म न त म समीक्षक हुँ । न त म समालाेचक हुँ । मलाई खासमा भन्नू पर्दा नेपालमा असली समालाेचक एकदम कम छन् गिन्ती गर्दा मरेर ४/५ जान भेटिन्छ हाेला । हेहे कुरा अन्तै माेडेछु । मैले प्राय: कविता भुइँमान्छेकाे लेखेकाे छु । भुइँमान्छे भनेसी जात, वर्ग फरक क्षमता भएका लगायत सबै परिहाले । नेपालमा समीक्षक ४ थरिका छन् –
१. अनुहार हेरेर समीक्षा गर्ने
२. जात वर्ग हेरेर समीक्षा गर्ने
३. स्वतन्त्र भएर समीक्षा गर्ने
४. मैँ हुँ भनेर समीक्षा गर्ने ।
अब हेर्नुस् त तपाईंले देखिरहुनु भएकाे छ नेपालमा समालाेचना गर्ने एकाध बाहेक माथि दिइएका ४ वटा बुँदाहरूमा समावेश भएका समीक्षक छन् । समीक्षा गर्नु र समालाेचना गर्नु फरक कुरा हुन्छ । यहाँ अहिले समालाेचक नै कवि हाे । कथाकार हाे । उपन्यासकार हाे । निबन्धकार हाे । एकाङ्कीकार हाे । नाटककार हाे । गीतकार हाे । गजलकार हाे । मुक्तककार हाे । यहाँ शब्दका पछाडि कार जाेडिएकाहरू धेरै छन् । अरूकाे रचनामा धावा बाेल्ने समालाेचक हुँ भन्नेहरूले आफ्नाे रचनामाथि समालाेचना गर्नु भएकाे कतै देख्नु भएकाे छ ? किन गर्न सक्दैनन् आफ्नाे रचनामा आफैँ समालाेचना ? किनकि उहाँहरूलाई यस्ताे भ्रम छ कि ! मेराे रचना सहि छ । उत्कृष्ट छ भन्ने लाग्छ । यहाँ अहिले पुस्तक पढ्ने धेरै छन् । फेसबुकका भित्ताभरि कविताहरू पढ्न पाइन्छ । फलानाे कविताकाे कविता पढ्दै छु । फलानाे फलानाे कविकाे उपन्यास कथा, गीत गजल पढ्दैछु भनेर पाेस्ट्याइ हाल्छन् । म पनि पाेस्ट्याउँछु कारण मलाई पनि यहि संगतकाे हावा पानीले नछुने कुरै भएन । तर म एकदम कम पाेस्ट गर्छु तर पाठक टिप्पणी भनेर लेख्दिनँ किनकि म पनि सानाेतिनाे लेखक नै हुँ नि ! मलाई मनमा लागेका कुराहरू म्यासेन्जरमा भन्छु । कि भेट हुँदा भन्छु । कि त फाेन गरेर भन्छु । म छिटाे प्रतिक्रिया दिने वर्गमा पर्दिनँ । यहाँ केही कवि लेखकहरू छन् । छिटाे प्रतिक्रिया दिने हतारहतार समिक्षक बनिदिहाल्छन् । फेरि उनैले लेखेका कविता चाहिँ किन झुर हुन्छ ? मैले कतिलाई त भनेकाे पनि छु । मैले यसरी भनिरहँदा मलाई पनि यसका कविता झुर छन् भन्नेहरू प्रशस्त छन् । तर म रिसाउँदिनँ । मेहनत गर्छु सकेसम्म । नसकेकाे दिन माथि नै भनिसकेँ लेख्नै छाेडी दिन्छु ।
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाईराछन् । यस्तै यस्तै । तपाईको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
खै के भनाैँ ? म पेसाले नेपाली सेना हुँ । “कविता” मेराे अर्काे जिन्दगी हाे ।
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !
युद्ध, रङ्गभेद र म
अचानक !
कसैले भन्याे –
तैँले छाेएकाे पानी चल्दैन
तैँले छाेएकाे नैवेद्य चल्दैन
तँ शुद्र हाेस् जन्मजात । तँ अछुत हाेस् ।
कारण –
म दमाई हुँ
म सार्की हुँ
म कामी हुँ
म वादी हुँ
म गन्धर्व हुँ
म च्यामे हुँ
म पाेडे हुँ
म देउला हुँ
यस्तै यस्तै अनेक अनेक ।
मलाई न तेराे धर्म चाहिएकाे छ
न तेराे शास्त्र चाहिएकाे छ
मलाई केवल आजाद चाहिएकाे छ
मलाई मभित्र म चाहिएकाे छ
मलाई मभित्रकाे मान्छे चाहिएकाे छ ।
मैले किन दशैँ मान्दिनु ? किन तिहार मान्दिनु ?
तैले पुज्ने त्याे ढुङ्गे देवताकाे लागि
मैले किन गजुर बनाइदिनु ?
तेराे मन्दिरकाे लागि मैले किन चँदुवा सिलाई दिनु ?
मैले तेराे शास्त्र किन मान्दिनु ?
जबकि –
तेराे याे थाेत्राे शास्त्रले मलाई शुद्र बनाइदिन्छ भने ।
जबकि !
मैले सिलाएकै लुगाले शरीर ढाकेर हिँड्छ याे दुनियाँ
मेरै कलाले रङ्गीन देखिन्छ याे बाटाे
र मेरै पसिना र परिश्रमले बनेकाे टापबाट
निस्कन्छ गाेडाकाे पैतालाबाट याैटा मधुर आवाज
र्याँई र्याँई रेटर निस्केकाे सारङ्गीकाे धुनले
गुन्जयमान हुन्छ राेधिघर ।
मेराे गाउँमा मैँ नचल्ने भएपछि
मैले लुगा सिलाउनै छाेडिदिएँ
नाङ्गाे बनाइदिएँ मेराे गाउँ र मैले देखेकाे समाज ।
एक दिन मेरा बाले पानीकाे मुहान छाेइदिए
बदलामा गाउँलेहरूले बाकाे हात काटिदिए ।
यतिबेला मेराे गाउँ पुरै नाङ्गै हिँड्छ
केहि छुट्यो र ?
भन्नू पर्ने भन्दा पनि मैले गर्नु पर्ने धेरै बाँकी छन् । छुट्न त केके छुट्छन् छुट्छन् नि ! अब छुट्याे भनेर के गुनासाे गर्नु भाइ ! जब छुट्छन् नि तब त फेरि सुरुवात हुन्छ । अन्तमा भाइलाई पाे चित्त बुझ्ने जवाफ दिन सकिनँ कि !
…
विजय लुइँटेलसँग शब्दपट्याँस:
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँ झैं कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
कवित्वं तत्र दुर्लभम् मैले तपाईँबाटै सुन्न पाएँ त्यसका लागि धन्यवाद । कवि हुनु मात्र हैन, जीवन हुनु नै एउटा दुर्लभ प्राप्ति मान्छु म चाहिँ । पुराणले कविको यस्तो तारिफ गर्नुमा पुराणका रचनाकार सायद कवि हुनु पर्दछ नत्र म त माटोको भाँडो बनाउने कुमालेलाई आफू भन्दा अब्बल देख्छु । काठलाई बुट्टा भरेर कला देखाउने पनि उस्तै अब्बल लाग्छ । त्यति मात्र नभएर जीवनलाई आफ्ना व्यक्तित्व अभिव्यक्त गर्ने सबै मानिस अब्बल लाग्छन् । कहिलेकाहीँ लाग्छ म केही फरक छु र सायद दुर्लभ पनि तर मैले देख्ने , चिन्ने सबै जीवन त्यस्तै छन् ।कविता भन्दा पनि कला प्रेमी भएकाले संसारका सबै कला र कलाकार मलाई प्रिय लाग्छ । सबै जीवन अस्तित्वको विराट क्यानभाजमा रङ् भर्ने कलाकार हुन् । ‘कवित्वं तत्र दुर्लभम्’लाई ‘कलात्व तत्र दुर्लभम्’ बनाउन पाए हुने थियो । संस्कृत त जान्दिन त्यही पनि गरिदिऊझैँ लाग्यो । नमिलेमा माफ गरिदिनुहोला ।
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नुभाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न । सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनुभो, तर भन्दा राम्रो । भन्दिनुस् यार ।
साँच्चै भन्दा म कविता अलिक कम नै पढ्छु । तर त्यति भन्दा भन्दै पनि दुई हजार चानचुन कविता त पढियो नै होला । कविता पढ्नुको कारण चाहिँ केवल एउटा मात्र छ । कविता मलाई कलाको सबेभन्दा शुद्ध रूप लाग्छ । क्षणिक अनुभूतिलाई थोरै समयमा कागजमा उतारिने भएकाले यस विद्याले मानव जीवनलाई अरू विद्या भन्दा अलिक जीवन्त बनाउँछ र सत्यता सहित बयान गर्न सक्दछ जस्तो लाग्दछ । पहिलो कवितानै त याद छैन । तर स्कुलमा पढेको माधव प्रसाद घिमिरेको वैशाख कविता याद आउँछ ।
पछिल्लो पटक ‘तैट मुला’ भनेर फ्याकेकै त नभनूँ तर पढ्न असमर्थ रहेको किताब चाहिँ तीर्थ श्रेष्ठको धर्सै धर्साको चक्रव्यूह हो । अचम्म के छ भने धर्सै धर्साको चक्रव्यूह मेरो मनपर्ने कविता हो अनि किताबमै आमाका बारेमा लेखिएका अन्य अरू कविता निक्कै आकर्षक लागे तर त्यस पछाडिका कविता भने मैले पढ्न सकेको छैन । यसबाट एउटा कुराको बोध के भएको छ भने मानिस कविको कविता अथवा लेखकको लेखका कारण भन्दा पनि आफ्नो अवस्थाका अनुसार पढ्ने गर्दछ । जीवनमा आइपर्ने विभिन्न उतारचढाव, विचार लगायत यावत कुराहरूले मानिसमा केही कुराको इच्छा जगाउँछन् । पढ्नु पनि त्यसैबाट जन्मने एउटा इच्छा हो । म फेरी एकपल्ट कुनै दिन धर्सै धर्साको चक्रव्यूह खोतल्ने छु ।
यति भन्दा भन्दै एउटा कुरा चाहिँ के हो भने मलाई कट्टरपन्थी विचारका कविता झिझो लाग्छन् । मलाई मानवतालाई एकता तर्फ उन्मुख गर्ने कविता मन पर्दछन् नकि विभाजित गर्नतर्फ । उदाहरणका लागि महिलावादी कवितालाई लिऊँ । महिलाको महिमा गाउने महिलावादी कविता मन पर्छ तर महिला र पुरुषमा कलह ल्याउने वाला हैन ।
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता संग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है । नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् !
कवि नै त नभनौँ नेपालमा कविता दामी दामी छ । कविता कविको जीवनको कुनै एक समयको कुनै एक अनुभूतिलाई मात्र अभिव्यक्त गर्दछ । त्यसैले जीवनको त्यो सानो अंशलाई लिएर कसैलाई महान् तुल्याउने र कमजोर देखाउने पक्षमा म छैन । नेपाली कविहरूमा भूपी शेरचन, देवकोटा, हरिभक्त कटुवाल, माधव प्रसाद घिमिरे, नवराज पराजुली, रसिक राज, देवव्रत, सुरज पराजुली, महेश कार्की, राजु झल्लु, मिलसन राई, राजु उबरकोटी, काली प्रसाद रिजाल, गोपाल योञ्जन सबै सबे मन पर्छन् । सबैभन्दा बढी प्रभावित चाहिँ हिन्दी लेखक गुलजारबाट छु । उनको बिम्ब प्रयोग निक्कै आकर्षक लाग्छ । जावेद अख्तर पनि कति सरल तरिकाले कति सुन्दर चिज बताइदिन्छन् । म सरलता प्रेमी हुँ । त्यसैले झुकाव छ अलिकति त्यता तिर । तर अरू देख्दै नदेख्ने गरि हैन ।
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सधन मन लागेको; आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस यार..।
पहिले पहिले लेख्दा आफूलाई नङ्ग्याउन असहज लाग्दथ्यो । अहिले आफूलाई नङ्ग्याउनु आफूसँग नजिकिनु हो जस्तो लाग्छ । कविता लेख्नु भन्दा पनि हुनु जरुरी छ जस्तो लाग्छ । त्यसैले विचार भन्दा पनि मनले लेख्ने भएको छु । मनले जिउने भएको छु । आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको कुरा जहाँसम्म छ ती सबै म नै हुन् र मैले लेख्ने कविता पनि म नै हुँ । जीवनको यस मोडमा यी कुराहरू र मेरा कविताको सम्बन्ध एकदमै सुन्दर र सन्तोषजनक छ । अरूका असफलता पढ्न पनि मज्जा आउँछ त्यसले असफल कसरी भइन्छ र कसरी नहुने भन्ने कुरा सिकाउँछन् । मलाई पढ्न मजा लाग्छ किनकि कहिलेकाहीँ आफूसँग मात्र बसिरहन मनलाग्दैन । अक्षरकै माध्यमले होस् अरूलाई चिन्न मन लाग्छ । तर त्यसरी पढ्दा पढ्दै आफैलाई अलिक राम्ररी चिन्ने भएको छु । पुरस्कृत त आजसम्म भएको छुइनँ । कम्पिटिसनमा कविता पठाउन मन लाग्दैन । सायद मनले भावनाको मोल गर्न मान्दैन । म यतिमै एकदम खुसी छु । मेरा कविता कसै न कसैका ‘ऐना’ बनुन् मेरो लागि सबैभन्दा ठूलो पुरस्कार त्यही हो ।
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्त्व निर्वाह गरेको कि अझ अरू केहि बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दैथ्यो ! त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
समयले कविता निर्माण गर्ने हो । अहिले नेपाली कविता अहिलेकै जस्ता छन् । देशभक्तिका कविता हेर्दा उदासी देखिन्छ किनकि राजनीति उदास छ । प्रेमका कविता हेर्दा अहिलेकै प्रेमको व्याख्या भेट्छु । स्पोकन प्रोएट्री भनेर काव्यिक शैलीमा मनका कथा सुन्न पाइन्छ । कवितामा समाजमा उठिरहेका महिलावादी लगायत शून्यवादी विचारहरू भेटिन्छन् तर उठेका विषयमा पनि प्रयोग चाहिँ कममै भएको महसुस गर्दछु । तर खुसीको कुरा के छ भने अहिलेका नेपाली कविता जति मैले पढेको छु मानिस आफूभित्र गइरहेको पाएको छु । अध्यात्म र आफ्नो अस्तित्वको खोजी बढी पाउन थालेको छु । समाज कता जाँदैछ भन्ने कुरा यसले पनि बताउँछ । यति मात्र नभएर विभिन्न कुराहरू आएकै छन् देश छ, विदेश छ, प्रेम छ, सबथोक छ । भौतिकवादी पनि छन् कविता, तर त्यो पनि समाज नै हो । के भनौँ सबैथोकको मिश्रण छ । म त सबथोक सुन्दर देख्छु । नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो जहाँसम्म यस कुराको सवाल छ, यसलाई म सत्य पनि मान्छु तर यो पनि ठान्छु कि आफू सुतेको ओछ्यान मिलाउन मन नलाग्नु, मनमौजी हुनु, जवान हुनुको सङ्केत हो । के थाहा नेपाली कविता जवान पो बन्दैछ कि ? तर यति भन्दाभन्दै के पनि भन्छु भने जति नै मनमौजी मान्छेलाई पनि कुनै न कुनै दिन आफ्नो फोहोर ओछ्यान सिकसिको लाग्ने नै छ । बिगार्न पाउँछन् तर पछि आफैँलाई निद्रा नलाग्ने चाहिँ नहोस् । भनेर टेर्ने जात हैन मान्छे । आफैले बुझ्ला अनि सफा पनि गर्ला ! यस कुरामा म तटस्थ छु ।
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केहि भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् !
भन्दै गर्नुहोस् प्रकाशक ज्युहरू । प्रविधिले माहौलमा परिवर्तन ल्याएको छ । अहिले अमेजन लगायत विभिन्न अनलाईन प्लेटफर्म बनिसके । संसारभरका लेखक सजिलै पाठकमाझ पुग्न सक्षम बनेका छन् । यस्तोमा प्रकाशकहरूले लेखकलाई अप्ठ्यारो पारे लेखक सजिलो बाटो खोज्नेछन् जसले फेरि प्रकाशकलाई अप्ठ्यारो पार्नेछ । मैले पनि यसै कारण आफैँ कविता प्रकाशन गरेर अनलाईन मार्फत बिक्री गर्दैछु । सोचेको थिइन १,०००/- प्रति किताबमा मा ७०० प्रति पाठकका हात हातमा पुग्नेछ भन्ने । कवितै नपढी एक लाख रुपैयाँ सम्म माग्ने प्रकाशक पनि भेटेको हुँ । आफैले गर्दा लगभग ७०,००० मा जम्मै काम भ्याइने रहेछ । पहिलो किताब त यसो साथीभाइलाई बिक्री गर्दा पनि लगानी उठ्ने रहेछ । मलाई लाग्छ प्रकाशकले यो बुझ्न जरुरी छ कि कुनै पनि लेखक वा कविले पहिलो कृतिबाट फाइदा खोज्दैन तर त्यसलाई सित्तैमा चढाउन पनि चाहँदैन । प्रकाशकले दाइजो माग्न छोड्नु पर्दछ अब । यो हैन कि राम्रा प्रकाशक छैनन् । नेपालय प्रकाशनले मेरो कविता पढिदिने वाँचा गर्नु भयो । प्रकाशनलाई चाहिँ दुई वर्ष जति लाग्ने भएकाले म आफैले प्रतीक्षा गर्न सकिन । म सबै प्रकाशकलाई दोष दिन चाहन्न ।
आफैँले किताब प्रकाशन गरेकाले किताब पसलहरूले भने मेरो किताब बिक्री गर्न मानेनन् । यदि किताब पसलले किताब डिस्प्लेमा राखिदिनु भने केही थान त पक्कै बिक्थे होलान् । तर गुनासो छैन । किताब यात्रा जस्ता प्लेटफर्मका कारण मलाई सहज भएको छ । यसलाई प्रकाशकले कसरी लिनु हुन्छ त्यो उनीहरूकै कुरा हो । उनीहरूलाई लेख भन्दा बढी व्यापार चाहिएझैँ लेखकहरूलाई पनि प्रकाशक भन्दा बढी व्यापार चाहियो भने साहित्यको हरिबिजोग हुन्छ । साहित्य बचाउने दुवैको कर्तव्य हो । व्यापार बचाउन साहित्य नमारौँ ।
नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औंल्याउनु‘भाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो । मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस् !
म त्यसरी कवितालाई चिरफार गरेर हेर्ने मानिस हैन । मलाई लाग्छ कविताले पाठकलाई चिरफार गर्नुपर्छ । जहाँसम्म समालोचनाको कुरा छ, म आफूलाई त्यसमा निक्कै कमजोर पाउँछु । तर एउटा कुरा के लाग्छ भने नेपाली कविहरूलाई कतै न कतै क्लिष्टतासँग प्रेम छ । हिन्दी लेखक जावेद अख्तर भन्नुहुन्छ, “कठिन भाषामे लिखना आसान है और आसान भाषामे लिखना कठिन ।” मलाई आसान भाषा मन पर्छ । समयको यस बिन्दुमा म सरलतालाई प्रिय देख्दछु । सरलतामा सुन्दरता छ । क्लिष्टतामा पनि होला सायद तर के म त्यो देख्छु ? कविले कविका लागि मात्र कविता लेख्दैन तर पनि, किन उसले पाठक देख्दैन ?
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाईराछन् । यस्तै यस्तै । तपाईको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
यस प्रश्नको उत्तर सायद धेरै कविहरू खोज्दै होलान् । म पनि त्यही भीडमा छु । तर यति चाहिँ बोध भइसकेको छ कि कविताले पाल्न गाह्रो छ । नेपालमा कविताले पालिएको जस्तो लाग्ने मलाई नवराज पराजुली मात्र हुनुहुन्छ । त्यही पनि मैले उहाँसँग व्यक्तिगत हिसाबले के तपाई कविताले बाँच्नुहुन्छ भनेर सोध्न पाएको छुइन । यसको अर्थ कवितामा बाँचेका धेरै छन् र कविताले बाँचेका नगण्य छन् । वर्तमान अवस्थामा कविता बाँच्नका लागि पहिले कवि बाँच्न पर्छ भन्ने कुरा श्रेयस्कर लाग्छ । हाल त म फ्रिल्यान्सीङ लेखककै रूपमा काम गरिरहेको छु । तर चाँडै नै उछिट्टिने छु ।
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !
प्रेमको नियति
प्रेम भइजाला भनि प्रेमको प्रयास गर्दा
त्यही प्रेमले निस्सासिएर
एउटा मन टुट्यो
एउटा प्रयास टुट्यो
कहिले नजोडिने गरी ।
घाउ बोकेर दुई मन अब
सहर बजार डुल्नेछन्
लुकाउदै, देखाउदै खाटाहरू
मलम बोक्ने मन खोज्नेछन्
प्रेमको नियतिनै सायद यही हो
मलहमहरूमा, मन खोज्नु
केही छुट्यो र ?
धन्यवाद भन्न छुट्यो । माथि प्रश्नका उत्तर दिँदा दिँदै धन्यवाद दिनै पाइएन । राजु झल्लु दाइको साहित्यप्रतिको प्रेमलाई उच्च सम्मान अनि यी प्रश्न सोध्नु भएकोमा हृदयदेखि नै धन्यवाद ।
(पाठकहरुलाई : हालसालै मेरो समयका खुकुला चप्पल नाम गरेको कवितासंग्रह प्रकाशन भएको छ । किताब यात्राको वेबसाइट www.kitabyatra.com मा गएर समयका खुकुला चप्पल खरिद गर्न सक्नुहुनेछ । गर्नुहोला । यहाँसम्म पढ्नु भएकोमा धन्यवाद ।)
…
सुमिना केसीसँग शब्दपट्याँस :
‘कवित्वं तत्र दुर्लभम् ।’ यस जगतमा मानिस भएरै जन्मनु दुर्लभ प्राप्ति हो, त्यसमा पनि तपाईँझैँ कवि हुनु झन् दुर्लभ हो । हाम्रा प्राचीन पुराणले भर्खरै तपाईँको खतरा तारिफ गर्यो नि, कस्तो लाग्यो ?
दुर्लभ प्राप्ति भित्रको पनि अर्को अझै दुर्लभ स्पेसमा आफू उभिएको आभासले घरिघरि पुलकित बनाउँछ ! यसर्थमा यो तारिफले म प्रफुल्लित भएको महसुस गर्दैछु । दुर्लभ प्राप्ति भित्रको अझै दुर्लभ चिज कवि जो भनेर उल्लेख गरिएको छ ।
तपाईँ कविता पढ्ने मान्छे पनि हो । किन पढ्नु‘भाको ? तपाईँले पढेको पहिलो कविता कुन थियो ? कवितांश याद छ ? पछिल्लोपटक ‘तैट मुला’ भनेर मिल्काएको कविता कसको थियो ? नाम नभने नि गोत्र भन्नुस् न ! सजिलोको लागि, प्रगतिशील, वामपन्थी, सांसारिक, महिलावादी, शून्यवादी, नूतनप्रेमी, लगायतका विश्लेषणहरू प्रयोग गर्न पाउनु‘भो, तर भन्दा राम्रो । भन्दिनुस् यार !
कवि बन्ने पहिलो प्रक्रिया सायद कविता पढ्नु नै हो ! र लाग्छ, सायद तपाईँ पनि यही अनुमानकै आधारका मलाई ‘कविता पढ्ने मान्छे’ भनेर घोषणा गर्दै हुनुहुन्छ ! नभए मैले कविता पढेको यथेष्ट प्रमाण मेरा आफ्ना कविताबाहेक तपाईँसँग के छ ? म आफू कवि भएकै कारण कविता पढ्ने हो । कविता लेख्दा जस्तै कविता पढ्दा पनि मैले अत्यन्तै आनन्द महसुस गर्छु ।
मैले पढेको पहिलो कविताको भाव मलाई याद छ तर त्यसको अन्तरा मैले सम्झन खोज्छु ठ्याक्कै याद आउँदैन । एक दुई शब्द भाव याद गरेर कहिलेकाहीँ गुगल पनि सर्च गर्छु तर, ठ्याक्कै त्यस्तो कविता भेटिँदैन । त्यो कविता मलाई निकै सुन्दर र स्पर्शी लागेको हो सायद त्यतिबेला म कक्षा आठमा पढ्दै थिएँ ! त्यसैले माफी चाहन्छु पहिलो पटक पढेको कविताको अन्तरा र नाम भन्न असमर्थ छु ।
केही कविता पढ्न खोज्दा पढ्न नसकेर मिल्काइएका सन्दर्भ धेरै छन् । यस्तो भइरहन्छ । कतिको एउटा अन्तरा पढेपछि रिस उठ्छ कतिपय कविता भनिएका जिनिस देख्दा ‘के लेख्या होला यस्तो ? बेकार समय खेर गयो’ भन्ने पनि हुन्छ । नाम चैँ नभनौँ तीन वर्ष अघितिर निस्किएको एउटा ‘ठूलो’ भनिएका कविको सङ्ग्रह देखेर एक लट ठ्याक्कै यस्तै महसुस गरेकी थिएँ !
नेपालका दामी दामी कवि को हुन् ? दामी कविता र कविता सङ्ग्रह कुन कुन हुन् ? झारपटास कवि र कविताको नाम भन्नुहुन्छ भने पनि गजब भयो । नेपाली कविताको पाठकले ‘अ’ भन्दा आलंकार बुझ्ने हुनाले मन लागेका नामहरू लिन छुट छ है ! नेपालको नभन्ने भए ‘फरेन पोयट्स’को नाम लिनुस् ।
लक्ष्मीप्रसाद देवकोटा, वैरागी काइँला, पारिजात, भूपी शेरचन, हरिभक्त कटुवाल, गोविन्द वर्तमान लोकले मानेका प्रसिद्ध कवि हुन् । मेरो विचारका उल्लेखित कवि कोही ‘ठुला’ कवि हुन भने कोही ‘असल’ कवि हुन् ! ठूलो कवि हुनु र असल कवि हुनु दुई भिन्न कुरा हुन् ! मेरो विचारमा ठूलो कवि बन्न नसकिए पनि असल कवि बन्नु निकै उत्कृष्ट कुरा हो भन्ने लाग्छ । त्यस्तै नयाँ पुस्तामा पनि उहाँहरू भन्दा खतरनाक कवि उदाउनुभएको छ ।
झारपटास कवि र कविताको कुरा गर्दा चैँ तपाईँलाई यस्तो लाग्दैन ? कि नयाँ पुस्तामा कला शिल्प र विचारको हिसाबले पनि उम्दा कविहरू आउनुभएको छ ? हाम्रा अब्बल भनिएका कविका कृति भित्रका कवितासँग अहिलेका कतिपय कविले सामान्यतया सञ्जालमा लेखेका कवितालाई इमानदारीपूर्वक जुधाएर हेरौँ कहाँ कुन मानेमा कम छन् ? तर ती कवितामा हाम्रा दिग्गज अग्रज कविहरूको आँखा नै पर्दैन ।
नयाँ सङ्ग्रहमा पनि गज्जब कविताहरू जन्मिरहेका छन् तर हाम्रो साहित्यिक माहौल कस्तो भइदियो भने एउटा मानिएको कविले जे उच्चारण गरेपनि ताली बज्ने, नयाँहरूले मेहनत गरेर लेखिएका उम्दा कवितालाई पनि सार्वजनिक स्वीकारोक्ति नहोस् भनेर मुख नखोल्ने ! यस्तो परिपाटी देखिएको छ । कविको कविता भन्दा पनि कविको हैसियतले अर्थ राख्ने समाजमा झारपटासजस्ता कविता उम्दा र उम्दा कविता पनि झारपटास भएर कतै थन्किने अवस्था निम्तिँदो रहेछ ।
तपाईँ कविता लेख्ने, पढ्ने, बुझ्ने कविता मर्मज्ञ भएकाले सोध्न मन लागेको; आफ्ना असफलता, व्यर्थता, र जीवनको क्षणभङ्गुरता वा निस्सारताको बोधलाई खुरुरु लेख्न कत्तिको सकिने रहेछ ? अर्काको असफलता आदिआदि पढ्न नि ? कविता लेख्न सजिलो कि पढ्न हँ ? कि पुरस्कृत भइखान ? अरू मसलाहरू पनि छन् भने थप्नुस् यार..!
आफ्नो कुरा लेख्न सजिलो छ किनकि ती चिजहरू उसले आफ्नो अनुभवको आधारमा बाँचेर लेखेको हुन्छ । र, फेरि सधैँ आफ्ना मात्रै कुरा लेखे पनि कवि लेखक समाजबाट बेखबर भएर आत्मकेन्द्रित र आत्ममुग्धतामा रमाउने भइदिँदो रहेछ । त्यसैले म मेरो सन्दर्भमा आफैमा मात्रै सीमित भइन्छ कि भनेर आफ्नै जीवनका दुखका वेदनाका सफलता असफलताका कुरा फेरि लेख्दै गरौँला भनेर शेष राखेकी छु । स्वयंको खुसीले समाजको खुसी पनि निर्धारण गर्छ त्यसैले आफ्ना कुरा लेख्दै नलेख्ने चैँ होइन तर । व्यक्तिगत प्रयोजनबाट मूलतः लेखन सामूहिकतातर्फ अर्थात् सामाजिक हित र स्वार्थतर्फ नै फोकस हुनुपर्छ भन्ने मैले मान्छु ।
आफैँ लेख्न भन्दा अरूलाई पढ्न धेरै सजिलो छ । कविता पढ्न सजिलो छ लेख्न अलि कठिन ! पुरस्कार खान त सजिलो नै होला नि । जीवनमा एउटा कृति लेखेर १० ठाउँ सम्मान र पुरस्कार थाप्दै हिँड्नेलाई सोध्नुपर्छ होला यो प्रश्न त । तिनलाई नयाँ केही लेख्न पनि नपर्ने फेरि सधैँ सम्मानित हुँदै हिँड्न कुन सेटलमेन्टले काम गरेको हो कुन्नि ?
समाज र मानवताप्रतिको न्यूनतम दायित्व निर्वाह सबैले गर्छन् । तपाईँले कविता लेखेर सोहीप्रकारको न्यूनतम दायित्व निर्वाह गरेको कि अझ अरू केही बढी ? कवि र कविताको संवाद कत्तिको हुन्छ भन्ने जिज्ञासाले कुत्कुताएर सोधेको; आजको नेपाली कविताको सामाजिक संरचना (हालत) कस्तो पाउनुहुन्छ है ? एउटाले, ‘नेपाली कविताले आफू सुतेको ओछ्यान मिलाउन छाड्यो’ भन्दै‘थ्यो ! त्यो मै हो, मलाई के भन्नुहुन्छ ?
समाज र मानवताप्रतिको दायित्व हर नागरिकले निर्वाह गरिरहेका हुन्छन् । तर कवि लेखकहरू त्योभन्दा अझ माथिबाट दायित्व निर्वाह गर्नुपर्ने अभिभारा बोकेका तत्त्व हुन् । उनीहरूसँग सोही अनुसारको अपेक्षा राख्छ समाजले । आम मानिसको भन्दा उनीहरूको समाजप्रति जिम्मेवारी अलि बेसि नै हुन्छ कि ? मेरो सन्दर्भमा हुन्छ । म लेखनमार्फत समाजलाई अघि घचेट्नुपर्छ भनेर लागेकी छु हेरौँ कति पो सकिन्छ । नेपाली कविताको सामाजिक संरचना अलि बृहत् भएर फैलिएको महसुस गर्छु मैले ।
अग्रजहरूले कहिलेकाहीँ हारगुहार गरेको सुनिन्छ, ‘लौ बर्बाद भयो, नेपाली कविताले निश्चित घेरा सिमाना नाघेर अराजक गतितिर हामफाल्न थाल्यो !’ तर, कुरा त्यसो नभएर त्यसले आफ्नो फैलावट र आकार लिएको हो । विभिन्न शिल्प कला शैली विचार मुद्दामा पुगिरहेको छ । यो कविताले लिएको विविधताको आकार हो । यसलाई स्वीकार नगरी सुखै छैन । निश्चित घरानियाँ कविहरूले यसलाई निश्चित शिल्प शैली विचार र परिभाषाको साँधकिल्लामा थुन्न खोजेर यो अब थुनिँदैन ।
तपाई एउटा राम्रो सम्भावना भएको कवि देख्थेँ मैले जसरी तपाईं चिजहरू लेख्नुहुन्थ्यो, त्यो गहिराइमा मान्छे पुग्न पनि डराउँथ्यो । कविता लेखनको निम्ति जुन पागलपनको आवश्यकता हुन्थ्यो, त्यो तपाईँमा थियो तर नियमित साधना त चाहियो नि ! तपाईंले आजभोलि त्यो काव्यमा साधना गर्न छोड्नुभएको हो ?
कविता नछाप्ने, छापे पनि लेखकसँगै पैसा असुल्ने अनि ‘म त खतरा हो, बबाल हो’ भन्ने तोरीलाहुरे प्रकाशकहरूलाई केही भन्नु छ ? प्रश्नमै सबै भनिएछ, उत्तर नदिने भए थप प्रश्नहरू नै गरिदिनुस् !
नेताहरूले भाषणमा यो दलाल पुँजीवाद हो भनेको सुनिन्छ । अर्थात् आजको नेपाली समाजको चरित्र ‘दलाल पुँजीवाद’मा आधारित छ । घर समाजदेखि राज्यका विभिन्न निकाय व्यापार, शिक्षा, स्वास्थ्य मिडिया, पत्रकारिता हुँदै प्रकाशन गृहसम्म पनि यो देखियो । यसको मूल चरित्र कमिसन दलाली बिचौलिया हुँदो रहेछ । तपाईँको भाषामा ती ‘तोरीलाहुरे’ प्रकाशक पनि आन्तरिक दलाल पुँजीवादका स्वरूप हुन कि ? राम्रो व्यापारीले लगानी गर्छ र त्यसबाट नाफा कमाउन मेहनत गर्छ तर यी दलाल बिचौलिया क्याटगरिका प्रकाशकले लेखककै सृजना लेखककै पैसामा आफ्नो लोगो लगाएर अलिकति नाफा कमाउने हुन कि ? के लाग्छ तपाईँलाई ? मेहनत पनि खास गर्न परेन । लेखकलाई नै बजार व्यवस्थापक जस्तो प्रचारक बनाएर ‘मेरो किताब किन’ भन्दै देशैभरी कुदाएको देखिन्छ । यद्यपि प्रकाशकहरूका पनि आफ्नै दु:ख छन् कि ?
नेपाली भाषी कविताको वंशाणुगत गुणहरूबारे चर्चा गर्दा कस्तो होला ? तपाईँले नेपाली कविताका सामाजिक, प्राकृतिक, जैविक, शारीरिक, विविधताहरू औँल्याउनु‘भाछ ? हेर्नुस्, यो प्रश्नले तपाईँलाई भर्खरै समीक्षक बनाइदिने भयो ! मौका नगुमाउनुस् है त । हाउ, त्यसो भए नेपाली कविताको समीक्षकको कुरा काटम न त । लु सुरु गर्नुस्.. !
समीक्षक चैँ अहिले भर्खर नबनी हालूँ होला, कवि नै ठिक छु जस्तो लागेको छ । बरु समीक्षकको कुरा काट्ने मौका मिलेको छ नछोडौँ जस्तो लाग्यो । नेपालमा गुटबन्दी ‘मेरा कवि’, ‘आफ्ना मार्काका कवि’ भन्ने घेरा बाहिरका निष्पक्ष समालोचकको केही नाम तपाईं नै भन्नुस् न !
अरूको मामलामा त समीक्षकहरू बेखवर छन् जब तिनका मान्छे अथवा शक्तिको मान्छे अझ अर्को चाप्लुसी ‘जी हजुरी’ गर्न जानेको मान्छेको प्रचार गर्न चैँ यस्ता समीक्षक निकै चलमलाउँछन् । यिनले आफ्नो मातहतका मान्छेका रचनालाई खहरे नै भए पनि विशाल नदी पोखरी नै भएपनि विशाल ताल हो भनेर प्रचार गरिदिन्छन् । अन्यथा आफ्नो सरोकार भन्दा बाहिरको मान्छेको सवालमा चैँ प्राय ओठ सिलाएर मौन बस्छन् अलिअलि रिस उठेको छ भने भित्तामै पुर्याएर छोड्छन् । आजको नेपाली साहित्य यस्तो माहौलबाट गुज्रिरहेको छ साँच्चिकै चिन्ताजनक अवस्था छ ।
आजको मान्छेले आर्थिकरूपमा बलियो हुन् आफूलाई बहुल क्षेत्रमा लगानी गरिरहेको छ । साहरुख खान क्रिकेट कम्पनी चलाईराछन् । यस्तै यस्तै ! तपाईँको कविता बाहेक अर्को लगानीको क्षेत्र कुन हो ? व्यापक मानवीय संवेदनासहित भन्नुभएछ है, तपाईँ कवि हो यो छुट तपाईँलाई छ ।
यो अक्सर सोधिने प्रश्न हो ! तपाईँको पेसा के हो ? कवि भएरै कविताको भेलामा जाँदा पनि तपाईं के गर्नुहुन्छ ? यी प्रश्नहरूको ओइरो खुबै लाग्छ ! किनकि धेरैले मान्दै आएको कुरा हो कविता लेख्नु कुनै काम होइन । अरू काम गरेर बचेको समय सदुपयोग गर्दै यसो फुर्सदमा शब्दहरूसँग बिलासी खेल खेल्नु हो । त्यसो त यहाँ कोही कवि कवि मात्रै भएर बाच्ने अवस्था नभएको कारण ऊ अन्य आयआर्जन गर्ने पेसामा संलग्न हुनैपर्छ ।
म पनि त्यस्तै कुनै पेसामा संलग्न छु ।
जेजे भने पनि ‘कविता गन्थन होइन’ ! यसैले तपाईँको एउटा कविता सुनौँ !
फूलजस्तो कविता
मलाई पनि लेख्न त मन लाग्छ
भर्खरै जन्मेको नानी समाएजस्तै गरी
बिस्तारै समाउनुपर्ने संवेदनशील कविता
तर, के गरौँ
निमुखा, निहत्था, विवश र लाचार जनतामाथि
बारम्बार दमन, थिचोमिचो
यातनाको अतिवृष्टि गरिरहने
यो अत्याचारी संवेदनहीन
क्रूर व्यवस्थाको छातीमा
निर्मम भएरै घन बजार्नुपर्छ कविताले
मलाई पनि लेख्न त मन लाग्छ
बेस्सरी पाना पल्टाउँदा
अलि बेस्सरी पढ्दा
किताबमुनि थिचेर राख्दा पनि
दुख्ला कि भनेर सोच्नुपर्ने
मायालाग्दो कविता
तर, के गरौँ दुःखले मानिसलाई
इस्पात बनाउँदो रहेछ
यो विभेदकारी संरचनाको पिँधमा
पिल्सिँदा-पिल्सिँदै म इस्पात भएछु
अब कसरी लेखूँ
फलामजस्तो गहौं मुटु लिएर
फूलजस्तो नाजुक कविता ?
जब कि म र मेरो अस्तित्वलाई
निमिट्यान्न पार्न
बारम्बार प्रयासरत
यो संरचनाको जगलाई
निर्दयी भएरै
उखेलेर निमिट्यान्न पार्नुपर्छ कविताले
मलाई पनि मन पर्छ
शान्ति, अहिंसा, भद्रता र शालीनता
तर शोषण, अन्याय, अत्याचारको
चरम रेखामा उभिएर
अट्टहास गरिरहने सामन्तहरूको गर्धनमा
कसरी बसौँ धारिलो कविताले नहानी
मान मर्यादा आस्था, धर्म, संस्कार संस्कृतिको नाममा खुल्लमखुल्ला लुटको व्यापार
र, अन्धविश्वासको खेती गरिरहने
छद्मभेषी समाजको शिरमा
उग्र भएरै
चेतनाको प्रचण्ड मसाल बाल्नुपर्छ कविताले
साथी,
दिल बहलाउने भावनाको
कोरा संवेदना होइन
रोइरहेकाहरूको इन्क्लाब हो कविता
फूलको सौन्दर्य र जूनको बयान
रुमानी व्यापार र देहको बेमौसमी खेती होइन
हारेका भोका नाङ्गाहरूको आवाज हो कविता
जीवनका सारा सौन्दर्यबाट वञ्चित
किनाराकृत शोषित, उत्पीडित र दलनको अघोर यातना देख्दादेख्दै
अहँ,
म लेख्न सक्दिन फूलजस्तो कविता ।
केही छुट्यो र ?
विस्तृत आइसक्यो ! छुटेको कुरामा फेरि विमर्श गरौँला । धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।