१.

कहिलेकाहीँ सोच्छु… धेरै चर्चित हुनु पनि साह्रै गाह्रो काम हो ।

लियोनार्दो दा भिन्सीले कयौँ चित्र बनाए, ती चर्चित पनि भए । मरेको पाँच सय वर्ष बितिसक्दा पनि उनका कृतिको लुछाचुँडी कम भएको छैन ।

Portrait of Isabella d’Este

Portrait of Isabella d’Este

यो तस्बिर भिन्सीले बनाएपछि कहिले फ्रान्स त कहिले इटाली र कहिले स्विट्जरल्यान्डले तानातान गरिरहे । कुनै अर्बपतिले यो चित्र महँगो दाममा किनेपछि अहिले स्विट्जरल्यान्डमा छ । इटालीले चित्र मागेर हैरान पारिरहेको छ । ती दुई देशबीच नै कुटाकुट होलाझैँको स्थिति छ । कुरा चाँडै मिल्लाजस्तो अझै छैन । अन्तर्राष्ट्रिय मिलेमतो गराउनुपर्ने दिन पनि कुनै समय आउला ।

राम्रो चिज बन्नु र बनाउनुको पनि दुःख छ । हाम्रै गौतम बुद्धलाई पनि मरेर सुख छैन । कहिले इन्डियाले आफ्नो भन्छ, कहिले श्रीलंकाले ! अनि, यस्तो अवस्थामा हाम्रा गायक धीरज राईलाई दुःख छ, नेपालकै हुन् भनाउन ।

सायद यही दुःखका कारण पनि नेपालीहरूले महानतम् सिर्जना गर्न छाडिदिएको हुनुपर्छ ।

… हो, मरेर पनि सुख छैन महान् मानिसहरूलाई, बेला-कुबेला अनुयायीले लतार्नसम्म लतार्छन् ! त्यसैले मैले महान् बन्ने कुरा जमानामै छाडिदिएको थिएँ… ठीकै गरेछु । 😛

२.

आज दिनभरि केही गरिएन । चिया खाइयो । अरूका कुरा काटियो । हाई गरियो । अफिसमा फेरि एक राउन्ड गुलिया मिठाई, खाजा, समाचारका कुरा गरियो र यतिबेला घर आइयो ।

दिन त यत्तिकै पनि बिताइँदो रहेछ ! केही नगरी पनि बिताइँदो रहेछ ! अचम्मैसँग !

जुन दिन हाम्रो यति महत्त्वपूर्ण समय बित्यो, सकियो, जिन्दगी खत्तम भयो भन्ने महसुस हुन्छ, त्यो दिन जस्तोसुकै वाहियाती मानिसको दिन पनि फिर्छन् ।
तर के गर्नु ? थाहा हुनु र गर्नु फरक कुरा हो नि !

थाहा भएर पनि केही गर्न सकिएन बा !

अब म कथा सुनाउँछु ल !

आजकै दिन (मार्च १४) एउटा मान्छे मर्यो । सन् १४७१ मार्च १४ को मितिमा मर्यो । मर्नुअघि उसलाई न्यायाधीशले जेल कोचिदिएका थिए ।

नकोचुन् पनि किन ! बलात्कारीलाई त जेल कोच्नै पर्यो नि ! कयौँलाई अपहरण गरेर जिन्दगी बाँच्नेलाई किन छाड्नु ? डकैत र आततायी थियो रे ऊ !

यस्ता मान्छे जेलमा सडी मर्नु मानवताका लागि हितैको कुरा हुन्थ्यो । लामो जेल सजाय सुनाइएको सो व्यक्तिले जेलमा केही दिन बिताएपछि भने अत्यास मान्यो ।

१२ औँ शताब्दीमा बनाइएको बेलायती यो जेल त्यो बेलाको सबैभन्दा कडा जेल थियो । न्युगेट प्रिजन नाम सुन्नेबित्तिकै अपराधीहरू पनि थरर काँप्थे रे ! (नेपालको गोलघरजस्तो हुँदो हो ! उज्यालो नदेखिने ठाउँ रे !)

त्यहाँ छिरेपछि त्यो आततायी मानिसले बेलायतीहरूले धेरै वर्षअघिदेखि सुन्दै आएको कथा कोर्न थाल्यो र कथा थियो, किङ आर्थरको !

बेलायत उभिनुमा यी राजाको ठूलो योगदान छ र उनका अनेकन् कथा-उपकथा सुन्न पाइन्छन् । ती सबै कथाहरू जोडेर त्यो अपराधीले आफ्नो पाप कटायो ।

त्यो बेलाको ठूलो अपराधीले, बेलायतकै सबैभन्दा महत्त्वपूर्ण सिर्जना गरेर अमर भयो र उसको नाम थियो, थोमस मेलोरी ।

हुन त किङ आर्थर पुस्तक उसको मृत्युको केही समयपछि मात्र प्रकाशित भयो तर सारा अपराधपछि पनि ऊ एउटै यही महत्त्वपूर्ण सिर्जनाका कारण अमर बन्यो । सम्भवतः बेलायत रहुञ्जेल, देशलाई राजा अर्थरको कथा आवश्यक परूञ्जेल थोमस मेलोरीजस्तो अपराधीलाई मानिसले सम्झिरहनु पर्नेछ ।

आज (मार्च १४) त्यो लेखक मरेको दिन । कसैले मलाई छुस्स कथा सुनाइदियो । मैले सुस्स तपाईंलाई कथा सुनाइदिएँ । मेरा सारा गल्ती यसरी नै पखालियोस्, मेलोरीको अपराधझैँ !

कहिलेकाहीँ सोच्छु…

३.

केली केअफ पाँच वर्षकै उमेरमा बालकलाकारका रुपमा पर्दामा उदाई । ऊ एल्भिस प्रिस्लेकी नातिनी थिई । ऊ नजन्मदै अकुत सम्पत्ति उसको भागमा थियो । त्यसमाथि उसको सौतेनो बाउ माइकल ज्याक्सन थियो ।

केली केअफ

केली केअफ

उसको बालापन एल्भिस प्रिस्लेको भव्य ‘दरबार’मा बित्यो । उसको बाउ ड्यानी केउफले त्यो सुविधा दिन सक्दैनथ्यो, त्यसैले मावलीमा हुर्कनु उनीहरुको बाध्यता थियो । सानो छँदा उसले बाउ ड्यानीलाई भन्थी, ‘बा, म पनि ठूली भएपछि तिमीजस्तै गरिब हुन चाहन्छु ताकि तिमीले जस्तै अरुलाई पनि समय दिन सकूँ ।’

जीवनमा कहिल्यै संघर्ष नगरेका सन्तानको समस्या, साना दुःखले पनि उनीहरुलाई टुक्र्याउँछ । उसको भाइ बेन्जामिनले अनाहकमा आत्महत्या गर्यो । कहिलेकाहीँ परिवारको ‘लिगेसी’ यति अग्लो हुन्छ कि आफ्नो ‘बौनापन’बाट दिक्क लाग्छ । भाइको आत्महत्यापछि केली विक्षिप्त भई । चार पाँच महिना त ओछ्यानबाटै उठ्न उसलाई गाह्रो भयो । दुई हप्तासम्म रोएर भासिएको घाँटीबाट आवाजै ननिस्केलाझैँ भयो ।

यतिबेला ऊ अवसादबाट गुज्रिरहेका मानिसहरुलाई आत्महत्या गर्नबाट रोक्ने अभियानमा जुटेकी छे । उसको भनाइ छ, ‘कुनै एक जना मानिसले पनि आत्महत्या गर्नबाट मन परिवर्तन गर्यो भने प्रत्येक व्यक्तिको फर्किएको मन स्वयं मेरालागि उपचार हुनेछ ।’

टुक्रिएको मनको क्षति र खालीपनको भर्पाइ केहीले आफ्नो ज्यान गुमाएर भर्ने गर्छन् तर त्यसले परिवारभित्र छाड्ने गहिरो खत केलीजस्ता केहीलाई मात्र थाहा हुन्छ । त्यसैले त अभियान उनीहरुका लागि जीवनदानजस्तै बन्न पुग्छ ।

कहिलेकाहीँ सोच्छु…

४.

कहिलेकाहीँ चर्चित व्यक्तिको छोरो वा छोरी हुनु कति गाह्रो छ, हगि ?

होवार्ड

होवार्ड

होवार्डलाई नै लिऊँ न !

वारेन बफेटका ६४ वर्षे जेठा छोरा यी केही कुरामा पनि टिक्न सकेनन् । कलेजमा पढाइ लम्ब्याउन सकेनन् । किसान बन्छु भने तर ऋणमा चुर्लुम्म डुबे र बाउले उतार्नु पर्यो । बाउकै कम्पनीमा पनि केही समय काम गरे, त्यहाँ पनि मन लगाएनन् । अन्त्यमा अहिले बाउले हरेक वर्ष दिने केही करोड पैसाबाट होवार्ड फाउन्डेसन बनाएका छन् र त्यसमार्फत् समाजसेवा गरिरहेका छन् ।

बाउ संसारकै धनीमध्ये छन्, उनका एक एक शब्द महत्त्व दिइन्छ संसारभर । उनीसँग वर्षमा एक पटक लन्च खानका लागि उनका प्रशंसक करोडपतिहरू लाखौँ तिर्छन् र यी सबै कुरा यी टुलुटुलु हेर्छन् ।

ईश्वरले चटक गर्छन्…

कहिलेकाहीँ सोच्छु… ठीकै हो, ईश्वरले सबैलाई सबै थोक दिँदैनन्, ‘आह !’ को टिसका लागि केही कुरा आफैँसँग राख्छन् …

५.

‘तपाईंलाई स्त्री र पुरूष बराबर हुन् भन्ने लाग्छ ?’ कसैले हेलेन केलरलाई सोध्यो ।

उनको जवाफ मलाई बडो सुन्दर लाग्यो ।

उनको उत्तर थियो, ‘मेरो विचारमा ईश्वरले स्त्री जातिलाई ज्यादै मूर्ख बनाए ताकि पुरूषका लागि उपयुक्त साथी बन्न सकून् ।’

कहिलेकाहीँ सोच्छु… केही स्त्रीले मलाई कायल किन बनाउँछन् !

(तस्बिरमा चार्ली च्याप्लिन र हेलेन केलर ।)