प्रेम-सम्बन्धमा ‘ब्रेकअप’ र ‘प्याचअप’को सिलसिला चलिनै रहन्छ। एक व्यक्तिसँग सम्बन्ध स्थापित हुनु, केही समयपछि कुनै कारणवश सम्बन्ध विच्छेद हुनु र केही समयपछि पुनः सोही व्यक्तिसँग पुनर्मिलन हुनु प्रेम-सम्बन्धमा चल्ने/देखिने स्वभाविक प्रक्रिया तथा विशेषता नै हो। यसमा आश्चर्यचकित हुनु आवश्यक छैन।

एक अनुसन्धानले चालिसदेखि पचास प्रतिशत मानिसहरू भुतपूर्व प्रेमी/प्रेमिकासँग सम्बन्ध स्थापित गर्न पुग्छन् भन्ने तथ्य उजागर गरेको छ। सोही अध्ययनले पुनर्स्थापित प्रेम-सम्बन्ध कम गुणस्तरको रहनेपनि देखाएको छ। स्पष्ट रुपमा भन्नुपर्दा, सो अध्ययनले पुनर्मिलनको प्रक्रिया पूरा गरेका प्रेमी र प्रेमिकाहरूले कम प्रेम, कम सन्तुष्टि, कम मान्यता, कम यौन सन्तुष्टि एवं सीमित आवश्यकताहरू परिपूर्ति भएको अनुभूत गर्छन् भन्ने देखिएको छ। यद्यपि अधिकांश मानिसहरू नयाँ सम्बन्ध जोड्ने, सम्बन्ध विच्छेद गर्ने र फेरि पुनर्मिलनको बाटो रोज्ने दुष्चक्रबाट उम्कन सकिरहेका हुँदैनन्। उनीहरूको जीवनमा भुतपूर्व प्रेमको पुनर्आगमन भइरहेको हुन्छ। तपाईं हामी पनि यही वर्गका मानिसहरूमा पर्न सक्छौँ। सो प्रकृतिको प्रकिया तपाईं हाम्रो जीवनमा पनि उत्तिकै देखिन सक्छ। अर्थात्, तपाईं हामी पनि नयाँ सम्बन्ध जोड्ने, स-साना जटिलताहरू आइपर्दा सम्बन्ध तोड्ने र केही समयपश्चात् पुनर्मिलनको बाटो रोज्ने दुष्चक्रमा हिँडिरहेका हुन सक्छौँ। सिधा भन्नुपर्दा, तपाईं हाम्रो जीवनमा पनि भुतपूर्व प्रेमको पुनर्आगमन भइरहेको हुन्छ। किन? यस्तो अवस्था, जीवन परिस्थिति र घटनाक्रम सिर्जना हुनुमा निम्नानुसारका कारणहरू हुन सक्छन्।

विद्यमान भावनाहरू

प्रेम-सम्बन्ध सुरुवात हुन या स्थापित हुन दुई व्यक्तिका मनहरू/मनोभावहरू एक हुनैपर्छ। मनहरू/मनोभावहरू हत्तपत्त सजिलै एक हुन सक्दैनन्। एकपटक मिलान भइसकेपछि ती मनहरू/मनोभावहरू हत्तपत्त सजिलै मेटाउन सकिँदैन। यसलाई यसरी बुझौँ। एकपटक सम्बन्ध स्थापित भइसकेपछि जीवनको कुनै एक विन्दुमा एकअर्काबीच कुनै सम्बन्ध नराख्ने वा छुट्टिएर बस्ने निर्णय लिइएपनि एकअर्का प्रतिका भावनाहरू यथावत् रहन्छन्। यीनै विद्यमान भावनाहरूले गर्दा दुई भूतपूर्व प्रेमी र प्रेमिका अन्ततोगत्वा एक हुने निर्णयमा पुग्छन्।

मानौँ, तपाईंको पहिलो प्रेम-सम्बन्धमा सामान्य गलतफहमी, मतभेद र नाटकीय व्यवहार उत्पन्न हुन थाल्यो। यसैकारण तपाईंलाई प्रेमीले हठात् ब्रेकअप दियो। तपाईंलाई ब्रेकअप दिएपनि तपाईंप्रति बग्ने भावनाहरू भने पूर्ण रुपमा बन्द गर्न सक्दैन। यसर्थ हप्ता दिनपछि या महिना दिनपछि या धेरैमा वर्ष दिनपछि ती प्रेमीले तपाईंलाई याद गर्न सक्छ। तपाईंसँग बिताएका गुणवत्ता समयहरूमा हराउन सक्छ। उसमा अरु महिलाहरूप्रति स्वतःस्फूर्त मन जान सक्दैन। भावनाहरू जागृत हुन सक्दैनन्। तुरुन्तै अर्को पार्टनर खोजी गर्ने, अरु नयाँ महिलाहरूसँग संवाद गर्ने र निकटता बढाउने कार्यमा कत्तिपनि रुचि रहँदैन। ऊ तपाईंकै आशामा बसिरहेको हुन्छ। अब तपाईंले हामी दुवैको पहिलो प्रेम थियो, मेरो पनि पूर्वप्रेमीप्रति नै बढी भावनाहरू बग्दछन् भनेर उसलाई निशर्त स्वीकार्न तयार हुनुभयो भने ऊ पुनर्मिलनका लागि सहजै अग्रसर हुन्छ। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमीको पुनर्आगमन अवस्यम्भावी छ।

सुदृढ सामाजिक-आर्थिक अवस्था

महिलाहरू सामाजिक-आर्थिक अवस्थालाई अलि बढी महत्व दिन्छन्। जुन पुरुषबाट सामाजिक-आर्थिक सुरक्षाको सुनिश्चितता हुन सक्दैन, ती पुरुषप्रति उनीहरू आकर्षित हुन सक्दैनन्। ती पुरुषसँग उनीहरूले आफ्नो सुन्दर भविष्य परिकल्पना गर्नु त झन् काल्पनिक कुरा हो। केहीजानी कुनै एउटी महिला सामाजिक-आर्थिक सुरक्षाको सुनिश्चितता दिन नसक्ने एक साधारण पुरुषसँग प्रेम-सम्बन्धमा बसिन् भनेपनि त्यो प्रेम-सम्बन्ध दीर्घकालीन रुपमा जान सक्दैन। सो महिलाले सामाजिक-आर्थिक सुरक्षाको सुनिश्चितता गराउन सक्ने अरु उपयुक्त पुरुष भेट्ने बित्तिकै वर्तमान प्रेमीलाई बेवास्ता गर्न थाल्छिन् र कुनैपनि क्षण ब्रेकअप दिन सक्छिन्।

मानौँ, तपाईंलाई प्रेमिकाले सामाजिक-आर्थिक असुरक्षाको कारण देखाई ब्रेकअप दिइन्। यस्तोमा तपाईंलाई अधिक पीडा हुनुका साथै अपमानित भएको अनुभूति हुन्छ। तापनि तपाईंले यस क्षणमा आफूलाई सम्हाल्दै यथास्थितिमा नरहने अठोट गर्नुभयो भने? आफ्नो सामाजिक-आर्थिक हैसियत बढाउन वा अवस्थालाई माथि उकास्न प्रतिबद्ध हुनुभयो र सोही उद्देश्य प्राप्तिका लागि आफ्नो रुचिको क्षेत्रमा कडा मिहिनेत गर्न थाल्नुभयो भने? निश्चयनै तपाईंले अपेक्षित परिणाम या निश्चित स्तरको सफलता पाउन थाल्नुहुन्छ। यदि तपाईंले आफू आवद्ध क्षेत्रमा निकै ठूलो सफलता पाउनुभयो भने? तपाईंको सामाजिक प्रतिष्ठा बढेर जान्छ। आर्थिक अवस्था दिनानुदिन सुदृढ हुँदै जान्छ। सुदृढ सामाजिक-आर्थिक अवस्थाले तपाईंको आकर्षण पनि बढ्दै जान्छ। जसकारण महिलाहरू तपाईंप्रति स्वतः आकर्षित हुन्छन्। जसमा तपाईंकी पूर्वप्रेमिका पनि अपवाद रहन सक्दिनन्। उनी तपाईंसँग पुनः सम्बन्ध जोड्न चाहन्छिन् र यसबारे आशावादी पनि रहन्छिन्। यस्तोमा तपाईंले पूर्वप्रेमिकालाई शुभसंकेत दिनुभयो भने उनी कुनै शर्त बिना पुनर्मिलनका लागि राजी हुन्छिन्। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमिकाको पुनर्आगमनले पूर्णता पाउँछ।

आत्मबोध

कुनैपनि व्यक्ति एउटै अवस्थामा रहन सक्दैन। उसको मनोवैज्ञानिक विकासको स्तर, संज्ञानात्मक विकासको स्तर तथा चेतनाको स्तर अभिवृद्धि भइरहेको हुन्छ। भनाइको तात्पर्य, कुनैपनि व्यक्तिको व्यक्तिगत विकास प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। यसै क्रममा उसको समग्र सोचाइ राख्ने क्षमता, बुझ्न सक्ने क्षमता, स्वीकार गर्न सक्ने क्षमता, परिपक्वता र ग्रहणशीलता बढ्दै जान्छ। जसकारण ऊ सजिलै विविध समय, परिस्थिति र घटनाक्रमबारे आत्मबोध (आत्मानुभूति) गर्न सक्छ। अहिलेलाई विशेषतः प्रेम-सम्बन्ध बारेमा हुने आत्मबोध र यसले कसरी भुतपूर्व प्रेमी या प्रेमिकाको पुनर्आगमन सम्भव गराउँछ भन्ने संक्षेपमा चर्चा गरौँ।

मानौँ, तपाईंको एक आकर्षक युवकसँग सम्बन्ध तोडियो। अब तपाईंहरू दुवैलाई एकअर्काबारे बुझ्ने पर्याप्त समय उपलब्ध हुन्छ। एकअर्काको मनोवृत्ति, विश्वास प्रणाली, व्यवहार, व्यक्तित्व प्रकार आदिबारे सचेत हुन सक्नुहुन्छ। यदि तपाईंको प्रेमीले सम्बन्ध टुटेपछि आफूलाई पूर्ण रुपमा विकसित गराउन सक्यो भने? अवस्यनै ऊ असफल प्रेम-सम्बन्धबारे पुनरावलोकन गर्न थाल्छ। सोही क्रममा उसले आफ्नो विगतमा रहेको प्रेम सम्बन्धित केही कुराहरू आत्मबोध गर्न सक्छ, जुन यस प्रकारका हुन सक्छन्:

  • सबै मानिसहरू अलगअलग हुन्छन्। उनीहरूलाई एउटै चश्माले हेर्नु उचित होइन। उनी मभन्दा अलग थिइन्। उनी पनि म जस्तै हुनुपर्छ भन्ने दृष्टिकोण राख्नु मेरो गल्ती थियो। मैले हामीबीचको भिन्नतालाई स्वीकार गर्न सक्नुपर्दथ्यो।
  • सबै मानिसहरू आ-आफ्नो ठाउँमा सही हुन्छन्। उनी आफ्नो ठाउँमा सही थिइन् र म पनि आफ्नो ठाउँमा। उनीले विगतमा मप्रति गरेका सम्पूर्ण व्यवहारहरू असल नियतले गरिएको थियो। उनीले जे जानेकी थिइन्, त्यही गरिन्। म बारे जेजति बुझेकी थिइन्, सोहीअनुसार न व्यवहार गरिन्। त्यसलाई मैले अन्यथा सोच्नु हुँदैनथ्यो।
  • पहिले म प्रेमको लागि योग्य थिइनँ। अरुका कुराहरू सुन्न/बुझ्न, गहन एवं सचेत संवाद गर्न र प्रेमभाव व्यक्त गर्न सक्ने हैसियतको थिइनँ। अहिले समय, परिस्थिति र गहिरो अनुभवले मलाई योग्य बनाएको छ। अब म उनीलाई सुन्न/बुझ्न, उनीसँग सचेत संवाद गर्न र मनोभावहरू व्यक्त गर्न सक्ने भएको छु।

यस प्रकृतिका आत्मानुभूति/अनुभूतिहरूले तपाईंको पूर्वप्रेमीलाई तपाईंसँग फेरि सम्बन्ध जोड्न बाध्य गराउँछन्। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमीको पुनर्आगमन हुने सम्भावनालाई नकार्न सकिँदैन।

आत्म निन्दा

कुनैपनि व्यक्तिलाई जानीजानी दुर्व्यवहार गर्दा, दुःख र पीडा दिँदा आत्म निन्दा गर्नुपर्ने अवस्थामा पुगिन्छ। यो अवस्था प्रेम-सम्बन्धमा पनि आउन सक्छ र सोही आत्म निन्दाले भुतपूर्व प्रेमसँग पुनर्मिलन गराउन सक्छ। मानौँ, तपाईं र तपाईंकी प्रेमिकाबीच सामान्य असमझदारी बढ्दा खटपट या झगडा हुन थाल्यो। यसै क्रममा प्रेमिकाले होसहवासमै तपाईंलाई गालीगलौज र दुर्व्यवहार गरिन्। तपाईंको आलोचना र मानमर्दन गरिन्। र, सम्बन्धमा बस्न नसक्ने भनि तपाईंबाट अलग रहिन्। अब तपाईं यस्तोमा संयमता कायम राख्नोस्। प्रेमिकाको निर्णयलाई सम्मान गर्नोस्। कहिल्यै आलोचनात्मक टिकाटिप्पणी, दुर्व्यवहार र चरित्र हत्या गर्ने दुष्कर्ममा नलाग्नोस्। क्रेजी प्रेमी जस्तोगरि बारम्बार फोन गर्न, म्यासेज गर्न र पछ्याउन बन्द गर्नोस्। अब अर्को परिस्थिति परिकल्पना गरौँ। मानौँ, तपाईंकी भूतपूर्व प्रेमिका नयाँ व्यक्तिसँग सम्बन्धमा बसिन्। केही समयावधि पछि उनीहरूबीच सामान्य असमझदारी बढ्यो। ती भुतपूर्व प्रेमिकाले जानीजानी नयाँ प्रेमीसँग पनि तपाईंलाई गरे जस्तै व्यवहार गर्न थालिन्। अब यस्तोमा ती प्रेमी चुपचाप बसेनन् भने? संयमता गुमाउँदै दुर्व्यवहार, अपमान, गालीगलौज, नकारात्मक टिकाटिप्पणी र सार्वजनिक रुपमा चरित्र हत्या गर्ने दुष्कर्ममा लागे भने? यस्तोमा ती महिलाले तपाईं र नयाँ प्रेमीबीच भिन्नता केलाउन थाल्छिन्। तपाईंको महत्व र परिपक्वताको स्तर बुझ्न थाल्छिन्। जसकारण आत्म निन्दाको अवस्थामा पुग्छिन्। भनाइको तात्पर्य, आफूलाई नै बढी दोषी पाउँछिन्। अधिक बेचैनी, पीडा र निराशा अनुभूत गर्छिन्। अनि तपाईंसँग पुनर्मिलनका लागि हदैसम्मको प्रयास गर्छिन्। यदि ती महिला नयाँ प्रेम-सम्बन्धमा नबसेकी भए? केही समयावधि पश्चात् आत्म निन्दाको अवस्थामा पुग्ने थिइन् र तपाईंको जीवनमा पुनः प्रवेश गर्न इच्छुक हुने थिइन्। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमिकाको पुनर्आगमन हुने सम्भावना जीवितै रहन्छ।

पश्चाताप

कुनैपनि व्यक्तिलाई अन्जानमा दुर्व्यवहार गर्दा, दुःख या पीडा दिँदा निकट भविष्यमै पश्चाताप गर्नुपर्ने अवस्थामा पुगिन्छ। यो अवस्था प्रेम-सम्बन्धमा पनि आउन सक्छ र सोही पश्चातापले भुतपूर्व प्रेमसँग पुनर्मिलन गराउन सक्छ। मानौँ, तपाईंको प्रेमीसँग प्रायःजसो विवाद चलिरहन्छ। मानौँ, एकदिन कुनै एक विषयमा सामान्य वादविवाद हुन गयो। यसै क्रममा ती प्रेमीले तपाईंलाई कम आँक्यो या हल्का रुपमा लियो र बिना सोचविचार गरि आक्रोशित मुद्रामा यसो भन्यो:

तँ पागल केटी होस्। साह्रै अबुझ। हाम्रो कुरै मिल्दैन। यस्तै हो भने म सँगै बस्न सक्दिनँ। कस्ताकस्ता महिलाहरू मेरो पछि लागेका छन्। आजदेखि तँ आफ्नो बाटो जा, म आफ्नो बाटो जान्छु।

यी कठोर वचनहरूले तपाईंलाई जति धेरै भावनात्मक पीडा दिएपनि शान्त, संयम र अविचलित रहनोस्। सो विषाक्त सम्बन्ध अन्त्य गर्ने मामिलामा ढिलाइ नगर्नोस्। अब अर्को परिस्थिति परिकल्पना गरौँ। मानौँ, तपाईंको भुतपूर्व प्रेमी सम्बन्ध टुटेको लामो समयसम्म पनि सिंगल (एक्लो) रहनुपर्यो। बारम्बार कोसिस गर्दा पनि नयाँ महिलाहरूले नपत्याउँदा या भाउ नदिँदा नयाँ सम्बन्ध सुरुवात गर्न सकेन। चुनौतीपूर्ण समयमा कुनै महिलाको साथ, सहयोग र प्रेम पाएन। यस्तोमा ती व्यक्तिले बल्ल के गुमाएछु भन्ने थाहा पाउँछ। कति धेरै गुणस्तरीय महिलालाई गुमाउन पुगेछु भेनेर पछुतो मान्छ। अनि पश्चातापको पीडामा यसो भन्न सक्छ:

  • मैले उनीसँग त्यस्तो उग्र व्यवहार नगरेको भए ! आफूलाई शान्त र संयम राख्दै उनको पनि भनाइ सुनेको भए ! वास्तविक परिस्थिति बुझ्न र समग्र सोचाइलाई स्थान दिनसकेको भए !
  • हठात् सम्बन्ध तोड्नु आवश्यक थिएन र मबाट ठूलो गल्ती हुन गयो। त्यति बेला प्रतिक्रियात्मक नभई गहन संवाद गरेको भए! उनका आवश्यकताहरू, अपेक्षाहरू र मनोभावनाहरू बुझ्ने कोसिस गरेको भए! समस्या त्यतिबैलै समाधान हुने थियो। र, आज एकलकाँटे हुनु पर्दैनथ्यो।

यस स्तरको पश्चाताप महसुस गर्नुपर्ने अवस्थाबाट छुटकारा पाउन, आफ्ना गल्तीहरू सच्याउन तपाईंको भुतपूर्व प्रेमी पुनर्मिलन गर्ने पक्षमा उभिन्छ। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमीको पुनर्आगमन हुने सम्भाव्यता उच्च रहन्छ।

असन्तुष्टि

प्रेम-सम्बन्ध दिगो हुनुमा यौन सन्तुष्टिको उल्लेख्य भूमिका रहन्छ। जो व्यक्तिसँग बढी यौन सन्तुष्टि प्राप्त हुन्छ, उसैसँग सम्बन्ध प्रगाढ हुँदै जान्छ। कथमकदाचित सम्बन्ध टुट्न गए यौन सन्तुष्टिकै लागि भएपनि पुरानै प्रेमी या प्रेमिकातर्फ फर्कने प्रयत्न हुन्छ। मानौँ, तपाईंको प्रेमीले अनपेक्षित रुपमा केही वर्ष चलेको प्रेम-सम्बन्ध टुङ्ग्याउने निर्णय सुनायो। मुख्यतया भौगोलिक दूरी, एकले अर्कालाई पर्याप्त समय दिन नसक्नु, शंका र अविश्वास लगायतका कारणहरूले गर्दा यस्तो निर्णय गर्नु परेको स्पष्टोक्ति पनि दियो। यस अवस्थामा प्रेमीको निर्णयलाई सम्मान गर्नोस्। उसलाई आफ्नो जीवनबाट अलग्गिएर जान दिनुहोस्। नयाँ प्रेमिका खोज्ने प्रक्रियामा कुनै किसिमको छेकबार लगाउने काम नगर्नोस्। अब अर्को परिस्थिति लिऊँ। मानौँ, तपाईंको भुतपूर्व प्रेमीले केही महिनापछि आफूले खोजे जस्तो, भौगोलिक रुपमा नजिक र पर्याप्त समय दिने प्रेमिका भेट्यो। यद्यपि ती भुतपूर्व प्रेमीले नयाँ प्रेमिकाबाट तपाईं सँग जस्तो यौन सन्तुष्टि पाउन सकेन भने? स्वभावतः उसले तपाईंलाई याद गर्छ तर पुनर्मिलनकै लागि भने हिम्मत गर्न सक्दैन। उसलाई त्यसो गर्न आफ्नै अभिमानले रोकेको हुन्छ। यस्तोमा उसले यौन सन्तुष्टिका लागि केही उपायहरू रोज्न सक्छ:

एक, यौनकर्मीहरूसँगको निकटता। यो निकै सजिलो र छोटो समयमा यौन चाहना पूरा गर्न सकिने उपाय हो। तर यसबाट यौन सन्तुष्टि प्राप्त हुनेमा ढुक्क हुन भने सकिँदैन। यौन क्रियाकलापमा संलग्न हुनु वा सेक्स गर्नु एक कला हो। सबै यौनकर्मीहरूले यस विषयमा महारत हासिल गरेका हुन्छन् भन्ने हुँदैन। प्रायः यौनकर्मीहरू बाध्यात्मक जीवन परिस्थितिले गर्दा यस पेशामा लागेका हुन्छन्। त्यसैगरी फरक-फरक यौनकर्मीसँग भेट्दा असुरक्षित यौन सम्पर्क हुन सक्ने अत्याधिक जोखिम रहन्छ। त्यसमाथि चिनजान नभएका कारण सहज महसुस गर्न सकिँदैन र यौन क्षमता प्रदर्शन गर्नुपर्ने उत्तिकै दबाब रहन्छ। कतिपय अवस्थामा उत्तेजना नआउन सक्छ। त्यसैगरी यौनकर्मी भेट्दा पैसा र प्रतिष्ठा दाउमा राख्नुपर्ने हुन्छ। प्रत्येक भेटमा निश्चित पैसा तिर्नुपर्ने हुन्छ र साथै गोपनीयता भङ्ग हुन्छ कि भन्ने चिन्ता हुन्छ। त्यसैले तपाईंको भुतपूर्व प्रेमीले जतिसुकै आकर्षक यौनकर्मी भेटे पनि, शारीरिक निकटतामा रमाएपनि पूर्ण रुपमा सन्तुष्ट भने हुन सक्दैन। उसले यौनकर्मी सँगको भेटमा साँचो प्रेम पाउँदैन। केवल शारीरिक आवश्यकता पूर्तिका लागि आर्थिक लेनदेन भएको पाउँछ।

दुई, पिकअप समुदायमा आवद्धता। सजिलो भाषामा भन्नुपर्दा, यस समुदायमा आवद्ध हुने पुरुषहरू कुनैपनि महिलालाई आफूतर्फ आकर्षित गराउन, सेक्सका लागि तयार बनाउन पिकअप लाइन (आकर्षक भनाइहरू) प्रयोग गर्छन्। कुनैपनि महिलालाई केही आकर्षक भनाइहरू राखेर शारीरिक सम्बन्धका लागि राजी बनाउनु त्यति सजिलो काम भने होइन। यसको लागि कडा मिहिनेत, आत्मविश्वास, अस्वीकृति झेल्न सक्ने आँट, मजबुत आर्थिक अवस्था, वर्षौंको प्रशिक्षण र अभ्यासको आवश्यकता पर्छ। यी सम्पूर्ण विशेषताहरू तपाईंको भुतपूर्व प्रेमीमा छैनन् भने? अब उसले पूर्ण सन्तुष्टिका लागि तपाईंलाई एकमात्र विकल्पका रुपमा देख्छ। तपाईंसँग पुनर्मिलन गर्न आफ्नो अभिमान त्याग्छ। भौगोलिक दूरी र एकले अर्कालाई पर्याप्त समय दिन नसकिने विषयमा सम्झौता गर्न तयार रहन्छ। यसरी तपाईंको जीवनमा भुतपूर्व प्रेमीको पुनर्आगमन हुने बलियो सम्भावना रहन्छ।

जाँच्ने इच्छा

प्रेम-सम्बन्धमा पूर्णविराम लागेपनि जीवनको कुनै न कुनै विन्दुमा पूर्वप्रेमी या पूर्वप्रेमिकाबारे जान्ने/जाँच्ने उत्कट इच्छा रहन्छ। मानौँ, तपाईं एउटी गुणस्तरीय महिलासँग प्रतिबद्ध प्रेम-सम्बन्धमा हुनुहुन्छ। यस्तोमा यदि तपाईं प्रायःजसो एउटै समय तालिकाअनुसार चल्नुभयो र जीवनशैलीमा कुनै परिवर्तन ल्याउन सक्नुभएन भने? लामो समयसम्म तपाईंमा कुनै किसिमको परिवर्तन आएन या तपाईं यथास्थितिमा रहनुभयो भने? तपाईं रमाइलो स्वभावको नभई निकै बोरिङ्ग (नीरस, दिक्कलाग्दो) स्वभावको हुनुहुन्छ भने? यस अतिरिक्त, तपाईं मनोवैज्ञानिक रुपमा विक्षिप्त हुनुहुन्छ वा तपाईंको संज्ञानात्मक साथै व्यक्तिगत विकासको स्तर न्यून छ भने? स्वभाविक रुपमा ती गुणस्तरीय महिला तपाईंप्रति पहिले जत्तिको आकर्षित हुन सक्दिनन् र तपाईंबाट कुनैपनि हालतमा अलग रहने निर्णयमा पुग्छिन्। दुईबीचको सम्बन्ध टुटेपनि यादहरू सँगै रहन्छन्। त्यसैले ती महिलाले केही वर्षपछि भएतापनि तपाईंलाई याद गर्न सक्छिन्। तपाईं कस्तो हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने जस्ता विषयहरूमा चासो राख्छिन्। तपाईंको हृदय, मनोवैज्ञानिक र व्यक्तिगत विकासको स्तर जाँच्न अग्रसर हुन्छिन्। यसै क्रममा ती महिलाले तपाईं पूर्ण रुपमा परिवर्तित भएको, आन्तरिक रुपमा सशक्त र रमाइलो स्वभावको पाइन् भने? त्यसैगरी तपाईंले आशक्ति त्यागेको, वैरभाव नराखेको र तपाईंमा संज्ञानात्मक साथै व्यक्तिगत विकासको स्तर उच्च रहेको पाइन् भने? अब ती महिला तपाईंप्रति पहिले जत्तिको वा सोभन्दा बढी आकर्षित हुन्छन्। यति मात्र होइन, ती महिलाले तपाईंसँग आफ्नो स्तर मिलेको, फेरि उत्कृष्ट जोडी बन्न सकिने बलियो सम्भावना देख्छिन् र पुनर्मिलनका लागि आग्रह गर्छिन्। यसरी तपाईंको जीवनमा ढिलै भएपनि भुतपूर्व प्रेमिकाको पुनर्आगमन हुने निश्चित हुन्छ।