
‘धार्नी न बिसौली दुई हातले उचाली के हो?’ ‘टोपी..!’ अहँ धोती होइन । हुँदै होइन । होइन भनेपछि के का गन्गन् ? टोपी भनेपछि गाउँ खान पाइयो । उत्तर मिल्यो । दक्षिण, पश्चिम, पूर्व सब मिल्यो । गाउँ हुँदै सहर खान सकियो । नगर, हर घर खान सकियो । देश खान सकियो । अरूले खाइसकेको भए अवशेष खान सकियो । धोती भनेको भए नमिल्न सक्थ्यो । गाउँ खाने त परको कुरा, मन खान पनि गाह्रो हुन्थ्यो । अँ बचन भने खान सकिन्छ । पेट भरुन्जेल । अघाउँजी ।
‘वरपर गुट्टी माझमा घ्वाइँ, यति कथा नजान्ने स्यालको ज्वाइँ के हो ?’ यसको उत्तर एकछिन् पछि खोज्दै गर्नुहोला । आफूलाई कसैले स्याल भनेको मनपर्छ भने नखोज्दा पनि भयो । अझ ज्वाइँको उपाधि पनि पाइन्छ । तर, गाउँ खाने नै हो भने यति त चाहिएला । स्वादका साथ खानुपर्ला । आनन्दले निल्नुपर्ला । टोले गुण्डा, स्थानीय नेताले मिलाउन पर्दैन । गाउँ तपाईँकै हो । सुरु गर्नुहोस् ।
यस्ता उटपट्याङ प्रश्नको उत्तर मिलाउन सक्ने महारथीले गाउँ पाउने बडो गजबको खेल हो ‘गाउँ खाने कथा’ । तुक्का मिलाएकै भरमा कुनै गाउँ पाइने । कस्तो गजब । न दिनेलाई कुनै दुःख महसुस हुने, न लिनेले कुनै जिम्मेवारी बहन गर्नुपर्ने । हुन त खानलाई के जिम्मेवारी बहन गर्नुपर्ला । ग्वामग्वाम दिए भैगो ।
मलाई लाग्छ यो राजाहरूले खेल्ने गरेको खेल हुनुपर्छ । युद्धबाट वाक्क दिक्क लागेका केही राजाहरूले गोलमेचमा बसेर रचेका होलान् यस्तो किसिमको शान्ति वार्ता । बसेरै गाउँ खान पाएपछि कोही किन कसरत गरोस् । हतियार बिसायो, सुरु गर्यो । आफ्नो अधिराज्यभित्र रहेका गाउँहरूको पासो थाप्यो । जिते जोडियो, हारे छोडियो । हार्ने एकछिन् खिस्स र जित्ने केहिबेर हिस्स । जब-जब मन लाग्छ तब-तब गोलमेच सम्मेलन, शान्ति वार्ता आयोजन हुन थालेपछि अरूले पनि सिक्ने नै भए । राजाबाटै प्रजाको कानसम्म एक कान दुई कान हुँदै मैदान भयो । हुन त मलाई पनि घरमा राजा नै भन्छन् । केटाकेटी हुँदा आमाले भन्नुहुन्थ्यो, अचेल श्रीमतीजीले भन्छिन् । पुरुष प्रधान समाजमा छोरालाई ‘छोटे राजा’ हुन उति गाह्रो छैन । यसैगरी अचेल घर-घरमा राजा छन् । गाउँ-गाउँमा दरबार छ । चुनावका बेला दर र बार बारबार खाएपछि दरबार देख्न कर पनि लाग्छ । अँ कर लाग्छ । तर, म गाउँ खान सक्दिन । पेट ठुलै भएपनि सक्दिन भनेपछि सक्दिन क्या । कसैले घुस खाए । कसैले पुल खाए । जनताका छोराछोरी हूलका हूल खाए । कसैले देश नै खाए । त्यो पनि नडकारी । पेटसम्म सुमसुम्याएनन् । गाउँ त परको कुरा भयो औँलाले नापेर पकाएको चामल बाहेक अरू खान सकिन । चामल पनि सधैँ सकिन । पढ्दै जाँदा यो केटोले मन खायो भनेर चाहिँ भन्न पाइयो ।
कसैले हारेको खण्डको दण्डमा आफ्नो आधिपत्य रहेको गाउँ अर्को राजालाई दिनु नै यस खेलको नियम हुनुपर्छ । यद्यपि यो राजाले मात्र होइन मन्त्री/प्रधानमन्त्रीले पनि खेल्ने रोमाञ्चक खेल हो । उनीहरूको पुस्ट्याइँले यो कुराको पुष्टि गर्छ । कुन मन्त्री/प्रधानमन्त्रीले उत्तर-दक्षिण कतातिर कुन गाउँ हारे भन्ने कुरा आफैँ जानकार भएर पत्ता लगाउनु होला । त्यति जासुसी त हाम्रो रगतमै छ । अब रगतको जिम्मा भने म लिँदिन । दिमागमा टनक-टनक जोड दिनु । घटाउ निकाल्नु ।
अहिले हामीले तातिएर कालापानी हाम्रो हो भने झैँ जमानामा गोरा पनि हाम्रा हुन् भन्ने लागेकै हो । वीर गाथा जति फलाके पनि गोरालाई गाउँ दिएकै हो । गोराका अघि गाउँ खाने कथामा हारेर कालो अनुहार बनाउँदै धेरै गाउँ बुझाएकै हो । छाती अरट्ठ परेर तन्काऔँ या नाकका पुरा फुलाऔँ, गाउँ दिएर चित्त नबुझेपछि गोरालाई छोरा दिने सर्त पनि मानेकै हो । अहिले पनि हामीले त्यसमा कन्जुस्याइँ गरेका छैनौँ । धक मानेका छैनौँ ।
‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ तर नेपालमा बस्दैन । बसे भने शिर उचाल्न गाह्रै छ । शिर उचाले पनि हवाईजहाज हेर्न मात्र उचालिन्छ । या हजामले दाह्री मिलाउने बेला उचाल्ला । ‘जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ’ किनभने हामीसँग प्रकाशको स्रोत त्यति नै बाँकी छ । देश उज्यालो बनाउने बल्ब, ट्युबलाइट सबै निर्यात भइरहेका छन् । आयात भएका कुरा हेर्न भने कि विमानस्थलका कर्मचारीको घर पुग्नु कि पशुपति छेउ बागमती किनारमा रुङ्नु ।
जमानामा साथीहरूसँग ‘गाउँ खाने कथा’ खेल्दा मैले गाउँ नखाएको होइन । बडो अदबका साथ ‘गाउँ खाने कथा’मा उनीहरू फलाना-फलाना गाउँ तेरो भन्दै दिन्थे । या हार्थे भनौँ । यसको बदलामा नेताजी झैँ मैले कुनै ब्रिफकेस बुझाउन पर्दैन थियो । कुनै होटेलको कुनै गोप्य कोठामा कसैलाई भेट्न पर्दैन थियो । त्यसैले होला खाएको गाउँ पाइएन । उनीहरू प्राइभेट कम्पनीका मालिक झैँ निस्किए । ‘महिनाभरि गधा पेलान्, पारिश्रमिक देलान् नदेलान् के हो ?’ भनी कसैले सोध्यो प्याट्टै भन्नुहोला । मैले उत्तर माथि बताइदिइसकेँ । खैर, मैले खानलाई गाउँ पाइन भनौँ न । हुन त गाउँ दिनलाई उनीहरू राजा या मन्त्री थिएनन् । उनीहरूसँग श्रीपेच र दाउपेच केही थिएन । म पनि कुनै गुण्डा नाइके थिइन । नेताका आश्वासन झैँ उनीहरू गाउँ दिन्थे । जनता झैँ म बडो खुसी भएर ग्रहण गर्थेँ । त्यति हो, हामी कुटाकुट गर्दैन थियौँ । लुछालुछ, कुर्सी हानाहान, ढुंगामुढासम्म पुग्दैन थियौँ । ‘पाइस् ? पाएँ !’ सकियो ।
गाउँको कुरा गर्दै गर्दा प्याट्ट दिमागमा एउटा गीत घन्किहाल्यो । ‘गाउँ-गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ भन्ने कुरालाई सायद हामीले श्रुतिसमभिन्नार्थक रूपमा बुझ्यौँ कि जस्तो लाग्छ । गाउँ-गाउँबाट उठ्यौँ र सहरतिर लाग्यौँ । परदेशतिर पस्यौँ । या गाउँ-गाउँबाट उठाएर सहरतिर लाग्न, परदेशतिर पस्न बाध्य बनाइयो भन्न सकियो । यसरी हामीले बचपनमा खान नसकेको या नपाएको गाउँ खान पाइयो । चपाइयो ।
गाउँ-गाउँबाट उठ्ने कुरालाई कतिले वडाध्यक्ष या मेयरको रूपमा उठ्नु पनि बुझे र उठे । उनीहरूमध्ये कतिले बाल्यकालमा खान नपाएको झोंक यता निकाले । ग्वाम्म खाए । कसरी र कति खाए भन्ने कुराको हिसाब निकाल्न फुल्दै र राता हुँदै गरेका उनीहरूका गाला हेर्नु । निचोरे मात्र पनि दुई/चार गाउँ चुहिएलान् ।
गाउँ नै सफाचट पारेर हो या घिच्नेले घिचिसकेर हो अचेल ‘गाउँ खाने कथा’ सुन्न छोडिएको छ । बुन्न बन्द गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

