धेरै समयअघिको कुरा हो ।
एकजना आयोदधौम्य नाम गरेका प्रसिद्ध महर्षि थिए । तिनका तीनजना शिष्य थिए : उपमन्यु, आरुणि, पाञ्चाल र वेद ।
एक दिन उनले आरुणिलाई भने : बाबु आरुणि, जाऊ त खेतमा आली भत्किएछ, त्यो बाँध थुनेर त्यहाँ पानी लगाऊ त । उनी खेतमा गए र बाँध अड्याउने धेरै प्रयास गरे , सकेनन् र अन्त्यमा आफैँ त्यो बाँध बाँध्न त्यहाँ सुतिदिए । बाँध बाँधियो । खेतमा पानी लाग्यो ।
धेरै वेरसम्म पनि चेलो नफर्किएको देखेर बाँकी दुवै चेलाका साथ त्यहाँ पुगेर गुरुले आरुणिलाई पुकारे । अनि आरुणिले हजुर, भनेको सुनेर हेर्न जाँदा त आरुणि कहिलेदेखि बाँध अड्याउन जलप्रवाहमा सुतीरहेको देखेर गुरुको मन अभिभूत भयो । अनि करुणाविगलित हुँदै प्रसन्नताका साथ भने : बाबू आरुणि, म तिम्रो गुरुभक्ति देखेर प्रसन्न भएँ । म तिमीलाई यो वर दिन्छु : समस्त वेद अनि धर्मशास्त्र तिम्रो बुद्धिमा स्वयं प्रकाशित हुनेछ, तिमी अहिले यो बाँध विदीर्ण गरेर उठेका छौ त्यसैले आजदेखि तिम्रो नाम उद्दालकका रूपमा लोकविख्यात हुनेछ ।
आरुणि गुरुकृपाले कृतार्थ भए ।
…….
उनले दोस्रो शिष्य उपमन्युलाई भने : बाबू उपमन्यु , तिमी यी गाईहरुको रक्षण गर ।
हवस् गुरु, भनेर उनी दिनभरि गाई चराउन गए । साँझमा फर्किएर गुरु चरणमा प्रणाम गर्न आए ।
गुरुले सोधे : ए केटा , तँ त मोटोघाटो पो छस् त , के खान्छस् हँ ?
उनले भने : गुरुदेव, म भिक्षा मागेर खाने गर्छु ।
गुरुले भने : मलाई अर्पण नगरीकन तिमीले भिक्षान्न ग्रहण गर्नु ठीक होइन ।
हवस् गुरु भनेर भोलिपल्टदेखि सबै भिक्षान्न ल्याएर गुरुलाई अर्पित गर्न थाले ।
अनि फेरि पूर्ववत् दिनभरि गाई चराएर साँझमा गुरुचरणमा प्रणाम गर्न गए ।
गुरुले सोधे : ए केटा, तँ त अझै पनि मोटो घाटो नै छस् त , के खान्छस् हँ ?
उनले भने : गुरुदेव, म आफ्ना लागि फेरि भिक्षा माग्छु र तेही खान्छु ।
गुरुले भने : ए, तेसो गर्नु हुँदैन नि , अरुको भिक्षाभाग ग्रहण गरेर उनीहरुको जीविकामा बाधा हाल्नु हुन्न नि बाबू ।
हवस् गुरु भनेर उनी गए ।
फेरि भोलिपल्ट दिनभरि गाइ चराएर साँझमा गुरुलाई प्रणाम गर्न गए ।
गुरुले भने : ए केटा , तँ त अझै उत्तिकै हृष्टपुष्ट छस् त , के खान्छस् हँ ?
उनले भने : गुरु, आजभोलि म गाईको दूध खाएर काम चलाउँदैछु ।
गुरुले भने : तेसो गर्नुहुन्छ त लाटा , बाच्छाहरुको भाग खोसिइहाल्छ नि ।
हवस् गुरु, अबदेखि खान्नँ भनेर गए ।
फेरि अर्को दिन दिनभरि गाई चराएर साँझमा गुरुदर्शन गर्न गए ।
गुरु : केटा, तँ त उत्तिकै मोटोघाटो छस् त, के खान्छस् हँ ?
केटो : गुरुदेव, यी बाच्छाहरु जब गाइको थुन चुस्न थाल्छन् अनि त्यहाँबाट दूधको फिँज झर्छ तेही खाएर जीविका चलाउँदैछु ।
गुरु : हेर् केटा , ती बाच्छाहरुले दयावश तेरा लागि धेरै फिँज उगेल्दा हुन् । तेसरी त ती भोकै भइहाल्छन् त । तेसो गर्नु हुन्न नि ।
हवस् गुरुदेव भनेर केटो गयो ।
भोलिपल्ट उपमन्यु भोकले भुतुक्कै भएपछि खानेकुरा केही नपाएर वनमा भेटिएको आँकको पात चपाउन लागेछन् । तीतो, पीरो, कोक्याउने विषाक्त ती पातहरु चपाएपछि उनको आँखाको ज्योति विनष्ट भयो । छामछाम छुमछुम गर्दागर्दै साँझमा उनी एउटा गहिरो सुक्खा इनारमा खस्नपुगे ।
साँझमा केटो नफर्किएपछि गुरु उनलाई खोज्न वन गए ।
बाबू उपमन्यु , भनेर बोलाउँदा इनारको पीँधबाट चेलाको आवाज आयो : गुरु, म यहाँ छु ।
उनलाई इनारबाट कुनै सूरतले निकालियो । अनि गुरुले सोधे : कसरी खसिस् केटा इनारमा ।
उनले यथावृत्त बताएपछि गुरुले भने : अब अश्विनीकुमारको स्तुति गर । तिनले नै तँलाई निको पार्नेछन् ।
उनले वेदोक्त काव्यमय स्तुति गरेपछि अश्विनीकुमार आए र उनलाई हातमा पूआ खान दिएर भने : बाबू , ल खाऊ ।
उपमन्युले भने : गुरुलाई अर्पित नगरी म केही पनि खान्न ।
अश्विनीकुमारले भने : पहिले तिम्रा गुरुले पनि हाम्रो उपासना गरेका थिए । अनि हामीले यसैगरी खानेकुरा दिँदा उनले पनि आफू नखाइकन गुरुलाई अर्पण गरेका थिए । ल हुन्छ, तिमी पनि तेसै गर ।
अनि – हामी तिम्रो गुरुभक्तिदेखि प्रसन्न भयौँ , तिम्रा उपाध्यायका दाँत फलामजस्ता काला छन् , तिम्रा सुनजस्तै चम्किला, राम्रा हुनेछन् तिमी कल्याणभागी हुनेछौ । हाम्रो यही वरदान भयो – भनेर अन्तर्धान भए ।
अनि उनका आँखा पनि ठीक भए । गुरु चरणमा आएर वन्दना गरी सबै वृत्तान्त बेलिविस्तार लाएपछि गुरु आयोदधौम्यले भने : उनीहरुले जे भने , तिम्रो जीवन तेस्तै हुनेछ । अनि अब तिम्रा बुद्धिमा सकल वेद र समस्त धर्मशास्त्र पनि स्वत: प्रकाशित हुनेछन् ।
यसरी उपमन्यु पनि गुरुकृपा पाएर कृतार्थ भए ।
…..
आयोदधौम्यका तेस्रा चेला वेद ।
गुरुले भने : बाबू वेद , तिमी केही समयसम्म यहाँ मेरैे घरमा बस । सदा शुश्रूषामा संलग्न होऊ । तिम्रो कल्याण हुनेछ ।
हवस् गुरुदेव, भनीकन वेद त्यहाँ बसे । गुरुले उनलाई कुस्त भारी बोक्न लगाउँथेँ , गोरुलाई जस्तो काममा जोताइरहन्थे । जाडो गर्मी केही नभनीकन, भोकप्यास सबै सहन गरेर उनी गुरुसेवामा समर्पित भए । धेरै दिन यसरी बितेपछि गुरु उनको सेवावृत्तिबाट प्रसन्न भएर वेदलाई श्रेय र सर्वज्ञताको वरदान दिए । उनी पनि कृतकृत्य भए अनि गुरुको आज्ञा लिएर वेद समावर्तन पश्चात् स्नातक बनी गुरुलाई प्रणाम गरेर फर्किए ।
…..
घर आएर उनी गृहस्थाश्रममा प्रविष्ट भए । आचार्य वेदका पनि तीन शिष्य थिए , तर उनले आफ्ना गुरुले झैँ कसैलाई पनि कठोर गुरुसेवाको आज्ञा दिएनन् । शिष्यलाई त्यसरी कष्ट दिनु उनलाई ठीक लागेन ।
एकपल्ट जनमेजय र पौष्य नामक दुई क्षत्रियहरुले वेदलाई वरण गरेर आफ्नो उपाध्याय बनाए । एक दिन यजमानको कामले बाहिर जानु परेपछि आफ्ना शिष्य उत्तंकलाई अग्निहोत्र आदि सबै काम जिम्मा लगाएर भने : तिमी घरमा रामरी बस , मेरो अनुपस्थितिमा कुनै कुराको अभाव हुन नदिनू है । यति भनेर उनी हिँडे ।
उनी समग्र गुरुआज्ञा पालन गरी कर्तव्यनिष्ठ भइ गुरुगृहमा रहन थाले । एकपटक गुरुआश्रयमा रहने सारा स्त्रीहरु उनलाई बोलाएर भने : तिम्री गुरुआमा रजस्वला भएकी छिन् । उनी चिन्तित बनेकी छन् । उनको ऋतुकाल निष्फल हुनुभएन, जसरी हुन्छ उनको काम गर ।
उत्तंकले भने : म स्त्रीहरुले भन्दैमा निन्द्य कर्म गर्दिनँ । गुरुले मलाई सबै काम गर्नू भनेको भए तापनि गर्न नहुने काम पनि गर्नू भन्ने आज्ञा त भएको छैन नि ।
केही समयपछि गुरु वेद आइपुगे । उत्तंकको यो वृत्तान्त थाहा पाएर प्रसन्न हुँदै उनका सबै कामनाहरु पूर्ण होऊन् भन्ने वर दिए । यहाँ यो सुन्दर सूक्ति आउँछ :
यश्चाधर्मेण वै ब्रूयात् यश्चाधर्मेण पृच्छति ।
तयोरन्यतर: प्रैति विद्वेषं चाधिगच्छति ।।
जो अधर्मपूर्वक अध्यापन गर्दछ , अनि जो अधर्मपूर्वक अध्ययन गर्दछ ती दुवैमध्ये एक जनाको मृत्यु हुन्छ या विद्वेष हुन्छ ।
त्यसैले हजुरको आज्ञानुसार म गुरुदक्षिणा अर्पण गर्न चाहन्छु : उत्तंकले भने ।
वेदले भने : बाबू उत्तंक मलाई त केही चाहिँदैन । भित्र जाऊ र गुरुआमालाई सोध के चाहिन्छ?
गुरुआमाले भनिन् : तिमी राजा पौष्यकहाँ जाऊ र उनकी पत्नीले लगाएका कुण्डलको जोडी मागेर ल्याऊ । चारदिन पछि त्यही कुण्डलले सजिएर ब्राह्मण भोजन गराउने मेरो इच्छा छ, ल मेरो इच्छा यही हो । बरु छिटो गर ।
हवस् भनेर उत्तंक त्यहाँबाट निस्किए ।
बाटामा जाँदा जाँदै उनले एउटा बडेमानको गोरु र तेसमाथि तेस्तै बडेमानको मानिस चढेर गइरहेको देखे । त्यो मान्छेले भन्यो : ए उत्तंक, यो गोरुको गोबर खा ।
विचार गर्नै पर्दैन, खाइहाल । पहिले तिम्रा गुरुले पनि खाइसकेका छन् ।
धेरै राम्रो , भनेर उत्तंकले मलमूत्र खाए अनि हतार भएकाले उभिएरै चुठे र हिँडिहाले ।
राजा पौष्यको छेउमा पुगेर उनलाई आशीर्वाद दिएपछि आफू गुरुआज्ञाले कुण्डल लिन आएको बताए ।
पौष्यले भने हे विद्वान् अन्त:पुरमा गएर मेरी क्षत्राणीसँग त्यो कुण्डलको जोडा मागेर लैजानुहोस् ।
उनी भित्र गए , त्यहाँ कसैलाई देखेनन् र पौष्यका छेउमा आएर भने : भित्र त कोही पनि छैन, तपाइँ मलाई यसरी छल नगर्नुहोस् ।
पौष्यले भने : उनी त भित्रै छिन् । मलाई लाग्छ निश्चय नै तँपाइँले केही खाएर रामरी चुठ्नुभएको छैन जस्तो छ , मेरी क्षत्राणी पतिव्रता छिन् अपवित्र मनुष्यले उनलाई देख्न सक्दैनन् ।
उत्तंकले भने : हो , हतार हतार उठेरै चुठेको थिएँ । शायद त्यसैले होला । अनि बकायदा पूर्वोन्मुख भएर भलीभाँति हात गोडा धोएर, मन्त्रोच्चारणपूर्वक सफा शीतल जलले तीन पटक आचमन गरेर, दुईपटक बूढी औँलाको मूल भागले मुख पुछेर, आँखा नाक आदि इन्द्रियवर्गलाई जलसहित अंगुलीले स्पर्श गरेर फेरि अन्त:पुरमा पसे ।
अनि बल्ल उनलाई देखे । ती क्षत्राणीले उनलाई सादर सत्कार गरिन् र के सेवा गरुँ भनेर सोधेपछि उत्त्ांकले सबै बेलीविस्तार लाएर लगाइराखेको कुण्डलको जोडा मागे । यिनी सुपात्र ब्राह्मण रहेछन् भन्ने जानेर उनले तुरुन्तै कुण्डल निकालेर दिइन् र हतार हतार हिँड्न लागेका उत्तंकलाई भनिन् : सावधान रहनुहोला , नागराज तक्षकले यी कुण्डलमा आँखा गाडेका छन् , सुरक्षित राख्नुहोला ।
तँपाइँ निश्चिन्त हुनुहोस् , तक्षकले मसँग भिड्ने दु:साहस गर्नेवाला छैनन् भनेर पौष्यलाई पनि धन्यवाद दिएर विदा लिई उत्तंंक हिँड्न लाग्दै थिए , अचानक पुष्यले भने महाराज, अलिकति समय दिनुहोला , धेरै दिनदेखि सुपात्र ब्राह्मण खोज्दै थिएँ आज हजुर अतिथि पाल्नुभएको छ , म श्राद्ध गर्न चाहन्छु ।
हुन त मलाई हतार थियो तैपनि भनिहाल्नुभयो , त्यसो भ ए छिटो गर्नुहोस् : तपाइँकहाँ जे शुद्ध र परिष्कृत भोजन छ ल्याइहाल्नुहोस् म ग्रहण गरुँला ।
तर, जब भोजन सामुन्ने आयो उत्तंकले देखे त्यो ची सो भइसकेको थियो अनि त्यसमा रौँ पनि परेको थियो ।
हैत्, तपाइँले त मलाई अपवित्र अन्न पो खुवाउन लाग्नुभयो , त्यसैले तपाइँ अन्धो हुनुहुनेछ ।
उता पौष्य पनि ताते र भने : तपाइँ शुद्ध अन्नलाई दूषित भन्नुहुँदो रहेछ , त्यसैले तपाइँ नि:सन्तान हुनुहुनेछ ।
यसरी परस्पर एक अर्कालाई शाप दिइसकेपछि उत्तंकले भने : तपाइँ एक त अपवित्र अन्न खान दिने , त्यसमाथि शाप पनि , यो त भएन नि , नपत्याए आफैँ हेर्नुहोस् यो कस्तो छ ।
त्यसदिन कपाल नबाँधिकन कुनै स्त्रीले पकाएको रहेछ त्यसैले त्यसमा केश परेकै रहेछ । अनि त्यो चीसो पनि रहेछ । त्यो थाहा पाएर पौष्यले माफी मागे र आफूलाई शाप नदिन अनुरोध गरे ।
उत्तंकले भने : ल, भइहाल्यो । म कहिल्यै झूठ बोल्दिन तेसैले शाप त लाग्छ लाग्छ , तर तपार्इँ फेरि चाँडै नै आँखा देख्न थाल्नुहुनेछ ।
अब मलाई दिएको शाप पनि त फिर्ता लिनुपर्यो नि , उत्तंकले भने पछि पौष्य भन्दछन् : म त्यो शाप फिर्ता गर्न सक्दिनँ , मलाई अझै पनि त्यो क्रोधले तताइरहेको छ :
नवनीतं ह्दयं ब्राह्मणस्य
वाचि क्षुरो निहितस्तीक्ष्णधार: ।
तदुभयमेतद् विपरीतं क्षत्रियस्य
वाङ् नवनीतं हृदयं तीक्ष्णधारम् ।।१२३
ब्राह्मणको हृदय नौनीसमान कोमल हुन्छ तर वाणी छुराको धारजस्तो तीखो । तर क्षत्रियको चाहिँ यसको ठीक उल्टो हुन्छ । हृदय छुरा जस्तो धारिलो अनि वाणीचाहिँ नौनीजस्तो लपक्क परेको ।
त्यसैले मेरो मन पनि कठोर भएकाले त्यो शाप फिर्ता लिन सक्दिनँ ।
उत्तंकले भने : तपाइँको अन्न नै प्रदूषित भएपछि तपाइँको शाप मलाई कसरी लाग्न सक्छ र? म तपाइँको शाप स्वीकार्दिनँ । यति भनेर कुण्डलको जोडी पोको पारेर उत्तंक हतार हतार निस्किए ।
…..
बाटामा जाँदै गर्दा उत्तंकले एउटा नग्न सन्न्यासीलाई देखे , त्यो घरि देखा पर्दथ्यो , घरि गायब हुन्थ्यो ।
अलि पर पुगेपछि ज्यादै आवश्यक परेको हुँदा उत्तंकले त्यो कुण्डलको पोको एउटा जलाशयको किनारमा राखेर स्वयं शौच, स्नान, आचमन, सन्ध्या तर्पण आदि जलक्रिया सम्पन्न गर्न जलाशयतिर लागे । त्यतिकैमा त्यो नग्न सन्न्यासीले त्यो पोको उछिट्याइहाल्यो र त्यहाँबाट कुलेलम ठोक्न लाग्यो । उत्तंकले सबै काम यथाशीघ्र सम्पन्न गरेर शुद्ध पवित्र बनी देवता र गुरुलाई पनि प्रणाम गरी किनारमा आए र दौडँदै त्यो चोर सन्न्यासीको पीछा गरे ।
वास्तवमा त्यो थियो नागराज तक्षक । दौडिएर उत्तंकले त्यसलाई समाउन त समाए तर त्यो फुत्किएर नागराजको रुप धारण गर्दै अचानक जमीनमा प्रकट भएको एउटा ठूलो दुलोमा सुलुलुलु छिरिहाल्यो, अनि त्यतैबाट छिरेर नागलोक पुग्यो । पहिले त उत्तंकले आफ्नो डण्डाले त्यो बिल भत्काउन खोजे तर सकेनन् । त्यसैबेला इन्द्रले स्वर्गलोकमा वज्रलाई आज्ञा दिए : जा त्यो डण्डामा प्रवेश गरेर ती ब्राह्मणदेवलाई सहयोग गर् । इन्द्रको आज्ञा पाएर वज्र त्यस डण्डामा प्रवेश गर्यो अनि खनेर त्यस बिललाई भत्काइदियो , त्यहाँबाट पाताललोक जाने बाटो खुल्यो ।
उत्तंक त्यसैबाट नागलोक पुगे । त्यो असीमित समृद्धिले सम्पन्न भव्य थियो । जताततै भव्य । त्यहाँ पुगेर उनले नागराज तक्षकको दिव्य स्तुति गरे । उनका भाइ श्रुतसेनको पनि प्रशंसा गरे र कुण्डल मागे । तर, जतिसुकै स्तुति गरे पनि न त तक्षक नै अगाडि आयो न त कुण्डल नै दियो । अनि उत्तंक बडो चिन्तित भए ।
त्यसैबेला दुइवटी स्त्रीलाई त्यहाँ उनले देखे , तिनीहरु एउटा सुन्दर तानमा कपडा बुन्दै थिए । ती सेता र काला कपडा बुन्दै थिए । त्यसैका छेउमा एउटा चक्र पनि थियो जसमा १२ वटा अरा थिए जसलाई छ जना कुमारहरुले घुमाइरहेका थिए । त्यहीँ एउटा भव्य मानिस पनि उभिरहेको थियो जसका छेउमा एउटा रमणीय घोडा पनि खडा थियो । उत्तंकले राम्रा मन्त्रहरुले तिनको पनि स्तुति गाए ।
यो जुन अविनाशी कालचक्र चलिरहेछ त्यसमा तीनसय साठी अरा छन् । चौबीस पर्व छन् । यस चक्रलाई छ जना कुमारले घुमाइरहेका छन् । इत्यादि ।
यो सुनेर ती दिव्य पुरुषले भने : ब्रह्मन् म तिम्रो स्तुति सुनेर प्रसन्न भएँ । भन, तिम्रो के प्रिय कार्य सम्पन्न गरुँ?
उत्तंकले भने : यी सबै नाग मेरो अधीन भइजाऊन् ।
तिनले भने : यस घोडाको गुदद्वारमा फू: ..गरेर फुक त ।
उत्तंकले फुके । फुक्नासाथै आगो फुकेजस्तो भयो । घोडाका शरीरको रौँ का छिद्र छिद्रबाट पतपती धुवाँ आयो र भयंकर अग्निज्वाला निस्कन लाग्यो । अनि सारा नागलोक धुवैँ धुवाँले व्याप्त भयो । त्यसपछि नागराज डरले थरहरि हुँदै अग्निज्वालादेखि भयभीत भएर दु:खी हुँदै सहसा घरबाट फुत्तै बाहिर निस्कियो अनि कुण्डलको पोको दिँदै हात जोडेर उत्तंकलाई भन्न लाग्यो : हजुर, यो कुण्डल लिनुहोस् ।
ओहो, ढीला भइसक्यो , आजै गुरुआमाको पुण्यक व्रत छ । म यति टाढा छु , अब कसरी पुग्नु होला , लौ न, उत्तंकले भने ।
ती दिव्यपुरुषले भने : उत्तंक , तिमी यही घोडामा चढेर जाऊ । यसले तिमीलाई एकैछिन्मा पुर्याइदिन्छ ।
हवस् भनी उनी घोडामा चढे र तुरुन्तै गुरुगृहमा आइपुगे ।
उता गुरुआमा नुहाएर केश सिँगार्दै थिइन् । अझै आएन उत्तंक, त्यसलाई शाप नदिइ कहाँ छोड्छु र? उनलाई रीस उठिरहेको थियो ।
उत्तंकले गुरुआमालाई प्रणाम गरेर कुण्डलको जोडा दिए । बाबू उत्तंक , मैले झन्नै तिमीलाई शाप दिइसकेको, धन्न बच्यौ । तिमीलाई मेरो धेरै आशीर्वाद । तिम्रो कल्याण होस् । सिद्धि प्राप्त होस् । गुरुआमाले भनिन् ।
…
अनि गुरु वेदको चरणयुगलमा प्रणाम गरे । वेदले सोधे : बाबू उत्तंक , किन ढीला गर्यौ ?
अनि उत्तंकले सबै वेलिविस्तार लाए र आफूले देखे भोगेका विचित्र घटना र वृत्तान्तका बारेमा जिज्ञासा राखे ।
अनि सबै कुराको गूढ रहस्य गुरु वेदले यसरी भने :
तिमीले नागलोकमा देखेका दुई स्त्री धाता र विधाता हुन् ।
तिनले बुनेका सेता र काला धागा रात र दिन हुन् ।
चक्र संवत्सर हो ।
त्यसका १२ अरा महिना हुन् ।
छ जना कुमार केटा छ ऋतु हुन् ।
ती दिव्य पुरुष पर्जन्य अर्थात् देवराज इन्द्र हुन् ।
त्यो घोडा अग्निदेव हुन् ।
यताबाट जाँदा बाटामा जुन गोरु देख्यौ त्यो नागराज ऐरावत हो ।
त्यसमा चढेको बडेमानको पुरुषचाहिँ देवराज इन्द्र नै हुन् ।
तिमीले खाएको गोबर चाहिँ अमृत हो , त्यही खाएकाले तिमी नागलोक गएर पनि मरेनौ ।
ती देवराज इन्द्र मेरा मित्र हुन् । तिमीमाथि कृपा गरेर नै उनले यो अनुग्रह गरेका हुन् । त्यसैकारण तिमी कुण्डलको जोडा लिएर सकुशल यहाँ आउन सफल भयौ ।
हे वत्स , अब तिमी जाऊ । तिम्रो कल्याण होस् ।
गुरुको आज्ञा पाएर उत्तंकले प्रस्थान गरे ।
…
उनलाई त्यो नागराज तक्षकसँग एकदमै रीस उठिरहेको थियो । त्यसले दु:ख दिएको बदला चुकाउने कामना लिएर उत्तंक हस्तिनापुर पुगे अनि राजा जनमेजयलाई भेटे ।
हे राजा जनमेजय, नागराज तक्षकले तपाइँका पितालाई डसेर मारेका हुन् , तपाइँलाई थाहा छ नि ? अब त्यस दुरात्मासँग बदला लिनुहोस् ।
हे महाराज, त्यसका लागि तपाइँ एक सर्पयज्ञको अनुष्ठान गर्नुहोस् । अनि प्रज्वलित अग्निमा त्यस पापीलाई होमिदिनुहोस् । मलाई पनि त्यसले सारै दु:ख दिएको छ ।
अनि, राजा जनमेजयले क्रुद्ध भएर सर्पयज्ञको अनुष्ठान आयोजित गरे ।
: महाभारत आदिपर्वको तेस्रो अध्यायबाट ।
…..
सनतकुमार, २०८० चैत्र २ गते शुक्रवार, अक्षरालय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।