नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।
नारायण श्रीकृष्ण र नरोत्तम श्रीअर्जुन, देवी सरस्वती एवम् महर्षि व्यासलाई प्रणाम गरेर यो जय यद्वा महाभारत महाकाव्य पढ्नु पर्दछ । सबैलाई नमन गरेर यो ग्रन्थ श्रीगणेश गर्दैछु । सबै श्रद्धेय देवदेवीहरुको कृपा रहोस् ।
महाभारतको प्राचीन नाम हो – जय । जय यद्वा महाभारत यो समस्त ब्रह्माण्डकै बृहत्तम आर्ष महाकाव्य हो । यसमा सवा लाख पद्य रहेका छन् । यो विराट् ग्रन्थ महर्षि वेदव्यासले रचना गर्नुभएको हो । पूर्वीय संस्कृति सभ्यता र परम्पराका जे जति सम्पदा र अभ्यास छन् ती सबैको स्रोत यही ग्रन्थ हो भनिन्छ । यो यति व्यापक छ कि यसमा सब–कुछ छ । यस जगत्मा भएका र हुनसक्ने सबै घटना, चरित्र, विचार, भावना, अनुभूति र वस्तुप्रपञ्च यस सुमहत्तम ग्रन्थमा पाइन्छ भनिएको छ । संस्कृतको सुप्रसिद्ध सूक्ति बनेको यो बहुश्रुत श्लोकले महाभारतको महत्तालाई स्पष्ट उद्घोष गरेको छ:
धर्मे चार्थे च कामे च मोक्षे च भरतर्षभ ।
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत् क्वचित् ।।
महाभारत आदिपर्व : ६२ अध्याय, ५३ औँ श्लोक ।
ऋषि वैशम्पायन राजा जनमेजयलाई सम्बोधन गरेर भन्नुहुन्छ : हे भरतर्षभ राजन् , धर्म , अर्थ , काम र मोक्ष यी चारै पुरुषार्थका जे जति तत्त्वहरु हुन् ती सबै यसै महाभारतमा पाइन्छन् । यस महाभारतमा जे छ त्यही अन्यत्र पनि छ , यहाँ जे छैन त्यो कहीँ पनि छैन ।
यस्तो गौरवशाली ग्रन्थ पढ्न पाउनु मानवजीवनको परमसौभाग्य हो । महाभारतका केही टुटफुट कथांश लोकमा विख्यात छन् । तर ती पनि अपभ्रष्ट रूपमा । यसको मूल पाठ नै पढेर आनन्द लिने अवसर पाउनु एउटा दुर्लभ सौभाग्य हो । त्यसो त यो समग्र ग्रन्थ स्वयं गणेशले आफ्नै हातले लेख्नुभएको हो । उहाँले लेखेको ग्रन्थ उहाँकै कृपाले सहजतया पढ्न पाइयोस् यही प्रार्थना गर्दछु ।
ॐ विघ्नविनाशकाय विनायकाय गणाधिपतये नमः
यो कथा प्रारम्भ हुन्छ : नैमिषारण्यमा । त्यहाँ लोमहर्षका पुत्र उग्रश्रवा आइपुग्नुभएको छ । किनभने त्यहाँ कुलपति शौनकले १२ वर्षे यज्ञ–सत्र प्रारम्भ गर्नुभएको छ । त्यसमा हजारौँ ऋषिगण सम्मिलित हुनुहुन्छ । कोतूहलवश उग्रश्रवा त्यहाँ आइपुग्नुभएको छ । उहाँको विधिपूर्वक स्वागत सत्कार गरेपछि ती ऋषिगणले उहाँ कहाँबाट आउँदै हुनुहुन्छ ? प्रश्न राखेपछि उग्रश्रवाले आफू चक्रवर्ती राजा परीक्षितपुत्र जनमेजयले आयोजना गरेको सर्पयज्ञमा वैशम्पायनले उपदेश गरेको श्रीकृष्णद्वैपायन व्यासप्रणीत चमत्कारमय कथाले परिपूर्ण महाभारत सुनेर आनन्दित भएर आएको वृत्तान्त सुनाउनुहुन्छ । त्यसपछि पहिले कौरव पाण्डवको घमासान युद्ध भएको स्थान समन्तपञ्चकतिर घुमफिर गरेर आफू यता आइपुगेको बताउनुहुन्छ । ऋषिहरुले त्यो कथा आफुहरुलाई पनि सुन्ने कौतूहल भएको भावना व्यक्त गरेपछि उग्रश्रवा सौतिले महाभारतको समग्र कथा भन्न थाल्नुहुन्छ :
महाभारत तीनै लोकमा महत् ज्ञानको स्रोतका रूपमा प्रतिष्ठित छ । यो समस्त सृष्टि अन्धकारमय आदिकालमा कतैबाट प्रकट भएको एउटा अण्डबाट प्रारम्भ भएको हो, त्यसै अण्डबाट ब्रह्मा विष्णु महेशादि सकलदेवता र समस्त चराचर जगत् प्रकट भएको हो । कल्पान्तमा यो सबै फेरि त्यहीँ विलीन हुन्छ । समस्त देवताहरूको सृष्टि तेत्तीस हजार, तेत्तीस सय तेत्तीस संख्यामा रहेको छ । आदिकालमा रविका सन्तानहरू फैलिएर यो जगत् व्याप्त बनेको हो । रवि, देवभ्राट्, दशज्योति, शतज्योति र सहस्रज्योति क्रमशः भए । दशज्योतिका दश हजार, शतज्योतिका एकलाख र सहस्रज्योतिका दश लाख सन्तान भए । तिनैबाट कुरुवंश, यदुवंश, भरतवंश, ययाति र इक्ष्वाकुका वंश एवं अन्य राजर्षिहरू सबैको वंशविस्तार भयो ।
……
परापूर्वकालमा पराशरनन्दन ब्रह्मर्षि श्रीकृष्णद्वैपायनले महाभारतको रचना गरिसकेपछि विचार गर्न लाग्नुभयो : अब यो ग्रन्थ समग्र शिष्यमण्डलीलाई कसरी अध्ययन गराउने होला ? यो कुरा अन्तर्मनले बुझेर लोकगुरु ब्रह्मा उहाँको आश्रममा आउनुभयो । व्यासजीले ससम्मान स्वागत र आदर सत्कार गरिसकेपछि व्यासजीले आफूले एउटा महाकाव्य रचना गरेको तर त्यसलाई लेखिदिने मानिस नभेटेको कुरा गर्नुभयो । ब्रह्माले यो महाकाव्य लोकविख्यात हुनेछ, यसभन्दा ठूलो अर्को काव्य यस जगत्मा हुनेछैन र बडे बडे कविहरूले पनि यसै काव्यलाई स्रोत बनाएर आफ्ना कृतिहरू तैयार गर्नेछन् भन्ने आशीर्वचन प्रदान गर्दै यो महाकाव्य लेख्नलाई गणाधिपति श्रीगणेशलाई स्मरण गर्ने सुझाव दिनुभयो र ब्रह्मलोक फर्किनुभयो ।
व्यासजीले स्मरण गर्नासाथ गणेशजी प्रकट हुनुभयो । उहाँको ससम्मान स्वागत सत्कार गरेपछि व्यासले विन्ती बिसाउनुभयो:
लेखको भारतस्यास्य भव त्वं गणनायक ।
मयैव प्रोच्यमानस्य मनसा कल्पितस्य च ।।
श्रुत्वैतत् प्राह विघ्नेशो यदि मे लेखनी क्षणम् ।
लिखितो नावतिष्ठेत तदा स्यां लेखको ह्यहम् ।।
व्यासोऽप्युवाच तं देवमबुद्ध्वा मा लिख क्वचित् ।
ओमित्युक्त्वा गणेशोऽपि बभूव किल लेखकः ।।
ग्रन्थग्रन्थिं तदा चक्रे मुनिर्गूढं कुतूहलात् ।
यस्मिन् प्रतिज्ञया प्राह मुनिद्र्वैपायनस्त्विदम् ।।
अष्टौ श्लोकसहस्राणि अष्टौ श्लोकशतानि च ।
अहं वेत्ति, शुको वेत्ति, सञ्जयो वेत्ति वा न वा ।। ७७ –८१
हे गणनायक, हजुर मैले रचना गरेको यस महाभारत ग्रन्थको लेखक बनिदिनुहोस् । म भन्दै जान्छु, तपाईँ लेख्दै जानुहोला । मैले मनैमन यस ग्रन्थको रचना गरिसकेको छु ।
यो कुरा सुनेर गणनायकले भन्नुभयो : व्यासजी, लेख्दै जाँदा एकै छिन् पनि मेरो लेखनीले रोकिन नपरोस् है त , पहिले यो वचन दिनुहोस्, अनि मात्र म यो ग्रन्थको लेखक बनूँला ।
व्यासजीले भन्नुभयो : हवस्, तर हजुरले अर्थ नबुझीकन चाहिँ एक अक्षर पनि नलेख्नुहोला है त !
गणेशजीले ओम् भनेर यो कुरा स्वीकार्नुभयो ।
अनि व्यासजीले कौतूहलवश ग्रन्थमा विभिन्न ग्रन्थिहरू कूटपद्यहरू रच्नुभयो । प्रतिज्ञापूर्वक स्वयं व्यासले भन्नुभएको छ : यस ग्रन्थमा ८८०० आठ हजार आठ सय यस्ता श्लोक छन् जसको अर्थ म बुझ्छु, शुकदेव बुझ्नुहुन्छ, तर सञ्जय बुझ्छन् बुझ्दैनन् म भन्न सक्दिनँ ।
….
ती रहस्यमय श्लोकका बारेमा विचार गर्दागर्दै गणेशजीको लेखनी बेला बेला अडिने गर्दथ्यो । जब जब गणेशजी फटाफट लेखिसक्नुहुन्थ्यो अनि व्यास त्यस्ता श्लोक भन्नुहुन्थ्यो । त्यस्ता श्लोकमाथि गणेशजीले विचार गरुञ्जेलमा व्यासजीले अनेक श्लोक रचिसक्नुहुन्थ्यो । यसरी गणेशजीलाई दिएको वचन व्यासजीले पूरा गर्नुभयो र व्यासजीको वचन गणेशजीले पनि निर्वाह गर्नुभयो ।
एक लाख श्लोक भएको यस उत्तम ग्रन्थलाई आद्य महाभारत भनिन्छ । पछि व्यासजीले उपाख्यानभाग छोडेर चौबीस हजार श्लोक भएको भारतसंहिता बनाउनुभयो । जसलाई विद्वान्हरू भारत भन्दछन् । एउटा अनुक्रमणिका पनि बनाउनुभयो जसमा फगत् १५० श्लोक रहेका छन् । व्यासजीले सर्वप्रथम आफ्ना सुपुत्र शुकदेवजीलाई यो ग्रन्थ अध्ययन गराउनुभयो । त्यसपछि भगवान् व्यासले साठी लाख ६००००० श्लोक भएको एउटा अर्को संहिता तैयार गर्नुभयो । त्यसमध्ये तीस लाख श्लोक देवलोकमा समादृत भयो , पन्ध्र लाख श्लोक पितृलोकमा र चौध लाख श्लोक गन्धर्वलोकमा । यस मनुष्यलोकमा जम्मा एक लाख श्लोक भएको आद्यभारत प्रतिष्ठित भयो । मनुष्यलोकमा समस्त वेदहरुका वेत्ता व्यासशिष्य वैशम्पायनले यस ग्रन्थको प्रवचन गर्नुभयो ।
महाभारतमा :
दुर्योधन एउटा क्रोधमय महावृक्ष हो । कर्ण त्यसको स्कन्ध हो , शकुनि शाखा हो , दुःशासन समृद्ध फल फूल हो , अज्ञानी राजा धृतराष्ट्र् नै यस वृक्षका मूल हुन् । ११० पद्य
उता, युधिष्ठिर एउटा धर्ममय विशाल वृक्ष हुन् ।अर्जुन स्कन्ध, भीमसेन शाखा, माद्रीनन्दन नकुल सहदेव समृद्ध फलफूल हुन् । श्रीकृष्ण, वेद र ब्राह्मण नै यस वृक्षका मूल हुन् । १११पद्य
इतिहासपुराणाभ्यां वेदं समुपबृंहयेत् ।
बिभेत्यल्पश्रुताद् वेदो मामयं प्रहरिष्यति ।।२६८
महाभारतको गरिमा प्रकाशित गर्दै यहाँ के भनियो भने : इतिहास र पुराणको सहायताले वेदहरूको अर्थ विस्तार गर्नुपर्दछ । जो इतिहास र पुराणसँग अनभिज्ञ हुन्छ तेस्तासँग वेद डराउँदछ कहीँ यसले ममाथि नै प्रहार पो गर्ने हो कि ?
एकतश्चतुरो वेदान् भारतं चैतदेकतः ।
पुरा किल सुरैः सर्वैः समेत्य तुलया धृतम् ।।
चतुभ्र्यः सरहस्येभ्यो वेदेभ्यो ह्यधिकं यदा ।
तदाप्रभृति लोकेस्मिन् महाभारतमुच्यते ।।
महत्त्वे च गुरुत्त्वे च ध्रियमाणं यतोधिकम् ।
महत्त्वात् भारवत्त्वाच्च महाभारतमुच्यते ।।
निरुक्तमस्य यो वेद सर्वपापैः प्रमुच्यते । २७२–२७४
प्राचीन कालमा सबै देवताहरू एकत्र भएर तराजुको एक पल्लामा चारै वेद र अर्को पल्लामा महाभारत राखेछन् । तर सरहस्य चारै वेद भन्दा पनि महाभारत नै भारवान् भएछ । त्यसै वेलादेखि यो ग्रन्थ महाभारतका नामले प्रख्यात भयो । सत्यको तराजुमा तौलँदा यो ग्रन्थ महत्त्व, गौरव वा गम्भीरताको दृष्टिले समेत वेदभन्दा बढी गरिमापूर्ण देखियो । अतएव महत्ता , भार वा गम्भीरताका विशेषताहरुले गर्दा यसको नाम महाभारत रहन गएको हो । जो यस ग्रन्थको निर्वचनलाई जान्दछ त्यो समस्त पापबाट मुक्त हुन्छ ।
जय श्रीमहाभारत ।
……
ॐ महाशिवरात्रि : २०८० , अक्षरालयः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।