१.

एउटा वक्ताका रूपमा मलाई उभ्याइदिए ।

घटनाको धेरै वर्ष भइसकेको छ ।

थाहा छैन किन मलाई उभ्याइदिए । अहिले त म यति अज्ञानी छु भने त्यो बेला झन् के थिएँ होला !

सानो भेलामा मेरा दुई साथी र म वक्ता थियौँ । मेरा एक जना साथीले आफ्ना धारणा राखेर गइसक्नु भएको छ । अब पालो मेरो छ । मैले केही बोल्नु छ ।

एक जना महिलाले हाम्रो भारी भरकम परिचय सुनेपछि आफूलाई सम्हाल्न सक्नु भएन । उहाँले प्रश्नमाथि प्रश्न तेर्स्याइरहनु भएको छ । एउटी गाउँले महिलाका ठूला कुरा थिएनन्, जिज्ञासा सानै थिए । साना-साना समस्या कसरी सुल्झाउने भन्ने उहाँको जिज्ञासा थियो ।

मैले ठूला कुरा गरेँ, भनेँ- ‘हामी जस्तो सोच्छौँ, त्यस्तै हुन्छौँ । सम्भवतः तपाईंले आफ्नो सोच्ने शैली बदल्नु पर्छ ।’

त्यो कसरी बदल्ने भन्नेबारे सूत्र सुनाएँ । उहाँको अनुहारका भावले मैले बुझेँ, मेरा सूत्र उहाँको टाउको माथिमाथिबाट गइसक्यो । मैले आफ्नो बुझाउन नसक्ने कमजोरीबाट टक्टकिन चाँडै नै वक्तव्य अन्त्य गरेँ ।

त्यसपछि पालो आयो, मेरा एक जना अनन्य मित्रको । उहाँले सोध्नुभयो, ‘घरमा को को हुनुहुन्छ ? श्रीमान् के गर्नुहुन्छ ? तपाईं बिहानदेखि बेल्कासम्म कति घण्टा खटिनुहुन्छ ।’

हरेक प्रश्नको उत्तर उहाँले एक एक गरेर दिइरहनु भयो । उत्तर सकिएलगत्तै उहाँको अर्को प्रश्न आउँथ्यो । यसरी लामो समय प्रश्नोत्तरमै बित्यो ।

साथी र ती महिलाबीचको प्रश्नोत्तरका बीचमा मैले बुझेँ, ती महिलालाई ठूलो समाधान चाहिएकै रहेनछ । उनलाई त बस्, त्यत्रो ठूलो परिवारमा म पनि छु भन्ने अस्तित्वबोध गराउनु रहेछ । उहाँलाई काम गर्नुपरेकामा दुःख थिएन । राति गलेर लखतरान हुनुमा पनि मलाल थिएन । थियो त बस्, उहाँका ‘गनगन’ सुनिदिने कोही थिएन ।

कसले सुनोस् ?

उहाँले ‘काम’ गर्दागर्दा गर्दा गर्दा ग..र्दा…. ग……र…दा हैरान हुनुभएको तर त्यो नदेखिएकामा वह पोख्नु भएको रहेछ ।

केही क्षण साथीले नरम प्रश्नहरू गर्दागर्दै ती महिला रून थाल्नुभयो ।

साथीले भन्नुभयो, ‘तपाईं रून नधकाउनु होला । यहाँका कुरा यहीँ सक्किन्छन् । कसैले बाहिर तपाईंका कुरा काट्ने छैनन् ।’

यसपछि उहाँको रोदन अझ चर्कियो र केही क्षणमा उहाँ शान्त हुनुभयो । एकछिनपछि उहाँ मुस्कुराउनुभयो र भन्नुभयो, ‘मन हल्का भयो । तपाईंहरूलाई अप्ठेरोमा पारेँ होला, माफी दिनुहोस् ।’

त्यो दिन मैले थाहा पाएँ, ‘बिइङ हर्ड’ के हो ! सुनिनु, अरूका कुरा सुन्नु के हो ! मान्छेलाई ठूलाठूला उपचार, उपहार केही चाहिन्न । म सुनिएको छु, मेरो आवाज हराएको छैन, म यतै कतै छु भन्ने आभास हुनु नै आफैँमा उपचार भेटिनु रहेछ ।

अहिले म जब यो कुरा बुझ्न थालेको छु, त्यो दिन ठुँसेका ठूला सूत्रप्रति लज्जाबोध महसुस हुन्छ ।

कहिलेकाहीँ सोच्छु… उहाँसँग भेट हुँदो हो त, त्यो ‘डोज’प्रति माफी माग्ने थिएँ…

२.

मलाई था थेनः

मानौँ, एउटा कलाकारले कुनै फिल्म या शृंखलामा अभिनय गर्छ । उसको अभिनयलाई वाहवाही गरिन्छ । तर जब त्यो कलाकारले फिल्म/शृंखला आफ्नै आँखाअगाडि हिट, सुपरहिट, डुपरहिट, ब्लकबस्टर, अलटाइम….मा पुगेको देख्छ र अन्त्यमा त्यो क्लासिकमा गणना हुन थाल्छ, त्यसपछि त्यो कलाकारलाई आफ्नो अभिनय मन पर्न छाड्छ । उसलाई लाग्छ- अहो, यस्तो थाहा पाएको भए त म अझ मिहिनेत गर्थें होला । मैले यहाँ अझ यस्तो गर्न सक्थेँ ।

कलाकारको यस्तो मनोदशालाई ‘पर्फमेन्स एङ्जाइटी’ भन्दारहेछन् ।

टाइटानिक फिल्म रिलिज भएको २५ वर्ष पुगेको अवसर पारेर कुनै पत्रकारले अभिनेत्री केट विन्स्लेटलाई सोधे, ‘तपाईंले यो टाइटानिक कति पटक हेर्नु भएको छ ?’

उनले जवाफमा भनिन्, ‘मैले कहिले पनि पूरै फिल्म हेरिनँ । जहिले पनि यहाँ मैले यस्तो गर्न सक्थेँ भन्ने लाग्ने गर्छ र पूरै फिल्म हेर्नै सक्दिनँ ।’

जुपिटर एसेन्डिङ फिल्मबाट एडी रेडमेनले राजी अवार्ड पाए । वर्षकै सबैभन्दा खत्तम अभिनयका लागि यो अवार्ड दिइएपछि पत्रकारले सोधेका थिए, ‘कस्तो लाग्यो ?’

जवाफमा उनले भनेका थिए, ‘साँच्चिकै वाहियात काम थियो । अहिले हेर्दा मलाई नै दिक्क लाग्छ ।’

ब्याटम्यान एन्ड रोबिनका जर्ज क्लुनी हुन् या क्वान्टम अफ सोलेसका जेम्स बन्ड ड्यानियल क्रेग उनीहरूलाई पनि कहिलेकाहीँ आफ्नो काम वाहियात् लाग्छ र पर्फमेन्स एङ्जाइटी हुन्छ ।

गेरी ओल्डम्यानले पछिल्लो समय ह्यारी पोटरमा आफ्नो काम साह्रै औसत लाग्छ । मिल्ने भए, उनी फिल्म नै जलाइदिन पाए हुन्थ्यो भन्ने ठान्छन् ।

वाह ! क्या इमान्दार टिप्पणी !

(तस्बिरमा केट विन्स्लेट र लियोनार्दो डिक्याप्रियो ।)

३.

‘भगवान् देता है तो छप्पड फाड के देता है !’ भन्ने भनाइ यदि कसैलाई मेल खान्छ भने त्यो जेके रोलिङलाई खान्छ ।

उनको संघर्ष र दुःखको कुरा त अब एकादेशको कथा भइसक्यो । उनीमाथि आक्रमण र निन्दाका कुरा पनि खासै महत्वको नहुने भइसक्यो भन्ने कुरा पछिल्लो एउटा घटनाले देखाएको छ ।

केही समययता उनी विवादमा परेकी थिइन् । कारण थियो, केही ट्रान्सजेन्डरहरूले कलिला बालबालिकाहरूलाई प्रभावमा पारेर ट्रान्स बनाउन थाले भन्ने कोठे-असन्तुष्टिलाई उनले मुखर गरिन् । कृत्रिम लैंगिक मुद्दामाथि त उनले बहस नै छेडिन्, जसका कारण उनका कृतिहरू विरूद्ध केहीले जेहाद छेडे । त्यसले उनलाई खासै फरक पारेन । उनको सम्पत्ति बढेको बढ्यै भयो ।

अहिले उनको ह्यारी पोटर थिममा होगवार्ट लिगेसी नामक भिडियो गेम रिलिज भएको छ । सन् २०२३ मा यो सबैभन्दा बढी बिक्रीहुने भिडियो गेम बन्न पुग्यो ।

केही लैंगिक संवेदित मान्छेहरूले उनको ट्रान्सजेन्डर मुद्दाप्रतिको धारणालाई लिएर उनको होगवार्ट गेमलाई सिफारिस नगर्ने र त्यसको समीक्षा पनि नगर्ने भनेर खाएको कसमले पनि खासै असर पारेन ।

२ करोड २० लाख प्रति सो गेमको चक्का बिक्री भएको छ । यसको अर्थ चाहिँ कल अफ ड्युटी हालसम्मकै चर्चित भिडियो गेमभन्दा पनि बढी हो ।

हो पनि, छप्पड फाड्के दिनु के हो, जेकेलाई सोध्नू ।

४.

भर्खरै अमेरिकी गृहयुद्ध सकिएको थियो । अब विशाल अमेरिका प्रगतिपथमा लम्कने छ भन्ने अब्राहम लिंकनलाई लाग्यो र साँझ एउटा नाटक हेर्न पत्नीसहित हलमा छिरे ।

यो त्यही कुर्सी थियो, जहाँ लिंकन ढल्केर नाटकको रमाइलो लिइरहेका थिए । र, नाटक नसकिँदै उनको अन्तिम दिन साबित भयो ।

लिंकनको हत्यारो जोन विल्की बुथ इतिहासमा कुख्यात बन्यो ।

अब्राहम लिंकनको ज्यानको साक्षी बसेको यो कुर्सी अहिले कहाँ होला है ?

अब्राहम लिंकन छिर्ने बेलामा नाटकको टिकट लिएर छिरेका थिए, आफू र पत्नी मेरी टडसमेतलाई । त्यो टिकट सन् २०२३ को सेप्टेम्बरमा भएको डाक बढाबढमा २ लाख ६२ हजार ५ सयमा बिक्री भएको थियो ।

लिने मान्छेले टिकट सुम्सुम्याउँदो हो र ती महान् व्यक्तिप्रति आफूले खर्च गरेको २ लाख बढी रकमलाई रद्दी सरह ठान्दो हो…

कहिलेकाहीँ सोच्छु…

५.

रोमन इतिहासमा एउटा शब्द अङ्कित छः पोर्नोक्रेसी ।

खासगरी सन् ९०० पछि केही पोपहरूले उचित शासन नगरेको भन्दै शक्तिशाली समूहले पोप र पोपेसीलाई निरन्तर प्रहार गरे । र, त्यो बेला जो जति स्त्रीहरू उदाए र तिनले शासन सत्ताको बागडोर चलाए । केहीलाई स्त्रीहरूको शासनमा त्यो शक्ति र सक्रियता मन परेन ।

त्यस अवधिमा थियोडोरा, उनकी छोरी मारोजियाले उधुमै मच्चाए ।

कतिसम्म भने शक्तिशाली पुरूषहरूसँग सहकार्य गर्दै मारोजियाले त्यतिञ्जेलसम्म उनीहरूलाई वशमा पारिरहिन्, जतिञ्जेल उनको जेठो छोरो शासनलायक बनेन ।

त्यो बेला ग्रिसेलीहरू रोमनहरूलाई खिज्याउँदै ‘द रूल अफ होर्स’ (वेश्याहरूको शासन) भन्थे ।

पछि, मारोजियालाई उनकै जेठो छोरोसँग सुतेको आरोप लगाएर उनको शक्ति खोसियो र स्वयं छोराको गद्दीसमेत हल्लियो ।

कहिलेकाहीँ सोच्छु… स्त्री जातिलाई खसाल्न उनीहरूको यौनिकतामाथि लाञ्छना लगाए पुग्छ । अहिले पनि त कुनै स्त्री मन परेन भने वेश्या भनिदिने चलन छ । …

मारोजिया, तिनीहरूलाई माफ गरिदेऊ… ‘पुरूष’हरूले सत्ता राम्रोसँग सञ्चालन गरेको भए, तिमी किन जुर्मुराउनु पर्थ्यो !

(एउटा चित्रकलामा छोरासँगको सम्बन्ध दर्शाउन (तल खसाल्न) बनाइएको चित्र र अर्को चित्र उनको पोट्रेट ।)

स्रोतः इन्टरनेट