‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ७ पुस्तक – कुमार भट्टराईको ‘२८ साल’, त्रिलोचन ढकालको ‘पेच’, मिलन समीरको ‘मिलन समीर र मिलन समीरहरू’, माधव काफ्लेको ‘लाक्षागृह’, जयदेव गौतमको ‘ती निला आँखा’, माधव प्याकुरेलको ‘गौना’, किशाेर शर्माकाे ‘लिभिङ इन द मिस्ट’ ।

= = = = 

१. २८ साल – कुमार भट्टराई

उपन्यासकार, कवि तथा सञ्चारकर्मी कुमार भट्टराईकृत उपन्यास हो – “२८ साल” ।

४ सय ४० पृष्ठमा फैलिएको यस उपन्यास इतिहासका तथ्य, सत्य, भ्रम र यथार्थको जङ्गलबाट वर्तमानलाई मुक्त गर्ने प्रयत्नरत लीलायात्रा हो ।

“नेपाली राजनीतिक घटनाक्रममा किंवदन्ती बन्दै गएको यथार्थ इतिहास हो २८ साल । २०२८–०२९ सालतिर झापा आन्दोलन’ को नाममा घटेका दुस्साहसी घटनाले नेपालको राजनीतिक इतिहास प्रभावित छ ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “झापा आन्दोलनमा प्रत्यक्ष–परोक्ष संलग्न सबै पात्रलाई एकै ठाउँमा बटुलेर सबैका अगाडि तत्कालीन यथार्थ ओकल्न विवश पार्ने प्रस्तुत पुस्तक इतिहासको ऐना हो । ‘कसले के गरे, कसले के भोगे र कसले के सुने ?’ भन्दा पनि ‘भोग्ने, देख्ने र सुन्ने’ हरूका प्रत्यक्ष बयानले यो आख्यान इतिहासको यथार्थ कसी बनेको छ । यसले मान्छेका निजी दाबीको पहाड भत्काएको छ ।”

“कृति पढिरहँदा पाठकमनमा परिशङ्का, आशङ्का, उपशङ्का, अविशङ्का, अन्योल, आक्रोशसहित थुप्रै जिज्ञासा उत्पन्न हुन सक्छन् । यी सबै तथ्य पात्रहरूसँग गरिएका आधिकारिक संवाद हुन्, जसलाई समयले मसँग सुरक्षित राखेको छ ।” भन्नै पर्छमा लेखक उल्लेख गर्छन्, “झापा विद्रोहलाई लिएर कैयौं तिलस्मी कथाहरू रचिएछन् । तिनमा हरेक पात्रलाई पक्ष–विपक्षमा रहेर कि देवत्वकरण गर्न खोजिएछ, कि त दानवीकरण । कसैले पनि तथ्य इतिहासको समूल स्वरूप खुलाउन सकेन । त्यसैले त्यस कालको विद्रोहमा सहभागी तथा आरोपित जिउँदा पात्रहरूमार्फत यसलाई पर्गेल्ने कोसिस भएको छ । यो कृति झापा विद्रोहका कुरा सुनेर, त्यस बेलाका पक्ष– विपक्षले व्यक्त गरेका आफूअनुकूल वा अरू प्रतिकूल तथ्य–तथ्याङ्क सङ्कलन गरी केलाएर, खेलाएर, चलाएर, मिलाएर तयार गरिएको होइन । आख्यानीकरणमार्फत तथ्य–तथ्याङ्कलाई जस्ताको तस्तै प्रस्तुत गरिएकाले पाठकहरूले प्रश्न गर्ने र जबाफ भेट्ने ठाउँ सर्वत्र छन् ।”

पुस्तकलाई साङ्ग्रिला मिडिया ग्रुपले बजारमा ल्याएको हो ।

० ० ० ०

२. पेच – त्रिलोचन ढकाल 

बालसाहित्यकार, कवि तथा आख्यानकार त्रिलोचन ढकालको नवीनतम पुस्तक हो – “पेच” ।

१ सय ६ पृष्ठमा मौलाएको ‘पेच’मा ८१ लघुकथा संग्रहित छन् । ‘अध्यादेश, अस्तित्व, कोख, गहना, गुणस्तर, छुत, जनैपूर्णिमा, ज्याला, तिन खुट्टे, डिस्को, धान दिवस, पेट, बालअधिकार, माला, राशिफल, लुतो, विकासक्रम, विहेभोज, समय, स्वर्ग, हठ, हिम्मत’ आदि शीर्षक रहेका छन् ।

अनुरोधमा लेखक पुष्टि गर्छन्, “पुस्तकमा समावेश सबैजसो लघुकथाहरू विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भइसकेका छन् । साथमा विभिन्न समसामयिक पत्र पत्रिकामा पनि केहीले स्थान प्राप्त गरिसकेका छन् । छिरलिएर प्रकाशित लघुकथाहरूलाई एउटा पुस्तकमा एकताबद्ध बनाउने मात्र मेरो प्रयत्न हो । यी सामाजिक सञ्जाल र पत्र पत्रिकाहरू सबै धन्यवादका पात्र हुनु स्वाभाविक लागेको छ ।”

संग्रहभित्रका लघुकथाहरू देश र समाजको आवाज बनेका छन् । विकृति र विसंगतिप्रति विशेष ध्यान दिएर लेखकले मीठो र चुस्त भाषाशैलीमा राजनीतिप्रति व्यङ्ग्य गर्न सफल भएका छन् । लघुकथाहरू कहिले नारी भएर बोलिरहेका छन् भने कहिले बाल स्वरूप लिएर उपस्थित भएका छन् । कहिले अस्तित्वको खोजीको दौडिरहेका छन् भने कहिले पुल भनी उभिरहेका छन् ।
यसको एक उदाहरण हो ‘पुल’ लघुकथा –

पुल

पुल ढलान भयो । जताततै छिरलियो खुसीयाली ।

“अब पुल उड्ने भयो । गाडीले खोलामा पौरन पर्ने छैन ।”

“सात वर्ष सम्म पुल उभिन सकेको थिएन । अब भने खडा हुने भयो ।”

“अर्को साल त यही पुलमा दौडिरहेको गाडीको झ्यालबाट बिदाइका हातहरू हल्लाउँदै जाने छु ।”
पुलले पूर्णता पाउने वर्ष पनि आइपुग्यो । उसले यता उता नजर लगायो । गाडीमा चढेर पुल पार गर्न पाइने भयो भनेर खुसीले बुरुक्क उफ्रेको थियो ।

इन्जिनियर को आगमन भयो । आदेशमा पुलका टेका निकाल्नु स्वाभाविकै थियो ।

आँखा केन्द्रित गरेर दृश्यावलोकन गरिरहेको वर्षको अनुहार झ्याप्प निभेको देखियो ।

“के भयो वर्ष बाबु ?”

“फेरि पनि पुल आफै खोलामा पछारियो त ।”

पुस्तकलाई जनता प्रकाशनका लागि कुन्तिकुमारी ढकालले प्रकाशनमा ल्याएका हुन् । पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

३. मिलन समीर र मिलन समीरहरू – मिलन समीर 

दुर्भाग्य–४

छोटो जिन्दगीको अन्तिम परीक्षामा
सोधेको छ समयले निकै लामो प्रश्न
समयाभावकै कारण
उत्तर लेख्नै नभ्याएर
अनुत्तीर्ण भैरहेको छु अहिलेसम्म पनि ।

मिलन समीरको प्रस्तुत कविता “मिलन समीर र मिलन समीरहरू”मा संग्रहित छ । प्रस्तुत संग्रह “मिलन समीर र मिलन समीरहरू”मा जागरूक, क्रियाशील र सिर्जनशील युवाकवि मिलन समीरका दुई दशकका शृङ्खला कविताहरू समावेश छन् ।

३ सय २० फैलिएको यस पुस्तकलाई ‘मिलन समीर र मिलन समीरहरू’, ‘पर्खाइमा’, ‘यति बेला’, ‘दृष्टिभ्रम’, ‘दुर्भाग्य’, ‘विडम्बना’, ‘केही अपवादबाहेक’ गरी ७ खण्डमा विभाजित गरिएको छ ।

“ब्रह्माण्ड एक विराट् र अन्त्यहीन महाकाव्य हो । यसका कविले आफूलाई ऊर्जाशील पदार्थीय भावनाहरूमा कति अभिव्यक्त गरेका छन् भन्न सकिन्न । सृष्टिरचनाका कवि अज्ञात छन् तर युवाकवि मिलन समीर आफ्ना युगसचेत भाव र संवेदनासहित कवितामा अहम्घोषित छन् ।

‘अहिले भर्खरै पुष्टि गरिएको हुनेछ
मिलन समीरको असामयिक मृत्युको
अपुष्ट तर साँच्चैको सुखद समाचार !’

यस्तो अभिव्यक्ति दिन सक्ने मिलन समीर नै हुन सक्छ !” पछिल्लो बाहिरी पृष्ठमा सरुभक्त लेख्छन्, “तर, ‘मिलन समीर र मिलन समीरहरू’ मिलन समीरका सिर्जना हुन्, जहाँ उनले नाटकीय रूपमा समाज र राष्ट्रका विविध आयामहरूलाई स्पर्श गरेका छन् । कविको शाब्दिक स्पर्शमा शब्दातीत सामर्थ्य हुन्छ । अहम् ब्रह्माष्मिदेखि तत्त्वमणिसम्मको यात्रा गर्दा कविको रचनाधर्मिताले व्यक्ति, समाज, देश र यावत् विश्वका अवस्थितिलाई सम्बोधन गरिरहेको हुन्छ । मिलन समीरको सरोकार शङ्कराचार्यको ब्रह्मसत्यमा होइन, मिथ्याजगत्‌मा हुन्छ । मिथ्याजगत्‌का सत्यलाई अनुभूत गरी युवाकवि मिलन समीरले सत्यान्वेषणको लागि आफ्नै अस्तित्वमा समस्ततालाई आरोपण गरी मिलन समीर र मिलन समीरहरू जन्माएका छन् । अन्य शृङ्खला कवितामा पनि कविले आफूलाई पोख्नुको हदसम्म पोखेका छन् ।”

भूमिकामा राजेन्द्र भण्डारी लेख्छन्, “उनको काव्यदृष्टि युगसचेत छ । कतिपयलाई लाग्न सक्छ यी त कोरा भावावेग हुन् तर यी भावावेगहरू वास्तविकताको कोखबाट जन्मिएका हुन्, निक्खुर सापट यथार्थहरू हुन् । सहजता र हाकाहाकीपन नै यी कविताको वैशिष्ट्य हो । कहिलेकाहीँ कविहरू अभिधात्मक भाषाबाट पनि ध्वनिको निर्वाह गर्छन् । मिलन समीरको काव्यविम्ब सरदर मानिसका हर्ष–बिस्मात, जय–पराजय र मान–अपमानबाट उम्रिन्छन् । व्यङ्ग्य र कटाक्षमा ती उत्कर्षित हुन्छन् । कविता खोज्न र विम्ब टिप्न उनी टाढा कतै जाँदैनन् । आफ्नै गाउँघर, समाज, राजनीति, आर्थिक परिस्थिति र विगतका कतिपय थोते क्रान्तिबाट बटुल्छन् ।”

पुस्तकलाई वैकल्पिक बाटो पृथक् पाइलाले प्रकाशन गरेको हो । ३ सय २० मा बुनिएको यसको मूल्य ५ सय ५५ रहेको छ ।

० ० ० ०

४. लाक्षागृह – माधव काफ्ले 

निबन्धकार माधव काफ्लेकृत चौथो गैरआख्यानात्मक पुस्तक हो – “लाक्षागृह” ।

‘लाक्षागृह’मा ‘मौलिकता’, ‘ सैलुङ’, ‘निशा निमन्त्रण’, ‘कोलाहलको कोलाजमा धामीहरूको फन्को’, ‘सडकभित्र–सडकबाहिर’, ‘अर्थ र आशय’, ‘भुुयसी’, ‘द्वन्द्व एक, प्रसङ्ग अनेक’ लगायत २५ वटा निबन्ध समाविष्ट छन् ।

“‘लाक्षागृह’मा पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, नैतिक दूरावस्था र बेथितिर विकृतिविरुद्ध आफ्नो मनको ऊहापोह औडाहा आफ्नै किसिमको खरो र दरो भाषा, ठेट स्थानीय शब्द अनि प्रखर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ माधव काफ्लेले ।” प्रकाशकीयमा नगेन्द्रराज शर्मा लेख्छन्, संग्रहभित्र कुनैमा आक्रोश अभिव्यक्त भएको छ, कुनैमा विद्रोहको स्वर चर्किएको छ । अनि, कुनैकुनै कथाजस्ता पनि छन् । करुणा र भावुकताले भरिएका छन् । स्निग्ध प्रेमरसले ओतप्रोत भएका पनि छन् । समग्रमा निबन्धहरू पठनीय छन्, प्रभावकारी छन् र मननीय छन् ।”

‘सर्पहरूको सङ्गीत’ नामक निबन्धको एकांश यस्तो छ, “अचम्मको सामर्थ्य–शक्ति हुँदो रहेछ सर्पहरूको सङ्गीतमा । वैरागी नै भए पनि उसको धुनमा मोहित भएर लट्ठिँदै जानेहरूको सम्प्रदाय कम छैन सतहमा । परिणाम जस्तो भए पनि सबै मानिसहरू एकै सुर, एकै लय र एकै तालमा बाङ्गो चाक हल्लाएर नाचिरहेका छन् । पुग्नुपर्ने कहाँ हो त्यो पनि बिर्सेर, पुर्याउनुपर्ने कहाँ हो त्यो पनि बिर्सेर, अडिनुपर्ने कहाँ हो त्यो पनि हेक्का नराखी फनफनी नाचिरहेका छन् । अबोध र निर्दोष मानिसलाई समेत लठ्याएर नचाइरहेका छन् । मानौं प्राप्ति र पुरुषार्थको, उन्नति र प्रगतिको, समृद्धि र सोपानको अन्तिम लक्ष्य, अन्तिम मुकाम, योगदान र उत्कण्ठाको अन्तिम अखडा यही हो र यहाँबाट निसृत वैभवको विरासत हत्याउन सबै एकाकार भएर लागिरहेका छन् । लागिरहेका छन् – तमशोमा ज्योतिर्गमयको भाकामा ।”

अभिव्यक्ति प्रकाशनबाट बजारमा ल्याइएको, २ सय १६ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 ० ० ० ०

५. ती निला आँखा – जयदेव गौतम

सम्पादक, लेखक तथा पत्रकार जयदेव गौतमको निबन्धसंग्रह हो – “ती निला आँखा” ।

यस निबन्धसंग्रहमा ‘सर, गुरु र गुरुजी’, ‘मन त आखिर मनै हो’, ‘ती निला आँखा’, ‘बेड नम्बर पाँच’, ‘एक धूमिल स्मृति’, ‘कति छिटै जिन्दगीको गिलास ग्याम्बे गरेको ?’, ‘कोरोना कहरको कोलाहल’ लगायत २१ निबन्ध समावेश छन् ।

प्रकाशकीयमा लेखिएको छ, “निबन्धकार जयदेव गौतमले यस कृतिमा विविध विषय, क्षेत्र र स्रोतका निबन्धहरू समेटेर कृतिलाई विविधतामूलक निबन्धहरूको सङ्ग्रह बनाएका छन् । आफ्नो कर्मक्षेत्र, विज्ञता, अनुभव र नवीन विषयवस्तुको समेत गहन विश्लेषणका साथ लेखनलाई अगाडि बढाएको मात्र नभई साहित्यका मर्मज्ञलाई खोज अनुसन्धानका लागि थुप्रै गोरेटाहरूको निर्देशसमेत गर्न भ्याएको अनुभूति सङ्ग्रहभित्रका निबन्धहरू पढ्दा पाठकलाई हुने गर्छ ।”

“यस पुस्तकमा जयदेव गौतमका अनुभूतिप्रधान अर्थात् आत्मपरक निबन्धहरूका साथै व्यक्तिलाई केन्द्रमा राखेर लेखिएका व्यक्तिपरक निबन्धहरू, संस्मरणात्मक निबन्धहरू र यात्रापरक निबन्धहरू छन् । केही निबन्धहरू प्रबन्धजस्ता लाग्छन् । यस प्रकार एक्काइसओटा निबन्धहरू विविध स्वाद, विविध बान्की, विविध सौन्दर्य र ज्ञान र सूचनाले युक्त छन् । जसरी उनको व्यक्तित्व बहुआयामिक छ, उनका निबन्धहरूमा पनि त्यो व्यक्तित्वको छाया प्रस्ट देखिन्छ ।” भूमिकामा भीष्मा उप्रेती लेख्छन्, “एउटा निबन्धमा उनले ‘साहित्य लेख्नेहरूको कथा’ लेखेका छन् । हामी पाठकलाई यो निबन्ध पढ्दा सहज लाग्छ, तर यसलाई लेख्नुपूर्वको तयारी कष्टप्रद छ भन्ने कुराको ख्याल हुँदैन । यो निबन्ध रोचक छ । यस निबन्धभित्रको विचरणबाट संसारका विभिन्न लेखकहरूको स्वभाव एवम् लेख्ने विषयको आदतका बारेमा जानकारी हुन्छ । यसबाट ती निबन्धकारहरूको निबन्धकारिताको नजिकै पुग्न सकिएको अनुभव हुनाको साथै निबन्धलाई बुझ्न पनि सहयोग पुग्दछ । यो निबन्ध पढिसकेपछि मेरो मनमा स्वाभाविक रूपमा जागेको जिज्ञासाचाहिँ के हो भने यस पुस्तकका लेखकचाहिँ कसरी लेख्दा हुन् ? यो पुस्तक उनले कसरी तयार गरे होलान् ?”

लेखक उल्लेख गर्छन्, “मलाई लाग्दैन, ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो ननुहेको हाँ छ र’ भनेर कविशिरोमणि लेखनाथ पौड्यालले स्वान्त सुखायका लागि लेखेका थिए ! मलाई लाग्दैन, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! दया राखी मलाई अझ दुःख दे’ भनेर नाटककार बालकृष्ण समले स्वान्त सुखायको लागि लेखेका थिए । यस्ता दृष्टान्त धेरै छन् ।”

पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । १ सय ६३ पृष्ठमा आधारित यसको मूल्य ३ सय ७० रुपियाँ रहेको छ ।

० ० ० ०

६. गौना – माधव प्याकुरेल 

अधिवक्ता माधव प्याकुरेलको ‘गुलारको फूल’नामक उपन्यासको दोस्रो भाग हो – “गौना” ।

यसमा ‘गुलारको फूलको झल्को, गौनाको घाउ पुरिने तरखरमा, गुरुकुलीय शिक्षा, मातृ हृदयको वेदना, छठीमाईको आराधना, दुःखी जीवनको दिग्दर्शन’ आदि २० वटा शीर्षकमा उपन्यास फुलेको छ ।

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा दुर्गाप्रसाद श्रेष्ठ लेख्छन्, “गौना– तराई प्रदेशको सुगन्धले र समस्यामा केन्द्रित भएको उपन्यास हो । यो उपन्यास हृदयस्पर्शी घटनाबाट उत्पन्न संवेदनाले परिपूर्ण छ । भारतका महान् कथाकार प्रेमचन्द र फणीन्द्रनाथ रेणुकै पदचिन्ह देखाउने यो कृति मार्मिक हो । यसलाई एकपल्ट पढ्नै पर्ने देखिन्छ । नेपाली नागरिकताका सम्बन्धमा कुनै बेला श्रमिकले लगाउने नाराले सत्ता स्थापना भए पनि सुलभ हुन नसकेको यथार्थ र नागरिकताले रोकिएको गौनालाई यस उपन्यासले सोच्न बाध्य बनाउने छ र अब समाजमा रहेका समस्या समाधानतिर जाने छ भन्ने विश्वास लिइएको छ ।”

“वास्तवमा यो उपन्यास त्रेतायुगमा रावणले हरण गरेकी सीताको कहानी जस्तै लाग्छ। जसरी क्षीरसागर तरिनु, लङ्का दहन हुनु र राम रावणका बीचमा घमसान युद्ध भएर रावणको निधन हुनको कारण के होलाझैँ मनमा प्रश्न उठ्छ । मलाई रुदलको जीवन कथा पनि त्यस्तै लाग्छ । रुदलले नागरिकता पाउना साथ उसको मृत्यु हुनु र कलौतियाको गौनाको कुरा चल्नु के यी संयोग मात्र थियो त ? रामायणमा पनि कति यस्ता अवरजन पात्र छन् । हाम्रो समाजमा अहिले पनि कति अवरजनहरू व्यावहारिक रूपमा अबर परेका होलान् ! उनका कति समस्या होलान् । कोही विदेशमा छन् त कोही स्वदेशमा नै देखिन्छन् । यसो हुनुमा देशमा डेमागगजस्ता शासकका कारणले हो कि जस्तो लाग्छ !” माधव प्याकुरेल उल्लेख गर्छन्, “यहाँ लेखिएका प्रत्येक शब्द पात्रले बोलेका हुन् । यो सबै अभिलिखित विषय हुन् । तिनै शब्दमा शक्ति भर्ने कामका साथै तिनलाई लिपिबद्ध गरिएको मात्र हो। यसभित्र कला र शब्द–सङ्गीत भर्ने अनेक कलाकार छन् । म त एउटा योजक मात्र हुँ । अनेक हातले रङ भरेर बनेको चित्र जस्तै । यो एउटा चित्रकथा हो पढ्ने जीवनकथा जस्तै । जुन कथामा पात्र आफैँ बोल्छन् । जहाँ पात्रले जुन भाषा र लवजमा बोल्छन् त्यसैमा राखिएको छ । यो कथा धरतीको कथा हो जहाँ माटोको सुवास छ। त्यहाँ आदिम पीडा र छट्पटी छ । ऊ दुःखबाट उन्मुक्ति चाहन्छ। एक पित्को सुखको आधार खोज्छ । यसरी सुखको खोजाइमा हाम्रा कति पुस्ता बिते र अझै कति बित्नेछन् । मलाई यही चिन्ताले सताइरहन्छ । यस्ता जीवन गीत कतिले गाएका होलान् बेला–बेलामा सम्झन्छु । के अब कलौतियाका जीवनमा वसन्त आउला मेरो प्रश्न यही हो ।”

ओरिएन्टल पब्लिकेसन हाउसद्वारा प्रकाशित २ सय ३८ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।

“घर, जमिन, नागरिकता नभएको मानिसलाई के भन्ने ? राज्यविहीन ? अनागरिक ? शरणार्थी ? गरिब ? तर यी कुनै कुराको चाह नभएको मानिसलाई चाहिँ के भन्ने नि ?”

यो प्रश्न जुन छ, ‘लिभिङ इन द मिस्ट’मा उल्लेखित छ । प्रस्तुत पुस्तक साहित्यपोस्टलाई साताकाे पुस्तककाे रूपमा प्राप्त भएकाे छ ।

० ० ० ०

‘लिभिङ इन द मिस्ट’ – किशोर शर्मा

‘लिभिङ इन द मिस्ट’ – किशोर शर्माको अनुसन्धानात्मक पुस्तक हो । यसमा राउटेहरूको जीवन, उनीहरूको रहनसहन, उनीहरूको बसाइँ सराइ सभ्यता बारे स्पष्ट रूपमा व्यक्त गरिएको छ । प्रस्तुत पुस्तकमा राउटेहरूको तस्बिर आकर्षित तरिकाले संकलन गरिएको छ ।

फोटो सार्कलद्वारा प्रकाशित प्रस्तुत पुस्तकलाई किशोर शर्माले सम्पादन गरेका छन् भने प्रवीण अधिकारीले अंग्रेजीमा अनुवाद गरेका छन् । बलेन्टिना एबनाबोलीद्वारा डिजाइन गरिएको छ ।

पुस्तकभित्र लेखिएको छ –

“६ वर्षको दौरानमा राउटेहरूलाई धेरै पटक भेटे पनि केही कुरा खुलेर कहिल्यै पनि भएन ।

उदाहरणका लागि, राउटेहरू बाँदरको शिकार गर्छन् तर त्यसबारे उनीहरू खुलेर बोल्न चाहन्नन् ।

‘पुर्खदेखिको चलन, भगवान्ले दिएको हो हामीलाई,’ एक पटक मइनबहादुरले भनेका थिए । तर सकेसम्म त्यसबारे नसोधे हुन्थ्यो जस्तो गर्छन् राउटेहरू । ‘हाम्रो शिकार बिग्रिन्छ, त्यसैले बस्तीमा नआउनु है,’ राउटेहरू भन्ने गर्दछन् । आफूले शिकार गरेको दृश्य बाहिरका मान्छेले हेर्न नहुने र त्यस बखत कोही बाहिरका मान्छे बस्तीमा जान पनि नहुने भन्ने मान्यता छ उनीहरूको । अटेर गर्यो भने उनीहरू खूबै रिसाउने गर्दछन् । एक पटक दैलेखमा त एक हप्तासम्म राउटे बस्ती नगई बसेको थिएँ शिकारको समय परेर ।

उनीहरू लाम लागेर बाँदरको शिकार गर्न गएको चाहिँ देखेको छु । शिकार गर्न एकपछि अर्को गर्दै समूहमा गइरहेका हुन्छन् । बलाल, शिवराज लगायतकासँग मेरो राम्रो मिल्ती भएकोले केही परसम्म कुरा गर्दै गएको थिएँ एक पटक । पछाडि आउने समूहलाई बाटो देखाउन स्याउलाको चिनो राख्दै अघि बढेका थिए उनीहरू ।

अलिक हिँडेपछि शिकार बिग्रिन्छ भनेर उनीहरूले मलाई फर्कन आग्रह गरे अनि म फर्किएर आफ्नै बाटो लागेँ । बेलुका फर्किंदा उनीहरूमध्ये केहीले पछाडि पोको बोकेका थिए । तर मलाई देखेको नदेखेझैँ गरी उनीहरू हतार–हतार अघि बढे ।
बाँदरको शिकार सजिलो भने पक्कै छैन !

राउटेहरूले कुनै लामो हतियारको प्रयोग नगरीकन जालमा पार्ने गर्छन् रे बाँदरलाई । भीर– कान्ला केही नभनी कुनुपर्ने हुन्छ रे । राउटेहरूले मन्त्र हानेर बाँदर बोलाउने गरेको कहानी पनि सुनिन्छ, राउटे घुम्ने आसपासका गाउँमा !

यस्तै एउटा शिकारको सिलसिलामा कृष्णको मृत्यु भएको रहेछ । त्यसको केही समयपछि मैले राउटेहरूलाई अछामको तुर्माखाँद नजिकै भेटेको थिएँ । साँच्चै कृष्णको मृत्यु कसरी भयो त ? उनको मृत्युबारे राउटेहरूको आफ्नै भनाइ थियो । तर गाउँलेहरूसँग भने भिन्नै कथा थियो ।

गाउँलेहरूको भनाइ थियो – कृष्णले गाउँमा आएर रक्सी खाएको थियो अनि सर्ट पाइन्ट लगाएर नाचेको थियो । त्यही भएर बस्तीमा फर्किएपछि अरु राउटेले कुटेर मारेको हल्ला थियो गाउँमा । राउटेहरूलाई आम गाउँलेले कसरी चित्रित गर्दा रहेछन् ? यस कुराको उदाहरण पनि थियो कृष्णको मृत्युकथा ।

अछामका धनबहादुर बुढा भने राउटेहरूको भनाइसँग सहमत थिए । त्यस बखत उनी राउटेहरूको खोजखबर जुटाउन खटिएका थिए ।
‘यो सब हल्ला हो । बाँदरको शिकार गर्न जाँदा लडेर मृत्यु भएको रहेछ,’ धनबहादुर बुढाले पछि सुनाएका थिए । ’बरु त्यसपछि बस्तीमा जाँदा उसको छाप्रोमा सबै राउटे मिलेर राम्रोसँग लिपपोत गरिदिएका थिए, फूलहरूले सिँगारीदिएका थिए । बस्तीमा सबैभन्दा राम्रो उसकै छाप्रो देखिएको थियो ।’”

लेखकको राउटेसँगको संवाद र उहाँको लेखन शिल्प साथै उहाँको फोटो पत्रकारिता शिल्पले लेखहरू पठनीय छन् र पुस्तक भित्रका तस्बिर आफै बोलेका छन् ।