सबैलाई धनी हुन मन लागेको छ । सम्पत्ति जोड्न मन लागेको छ । धन सम्पत्ति जोड्ने टिप्स दिने ज्ञाता र अनुभवीहरूको व्यापार ठुलै छ । मानिसहरूलाई फुर्सद छैन । किन फुर्सद छैन ? एउटै छ कारण । धनी हुन पछाडि पर्ला भन्ने व्यापक चिन्ता छ ।

कुदेको छ, झूट बोलेको छ । आफ्नो क्षमता, औकात, इज्जतले दिएसम्म वा लुकीलुकी , आफैँ लागेर वा अरूलाई लगाएर सक्नले सकेजति कानुन मिचेर वा कानुन बदलेर पैसा कमाउन कुदिरहेको छ । प्रत्येक पल नियमित अनियमित पैसा कमाउनमा लाग्ने विजयी, नकुद्ने गुजारा गर्न पाए पुग्छ भन्ने ग्वाँच । पैसाको अपराधी महान्, मजदूर साधारण । अनि मान्छेलाई आराम छैन, चौबीस घण्टा व्यस्त छ । हुनेले नयाँ, महँगा, ठूला मोटर किनेको छ , हवाइजहाजमा उडेको छ । नयाँ नयाँ सन्चार माध्यमका सेट किनेको छ । सुसारेहरू थपेको छ । तर आफ्नै श्रीमती र छोराछोरीसँग बिताउने समय छैन । आमा बाबुलाई त यसो फर्केर हेर्न समेत फुर्सद छैन । सहरहरूमा मोटरको ताँती छ, हरेक वर्ष नयाँ र चौडा सडक बनेको छ तर पनि जाम घटेको छैन । हिँडेर १५ मिनेटमा पुग्ने बाटो मोटर चढेर एक घण्टा लागेको छ । यी सबै दौड धनी हुनका लागी केवल धनी हुनका लागी ।

डाक्टरले धनी हुनका लागि मरिसकेको मान्छेको उपचार गरेको वाहाना गरेको छ । हालै भारतको लखनउमा रगत जम्मा गर्ने ब्लड बैंकका कर्मचारीले पानी र केमिकल मिसाएर दुई पिन्ट रगतलाइ तीन पिन्ट बनाएको खबर सुनियो धनी हुनका लागी । किसानले लौकामा इन्जेक्सन दिने , सागमा आवश्यक मापदण्डमा भन्दा बढी बिषादी छरेको छ धनी हुनका लागी । प्लास्टिकको चामल बनाएर बिक्री भइरहेछ, धनी हुनका लागी । लुटेरा, माफीया तस्कर , प्रहरी , न्यायाधीश, मन्त्री सबै धनी हुने दौडमा छन् र यो दौडको कुनै निश्चित गन्तव्य छैन । मेरा एक मित्रले भन्नुहुन्थ्यो– पैसाको भित्ता हुँदैन । अब पुग्यो त पैसा भन्ने बहुत कम छन् यो देशमा, यो दुनियाँमा ।

असारमा पिच गर्नै पर्ने, मैले थाहा पाएदेखि असारे पिचले कहिल्यै मुक्ति पाएन नेपालमा । झमझम पानी परिरहेको छ, पिच भइरहेको छ । पुल बनिरहेको त छ तर बन्दानबन्दै भत्किरहेको छ । नारायणघाट मुग्लिंग सडक बनिरहेको छ भत्किरहेको छ । यसरी कोही कसैबाट पैसा थुपार्ने काम भइरहेको छ ।

स्नेह सायमि

विदेशमा पनि केही समयअघि लेबनानमा ग्यास चुहेर ठूलो दुर्घटना भयो, पैसाको लागि । सुडानमा लाखौं मानिस मारिए पैसाको लागि । संसारमै अस्वस्थ खाने कुरा बिक्रीरहेको छ, पैसाको लागि । ठूला साना अपराध सबै पैसाका लागि । जसले पैसा कमाएका छन् कसरी के काम गरेर कमाएका भन्ने प्रश्न उठाएका छैनन् । बरु नसक्नेले सक्नेलाई सलाम ठोकेका छन् ।

तपाईँसँग भएको पैसा मलाई काम नलाग्ने । मसँग भएको पैसा तपाईँको नहुने । उहाँसँग भएको घर मलाई काम नहुने । सबै मेरो मात्र मेरो । मन्दिर गएका छन्, सबै धन मेरा लागि गर्देउ प्रभु भनेका छन् । पशुपति दर्शन गरेका छन, विषेश व्यवहार होस् भनेर भट्ट पुजारीलाई धेरै दक्षिणा दिएका छन् । सक्नेले पालो मिचेका छन्, नसक्नेले पालो मिचेकाहरूलाई नै बधाइ दिएका छन् । आफैँ धनी हुने, आफैँ शक्तिशाली हुने, आफैँ मात्र हुने अरू आफूभन्दा तल हुनैपर्ने ।

……………

अहिले मलाई के लाग्छ भने, पैसा चाहिन्छ । यो व्यवस्थामा पैसा भएन भने केही रहँदैन । तर कति चाहिन्छ ? कति भएपछि पैसा पुग्छ ? यसको कुनै सीमा छैन । यो गन्तव्यहीन यात्रा हो । संसार पैसाले मात्र बनेकै होइन । समृद्धि पैसाले मात्र आउने नै होइन । पैसाको लागि जसरी मानिसहरूलाई मजदूरहरूलाई वस्तुकरण गरिएको छ । लाखौँको हत्या भएको छ । ठूला ठूला षडयन्त्र भएको छ । तर ती धनी षड्यन्त्रकारीहरूले पनि सुख पाएका छैनन् ।

मानवले आफ्नो व्यवहार सजिलो बनाउन पैसाको सिर्जना गरेको हो । तर मानिस आफैँबाट सिर्जित पैसाको दास भएको छ । थोरै पैसा हुने सानो रकमको दास । धेरै पैसा हुने ठूलो रकमको दास । यसले सम्बन्ध र खर्चको नयाँ नयाँ सिलसिला जन्माउंछ,जहाँबाट निस्कन कठिन हुन्छ । पैसा नकमाउने भन्ने होइन । कमाउने हो । तर पैसाको दास हुने कि पैसालाई दास बनाउने भन्ने कुरा चाहिँ आआफ्नो निर्णय हो । यो मेरो कुरा हो, उपदेश होइन । तर मलाई भित्रैदेखि लाग्छ, पैसाका दासहरू चाहे त्यो हजारप्रति होस् या खरबपति नै किन नहोस्, मान्छे हुन सक्दैन, सांस्कृतिक र मानवीय रपमा समृद्ध हुन पनि सक्दैन । अर्थात् पैसा कमाउनु धनी हुनु मात्र होइन गरिबीको बाटो पनि हुनसक्छ ।