बेलुका धाम्मधुम्म भएको थियो । आकाश मल्याकमिलिक गर्दै थियो । गड्याङगुडुङ पनि गरिरहेको थियो । दिनभरिको गर्मी सम्झिँदा त आँधी नै आउला झैं लागेको थियो । तर, राति एघार बजेसम्म पनि आकाश आन्दोलित मात्र थियो, वर्षिन सकेको थिएन ।

बिहान उठेर हेरेँ, चारैतिर विनाश भएको छ । आँखाले भ्याएसम्म सबैतिर बोटविरुवा ढलेका छन्, कहाँ-कहाँदेखि उडाएर ल्याएका टिनका पाताहरु बाटाभरि छरिएका छन् । हाम्रातिर हुँदै नभएका पातपतिङ्गरहरु पनि छरपस्ट छन् । अलिक परको सुकुम्वासी टोलका छाप्राका छानाहरु एउटै छैनन् । बिजुलीबत्ती बन्द छ, टेलिफोन डेड छ । रुख ढलेर बाटो अवरुद्ध छ ।

अचम्मित भएँ म । मलाई अर्कै संसारमा ब्युँझे झैं लाग्यो । बेलुका केही भएको थिएन, सुत्ने बेलासम्ममा पनि खासै चालचुल थिएन, तर बिहान यस्तो भइसकेको थियो । एक किसिमले ठूलै क्षति भएको थियो । बिल्लीबाठ भएका थिए कति घर-परिवार । रोइरहेका थिए आइमाई र केटाकेटीहरु । कति मानिस गालामा हात लगाएर टोलाइरहेका थिए । केही घरमा त मानिसहरु थिचिएछन् पनि । कसैका शरीरमा चोटहरु पनि थिए ।

६ बजेको कञ्चनजङ्घा एफएमले समाचार प्रसारण गर्न थालेपछि त झन् धेरै विनाशका खबरहरु सुनिए ।

म अलमल्ल भएँ, टोलाएँ, छक्क परेँ । केही बोल्न सकिनँ, अकमक्क परेँ । आफ्नो घरलाई हेरेँ, केही भएको थिएन । कोठेबारीमा पनि खासै विनाश भएनछ । आफ्नामा केही विनाश भएको थिएन, तर मन भने त्यसै कस्तो-कस्तो भएर आयो । भावुकता गाँठो परेर आयो, आफैंलाई आफू अप्ठ्यारो भए झैं लाग्यो ।

फागुन लागेदेखि नै आँधी आउने गर्थ्यो, मिसिएर पानी पनि आउँथ्यो । संसारै अन्धकार पार्दै, ठूलो शब्द गर्दै प्राय: पश्चिमतिरबाट आइरहन्थ्यो आँधी । हेर्दाहेर्दै चारैतिर अन्धकार हुन्थ्यो । केहीबेर सुनसान हुन्थ्यो, चराहरु कराउन छोड्थे, वस्तुहरु गोठतिर भाग्दै आउँथे । हावा पनि उभिएको जस्तो लाग्थ्यो । भुरा, केटाकेटी, खेतालागोठाला, यात्री, पैदली सबै जना सुरक्षाको खोजीमा घरतिर लाग्थे ।

कहिले बिहानै, कहिले दिउँसोपख, कहिले साँझ वा राति, जुनसुकै बेला पनि आउँथ्यो त्यो । निश्चित समय थिएन त्यसको । आएर गइसकेपछि मानिसहरु भेला हुन्थे र विनाशको अनुमान गर्थे । कोही यसपालि त्यति ठूलो आएन भन्थे, कोही अस्तिको भन्दा विनाशकारी भयो भन्थे । त्यसका बारेमा फेरि अर्को आँधी नआएसम्म मिमांसा भइरहन्थ्यो ।

सातपत्रेमा घर थियो हाम्रो । दुई बिघा जग्गाको माझमा घर थियो । वरिपरि अरु कसैका घर थिएनन् । एकान्तमा थियौं हामी । दहीझोडातिरबाट आउन लागेको आँधी पनि टाढैबाट देखिन्थ्यो, कालिकास्थानतिरबाट आउन लागेको आँधी पनि पहिल्यै थाहा पाइन्थ्यो ।

होचा खाँबा, सन्ठीको टाटी, फुसको छानो भएको घर हुन्थ्यो, त्यसैको एकापट्टि पाली गाँसेर बस्तु बाँधेको हुन्थ्यो । एक कुनामा भात पकाइन्थ्यो र अर्को कुनामा सुतिन्थ्यो । खासै सरसामान नभएकाले घर साँगुरो हुँदैनथ्यो । टुकीको मधुरो उज्यालोमा लेखपढ र अन्य कामहरु गरिन्थ्यो । सानो हावाले नै घर घरीघरी टुकी निभाइदिन्थ्यो, पढ्न सधैं गाह्रो हुन्थ्यो । कैयौंपल्ट लालटिन किनिमाग्थेँ म बुबासँग, तर लालटिन कहिल्यै आएन हाम्रो घरमा ।

फागुन लागेपछि जेठसम्म नै झण्डै-झण्डै हप्तैपिच्छे जस्तो आँधी आइरहने । पानी पनि उस्तै बौलाहा तालले आउँथ्यो । घरलाई आँधीबाट बचाउन जहिले पनि हामीले ठूलो सङ्घर्ष गर्नुपर्थ्यो । प्राय: आँधीले घर नउडाएको, पाली नखसाएको र छानो नउदारेको कुनै वर्षै हुँदैनथ्यो । प्रत्येक दुई वर्षमा हामीले नयाँ घर बनाइरहनुपर्थ्यो । तिनै पुराना खाँबा उखेलेर छेउमा सार्थ्यौं हामी । ठाउँ सारे पनि काठपात नयाँ हुँदैनथे ।

पुरानै बाँसका डाँडाभाटा, पुरानै बलो, पुरानै कर्चीलाई नयाँ चोया, डोरीले कस्ने काम मात्र हुन्थ्यो । पुरानो सन्ठी मकाइसकेको हुन्थ्यो, टाटी पनि नयाँ सन्ठीको बनाइन्नथ्यो । सन्ठीको टाटीमा गोबर र माटाले लिपेर भित्तो बनाइन्थ्यो । सन्ठी आफैंमा कति नै दह्रो हुन्थ्यो र ? त्यसलाई पनि माटो र गोबरको भारी बोकाइएको हुन्थ्यो । सम्झन्छु, त्यो टाटी मनको अडेसो मात्र थियो, दह्रोको लागि थिएन त्यो त्यहाँ ।

जब आँधी आउँथ्यो हामी छानाको दुई छेउतिर उभिएर झुण्डिन्थ्यौं । एकातिर आमा झुण्डिनुहुन्थ्यो, अर्कोतिर म र बहिनीहरु । बुबा अपाङ्ग भएकाले यो लडाइँ लड्नुहुन्नथ्यो । कहिले त छानोसँगै हामीलाई पनि हुत्तहुत्त पारेर अलिकति उचाल्थ्यो आँधीले । नाकमुखबाट एकैचोटि भित्र पसेर निसासिने बनाउँथ्यो । अँध्यारोमा धेरैबेरसम्म आँधी र पानीसँग जुधेर गलिसकेका हुन्थ्यौं हामी । जब बिस्तारै आँधी थामिँदै जान्थ्यो, मन पनि शान्त हुँदै आउँथ्यो ।

आँधीबाट घर जोगाउने लडाइँमा व्यस्त भएका हामीले पानीबाट लुगाफाटो र अरु कुरा जोगाउन सक्दैनथ्यौं । आँधी रोकिएपछि पानीले हिलै भएको घरमा लुगाफाटा सबै भिजेर ल्याफ्फै भएका हुन्थे । टुकीको मट्टितेल पानी मिसिएर नबल्ने भएको हुन्थ्यो । दाउरा सल्किन मान्दैनथे । भरेसम्म नै छानाबाट तप्प-तप्प धमिलो पानी झरिरहन्थ्यो ।

धेरैजसो यस्तो रात हामी भोकै सुत्थ्यौं । रातभरि भुँडी खाली भएर निद्रा लाग्दैनथ्यो । निद्रा नलागेरै होला, आमाबुबाहरु पनि के-के, के-के सल्लाह गरिरहनुहुन्थ्यो । उहाँहरु कुरैकुरामा कुनै बेला बाझेको जस्तो, कुनै बेला जिस्केको जस्तो गर्नुहुन्थ्यो । तर, त्यो आँधीले दिएको दुःखसँग भने त्यति पिरोलिएको जस्तो लाग्दैनथ्यो । भोलिपल्ट बिहान सहज भइसकेको हुन्थ्यो । आकाश छङ्ग उघ्रिएको, चारैतिर उज्यालो र सफा देखिन्थ्यो । आँधीले लडाएका बोटविरुवा उठाउने, थन्क्याउने वा काट्ने, फाँड्ने काममा लागेका हुन्थे मानिसहरु ।

प्राय: सबैका केही न केही विनाश भएकै हुन्थे । परको सतार गाउँ पनि छाप्रा मिलाउन धमाधममा लागेको हुन्थ्यो । बिहानै बुबा बिग्रिएको छानो टाल्न टाउके सतारलाई बोलाउन जानुहुन्थ्यो अनि ऊ आफ्नो छानो त्यत्तिकै छोडेर हाम्रा छानामा चढिरहेको हुन्थ्यो ।

पर बराल बा, पटवारी बा, तल आइजी बा, माथि मुजुरे काकीहरुका घर जस्ताका तस्तै हुन्थे । ती घरमा खासै चालचुल देखिँदैनथ्यो । दिउँसो बजारतिर पनि मानिसहरुले रातभरि चलेको आँधीको चर्चा गरेको सुनिँदैनथ्यो ।

मलाई अचम्म लाग्थ्यो, त्यत्रो आँधी आयो रातभरि तर उनीहरुलाई त्यसको वास्तै छैन । झण्डै घरै उडाएको हाम्रो ! हामी सबै छानामा झुण्डिएर पो त ! आमाले बुबासँग कुरा गरेको सुन्थ्यौं– ‘यो आँधी पनि हाम्रै घर मात्र उडाउन आउँछ कि के हो जहिले पनि ! अरु कसैको घर उडेको देखिँदैन ।’

बुबा भन्नुहुन्थ्यो- ‘हाम्रो घर एकान्त र खुला ठाउँमा छ । वरिपरि रुखपात, वनजङ्गल छैन । हावाको वेग कम गर्ने, त्यसलाई छेक्ने कुरा पनि छैन । फेरि हाम्रो घर कमजोर पनि छ । अब अर्को वर्ष चाहिँ दह्रा खाँबाखुट्टी गाडेर, बिमबटम कसेर बनाउने । छानो र टाटी पराल र सन्ठीकै भए पनि खम्बा र बिमबटम चाहिँ दह्रै हाल्नुपर्छ ।’

त्यो निर्णय सुनेर मन प्रसन्न हुन्थ्यो । अब अर्को वर्ष त आँधी आयो भने पनि छानामा झुण्डिनु पर्दैन । पटवारी बाका घरका मानिसहरु जस्तै मस्ते सुत्न पाइन्छ, तर अर्को वर्ष पनि फागुन नजाँदैदेखि सुरु भइसक्थ्यो आँधी । झुण्डिन थालिसकेका हुन्थ्यौं हामी ।

हाम्रो घर उडाएको भोलिपल्ट पनि म सञ्जीवसँग उनको घर गएको हुन्थेँ । त्यहाँ त्यो पक्की घर कहीँ हलचल नगरी, चुपचाप भलादमी भएर बसिरहेको हुन्थ्यो । त्यहाँ रातिको आँधीको कुरा कसैले गरिरहेका हुँदैनथे । यस्तै, घरमा आँधी, असिना, पानी आउँदा पनि चुपचाप थाहै नपाएर निदाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो मनमा ।

तर, त्यस्तो घर हुनु, त्यस्तो आरामले सुत्न पाउनु, यस जीवनमा असम्भव थियो सोच्नु । कस्तै ठूलो परिवर्तन आए पनि त्यस्तो पक्की घर बनाएर बस्न सकिने सम्भावना थिएन । धेरै भए एउटा च्यादर ठोकेको घर हुन सक्ला तर आँधी र पानीमा त्यो पनि कम्ती कराउँछ त ? कसरी थाहै नभए झैं निदाउन सकिन्छ र झन् च्यादरको घरमा । सानो पानीको थोपाले पनि ठूलो हल्ला गर्ने पुलपुलिएको बालक जस्तो हुन्छ त्यो त झन् । झन् सुत्न पाइन्न, तर पानी तर्काउन सक्छ त्यसले । बिमबटम गर्नुपर्ने हुनाले सानोतिनो हावामा आत्तिँदैन त्यो, भन्ने चाहिँ लागिरहन्थ्यो ।

सातपत्रेको बाह्र वर्षे बसाइमा एघार पल्ट घर बनायौं हामीले । अन्तिम पल्टको घर त आगै लाग्यो ।

आज बिहान म धेरै भावुक भएँ । जब बिहान उठेर चारैतिर हेरेँ आँधीले गरेको विनाश र रातभरिको त्यो ताण्डव थाहा नपाएको आफूले, मन त्यसै कस्तो-कस्तो भयो । पर-परसम्म हेरेँ, अधिकांश झुप्रा घरका छानाहरु छैनन्, भुराहरु तिनै घरका वरिपरि लुटुपुटु गरेका देखिन्छन् । कसैका हलुङ्गेका भाँडाहरु पनि उडाएर पर-परसम्म पुर्‍याइदिएछ, बटुलेर ल्याउँदै छन् । भिजेका पुराना सिरक-डसना र धुसाहरु घाममा सुकाउन खोज्दै छन् । बरण्डामा उभिएर बाटातिर हेरिरहेको मलाई हनुमानेले नमस्कार गर्दै आफ्नो ठेला उभ्याएर भन्यो-

– ‘मालिक ! आज त धन्न बाँचियो । बकैनाको हाँगो भाँचिएर छानामै खस्यो । मरिएछ आज चाहिँ भनेको । कसोकसो भएर घर चाहिँ थामियो । संसारै हल्लियो नि हजुर !’

‘ए !’

मैले अरु बढ्ता केही भन्न सकिनँ ।

उसले थप्यो-

– ‘अचेल त मालिक पनि सर भइहाल्यो । ठूलो घर बनाएको छ । सिमन्टीको घर बनाएको छ । आँधी, पानी केही थाहा पाउँदैन । गोपाल मालिकको जस्तै केही थाहा नपाउने भयो हाम्रो मालिक पनि । तर, पहिला-पहिला त तपाईंहरुको घर पनि कति उडाउँथ्यो हावाले । हामीले नै कतिपल्ट बनाइदिएको थिएँ । तपाईंलाई सम्झना छैन, तपाईं सानो थियो ।’

म केही बोल्न सकिनँ । ऊ बिस्तारै ठेला ठेल्दै गयो ।

किन सम्झना छैन मलाई । मलाई सबै सम्झना छ । भोकभोकै सुतेको, भीख मागेर खाएको, घाँस बेचेको, दाउरा बेचेको, चोरेको सब थाहा छ मलाई । मलाई आँधीहुरी, असिना थाहा छ, पानीझरी र फूलमतीको बगर थाहा छ । दहीझोडा जङ्गलका एक-एक रुखहरुको गन्ती थाहा छ । अभाव र गरिबीका बीच आफन्त र परचक्रीको व्यवहार थाहा छ । भोक र भोजनको महत्व थाहा छ । सब थाहा छ मलाई हनुमाने बा ! सब थाहा छ मलाई ।

आज मैले दुईतले पक्की घर बनाएको छु, त्यसैको दक्षिण मोहोडाको बरण्डामा उभिएर तिम्रा कुरा सुनिरहेको छु, थाहा नपाउने जस्तो देखिएको छु । तर, मलाई यो घर मेरो हो जस्तो लाग्दैन । यो म बस्ने घर जस्तो लाग्दैन । मेरो वर्गले बस्ने घर जस्तो लाग्दैन हनुमाने बा ! आज पनि मलाई ती झुप्रा घरहरुको माया लाग्छ । लाज, घिन, डर सबै अनुपस्थित रहेको र बाँच्नुकै युद्धमा द्वन्द्वरत त्यही जीवन मलाई प्रिय लाग्छ ।

रातभरि चलेको आँधी थाहा नपाई सुत्न पाउने चाहना पूरा भएको आजको यो दिन, तर ठेलावाल हनुमानेको छानो उडिरहेकै छ । टाउके सतार आँगनको डिलमा बसेको छ, आफ्नै उडेको छानो हेरेर । परको सुकुम्वासी टोल उस्तै आतङ्कित छ, भुराहरु निरीह र उदास छन् । स्कूल जाने सबै किताब भिजेका छन् तिनका ।

यत्रो वर्ष बित्यो, कति परिवर्तन आयो देशमा । आँधीमा छानामा झुण्डिने १२/१३ वर्षको म आज ४६ वर्षको भइसकेँ । मेरा पुस्ताका सबै साथीहरु के-के भइसके । ठूलाठूला राजनीतिक आन्दोलन र परिवर्तनहरु आए । जनताका पक्षमा काम गर्छु भन्ने नेता, पार्टी र सिद्धान्तहरु सत्तासीन भए । संसद्‌बाट कत्रा-कत्रा घोषणाहरु भए । कहिले देश गरिबसँग विश्वेश्वर भयो, कहिले आफ्नो गाउँ आफैं बनाऔं भयो । गणेशमान शान्ति अभियान आयो । मदन-आश्रित सपनाहरु पनि छरिए । राजाका गीत त कति सय वर्ष गायो-गायो देशले, तर आँधीमा उडिरहेका झुपरपट्टीहरु उडिरहेकै छन् । नाङ्गो र भोको सानो कृष्णप्रसाद आज पनि झुपडीहरुमा टोलाइरहेकै छ ।

मैले पढेर, संयोगले बैंकमा जागिर पाएर, सुविधाले घर बनाएर आँधी थाहा नपाउँदैमा यो देशका सारा जनताका छानाले तारा छेलेका छन् र ? यो देशका भोकाहरुले खान पाएका छन् र ? कति बालकहरु फुटपाथमा त्यत्तिकै जुठोपुरो टिपिरहेका छन् । सभ्यताको कति नै बखान गर्ने एनजीओहरुले आकाशे तथ्याङ्क बाँड्दैमा यहाँ गरिबीको रेखाचित्र मेटिएको छ र ?

मलाई डर लागिरहेको छ, कहीँ मैले यो घरमा बस्दाबस्दै आँधी हुरी थाहा नपाए झैं भोक, जाडो र नाङ्गो बिर्सुंला, अनिकाल, महँगी र रोग बिर्सुंला । हातका ठेला, फुटेका कुर्कुच्चा र गानोगोला बिर्सुंला । रोगले अशक्त भएर उपचार गर्न नसकी ४८ वर्षकै उमेरमा मरेका मेरा पिताजीलाई बिर्सुंला । जिन्दगीभरि चुर र सब्जी बेचेर आधा पेट सङ्घर्ष गरेकी मेरी आमालाई रगत छाद्दै मरेको दृश्य बिर्सुंला ।

बिर्सन मन त लाग्दो रहेछ सम्पन्नताको सङ्गत पाएपछि । माथि चढ्दै गएपछि तल टेक्न नपरेपछि, बिर्संदै जान सकिँदो रहेछ सजिलै । आज झलझली देखिरहेको छु देशका महत्वपूर्ण जिम्मेवारीमा पुगेका मानिसहरु आफू आएको धरातल बिर्सिरहेका छन् । बुर्जुवा वर्गको त के कुरा, सर्वहाराकै मसिहाहरु पनि महलको छतमा उभिएर आकाशतिर फर्की टोलाइरहेका छन् । नीति निर्माणको तहसम्म पुगेर पनि सर्वहाराको तौल गरिरहेछन् छटाङ र पावाको दरमा ।

सम्पन्नताको विरोध गर्दिनँ म, गरिबीबाट मुक्तिको आन्दोलन छेड्नुपर्छ भन्छु अर्काको खोसेर, लुटेर धनी हुने सपना नदेख्नु भन्छु । सबैको रोजगारीको ग्यारेण्टी र श्रमको मूल्य तोक्नु भन्छु । प्रतिस्पर्धाको मैदान खुला राखेर, दौडमा भाग लिने प्रत्येकलाई पुरस्कृत गर्नुपर्छ भन्छु । प्रत्येकको निद्रामा आरामदायी सपना होस्, ऐंठनको आतङ्कित ब्युँझाइ नहोस् भन्छु ।

आदर्शका सबै आख्यानहरु बन्द गरेर, यथार्थको आँगनमा उभिनुपर्छ अब । अब महलका छतबाट पनि मैदान देख्ने आँखाहरु रच्नुपर्छ । देश बनाउने सपना बोक्ने होइन, यथार्थका नैतिक झम्पलहरु मच्चाउनुपर्छ । धेरै भयो फेन्टास्टिक विकासे सपना बेचेको, अब मूल्यको युग उभ्याउनुपर्छ । रुमानी भावुकताको तहबाट माथि उठेर वस्तुताको बोध गर्नुपर्छ ।

खबरदारीको यस वर्तमानमा मैले आफैंलाई खबरदारी गर्नुपर्ने ठानेँ । आफैंलाई बिर्सिन लागेको देखेर आफैंलाई चिमोट्नुपर्ने पाएँ । ती प्रत्येक आँधी र पानी नआउने घरहरुले आँधी र पानी परेको रातलाई बोध नगरेसम्म समाज र देशमा यो छानो उड्ने बिहानको आगमन रोकिन सक्दैन । भौतिक आँधीले घर नहल्लाई घर नहल्लओस्, तर बौद्धिक आँधीले चेतनालाई झकझक्याउनुपर्छ ।

म देखिरहेको छु –

आँधी नआउने यी घरहरूले यदि आँधीलाई बुझेनन् भने ती आँधीले उडाएका झुप्राहरू स्वयं आँधी हुनेछन् र तिनले उडाउनेछन् यी आँधीले नउडेका घरका छतहरू ।

आँधी नआउने घरहरू ! आँधीलाई चिनौं । समाजमा, मानिसको अनुहारमा बालकको निधारमा, भोकी गर्भवती महिलाको पेटमा, सडकछाप बालकको हत्केलामा जुन आँधी आउनुअघिको अन्धकार सङ्गठित हुँदै छ, त्यसलाई चिनौं । त्यहाँ बटारिँदै गरेको विद्रोहको म्याग्मा कुनै पनि बेला फुट्नेछ, प्रत्येक व्यक्तिको मुख नै क्रेटर बनेर ।

मैले आफूलाई आँधी आउनुअघिको अँध्यारो र सुनसान क्षणमा उभिएको देखेको छु । कतापट्टि छानोमा झुण्डिनु हो मैले, म अन्योलमा छु ।

 (धरावासीकाे निबन्धसङ्ग्रह ‘आँधी नआउने घर’बाट)