‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक – डा. हरिकुमार श्रेष्ठको ‘आँकुरा’, शिवकुमार श्रेष्ठको ‘भाग र भोग’, नारद प्रसाद थपलियाको ‘झूटको खेती’ ।

‍‍‍‍‍‍= = =

१‍. आँकुरा — डा. हरिकुमार श्रेष्ठ

कृषि वैज्ञानिक तथा कवि डा. हरिकुमार श्रेष्ठको दोस्रो गजलकृति हो – “आँकुरा” । यसअघि श्रेष्ठको  कविताकृति ‘तरङ्ग’ प्रकाशन भइसकेको छ ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चद्वारा प्रकाशित ‘आँकुरा’मा ७५ वटा गजल संग्रहित छन् । यसमा श्रेष्ठले संसार, जीवन र अनुभवहरूलाई बिम्बप्रतिकको सुमधुर संयोजनबाट लयात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।

भूमिकामा दामोदर पुडासैनी ‘किशोर’ लेख्छन्, “यसभित्रका केही गजलहरू उहाँ ताइवान रहँदा रचिएका छन् भने केही नेपाल बसाइमा जन्मिएका छन् । विदेशमा रचिउन् वा स्वदेशमा, डा. श्रेष्ठका गजलहरूमा प्रेम, पीडा, विरह, खुसी, राष्ट्रप्रेमजस्ता विषयहरू टड्कारो रूपमा उठेका छन् । माया हो, कहिलेकाहीँ असाध्यै उर्वर र उपलब्धिपूर्ण रूपमा उठ्छ । कहिलेकाहीँ त्यही माया विषको सेलो नबेर ब्युँतन्छ । माया नभई पनि नहुने भएर पनि नहुने सांसारिक रीत छ । प्रेमको विशिष्टता, प्रेमको शाश्वतता, प्रेमका अनेकौँ रूप, प्रेम, संयोग, प्रेम वियोग, प्रेम निवेदन, प्रेम प्रतीक्षा, अनुरक्ति–विरक्ति, तृप्ति–अतृप्ति आदि भावहरूले संग्रह सलबलाएको छ । सामाजिक विकृति, विसंगतिप्रति व्यङ्ग्य गर्न पनि चुक्नुभएको छैन गजलकार । जीवन अस्तित्व, जीवनबोध, आशा, निराशा, दमित आकाङ्क्षाहरूको उजागर, जीवन सौन्दर्यको उपासना गर्नु र त्यस अनुरूपको सिर्जनशीलता बढाउनु एउटा सफल स्रष्टाको मूल कर्तव्य पनि हो । डा. हरिकुमार श्रेष्ठ उल्लिखित पक्षहरूमा संवेदनशील रूपमा आफ्ना भाव मञ्जरीहरूलाई एउटै मालाको रूपमा उन्न जाग्रत बन्नुभएको छ ।”

डा. हरिकुमार श्रेष्ठ गजलप्रतिको माया पोख्छन्, “मलाई गजलप्रति निकै प्रगाढ माया बस्न थाल्यो । यसले मेरो जीवनमा एक बहार ल्याउन थाल्यो । अनि बिस्तारै यसप्रतिको चाहना र इच्छाशक्ति झनै मजबुत बन्दै गयो । गजलले वास्तवमै सुख, दुःख, उज्यालो, अँध्यारो, रङ्ग–तरङ्गका तरेलीसँग लुटपुटिंदै र मितेरी लगाउँदै जीवनलाई निकै नै चलायमान र जागरूक बनाइराख्दो रहेछ र पो जीवनलाई सदैव रसदार र स्वादिलो बनाउँदो रहेछ । त्यसैले मलाई हिजोआज गजलबिनाको आफ्नो जीवन निरस र बेस्वादझैँ लाग्न थाल्यो ।”

८७ पृष्ठमा आधारित यस पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

====

२. भाग र भोग — शिवकुमार श्रेष्ठ

पेसाले पस्मिना व्यवसायी र बैङ्किङ क्षेत्रका प्रवर्द्धक भएका लेखक शिवकुमार श्रेष्ठको जीवन–सङ्घर्ष र सपना–सङ्घर्षको मिहिन दस्ताबेज हो — “भाग र भोग” ।

१ सय ५४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘प्रारब्ध’, ‘लेखान्त’, ‘यिङयाङमा दिनरात’, ‘पुँजी व्यवस्थापन’, ‘पस्मिना क्रेज’, ‘खुमि्चएका सोखहरू’, ‘जीवन अर्थात् भाग–भोग’ लगायत २१ आलेख समावेश छन् । यसमा लेखक जन्मेको ठाउँ मल्लाज गाउँको परिवेश चित्रात्मक छ । सरल र आकर्षित भाषाशैलीमा कतै कुतूहल र कतै विस्मात् लाग्ने क्षणहरू लेखिएका छन् ।

शुभकामनामा कल्याण श्रेष्ठ उल्लेख गर्छन्, “एकदमै सामान्य पृष्ठभूमिबाट उठेर पनि शिवकुमार श्रेष्ठले आफ्नै आँट, आत्मविश्वास र अठोटका भरमा आफूले रोजेको व्यावसायिक क्षेत्रमा जेजति काम गर्न सक्नुभएको छ, यो त्यति सामान्य रूपमा आकलन गर्न सकिने कुरो होइन । आफ्नो पेसा तथा व्यवसायसँगै उहाँले पुर्याएको सामाजिक योगदानको पनि म खुलेर प्रशंसा गर्न चाहन्छु । उहाँले पुस्तकमा लेखेझैँ जीवनयात्राका क्रममा हन्डर र ठक्कर जेजति बेहोर्नु परे पनि ‘भाग र भोग’ त जोडिएकै हुन्छ । एक अर्थमा यो अलिक अपत्यारिलो वा बढी धार्मिक–आध्यात्मिक तवरको सोचाइ हुन सक्छ । अथवा, यो सबैका लागि सर्वस्वीकार्य नहुन पनि सक्छ । तर, शिवकुमारजीको जीवनयात्रामा यो सोचाइ सतत लागू भएको देख्न सकिन्छ ।”

शंकर बैरागी लेख्छन्, “अरूभन्दा पनि आफ्नो थातथलो मल्लाजलाई सम्झँदै त्यसैप्रति समर्पित रहेर लेखिएको कृतिमा मैले इमानदारीका शब्द र भावहरू प्रशस्तै पाएँ । अति सामान्य ग्रामीण परिवेशमा जन्मे–हुर्केर आफ्नै अठोट, प्रतिबद्धता र सङ्घर्षको बाटोबाट शिव दाइ आज हामी सबैका लागि सम्मानित व्यक्तित्व बन्नुभएको छ । उहाँले असहाय र आर्थिक रूपले पछाडि परेका बालबालिकालाई छात्रवृत्ति प्रदान गरी शिक्षा आर्जन गर्न पुर्याउनुभएको सहयोग अनुकरणीय छ । साथै, समाजसेवाको भावनाबाट प्रेरित भएर उहाँले मल्लाजको धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र विकासमा पुर्याउनुभएको सहयोगका लागि म हृदयदेखि नै उहाँको प्रशंसा गर्न चाहन्छु ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “एउटा निकै चल्तीको नेपाली गीतले भन्छ– ‘कति कुरा नभनेर नै मीठा मीठा मीठा हुन्छन्, भनिएका कुरा झुटा झुटा झुटा हुन्छन्…।’ यो पुस्तक पनि ठीक यस्तै छ– नभनेरै मीठो र भनेर पनि झूटो लाग्न सक्ने असंख्य कथानक यो पुस्तकमा पाउन सकिन्छ ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो र यसको मूल्य ३ सय ९५ रुपियाँ रहेको छ ।

====

३. झूटको खेती — नारद प्रसाद थपलिया

निबन्धकार, कथाकार नारद प्रसाद थपलियाको नवीनत हास्यव्यङ्ग्य निबन्धसंग्रह हो — “झूटको खेती” ।

७२ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘गणतन्त्र नेपालमा राजतन्त्र’, ‘प्रशंसाको भोक’, ‘बहाना, कोरोनाको’, ‘फोटो खिच्ने रहर’, ‘रतेउली आइमाईको गाईजात्रा’ लगायत २२ थान निबन्ध संग्रहित छन् । पुस्तकमा देशमा बिग्रिरहेको राजनीति, सामाजिक, पारिवारिक विषयहरूलाई तीखो व्यङ्ग्यद्वारा प्रस्तुत गरेका छन् । सरल र सहज भाषाशैलीको प्रयोगमा निबन्ध निकै नै आकर्षित र पढौँ, बुझौँ र हासौँ भन्ने प्रकारका छन् ।

लेखक उल्लेख गर्छन्, “आफू र आफ्ना वरपरका परिवेशलाई नियाल्ने प्रयास हो यो हास्यव्यङ्ग्य निबन्धसंग्रह । यो प्रयासमा म निकै नै चिप्लेको छु कि सायद, सानोमा देउसीभैली खेल्ने रहर गर्दा चिप्लेझैँ । यो एउटा स्वास्थ्यकर्मीको स्मार्टनेस देखाउने रहर मात्र हो कि १ कोही भन्छन्, ‘जमाना झुटको खेती गर्ने समय हो ।’ कोही भन्छन्, ‘जमाना स्मार्टनेस देखाउनेको हो ।’ म पनि भएका विकृतिहरू उपर लेखेर आफ्नो स्मार्टनेस देखाउँदै छु कि १”

‘मिस नेपाल बन्ने सपना’को अंश यस्तो छ,

“मिस नेपालको अडिसन सुरु भएछ नि १” पानीपुरी खाँदै मसँगै बसेकी साथीले सुनाई । अर्को साथीले भनी, “कागलाई बेल पाक्यो हर्ष न बिस्मात् । फेरि आफू त कागकै वर्णकी परें ।” सबै नै हाँसियो दिल खोलेर । सबभन्दा मिल्ने साथीले मलाई हेर्दै उठ्न लगाई अनि यसो हेर्दै भनी, “यो उर्वसीलाई मिस नेपालमा भाग लिन पठाउनु पर्छ हाम्रोतर्फबाट । उसको नामै छ उर्वसी । अझ जजहरूलाई पालैपालो आँखा झिम्क्याई भने त अवश्य ऊ मिस नेपाल बन्नेछ ।” सबैले हाँस्दै मलाई हेरे । अर्की साथीले मेरो कपालको जुरो फुकाउदै भनी, “हो त, यो त गोरी, अग्ली र स्लिम पनि छे। त्यसपछि सबैले एकै स्वरमा मलाई मिस नेपालमा भाग लिन जान सिफारिस गरे । त्यति प्रशंसा पाएपछि पानीपुरीको पैसा आफूले नतिरी भयो र ? खल्ती रित्याएर फर्किएँ आफ्नै घरमा पैदलै । त्यसरी भित्र्याइएको थियो, मिस नेपाल बन्ने सपना आफूमा ।