सिद्धू चौधरी हराएको दश महीना बितिसकेको थियो । घर–परिवार, ससुराली र इष्टमित्रहरूले छ महीना सम्म त खूबै लागिपरेर खोजतलाश गरेका हुन् तर कपिलवस्तु त के वरिपरिका राज्यहरूमा समेत सिद्धूको खुट–खबर नपाएपछि उनीहरूले उसको माया मारेका थिए । केहीले ऊ जंगली जनावरको आहारा हुन पुगेको लख काटेका थिए भने आफन्तहरूको आशंका थियो—  कतै हाम्रो सिद्धू पनि मगधतिर पसेर बौद्ध भिक्षुहरूको जत्थामा त मिसिएन !

कपिलवस्तुका राजकुमार बुद्ध बनेर देखा परेको त्यस बेला २० वर्ष जति मात्र भएको थियो । उनको गम्भीर तथा सम्मोहक प्रवचन श्रवण गरेपछि अरू कसैको कुरा नसुनेर सारा घरपरिवार छोडी भिक्षु बन्न जाने युवाहरूको संख्या निरन्तर बढिरहेको थियो । त्यसैले सिद्धू पनि भिक्षु बन्यो होला भन्ने चर्चाले उसको बूढो बाबुलाई झसङ्ग पार्दथ्यो । रित्ता आँखाले आकाशतिर हेर्दै ऊ मनमा कुरा खेलाइरहन्थ्यो—  म ढल्न लागेको रूख आज हो कि भोलि ठेगान छैन, बूढी झन् दमकी दीर्घरोगी छे, सम्पत्तिको नाउँमा लँगौटी जस्तो एक धर्सो बारी बाहेक केही छैन, यताउति काम गरेर मुखमा माड लगाइदिने एक्लो छोरो थियो, कता गयो कता… म पनि ढलेपछि बुहारीले कति फजिती बेहोर्नुपर्ने हो, नातिनीको के गति हुने हो, हे भगवान् !

सिद्धूकी स्वास्नी जसुदालाई भने अरूका कुरामा पटक्कै विश्वास थिएन । ऊ भन्थी, ‘मेरा लोग्ने भिक्षु बन्न जाने मान्छे नै होइनन् । उनको सुरै बेग्लै थियो । उनी भन्थे— जसुदा, मलाई सिद्धार्थ भन्दा ठूलो बुद्ध हुन मन छ । मान्छे रोगी भएको, बूढो भएको र मरेको देखेर उनीहरूलाई यस्ता कुराबाट छुटकारा दिलाउन उनी बुद्ध हुन गएका रे । तर हेर् न, उनी खालि मन बहलाउने कुरा मात्र गर्छन्, काम गरेर देखाउन सक्दैनन् । तैं भन् त, उनले जति मीठा–मीठा कुरा गरे पनि यी समस्या जहाँको तहीं छन् कि छैनन् ? मलाई थाहा छ, धन भयो भने ठूलठूला वैद्य, कविराजहरू लगाएर जस्तोसुकै रोग पनि निको पार्न सकिन्छ । काल आएपछि चाहिं मान्छे मर्छ, मर्छ, उसलाई स्वयं भगवानले पनि बचाउन सक्दैनन् । त्यसो हुँदा यी दुवै कुराका पछि लागेर टाउको दुखाउनु व्यर्थ छ । रह्यो बुढ्याइँको कुरा, सिद्धार्थको भन्दा कठिन तपस्या गरेपछि मान्छेलाई नमरुन्जेल तरुनै बनाइराख्ने उपाय कसो पत्ता नलाग्ला ? त्यति गर्न सकें भने म सिद्धार्थ भन्दा ठूलो बुद्ध बन्दिनँ त ? कुरामा अलमल्याउने होइन, कामै गरेर देखाउने बुद्ध ! अनि मान्छेहरू कति खुशी होलान्, मानव जातिको कत्रो कल्याण होला ?’

‘त्यसो भए तिमीले नै लोग्नेलाई पठाएकी त ?’ साथीहरू जसुदालाई सोध्थे । गहभरि आँसु पारेर, आक्रोश मिसिएको स्वरमा ऊ भन्थी, ‘होइन नि । आफ्नो लोग्नेलाई बुद्ध बन्न जा भनेर कुन आइमाईले पठाउँछे ? त्यस्तो बतासे कुरा नसोच्नू, मन भाँडिन्छ भनेर मैले कत्ति सम्झाएँ, बिन्ती गरें, उनलाई थाहा नदिई ओझालाई झारफुक पनि गराएँ, तर केही लागेन । उनी सधैं त्यस्तै कुरा मात्र गरिरहन्थे । मैले जान दिन्नँ भनेर त हो नि, बिहा गरेको दुई वर्ष नपुग्दै, वर्ष दिनकी छोरीलाई समेत माया मारेर, सबै जना निदाइरहेको बेला मध्यरातमा हामीलाई छाडेर हिंडेका । त्यही सिद्धार्थले गरे जस्तो गर् या होला नि । आखिर तिनकै मावली खलक न परे !’

लोग्नेको पीरमा दुब्लाएर सिठ्ठी भइसकेकी जसुदालाई आफ्नो र अझ छोरीको भविष्य के होला भन्ने सम्झेर कहाली लाग्थ्यो । उसलाई लोग्ने घर फर्कला र परिवारको हेरचाह गर्ला भन्ने विश्वास थिएन । तैपनि कहीं न कहीं ऊ अवश्य फेला पर्ला, ऊ सन्चै भएको खबर कुनै न कुनै दिन सुन्न पाइएला भन्ने आशा चाहिं उसको मनमा गडेर बसेको थियो । तर दश दश महीना सम्म सिद्धूको अत्तोपत्तो नलागेपछि त्यही आशा पनि दिनदिनै क्षीण हुँदै गइरहेको थियो ।

यसैबीच तीन धाम गरेर फर्केका छिमेकी तीर्थालुहरूले खबर ल्याए— काशी नजीकै सारनाथ भन्ने ठाउँमा हामीले सिद्धूलाई भेटेका थियौं । बिचरा निकै दुब्लाएछ । घर जाऊँ भनेर कत्ति कर गर्दा पनि मानेन ।

खबरले घरमा खुशीको लहर ल्यायो । जसुदाले महीनौं पछि आफ्नो जीउमा ज्यान आएको महसूस गरी । ‘ठीकै छ, उमेर पुगेको छोरो हो, कर गरेर हुँदैन, उसलाई मन लागेपछ घर फर्कोस्,’ बाबुले भन्यो । तर सिद्धूको खबर आयो अरे भन्ने सुन्नासाथ हान्निएर त्यहाँ आइपुगेकी महिला मण्डलीकी नाइके मन्दुला दुवै हात नचाउँदै कड् किई, ‘उसले घर नआएर हुन्छ ? हामी झ्याइँकुटी पारेर ल्याउँछौं । तपाईं हेरी मात्र राख्नोस् ।‘

मन्दुलाको छाँटकाँट देखेपछि ‘हराएको लोग्ने खोजी पाऊँ’ भनेर महिला मण्डलीसँग गुहार मागेकोमा जसुदालाई कताकता पछुतो लाग्न थाल्यो । कतैबाट पनि सिद्धूको खबर नपाएपछि निराश भएर ऊ एक महीना अघि मात्र उनीहरूकहाँ गुहार माग्न पुगेकी थिई । ‘लोग्ने मान्छेहरूलाई ठीक ठाउँमा राख्न’ भनेर खडा गरिएको त्यो मण्डली वास्तवमा अलि चर्कै खालको थियो । त्यसका चर्तिकला कपिलवस्तु मात्र होइन वरपरका राज्यहरूमा समेत चर्चित थिए । उनीहरूले सोझो सिद्धू माथि पनि कठोर व्यवहार गर्नेहुन् कि भन्ने डरले उसले विनम्र अनुरोध गरी, ‘छोडिदेऊ न त दिदी, अलिक दिन पछि आफैं आइहाल्लान् नि ।’ तर मन्दुलाले मानिन । बरु झन् निर्णयात्मक स्वरमा भनी, ‘होइन । सिद्धूलाई अब एक दिन पनि गैरजिम्मेवार भएर बरालिन दिन हुँदै हुँदैन । नत्र यो रोग अरू परिवारमा पनि सर्छ । हामी उसलाई ल्याउन भोलि नै साथीहरू पठाउँछौं ।’

भोलिपल्ट छ जना आइमाईहरूको टोली सातु–सामल बोकेर काशीतर्फ प्रस्थान गर्यो । कपिलवस्तु र काशी राज्यका बीच आधा दर्जन जति राज्य पर्दथे । घर फर्काउन खोज्दा सिद्धू हूल–हुज्जत गरेर भाग्न नपाओस्, बाटामा अरू राज्यका सुरक्षाकर्मीहरूसँग गुहार मागेर उम्कन नसकोस् भनेर जोसुकैसँग लड्न भिड्न र वादविवाद गर्न सक्ने महसुर महिलाहरूलाई त्यस अभियानमा खटाइएको थियो । १५ दिनको पैदल यात्रा पछि उनीहरू काशी राज्यमा प्रवेश गरेर सोधखोज गर्दै साँझपख सारनाथ पुगे ।

सारनाथमा सिद्धूलाई भेट्न कुनै मुश्किल परेन । मूल बाटो छेउकै एउटा सानो मन्दिर अगाडिको छाप्रामा धुनी लगाएर बसेका दुई जना साधुहरू सँगै ऊ पनि थियो, वरिपरि बसेका गाउँलेहरूसँग ठूलठूलो स्वरमा उन्मुक्त तवरले बात मार्दै । टोली नेता मेदिनाले उसको बोली परबाटै चिनिहाली । नजिकै गएर ‘क्या हो भाइ, यहाँ के गर्दैछौ ?’ मात्र के भनेकी थिई, कपिलवस्तु भरि कुख्यात उसको धोध्रे स्वरले सिद्धू झस्क्यो । अझ टाउको उठाएर हेर्दा महिला मण्डलीको टोली नै आफ्ना सामु खडा भएको देखेपछि त उसका हातखुट्टै लुला भए, मनले पूरै हरेस खायो । उसलाई लाग्यो, ‘आज फँसियो । अब यिनीहरूले छोड्दैनन् । भाग्ने प्रयास गर्नु झन् खतरनाक हुन्छ ।’

‘केही होइन दिदी, त्यसै बसिराखेको’, सिद्धूले रुन्चे हाँसो हाँस्न खोज्दै भन्यो । उसको वाक्य नटुंगिंदै मेदिनाले ‘ल यता आऊ, तिमीसँग कुरा गर्नु छ’ भनेर बोलाई र उसलाई लिएर टोली अघि बढ्यो । सिद्धू विना प्रतिवाद लुरुलुरु हिंडेको देखेपछि अरूले पनि उनीहरूसँग केही सोधपूछ गरेनन् ।

बाटाभरि कोही बोलेन । गाउँ कटेपछि टोलीले एउटा पोखरीको छेउमा, झ्याम्म परेको आँपको रूख मुनि कुम्लो–कुटुरो बिसायो । दुई जना आगो बालेर खाने कुरा पकाउने तरखरमा लागे ।

‘घरबाट सीधै यहीं आएका ?’ मेदिनाले सोधी ।

‘होइन, पहिले गयातिर थिएँ । यहाँ आएको त त्यस्तै डेढ महीना जति मात्र भयो’, सिद्धूले बतायो ।

‘त्यहाँ के गरेर बस्यौ त ?’

‘गया नजीकैको जंगलमा आठ महीना तपस्या गरें ।’

‘आठ महीना ? त्यत्रो दिन के खाएर बाँच्यौ ?’

‘शुरूमा एक महीना त जंगली फलफूलहरू खाएर गुजारा गरें । त्यसपछि एउटी ग्वालाकी छोरीले दिनदिनै एक लोटा खीर ल्याइदिन थालेकी थिई । जाडो हुन्छ भनेर एउटा कम्बल पनि ल्याइदिएकी थिई… ।’

‘ओहो, क्या मजा ! त्यस्तो मोज गर्न पाएपछि कसले घर सम्झोस् त ? होइन, त्यो भेगका ग्वालाका छोरीहरू लोटामा खीर बोकेर जंगलजंगल ठिटाहरू खोज्दै हिंडिरहन्छन् कि क्या हो ? सिद्धार्थलाई पनि एउटीले त्यसैगरी खीर ख्वाउने गरेकी थिई भन्थे…’ खाना पकाउँदै गरेकी एउटीले  यति भन्नु के थियो, पूरै टोलीले अट्टहास गर् यो ।

हाँसो थामिएपछि मेदिनाले कुरा अघि बढाई, ‘अनि त्यो ठाउँ छोडेर किन यता आएका त ?’

‘त्यहाँ तपस्या गरेर केही फाइदा होला जस्तो लागेन । दक्षिणतिर अलि ठूलो जंगलमा गएर तपस्या गर्दा केही होला कि भनेर यता लागेको । अघिका ती दुई जना साधुहरूले केही दिन पछि हामी पनि उतै जान्छौं, सँगै जाउँला भनेकाले यहाँ बसिराखेको,’ सिद्धूको स्वर निन्याउरो हुँदै गएको थियो ।

‘अब के गर्ने विचार छ त भाइ ?’

‘खोइ दिदी, म त जति दुःख खप्नुपरे पनि खपेर अलिक ठूलै तपस्या गरेर सिद्धार्थ भन्दा ठूलो बुद्ध बन्छु र संसारको साँच्चै कल्याण गर्छु भन्ने अठोट लिएर हिंडेको । तपाईंहरूले दया गरे…’ उसले नेहोरा गर्न खोज्यो ।

‘हेर, यो बुद्ध–सुद्ध बन्ने झूर सपना देख्न छोड । हामी तिमीलाई नै लिन आएका । खुरुक्क हामीसँग घर हिंड । जे गर्नुपर्ने हो उहीं मन्दुला दिदीले गर्नेछिन् !’ मेदिनाले चीसो र भारी स्वरमा आदेश जारी गरी ।

‘दया गर्नोस् दिदी, मेरो बाटो छोडिदिनोस्,’ सिद्धूले गहभरि आँसु पारेर हात जोड्यो ।

‘बढ्ता नाटक होइन है अब ! नत्र हामीले पनि जान्या छ ।’ यतिन्जेल चूप बसेका दुइटी महिला उसको नाकैनिर चोरऔंला तेर्स्याएर च्याँठ् ठिए ।

सिद्धूको बोली बन्द भयो । आँखाबाट भलभली आँसु मात्र बगिरह्यो ।

भोलिपल्ट महिला टोली सिद्धूलाई लिएर झिसमिसेमै बाटो लाग्यो । उनीहरू उसलाई एक छिन छोड्दैनथे । दिउँसोको त कुरै छाडौं, राति सुत्दा पनि दुइटीले पालैपालो उसलाई पहरा दिइरहेका हुन्थे । ठूलठूला गाउँ र शहर भएर जाँदा झमेला पर्ला भनेर तिनले अलि घुमाउरो भए पनि मान्छे कम आवत–जावत गर्ने, जंगल–खोला किनार तिरको बाटो हुँदै सारनाथबाट हिंडेको सत्रौं दिन, रातको पहिलो पहर बित्न लाग्दा, सिद्धूलाई कपिलवस्तु ल्याइपुर् याए ।

लोग्नेलाई भेट्न पाउँदा जसुदाको खुशीको सीमा रहेन । उसलाई सारा संसारै अकस्मात् रमाइलो हुन पुगेको अनुभव भयो । दुई वर्ष पुग्न लागेकी छोरी ‘बाबा, बाबा’ भन्दै सिद्धूको काखमा लुटपुटिई । बूढा आमाबाबुले हर्षाश्रु बगाउँदै छोराको कपाल मुसारे । तर सिद्धूलाई भने प्रसन्नता होइन, पीडा र पछुताउले गलित बनाएको थियो । ‘हरे, म ती साधुहरूको लहलहैमा लागेर किन सारनाथमा अलमलिएँछु । सरासर दक्षिण तिर लागेको भए त यसरी फस्नुपर्ने थिएन । सारा मानव जातिको कल्याण गर्ने मेरो महान लक्ष्य अब त्यसै तुहिने भयो । जिन्दगीको केही अर्थ हुने भएन…’ यस्तै कुरा खेलाउँदै आँखा झिमिक्क पनि नपारी उसले रात छर्लंग काट्यो ।

अर्को दिन बिहान सिद्धूका घरमा महिला मण्डलीको कचहरी बस्यो । अभियुक्त थियो, उही सिद्धू ।

‘काखकी दूधे बालक र स्वास्नी निदाइरहेको बेला यिनीहरूलाई छाडेर भाग्न तिमीलाई अलिकति पनि असजिलो अथवा शरम लागेन ?’ एउटीले प्रश्न  तेर् स्याई ।

‘स्वास्नी, छोराछोरी र बूढा आमाबाबु प्रति लोग्नेमान्छेले गर्नुपर्ने कर्तव्य यही हो ?’ अर्कीले औंला ठड्याई ।

‘तिमी नभएपछि यिनीहरूको कति बिचल्ली होला भन्ने अलिकति पनि ख्याल आएन ? धिक्कार छ तिमीलाई,’ तेस्रीले ओठ लेप्य्राई ।

‘यिनीहरूलाई पाल्नुपर्छ भनेर त भागेको होला नि, नामर्द !’ चौथीले छेड हानी ।

‘होइन, स्वास्नीको चाहना पनि छरछिमेकले पूरा गरिदिऊन् भनेर हिंडेको हो कि क्या हो यो मान्छे ?’ अर्कीले हात नचाउँदै व्यंग्य कसी र खित्का छाडेर हाँस्न थाली । अरूले पनि हाँसो थाम्न सकेनन् ।

मन्दुलाले हपारी, ‘जथाभावी बोल्ने होइन है, यहाँ बा–आमाहरू पनि हुनुहुन्छ भन्ने ख्याल गर ।’

सबै चूप लागे र एक छिन पछि मेदिनाले गम्भीर स्वरमा कुरा उठाई, ‘तिमीलाई पो बुद्ध बन्ने सनक चढ्यो र त्यसका लागि जे गर्न पनि तयार भयौ रे । तर यिनीहरूले त बुद्धकी स्वास्नी, बुद्धकी छोरी र बुद्धका आमाबाबु बन्ने रहर गरेका छैनन् नि । तिम्रो सनकका खातिर यिनीहरूले अनावश्यक दुःख र हन्डर किन खप्नुपर्ने ?’

‘आफ्ना आश्रितहरूको इच्छा–आकांक्षा र सुख–शान्तिको चिहान माथि नउभिए सम्म बुद्ध बन्ने ढोका खुल्दैन कि क्या हो ?’ अर्कीले पेच हानी ।

‘परिवार प्रतिको साधारण मानवीय कर्तव्य पनि पूरा नगर्नेले मानव कल्याणका ठूलठूला कुरा गरिहिंड्नु भन्दा ठूलो पाखण्ड त केही होइन है !’ अझ अर्कीले थपी ।

सिद्धू टाउको निहुर् याएर चूपचाप बसिरहेको थियो । क–कसले के–के भन्दै गए, उसले त्यति वास्ता पनि गरेन । ऊसँग उनीहरूको प्रतिवाद गर्ने उत्साह पनि थिएन र इच्छा पनि । ऊ सोचिरहेथ्यो— आफ्नो घर परिवार भन्दा पर केही देख्तै नदेख्ने यिनीहरूले मेरो कुरा सुन्ने होइनन्, सुने पनि बुझ्ने होइनन् । यिनीहरूको निर्णय पहिल्यैदेखि निश्चित छ, मैले केही भन्नु कसाईका सामु गाई रोएजस्तो मात्र हो ।

जसले जे भन्दा पनि सिद्धूले कुनै प्रतिवाद नगरेपछि अन्त्यमा मन्दुलाले नै ‘सिद्धू भाइलाई केही भन्नु छ कि ?’ भनेर सोधी । उसले आफ्नो मुन्टो बिस्तारै दायाँबायाँ हल्लायो । अनि ‘ल ठीक छ त’ भनेर उसले सानोतिनो भाषण गर्दै आफ्नो निर्णय सुनाई :

‘यो बुद्ध–सुद्ध बन्छु भनेर स्वास्नी–छोराछोरीलाई अलपत्र पारेर रातारात घरबाट भाग्न महल र दरबारवालालाई मात्र सुहाउँछ । तिनको पो सात पुस्ता सम्मले काम नगरी उडाए पनि नसिद्धिने सम्पत्ति हुन्छ र जो जता हिंडोस् कसैलाई फरक पर्दैन । दिनभरि बनिबुतो गरेर हात मुख जोर्नुपर्ने घरका मान्छेहरू पनि त्यसैगरी हिंड्न थाले भने त परिवारको बिचल्ली हुँदैन ? सिद्धार्थ पो राजाका छोरा थिए र उनी नभए पनि उनकी स्वास्नी र छोरालाई गाँस–वास–कपासको कुनै समस्या भएन । तर हामी जस्ता गरीब परिवारका लोग्नेमान्छेहरू पनि त्यसैगरी बिहे गरेर भटाभट बच्चा जन्माउँदै घर छोडी भाग्न थाले भने परिवार र समाजको के हालत होला ? बलिया–बांगा जति ठूलठूला कुरा गर्दै जंगल पस्न थाले भने देशको कुन दुर्गति होला ? सोचेको छ कसैले ? हेर्नोस्, गरीब मान्छेले बुद्ध बन्ने सपना देख्नु नै सबैभन्दा ठूलो पाप हो ।

‘हो, सिद्धू भाइले कसैको कुभलो चिताएनन् होला, तर उनले जे गरे त्यो ठूलो गल्ती थियो । तैपनि उनले चूपचाप, विनम्रतापूर्वक गल्ती स्वीकारेको हुँदा यसपल्ट हामी उनलाई माफी दिन्छौं र अब आइन्दा बुद्ध बन्ने सपना देख्न छाडेर जिम्मेवारी साथ घर परिवारको पालन पोषणमा लाग्ने आदेश दिन्छौं । हाम्रो निर्णयको अवज्ञा भयो भने महिला मण्डलीले उनलाई कठोर कारवाही गर्नेछ । हाम्रो कारवाही कति कठोर हुन्छ त्यो त तपाईंहरूलाई थाहै छ ।’

निर्णयलाई महिला मण्डलीले ‘हो–हो’ भन्दै ताली बजाएर स्वागत गर्यो र कचहरी पनि उठ्यो । महिलाहरू ‘ल, अब ठीकसँग बस्नू’ भनेर सिद्धूलाई धाप मार्दै फर्के ।

मन्दुलाको भाषण कैयौं दिन सम्म सिद्धूको मथिंगलमा मडारिइरह्यो । आफूले झन् ठूलो, कामै गरेर देखाउने बुद्ध बन्ने सपना देख्नु पाप थियो भन्ने कुरा उसको मनले कहिल्यै स्वीकार गरेन । तर मन्दुलाका तर्कलाई गलत ठहर् याउन पनि उसको दिमागले कहिल्यै सकेन । सपना टुटेको क्षोभले उसलाई मध्य रातमा एक्कासि ब्यूँझाउँथ्यो भने ‘कठोर कारवाही’ को सन्त्रासले पुनः आँखा चिम्लन विवश पार् थ्यो । झन्डै दुई वर्ष सम्म यो क्रम चलिरह्यो । त्यसपछि घरव्यवहारको धपेडीमा अरू सबै कुरा धमिलिंदै गए र अन्ततः सिद्धू चौधरी पनि, आफ्ना कुलकुटुम्ब झैं, नातागोता र टोलछिमेक बाहेक कसैले नचिन्ने एउटा आम गृहस्थका रूपमा जिन्दगी गुजार्न थाल्यो ।

यसरी, आजभन्दा २५ सय वर्ष अघि कपिलवस्तुबाटै एउटा अर्को सम्भावित बुद्धको अवसान भयो ।

(२०६० जेठ ३, शनिवार)