विभीषणको राज्याभिषेक
रावणको काजकिरिया सबै विभीषण (रावणको भाइ) ले गरे । हनुमानजी सीताजीलाई खबर दिन खटिनुभयो । सर्वत्र सबै लङ्कावासीले स्वागत गरे । सीतालाई पनि हनुमान् विघ्नै मन परेका थिए । उनले रामको जित भएको खबर सुनाए । सीताजी असाध्यै खुसी हुनुभयो । पछि विभीषणले सीताको सम्मान गरे । इज्जतसाथ रामकहाँ सवारी चलाए । राम र सीताको कैयन वर्षपछि भेट भयो । अर्काकहाँ थुनुवा परेकी स्त्रीलाई त्यसै साथ राख्दा बदनामी हुने डर थियो । तसर्थ रामले सीतालाई चोखी देखाउन अग्नि–परीक्षा गराउनुभयो । चिता तयार भयो । सीता हाम्फाल्नुभयो । आगोले पोलेन । पतिव्रता सतीको परिचय सबैले पाए ।
विभीषणको धुमधामसँग राज्याभिषेक भयो । बाँदर–भालुहरूले हर्ष बढाइँ पाए । विमानबाट धेरै मोल पर्ने पोसाक र गहनाहरूको लुटान भयो । उनीहरूको लुछाचुँडी देखेर राम र सीतालाई हाँसो उठ्यो । बडो मज्जा भयो । विभीषण रामलाई केही दिन लङ्कामै राजा तुल्याउन चाहन्थे, तर रामलाई भरतको चिन्ता थियो । १४ वर्षको म्याद पुग्नै आँटेको थियो । म्यादभित्रै नपुगेमा भरतले प्राण त्याग्न के बेर ? त्यही कुरो रामले भन्नुभयो ।
पुष्पक विमान कुबेरको सवारी चलाउने वाहन थियो । रावणले कुबेरलाई हराएर त्यो विमान लङ्कामा ल्याइराखेको थियो । त्यसैमा सुखसयल गर्थ्यो । त्यसैमा रामको सवारी चलाउने ठहरियो । रामले बाँदर र भालुको फौजलाई बिदा दिनुभयो । उनीहरूले गरेको सेवाको बखान गर्नुभयो । उनीहरूले लगाएको गुनको कदर भयो । सबैले जयजयकार मनाए । रामसँग छुट्टिन सबैलाई गाह्रो लाग्यो । तर के लाग्यो ?
===
भरत मिलाप
राम, सीता र लक्ष्मणका साथमा विभीषण, सुग्रीव, अङ्गद, जाम्बवान र हनुमान पनि पछि लागे । बाटामा सबै ठाउँ सीतालाई औंल्याएर देखाउनुभयो । अयोध्या पुग्ने बेलामा हनुमानलाई ओरालेर भरतको हालखबर बुझ्न पठाउनुभयो ।
भरत नन्दीग्राममा थिए । राम आउने म्याद औंलाले गनिरहेका थिए । शिरमा कपाल बढेको, दाह्री–जुँगा लामालामा, रामको विरहले दुब्लाएर सिüी भएका देखिन्थे । हनुमानबाट रामको सवारी भित्रिने समाचारले उनलाई दंग पार्यो । मरिसकेको मानिस ब्युँतेजस्तो भयो । क्षणभरमा सबै अयोध्यावासीहरूले थाहा पाए । धुमधामको स्वागतको तयारी हुन लाग्यो । सहरभरि ठाउँठाउँमा ढोकाहरू बने । ध्वजा पताकाले सबै सिँगारियो । सडकमा जतासुकै पानी छरियो । सिँगारिएका कलश र घडाहरू जताततै राखिए । रामसँगको विछोडले पारेको दुःख मेटिने भयो । सबैमा नयाँ
जोश र जाँगर आइरहेको थियो । सबैलाई रामको मुहार कहिले देखौंला जस्तो भएको थियो ।
भरतको कुशल समाचार पाएपछि राम अयोध्यातर्फ जानुभयो । उहाँको हुनसम्मको स्वागत सत्कार भयो ।
राम र भरतको मिलन अत्यन्तै प्रेमले भरिएको थियो । राम र लक्ष्मणको शिरमा जटा थियो, भरतको शिरमा पनि त्यस्तै जटा थियो । रामको वियोगमा भरत औधि दुब्लाएका थिए । उनी रातदिन रामको नाम लिइरहन्थे । उनी तन, मन, धन राममा नै दिइरहन्थे । अहिले रामको साक्षात् दर्शन पाउँदा उनलाई हुनसम्म भयो । रामका मुमाहरूले पनि प्रेमले अङ्कमाल गरे । रामले पनि सबभन्दा पहिले कैकैयीसँग भेट गर्नुभयो । उहाँले उनको मनलाई शान्त गराउनुभयो । कौशल्या र सुमित्रासँगको भेटमा पनि औधि आनन्द भयो । अयोध्याका सारा प्रजाहरूको मन हलुका भयो । रामलाई सबैले रुचाउँथे । राममाथि सबैको भक्ति थियो । राम फर्कंदा सबैको मन उज्यालो भयो ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।