कहिलेकाहीं यस्तो लाग्छ, मानौं हामीकहाँ ज्ञान र चेतनाको चौतर्फी विस्फोट भइरहेको छ; विचार तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध हुन्डरी चलिरहेको छ । हात–हातका हातेफोन र कम्प्युटर मार्फत दुनियाँभरिको ज्ञान–विज्ञान र श्रव्य–दृश्य हामीसम्म प्रवाहित भइरहेको मात्र छैन, सूचना र विचार–विश्लेषणको थेगिनसक्नु बाढी आइरहेको छ । यस्तो बाढी, जसमा सबै सहभागी छन्— आआफ्ना विचार र व्यवहार विना कुनै भय वा संकोच, पूर्ण उन्मुक्तताका साथ सार्वजनिक गर्दै ।
सँगसँगै, अभिव्यक्तिको यो उन्मुक्ततालाई अराजक, अपरिपक्व र गैरजिम्मेदार मान्नेहरूको संख्या पनि सानो छैन, जो आफूलाई परिपक्व र जिम्मेदार मान्छन् । देश–दुनियाँका सच्चा मार्गदर्शक ठान्छन् । एक–अर्कासँग उनीहरूको कुरा भलै नमिलोस्, देश उनीहरूकै कुरामा रिङिरहेको हुन्छ । समाज तिनकै तर्क र नारामा नाचिरहेको हुन्छ । सानातिना कुरा गर्दै गर्दैनन् उनीहरू । समस्या के मात्र हो भने ती तिनका आफ्नै कुरा हुँदैनन् । उनीहरू अरू कसैको विचार, दर्शन, धारणा, दृष्टिकोण र तर्कका भरिया मात्र हुन्छन् । बुद्धिजीवी, लेखक, पत्रकार, विषयविज्ञ, विविध–अधिकारवादी, प्रशासक, नेता, राजनीतिज्ञ आदि नामले चिनिने यिनीहरूको आफ्नो ध्वनि हुँदैन, यी चर्का प्रतिध्वनि मात्र हुन्छन् ।
यिनको हाँकोडाँको जति चर्को भए पनि हाम्रो समाजमा अरूको विचार बोकेर हिंड्न नचाहनेहरू समेत उल्लेख्य संख्यामा छन्, जो आफ्नै ज्ञान, दर्शन, सभ्यता र संस्कृतिका कुरा गर्छन् । आफूलाई स्वतन्त्र ठान्छन् । तर के ती साँच्चै स्वतन्त्र छन् ? आफ्नो विचार जस्ताको तस्तै व्यक्त गर्न सक्ने अवस्थामा छन् ? दुःखका साथ भन्नुपर्छ— छैनन् । जसको कारण हो, सामाजिक पर्यावरणमा व्याप्त रहेको वैचारिक आतंक । यस्तो आतंक, जसले समग्र समाजको प्रज्ञा, विवेक एवं चेतनालाई पूर्णतः निरीह वा भनौं पक्षाघातग्रस्त बनाइदिएको छ । यस्तो आतंक, जसले हामीलाई आफ्नो मनको, आफ्नो अन्तरात्माको आवाज जस्ताको तस्तै अभिव्यक्त गर्न दिंदैन । त्यसमा ग्रहण लगाउँछ । यसका दुई अनुहार छन् । एउटाको नाम हो— वैज्ञानिकता, र अर्काको नाम हो— प्रगतिशीलता ।
सुन्दै मनमोहक लाग्ने यी शब्द आफैंमा खराब होइनन् । अर्थ, आशय, परिभाषा— हरेक दृष्टिले असल मात्र होइन, सर्वस्वीकार्य नै हुन् । तर हामीकहाँ यिनको अर्थ र गरिमाको अपहरण गरेर यिनलाई क्रमशः क्रिश्चियानिटी र कम्युनिज्मको मखुन्डोका रूपमा उभ्याइएको छ । आतंककारीले निरीह–निर्दोष बालबालिकालाई आफ्नो ढाल बनाएर उभ्याए जस्तै । यसैले, हामीकहाँ ‘वैज्ञानिकता’ को अर्थ हुन्छ— गोरो छाला भएको क्रिश्चियनले मान्यता दिएको कुरा । ‘प्रगतिशीलता’ को अर्थ हुन्छ— कम्युनिस्टले लालमोहर लगाइदिएको कुरा । तीबाट निगाह बक्स हुन नसक्ने कुरा न ‘वैज्ञानिक’ हुन सक्छ, न ‘प्रगतिशील’ नै । गोरो छालावाला क्रिश्चियनको प्रतिनिधित्व कथित उच्चशिक्षित र बुद्धिजीवीहरूले गर्ने गरेका छन् । वैचारिक आतंक विस्तारित गर्न कम्युनिस्टहरू भने स्वयम् उपस्थित छन् । दुवैको आआफ्नै सैनिक, जासूस र टोले दादाहरू सहितको शक्तिशाली सञ्जाल छ । एकथरी ‘मेकालेइज्म’ का उपज हुन्, अर्काथरी ‘कम्युनिज्म’ का ।
आजभन्दा करीब पौने दुई सय वर्ष अघि अप्राकृतिक तवरमा जन्माइएका, मानव–सभ्यताका यी दुई विडम्बनाले मूलतः एउटै उद्देश्य राखेको देखिन्छ— मानिसलाई उसको स्वअस्तित्व, जरो, गरिमा र अद्वितीयतासँग सम्बन्धविच्छेद गराएर निहित उद्देश्यप्राप्तिको साधन वा उपकरणका रूपमा रूपान्तरित गर्ने । सन् १८३५ मा लर्ड मेकालेले ‘आफ्नो सोच, ज्ञान, संस्कार र परम्पराबाट टुटाइएको, आफ्नो सबै कुरालाई घृणा गर्ने र कुइरेका सबै कुरालाई उत्कृष्ट मान्ने मानिस उत्पादन गर्ने’ उद्देश्यले शिक्षा नीति ल्याएका थिए । शिक्षा मार्फत मानिसलाई राज्य संयन्त्र र बजारको आवश्यकता एवं माग अनुरूपको उपकरणका रूपमा उत्पादन गर्नु उनको लक्ष्य थियो, जुन आज विश्वभरिकै शिक्षाको लक्ष्य बन्न पुगेको छ । त्यसको १३ वर्षपछि सन् १८४८ मा मार्क्स–एंगल्सको ‘कम्युनिस्ट घोषणापत्र’ आयो, जसले ‘पारम्परिक विचारहरूसँग आमूलतम सम्बन्धविच्छेद’ गराउनु र ‘सम्पूर्ण सामाजिक व्यवस्थालाई भताभुंग पार्नु’ लाई आफ्नो उद्देश्य घोषणा गरेको थियो । ‘सम्पत्तिमा निजी स्वामित्वको उन्मूलन’ गर्दै मानिसलाई यो जुनीमा नटुंगिने तथाकथित क्रान्तिको उपकरण बनाउनु उसको लक्ष्य थियो । एउटै वाक्यमा भन्दा, जेजस्ता मान्यता र अभ्यासका आधारमा मानव सभ्यता विकसित भएर ऊँचाइतर्फ बढ्दै आएको थियो, अथवा मानव सभ्यताका आधारभूत एवं संवेदनशील तत्व जे–जे हुन्, तिनलाई समाप्त पार्नु उसको अभीष्ट थियो । विश्वमा जहाँ–जहाँ कम्युनिस्ट सत्ता कायम भयो, ती–ती देशले गर्नुपरेको प्रतिसभ्यता तर्फको यात्राले यसको नियत र नियतिको गवाही दिइरहेकै छ ।
रोचक कुरा के भने, दुवैको आधारभूत उद्देश्य एउटै भए पनि गन्तव्य फरक छ । एउटा मानवजातिमा क्रिश्चियानिटीको वर्चस्व कायम गर्न चाहन्छ भने अर्को मानवजातिलाई धर्मरहित बनाउन । एउटा ‘धर्म’–केन्द्रित छ, अर्को धर्म–विरोधी । त्यसैले एउटाको प्रभुत्व भएको मुलुकमा अर्कालाई बलपूर्वक निषेध गरिन्छ । तर, मराउमाथि कात्रो भनेझैं, हामीकहाँ भने दुवैले स्थायी गठबन्धन र सहकार्य गरेका छन् (आतंकवादी द्वन्द्व, राष्ट्रिय राजनीति र बहुरंगी सामाजिक आन्दोलनहरूमा दुवैले एकअर्कालाई प्रवर्द्धन गर्दै आएको तपाईंले देख्नुभएकै छ) । परिणामस्वरूप, शुरूमा उल्लेख गरिएका बुद्धिजीवीदेखि राजनीतिज्ञहरू सम्मको मन–मस्तिष्क यिनको कब्जामा छ । राष्ट्र र यसका अवयवलाई आफ्नो सुविधा अनुकूल रिङाउने यो यस्तो वर्ग बन्न पुगेको छ, जो आफ्नो सोच, ज्ञान, संस्कार र परम्पराबाट पूरै काटिएको छ र जसमा यी सबैप्रति अविश्वास, हीनभावना एवं घृणा छ । जो समग्र समाजलाई ‘पारम्परिक विचारहरूसँग आमूलतम सम्बन्ध विच्छेद’ गराउँदै ‘सम्पूर्ण सामाजिक व्यवस्थालाई भताभुंग पार्न’ अग्रसर छ । र, यसरी रिक्त गरिएको ठाउँमा क्रिश्चियानिटी र कम्युनिज्म भरिंदै जानुलाई ठूलो उपलब्धि मान्छ । सत्ता, शक्ति र सम्पत्तिको अन्त्यहीन तृष्णामा होमिएको यो यस्तो जमात हो, जसले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई वैचारिक भरियागिरीको स्वतन्त्रतामा अनुवाद गरिदिएको छ ।
निश्चय नै यो चिन्ताजनक अवस्था हो र यसबारे खुलेर गम्भीर चर्चा हुनुपर्छ । मैले यहाँ उठाउन खोजेको कुरा चाहिं वैचारिक आतंकको हो, जसले अरूको वैचारिक भरियागिरीमा नलागेका र लाग्न पनि नचाहने, आफ्नो स्वअस्तित्व, प्रज्ञा र जीवन–दर्शनप्रति श्रद्धा–विश्वास एवं प्रेम गर्ने, अप्रदूषित मस्तिष्कका नेपालीहरूलाई पीडित बनाउँदै आएको छ । वैज्ञानिकता र प्रगतिशीलताको मखुन्डोमा आफ्नो असली अनुहार लुकाएर आएको यो दुईमुखे आतंकबाट हाम्रो सामूहिक प्रज्ञा पूरै क्षतविक्षत हुन पुगेको छ ।
आफ्नो धरातलमा उभिएर शुद्ध मनले तपाईं केही सोच्नुहुन्छ, तपाईंको चेतनाले केही निर्देशित गर्छ, तपाईंको अन्तरात्माले केही भन्छ तर यो आतंकले त्यसलाई यथारूप, जस्ताको तस्तै अभिव्यक्त हुन दिंदैन । वैज्ञानिकता र/अथवा प्रगतिशीलताको प्रमाणपत्र नपाइएला, अथवा त्यो पाउने योग्यता नभएको भन्ने घोषणा होला, सोझै अवैज्ञानिक/अप्रगतिशील भनिएला, अथवा ठाडै रूढिवादी र प्रतिगामी घोषित गरिएला भन्ने डरले तपाईंको मन थरथर काँप्न थाल्छ । अनि आफ्नो भावना, आफ्नो विचारलाई तदनुकूल संशोधन, काटछाँट वा समायोजन गरेर मात्र अभिव्यक्त गर्नुहुन्छ । यस क्रममा तपाईंको भावना अथवा विचारले आफ्नो स्वाभाविकता, सौन्दर्य, ऊर्जा, शक्ति र तीव्रता गुमाउँछ; त्यो कमजोर मात्र होइन विकलांग र निस्तेज समेत हुन पुग्छ । यस क्रममा कहिलेकाहीं त तपाईंले आफ्नो विचारको मर्म नै मार्नुपर्ने हुन्छ र त्यसो गर्न मनले नमान्दा त्यो विचार अभिव्यक्त नगरी सदाका लागि आफूभित्रै गुम्स्याएर राख्नुपर्ने पनि हुन्छ ।
यसप्रकार आफ्नो सहज, प्राकृतिक कुरा नै बाहिर आउन नसक्ने भएपछि तपाईं सधैंभरि बनावटी कुरा गर्नुपर्ने, आफूले आफैंलाई ढाँटेर बाँच्नुपर्ने, असुरक्षित मनस्थितिमा रहनुपर्ने र पराजित महसूस गर्नुपर्ने हीनभावनाग्रस्त अवस्थातर्फ धकेलिंदै जानुहुन्छ । तपाईंको ओज र ऊर्जामा ग्रहण लाग्छ, तपाईंको स्वत्व दब्दै जान्छ । आत्मवञ्चना र ढोंगको च्यापमा परेर तपाईं चेतनाको स्तरमा खोक्रिंदै जानुहुन्छ । यो रिक्तता, यो आत्महीनतालाई ढाकछोप गर्न हेत्वाभासी तर्क, बेबुनियाद दलील, भ्रामक दृष्टान्त र शब्दाडम्बरयुक्त भाषाको सहारा लिन थाल्नुहुन्छ, जो मानिसको मस्तिष्कसम्म त पुग्ला तर मनमा उत्रन सक्तैन, किनभने मनबाट आएको हुँदैन ।
स्कटिश उपन्यासकार लुई स्टिभेन्सनको मायावी पात्र ‘ज्याकल एण्ड हाइड’ ले झैं यस आतंकले पनि दुई रूपमा काम गर्छ । एकातर्फ यो कति सूक्ष्म, मिहीन र लयालु छ भने धेरैलाई आफू आतंकको छायाँमा परेको थाहै नहुन सक्छ र तिनीहरूले आफू स्वतन्त्र रहेको भ्रम साँचिरहेका हुन सक्छन् । अर्कातर्फ यो यति स्थूल र निर्मम छ अनि यसको सञ्जाल यति क्रूर र चुस्तदुरुस्त छ कि तपाईं यसलाई छल्ने अथवा यसबाट बच्ने कल्पनासम्म पनि गर्न सक्नुहुन्न । चौबीसै घण्टा यसका ‘बिग ब्रदर’ हरूले तपाईंमाथि गिद्धे दृष्टि गाडिरहेका हुन्छन्, ‘थट पुलिस’ हरूले तपाईंको टाउकामाथि बजार्न लाठा उचालिरहेका हुन्छन् अनि अनेकौं मुल्लाहरू तपाईंविरुद्ध ‘फतवा’ जारी गर्न साइत पर्खिरहेका हुन्छन्— जसको दकस तपाईंले निरन्तर अनुभव गरिरहनुभएको हुन्छ । निर्धारित ‘लक्ष्मणरेखा’ बाट अलिकति पनि बाहिर गएको लाग्नासाथ तपाईंमाथि चारैतिरबाट असहनीय गाली वर्षिन थाल्छन्, अकल्पनीय लाञ्छना लाग्न थाल्छन्, वैचारिक छूवाछूतको शिकार बनाइएर तपाईं एक्ल्याइनुहुन्छ र रातारात किनारातिर धकेलिनुहुन्छ ।
समाज भन्नु व्यक्ति–व्यक्तिको समष्टि नै त हो । आज सिंगो समाज यो आतंकको चपेटामा परेको छ । यसले हाम्रो समाजलाई, हाम्रो सामूहिक प्रज्ञा र विवेकलाई यति धेरै क्षति पुर्याएको छ, जसको सीमा छैन । लागेको, देखेको, मनले मानेको कुरा भन्न नसक्ने भएपछि सिंगो समाज नै कृत्रिम कुरा गर्ने, ढोंगी बन्न पुगेको छ । व्यक्तिगत तवरमा कसैसँग पनि, कुनै पनि विषयमा अनौपचारिक कुरा गर्न थाल्नोस् र उसको मन अलिकति फुक्न दिनोस्— खुलेर कुरा गर्न थाल्छ, मनमा लागेको कुरा स्पष्ट शब्दमा नलुकाई भन्न थाल्छ । तर त्यही कुरा सार्वजनिक तवरमा अभिव्यक्त गर्ने आँट गर्दैन । दिनदिनै पशुपति जान्छ, दर्शन गर्छ, ढोग्छ, तर श्रद्धा छ आस्था छ भन्ने हिम्मत गर्दैन । मर्निङ वाक गर्दागर्दै पुगेको भन्छ । ज्योतिषीकहाँ धाउँछ, यत्रतत्र भाकल गरिहिंड्छ, अनेकन् तान्त्रिकका शरणमा पुग्छ, तर विश्वास छ भन्ने आँट गर्दैन । जातपात मान्छ, सामाजिक व्यवहार र विधिविधानमा कट्टर छ, तर बोल्दैन । अवैज्ञानिक, अप्रगतिशील देखिने डरले आफ्नो ‘सत्य’ व्यक्त गर्न मुख खोल्दैन । बरु, यसकै अर्को पाटोका रूपमा, आतंकका संवाहकहरूले जे भने पनि टाउको निहुर्याएर स्वीकार्छ । निर्घृणी मगन्तेपनलाई जनचेतना, अरूप्रतिको जातीय घृणालाई जनजागरण, जनहत्या अभियानलाई जनयुद्ध, पछाडि फर्कनुलाई अग्रगमन, द्वन्द्ववादलाई साम्यवाद र समाजवादलाई प्रजातन्त्र भनेर मान्न थाल्छ— विना कुनै प्रश्न, विना कुनै सोचविचार ।
आफ्नो ज्ञान, प्रज्ञा, परम्परा, दर्शन र स्वअस्तित्वको धरातलमा उभिएर, तिनलाई केन्द्रमा राखेर अरूका राम्रा कुरा लिनु र तिनको सहयोगबाट आफूलाई परिष्कृत गर्दै जानु उँभो लाग्ने बाटो हो भने आफूलाई बिर्सेर वा गुमाएर अरूकै कुराको मात्र पछि लाग्नु उँधो लाग्ने बाटो । सधैं चलिरहने बौद्धिक, सामाजिक, राजनीतिक बहसलाई हेर्नोस्— पक्ष, विपक्ष कतै पनि हाम्रो स्वअस्तित्वको छनकसम्म हुँदैन । तत्तत् क्षेत्रका मान्यता, निष्कर्ष र निर्णयहरूलाई नियाल्नोस्— हाम्रो ‘आफ्नो’ ज्ञान, दर्शन र सहज अभीप्सासँग गोरु बेचेको साइनो पनि भेटिंदैन । यस्तो लाग्छ, मानौं हाम्रा पुर्खासँग सभ्यता, चेतना, राजनीति, अर्थनीति, कूटनीति, समाजनीति केही पनि थिएन । केही थियो भने त्यो उपेक्षा गर्न, बिर्सन वा घृणा गर्न लायक मात्र थियो । वैचारिक आतंकका पहरेदारहरूले हाम्रो आत्मविश्वासको यसरी अपहरण गरिदिएका छन्, हाम्रा ज्ञान–ग्रन्थ अरूले भनिदिएपछि मात्र ‘महान’ ठहरिन्छन् । हाम्रो ज्ञान, प्रविधि, संस्कार, संस्कृति, परम्परा मात्र होइन जीवन–दर्शन समेत अरूले प्रमाणपत्र दिएपछि मात्र उल्लेख गर्न लायक मानिन्छन् । मखुन्डे वैज्ञानिकता र आडम्बरी प्रगतिशीलताको टाङमुनि नछिराएसम्म हाम्रा कुनै पनि कुरा ‘पवित्र’ र प्रामाणिक मानिन सक्तैनन् ।
साहित्य यसको शायद सबैभन्दा दयनीय शिकार बनेको छ । कुनै पनि विधामा केही सृजना गर्नु अघि त्यसको विषयवस्तु, कथानक वा सन्दर्भ नै कथित वैज्ञानिकता र प्रगतिशीलताको अनुकूल हुने गरी निर्धारित गरिन्छ । घटनाक्रम, संवाद र चरित्रनिर्माणदेखि भाव एवं बिम्ब–संयोजनसम्म, हुँदाहुँदा शब्दचयन र वाक्यगठनसम्म पनि तिनका आँखा खुम्चिने खालको नहोस् भनेर सतर्कता अपनाइन्छ । आतंकले खुम्च्याइदिएको मनले स्वचालित रूपमा यो काम सम्पन्न गर्न थालेको छ । उसै त कुन, कानमा सुन भनेझैं यसरी आएको रचना वा कृतिको समीक्षा पनि मूलतः तिनका नारा र एजेन्डा ठीकसँग आएका छन् कि छैनन् भन्ने आधारमा गरिन थालेको छ । अलिकति तलमाथि परेजस्तो लाग्यो कि तिनका ‘थट पुलिस’ हरूको निर्मम आक्रमण शुरू भइहाल्छ । स्रष्टाको ‘प्रजापतित्व’ अर्थात् जस्तो मन लाग्छ त्यस्तै संसार सृजना गर्न सक्ने हैसियत खोसेर उसलाई शिखण्डी बनाउन उद्यत यस प्रक्रियाबाट गुज्रेको साहित्य आधारभूत रूपमै आफ्नो निजत्व गुमाएर खोक्रो, एकांगी र कृत्रिम अर्थात् ‘साहित्य’ को अर्थ वहन गर्न नसक्ने बन्दै जान थालेको छ ।
यो समग्र परिवेश हेर्दा हामीकहाँ अभिव्यक्तिको स्वतन्त्रता एउटा छलावा, एउटा मृगतृष्णा, एउटा प्रहसन जस्तो देखिन्छ । कहीं अराजक उच्छृंखलताको पर्याय जस्तो, कहीं वैचारिक भरियागिरीको उपनाम जस्तो त कहीं वैचारिक आतंकको क्रीडास्थल जस्तो । उच्छृंखलता र भरियागिरी समाप्त पार्न पनि यसलाई वैचारिक आतंकबाट मुक्त गर्नैपर्छ । यसका निम्ति सर्वप्रथम यो दुईमुखे आतंक र यसले पुर्याइरहेको भीषण क्षतिबारे सिंगो ‘नेपाली राष्ट्र’ सम्यक् सुसूचित हुनुपर्छ । त्यसले ल्याउने बृहत्तर जागरणले यो आतंक समाप्त हुने मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताले पनि गरिमा र सार्थकता प्राप्त गर्नेछ । त्यसवेला मात्र हामी हामीजस्ता हुन थाल्नेछौं; आफ्नै स्वत्व, ज्ञान र विवेकबाट निर्देशित भएर उँभो लाग्ने बाटो पहिल्याउन सक्नेछौं ।
‘संकथन’ मन्थनमाला–२०८०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।