यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ३ पुस्तक – चन्द्रकान्त आचार्यको ‘दर्पण’, १२ खरी उत्कृष्ट कथा, अभिव्यक्ति ।
० ० ० ०
१. दर्पण – चन्द्रकान्त आचार्य
उपन्यासकार चन्द्रकान्त आचार्यको महाकाव्य हो – “दर्पण” ।
‘दर्पण’ महाकाव्य सत्र सर्गमा विस्तारित बृहत् काव्य कृति हो । यस महाकाव्यमा अनुष्टुप्, मालिनी, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, स्रग्धरा, वसन्ततिलका, शिखरिणी, इन्द्रवज्रा, उपजातिप्रभृति विविध छन्दहरूको प्रयोग गरिएको छ ।
२ सय ४२ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘प्रारम्भ’, ‘बाल्यकाल’, ‘रूस पर्व–१’, ‘नेपाल पर्व’, ‘बेलायत पर्व’लगायत १७ थान शीर्षक समावेश छन् । यसमा लेखकको जन्मदेखि लिएर जीवनको अनेक मोडमा भेटिएका पारिवारिक, सामाजिक तथा राजनीतिक घटनाक्रमहरू प्रस्तुत छन् । थप आख्यानको रोचकता र नियात्राको कुतूहलता पनि पाइन्छ ।
“कवि चन्द्रकान्तले यस काव्यमा आफ्नो जीवन–यात्रालाई मूल विषयवस्तु बनाएका छन् र त्यसैसँग सम्बन्धित भएर आउने कुलपरम्परा, पारिवारिक जीवनशैली, बाबु–आमा, दाजु–भाइ, दिदी– बहिनी, छरछिमेकी र पढ्दादेखिका महिला साथीसँगका प्रणय–सम्बन्धलाई समेत रुचिकर शैलीले चर्चामा ल्याएर सामाजिक सहयात्रालाई समेत परिचित तुल्याएका छन् ।” भूमिकामा प्रा. गोपीकृष्ण शर्मा लेख्छन्, “आफ्नो कुल–वंशको गरिमापूर्ण प्रतिष्ठाका पृष्ठभूमिमा कविले जीवनको उषाकालदेखि वर्तमान बिन्दुसम्मको यात्रामा सुख–दुःखका भन्ज्याङ–चौतारी हुँदै यस बिसौनीसम्म आइपुगेको रोचक विवरण दिएका छन् र ठाउँ–ठाउँमा आफ्ना मृदु– कठोर गहन संवेदनाहरूलाई मर्मस्पर्शी रूपमा व्यक्त गरेका छन् । घर खाएकी छोरी भद्र सुशील बनेझैँ मास्कोसम्म पुगेर परदेश खाएका छोरा चन्द्रकान्तले पनि आफ्नो जीवनलाई शिष्ट–संयत रूपमा अगाडि बढाएका छन् र छोरा–छोरी र श्रीमतीसहितको वर्तमान जीवन सुखको चौतारीमा पुगेकोले मङ्गलमय अवस्था आइपुगेको उल्लेख गरेका छन् । काव्यनायकको सुखमय अवस्थामा पुगेर काव्यलाई विश्रान्ति दिइएकोले शास्त्रीय मान्यताअनुरूप काव्यिक न्याय (Poetic Justice) पनि यहाँ प्रदर्शित भएको छ । जीवनीलाई कविता ढाँचामा प्रस्तुत गरिएको यस काव्यले एकातिर कविता कथनको मिठास दिएको छ भने अर्कातिर मानव जीवनले भोग्नुपर्ने विभिन्न गौंडा–गल्छेंडाहरूको पनि चर्चा गरेको छ ।”
पुस्तकलाई जनता सञ्चार गृहले प्रकाशन गरेको हो । यसको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।
० ० ० ०
२. १२ खरी उत्कृष्ट कथा
राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा चुनिएका उत्कृष्ट २५ कथाको सङ्ग्रह हो – “१२ खरी उत्कृष्ट कथा” ।
४ सय ७० पृष्ठमा फैलिएको यस पुस्तकमा कथाकार अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीराम पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल, हिरा लामा का २५ थान कथा समावेश गरिएको छ । साथै चार वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।
सम्पादकीयमा नयनराज पाण्डे लेख्छन्, “ हिजो र आजका कथालाई यात्राको प्रस्थान विन्दु ठानेर अब तय गरिने कथायात्राले नै भोलिको नेपाली कथाको भविष्य निर्धारण गर्नेछ । त्यसैले विगत या आजका उपलब्धिमा मख्ख परेर बस्ने छुट अबका कथाकारहरूलाई छँदै छैन । यस सङ्ग्रहका कथाहरू पढिरहँदा अबका कथाकारहरूमा त्यो चुनौतीको सामना गर्ने जागरूकता रहेको आभास हुन्छ । यो ‘आभास’लाई ‘विश्वास’का रूपमा स्थापित गराउने प्रयत्नमा बाह्रखरी कथा प्रतियोगिताले केही न केही योगदान अवश्य दिएको छ । यो क्रम आगामी दिनमा पनि जारी रहनेछ ।”
निर्णायक मन्तव्यमा उल्लेख गरिएको छ, “आधुनिक र उत्तरआधुनिक प्रवृत्तिलाई समेट्दै आजको कथालेखन निरन्तर अगाडि बढिरहेको छ । वर्तमान समयको जीवनबोध, चिन्तन, दक्षता, अवसर, विभिन्न तप्कामा भइरहेका विभेद, सांस्कृतिक जागरण, पर्यावरणीय चिन्तन, राजनीतिलगायतका विषय, जो जीवनभोगाइमा छोइएर आएका छन्, त्यसले जीवनलाई नराम्रोसँग प्रभावित गरिरहेका छन् । यस्तो विषयलाई कलात्मक र सौन्दर्यात्मक मूल्यसहित सम्बोधन गर्न कथालेखन उद्यत देखिएको छ । यसबाट जिम्मेवारीपूर्ण लेखनमा अगाडि बढिरहेको कथाकार देश र समाजको मार्गनिर्देशक हो भन्ने कुरा पुष्टि हुन पुगेको छ । यसका साथै कथालेखनमा देखिएको सर्जकको घनत्व र तिनले जीवनबोध र भोगाइलाई विविधतामा पस्किदिँदाको लालित्य र गरिमाको फेरि बेग्लै सुन्दरता देखिएको छ ।’
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ,
पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि, अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो ।
— बूढो लाँकुरीको रूख
कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, ‘हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ?
— कुमारी
ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई १ बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले ।
— चेपाङ, चमेरा र चिउरी
पुस्तकलाई बाह्रखरी डटकमसँगको सहकार्यमा फाइनप्रिन्ट बुक्सबाट प्रकाशन गरिएको हो ।
० ० ० ०
३. अभिव्यक्ति
५४ वर्षदेखि लगातार प्रकाशन हुँदै आएको दुईमहिने सामान्य साहित्यिक पत्रिका हो — “अभिव्यक्ति” ।
नगेन्द्रराज शर्मा संस्थापक तथा संरक्षक रहनुभएको उक्त पत्रिकाको चौथो अङ्कमा भाउपन्थी, लीलाराज दाहाल, श्रवणकुमार ढुङ्गाना र धनराज गिरीका कथा, लघुकथा समावेश छन् । विष्णुप्रसाद शर्मा पराजुलीको नियात्रा, विनोद नेपालको निबन्ध, राजेन्द्र खनाल ‘क्षितिज’को हास्यव्यङ्ग्य पनि प्रकाशित छन् ।
पुस्तकको ‘पर्यावलोकन’मा शार्दूल भट्टराई, वासुदेव गुरागाईं, डा. राजकुमार छेत्रीको कलम झल्केको छ भने डा. विप्लव ढकाल, कृष्ण प्रधान, दुुर्गा किरण तिवारी, तारा सुवेदी, विकल त्यागी, सीता ओझा, रमेशप्रसाद खनाल, सानुराजा अञ्जान लागयत लेखकहरूको काव्यात्मक रचनाहरू छापिएको छ ।
पुस्तकमा रमेश रेग्मीसित ज्ञानुवाकर पौडेलको कुराकानी र विशेष रूपमा टीका ढुंगेल रटनद्वारा लेखिएको नेपाल र सिक्किमका साहित्यकारहरूको भेटघाट साथै यायावरको ‘जमघटहरूबाट’ समाविष्ट छन् ।
“सहकारी स्थापनाका उद्देश्य राम्रै भएपनि उद्देश्य बमोजिम सञ्चालन हुन सकेका छैनन् । धेरै जसोको नियत नै खोटो देखिन्छ । कतिपयले घर जग्गामा लगानी गरी कैयौं गुना फाइदा गरी अकुत सम्पत्ति कमाएका छन्, कतिपय सहकारी सञ्चालकहरू त रकम पोको पारेर गायब हुने, बिदेसिने गरेको पनि सञ्चार माध्यम हरूमा देख्न सुन्न पाइन्छ ।” सम्पादकीयमा लेखिएको छ, “यसै क्रममा कतिपय साहित्यिक संस्थाहरू पनि यो समस्याबाट गुज्रिरहेका छन् । साहित्यिक संस्थाहरूले सदस्यता शुल्क, आ आफ्नै सदस्यले संस्था चलाउन खल्तीबाट जम्मा गरेको रकम, अनुदान वा सहयोग रकम र पुरस्कार सम्मानका लागि पुरस्कार संस्थापकले जम्मा गरेको रकम आकर्षक व्याजका लोभमा परेर सहकारी वा वित्तीय संस्थाहरूमा जम्मा गरेका छन् तर पछिल्ला वर्षहरूमा कतिपय सहकारी बाट मुलधन त के व्याज सम्म पनि भुक्तानी पाइरहेका छैनन् । यसै कारण कतिपय पुरस्कार सम्मान बन्दै गर्नु पर्ने बाध्यता छ, कतिपय संस्था बन्द भएका छन् । कहीँ कतै उजुरीको सुनुवाइ हुँदैन । यस्तो लाग्छ, यस्ता केही सहकारीका सञ्चालक नै या त ती सरकारी निकायका आफ्ना मान्छे हुन्छन्, या सरकार वा नियमनकारी निकायका पदाधिकारी लाई खुसी पार्छन् ।”
पुस्तककाे मूल्य ५० रुपियाँ रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।