शरण पर्न आएका विभीषण
उता एउटा बाँदर आएर लङ्का जलाएको देखेर मन्दोधरीलाई ठूलो चिन्ता पर्यो । उनले रावणलाई धेरै सम्झाइन्। राम ईश्वर हुन् । सीता जगदम्बा हुन् । अर्काकी स्त्री हरण गर्नु ठूलो पाप हो । फर्काइदिनुहोस् भनिन् । तर रावणले मानेन । विभीषणले पनि दाजुलाई धेरैपटक सम्झाए । एक दिन दरबारमा सभा बसेको थियो । रावणले सबैसँग सल्लाह लियो । विभीषणले सबै कुरा देखाए । पापको परिणाम नराम्रो हुने झल्काए । रावणले सबैको अगिल्तिर उनलाई लात्ताले हानेर बेइज्जत गर्यो । विभीषणलाई लङ्काबाट निक्ली भन्यो । उनी सरासर आकाशको बाटोबाट रामको शरण लिन पुगे । सुग्रीवले शत्रुको भाइलाई आउन दिन के कसो हो भने । शरणको मरण गर्न हुन्न, खराब विचारले मपट्टि आउनै सक्तैन भन्ने रामको विचार भयो । लङ्काको राजा भन्दै रामबाट विभीषणको अभिषेक भयो । रावणले टाउको होमेर शिवजीबाट लङ्का पाएको थियो । विभीषणले शरणमा आएर त्यही पाए ।
आफ्ना धेरै फौजलाई समुद्रपार लैजानु थियो । सजिलो काम थिएन । तथापि रामको ठूलो प्रताप थियो । नल–नीलजस्ता इन्जिनियरहरू थिए । समुद्रले पनि भनेको मान्नुपर्यो । पुल बाँधियो । फौज पनि सजिलैसँग तारिए । त्यतिका फौज त्यसरी पुर्याउनु ठूलो पुरुषार्थ थियो । रामको शक्ति जान्नेलाई केही गज्जब लागेन ।
रामको फौज आइपुगेको समाचारले लङ्कामा खलबल पार्यो । मन्दोधरी औधि आत्तिइन् । बारम्बार रावणलाई उनले सम्झाइन् । ‘राम को हुन्’ भन्ने बुझाइन् । अरू मन्त्रीलाई कुनैकुनैले सम्झाए । सीता रामलाई सुम्पिदिने सल्लाह उनले मान्दै मानेनन् । रामका तर्फबाट पनि एकपटक फेरि सम्झाई पठाउने ठहरियो । अङ्गद दूत बने ।
हनुमानले सातो लिएका लङ्कावासीले अङ्गदलाई बाटो देखाइदिए । अङ्गदले धेरै कुरा देखाएर रावणलाई सम्झाए । उनले मानेनन् । उता रामले आफू बसेको ठाउँबाट एउटा बाण हानेर रावणको दरबारमा उसको शिरपेच खसाल्दि सक्नु भएको थियो ।
===
राम–रावण युद्ध
राम–रावण युद्ध सुरु भयो । दुवैथरी अन्धाधुन्ध लडे । रावणतर्फ ठूलाठूला सेना प्रमुखहरू मारिए । कुम्भकर्ण गाढा निद्रामा थियो । रावणले उनलाई बिउँझाउन लाग्यो । ढोलक, नरसिंहा, नगारा बजाएर धुमधामसँग आवाज निकालेपछि मात्र ऊ ब्युँझन्थ्यो । रावणले सीता हरेर ल्याएको कुम्भकर्णलाई पनि मन परेको थिएन ।
रामको शक्ति उसलाई पनि थाहा थियो । उसले रावणका निमित्त खुब लडिदियो । रामका फौजमा हाहाकार मच्चियो । परन्तु कुम्भकर्ण पनि रामको बाणको अघिल्तिर टिक्न सकेन, मरिहाल्यो ।
मेघनादले लक्ष्मणलाई यस्तो जोडसँग शक्ति प्रहार गर्यो; जसको कारण लक्ष्मण मुर्छा परे । वैद्यराज बोलाइए । उनले मृतसञ्जीवनी बुटी पाइने ठाउँका बारेमा बताए ।
हनुमान बुटी ल्याउने काममा खटिए । उनले बुटी चिन्न नसकेर पहाडै बोकेर ल्याए । त्यही बुटीले लक्ष्मणको होस आयो । लक्ष्मण मुर्छा पर्दा राम खुब रुनुभयो । भाइमाथिको मायाको स्वरूप देखाउनुभयो ।
मेघनादले रामलाई हराउन यज्ञ गर्न लागेको थियो । यो कुरा रामले विभीषणबाट थाहा पाउनुभयो । अङ्गदहरू गएर यज्ञमा विघ्न पारिदिए । ऊ रिसायो । लक्ष्मणसँग ठूलो लडाइँ पर्यो । मेघनादको नाम इन्द्रजित पनि थियो । देवताका राजा इन्द्रलाई जितेको हुनाले उसको नाम इन्द्रजित रहेको हो । सारा देवता ऊसँग डराउँथे । तर त्यसले पनि लक्ष्मणको बाणको सिकार बन्नुपर्यो ।
रावणपट्टिका वीरहरू एकएक गर्दै मर्दै गए, तैपनि उसले सीतालाई फर्काएन । उसले अब लड्दिनँ भनेन । एकपटक लड्दालड्दै रामको बाणले मुर्छा पार्यो । सारथिले उसलाई रणमैदानबाट सहरतिर फर्कायो । ‘भगुवा’ भन्ने दाग लाग्ला, किन रथ फर्काइस् ? भनेर उसले सारथिलाई हप्कायो । त्यसबेला पनि उसलाई त्यही पीर थियो । त्यसैले ऊ रिसाउनसम्म रिसायो ।
राम र रावणका बीचमा ठूलो लडाइँ हुन लाग्यो । रावण पनि लड्ने कलामा साह्रै सिपालु थियो । इन्द्रजाल धेरै नै फैलायो । सर्वशक्तिमान रामसँग उसको के चल्दथ्यो ।
तैपनि ऊ वीर थियो । रणभूमिमा वीरको मरण हुनु थियो । लड्दालड्दै बाण लागेर उ मर्यो । रणभूमिमा रगतको खोलो बग्यो । सबैतिर डरलाग्दो देखिन्थ्यो । कतै टाउको फुटेर गिदी छ्यालव्याल भएको, कतै हातैहातको डङ्गुर लागेको थियो । गिद्ध स्यालहरूले कतै मुर्दाबाट मासु लुछीलुछी खाइरहेका थिए । कतै सास निस्कन लागेका प्राणीहरूले एक तमाससँग कराएको सुनिन्थ्यो ।
रावण मरेको समाचारले लङ्कामा हाहाकार मच्चियो । मन्दोधरी र अरू पत्नीहरू रणभूमिमा आएर आफ्ना पतिको टाउको काखमा राखेर डाँको छाडेर रुन लागे । मन्दोधरी पनि रोइन् । ‘रामलाई बैरी तुल्याउनु काललाई बोलाउनु हो । अर्काकी स्त्री हरण गर्नु महापाप हो । एउटा कुरा पनि सुन्नु भएन’ भन्दै उनले चित्त बुझाइन् । सीताजस्तै मन्दोदरीको पनि पतिव्रता सतीहरूमा नाम आउँछ ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।