सामान्यतः कसैलाई हानी पुर्याउने उदेश्यले गरिने व्यवहार – जस्तै: गालीजन्य शब्दले प्रहार गर्नु, अपमानित गर्ने हेतुले व्यवहार गर्नु तथा मारपिटको शैलीमा उत्रनुलाई हिँसा भनेर बुझ्न सकिन्छ । शारीरिक र मानसिक दुबै किसिमका हिँसाले मानिसलाई गहिरो असर पुर्याउने गर्दछ । यसले कुनै पनि व्यक्तिको समग्र विकासमा अड्चन पुर्याइरहेको हुन्छ, जसले गर्दा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सिङ्गो समाज नै प्रभावित बन्न पुग्दछ । यसरी, प्रष्टसँग देखिने हिँसाका असरलाई समाधान गर्न त्यति मुस्किल भने हुँदैन । समस्याको ठिक पहिचान हुँदा निदान पनि हुने नै गर्दछ ।

यद्यपि, हामीसँग यस्ता केही हिँसाका रूपहरू पनि हुने गर्दछन् जसले सुरूमा मिठास लिएर आउँछन् । प्रेमको सागरमा डुबाउँछन् । फर्काएर जमिनमा भने ल्याउँदैनन् । अर्थात् ती हाम्रो कल्पनाभन्दा बाहिरका हुन्छन् या त अति नै सामान्य ठानेर नजरअन्दाज गरिरहेका हुन्छौँ । जसका कारण पीडितले समाधानको मार्ग पहिल्याउन पनि सकिरहेको हुँदैन ।

“वाह ! तपाईं त कति राम्री !” – कुनै परिचित/अपरिचित पुरुषले कुनै महिलाको यसरी तारिफ गर्दछ भने ती महिलालाई कस्तो अनुभूति होला ? पक्कै पनि मनपर्ला । खुशी नै लाग्ला । मानिस तारिफको भोको हुन्छ । विशेषगरी नारी-मनलाई प्रशंसा अलि बढी नै मनपर्ने गर्दछ; हाम्रो जस्तो पितृसत्तात्मक समाजमा जहाँ महिलाको मुख्य गुण उसको सुन्दरतालाई लिएर मापन गर्ने गरिन्छ । तब उनलाई कसैले सुन्दर देखिन्छ्यौ भन्दियो भने मनमा लड्डू त फुटिहाल्छ नै, किनभने सुन्दर देखिनकै लागि उनले आफूमा मेहनत गरिरहेकी समेत हुन्छिन् । जस्तै: मेकअप, फिटनेस मेन्टेन, गेटअप र हाउभाउ आदि । प्रशंसाले इम्प्रेस् गर्न माहिर पुरुषलाई अब के चाहियो ? कुराकानी बढी त हाल्छ; लक्ष्य भेटिन अब असम्भव छैन भन्ने उसले थाहा पाउँछ ।

दिनहुँ जसो साँचो या झुठो तारिफ बुनेर महिला मनोविज्ञानलाई जालमा पारिसकेपछि प्रेम प्रस्तावतर्फ अघि बढ्दछ । यस्तो केस ठ्याक्कै महिलाले पुरुषका लागि पनि सिर्जना गर्न सक्छन् । यद्यपि, यस्तो निकै कम मात्रामा हुने गर्दछ । किनकि, पुरुषप्रधान समाजले महिलालाई स्वयं खुल्न कहिल्यै प्रेरित गर्दैन । यदि खुलिहालेमा पनि प्रायःजसो बेफाइदामा नै रहने गर्दछन् । तसर्थ, यस्ता मामिलामा पुरुष नै बढी सामेल हुने गरेको पाइन्छ ।

यसरी हेर्दा, आजभोलि सामाजिक सञ्जालको दुरुपयोगमार्फत हुने गरेका अप्रत्यक्ष साइबर हिंसाहरूमध्ये धेरैले तारिफको बाटो हुँदै प्रेमको माहौल सिर्जिएर यौनप्रस्तावमा पुग्नु पनि हिँसाको रुप हो भनेर बुझिरहेका हुँदैनन् । या बुझेर पनि बाहिर ल्याएर कानुनी कारवाहीसम्म पुग्न सकिरहेका हुँदैनन् । यसपछाडिको कारण हो, प्रेमलाई हतियार बनाइनु ।

प्रेम आफैँमा पवित्र हुन्छ; यो एक सुखद् अनुभूति हो । फेरि प्रेमले पनि हिँसा उत्पन्न गराउँछ, यस्तो कसरी हुन्छ ? – हुनै सक्दैन भन्ने पनि लागिरहेको होला । सहमतिमा हुने प्रेम-सम्बन्ध अनि प्रेम-सम्बन्धमा यौनको आवश्यकता सामान्य हो । तथापि, उदेश्य केवल प्रेम हुनुपर्दछ; सम्बन्धको निरन्तरताको हुनुपर्दछ । यदि उदेश्य शरीर भोग्ने र पछि कुनै बहाना बनाएर सम्बन्धबाट भाग्ने छ भने त्यो सरासर हिँसा हो । चाहे जुन सम्बन्ध सहमतिमा नै बनेको किन नहोस् ।

खासगरी, अधिकांश किशोरीहरू सामाजिक सञ्जालका माध्यमबाट प्रेमजालमा पर्ने गरेको र यौनहिँसाको सिकार भएका देखिन्छन् । उनीहरू सही र गलतको दोसाँधमा उभिइरहेका हुन्छन् । किशोरावस्थामा सही कुरा पनि गलत हो जस्तो अनि गलत पनि सही हो जस्तो लागिरहने गर्दछ । उनीहरूलाई परिवारका सदस्यहरूले अलि बढी नै नियन्त्रणमा राख्न खोजिरहेको अवस्थामा त परिवार नै दुश्मनझैँ पनि लागिरहेको हुनसक्छ । यस्तो अवस्थामा कुनै व्यक्ति प्रेमको साहारा लिएर जिन्दगीमा आउँछ भने कसरी नस्विकार्लान् ? आफूलाई खुबै ध्यान दिइरहेको, ख्याल राखिरहेको, उपहार दिइरहेको, माया नै मायाको बर्सातले भिजाइरहेको अवस्थामा उसलाई शरीर नै सुम्पनु तिनको लागि कुनै कठिन कार्य बन्दैन । शारीरिक आवश्यकता पूरा भएपछि सो पुरुष टाढिन सुरु गर्यो भने किशोरीहरूमा मानसिक तनाव सुरु हुन्छ । फलस्वरूप, पढाइमा ध्यान नजाने, खानपिनमा मन नलाग्ने र दैनिक कार्यमा बेवास्ता बढ्ने जस्ता अवस्था सिर्जित हुन्छन् । यसरी, प्रेम बनेर आएको आँधीले कसैको खुसी, करियर र समग्र भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने गर्दछ ।

अन्य महिलाको हकमा, गृहिणी तथा कामकाजी महिलामा पनि यस्ता समस्या देखिने गरेको पाइन्छ । वैदेशिक रोजगारीका कारण श्रीमानको अनुपस्थितिमा हुने एक्लोपन (परदेशमा हुने श्रीमानमा पनि सोही समस्या हुने), पारिवारिक कलहका कारण हृदयमा झोसिने रुखोपन, घर अनि कार्यालयमा हुने कामको बोझका कारण हुने थकान तथा चिड्चिडापनले कोही आत्मीय व्यक्ति खोजिरहेको हुन्छ । फुर्सदमा या फुर्सद निकालेर सामाजिक सञ्जालको प्रयोग बढिरहेको सन्दर्भमा अनलाइन च्याटमार्फत दिनहुँ कोही नयाँ प्रयोगकर्ताहरूसँग चिनजान भइरहेको हुन्छ । तीमध्ये कोही प्रेम बोकेर आउँछ भने राहत महसुस अवश्य हुन्छ नै । जसका कारण, महिलाहरू जानेर या नजानेर साइबर हिँसाको सिकार बनिरहेका हुन्छन् । जुन दलदलमा फँसेर परिवार, सम्बन्ध र भविष्य जति जोखिमतर्फ धकेलिरहेका हुन्छन् ।

पितृसत्ताले नारी भनेको शारीरिक रुपमा सुकोमल, भावनात्मक रूपमा प्रेमिल तथा सामाजिक रूपमा आज्ञाकारी चरित्र भएकी हुनुपर्दछ भन्ने स्कुलिङ्बाट सानैबाट प्रशिक्षित गराएको हुन्छ । यसले नारीबारे महिला र पुरुष दुबैलाई ठिक यही ढङ्गले सिकाएको हुन्छ । तसर्थ, महिलालाई हेर्ने दृष्टिकोण सामान्यत: सबैजसो पुरुषमा यस्तै नै हुने गर्दछ । अर्कोतर्फ, सोही स्कुलिङबाट हुर्किएका महिलाले आफूजस्तै अर्की महिला पनि ठिक यस्तै नै देख्न चाहन्छन् । जसका कारण प्रेमका नाममा हुने गरेका साइबर हिँसाहरू सामान्यीकरण गराइन्छ । जस्तैः छोरी मान्छे भएर परपुरुषसँग किन बोल्न सुरु गरेको त ? तारिफ गर्यो भन्दैमा किन नजिकिनु परेको त ? मन मिले चमत्कार, नमिले बलात्कार !

वास्तवमा, अपराधको सुरुवात बोल्न सुरु गर्ने त्यही पुरुष हो, जसले प्रेमजालमा फसायो । अनेक प्रपन्च रच्यो । दिल जित्यो । फाइदा लियो । र, भाग्यो । त्यस्तालाई पो प्रश्न गरिनु पर्ने, सजायको दायरामा ल्याइनु पर्नेमा उल्टै महिलालाई भिक्टिम ब्लेमिङ गरिन्छ । यसरी भिक्टिम ब्लेमिङ गर्नु झन् ठूलो हिँसा हो ।

पीडितलाई एकातर्फ मानसिक तनावले गिजोलिरहेको हुन्छ भने अर्कोतर्फ भिक्टिम ब्लेमिङ भइरहँदा डिप्रेसनतर्फ जाने सम्भावना ज्यादा हुन्छ । यसले यथेष्ट मात्रामा महिलाको वृत्तिविकासमा बाधा पुर्याइरहेको हुन्छ भने ज्यानै लिने जोखिम पनि बढिरहेको हुन्छ । धेरै महिलाहरू प्रेमकै नाममा आत्महत्या गर्न पुगेका उदाहरणसमेत प्रशस्तै भेटिन्छन् ।

प्रेमलाई माध्यम बनाएर महिलामाथि हुने गरेका मानसिक तथा शारीरिक हिँसा आफ्नो घरबाहिर मात्र होइन, घरभित्रकै सदस्यलाई पनि भइरहेको हुनसक्छ । ख्याल गरौं, सामाजिक सञ्जालमा घोत्लिरहेका आफ्ना निकटतम दिदीबहिनी, साथी, विद्यार्थीलगायतका दिनचर्यामा के कस्ता उतारचढाव आइरहेका छन् ? उनीहरूका गतिविधि के कति हिँसाप्रेरित छन् ? परख राखौं । कतै तपाईँको हौसला, साथ, सहयोग, साहारा र प्रेम पो पर्याप्त छ कि ? कतै परिवारमा मेलमिलाप, आत्मीयता र पर्याप्त कुराकानीको कमिका कारण पो महिलाहरू आपराधिक मानसिकता भएका व्यक्तिको जालमा फँसिरहेका छन् कि ? मनन गरौं ।

प्रत्येक वर्ष, नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने गरेको लैङि्गक विभेद तथा महिला हिँसाविरुद्धको सोह्र दिने अभियान भर्खरै सकिएको छ । हिँसाका अनेक रूपमध्ये सबैभन्दा बेवास्ता गरिने साइबर हिँसा बालिका तथा किशोरीका लागि बढी खतरापूर्ण बनिरहेको छ । यसैलाई मध्यनजर गर्दै हरदिन सबैले हिँसाविरोधी बन्न आवश्यक भएको छ ।

पाकिस्तानी लेखक सादत हसन मन्टो (सन् १९१२-१९५५) का अनुसार मानिसहरू आफ्ना घरका महिलालाई मात्र महिला सम्झन्छन्; बाँकी घरबाहिरका महिलाजतिलाई त केवल मासुको दोकान मात्र सम्झन्छन् । उनको भनाइ मिहीन रूपमा बुझ्ने हो भने महिलामाथि हुने गरेका सम्पूर्ण हिँसालगायत साइबर हिँसा न्यूनीकरणका खातिर सर्वप्रथम महिलालाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आवश्यक देखिन्छ । महिलाको आत्मसम्मान, स्वतन्त्रता तथा आत्मनिर्भरता जरुरी छ भनेर सोका लागि सबलीकरण गरिनुपर्दछ । महिलाले नितान्त महिला बनेर कसैको नजिक हुनुलाई स्वभाविक मान्नु पर्दछ । महिलाले प्रेम चाहनु, कसैको साथ खोज्नु, सम्बन्ध बनाउनु सामान्य लाग्नुपर्दछ । महिला पनि मान्छे हो; मानवाधिकार पाउनुपर्छ भन्ने सोच्न सकेमा सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुने उल्लिखित हिंसाहरू धेरै हदसम्म कम हुनसक्छ । यसो भएमा पीडक सजायको दायरामा आउने सम्भावनामा पनि वृद्धि हुन्छ; जसले महिलामैत्री परिवार, समाज र राष्ट्र निर्माणमा समेत टेवा पुर्याउँछ ।