नेपाली साहित्यमा आख्यान कम लेखिने तर पाठकहरूले बढी पढ्ने विधाको रूपकमा मानिन्छ । आख्यान कथाकारको हृदयबाट उत्पन्न भई पाठकको आँखा हुँदै सिधै पाठकको हृदयमा जान्छ । त्यही आख्यान पाठकको हृदयबाट फेरि श्रुति परम्परा हुँदै श्रोताको कानको माध्यमबाट सिधै श्रोताको हृदयसम्म पुग्छ । तसर्थ आख्यान सर्वप्रिय छ ।

आख्यानकै कान्छो विधामा पर्छ लघुकथा । तर यो विधा पछिल्लो समयमा आएर सङ्ख्यात्मक रूपमा धेरै लेखिने विधा भएको छ । अन्य विधाका सर्जकहरूमा पनि लघुकथा लेखनप्रति बढेको आकर्षण लोभलाग्दो छ । जबरजस्ती सिकेर वा आफूभित्रको लेखनको ज्वालामुखीलाई विस्फोट गराइछाड्ने सर्जकहरू पनि लघुकथाको क्षेत्रमा प्रशस्त नै भेटिन्छन् ।

नारायण कोइराला पछिल्लो पटक लघुकथामा सक्रिय युवा लघुकथाकार हुन् । तानसेन पाल्पामा जन्मिएका उनी त्यही हुर्किए । र त्यही उर्वर भूमिबाट साहित्यमा प्रवेश गरे । स्कुलकालीन समयदेखि नै नारायण कविता लेख्थे । प्रतियोगिताहरूमा भाग लिन्थे र पुरस्कारहरू प्राप्त गर्थे । उनी कविता, कथा र नाटकहरू लेख्थे । नारायणभित्र रहेको साहित्यिक हुटहुटीको कारण उनले वि.सं.२०५५ सालमा २१ वर्षको उमेरमा नै “कालो पर्दा” नाटकसङ्ग्रह प्रकाशनमा ल्याए ।

उनी केही साहित्यिक समाजहरूको महत्त्वपूर्ण पदमा रही आफ्नो लेखनको अलावा साथीहरूमा पनि साहित्यिक सक्रियता बढाउने अभियानमा लागेका छन् । लामो समयदेखि  वैदेशिक रोजगारीमा जोडिएका नारायण कोइराला विदेशी मरुभूमिमा वा स्वदेशी जन्मभूमिमा रमाएर आफ्नो अनुभव र कल्पनालाई  प्यासमा रूपान्तरण गरी साहित्यको माध्यमबाट मेटाइरहेका छन् ।

दीपक दृष्टिको आजको यो शृङ्खलामा यी नै लघुकथाकार नारायण कोइरालाको “मरुभूमिमा विस्फोट”भित्र समेटिएका लघुकथाहरूको बारेमा चर्चा गर्छु ।

‘मरुभूमिमा विस्फोट’ कथाकार नारायण कोइरालाको प्रथम लघुकथासङ्ग्रह हो । शीत काव्य समाज, नेपाल प्रकाशक रहेको यो सङ्ग्रह वि.सं.२०७८ मा प्रकाशनमा आएको हो ।  ५६ वटा लघुकथा समेटिएको यस सङ्ग्रहलाई पाल्पाली कुशल लघुकथाकार गोमविक्रमले सम्पादन गरेका छन् ।

समेटिएका कथाहरू नारायण कोइरालाका प्रारम्भिक लघुकथाहरू हुन् । भर्खर पानी थामिए पछिको आकाश झैँ उनको लघुकथाको क्षितिज प्रस्टसँग खुलेको देखिन्छ । कल्पनाशीलतामा नारायण कोइरालाका कथाहरू बेजोड छन् । निर्जीव पात्रहरूलाई सजीव बनाउने काममा नारायणका कथाहरू अघि सरेका छन् । डायस्पोरिक  पीडा मात्र हैन डायस्पोरिक खुसी र सकारात्मक अनुभूतिहरू नारायणका यी लघुकथाहरूमा मनग्य छन् । गाउँको माया, स्वदेश प्रेम र सिर्जनाको महत्त्व नारायण कोइरालाको लघुकथाहरूमा देखिने प्रस्ट बिम्बहरू हुन् ।

नारायण कोइराला मूलतः कवि हुन् । कृतिकारको आधारमा भन्ने हो भने नारायण नाटककार पनि हुन् । नारायणले आफ्नो कवि र नाटककार छविलाई बढो चतुरताको साथ लघुकथामा सजाएका छन् । उनका लघुकथाहरू पढ्दा काव्य र नाटकको मधुर आभास सँगसँगै प्राप्त गर्न सकिने छ । तर यो कुरा पाठकलाई सितिमिति अत्तोपत्ता रहने छैन । नारायणका पाठकहरूले सुन्दर लघुकथाको स्वाद लिँदै कथालाई तुर्ने छन् र कथा पढिसकेपछि पनि आनन्दमय झड्का महसुस गरिरहने छन् । यो नै कोइरालाको लघुकथा लेखनको सफलता हो ।

पछिल्लो समय लघुकथाहरू निबन्ध झैँ बनेका पाइन्छन् । वास्तवमा लघुकथा भनेको लघुकथा नै हो । विषयको उठान, उत्कर्ष र समापनमा विशेष ध्यान नदिँदा कयौँ लघुकथाहरू भाँडमा गएका छन् । सुन्दर लघुकथा त्यति बेला बन्ने छ जब लघुकथामा आदि, मध्य र अन्त्य बेजोड हुने छ । लघुकथाकार नारायण कोइरालाको पुरै प्रयास लघुकथाको आदि, मध्य र अन्त्यलाई सकुशल आफ्नो लघुकथामा भित्राउनुमा केन्द्रित भएको मैले पाइरहेको छु ।

लघुकथाहरुमध्ये लगभग आधा लघुकथाहरूमा नारायणले स्वैरकल्पनाको साथ र सहयोग लिएका छन् । पाठकले कल्पनासम्म नगरेको पात्रहरू कथामा प्रमुख पत्रको रूपमा देखिएका छन् र निर्जीव पात्रहरू पनि सजीव बनेर घरभित्रका सदस्यहरू झैँ भएर कथामा संवाद गरेका छन् । नारायण कोइरालाका लघुकथाहरू पढ्दा एकछिन आफैलाई भुलिने पक्का छ । यो नै लघुकथाकारको जीत हो ।

नारायण कोइराला निरन्तर सिर्जनामा रमाइरहने स्रष्टा हुन् । उनी मरुभूमिमा दिनभरिको तातो पिएर फुर्सदमा साहित्यको शीतलतामा रमाइरहेका छन् । उनी पत्रकार झैँ निरन्तर लेखिरहन्छन् तर उनका हरेक लेखनहरू समाचार बन्नबाट जोगिएका छन् । विषयको हिसाबमा नारायण कोइरालाका हरेक लघुकथाहरू युगान्तकारी झैँ छन् ।

मरुभूमिमा विस्फोट लघुकृतिमा विसङ्गति, विकृति र व्यङ्ग प्रचुर मात्रामा पाइन्छ । समाजमा भएका र भोगेका विषयहरूलाई सामाजिक रूपमा नै लिएर कथानकतामा केही कल्पनाको रङ र लेप लगाएर नारायण कोइरालाले आफ्ना प्रत्येक लघुकथाहरू तुरेका छन् । नारी संवेदना, स्खलित राजनीति र वैदेशिक पीडा र युवा मनको हुटहुटी कोइरालाका कथाहरूमा स्वैरकल्पनासहित आएको पाइन्छ ।

पहिलो कृति जन्माउन हरेक स्रष्टाहरूले आतुर गरेको देखिन्छ । यो स्वाभाविक पनि हो । किनकि कृतिबाट नै परिचय स्थापित हुन सहयोग पुग्छ । तर पहिलो कृति हतारमा निस्किए पनि बाँकी कृतिहरूको प्रकाशनमा आतुरताको आवश्यकता छैन । आतुरताले स्रष्टाको कमजोरीलाई प्रष्टसँग पाठकसामु उभ्याइदिन्छ । “मरुभूमिमा विस्फोट’ लघुकथामा पनि केही कमी कमजोरीहरू हतारकै कारणले प्रस्ट देखिएका छन् ।

तर स्रष्टाको पहिलो लघुकथा कृतिलाई पाठकसामु पुर्याउने मोहलाई रोकिदियो भने स्रष्टाको मोह भङ्ग हुन सक्छ । तसर्थ यस कृति प्रकाशनमा नारायण कोइरालालाई जजसले साथ, सहयोग र सुझावहरू दिए नारायणको हौसला बढाउने काम मात्र गरियो । र, उनको लेखनीमा देखिएको सम्भावनाहरूको मात्र खोजी गरियो । पाठकहरूलाई पनि यस कृतिमा लघुकथाकार नारायण कोइरालाको लेखनीमा भएको  सम्भावनाहरू खोजी गरिदिन अनुरोध गर्दछु ।

नारायण कोइरालाको लेखनमा देखिएको ईश्वरीय देन भनेको उनको कल्पनाशीलता नै हो । कथा बुन्न, बुनेको कथामा पात्रहरूलाई उपयुक्त भूमिका दिन र कथाको अन्त्य गर्न लघुकथाकार  खप्पिस छन् । तर उनको कमजोरी भनेको भाषामा देखिएको मिठासपन हो ।

नारायण कोइराला लघुकथामा राम्रो सम्भावना बोकेको स्रष्टा हुन् ।  उनले चालेको पहिलो पाइलादेखि उनलाई हेरिरहेको छु मैले । कति ठाउँमा उनी लड्छन् । उड्छन् ।  हिँड्छन् । प्रत्येक लडाइ, उठाइ र हिँडाइमा उनी सम्भावनाको जीतको बिकुल फुक्छन् । यहाँ सम्भावनाको जीतको बिकुल फुक्नेहरूको नै जीत भएको छ ।

म नारायणलाई नेपाली लघुकथामा उदाउँदै गरेको एक नारायण देखिरहेको छु । यदि नारायणले लघुकथालाई नै आफ्नो प्रमुख विधा बनाई  निरन्तर लाग्ने हो भने नेपाली साहित्यमा भोलिको सफल लघुकथाकारमा नारायण कोइरालाको साँच्चै नै नारायण बनेर अग्रपङ्क्तिमा देखिने सम्भावना प्रस्ट छ । तर यो प्रस्ट सम्भावनालाई नारायण कोइराले राम्रोसँग बुझेर विविध लघुकथाहरूको अध्ययन र अभ्यासको खाँचो छ । आफ्नै पहिलो कृति मरुभूमि विस्फोट कृतिमा रहेको कल्पनाशीलतालाई जोगाई लघुकथामा नारायण कोइरालाले आफ्नो अलग धार बनाउन सक्छन् ।

नारायणलाई नयाँ सम्भावनाको लागि अग्रिम शुभकामना ।