प्रविधि मान्छेको सुविधाको लागि हो । तर कस्तो सुविधा ? रमाइलोको नाममा होस् वा बौद्धिकता प्रदर्शनको नाममा, कसैको चरित्रहत्या गर्ने सुविधाकाे अवसर । उदाहरण नजिकै छ, चाहे त्यो सरकारी नम्बर प्लेटको बाइकमा बसेकी महिला हुन् वा युट्युबरसँग जोडेर सञ्जालमार्फत् गरिएको बालआश्रम चलाएर बसेकी एक महिलाकाे चीरहरण ।  गोप्य भिडियो बाहिरिएपछि आत्महत्या गर्न बाध्य युवती हुन् वा समाजसंरचनाका कारण दस महिनासम्म कोखमा ठाउँ दिएर पनि पहिचान दिन अफ्ठ्याराे भएकी कलिली आमा ।

अरु त अरु प्रविधिले आत्महत्यालाई पनि प्रचारमुखी बनाइिदएकाे छ । मरेपछि पनि भाइरल हुने लाेभका कारण हामीले दुर्दान्त दृश्य देख्नु परेकाे छ । उदाहरणका रूपमा केही समयअघि समाजिक सञ्जाल फेसबुकमा आएर आत्महत्या गर्ने कलकलाउँदा अनुहारहरूलाई लिन सकिन्छ ।

प्रविधिले सजिलो मात्र हैन, सस्तो पनि बनाइदिएको छ । संवेदना त छ, तर लाइक, कमेन्ट र सेयरको गणनामा अल्झिएका हामीलाई संवेदनाहीन बनाइदिएको छ । हामी संवेदनाको व्यापार गरिरहेका छौँ, लाइक, कमेन्ट र सेयरको भाउमा । चाहे त्यो मृत्युजनित होस् वा जीवनजनित । हामीलाई भाइरलरुपी चर्चाले यस्तो बनाइदिइसकेको छ कि, यसका लागि जे पनि गर्न सक्छौँ, जे पनि लेख्न सक्छौँ । आफू नाङ्गिनु वा अरूलाई नङ्ग्याउनु सामान्य नै बनिसक्यो, मृत्युलाई पनि लाइभमार्फत् नाङ्गो र उदाङ्गो बनाइदिन पछि पर्दैनौँ हामी ।

“नयाँ नेपालीको कोरिया काण्ड, चाहिन्छ भने इन्बक्स गर्नुहोस्,”, ठ्याक्कै यही त नहोला, मेरा केही फेसबुके मित्रहरुले यस्तै भावका स्टाटसहरु अपडेट गरिरहेका हुन्छन् । र, हामीहरुमध्ये धेरैको चेतनाको उदांगो रुप पनि यही  हो । केही समाजले अनैतिकको कसीमा कसेको वा गोप्य अंगहरुको दृष्य वा यौनक्रियासम्बन्धी अडियो अथवा भिडियो देखिहाल्यौँ भने हामीलाई आफूले मात्र हेरेर पुग्दैन । कमसेकम आफ्ना नजिकका साथीभाइसम्म पुर्याउनै पर्छ । तर हाम्रो चेतना यति कमजोर छ कि हाम्रो त्यस किसिमका क्रियाकलापले सम्बन्धित व्यक्तिमा कस्तो असर पुर्याइरहेको छ वा पुर्याउन सक्छ सम्म सोच्न सक्दैनौँ । यौनलाई अझ कुण्ठित बनाएर कसैको विगत र भविष्यमाथि धावा बोलेका स्टाटस अपडेट गरेर खै किन मेराे पुस्ता आफूलाई अपडेटेड सम्झन्छ ? कारण के हाे ? मलाई थाहा छैन ।

कृष्ण ढुङ्गेल

नारी हकहितका बारेमा चर्को वकालत गर्ने भौतिक रुपमै  नजिकै रहेकी अर्की एक साथी छिन् । केही समयअघि एउटी युवतीको फोटो सञ्जालभरि भाइरल भयो । कारण उही, कारणवश उनको पनि यौनजन्य क्लिप बाहिरिएको रहेछ । पछि उनले आत्महत्या नै गरिछन् । त्यही परिवेशमा ती मेरी साथीले फेसबुकमा स्टाटस लेखिन् । स्टाटस ती आत्महत्या गर्ने युवतीकै पक्षमा थियो । महिलाको पक्षमा थियो । तर उनले पनि स्टाटसका साथमा त्यही फोटो टाँसिदिइन् जुन सञ्जालभरि भाइरल थियो, अघिल्लो दिनसम्म । अनुहार ब्लर नगरिएको प्रस्ट फोटो ।

ती साथी उदाहरणमात्र हुन्, आफूलाई आधुनिक र बौद्धिक देखाउन र भनाउन हामीमध्ये धेरै यो बाटोमा छौँ । शारीरिक आवश्यकताको सबैको हो, कसैको बाहिरिन्छ कसैकाे बाहिरिँदैन, कुरा त्यतिमात्रै हाे । तर सञ्जालमा पक्ष र विपक्षमा स्टाटसहरू यसरी अपटेड हुन्छन्, मानाैँ नबाहिरिएका युवाहरू सबै चाेखा छाैँ ।

आखिरमा ती आत्महत्या गर्न विवश युवतीको मृत्युको जिम्मेवार को ? भिडियो बाहिर ल्याउने व्यक्ति कि तपाईँ या म ? मलाई थाहा छैन ।

त्यसमध्येका केही अभिव्यक्तिहरु त यतिसम्म तुच्छ थिए कि जुन चार जना मानिसका बीच बोल्न सकिन्नँ ।

रुकुम घटनाले सञ्जाल मात्रै होइन थोरै मात्र पनि मानवीय संवेदना हुनेहरुलाई नमज्जाले ततायो । रुवायो । तर त्यो समयमा पनि केही मान्छेहरु “हुल बाँधिएर केटी भगाउन गएपछि नमारेर के गर्छन् त !” जस्ता संवेदनाशून्य कु(तर्क)का साथ समाजिक सञ्जालमा कुर्लिए । सञ्जाल नवराज विकको पक्ष र विपक्षमा बाँडियो । यस घटनाको मुख्य उपलब्धि भने नवपुस्तामा जाति व्यवस्थाप्रतिको चेतलाई फराकिलो बनायो । म स्वयंले पनि यस विषयमा रहेर अन्तर्वार्ता गरेँ र त्यस घटनालाई लिएर नवराजकी प्रेमिकालाई भाइरल गराइयो, तुच्छ आलोचनाभन्दा पनि गालीका साथ (म यहाँ रुकुमको नरसंहारको पक्षमा लेख्दै छैन) । हो, त्यस घटनामा उनी पनि जोडिइन्, तर सञ्जालमा आफूलाई हरेक क्षेत्रका विज्ञ ठान्नेहरुले (सबै होइन) संवेदनाशून्य भएर ती किशोरमाथि पोखिए । त्यसमध्येका केही अभिव्यक्तिहरु त यतिसम्म तुच्छ थिए कि जुन चार जना मानिसका बीच बोल्न सकिन्नँ ।

यहाँ केही प्रश्नहरु जन्मन्छन्, ती युवती नवराजलाई प्रेम गर्थिन् नै भने पनि समाज व्यवस्थाले उनलाई बोल्न दिन्थ्यो ? तँछाडमछाड गर्दै अन्तर्वार्ता लिन पुगेकाहरुले प्रसारित गरेका उनका आवाजहरू ती युवतीकै थियो ? कि उनीमाथि पनि अनेकन दबाबहरु थिए ? भन्न त भनिदिँदा हुन्छ, बोल्न नसक्नेले किन प्रेमको नाटक गर्नु ? तर हाम्रो समाज संरचनाका बारेमा थोरै मात्र चेतना हुने हो भने उनको आन्तरिक द्वन्द्व बाहिर आउन सक्थे होला । एक किशोरीको उछितो खन्न हामी लागि पर्ने थिएनौँ सायद । मान्छे किन प्रविधिको अस्तव्यस्त प्रयोगसँगै संवेदनाहीन बनिरहेको छ ? मलाई थाहा छैन ।

घटना पुरानो होइन, एउटा सरकारी नम्बर प्लेटको बाइकमा सावार महिलाको ढाड सञ्जालमा भाइरल बनिहाल्यो । मेरो फेसबुकमै भएका केही बुद्धिजीवीहरुले पनि उक्त कार्यको चर्को विरोध गर्न भ्याइहाल्नुभयो । तर अचम्मको कुरो के भने, त्यो विरोध सरकारी बाइकलाई नभएर युवतीले लाएको कपडामा लक्षित थियो । उनीहरुले सरकारी बाइकमा ढाडको केही भाग देखिने कपडा लगाएर बस्नु थियो । के सरकारी बाइकमा चढ्नका लागि विशेष पोसाक चाहिन्छ ?, कि सरकारी बाइकमा जागिर स्वयं मात्र बस्ने हो ? सरकारी जागिरेको चाहिँ परिवार, आफन्त, साथीभाइ वा प्रेमिका हुँदैनन् ? कि त्यसको प्रयोगका लागि बेग्लै बाइक किन्ने हो ? अथवा त्यसो नभएर अफिस आउने जाने समयमा कसैले लिफ्ट मागे के गर्ने ? कपडा हेर्ने ? यी प्रश्नहरुको उत्तर कसले खोज्ने ? कसले दिने ? मलाई थाहा छैन ।

समाज र समाजका सभ्य भनिन रुचाउने हामीबाटै विकसित मान्यताले अहिलेसम्म जरो गाडेको छ, जसका कारणले एक महिला दस महिनासम्म पेटमा ठाउँ दिएको बच्चालाई नाम दिने आँट गर्न सक्दिनन्।

गएकाे एक-दुइ महिनाभित्र घटेका यी  प्रतिनिधिमूलक घटनाहरु हुन् त्यसमा पीडितहरू महिला मात्र छन् । र, त्यसका कारण अरू काेही हाेइन, महरू हाैँ । समाज र समाजका सभ्य भनिन रुचाउने हामीबाटै विकसित मान्यताले अहिलेसम्म जरो गाडेको छ, जसका कारणले एक महिला दस महिनासम्म पेटमा ठाउँ दिएको बच्चालाई नाम दिने आँट गर्न सक्दिनन्। यहाँ पनि हामी भन्न पछि पर्दैनौँ,  नाम दिन नसक्नेले बच्चा किन जन्माउनु ?

समाजिक सञ्जाल चलाउँदै जाँदा पुस्पा अधिकारीको बालआश्रमसँग जोडिको घटनासँग सम्बन्धित एउटा स्क्रिन सट देखेँ । एक महिलाको वालको सट खिचेर कुनै पुरूषले आफ्नो वालमा त्याे सट राख्नुभएको थियो ।

“म पनि ५ वर्ष विदेश बसेर आएको हुँ । घरमै काम गरेकी हुँ । त्यहाँका मालिकहरु कस्ता हुने भन्ने कुरो आफूमा भर पर्ने कुरा हो । आफू ठीक बसे सबै ठीक हुन्छ…।”, उक्त स्क्रिन सट सेयर गर्ने मित्रले आफू ओभानो बन्न महिलाकै स्टाटस सेयर गर्नु भएको प्रस्ट हुन्थ्याे तर दुवैका चेतनास्तर एकै हो । आफूलाइ फरक देखाउन हामी किन अरुको सहारा लिन्छौँ ? मलाई थाहा छैन ।

हामी अझै पनि महिलालाई डमीसहर प्रयोग गर्ने चिन्तनबाट ग्रसित छौँ । मानौँ, ती युवतीले यौनसुखकै क्रममा मातृत्व ग्रहण गर्न पुगिन् । स्वःइच्छाले यौनजन्य क्रियाकलापमा सहभागी भइन् । पेटमा बच्चा आयो । मातृत्वजनित संवेदनाले फाल्न सकिनन् र जन्म दिइन् तर तपाईँ हामीमध्येकै कसैले त्यो जन्म स्वीकारेन, मात्र यौनसुख स्वीकार गर्यो । अब यहाँ पीडित को ? महान् को ? त्यो बच्चा बालआश्रमसम्म पुग्नुमा कुनै पुरुषको हात कति ? परम्परा र मान्यताका रुपमा पीडितलाई नै दमन गर्ने समाजको कति ? अनि नारीलाई देवीको उपमा दिने तर दर्जा आफू बराबरको दिन नसक्ने तपाईँ मेरो सोचको कति ? उत्तर खोज्नेबेला भएको छ ।

सानाे छँदाको एउटा घटना ताजै छ, मनसपटलमा । गाउँकाे एउटा घरकाे मलखाद बनाउने ठाउँमा  भर्खरै जन्मिएको, तर मृत बच्चा भेटियो । पछि बुझ्दै जाँदा त्यसै घरकी अविवाहित छोरीले सन्तान जन्माएर मलखादमा पुरेकी रहिछन् । मारेर पुरिन वा मरेकै जन्मेको थियो र पुरिन, त्यो उनै जानून् ।

गाउँमा अनौठो हल्ला चल्यो– कहाँबाट जन्माई ? पेट त सापसुप थियो । अपराधी नै रैछ । कस्ती नकचरी ? र यस्तै यस्तै ।

छोरीलाई सबल नबनाउँदै सक्षम ज्वाइँको खोजीमा लागुन्जेल उल्लेखित नियतिहरु अनेकरुपमा दोहोरिरहने छन् ।

तर त्यो बच्चा मलखादमा किन भेटियो ? यदि हाम्रो चेतनाको स्तर उच्च हुन्थ्यो र त्यो बच्चाको अस्तित्वलाई सहजै स्वीकार गर्न सक्थ्यो भने उक्त बच्चा ती युवतीकाे काखमा भेटिने थियो । कार्टुनमा भेटिएको बच्चा पनि आफ्नै आमाको काखमा भेटिन्थ्यो । कुनै प्रपञ्चको जरुरत नै पर्ने थिएन । कसैले टाउको दुखाउनै पर्ने थिएन । तर बारबार यस्ता घटनाहरुलाई बढिरहँदा पनि चर्को आवाजमा बहस गर्ने हामी चेतनामा झिनो परिवर्तन गर्न किन अग्रसर छैनौँ ? मलाई थाहा छैन ।

अँ, अन्तमा यति भनौँ, नारी सशक्तिकरणका लागि आमा पुस्ता बलियो बनेर आउन जरुरी छ । बनाउन जरुरी छ । आमा पुस्ता सबल भएपछि नै हो छोराछोरीको हैसियतमा समानता आउने । तर यहाँ म सबै दोष आमा पुस्तालाई दिँदै छैन । बस्, भन्नु यति हो कि विद्रोह घरघरबाट हुन जरुरी छ । आमाबाट हुन जरुरी छ । छोरीलाई सबल नबनाउँदै सक्षम ज्वाइँको खोजीमा लागुन्जेल उल्लेखित नियतिहरु अनेकरुपमा दोहोरिरहने छन् ।