रथ शृङ्गवेरपुर पुग्यो । त्यहाँ कुसुण्डाहरूको बस्ती थियो । त्यहाँका राजा गुह थिए । रामको सवारी भयो । सब औधि खुसी भए । सबै वन–जङ्गलको कोसेली लिएर दर्शन गर्न आए । कैकेयीले पाएको वरदान बारेमा सुने । रामले जङ्गलमा नै वास बस्नुपर्ने भयो । एउटा ठूलो सीसौका रूखमुनि राज गराउने ठहरियो । पात–पतिङ्गर कुश झारको बिछ्यौना बन्यो । कन्दमूल फलफूल ज्यूनारका लागि ठीक गराए । ठाउँठाउँमा पालो पहराको बन्दोबस्त गरे । तर त्यसरी रामले दुःख पाएको देखेर गुहलाई साह्रै पीर प¥यो । लक्ष्मणले सम्झाए । दोष कसैलाई दिन हुन्न । जस्तो कर्म ग¥यो उस्तै फल पाइन्छ । यही कुरा गुहले बुझे ।

रामको गङ्गापार जाने विचार भयो । सुमन्त्रलाई फर्काउन साह्रै मुस्किल प¥यो । रामलाई छाडी बनवासबाट फर्कदा दशरथको प्राण रहँदैन भन्ने उनलाई थाहा थियो । हुन पनि सुमन्त्रलाई एक्लै फर्केको देखेर दशरथ मुर्छा परे । राम राम भन्दै प्राण पनि त्यागिदिए ।

मावलीमा रहेका भरतलाई बोलाउन दूत गए । भरत र शत्रुघ्न दुवै भाइलाई कहिले अयोध्या पुगौंला भएको थियो । उनीहरूका मनमा कत्ति शान्ति थिएन । केही कुरा पनि राम्रो लागेको थिएन । फर्कंदा बाटामा पनि नराम्रै कुरा मात्र देखे । कैकेयीले भरत र शत्रुघ्नको स्वागत गरिन् । छोरालाई राजा तुल्याएर सयल गरूँला भन्ने थियो ।

भरतलाई जताततै शून्य लाग्यो । मुमाबाट दशरथको स्वर्गवास भएको सुन्नासाथ विलाप गर्न लागे । त्यसमाथि राम वनवासको सबै कुरा सुने । घाउमा नुन छरेजस्तो भयो । मुमाले नै सबै कुरा गराएको भन्ने के बुझेथे, साह्रै दिक्क भए ।

राममाथि उनको ज्यादै भक्ति थियो । दाजुको सेवा गर्नु नै उनको मुख्य काम थियो । आज त्यस्तालाई वन पठाएर आफूलाई राजा तुल्याउन खोजेको रहेछ ।

धिक्कार ! धिक्कार !! भनेर आफूलाई पनि धिक्कारे । उनले आमालाई पनि धिक्कारे । दशरथ राजाको काजकिरिया भयो । गुरु पुरोहितले उनलाई राजा बन्न सम्झाए । मुमाहरूले उनलाई भन्नसम्म भने । मन्त्रीहरूले कति कोसिस गरे । केही लागेन । राजा बन्न केही गरे पनि मानेनन् ।

लक्ष्मण र सीताजीलाई लिएर रामचन्द्र चित्रकूटमा हुनुहुन्थ्यो । सबैलाई लिएर उहीं जाने कुरा भयो । रामलाई नै हातजोडी फर्काउने पक्का भयो । रामसँग फेरि भेट हुने भयो । यस्तो यो मौका गुमाउने को ? ठूलो लस्कर पछि लाग्यो । बाटामा गुहसँग भेट भयो । उनी एउटा नीच जातका थिए । भरतले रामको प्रेमी भन्ने नाताले अङ्कमाल गरे ।

भरतले रामचन्द्र वास बसेको रूख देखे । पात–पतिङ्गर कुशको बिछ्यौना देखे । पैतालाको चिह्नहरूको छापा नमेटिएर त्यसै रहेको देखे । उनले ज्यादै विलाप गरे । त्यसपछि उनले जुत्ता खराउ पनि लगाएनन् । पालकी घोडा पनि चढेनन् । पैदल नाङ्गै खुट्टाले रामलाई सम्झदै गए । रुँदै अघि बढे । रामले रात बिताएका र नुहाएका ठाउँहरू ढोग्दै गए । प्रयागमा भारद्वाज ऋषिको आश्रम थियो । भरतको रामप्रतिको भक्ति र प्रेम देखेर सबै छक्क परे । भरतलाई अरू कुनै कुराको पीर थिएन । उनले गरेर रामले दुःख पाएको सम्झन्थे, दिक्क हुन्थे । राम, सीता र लक्ष्मणलाई वनमा तकलिफ ज्यादै सहनुपर्यो । त्यसको मूल कारणी भरतले आफूलाई नै सम्झेका थिए ।

चित्रकूट पहाडको चुचुरो देख्नेबित्तिकै भरतले ढोग गरे । उता रामलाई पनि भरत आउन लागेको खबर पुग्यो । यसरी लस्कर लिएर भरत आइरहेछन्, किन होला भन्ने चिन्ता पनि प¥यो । लक्ष्मणले रामसँग लड्न आएको भनिठाने । वनमा रामलाई एक्लै पाएर सिध्याउन आए । “भरत र भरतको फौजलाई खत्तम पार्छु” आज्ञा पाऊँ भनी लक्ष्मण भन्दै थिए । रामलाई कत्ति पनि विश्वास भएन । भरतको भावै अर्को थियो । रामले भरतलाई राम्ररी चिनेका थिए । भरतलाई राजमद आउँदैन भन्ने पक्का थियो । हुन पनि रामलाई सबैको मनको कुरा थाहा थियो ।

भरतले रामको पर्णकुटी देखे । टाडैबाट पाउको चिन्ह देख्नेबित्तिकै राममाथिको उनको प्रेम उम्लेर आयो । वरिपरि ऋषिमुनिहरू राखेर श्री राम राज हुने भएको थियो । भरतले दण्डवत् गरे । रामको नजर भरतमा पर्नासाथ जुरुक्क उठेर भाइलाई अङ्कमाल गर्नुभयो । त्यसबेलाको आनन्द कसले वर्णन गरोस् ! आएकाजतिसँग रामको भेटघाट भयो ।

चित्रकूटमा भरतबाट रामचन्द्रलाई अयोध्या फकार्उने धेरै कोशिस भयो । राम आफ्नो वचनमा अडिग रहनुभयो । प्राण जाओस्, वचन नजाओस् भन्नुहुन्थ्यो । बुवाको प्रतिज्ञा पनि राख्नु थियो । भरतले नै आफ्नो चित्त बुझाउनु पर्यो ।

आफ्नो चित्त बुझाएर रामको खराउ लिएर भरत अयोध्या फर्किए । १४ वर्ष वनवासको समय थियो । त्यस बेलासम्म भरतले राज्य चलाउने भए । उनले दाजुको आज्ञा शिरोपर गरे । अयोध्यामा आएर सुखसयल गरेर राज्य गरेनन् । उनी राजदरबारमा पनि पसेनन् । सहरबाहिर नन्दिग्राममा एउटा मामुली भवनमा दाजुको खराउलाई सिंहासनमा राखेर राजकाज गर्न लागे । दाजु रामलाई कहिल्यै बिर्सेनन् । आफूले गर्नुपर्ने काम पनि गरिरहे । जे सुख भोगेको भए पनि रोक्ने कोही थिएन । परन्तु उनी रूखा सुखा चोखो खाएर खस्रो धस्रो लाएर नै बसे ।

===

सम्पादकीय

– उत्तमप्रसाद पन्त (सम्पादन)

सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।

बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।

बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।

पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्‍याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।

अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्‍याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।