१. विक्रम संवत् २०३० सालमा मैले एस. एल. सी. परीक्षा दिएको थिएँ । एस. एल. सी. परीक्षापछि परीक्षाफल कुर्नुबाहेक केही काम हुँदैनथ्यो । त्यो बिदाको समयमा अहिले कम्प्युटर सिक्न गए जस्तै टाइपराटरमा टाइप गर्ने, अंग्रजी भाषा सिक्ने, वा आफूलाई मन परेको गीत गाउन सिक्ने, आदि चलन थियो । म पनि यस्तै यस्तै सिकाइमा थिएँ । मेरो छिमेकमा एक जना दाजु काठमाडौं वीरगञ्ज चल्ने मालगाडी चलाउनु हुन्थ्यो । उहाँले वीरगंज घुम्न जाने हो भनेर सोध्नु भयो, मैले खुसी हुँदै स्वीकारें । उहाँले चलाउने गाडीको अगाडि सिटमा राखेर बाइरोडको बाटो अर्थात् थानकोट, खानीखोला, सातघुम्ती , टिस्टुंग, पालुंग, दामन, सिम भन्ज्यांग, अघोर, महावीर, हेटौंडा, अमलेखगञ्ज, सिमरा, परवानीपुर वीरगञ्ज, रक्सौल ठाउँ ठाउँमा रोक्दै देखाउँदै लैजानु भयो । त्यो मेरो जीवनको पहिलो यात्रा मात्र नभई रक्सौलसम्म पुगेको हुनाले पहिलो विदेश यात्रा पनि थियो । यताबाट प्रायः गाडीहरू खाली जान्थे भने उताबाट सामानको भारीसहित आउथे । ती दाजुले फर्केर आउँदा मलाई दामन टावर देखाउन लैजानु भयो । दामन चिसो ठाउँ त थियो नै ,हुस्सु लागेको थियो । एक जना अग्लो मान्छेले हातमा टिकट थमाइदिए , त्यही लिएर दामन टावर चढियो । त्यतिखेरै मलाई लैजाने दाइले भन्नुभयो- यही हो रूपचन्द्र बिष्ट ।
यसरी पहिलोपल्ट रूपचन्द्र बिष्ट को हुन् भन्ने नबुझ्दै यसरी चिनेको थिएँ ।
२. नैकाप घर थियो, कुनै न कुनै कामले थानकोट गइरहनु पथ्र्यो । कालिमाटी, सुन्धारा त हाम्रो सहर आउने मूलबाटो नै थियो । सुन्धारा हाल सिभिल मल भएतर्फ बाइरोड जाने बस पाइन्थ्यो, बसको टिकट काउन्टर पनि त्यहीँ नै थियो । सबैजसो बस काउण्टरमा एउटा चित्रसहितको साइन बोर्ड हुन्थ्यो । त्यो चित्र हुन्थ्यो दामनको सडक र भ्यूटावरको । सबैले लामो दूरीको बस चढ्न जाने ठाउँ नै सुन्धारा थियो । त्यतिखेर ती भारतीय गाडीमा टाटा होइन मर्सिडीज कम्पनीको लोगो हुन्थ्यो ।
एकताका ती लामो दूरीको सबैजसो बसको निधारमा ‘थाहा’ लेखियो । किन लेखियो ‘थाहा’ के हो त थाहा थिएन । तर जताततै ‘थाहा’ले आतंकित पारेको थियो । थाहाको त्यो प्रचार अहिलेको कुनै बहुरार्ष्ट्रिय कम्पनीको विज्ञापनभन्दा कम थिएन । साधारण मानिसहरू ‘के हो थाहा ?’ भनेर सोध्थे । बुझ्नेले अर्थ बुझ्थे होलान् । नबुझ्नेले यही रूपचन रूपचन्द्रलाई मान्छेहरूले बोलाउने सजिलो नाम होला भन्थे । समय यति खुकुलो थिएन । हाम्रो टोल छिमेकमा हामीभन्दा उमेरदार दाजुहरू प्रतिबन्धित राजनीतिका कुरा गर्न नै डराउँथे । पुलिसको दबदबा चर्को थियो । एउटा पासपोर्ट लिन छ महिना लाग्थ्यो । त्यसका लागि पुलिसको गोप्य रिपोर्ट सम्बन्धित ठाउँमा पुगेपछि मात्र पाइन्थ्यो । त्यतिबेला यो थाहामय बसहरू मेरा लागि एक अनौठो रोमान्चकारी जानकारी मात्र थियो ।
३. नैकापमा कार्की थरका छिमेकी काकाको घरमा बिहेको भोज थियो । पहिले बिहे भोज अहिले जस्तो पार्टी पालेसमा हुने होइन । सकेसम्म आफ्नो आँगन र सँगै जोडिएको बारीका पाटामा हुन्थ्यो । अहिले जस्तो, किसिम किसिमका खानाका प्रकार पनि हुँदैनथ्यो । साधारण खाना नै हुन्थ्यो । काकाले मेरो राजनैतिक र अक्षर चिनाउने गुरु पनि उहाँ नै हुनुहुन्छ भनेर सबैलाइ चिनाउनु भयो । रूपचन्द्र बिष्ट आफ्ना चेलाको घरमा आउनुभएको रहेछ । उहाँले कुनै बेला नैकापको मंगल प्राथमिक विद्यालयमा पढाउनुभएको रहेछ । ती काका त्यतिबेलैका चेला हुनुहुँदो रहेछ ।
४. रुदानेले राष्टिय पञ्चायतमा फलानो फलानो कुरामा थाहा चाहियो भने रे भनेर खुब सुनियो । के थाहा के थाहा । तर हामीले पनि बोलीचालीमा थाहा चाहियो भनेर भन्थ्यौँ । थाहा चाहियो भन्नु एउटा थेगो जस्तो भएको थियो ।
५. रुदानेलाइ मैले चिन्न थालेँ, मैले पो चिनेँ उनले चिन्ने सम्भावना त थिएन । रुदानेलाई थाहा लेखिएको स्कूटरमा देखिन थाले । सबैलाई तँ भन्थे । भाते भन्थे । नेपालीमा भाते भनेर गाली गर्ने पनि चलन थियो त्यतिबेला , तर उनको भातेको अर्थ हुन्थ्यो भातै खानका लागि जिउने र दास हुने मान्छे । के गरी खान्छस्, दालभात भन्दा माथि उठ भन्ने उनको आक्रोशपूर्ण सन्देश हुन्थ्यो ।
सम्भवतः मानिसहरूको सोच एक्लै खाउँ पिउँ भन्ने भयो, आफैँ खान लाउन त पशुले मात्रै गर्छ, त्योभन्दा माथि उठ भन्ने उनको भनाइ थियो ।
६. मैले रूपचन्द्र बिष्टलाई एकअर्कालाई चिन्ने गरी भेटेको वि. सं. २०५२ सालतिर हो । त्यतिखेर कालीमाटीतिर हाम्रो एउटा अफिस थियो । त्यो अफिसमा हामी चार जना संचालक थियौँ तर दैनिक रूपमा हेर्ने जिम्मेवारी मेरो थियो । उनी त्यो अफिसमा आइरहन्थे । एक दुई घण्टा बस्थे । मेरो दैनिक कार्यमा बाधा दिँदैनथे । अफिसमा कालो जडीबुटीको चियाको व्यवस्था थियो । तातोपानीमा चियापत्ती हाल्यो, बिस्तारै भिज्थ्यो र पिउने गथ्र्यौ । उहाँ आउनु भए पछि हामीले दिने त्यही हर्बल चिया थियो । त्योबेला उहाँ सबै किसिमले निष्क्रिय, निरास हुनुहुन्थ्यो । एक्लै जीवन बिताइरहनु भएको थियो । उहाँ हाम्रो अफिसमा आउने भएपछि म पनि उहाँको घरमा जान थालेँ । उहाँको घर लथालिङ्ग थियो । घर चारतल्लाको थियो, छेउमा एउटा जस्ताको टहरा थियो । घर खाली नै थियो तर उनी बस्थे जस्ताको टहरामा । आँगनभरि विभिन्न सामानहरू थियो । मैले देख्दा अलि मूल्य पर्ने भनेका अगराठका काठ थियो । अरू यति धेरै सामान थियो कि त्यसको उपयोगिता हुनै सक्दैनथ्यो जस्तो लाग्थ्यो मलाई । धाराबाट आएको पानी आल्मोनियमको पुरानो बाटा र डेक्चीमा थियो । एउटा मट्टीतेलको स्टोभ थियो । खाना पकाउने त्यस्तै पुरानो डेक्ची थियो । मिनरल वाटरको बोतल आधा काटेर पिँधपट्टिको भागले पानी उभाउने गर्थे । मैलो लुगा लगाउँथे , दारी काट्दैनथे । मनपरी खान्थे पिउँथे । स्वास्थ्यको पटक्कै ख्याल गरेको देखिनँ । त्योबेला मैले उनलाइ भेट्न आउने कोही मान्छे देखिनँ । उनी स्वस्थ हुन भनेर उनलाई सहयोग गर्न चाहने पनि कोही देखिनँ ।
मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे ।
एकदिन उहाँको घर गएको थिएँ, उहाँलाई ज्वरो आएको रहेछ । चिसोले खकार पनि जमेको थियो । मैले अस्पताल जाउँ भनेको मान्नु भएन । कालिमाटीकै कुनै औषधी पसलबाट काम चलाउनु हुँदो रहेछ । मैले जिद्दी गरेर नजिकै बाफल गाइबाच्छापाटीमा डा. अरुण सायमिकहाँ लगेँ । उनलाई खकार यति धेरै थियो कि खकार आउनासाथ हाक् थु गर्न आँगनमा जान्थे । पहिलोपटक लैजाँदा उनको त्यो व्यवहार देखेर अरुणले भने, ‘कस्तो सोमत नभएको मान्छे लिएर आएको तिमीले । थुक्न त बाथरुममा जानु नि ।’
मैले भनेँ, ‘तिमीले खकारै नआउने औषधी लेखिदेउ न अनि थुक्दै थुक्दैनन् नि ।’
उनले सोधे, ुको मान्छे हो यो ? कहाँबाट लिएर आएको ?’
मैले कानैमा गएर भनेँ, ‘रुपचन्द्र बिष्ट ।’
उनी झल्यांस्स भए । कस्तो रूप भएछ त । त्यो दिनदेखि डा. अरुणले नियमित निःशूल्क सेवा दिए । उनी स्वस्थ हुँदै गए । उनीसँग औषधी किन्ने पनि पैसा हुँदैनथ्यो । हामी साथीहरू मिलेर व्यहोर्थ्यौ । लामो समय यो प्रक्रिया चल्यो ।
त्यहीताका उहाँको बसाई अलि व्यवस्थित गर्ने बारेमा मेरा नजिकका साथीहरूसँग छलफल गरेँ । त्यस्तो नयाँ कुरा गर्नु पर्ने थिएन । उहाँको घर भाडामा लाइदिनु, पुराना सामान बेचिदिनु, उहाँको बसाईका लागि केही फर्निचर ल्याएर राखिदिनु । मेरा नजिकका मित्रहरू मेरा यी कुरा सुनेर मुखामुख गरे । उनीहरूले भने- तपाईँले कोसिस गरेर हेर्नुस् न ।
त्यसपछि मैले सबैभन्दा पहिले काम नलाग्ने सामान थन्क्याउन प्रयत्न गरेँ । भनेँ, ‘दाइ, यो नचाहिने सामान कवाडीलाई बेचौँ ।’
उनले भने, ‘यो त कवाडीबाट नै किनेर ल्याएको हो । तिमीले चिन्छौ यो के को सामान हो ? यो त हवाइजहाजको फलानो पुर्जा हो, यो हेलिकप्टरको सामान । यो सामानको यति बलियो हुन्छ ।’, उनी ती कवाडी सामान हटाउन तयार नै भएनन् । अर्को भाषामा भन्दाखेरी मैले उनको विश्वास नै जित्न सकिनँ । मैले उनको मिनरल वाटरको आधा पिँध फालेर पानी उभाउने अर्को भाँडो राखिदिएँ । उनी रिसाए । मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ । त्यो समय उहाँलाई अनुभूत हुनेगरी माया गर्ने मानिसहरूको खाँचो थियो । उनका चेलाहरू कुरा उनका जस्ता गर्ने काम कुराको विपरित गर्न थालिसकेका थिए । वास्तवमा उनकै शब्द प्रयोग गर्ने हो भने भाते भइसकेका थिए ।
मैले उनको सामान व्यवस्थित गर्ने काम गर्न सकिनँ । मैले किन सकिनँ भनेँ म उनको सेवाको लागि मन जितेर लाग्न सकिनँ ।
विचार निर्माण र सोको लागि भौतिक र मानसिक पुर्वाधारका लागि उनले जीवन दिए तर त्यो अनुरूपको न समूह बन्यो न परिवर्तन भयो । त्यसैले सम्भवतः उनी जीवनसँग थाकेका थिए । उनलाई कमसेकम एक जना उनलाई र उनको विचारलाई माया गर्ने, उनका केही कुरा सहन गर्नसक्ने मानिसको खाँचो थियो । त्यो खालको साथ नपाएकै कारण उनको जीवनको असमयमै अन्त्य भयो ।
उनी ठूला दार्शनिक थिए, उनका कुरा बुझ्न नै समय लाग्थ्यो । उनका बारेमा धेरै संस्मरण र मिथकहरू छन् । जो फेरि फेरि लेख्ने नै छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।