अयोध्याका राजा दशरथ महाराजको राजकाज खुब राम्रोसँग बितिरहेको थियो । विश्वामित्रले यत्रो विवाह गराइदिएका थिए । राजाबाट ऋषिको ठूलो आदर तथा सत्कार भयो । राम र भाइहरूबाट पनि ऋषिको ठूलो सेवा भइरहेको थियो । बडो मुस्किलका साथ ऋषिलाई अयोध्या छाडेर आफ्नो आश्रमतर्फ जान अवसर मिलेको थियो ।

राम र उनका भाइहरूको व्यवहारले सबैलाई रिझाएको थियो । उनीहरू रामलाई अत्यन्तै मान्दथे । हुन पनि रामको बोलाइे, काम गराई असाध्यै राम्रो थियो । कसैको पनि दिल दुखाउन जानेकै थिएनन् । राजकाजमा दशरथलाई पूरा मद्दत मिल्न लाग्यो । सर्वत्र शान्ति थियो । सबैतिर खुसियाली थियो । सबैलाई राम राजा भइदिए हुन्थ्यो भन्ने थियो ।

दशरथका चारै छोराको आफूआफूमा अत्यन्त मेल थियो । रामका भाइहरूमाथि अत्यन्त माया र स्नेह थियो । उनीहरू पनि हुनसम्मको रामको भक्ति गर्दथे । रामको काम गर्न पाए अहोभाग्य सम्झन्थे । भरत र शत्रुघ्नलाई मामाघरबाट लिन आए । केकयदेश ज्यादै टाढा थियो । उनीहरूले हत्ते गरेकाले जान करै लाग्यो । रामलाई छाडेर जान उनीहरूलाई कत्ति मन थिएन ।

एक दिन दशरथ राजालाई आफू ज्यादै बूढो भएको होस भयो । विषयमा डुबिरहेर जिन्दगी बर्बाद गर्नु हुँदैन भन्ने लाग्यो । उनले गुरु वशिष्ठसामु मनका सबै कुरा राखे । गुरुको पनि चित्त बुझ्यो । मन्त्रीहरूसँग पनि सल्लाह लिइयो । अरूसँग पनि सोधियो । रामलाई राज्यभार सुम्पिनेमा सबैले मञ्जुरी दिए । चाँडै उत्सव हुने ठहरियो । सबै चाहिने मालसामान जोर्न थालिहाले । सारा खुसी थिए । सबैले घर बाटो सिँगार्न लागे । ठाउँठाउँमा राम्रा ढोका बने । दरबारैभित्र पनि मण्डप बन्न लाग्यो । ठूलो तयारी थियो । सबै एक न एक काममा लागेका थिए । रामलाई वशिष्ठले खबर गरे। नियममा रहनुपर्ने भयो । त्यत्रो गद्दी पाउने कुराले पनि विशेष केही आनन्द गराएन । रामलाई के कुरा चाहिएको थियो र ?

भोलिपल्ट राज्यभिषेक हुने थियो । सबै खुसी थिए । कहिले भोलि होला भन्नेमा थिए । कैकेयीकी मन्थरा नाम गरेकी एउटी सुसारे थिई । ऊ भने छट्पटिएकी थिई । उसलाई डाहाले त्यसै पोलेको थियो । उसलाई सही सक्नु भएन । ऊ सरासर कैकेयीकहाँ गई र भनी, ‘महारानी, हजुरका छोरा भरत मामाघर गएको मौका पारेर दशरथले रामको राज्याभिषेक गर्न लाग्नुभएको छ । यो सब कौशल्याको जाल हो । भोलिका दिन सौताको गोडा मलेर बस्नुपरेपछि थाहा होला ।’

मन्थराले भन्नु नभन्नु भन्दा पहिले त कैकेयीले झपारिन् । रामले उनलाई हुनसम्म मानेका थिए । पछि सौता–सौताको व्यवहारका कुरा निकालेर आफ्नो वशमा पारी । कैकेयीले राजालाई लडाइँमा ठूलो गुन लगाएकी थिइन् । दुइटा वर दिएको थाती राखेकी थिइन् । मन्थराले त्यही माग्न सिकाई । एउटा रामलाई १४ वर्ष वनवास र अर्को भरतको राज्याभिषेक गराउने माग गर्न भनिन् ।

दशरथ राजा धेरैजसो कैकेयीकहाँ नै बस्थे । बेलुकी उहीँ गए । कैकेयीलाई झुत्रो लुगा लाएर लडीबुडी खेलिरहेकी देखे । उनलाई फुल्याउन जे दिन पनि तयार भए । वचन दिए । कैकेयीले मन्थराले सिकाएबमोजिम मागिहालिन् । सुन्नेबित्तिकै राजालाई हुनसम्म कष्ट भयो । कति सम्झाए । कति बुझाए । केही लागेन । आफ्नो प्राणभन्दा पनि प्यारो छोरालाई अन्त्यमा वनवास पठाउनै पर्‍यो ।

कहाँ कत्रो उत्सवको तयारी भइरहेको त के पो भयो । बाबुको वचन राख्न रामको वन जाने नै अठोट भयो । प्राण जाओस् बरु, वचन नजाओस्, यही रामको कुलको मुख्य कुरो थियो । कौशल्याले के हेर्न खोजेकी थिइन् के पो देखिन् ? छोरालाई वन जान बिदा दिनुपर्‍यो । सीतालाई अयोध्यामै राखेर दु:खकी सँगिनी बनाउँला भनिठानिन् । रामले धेरै सम्झाउँदा पनि सीताले एक रत्ति पनि मानिनन् । वनको दु:खको बयान गर्दा पनि सुन्दै सुनिनन् । पत्नीले पतिको सेवा गर्नु नै ठूलो धर्म हो । दु:ख–सुखमा आधा अंग भएर बस्नु नै पर्दछ । रामलाई आफ्ना देशबाट निकाला त भएकै थियो । वनमा पनि वनवासी भएरै बस्नुपर्ने थियो । पातपतिङ्गर बिछ्याएर सुत्नु, कन्दमूल फलफूल खानु, काँढा कङ्कडमा हिँड्नु कत्रो दु:खको कुरा थियो ।

लक्ष्मणको रामका उपर हुनसम्मको माया थियो । फेरि दाजुलाई उत्तिकै मान्दथे । दुवै भाइ एक ज्यानका थिए । कति सम्झाउँदा पनि लक्ष्मणले अयोध्या बस्न मानेनन् । आमा सुमित्रा पनि रामकी उत्तिकै प्रेमी थिइन् । मानिसको जन्म भएको सार नै राम–सीताको सेवा हो भन्थिन् ।

दशरथको दरबारमा ठूलो भीड लागेको थियो । बाहिर बाटामा पनि सहरवासीहरूको घुइँचो थियो । सबैको अनुहार एक तमासको थियो । सबैको मन रोइरहेको थियो । राम, सीता र लक्ष्मण दशरथसँग बिदाबारी भएर वन जान लागे । दशरथ अचेत थिए । सबैको होस गुम थियो । उता रामलाई भने राज्याभिषेक गर्ने भनेको बेलामा न हर्ष थियो, न अहिले वन जाने बेलामा विस्मातै भयो । सबैसँग हात जोडेर बिदा हुँदै तीनै मूर्ति बाहिर निस्के । सबै ग्वार–ग्वार पछि लागे । जतासुकै रुवावासी सुरु भयो । कति सम्झाउँदा पनि जनताले मानेनन् । प्रजाले छाडेनन् । दशरथले सुमन्त्रलाई रथ हँकाएर पठाए । अलिदिन वन–जङ्गल घुमाएर फर्काउनु भन्ने राजाको आज्ञा थियो । प्रजाहरू रथको पछिपछि लागे । तमसा नदीको किनारामा त्यो रात वास बस्ने ठहरियो । शोक र थकाइले सबै मस्त निद्रामा परिहाले ।

मध्यरात थियो । सुमन्त्रले रथ कसेर ल्याए । राम, सीता र लक्ष्मणलाई लिएर कसैले पत्तै नपाउने गरी वनतिर लागे । बिउँझेर हेर्दा त अयोध्यावासीहरूले रामलाई देखेनन् । यताउता जताततै घोडा र रथको डाम देखे । यतै गए होलान् भनेर भन्न सकेनन् । सबै रुञ्चे मुख लगाएर घर फर्के । ‘रामलाई फेरि कहिले देख्न पाइएला ।’ रामको चिन्तनमै उनीहरूको दिन बित्न लाग्यो ।

===

सम्पादकीय

– उत्तमप्रसाद पन्त (सम्पादन)

सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।

बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।

बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।

पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्‍याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।

अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्‍याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।