मीठाराम मन्त्री भएको खबर सुनेपछि तीतारामले सोच्यो, ‘जान्छु अब, एकचोटि भेटेर आउँछु साथीलाई । मन्त्रीको कुर्सीमा बस्ता कस्तो देखिंदो रहेछ, हेरौं न !’
सुदूर पहाडी गाउँका उनीहरू केटाकेटीमा जुम्ल्याहा जस्ता देखिन्थे । जीउडाल र रूपरंग मात्र होइन, हाँस्ने र बोल्ने तरीका पनि मिल्दोजुल्दो थियो । हितचित्त खूब मिलेका । स्कूल एउटै थियो र कक्षा पनि ।
एक दिन भूमिगत पार्टीले विद्यार्थीहरूलाई रातिराति तालीम दिन थाल्यो । तालीम दिनेहरू जीउ नै जुरुंग पार्ने कुरा गर्थे । सामन्त, वर्गशत्रु, बुर्जुवा, सफाया, न्याय, समानता, अनुशासन, कम्युन, क्रान्ति जस्ता शब्द विद्यार्थीलाई छिटै कण्ठस्थ भए । उनीहरू नेताको आदेश आँखा चिम्लेर पालन गर्न बानी परे । क्रान्तिकारी बन्ने जोशमा तिनले रातबिरात ती सबै कर्म गरे, जसबारे तिनका आमाबाबुले कल्पना पनि गर्न सक्तैनथे ।
चार वर्षको कडा रगडाइपछि दुई छात्रा समेत आठ जनाले कम्युनिस्ट पार्टीको सदस्यता पाए र पढाइ छोडे । संयोग कस्तो भने, आठै जनाको नाम रामसँग जोडिएको थियो । भूमिगत नेताले उनीहरूलाई सातबुँदे प्रतिज्ञापत्रमा रगतको ल्याप्चे लगाई सहीछाप गरायो र सातवटै प्रतिज्ञा जीवनभर कडाइका साथ पालन गर्ने शपथ ख्वायो । उसले भनेको थियो, ‘जसले यी प्रतिज्ञा पालन गर्दैन, उसले क्रान्तिलाई धोखा दिएको ठहरिनेछ र पार्टीले उसलाई गद्दार घोषित गर्नेछ ।’
सात प्रतिज्ञा यसप्रकार थिए : १. बुर्जुवा शिक्षा बहिष्कार गर्नेछु । २. व्यक्तिगत सम्पत्ति राख्नेछैन । ३. धर्म अफीम हो, त्यसमा लाग्नेछैन । ४. नेताको आदेश निरन्तर पालन गर्नेछु । ५. क्रान्तिका लागि बलिदान दिन सधैं तयार रहनेछु । ६. सबैलाई समान ठान्नेछु । ७. कम्युन प्रणाली अपनाउनेछु ।
एक वर्षभित्र तीताराम बाहेक सातै जना पार्टीले खटाएको काम गर्न गाउँ मात्र होइन, जिल्ला नै छोडेर हिंडे । तीताराम भने गाउँमै बस्यो । सात प्रतिज्ञा उसलाई मुखाग्र थिए र तिनको इमानदारीसाथ पालन गरिरह्यो । कम्युन विनाको कम्युनिस्ट र कम्युनिज्म सबैभन्दा ठूलो धोखा हो भन्ने कुरा उसले कहिल्यै बिर्सेन । कम्युन नै खडा गर्न त सकेन उसले, तर छरछिमेकका चार घरसँग मिलेर कम्युनको जीवनशैली अपनाउन थाल्यो । उनीहरू सबै काम आफ्नो योग्यता अनुसार मिलेर गर्थे, एकै खालको कपडा लगाउँथे, एकैनासका ओछयानमा सुत्थे र सामूहिक भान्सामा खान्थे । श्रीमती र सन्तान आआफ्ना थिए, सम्पत्ति साझा ।
बीस वर्ष यसैगरी बिते । यसबीच देशमा राजनीतिक उथलपुथल भयो र उनीहरूको पार्टी सत्तामा पुग्यो । गर्दै जाँदा मीठारामको पनि मन्त्री बन्ने दिन आयो । तीतारामले सम्झ्यो, ऊसँग भेट नभएको पनि बीसै वर्ष भएछ । मनमनै भन्यो, अरू साथीहरूलाई पनि भेट्तै जानुपर्ला । बाटैमा त पर्छन् ।
दश घण्टा पैदल हिंडेर ऊ सर्वप्रथम दयारामकहाँ पुग्यो । देशका विभिन्न भागमा उसका चारवटा मेडिकल कलेज, दुइटा लग्जरी हस्पिटल र तीनवटा इन्जिनीयरिङ कलेज थिए । उच्च राजनीतिक पहुँच भएको शैक्षिक दलालका रूपमा उसले नाम कमाएको थियो । छोराछोरी विदेशमा पढ्थे । आठ कक्षा नछिचोलेको भए पनि एउटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पाइसकेको थियो र त्यसैको उपकुलपति बन्ने जोगाडमा लागेको थियो ।
तीतारामले भन्यो, ‘यो त भएन नि कमरेड, हामीले बुर्जुवा शिक्षा बहिष्कार गर्ने कसम खाएको होइन ? तपाईं त त्यसैको धन्दामा लाग्नुभएछ ।’
‘होइन कमरेड, तपाईं अलमलिनुभएछ । हामीले त बुर्जुवाहरूले दिने शिक्षा पो बहिष्कार गर्ने कसम खाएको,’ दयाराम हाँस्यो, ‘यो सब थोडै त्यस्तो शिक्षा हो र ! हामीले कलेज खोलेपछि यो क्रान्तिकारीले दिने क्रान्तिकारी शिक्षा भइसक्यो भन्ने बुझ्नुपर्छ ।’
तीताराम त्यो रात त्यहीं बस्यो र भोलिपल्ट बस चढेर मायारामकहाँ पुग्यो । ऊ नगरको वडा अध्यक्ष मात्र थियो तर अथाह सम्पत्ति जोडिसकेको थियो । चारवटा घर र दुइटा बिजिनेस कम्प्लेक्स त त्यही नगरमा मात्र थिए । अरूतिरका घर–जग्गाको हिसाब थिएन । सालीका नामबाट ठेक्कापट्टा गर्थ्यो । एक दर्जन ट्रक र त्यति नै डोजर चल्थे ।
‘हामीले व्यक्तिगत सम्पत्ति नराख्ने प्रतिज्ञा गरेको तपाईंले बिर्सनुभो ?’ तीतारामले याद दिलाउन खोज्यो ।
‘कहाँ बिर्सनु ? तर हामीले व्यक्तिगत सम्पत्ति नराख्ने होइन, आफ्नो नाममा व्यक्तिगत सम्पत्ति नराख्ने प्रतिज्ञा गरेका हौं,’ खैनीले काला पारेका गिजा देखाउँदै उसले भन्यो, ‘मैले आफ्नो नाममा भएको गाउँको डेढ रोपनी पाखो उहिल्यै पार्टीलाई दिइसकें । अहिले सारा सम्पत्ति अरूकै नाममा छ । म त आज पनि सर्वहारा !’
सीमा जोडिएको अर्को नगरमा रामप्यारी मेयर थिई । तीताराम टयाक्सी चढेर त्यहाँ पुग्दा ऊ पहेंलो रामनामी ओढेर दारीवाल बाबाहरूसँगै महायज्ञको सांगेमा चरु होम्दै थिई । नगरको एकतिहाइ बजेट मन्दिर निर्माणमा लगाएकी थिई र दुई वर्षमा चार सप्ताह तथा दुई महायज्ञ आयोजित गरिसकेकी थिई ।
‘तपाईंले बाटो बिराउनुभएछ कमरेड,’ तीतारामले भन्यो, ‘धर्मकर्ममा लाग्नेछैन भनेर हामीले सँगै शपथ खाएका हौं नि !’
‘निराधार आरोप नलगाउनोस् कमरेड,’ रामप्यारीले प्रतिवाद गरी, ‘शपथ त विना प्रयोजन धर्मकर्ममा लाग्नेछैन भन्ने खाएको हो । मैले यो सब गर्नुको पछाडि गम्भीर प्रयोजन छ । कति कुरा मैले भाकल गरेकी थिएँ, कति कुरा बाबाले आदेश दिनुभएको हो । यो महायज्ञ पनि आउँदो चुनाव जित्न लगाएकी हुँ ।’
भूमि वितरण आयोगको अध्यक्ष बुद्धिराम त्यसै नगरमा निवास गर्थ्यो । एउटा शीर्षस्थ नेताको आठ अर्ब रुपैयाँ कुशलतापूर्वक व्यवस्थापन गरिदिए बापत पाँच महीना अघि उसले त्यो पद पाएको थियो । यसबीच चार सय रोपनी सरकारी जमीन उसका आफन्तहरूको नाममा आइसकेको थियो । रिक्सा चढेर तीताराम उसकहाँ पुग्दा ऊ अर्को शीर्षस्थ नेता विरुद्ध उग्र जुलूस निकाल्ने तयारीमा व्यस्त थियो । फोहोरी नाराहरूको सूची बन्दैथियो र मानिस ओसार्न पैसाका बिटा वितरण गरिंदैथियो ।
तीतारामले भन्यो, ‘यो के गर्न लागेको कमरेड ? नेताको आदेश निरन्तर पालन गर्छु भनेर आफैं कसम खाने, अनि आफैं यस्तो काममा लाग्ने ?’
‘नचाहिने कुरा नगर,’ बुद्धिराम झर्कियो, ‘आफ्नो गुटको नेताको पो आदेश पालन गर्छु भनेर कसम खाएको । अर्को गुटकालाई त सिध्याउनैपर्छ नि । नत्र कसरी राजनीति चल्छ ?’
अर्को दिन नाउबाट नदी तरेर तीताराम अर्को शहरतिर लाग्यो । नदीछेउकै ठूलो चउरमा सानो आमसभा चल्दैथियो । राष्ट्रिय नेताका रूपमा चर्चित बलराम भाषण गरिरहेको थियो, ‘देशमा प्रतिगमनको खतरा बढिरहेको छ । पहिले जस्तै फेरि लाखौं मानिसको बलिदान चाहिएको छ ।’
आमसभा पछि एकान्त पारेर तीतारामले उसलाई भन्यो, ‘के भएको हो कमरेड, तपाईंलाई ? क्रान्तिका लागि बलिदान दिन सधैं तयार रहनेछु भनेर शपथ खाएको होइन ? आज त अर्कै कुरा गर्नुभो नि ?’
‘के अर्कै कुरा ? मैले बलिदान दिन होइन, बलिदान दिलाउन तयार रहनेछु भनेर शपथ खाएको हुँ । तपाईं पनि त सँगै हुनुहुन्थ्यो नि । बिर्सनुभो जस्तो छ,’ बलरामले उल्टै दपेट्न खोज्यो ।
‘बलिदान त आफूले गर्ने कुरा हो…’
‘त्यो कार्यकर्ता र जनताको कुरा हो । नेताले त आफू बचेर अरूलाई बलिदान गराउने हो । नेता नै रहेन भने क्रान्ति अनाथ भैहाल्छ नि !’
तीतारामले ऊसँग विवाद गरेन । बरु आमसभामा मानिस ओसार्न आएको ट्रक चढेर साँझपख प्रदेश राजधानी पुग्यो, राममायालाई भेट्न । ऊ सांसद बनिसकेकी थिई ।
उसको घर भव्य थियो र नोकरचाकर पनि प्रशस्तै थिए । धनी व्यापारीसँग बिहा भएको रहेछ । राति खाना खान लाग्दा उसले देख्यो, डाइनिङ रूमको दराजमा एकातिर चाँदीका र अर्कातिर चरेसका थाल, बटुका, गिलासका सेट सजाइएका थिए । विभिन्न रंगका बुट्टेदार डिनरप्लेटका सेट अर्को खण्डमा थिए । उसले सोध्यो, ‘तिनको प्रयोग कहिले गर्ने हो ?’
‘पाहुनाको स्तर हेरी प्रयोग गरिन्छ,’ राममायाले बताई, ‘मन्त्री, प्रधानमन्त्री आउँदा चाँदीको सेट प्रयोग गर्छौं । घरपरिवारका मान्यजनलाई चरेसका भाँडामा ख्वाउँछौं । शहरिया साथीभाइ भेला हुँदा डिनरप्लेट चलाउँछौं । अरूलाई स्टीलका थालबटुका छन् । कार्यकर्ता आए भने प्लास्टिकका प्लेटमा ख्वाउँछौं ।’
‘के भनेको त्यस्तो ? सबैलाई समान ठान्नेछु भनेर हामीले सँगै प्रतिज्ञा गरेको होइन ?’
‘आआफ्नो तहमा सबैलाई समान ठान्नेछु पो भनेको त,’ राममाया अर्थ्याउन थाली, ‘जस्तै मन्त्री, प्रधानमन्त्रीको एउटा तह हुन्छ, त्यहाँ उनीहरू समान छन् । नोकरचाकरको अर्को तह हुन्छ, त्यहाँ उनीहरू समान छन् । नेताको तहमा नेतालाई समान मान्ने हो, कार्यकर्ताको तहमा कार्यकर्तालाई । नेता र कार्यकर्ता दुवैलाई समान त कसरी मान्न सकिन्छ र ?’
तीतारामलाई उसको प्रतिवाद गर्न मन लागेन । ऊ भोलिपल्ट राममायाले काटिदिएको टिकटमा हवाईजहाज चढेर राजधानी पुग्यो । बीस वर्षपछि भेट भएको बालसखालाई नवनियुक्त मन्त्री मीठारामले हार्दिक स्वागत गर्यो र कम्तीमा पन्ध्र दिन आफ्नो मेजमानी खाएर राजधानी घुम्न आग्रह गर्यो ।
‘हामी आठ जनाले एकैचोटि एउटै प्रतिज्ञापत्रमा रगतको सहीछाप गरेर पार्टी सदस्यता लिएका थियौं । आज हरेकले प्रतिज्ञा तोडेको छ र प्रतिज्ञापत्रलाई मजाक बनाएको छ । के भएको यस्तो ?’ तीतारामले तीतो पोख्न खोज्यो ।
‘यो व्यावहारिक राजनीति हो,’ मीठारामले सम्झायो, ‘तिमी आदर्शको कछाड समातेर बस्या छौ, त्यसैले प्रगति गर्न सकेनौ । न पैसा छ, न पद छ, न पावर नै । नाम जस्तै तिम्रो जिन्दगी पनि तीताराम भएको छ । अरूले त्यो कछाड छोडे, प्रगति गरे । प्रतिज्ञालाई आफ्नो अनुकूल बनाए । म पनि तिनैमध्ये पर्छु । जोगी बन्न कसले राजनीति गर्या हो र !’
‘त्यसो भए एउटा कुरा भन न त ।’
‘के ?’
‘आफूलाई कम्युनिस्ट भन्छौ, तर कम्युनको कुरै गर्दैनौ । न आफू कम्युनमा बस्छौ, न अरूलाई बसाउँछौ । कम्युनको नामसम्म लिन नसक्नेले, कम्युनबाट डराउनेले आफूलाई कुन मुखले कम्युनिस्ट भनेको ?’
‘मैले जिन्दगीमा आफैंलाई जवाफ दिन नसकेको प्रश्न यही एउटा हो,’ मीठारामले दुवै हात उठायो ।
‘कम्युन प्रणाली अपनाउनेछु भनेर प्रतिज्ञा गरेको त बिर्सेका छैनौ नि ?’
‘प्रतिज्ञा त कम्युनिस्ट प्रणाली अपनाउनेछु भन्ने होइन र ?’ मीठारामले खित्का छोड्यो ।
‘यहाँ पनि जालसाजी ?’ तीताराम हाँस्यो र सोध्यो, ‘तिमीले भनेको कम्युनिस्ट प्रणाली चाहिं के हो त ?’
‘हामीले जे गरिरहेका छौं, त्यही !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।