‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ७ पुस्तक –  दुर्गा भवानी भट्ट ‘कञ्चन’को ‘कञ्चन उत्सव’,  संगीता दाहालको ‘सृजना र अनुभूति’, बिनीता छेत्रीको ‘हिमफेदीका कथाहरू’, डा. वीरेन्द्र केसीको ‘जूनको रोटी’, डा. कुसुमाकर शर्मा गौतमको ‘हिउँको राप’, विश्व कुइकेलको ‘गोपीचा’, डी. आर. को ‘खोक्पा’ ।

० ० ० ०

१. कञ्चन उत्सव — दुर्गा भवानी भट्ट

लेखक तथा समाजसेवी र एकअधिकारवादी दुर्गा भवानी भट्टकृत कवितासङ्ग्रह हो – “कञ्चन उत्सव” ।

६६ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘जान्न जान्न भन्दै थिएँ’, ‘एउटा चिठी’, ‘खै, केले, कसरी छुन्छ मन’, ‘कालापानी दुख्छ’, ‘बिर्सी देऊ’, ‘सुन्दरता’, ‘मनको साइनो’, ‘तिम्रो यादमा डुबेका घामहरू’, ‘आमाको उत्तर’ लगायत ४७ थान कविता समावेश छन् ।

“कवितामा कविले मानव जीवनका हरेक पाटो वर्णन गरेको पाउँछौँ । प्रकृति प्रेम, राष्ट्र प्रेम, आमा प्रतिको माया ममता स्नेह, प्रेमले भरिएको स्पर्श हाँसो, खुसी, पीडा, उन्माद सबै उमेरमा भोगेका कुराको सुन्दर रूपमा प्रस्तुत गर्ने काम यसले गर्छ । मनमा तरङ्ग पैदा गर्ने क्षमता हुन्छ ।” भूमिकामा ममता मृदुल लेख्छिन्, “समाजका विकृति विसङ्गतिलाई सूक्ष्म रूपमा देखाउन सक्नु यसको विशेषता पनि हो । कवितामा विदेशमा रहँदा आमाको मृत्यु भएको अवस्थामा आफू नरहेको पीडा छरपस्ट छरिएका छन् ।”

डा. रेणुका सोलु लेख्छिन्, “ कृतिभित्र रहेका कतिपय कवितामा सामाजिक एवम् लैङ्गिक विभेदको प्रसङ्ग उठान गरिएको छ भने कतै बिछोडको पल सामना गर्दाको पिडाबोध पनि गरिएको छ । कवितामा कतै प्रेमको वर्षा बर्साइएको छ भने कतै आमाको वियोगमा भक्कानिएको मन र पीडा छ । विश्वासमा खडेरी उजाडिएर धोकाले बजार तर्साएको विषय समातिएको छ । यहाँ कतिपय कवितामा जन्मभूमिको सुवास मगमगाएको छ अनि देशप्रति दायित्वबोध साथै राष्ट्रभक्तले ओतप्रोत भाव अभिव्यक्त भएको छ ।”

पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

० ० ० ०

२. सृजना र अनुभूति — संगीता दाहाल

विविध विधामा कलम चलाउने, अनुसन्धानमा रुचि राख्ने संगीता दाहालको नवीनतम पहिलो पुस्तक हो — “सृजना र अनुभूति” ।

यसमा ‘सत्यमोहन – अपरिग्रहका मानक’, ‘पीताम्बरको – सन्तेको सपना’, ‘अन्तर्मनको यात्रा – आफ्नो अनुभूतिमा’, ‘पाठकीय दृष्टिमा – तुषानल’, ‘शब्दबिम्बमा सत्यमोहन – एक टिप्पणी’ २७ समीक्षात्मक लेख सङ्ग्रहित छन् ।

“रमाइलो लाग्यो जब एक जना शिक्षकले एकान्त पारेर, विज्ञ ठानेर मलाई सोधे –‘दीक्षितजी, मलाई बताइदिनुस्, यी मदन राजा भन्छन्, जगदम्मा रानी थुम भन्छन्, यी को हुन् ? साँच्चैका मान्छे हुन् कि नाम मात्र हुन् कथाको जस्तो ? साँच्चैका मान्छे हुन् भने जिउँदै छन् कि के छन् ? हामीलाई पनि हाम्रा पढ्ने केटाकेटीहरूले सोध्छन् । के जवाफ दिनु हो, हामी अलमल पर्छौं ।’ कमल दीक्षितले उल्लेख गर्छन्, “सारै सोझे हिसाबले इमान्दारीसाथ उनले यो सोधेका थिए । त्यसैले आफूले जानेबुझे सम्म बताइयो । तर, मलाई पक्का छ यी शिक्षकले जति नै अर्थ्याए पनि मैले भनेको कुराले त्यो ‘मदन राजा जगदम्मे रानी’ का लोककथामा प्रवेश पाउने छैन । त्यो कथामा गाउँलेहरूका कल्पनाका आफ्नै फूल जडिने छन्, अलौकिक कुरा भरिनेछन् । उनीहरूलाई जस्तो सुन्न मन लाग्छ त्यस्तै बन्दै जानेछ त्यो दन्तेकथा । अलि वर्षपछि फेरि मदन मेलामा पुग्ने हो भने यो कथा अझ अर्कै भैसक्ने छ । त्यस कथाका मदन् राजाको सके पखेटा उम्रिसकेको होला – हुरूरूरू उडी आएर यो डाँडामा बसेको होला अनि ‘जगदम्मे रानी’को चाहिँ झक्झक गर्ने रथ थपक्क माथि छाते ढुङ्गामा आएर ओर्लेको होला, जे पनि हुनसक्छ मदन धारामा पानी आउन नछाडुन्जेल ।”

“सृर्जना र अनुभूति दुई दर्जनभन्दा बढी सिर्जना माथिको अनुभूति पनि हो । स्रष्टा र तिनका सिर्जनालाई उहाँले आध्यात्मिक दृष्टिकोणबाट पनि हेर्नु भएको छ । कैयन प्रसङ्गमा उहाँ आध्यात्मिक कथा, सन्दर्भ र साहित्यलाई जोड्न पारङ्गत हुनुहुन्छ । त्यसबाट उहाँले जुन कृति र कृतिकारका बारेमा चर्चा गर्नु भएको छ, त्यो आफैँमा एउटा नयाँ सिर्जना हुन पुगेको छ ।” भूमिकामा गुणराज लुइँटेल लेख्छन्, “कुनै पनि कृति अध्ययन गरेपछि त्यसको छाप हामीमाथि पर्छ । त्यसमा आफ्ना अनुभूति र सन्दर्भसहित पुनः चर्चा गर्दा त्यो कृतिको मर्मसमेत सुवासित हुन पुग्छ । सुलोचना मानन्धर धितालको ‘अर्को गोलार्द्धका मनहरू’ नामक नियात्रा होस् वा राममणि पोखरेलको ‘हरिमानको आत्महत्या’ कथा सङ्ग्रह सबैमा उहाँको विहङ्गम दृष्टि जाने गरेको छ । प्रत्येक पङ्क्ति र प्रसङ्गलाई पढेर पुनः चर्चा गर्नु आफैँमा स्तुत्य कार्य हो ।”

कविता भट्टराईद्वारा प्रकाशित १ सय ४४ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।

० ० ० ०

३. हिमफेदीका कथाहरू — बिनीता छेत्री

कवि बिनीता छेत्रीको दोस्रो पुस्तक हो — “हिमफेदीका कथाहरू” ।

१ सय २८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘प्लास्टिकको आँटा’, ‘त्योसित एक दिन’, ‘प्रश्न’, ‘दायित्व’, ‘नेपथ्यको कथा’, ‘अन्तर कथा’, ‘हिसाब’सहित १६ थान कथा सङ्ग्रहित छन् ।

पुस्तकको पछिल्लो पृष्ठमा ध्रुव चौहान लेख्छन्, “यस सङ्कलनभित्रका अधिकांश कथाहरूमा वर्तमान सामाजिक पक्षहरू कथाका विषयवस्तु बनेका छन् । नारी मनभित्रका उकुसमुकुस र विद्रोह कथाको आन्तरिक मूल बिन्दु भए पनि अभिव्यक्तिका भाषाहरू शिष्ट र कोमल रूपले सजिएका छन् । हरेक कथामा सन्देश छ, आह्वान पनि । पढ्दा तानिरहन्छ कथाहरूले । सरल र सहज छ प्रस्तुति । आफ्नै हिसाबको मीठो शैली छ बिनीताका कथाहरू ।”

“बिनीताका कथाहरू आफ्नै परिवेशबाटै टिपिएका हुन्छन् । पात्रहरू अचिनारू छैनन् – ती छन् चिनिएका, भेटिएका, बोलिएका । यसैले उनका कथाहरू कृत्रिमताविहीन लाग्छन् । आञ्चलिकताको रोगनले सिङ्गारिएका उनका कथाहरूमा आफ्नै वासभूमिको सुगन्ध छ ।” डा. वीणा हाङखिम लेख्छन्, “जीवनका उकाली – ओरालीहरूका कुइनेटाहरूमा कहिलेकाहीँ अप्रत्याशित रूपमा जम्काभेट हुने तर वर्षोंदेखि चिनिएका झैँ लाग्ने पात्रहरू र तिनका जीवनशृङ्खलाहरू अनि छन् । कथामा सत्÷असत् पात्रहरूका चारित्रिक विशेषताहरू अत्यन्त स्वाभाविक छन् । सरल, तरल एवम् माधुर्यपूर्ण शैलीभित्र पहाडी खोलाको निनाद छ भने कतै सागरको असीमित गहिराइ समेटिएको छ तथा पाठकवर्गलाई तत्कालै आकर्षित ने एउटा अज्ञात मोहनी छ ।”

खुसेन्द्र राई लेख्छन्, “वर्तमानमा नेपाल इतर प्रकाशित कथा सङ्ग्रहहरूमध्ये मलाई उत्कृष्ट ‘हिमफेदीका कथाहरू’ लागेको छ । बिनीता छेत्री लिखित ‘हिमफेदीका कथाहरू’ शीर्षकबाटै बुझ्न सकिन्छ यी कथाहरू दार्जिलिङबारे लेखिएका हुन ्। अधिकांश कथाहरूले दार्जिलिङका मध्यम वर्गीय जनजीवनको सूक्ष्म अनि विश्वसनीय तस्बिर उतारेको छ ।”

पुस्तकलाई रमेश बन्धु प्रकाशनले बजारमा ल्याएको हो । दोस्रो संस्करणमा आएको यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

० ० ० ०

४. जूनको रोटी — डा. वीरेन्द्र केसी

इन्जिनियर तथा कवि डा. वीरेन्द्र केसीको तेस्रो कृति हो — “जूनको रोटी” ।

तीन खण्डमा विभाजित यस पुस्तकमा खण्ड एकमा ५० थान मुक्तक, खण्ड दुईमा ५० थान हाइकु, खण्ड तीनमा ५० थान सेन्यू समावेश छन् ।

“समाज प्रकृति, मनोजगत्, राजनीति, अध्यात्म क्षेत्रसम्मका बिम्बसंकेतमा मुक्तकीय भाव अभिव्यञ्जित गरेका छन्, मुक्तककार डा. वीरेन्द्रले । कतै कतै प्रणयात्मक स्वरूप संकेतक मुक्तक पनि यसमा रहेका छन् । अधिकांश मुक्तकहरू सामाजिक विसङ्गति विकृतिप्रतिका कटाक्षमा रहेका छन् ।” भूमिकामा कलानिधि दाहाल लेख्छन्, “कविता र गजल लेखनका सन्दर्भबाट खारिएर हाइकु/सेन्युमा देखापरेको उनको कलम यसै पनि माझिएको, परिष्कृत भएको र सिर्जना क्षेत्रको उपविधागत लेखन मान्यतामा निकै सचेत भएको पनि पाइन्छ । संकेत गरिएका बिम्ब व्याख्याबाट समग्र प्राप्तिको अपेक्षा हाइकु/सेन्युको मुटु हो भने यसको मर्मसम्म छाम्न सफल भएको पाउँछु म, स्रष्टाको यस सानो गोजीग्रन्थमा ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “आजको व्यस्तताको युगलाई मध्यनजर गर्दै छोटो समयमा नै पढ्न सकिने छोटो विधाहरूमार्फत जीवनका आशा, आशंका, नेपालीपन र मौलिकताको कोमल र मार्मिक भावहरू स्पन्दित छन् । विदेशमा रहेर पनि स्वदेशको चिन्ता र नेपाली भाषा साहित्यको विस्तारमा अविरल चिन्तन मनन गरिरहनु डा. केसीको प्रशंसनीय पक्ष हो ।”

साहित्यपोस्टबाट प्रकाशित ९७ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

५. हिउँको राप — डा. कुसुमाकर शर्मा गौतम

लघुकथाकार डा. कुसुमाकर शर्मा गौतमको पहिलो लघुकथासङ्ग्रह हो — “हिउँको राप” ।

७२ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘उपहार’, ‘डाँडाको जून’, ‘मुर्दाको मृत्यु’, ‘पद्धति’, ‘नैतिकता’, ‘ब्लुलेबल’, ‘समृद्धि’, ‘समयको मूल्य’, ‘सहिद’, ‘पठन संस्कृति’, ‘चोरमाथि चकार’, ‘गुह्य कुरो’ लगायत अन्य ४७ थान लघुकथा सङ्ग्रहित छन् ।

“गौतमका लघुकथाहरूको तात्पर्य भनेको वर्तमान समाजको अग्रगामी विकासका लागि हाल व्याप्त विसङ्गतिप्रति कटाक्ष गर्दै ह्रास हुँदै गरेको मानवीय मूल्य र मान्यता जोगाउन सकारात्मक सोचका साथ जेहाद छेड्नु हो ।” भूमिकामा खेमराज पोखरेल लेख्छन्, “पूर्वी रुकुमको रुकुमकोटमा जन्मेका लघुकथाकार डा. गौतमको मुकाम क्यानडाको एडमन्टनमा रहेको छ । त्यस कारण उनका लघुकथामा नेपालको पश्चिमी भेकको शब्दसुवास, अर्ग्यानिक तथा आञ्चलिकता पाइन्छन् भने अर्कातिर स्यानडाजस्तो विकसित मुलुकका विविध जनजीवनका अन्तर्य छामेका विषयवस्तु पनि पाइन्छन् । याने कि विषयवस्तुका हिसाबबाट हेर्दा यो कृतिमा समेटिएका लघुकथाको विषयवस्तुमा विविधता छ । यो कृति नेपाल र क्यानडाको जनजीवनको दोभानमा उभिएको छ । यता फर्ने नेपाल उता फर्के क्यानडाको चित्र देखिन्छ । स्यानडाको हिउँका तप्तताबाट नेपाल तथा क्यानडाको जीवन केलाउन कृति भरमग्दुर लागिपरेको छ ।”

डा. कुसुमाकर शर्मा गौतम लेख्छन्, “लघुकथाको भाव र हिमाच्छादित क्षेत्रको भोगाइ र आभासमा समानता छ । म बसेको प्रान्त क्यानडाका सबैभन्दा धेरै घाम लाग्ने स्थानहरूमा गनिन्छ । जाडो याममा कोठाबाट बाहिर हेर्दा टन्टलापुर घाम हुन्छ । तर बाहिर निस्क्यो भने चिसोले डस्छ । प्रचण्ड घाममा टल्किने हिउँ र लघुकथाका प्रकृति मिल्छन् । लघुकथा पिनजस्तो हुन्छ । पिनको टाउको ठुलो हुन्छ, शरीर खिरिलो हुन्छ । तर अन्तिम भाग्र च्वास्स घोच्ने तिखो हुन्छ । त्यसैले लघुकथा पढ्दै जाँदा यसको समापनले अप्रत्याशित तरिकाले घोच्छ । टन्टलापुर घाममा हिउँ हेर्दा कति सुन्दर देखिन्छ । भुवाजस्तै नरम हिउँमा औँला घुसाउँदा आनन्द आउँछ । तर एकछिनमै ठिहीका कारण औलामा हिमदंश भई जलन पैदा गर्छ । जसरी लघुकथा अनुमान गरेको भन्दा विपरीत धारमा अन्त्य हुन्छ । त्यस्तै हिउँमा औँला घुसाउँदा र हिमदंश भएपछि अनुमान गरेको भन्दा फरक अनुभव हुन्छ । यही समरूपताले पनि लघुकथासङ्ग्रहको नामकरण गर्नमा मद्दत पुगेको हो । यस सङ्ग्रहमा समावेश भएका लघुकथाहरू मेरा मनका भाव र दिमागका विचारबाट निस्किएका कथाहरू हुन् । हामीले हाम्रो घरमा, समाजमा, कर्मक्षेत्रमा र जीवनमा देखेका, सुनेका, भोगेका र कल्पना गरिएका घटना नै लघुकथाका स्रोत हुन् ।”

साझा प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

० ० ० ०

६. गोपीचा — विश्व कुइकेल

कथाकार विश्व कुइकेलको पहिलो ऐतिहासिक उपन्यास हो — “गोपीचा” ।

१ सय ३७ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘ती माने पानी’, ‘तिलस्मी भेट’, ‘घर निकाला’, ‘खरिबोटको क्रूर दृश्य’, ‘अनि शिवजी बौलाए’ आदि २१ थान शीर्षक र परिशिष्ट समेत समावेश छन् ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ ऐतिहासिक पात्र ‘गोपी शर्मा’ को कथा हो– ‘गोपीचा’ जसलाई गैरजातीय विवाह गरेकोमा जातिच्यूत गरी ‘च्यामे’ बनाएर जेल सजायसमेत तोकिएको थियो । भद्रगोल जेलमा रहँदा लौहपुरुष गणेशमान सिंहको योजनामा जेलब्रेक गरी भाग्ने योजनाको सहयात्रीसमेत बन्न पुगेको उसको कथामा ऊ असामान्य घटनाको सामान्य पात्र बनेको छ । राणाकालीन समाज, राजनीति, जाति व्यवस्था र विद्रोहजस्ता विषयलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास इतिहासलाई चियाउने आँखीझ्याल हो । उपन्यासले निर्माण गर्न खोजेको दृष्टिकोण, शैली–शिल्प र विषयवस्तुसमेतका आधारमा ’गोपीचा’ विशेष महत्त्व बोकेको दीर्घजीवी कृति हो ।”

भूमिकामा लेखक लेख्छन्, “केही पुस्तक र लेखहरूमा उठाइएका सामान्य प्रसङ्गको जगमा गोपी चरित्रको पुनर्निर्माणको लालसाले लेखिएको एक कथा हो । हालसम्म पुष्टि भएका तथ्यहरूलाई तोडमोड नगरी आख्यानीकरण गर्ने प्रयास यसमा गरिएको छ । गोपी च्यामेलाई आकार दिने यो प्रयासलाई अनुसन्धानबाट तथ्यपरक परीक्षण गरियो भने लेखनको अभीष्ट पूरा हुनेछ र लेखकले आफूलाई सफल ठान्नेछ ।”

शिखा बुक्सबाट प्रकाशित यस पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।

० ० ० ०

७. खोक्पा — डी. आर.

नियात्राकार, कथाकार डी. आर.कृत नवीनतम कथासङ्ग्रह हो – “खोक्पा” ।

प्रस्तुत पुस्तकमा ‘बूढो रूख’, ‘पुच्का’, ‘परिवर्तन’, ‘परिणाम’, ‘हराएको नाता’, ‘रवि’, ‘नयाँ बाकस’, ‘गाड्धन’, ‘लाहुरेको निसानी’, ‘मायाको चिनो’, ‘लङ्गडो साथी’ कथाहरू सङ्ग्रहित छन् । पुस्तकमा सामाजिक यथार्थलाई कथाको आधारभूत बनाई वर्तमानका विकृतिसहित भोगाइका विविध पक्ष उठान गरीे सामाधानको निष्कर्षसमेत पस्किएको पाइन्छ ।

“उमेरको बढोत्तरीसँगै सन्तानको सहारा खोज्ने जेष्ठ नागरिकहरूको मार्मिक कथा सुनाएर उनले मानवीय संवेदनाको क्षयीकरणका सम्बन्धमा चिन्ता व्यक्त गरेका छन् । यिनै विविध सन्दर्भमार्फत लेखकले प्रस्तुत सङ्ग्रहका कथालाई सामाजिक मूल्य प्रदान गरेका छन् । बाल्यकालीन स्मृति, ग्रामीण जीवनशैली, स्थानीय भाषा, संस्कार, संस्कृति, मौलिक लबज, जातीय पहिचानको लय, प्राकृतिक सौन्दर्य, जनजीविकाको सवाललगायतका सामाजिक तथा सांस्कृतिक विषय समेटी उनले कथालाई सरल तथा सहज सम्प्रेषण गरेका छन् ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “यस कथाकृतिले आवाजविहीनहरूको आवाज बोलेर सम्बन्ध र सहकार्यको वैचारिक धरातल निर्माण गरेको छ । समयको तस्बिर उतार्न सिपालु डी. आर.को खोक्पाभित्र नेपाली अनुहार देख्न सकिन्छ ।”

“संसारका आमाबाट जन्मेका सन्तानहरूको निश्चित आयु हुन्छ भने साहित्यले जन्माएका सिर्जनाहरूको आयु कति हुन्छ ? त्यसमा इतिहास बोल्न सक्ला, वर्तमान साक्षी बस्न सक्ला । जसरी जन्ममृत्युको चक्र चलिरहन्छ, त्यसरी नै साहित्य सिर्जनाको पनि । संसारका स्रष्टाहरूबाट रचित सिर्जनाहरू सधैँ र सबै बाँचिरहन्छन् त । आमाका सन्तानहरू एकपछि अर्को विलय हुँदै जाँदा साहित्यकारद्वारा जन्मेका कृतिले कुनै न कुनै रूपमा उज्यालो फैलाउने हैसियत र गुण साँचेका हुन्छन् । तर पनि आमालाई साहित्यसँग तुलना गर्न सकिन्न यहाँ । चेतना र विवेकीय निचोडको उपज हो, सिर्जना । कसैको रचना गर्भमै तुहिन्छ भने कसैको न्वारनपछि बेपत्ता हुने गर्छ । कसैको सिर्जनाले मन मस्तिष्कमा जरा गाड्छ भने कुनै अजम्बरी पनि रहन्छन् । साहित्य सिर्जनाको आयु मापन गर्ने यन्त्र भनेकै त्यसले दिएको सन्देशमा निर्भर रहन्छ । त्यसभित्रका विचार, भावना, सोच, संवेदना, देखाइ र भोगाइका अन्तरघुलनले एउटा छुट्टै आकार लिन्छ र कुनै सिर्जनाको निर्माण गर्दछ । ‘खोक्पा’ त्यै घानमा पिसिएको नवीनतम कथाकृति हो ।”

पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । १ सय ७५ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।