
नेपालको पूर्व तराईमा जनकपुर पर्छ । यो ज्यादै नाम चलेको ठाउँ हो । यही ठाउँमा राजा जनकको राज्य थियो । उनी खुब पढेलेखेका ज्ञानी राजा थिए । अयोध्याजस्तै जनकपुर पनि सबै कुराले परिपूर्ण भएको थियो । एक दिन हलो जोत्न लाग्दा माटोभित्रबाट एउटी राम्री कुमारी प्रकट भइन् । राजाले तिनलाई ल्याएर दरबारमा नै हुर्काए ।
दरबारको पूजा कोठामा एउटा औधि ठूलो धनु राखिएको थियो । त्यो धनु श्रीशङ्कर भगवान्बाट राजाले पाएका थिए । एक दिन ती राजकुमारीले पूजा कोठाको काम गर्नुपरेछ । त्यो धनुलाई जुरुक्क उचालेर अर्कातिर सारेको राजाले देखेछन् । उनको त्यो शक्ति देखेर राजा जनक छक्क परेछन् । यी राजकुमारीको विवाह शिवजीको धनु तोड्न सक्नेसँग मात्र गर्ने राजाले प्रतिज्ञा गरेछन् । यिनै राजकुमारीको नाम सीता हो । जनककी छोरी भएकीले उनलाई जानकी पनि भन्दछन् ।
सीताजी अत्यन्तै राम्री, शील–स्वभावकी खानी, सुकुमारी थिइन् । धनुष यज्ञमा चारैतिरबाट राजाहरू जम्मा भए । यही यज्ञमा विश्वामित्र ऋषिले राम–लक्ष्मण दुवै भाइलाई ल्याउनुभयो । ऋषिको स्वागत राजाले बडो धुमधामसँग गरे । राजकुमारहरूलाई देखेर सबै खुसी भए । जनकपुर सहर हेर्न कुमारहरू गए । सबैले सीतालाई सुहाउँदो वर रामलाई नै ठहराए । राजाको प्रतिज्ञा सम्झेर चुकचुकाए । रामका ठूलाठूला आँखा, फराकिलो निधार, आकाश वर्ण र हिस्सी परेको अनुहार थियो । मुसुमुसु हाँस्ने भएकाले सबैको मन तानिन्थ्यो । शरीरका सबै अङ्ग राम्रो थियो । लक्ष्मण पनि गोरा राम्रा थिए ।
एक दिन सीता बगैंचामा फूल टिप्न लागेका बेला उनकी सखीले रामलाई देखिछन् । सीता पार्वतीको पूजा गर्न त्यही बगैंचामा आएको बखत थियो । सीताकी सखी राम कस्ता राम्रा भन्दै दगुरिन् । उनले यो कुरा सीता र सङ्गिनीहरूलाई सुनाइन् । सबैले रामलाई देखे । सबै दङ्ग परे । सीतालाई पनि रामसँग विवाह भइदिए हुन्थ्यो भन्ने पर्यो ।
धनुष यज्ञको दिन आयो । ठूलो मण्डप बनेको थियो । संसारभरबाट धनु तोड्न र सीतासँग विवाह गर्न धेरै राजाहरू जम्मा भएका थिए । सबैले त्यस मण्डपमा रामलाई देखे । सबै मोहित भए । कसैले धनु तोड्न त परै जाओस्, डेग चलाउन पनि सकेनन् ।
रामको शक्तिको कसले बयान गरोस् । पलभरमा नै रामको हातबाट धनु टुट्यो । ठूलो आवाज आयो । सबै छक परे । रावण पनि त्यहीँ थियो । जिल्ल पर्यो । सीताजीबाट रामलाई माला पहिराउने काम भयो । सारा जनकपुरवासीहरू खुसी भए ।
जनक राजाका दूतहरू चिठी लिएर अयोध्या गए । दशरथ राजा हुनसम्म खुसी भए । जनकपुरमा विवाह गर्न जान सब मालताल जोडिए । दरबारमा कुनै कुराको कमी थिएन । ठूलो जुलुस अयोध्याबाट निस्कियो । हात्ती, घोडा, रथ र पैदल उत्तिकै थियो । सामान उत्तिकै थिए । सबै सजिसजाउ थिए । जनकपुरमा नपुग्दै बाटैदेखि सम्मान गर्दै जनक राजाले भिर्याए । विवाहको दिन पनि जन्तीको शोभा हुनसम्म राम्रो थियो । दुलाहालाई चौपट्ट सिँगारिएको थियो । विवाहोत्सव उत्तिकै राम्रो थियो । राम र सीताको विवाह त भइहाल्यो । भरत, लक्ष्मण र शत्रुघ्नको पनि त्यहीं विवाह भयो । चारवटी बुहारी पाएर दशरथ राजा हुनसम्म खुसी भए । केही दिनपछि महारानीहरूले पनि दुलहीहरूलाई अयोध्यास्थित आफ्नो दरबारमा भिर्याए । अयोध्याभरि खुब उत्सव मनाइयो ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
