पाठ २ः राम
अयोध्यामा दशरथ नाम गरेका राजा थिए । उनका तीन रानी थिए । उनीहरूको नाम कौशल्या, कैकेयी र सुमित्रा थियो । दशरथ बुढा भइसकेर पनि उनका सन्तान थिएनन् । राजालाई पीर लागिरहेको थियो ।
अयोध्याको त्यत्रो ठूलो राज्यमा युवराज थिएनन् । राजाका गुरु वशिष्ठ थिए । उनी ठूला मुनि थिए । ज्ञानी तपस्वी थिए । एकदिन राजाले उनैसँग दुःख पोखे । ऋषिले राजालाई छोरो पाउने यज्ञ गर्न सल्लाह दिए । शृङ्गी ऋषि यज्ञ गर्न सिपालु थिए । राजाको इच्छाअनुसार धुमधामसँग यज्ञ भयो । अग्नी आफैं होम गरेको ठाउँबाट प्रकट भए । उनले राजालाई एक भाग खीर दिए । त्यो खीर महारानीहरूलाई खुवाए । तीनवटी रानीबाट चारा छोराहरू जन्मिए । महारानी कौशल्याको कोखबाट जन्मिएका जेठा छोराको नाम रामचन्द्र रह्यो । कैकेयीबाट भरत र सुमित्राबाट लक्ष्मण र शत्रुघ्न जन्मिए ।
राममा सबै गुण थियो । शील स्वभाव अत्यन्त राम्रो थियो । सबैप्रति मान र सम्मान गर्ने र दया गर्ने बानी थियो । यस्तो बानीका कारण उनका शत्रु पनि थिएनन् । कसैलाई पनि भनी नबिझाउने हुनाले रामदेखि सबै खुसी थिए । सबै रामको गुणगान गर्दथे । भरत पनि उत्तिकै सोझा, इमान्दार र रामका परम् भक्त थिए । लक्ष्मण त जहिले पनि रामको सेवामा तत्पर रहन्थे । शत्रुघ्नमा पनि कम गुण थिएन ।
दशरथ महाराजको बुढेसकाल सुखसयलसँग बितिरहेको थियो । आफ्ना छोराहरूको तोतेबोली र खेलवाड देखेर राजा आनन्दित थिए । समयक्रमसँगै राजकुमारहरू बढ्दै गए । इलमी बन्दै गए । रामले जे कुरा पनि सुन्ने बित्तिकै मनन गरिहाल्थे । जान्नुपर्ने सबै विषयबारेको ज्ञान राजकुमारहरूलाई थियो ।
एक दिन विश्वामित्र ऋषि अयोध्या आए । ऋषिको स्वागत भयो । उनले राक्षसहरूले यज्ञ गर्न नदिएर हैरान पारेको दुःखको वेदना सुनाए । रामलाई धनुर्विद्या ज्ञान प्राप्त भएको छ । उनी पृथ्वीको भार हरण गर्न आएको भन्ने ऋषिलाई थाहा थियो । राजालाई माया–मोहले छोप्यो र हुन्न भने । वशिष्ठले सम्झाएपछि मात्र हुन्छ भने । रामलाई पनि राक्षसहरूको नाश गर्न जानु नै थियो ।
राम र लक्ष्मणलाई लिएर विश्वामित्र आश्रमतिर लागे । बाटोमै ताडका नाम गरेकी राक्षसनीसँग गडबड परिहाल्यो । त्यसलाई मारेर उनीहरू आश्रममा पुगे । त्यहाँ पुगेपछि मारीच र सुबाहु आइलागे । रामको वाणले मारीचलाई कयौँ कोष पर पुर्याइदियो । साह्रै डरायो । सुबाहु खरानी नै भयो ।
रामले राक्षसहरूको नास गरेकाले विश्वामित्र साह्रै खुसी भए । उनले रामलाई भोक र तीर्खा नलाग्ने विद्या सिकाइदिए । यात्राका क्रममा एक दिन भत्केर झारपात उम्रिसकेको आश्रम देखियो । एउटा औधि ठूलो ढुङ्गा त्यहाँ लडिराखेको रहेछ । त्यो त अइल्या पत्थर बनेकी रहिछन्– ऋषिले सबै घटना सुनाए । रामको चरणको स्पर्श पर्नेबित्तिकै उनी बिउँझिन् र उठिन् । रामको दर्शनले उनको सबै दुःख नाश भए । उनी रामको स्तुति गर्दै आफ्ना पति गौतम ऋषिकहाँ गइन् ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।