‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ५ पुस्तक –  प्रकाश सम्घालीको ‘साँझको सङ्गत’, कमलप्रसाद ढुङ्गानाको ‘श्रीरामको वैराग्य’, पुरुषोत्तम शमशेर ज.ब.राको ‘जङ्गबहादुर र राणाकालीन दर्पण’, डा. जितबहादुर गिरीको ‘रस र सृजना’, प्रा. डा. होमनाथ भट्टराईको ‘जिज्ञासा’ ।

००००

१. साँझको सङ्गत — प्रकाश सम्घाली

‘साँझको सङ्गत’ – कवि प्रकाश सम्घालीको बेजोड कवितासङ्ग्रह हो ।

७१ पृष्ठमा मौलाएको यस पुस्तकमा ‘बर्दीको मान्छे’, ‘मेरी दिदी’, ‘राष्ट्रिय गीत’, ‘प्रेमको यात्रा’, ‘तिमीलाई सम्झिएको दिन’, ‘सजिलो छु’, ‘बिर्सने बानी’ लगायत ४४ थान कविता सङ्ग्रहित छन् ।

जीवनका महत्त्वपूर्ण समय सैनिक सेवामा बिताएका प्रकाश सम्घालीका कवितामा युद्ध वा द्वन्द्वको अवस्थामा मोर्चाबद्ध हुँदा पनि अधिक मानवीय न्यानोपनको स्पर्श गर्न पाइन्छ ।

भूमिकामा श्यामल उल्लेख गर्छन्, “दर्शनार्थीहरूको भीडका बीच पनि मौन तपस्वीजस्ता लाग्ने यी कविताहरूको अन्तर्ध्वनिमा एक भयानक बेचैनी र हलचल देखिन्छ । आफू बाँचेको समयलाई उनले बाहिरबाट जस्तो देखिएको छ, त्यस्तो चित्रित गरेका छैनन् । बरु त्यसभित्र पस्ने र त्यसको तापको विशिष्ट अनुभवलाई शब्दबद्ध गर्ने काम उनले गरेका छन् । उनले बुट बजार्दै कविता सोचे, बुट बजार्दै लेखे । अब उनीसँग बुट बाँकी छैनन् । कवितामा तिनको पदचाप अझै स्पष्ट सुनिन्छ । यस सङ्ग्रहका लागि कवि प्रकाश रम्घालीलाई बधाई छ ।”

“स्यानैबाट पाका मानिसहरूसँग सङ्गत गरेँ । तिनै मानिसहरूबाट मैले सिकेँ– श्रमको महत्त्व, प्रेमको भाषा र आदि सत्यहरू । सिक्दै गएँ– जिउने कला र दर्शनहरू । बुझ्दै गएँ– एउटा असल नागरिक हुनुको कर्तव्य र मानिसले निर्माण गरेका धर्म, संस्कृति र इतिहासहरू ।” प्रकाश रम्घाली लेख्छन्, “म मानिसहरूकै बीचमा छु अहिले पनि । मानिसभन्दा ठूलो अर्को ईश्वर छैन कम्तीमा मेरो लागि । प्रत्येक मानिस एउटा सुन्दर कविता हो । लेखिनु÷नलेखिनु अर्कै कुरा । थाहा छैन – कहिलेबाट कवितातर्फ आकर्षित भएँ ? मैले लेख्दा के हुन्छ ? नलेख्दा के हुँदैन ? अथवा गीत, सङ्गीत र कला हुँदैनथ्यो भने मानिसको अनुभूति कुन माध्यमबाट अभिव्यक्त हुन्थ्यो होला ?”

पुस्तकलाई ईटर्नल पब्लिकेसनले बजारमा ल्याएको हो र यसको मूल्य २ सय रुपियाँ रहेको छ ।

० ० ० ०

२. रघुकुल तिलक श्रीरामको वैराग्य — कमलप्रसाद ढुङ्गाना

‘अष्टवक्र गीता’का लेखक कमलप्रसाद ढुङ्गानाद्वारा लिखित पुस्तक हो – “रघुकुल तिलक श्रीरामको वैराग्य” ।

पुस्तकमा ‘अहङ्कार र चित्तको दोष’, ‘बाल्यावस्थाको दोष’, ‘स्त्री–शरीरको रमणीयताको निराकरण’, ‘श्रीराम प्रबल वैराग्यपूर्ण जिज्ञासा तथा तत्वज्ञानको उपदेशका लागि प्रार्थना’लगायत अन्य १७ शीर्षकबाट श्रीरामको ब्रह्मचिन्तन र वैराग्य सम्बन्धी विषयवस्तु वर्णन भएका छन् ।

७५ पृष्ठमा फैलिएको यस पुस्तकमा महर्षि वाल्मीकिले ऋषि भरद्वाजलाई बताएका श्रीरामका ब्रह्मतत्व सम्बन्धी जिज्ञासालाई नेपाली भाषामा सरल ढङ्गले विवेचन भएका छन् ।

“शिव धनुष र विष्णु धनुष तोड्नु, विश्वासभित्र र परशुरामसँग भएको अतुल शक्ति उत्तराधिकारमा पाउनु, बल-अतिबला नामका दुई विधा पुरस्कारका रूपमा पाउनु आदि शक्ति सञ्चयले श्रीरामको आदर्शले उत्तरमा हिमालयदेखि दक्षिणमा लङ्का, इन्डोनेसिया, मलेसिया, पूर्वमा थाइल्यान्डदेखि पश्चिममा फारसका खाडीसम्म फैलिएको विशा रामराज्यको निष्कण्टक लामो समयसम्म राज्य गर्नु । यति क्षेत्रभित्रका अत्याचारी, आतङ्ककारी विनाश गरेर एउटा आदर्श रामराज्यको स्थापना गर्नु भगवान्ले मात्र गर्ने कुरा हो ।” भूमिकामा कमलप्रसाद ढुङ्गाना लेख्छन्, “यहाँबाट बल्ल मलाई लाग्यो त्यसै भगवान् श्रीराम भनेको होइन रहेछ । आदर्श पतिव्रता सधैँ टाढा रहनु, चखेवा–चखेवीजस्तो नदीको यो किनार र त्यो किनारजस्तो दूरी बनाएर पतिपत्नी अलग रहनु । यस्ता अनगिन्ती प्रमाणहरूले श्रीरामलाई भगवान्को दर्जा दिएको रहेछ ।”

पुस्तकको पछिल्लो पृष्ठमा योग वरिष्ठ महारामायण लेख्छन्, “हाम्रा औँलामा यी रेखाहरू तब बन्न सुरु हुन्छ जब हामी आमाका पेटमा चार महिनाको हुन लाग्छौँ । यी रेखाहरूको पनि सूचना DNA ले दिन्छ । आश्चर्य यो छ कि यी रेखाहरू कुनै परिस्थितिमा हाम्रा मातापिता या संसारका कुनै मानवसँग पनि मेला खाँदैन । रेखा बनाउनेवाला यति विशिष्ट छ कि ऊ अरबौँ खरबौँको सङ्ख्यामा प्राणी जो यस संसारमा छन् र जति बितेर गइसकेका ती सबैका औँलामा भएका रेखाहरूको एक–एक डिजाइनसँग परिचित छन् । हरेक नयाँ मानिसको औँलामा अर्कै नयाँ डिजाइन स्थापित गरेर आफू कुशल सिद्ध भइरहेको छ । यो कुरा जानेर आश्चर्य लाग्ला कि जलेर वा काटिएर या केही गरी मेटिएर यी रेखाहरू वापस उसै रूपमा विकसित हुन्छन् जो पहिले थिए जसमा एक विन्दु पनि फरक पर्दैन । कोही त अवश्य छ जो यस्तो अचम्म गर्छ र संसार चलाइरहेको छ । सायद यही ईश्वर हो, जो हरेक चिजमा सूक्ष्मभन्दा पनि सूक्ष्म रूपमा विद्यमान छ ।”

रत्न पुस्तक भण्डारबाट प्रकाशित पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

३. जङ्गबहादुर र राणाकालीन दर्पण — पुरुषोत्तम शमशेर ज.ब.रा

एक दर्जन जति कृतिहरू श्री ३ को तथ्य वृत्तान्तको सेरोफेरोमा प्रकाशित गरिसकेका पुरुषोत्तम शमशेर ज.ब.रा कृत ऐतिहासिक पुस्तक हो – “जङ्गबहादुर र राणाकालीन दर्पण” ।

३ सय ४० पृष्ठमा आबद्ध यस पुस्तकमा ‘नेपाल अधिराज्यको थकाली जङ्गबहादुर’, ‘श्री ३ जङ्गबहादुरका रानीहरूको’, ‘जङ्गबहादुरका छोराहरू’, ‘जङ्गबहादुर राणाका छोरीहरू’, ‘नानी तथा सुसारेहरू’, ‘राणाजी हो, सङ्घर्ष होला नि’, ‘चाँद कुँवर–चाँद कौर’, ‘दरबारका भारद्वारहरू’ शीर्षक समावेश छन् र यसबाट राणाशासन सम्बन्धी बाह्य र आन्तरिक प्रसङ्गहरू पाइन्छन् ।

विशेष गरी यस पुस्तकमा छोटो क्याप्सनसहित राणाकालीन दुर्लभ फोटाहरू समावेश छन् ।

“मैले आफ्नो शैशवकालमा कमाण्डर इन्चिफ रुद्रशमेर ज.ब.रा.को छत्रछायामा हुर्कने मौका पाएँ । २००७ सालको क्रान्तिलाई सफलतामा पुर्याउन जिज्यू बुवाज्यूबाट अमूल्य योगदान गरेको कुरा त इतिहाससिद्ध छ । २००७ सालपछि हामी सी क्लास बनाइएका राणाहरूको प्रजातन्त्र लागेपछि हामी अब दोबारियाबाट सडकमा झारियौँ । तापनि हामीले प्रजातन्त्रलाई मलजल गर्न पछि परेनौं । रुपन्देही रुद्रपुरको एक हजार बिगाहा जमिन, कीर्तिपुर र काठमाडौंका राम्रा राम्रा जमिनसहित बीरगञ्ज मुडभरी दरबार र चारबुर्जा दरबार (हाल निर्वाचन आयोग रहेको दरबार) समेत गुमाएर एक रुपैयाँ पनि मुआब्जा (क्षतिपूर्ति) नपाएर छोड्यौं ।” लेखकीयमा पुरुषोत्तम शमशेर ज.ब.रा लेख्छन्, “हामी नेपाल आमालाई निरङ्कुशको जञ्जिरबाट मुक्त गर्ने अभिलाषा पूर्ण गर्न चाहन्थ्यौं । त्यसरी दासदासी र सेवकसेविका सहितको जीवनपद्धतिलाई हामीले तिलाञ्जली दियौं, केवल नेपाल आमाको मुक्तिको निम्ति ।”

“यस कृतिमा राणाकालीन परिवेशको आरम्भबाट सो पारिवारिक शासनको अन्त्य र त्यसपछि प्रजातन्त्रकालीन अस्थिर राजनीतिक परिदृश्यलाई समेत विभिन्न लेखहरू मार्फत उतार्ने काम निख्खर झल्किने भएकोले पाठक वर्गलाई पढेपछि तृप्तिको अनुभूति हुने छ ।” प्रा. डा. राजाराम उपाध्याय सुवेदी लेख्छन्, “त्यसैले राणाकालीन अरु कृतिहरूको तुलनामा प्रस्तुत कृतिको विशेष महत्त्व रहनाको कारण, यसमा विभिन्न पात्रहरूका बारेमा जे जे घटनाहरू घटे ती घटनाहरूका सन्दर्भमा चलेको अन्तर्द्वन्द्व, आन्तरिक तनाव, पारिवारिक चालबाजी, राणाशासनकालको बाह्य र आन्तरिक आवरणबारे उदाङ्ग पारिएको एक सफल र सजीव ऐतिहासिक वर्णन हुनु यस कृतिको विशेषता रहन गएको छ ।”

शिखा बुक्सले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ६ सय ७५ रुपियाँ रहेको छ ।

० ० ० ०

४. रस र सृजना — डा. जितबहादुर गिरी

विश्लेषक तथा लेखक डा. जितबहादुर गिरीद्वारा लिखित ऐतिहासिक समालोचनात्मक कृति हो – “रस र सृजना” ।

२ सय ५० पृष्ठमा फैलिएको यस पुस्तक चार अध्यायमा विभाजित छ । अध्याय : एक ‘रसका सैद्धान्तिक स्वरूप’, अध्याय : दुई ‘खण्डकाव्यको परिचय तथा नेपाली खण्डकाव्य लेखन परम्परा’, अध्याय : तीन ‘राप्ती क्षेत्रका प्रतिनिधि नेपाली खण्डकाव्यमा रस विधान’ र अध्याय : चार ‘उपसंहार’ बाट रसको बारेमा गहिरो अध्ययन र रससम्बन्धी चर्चा गरिएको पाइन्छ ।

मन्तव्यमा प्रा. डा. मोहनप्रसाद तिमल्सिना लेख्छन्, “पश्चिम नेपालको राप्ती क्षेत्रका समग्र कृति मध्ये प्रतिनिधिमूलक पद्यात्मक काव्य कृतिलाई आधार मानेर तयार पारिएको यो कृति नेपाली भाषा र साहित्यका क्षेत्रमा आजसम्मकै उत्कृष्ट र नवीन प्रक्रियाको सृजनात्मक समालोचकीय पुस्तक हो । त्यस क्षेत्रका सकेसम्म सबै पद्य कृतिहरूलाई समेट्ने प्रयास गरिएको यस प्रकारको नवीनतम प्रक्रियाको कृति प्रस्तुत गरेर विश्लेषक तथा लेखक डा. जितबहादुर गिरीले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुयाउनुका साथै आफ्नो पृथक् पहिचान स्थापित गराएका छन् ।”

“अनुसन्धान र सृजना आफैँमा एउटा जटिल कार्य हो। नेपाली साहित्यको क्षेत्रमा विभिन्न सिद्धान्त र वादहरूको जन्म र स्थापना भएको देखिन्छ तर ती सबै साहित्यिक सिद्धान्त र वादहरूको विस्तार र विकासका क्रममा तिनको परम्परालाई मुख्य आधार बनाई पारम्परिक सेरोफेरोमा चर्चालाई सीमित गरेको देखिन्छ ।” लखकीयमा डा. जितबहादुर गिरी लेख्छन्, “यस पक्षलाई मनन गरी साहित्यिक रचनामा रसको प्रमुख भूमिका हुने हुँदा रस सिद्धान्तको ठोस पक्षलाई अन्वेषण गर्ने उत्सुकता जागेर आयो । कुनै पनि साहित्यिक सर्जक र विशेषगरी रस अध्येता र स्रष्टाहरूलाई अझ सहज होस् भन्ने उद्देश्यले रस सिद्धान्तलाई विशेष खोजी गर्ने र पर्गेल्ने कार्य गरियो । रस सिद्धान्तको मार्गचित्र कोरिसकेपछि त्यस अनुसार रस सिर्जना कसरी हुन्छ र विशेष गरी स्रष्टाहरूका सृष्टिमा कहाँ, कसरी रसको सिर्जना गरिएको छ भन्ने जिज्ञासालाई पनि मेटाउने प्रयास गरिएको छ ।”

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य ४ सय ९० रुपियाँ रहेको छ ।

० ० ० ०

५. जिज्ञासा — प्रा. डा. होमनाथ भट्टराई

होमनाथ भट्टराईद्वारा लेखिएको अनुसन्धानात्मक कृति हो – “जिज्ञासा” ।

पाँच अध्यायमा विभाजित यस पुस्तकमा ‘ऐतिहासिक विकासक्रम’, ‘भारतीय दर्शन’, ‘मनुस्मृति’, ‘पुराण’, ‘सेन्ट अगास्टिन’, ‘जर्ज बर्कले’, ‘इमाुएल कान्ट’, ‘कार्ल मार्क्स’, ‘हेनरी बर्गसन’ आदि समावेश छन् ।

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “ – जीवन एवं जगत् सम्बन्धी जिज्ञासामा मूलतः दुई प्रकारका प्रश्न थिए ः कसरी र किन । कसरी अर्थात् यो जगत् कसरी उत्पन्न भयो, कसरी या कुन नियम अन्तर्गत सञ्चालित छ ? मानव लगायत सम्पूर्ण जैविक जगत्को उत्पत्ति एवं विकास कसरी भयो र कसरी चलिरहेछ ? किन अर्थात् यो संसारिक प्रपञ्च किन छ, कुन प्रयोजनका निमित्त छ ? मानव जीवनको प्रयोजन के हो, लक्ष्य के हो ?

–    इतिहासमा मानिसको प्रयास सधैँ सत्यको खोजी, मानव जातिको कल्याण (शिव) र अर्थपूर्ण सुन्दर जीवन अर्थात् सत्य, शिव, सुन्दर प्राप्त गर्नुमा रह्यो ।

–    मानव सृष्टिमा कुनै प्राकृतिक प्रयोजन भए पनि नभए पनि धर्मशास्त्र÷दर्शनले मानव जीवनलाई अर्थपूर्ण बनाउन प्रयास गरेको देखिन्छ ।”

“कतिपय ठाउँमा संस्कृतका मूलग्रन्थ वेद, ब्राह्मण, उपनिषद्, गीता, मनुस्मृति आदिको अध्ययनबाट पनि उद्धरण गरिएको छ । पाश्चात्य दर्शनको प्रमुख स्रोत प्रयान्क थिलीको ’ए हिस्ट्री अफ फिलोसफी’ हो । यिनका अतिरिक्त सन्दर्भसूचीका ग्रन्थहरू लगायत यत्रतत्रबाट गरिएको अध्ययनको प्रभाव पनि परे होला । संस्कृत वा अङ्ग्रेजीका प्राविधिक शब्दलाई नेपालीमा अनुवाद गरी प्रस्तुत गर्दा उपयुक्त नेपाली प्राविधिक शब्द प्रयोग नभएको हुन सक्छ । …” प्रा. डा. होमनाथ भट्टराई लेख्छन्, “उपसंहारमा मूल विषयका केही निष्कर्षका साथै आधुनिक विज्ञानका केही तथ्य विशेषतः ब्रह्माण्डको उत्पत्ति एवं जीवको विकासवादी सिद्धान्त आदिका सम्बन्धमा संक्षेपमा उल्लेख गरिएको छ । आधुनिक विज्ञानका वस्तुगत ज्ञानलाई उपेक्षा गरेमा परिकल्पनात्मक दर्शन अपूर्ण हुन्छ, निरर्थक हुँदै जान्छ । यी दुवै विधाको समन्वय नहुँदा धर्म – दर्शन एवं विज्ञानमा विरोधाभास देखिँदै आएको छ ।”

पुस्तकलाई मीरा शर्मा र रीना शर्माले प्रकाशनमा ल्याएका हुन् । यसको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।