भूमिका
यो विश्व ब्रह्माण्डमा यस्तो शक्ति छ, जसलाई सबैले मान्न करै लाग्छ । विभिन्न थरीले त्यो शक्तिको विभिन्न रूपमा निरूपण गरेका छन् । त्यही शक्तिबाट सारा जगत् सञ्चालन भइरहेको छ । त्यसैलाई कोही ईश्वर, कोही अल्लाह, कोही ईशु, कोही बुद्ध, कोही राम, कोही कृष्ण, कोही लेलिन, कोही स्टालिन, कोही गान्धीका नामले पुकार्छन् । त्यही शक्तिलाई आर्यधर्ममा निराकार साकार दुवै मानिएको छ । राम त्यसैको साकार स्वरूप हो । तिनै राम घटघटदेखि कणकणसम्म भुुसुनादेखि हात्तीसम्म व्यापक छन् । कहिले अदृश्य रूपमा आफ्नो शक्ति सञ्चालन गर्दछन् भने कहिले दृश्यरूपमा । त्यसैले रामायणको ठूलो महत्व छ । राम को हुन् र रामायणमा के छ भन्नेबारेमा हरेकले जान्नुपर्ने कुरा छ ।
हिजोआजका अधिकांश बालबालिकालाई राम को हुन् भन्नेबारेमा जानकारी छैन । रामायणमा के छ भन्नेबारेमा पनि थाहा छैन । जनकपुरमा सीताको रामसँग विवाह भयो । रामायणमा सीताको आदर्श चरित्रको बखान छ । त्यस दृष्टिले पनि नेपाली मात्रले सीताको गुणगान गर्न करै लाग्छ । यिनै उद्देश्यले बालबालिकामा रामायणबारे चञ्चुप्रवेश गराउन यो पुस्तक लेखिएको हो ।
यो पुस्तक संशोधन गरिदिनुभएकोमा गो. द. बा. श्री गोपाल पाण्डेयलाई र पुस्तक लेखनमा प्रोत्साहन दिँदै सारिदिएकोमा श्री परशुराम शास्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।
– लेखक
===
पाठ १ः रावण
पृथ्वीमा जब दु:ख बढ्छ, दुर्जन बढ्छन् र बोझ हुन्छ । सज्जनहरू भगवान् पुकार्न थाल्छन् । भगवान् पनि दुर्जनहरूको सम्हार गर्न अवतार लिनुहुन्छ । साधु–सज्जनको रक्षा पनि भगवान्ले नै गर्नु छ । भगवद्गीतामा यही लेखिएको छ ।
रावण लङ्काका राजा थियो, रानी मन्दोदरी थिइन् । उसको भाइ कुम्भकर्ण अत्यन्त दुष्ट थियो । ६ महिना सुत्थ्यो र ६ महिना बिउँझिन्थ्यो । बल र पराक्रममा उसको जोडी कमै थिए । सबै ऊसँग डराउँथे । उसले पनि उत्पात मचाइरहेकै थियो । उसैका कारण कैयन् प्राणीको ज्यान जान्थ्यो । उसलाई जाँड–रक्सी पनि उत्तिकै चाहिन्थ्यो ।
रावणका अर्का भाइ विभीषण थिए । के गर्न हुने र के गर्न नहुने हो उनलाई थाहा थियो । उनी साधु स्वभावका थिए । नचाहिने कर्म गर्नु हुन्न भनेर बोलिहाल्थे । यसकारणले पनि उनी रावणका आँखाका कसिङ्गर थिए ।
रावणका अनगिन्ती छोराहरू थिए । ठूलो परिवार थियो । तीमध्ये मेघनाद बडो वीर थियो । युवराज पनि उही थियो । जस्तोसुकै काम पनि पार गरिछाड्थ्यो । उसले नजानेको विद्या पनि कमै थियो । अरू छोराहरू पनि एक से एक बलिया थिए । सबै बाबुको लहैलहैमा लाग्थे । एउटा प्रहस्त भन्ने छोरो थियो । ऊ जस्तै तीतो भए पनि साँचो कुरा मात्र बोल्थ्यो । बाबुसँग ठ्याक थिएन ।
रावणका मन्त्रीहरू पनि एक से एक थिए । उसलाई असल सल्लाह दिएर सत्मार्गमा लगाउने एकाध मात्र थिए । तिनको दरबारमा कदर थिएन । रावण अद्भुतको प्राणी थियो । ऊ साह्रै विद्वान् पनि थियो । तन्त्रमन्त्र पनि उस्तै जान्दथ्यो । शिवजीको परम् भक्त थियो । उसका दशवटा टाउका थिए । उसले आफ्ना टाउकाहरू पूजामा शिवजीलाई चढायो । शिवजी खुसी हुनुभयो । ऊ मानिस र बाँदरबाहेक अरू कसैका हातबाट नमर्ने भयो । ऊ मानिस र बाँदरलाई कत्ति पनि गन्दैनथ्यो ।
रावण शुरो, बलियो र पराक्रमी थियो । ऊ हिँडडुल गर्दा पृथ्वी डग्मगाउँथिन् । ऊ कैलाश पर्वत जुरुक उचालेर थचक्क राख्न सक्थ्यो । उसको छोरा मेघनादले देवताका राजा इन्द्रलाई हराएको थियो । यसैले ऊ इन्द्रजित कहलायो । उसका हुकुम जताततै चलिसकेको थियो । उसको प्रताप देखेर देवता थुरथुर काँप्ने गर्दथे । उसको राज्यमा अरू कसैले धर्मकर्म, पूजाआजा गर्न पाउँदैनथे । मानिसमा हाहाकार मच्चिएको थियो ।
रावणको राजधानी लङ्का थियो । लङ्कामा सुनैसुनका छाना भएका धेरै घरहरू थिए । अरू रत्न पनि औधि थिए ।
रावण धेरै अभिमानी थियो । रावणको फौजले जतासुकै उत्पात मचाउन लाग्यो । गाउँगाउँमा आगो लगाईदिन्थे । खरानी पारिदिन्थे । ऋषिमुनिहरूले यज्ञ गर्न पाउँदैनथे । साधु–महात्मालाई मारिदिन्थे । आफ्नै बाटोमा हिँड्ने मानिसलाई दु:ख दिने गर्दथे । उनीहरूको डरले मानिसहरू केही काम गर्न सक्तैनथे । रावण र उसका फौजहरूले गर्दा सबैतिर पापैपाप बढ्यो; जो पृथ्वीलाई औधि बोझ भयो । यसले गर्दा साधु–सज्जनहरू भगवान् पुकार्न लागे । पृथ्वी देवताकहाँ गएर रुन पुगिन् । देवताहरू उनलाई लिएर ब्रह्माजीकहाँ पुगे । ब्रह्माजी र शिवजी सबैले मिलेर भगवान्सँग पुकारा गरे । भगवान्ले पृथ्वीको उद्धार गर्ने वचन दिनुभयो । यसैबाट रामको अवतार भयो ।
===
सम्पादकीय
– उत्तमप्रसाद पन्त (सम्पादन)
सरदार रुद्रराज पाण्डे नेपालको शिक्षा, साहित्य, इतिहास र आध्यात्मिक जागरणका नक्षत्र हुनुहुन्छ । दरबार हाईस्कुलका पाहिलो नेपाली हेडमास्टर भएपछि नेपालबाटै म्याट्रिक (SLC) परीक्षा दिलाउने तथा नेपाली भाषामा पठनपाठन गराउने कार्यको थालनी उहाँबाटै भएको हो । यस अभियानलाई अगाडि बढाउन उहाँले इतिहास, उपन्यास, नाटक, कथा र बालकथाका थुप्रै पुस्तक लेख्नुभयो । त्यस्तै आध्यात्मिक र नैतिक शिक्षाबाट समाजलाई सुसज्जित गराउने कार्यमा उहाँका केही पुस्तक प्रकाशित छन् । त्यसैले शिक्षा, धर्म र संस्कृतिको विकासमा उहाँको ठूलो योगदान रहेको छ ।
बालमस्तिष्कदेखि नै आफ्नो संस्कृति, धर्म र सत्कर्मको वीजारोपण गर्न आवश्यक ठानी उहाँले बालसाहित्यसँग सम्बन्धित तीनवटा पुस्तक प्रकाशन गर्नुभएको छ । पूर्वीय संस्कृतिका एक मर्यादा पुरुष रामको जीवनसँग सम्बन्धित ‘बाल रामायण’ त्यसैमध्येको एक कृति हो । आजभन्दा ६० वर्षअगाडि इन्डियन पब्लिकेसन प्रेस प्राइभेट लिमिटेड इलाहाबादबाट सन् १९६२ मा यसको पहिलो संस्करण छापिएको रहेछ । बाल रामायण सम्पूर्ण रामायण जुन आठ अध्याय (बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किधा काण्ड, सुन्दर काण्ड, लङ्का काण्ड, उत्तर काण्ड र लवकुश काण्ड) मा विभाजित छ ।
बाल हृदयले बुझ्ने भाषामा ४७ पृष्ठमा अभिव्यक्त गर्न सक्नु लेखकीय क्षमताको सह्रानीय कार्य हो । मैले यो पुस्तकको एक प्रति फोटोकपी मेरा अनन्य मित्र प्रकाश कार्कीको सहयोगमा मदन पुरस्कार गुठीको पुस्तकालयबाट प्राप्त गरेको थिएँ । जम्माजम्मी ४२ पृष्ठको पुरानो लेटर प्रेसबाट छापिएको यो पुस्तकमा २६ वटा रेखाचित्रबाट कथालाई बालसुलभ मनमा प्रस्ट्याउन खोजिएको छ । आधुनिक रंगीन चित्रको सहायताले पुस्तकलाई जीवन्त बनाउन बालबालिकाले पढ्ने र बुझ्ने शैलीमा प्रस्तुत गरेको छु । यसका लागि उद्वरण गरिएका तस्बिरका चित्रकार, संघसंस्था र व्यक्तिप्रति अनुगृहित छु ।
पुस्तक प्रकाशनको सम्पूर्ण आर्थिक भारको जिम्मा लिएर र सधैं पुस्तक प्रकाशनमा हौसला प्रदान गर्नुहुने मेरी पूज्य सासूआमा शारदा पाण्डेप्रति सधैं ऋणी नै हुनेछु । साथै यसलाई संसारका कुनाकुनामा एकैपटक पुर्याउने हिसाबले डिजिटल प्रविधिमा प्रवेश गराउन मद्दत गर्नुहुने मेरा मित्र हरि थापालाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो पुस्तक वाचन गरी आफ्नो स्वर प्रदान गर्नुभएका मेरा पूज्य श्री गोविन्दवावु तिवारीप्रति म सधैँ आभारी छु ।
अन्त्यमा, यो पुस्तकलाई प्रकाशनको मौका दिएर यो रूपमा पाठकसमक्ष पुर्याउने परिस्थिति निर्माण गरिदिएकोमा रुद्रराज साहित्य समितिका पदाधिकारीप्रति मुरीमुरी धन्यवाद दिन चाहन्छु । साथै आगामी दिनमा गहकिला अन्य पुस्तक पाठकसमक्ष ल्याउने प्रण गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।