१) विचार मीमांसा

धर्म-संस्कृति, व्यक्ति-व्यक्तित्व, साहित्य, विमर्श र विविध गरेर पाँच खण्डमा रहेको ‘विचार मीमांसा’(दर्शन,साहित्य,समाज र संस्कृति) लेखक राप्रउ पोखरेलको शोध-खोजमूलक लेखहरूको सङ्कलन हो । राजनीतिक तथा दार्शनिक अध्येता प्रदीप गिरिले ‘गहन पुस्तक’ शीर्षकको भूमिकामा उल्लेख गरेका छन् – ‘समग्रमा भन्दा रामजीप्रसाद उपाध्याय (राप्रउ पोखरेल)ले मार्क्सवादी दर्शनका आधारभुत मान्यतालाई स्विकार गर्नु भएको छ ।

विचार मीमांसा

विचार मीमांसा

नेपालको इतिहासको व्याख्या गर्दा अथवा चाडबाडको बारेमा बुझाउँदासमेत उहाँले मार्क्सवादको इतिहास-दृष्टिलाई सधैँ आँखाअगाडि राख्नु भएको छ । त्यति हुँदा हुँदै पनि उहाँले आफूलाई जडसूत्रवादी  मार्क्सवादीको रूपमा पेस गर्नु भएको छैन ।’ लेखक राप्रउ पोखरेलको स्वीकारोक्ति हो- ‘ज्ञानको अल्पज्ञता मानवको प्रकृति हो तर सत्यको  सन्निकट पुग्ने साधन पनि ज्ञान नै हो ।’

यस कृतिमा सङ्कलित २२ वटा लेखहरूमा हरेकमा आधा-आदा पेजका ‘फूट नोटस्’ त छँदै छन् भने एउट छुट्टै लेख बराबरकै ५ पेजको सन्दर्भ सामाग्री र १२ पेजको ‘नाम र स्थान सूचि’पनि अध्येताहरूका लागि महत्त्वपूर्ण सामाग्री हुनसक्छन् । अनुमान गर्न सकिन्छ- यसले प्राज्ञिक उन्नयनमा गर्न सक्ने भूमिका पनि महत्त्वपूर्ण हुनेछ । भृकुटी एकेडेमिक पब्लिकेशनले प्रकाशित गरेको यस कृतिमा प्रदीप गिरिले आफ्नो भूमिकाको अन्त्यमा आखिरी कुरो: भन्दै उल्लेख गरेका छन्- ‘मार्क्सवाद शब्दको प्रयोग भने आफैँ नै अन्तर्विरोधी रहेको छ । यस सिलसिलामा एउटै सम्झना गर्नु आवश्यक छ, कार्ल मार्क्सले भनेका थिए- म जेसुकै भए पनि मार्क्सवादी होइन ।’ यसरी टिप्पणी माथि टिप्पणी गर्दा भन्न सकिन्छ- स्वयम् मार्क्सले नमानेको मार्क्सवादको उर्वर भूमि भने नेपालको समकालीन राजनीति नै हो ।

२) छेलिएका अनुहार

छेलिएका अनुहार (छापामा चेपाङ, बनकरिया तथा गाडी बोक्नेहरू),  पत्रकार प्रताप विष्टको ३ दशक लामो पत्रकारिताको एकीकृत अभिलेख हो । पत्रकारिताको केन्द्र मकवानपुरको हेटौंडा बनाएर सीमान्तकृत समुदायहरू जस्तै चेपाङ, लोपोन्मुख समुदाय बनकरिया आदिलाई प्राथमिकतामा राखेका पत्रकार विष्टद्वारा कान्तिपुर दैनिकका लागि विगत ३ दशक भित्र सम्प्रेषण गरिएका करिब २ सयवटा समाचार समेटिएको छ यसमा ।

छेलिएका अनुहार

छेलिएका अनुहार

पत्रकारितालाई समाचारका रूपमा भन्दा पनि सामाजिक दायित्वका रूपमा अँगाल्दै आएका पत्रकार हुन् प्रताप विष्ट । आवाज बिहिनहरूको आवाज  प्रतापको पत्रकारिताको उद्देश्य हो । यसै सङ्कलनमा उनले खोतल्दै आएको भिमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर लैजानेहरूको कथा तर यो कथा नभएर छायामा परेको इतिहास पनि समेटिएको छ ।

साङ्ग्रिला पुस्तक प्रालि काठमाडौँले प्रकाशित गरेको ४ सय ४४ पेजको यस सङ्कलनमा थप २४ पेजमा रहेका सम्बन्धित विषयका फोटोहरू ती समाचार र इतिहासको साक्षीको रूपमा रहेका छन् । तीन दशकदेखि प्रकाशित समाचारहरूको यस सङ्कलनमा पिछडिएको चेपाङ र वनकरिया जातीको ऐतिहासिक र सामाजिक परिचय, गरिबी,त्यसका समाधानका लागि भएका प्रयास,लगानी र परिणामको अवस्थालाई समेटिएको छ ।

नेपाल सरकारले सीमान्तकृत समुदायका रूपमा सूचीकृत गरेका ५९ जातिहरूमा चेपाङ जाति नेपालको कूल जनसङ्ख्याको ०.२६ प्रतिशतको आसपासमा रहेको छ । चितवन, मकवानपुर, धादिङ र गोर्खा उनीहरूको मुख्य बसोबास रहेका जिल्ला हुन् । सामाजिक जीवन अध्ययनको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको यस सङ्कलनमा व्यावसायिक सम्पादन तथा पूर्व प्रकाशित समाचारका विषयहरूमा र वर्तमान अवस्थाका बारेमा पनि तुलनात्मक अध्ययनका सम्भावनाहरूलाई ध्यान दिन सकेको भए यसले समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनमा अझै महत्त्व राख्ने थियो ।

 ३) प्रक्षेपण  

प्रक्षेपण

प्रक्षेपण

नेपाली साहित्यमा कमै कृतिहरूले दोस्रो वा तेस्रो संस्करण प्रकाशनको अवसर पाउँछन् । वि.सं. २०४७ मा पहिलो संस्करण प्रकाशित ‘प्रक्षेपण’ २०७४ मा तेस्रो संस्करण प्रकाशित भएको छ । प्रक्षेपण,कथासङ्ग्रहका लेखक कृष्ण प्रसाईं हुन् ।

प्रसाईं, नेपाली साहित्यका परिचित अभियन्ता पनि हुन् । साहित्यमा विभिन्न प्रयोग र योग रुचाउने प्रसाईंका नेपाली र अङ्ग्रेजी (अनुवाद) समेत गरेर एक दर्जन बराबर कृतिहरू प्रकाशित भइसकेका छन् । विभिन्न साहित्यिक अखबारहरूमा प्रकाशित १८ वटा कथा समावेश प्रक्षेपण, लेखक प्रसाईंकै अध्यक्षतामा रहेको जरा फाउन्डेसनले  प्रकाशित गरेको हो ।

‘पुज्न लायक मान्छे नभेटेरै मान्छे मन्दिर जान्छ र ढुङ्गा पुज्छ ।’ यस कृतिमा आफ्ना बाका यी प्रेरणादायी सन्देश समावेश गरेका प्रसाईंले प्रक्षेपणको निष्कर्ष यसरी गरेका छन् – ‘मैले जे देखेँ,जे भोगेँ त्यो नै अधिकांश कथामा लेखेको छु । त्यसैले यी कथाहरूलाई म मेरै नेपाली गाउँको इतिहास भैसकेका नलेखी नहुने सत्य दस्ताबेजका सारथिहरू हुन् भन्न रुचाउँछु ।’

 ४) अठोट उज्ज्वल भविष्यको 

पत्थरमा फूल फुलाउनेहरूप्रति समर्पित ‘अठोट उज्ज्वल भविष्यको’का लेखक श्रीश भण्डारी पत्रकार र उत्प्रेरक (वक्ता) पनि हुन् । इटर्नल पब्लिकेशन प्रा.लि काठमाडौँले २०७४ मा पहिलो र २०७९ मा दोस्रो पटक प्रकाशित ‘अठोट उज्ज्वल भविष्यको’मा  २० वटा लेखहरू छन् । अधिकांश लेखहरू र तिनका शीर्षक पनि छोटा र छरिता छन् । लेखका शीर्षकहरू हुन् – खुसी, प्राथमिकता, स्मरणशक्ति, आनीबानी, आत्मविश्वास, लत लाग्ला कि, कस्ता साथी ?, अठोट आदि ।

अठोट

अठोट उज्ज्वल भविष्यको

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाका अनुसार यसले बालबालिकालाई उत्सुकता जगाउँछ र शिक्षा प्रदान गर्छ । यो किताबले प्रत्यक्ष रूपमा जानकारी दिनेभन्दा पनि परोक्ष रूपमा अनुभूत गराउने सामर्थ्यसमेत राख्छ । त्यसैले यो किताब सधैँका लागि काम लाग्ने खालको छ ।

अठोट किन ? अठोट अर्थात् ‘अठोट उज्ज्वल भविष्यको’ का लेखक श्रीश भण्डारीले लेखकीय मन्तव्यमा उल्लेख गरेका निष्कर्ष छ- ‘जीवनको सबैभन्दा ठूलो समस्या र सफलताको एउटै सूत्र छ- सही समयमा सही छनौट । फलामलाई आफूले चाहेको आकारमा ढाल्न त्यो तातेर रातो भएको बेलामै चुट्नुपर्छ । व्यक्तिको भविष्य कस्तो बनाउने भन्ने तय गर्न उसले बाल्यकालमै विचार पुर्याउनुपर्छ । यो किताब यही विचारको परिणाम हो ।’ उनको अर्को सन्देश यो पनि हो – ‘कसैसँग पन्ध्र मिनेट विवादमा अल्झियौं भने हाम्रो जीवनकालको २ सय ४० श्वासप्रश्वास खेर जान्छ ।’ उनको सङ्केत हो अनावश्यक विषयमा हुने वादविवाद वा तनाव आदिमा अलमलिनु हुन्न ।

यस सङ्कलनमा विभिन्न सन्दर्भमा सङ्घर्ष वा दुःख, प्रेरणा वा सफलता आदिको उदाहरणका लागि नाम उद्धृत गरिएका  गौतम बुद्ध, अब्राहम लिङ्कन, कन्फुसियस, ओशो रजनिश, नोम चम्स्की, विल गेट्स, विल क्लिन्टन, स्टिभ जब्सलगायतका २७ जना ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको छोटो परिचय पनि समावेश गरिएको छ । सङ्कलन नेपाली भाषामा स्वपठन गर्न सक्ने  बालबालिकाहरूका लागि त प्रेरणादायी छँदै छ भने अभिभावकहरूका लागि  पनि उपयोगी छ ।

५) आलुबारीमा देवता 

निर्दोष कैदी (उपन्यास,२०५२),प्रधानाध्यापकको रहस्य (अनुवाद कथा,२०५४),जीवित कङ्गाल (कविता सङ्ग्रह २०५६) र आलुबारीमा देवता (२०६०  कविता सङ्ग्रह) का लेखक हुन् होमराज आचार्य । कपिलवस्तुमा ३० जेठ, २०३० मा जन्मेका आचार्य एक दशक लामो साहित्यिक यात्राबाट ओझेलमा परेको पनि दुई दशक भइसकेको अनुमान गर्न सकिन्छ । आलुबारीमा देवता,२०६० पछि उनको अर्को कृति सार्वजनिक भएको यो पङ्क्तिकारको जानकारीमा छैन ।

आलुबारीमा देवता

आलुबारीमा देवता

अमेरिकाबाट समाजशास्त्रमा एम ए गरेका आचार्य नेपालको शिक्षा क्षेत्रको विकाश र प्रवासी नेपालीको हकहितका लागि नीति निर्माण तहमा एडभोकेसी गर्ने उद्देश्यले नेपाल फर्किएको पनि एक दशक हुँदैछ । उनीसँग वाशिङ्टनका गल्लीहरूमा जम्काभेट नभएको पनि दशक नै हुन थाल्यो । नेपाल फर्किनु पहिले आचार्य द एकेडेमी अफ नेपाली पोएट्स एन्ड राइटर्सका अध्यक्ष तथा  सामाजिक अभियन्ताका रूपमा वाशिङ्टन डिसीका नेपाली समुदायबीच परिचित थिए ।

आचार्य कृत आलुबारीमा देवता, कालचक्र नेपालले प्रकाशित गरेको प्रयोगशील कविता सङ्कलन हो । विखण्डित मस्तिष्क र आन्दोलित मनहरू दुई खण्डमा ३५ कविता रहेको ५८ पेजको यस सङ्कलनका बारेमा कवि स्वयम् यसरी स्वीकारोक्ति प्रकट गर्छन् – मानिसको कुनै पनि सिर्जनामा जीवनभन्दा बाहिरका कुरा हुने सक्तैनन् । केवल अनुभवका तरिका, रूप र प्रस्तुतिमा भिन्नता हुनसक्छ तर सबैले लेख्ने एउटै कुरा हो- जीवन ।

‘हाम्रो चेतनका समकालीन पीडा र हाम्रो अस्तित्वको विखण्डित कम्पनहरू किन यति जटिल र अमुर्त बन्दै गएका छन् ।  प्रत्येक एकान्तमा कवि आचार्यले आफ्ना कवितासँग यी प्रश्नहरू सोधेका छन् र यिनै प्रश्नहरूको निरुत्तर पराजय उनका कविताहरूको जीवन हो ।’ प्रकाशक संस्था कालचक्र, नेपालका तर्फबाट कवि विप्लव ढकालले उठाएको प्रश्नले पनि संकेत गर्छ-  ‘कवि आचार्यका कवितामा जुन जीवन छ,त्यो  गन्तव्यमा पुगेको भने छैन ।’ लेखन यात्राको यती लामो विश्रामको परिणाम छिट्टै नै  सुखद सन्देश लिएर कवि तथा उपन्यासकार आचार्य देखा पर्ने आशा गरौँ ।

पानस बलेको देखेपछि
हर्षित हुन्छन् पुतलीहरू
हर्षित नहुने त म नै हुँ
किनकि जिउँदै चिता चढ्दै छन् पुतलीहरू ।
–    स्वभाविकताले जन्माएका अस्वाभाविक अर्थहरू,पेज ४४

 ६) सोली डोली 

अन्त्यानुप्रासयुक्त हाइकु शैली ( ५-७-५ अक्षरका ३ लाइन) का करिब ३५ सय  हाइकुको सङ्ग्रह सोली डोली (लोकवेद) का लेखक हुन् सुरेशकुमार भट्ट । गोरखा निवासी भट्ट अध्यापन सेवा ( ४० वर्ष / श्रोत व्यक्ति ६ वर्ष) को अनुभव प्राप्त साहित्यसेवी हुन् । काव्य कृति र रचना सङ्कलनका हिसाबले करिब ३ सय पेजको र ३५ सय स्वतन्त्र कविता अर्थात् हाइकु रहेको यो कृतिले महाकाव्यको प्राविधिक मापदण्ड वा शास्त्रीय गुण पुरा नगरेको हुन सक्ला तर विषय, भूगोल र भावनाका कारण अनौपचारिक महाकाव्य हुनपनि  सक्छ यद्यपि यसलाई लेखकले भने लोकवेद रुपी लोककाव्य नेपाली लोकबोली (पेज २६०) भएको स्पष्टीकरण दिएका छन् ।

सोली डोली

सोली डोली

सोली डोली, हाइकुको शैली र इतिहासका बारेमा नेपाली साहित्यका पाठक धेरथोर जानकारी राख्न सक्ने विश्वास छ । डा. हरिप्रसाद सिलवालको समीक्षात्मक मूल्याङ्कन छ- ‘उखान र टुक्कालाई हाइकुपरक गर्नु नवसंयोजनमूलक र मिश्रित विधा संरचनाको विशेषता हो । काव्यका विभिन्न तहहरूमध्ये लेखकको आशय शास्त्रीय महाकाव्य नरहेको तर प्रयोगशील लोककाव्यको प्रस्तुतीकरण मान्नु न्यायोचित हुन्छ ।’ लेखक भट्ट प्रयोगशील सिर्जनाकर्मी हुन् भन्ने कुरा उनको काँचुली (उक्तक सङ्ग्रह, मुक्तक होइन) बाट पनि पुष्टि हुन्छ । जनबोली र नीतिका यी कुरा पाठकहरूका रुचिअनुसार ग्रहणीय लाग्न सक्छन् ।

खाने भात हो
मर्दा जाने घाट हो 
शेखी काँच हो ।   – पेज १३३ / १५० 

धेरै खा मल 
थोरै खाए आउँछ 
बाँचिने बल ।   -पेज १८५ / ४२६   

 ७) पोखिएका रूपहरू 

पोखिएका रूपहरू, कविता सङ्ग्रहका सर्जक पर्ल रेग्मी, डेढ-दुई दशक यता हराएका अमेरिकाबासी नेपाली कवि हुन् । अवसर र स्वतन्त्रताको यो भूमि अमेरिकामा एक से एक नयाँ-नयाँ कवि लेखकहरू दिनहुँ अगाडि आइरहेकै छन् । तर कवि रेग्मी भने झण्डै दुई दशक यतादेखि कविता सिर्जनाको खबरबाट बेखबर छन् ।

उन्नयन प्रकाशन काठमाडौँले २०६३ मा प्रकाशित गरेको ‘पोखिएका रूपहरू’ कृतिका लागि प्रोफेसर तारानाथ शर्माले ६ र डा. हरिराज भट्टराईले १५ पेज लामो समीक्षात्मक भूमिका लेखेका छन् । वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले स्रष्टा रेग्मीलाई हार्दिक बधाई शीर्षकमा लेखेका छन् – ‘२०४७ देखि २०६२ सालसम्म रचित कविताको सँगालो ‘पोखिइका रूपहरू’ भित्र तनहुँको एउटा सानो गाउँदेखि लिएर अमेरिकासम्म फैलिएका निजात्मक अनुभूति,विचार र भावनाहरू तथा युग चेतना  रहेका छन् ।’

पोखिएका रूपहरू

पोखिएका रूपहरू

कहाँ छौ तिमी वर्षौं भो घर फर्कि आएनौ
तिमीलाई कुरी रुँदै छे भन्ने कि खबर पाएनौ ।
– गीत/फर्किआएनौ, पेज ११

माया बाँड्ने हुलाकीले पागल बनाइदियो
भेटिएन तिम्रो नाउँ कुन चिठ्ठीमा थियो ।   
– गीत/नबुझेको, पेज २४

बैजनी रङ्गमा ब्रुस चोपेर
एउटा चित्र आकाशको लेख्न मन छ
पराई भूमिमा बगेका हाम्रा पसिना सबै 
आफ्नै खोरिया,टारी र फाँटमा पोख्न मन छ 
– स्वर मनको, पेज २५

छोटा गीतहरूमा पनि प्रेमिल जोडीहरूको संवाद (दोहोरी) रहेका पर्लका कविता र गीतहरूमा उनको आफ्नै चित्रकलाका अतिरिक्त गेयात्मकता विशेष हुन् । यसले पनि सङ्केत गर्छ, कवि रेग्मी प्रतिभावान् चित्रकार र गीतकार हुन् । उनले चित्रकला प्रतियोगिताहरूमा राष्ट्रिय पुरस्कार प्राप्त गर्नुका साथै नेपाल र अमेरिकामासमेत विभिन्न चित्रकला (आर्ट) प्रदर्शनीहरू पनि आयोजना गरिसकेका छन् ।  उनको स्वीकारोक्ति पनि छ- ‘मभित्र कविता पाहुना भएर आएजस्तो लाग्छ भने चित्र प्रेमिका बनेर ।’

कवि रेग्मीका लागि कविता पाहुना हो कि भन्ने यो प्रश्नले  डा. प्रदीप कुमार मैनालीको रचनामा रहेको  तीलक सिंह पेलाको सङ्गीत र स्वरको ‘के लत बस्यो मलाई …’ निक्कै चर्चित गीतको पनि स्मरण गरायो । डा मैनालीको यो गीतका २ लाइन यस्ता छन् –

साथी रहेछ दुःख हर पल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ ।

आशा गरौं हाम्रा कवि तथा चित्रकार  रेग्मीका पाहुना र प्रेमिका दुवै साथ-साथै हाँसी खेलि रमाइरहेकै छन् । उनको बेखबरीले अनुमान गर्न सकिन्छ-  उनले दिने ‘सर्प्राइज’ दुवै कलामा परिणाममुखी हुनेछन् ।