‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक –  मन्जु ज्ञवालीको ‘फेक आइडी’, ईश्वरचन्द्र ज्ञवालीको ‘आलोकका प्रतिबिम्ब’, बिमला हुमागाईं (बोध श्री)को ‘अबोध’, किरण आचार्यको ‘परशुराम’ ।

००००

१. फेक आइडी – मन्जु ज्ञवाली 

नेपाली बालसाहित्यको समृद्धि र विकासका लागि बालकथा लेखन र प्रशिक्षणमा सक्रिय रूपमा लागिरहनु भएको मन्जु ज्ञवालीकृत पुस्तक हो – “फेक आइडी” ।

१ सय २० पृष्ठमा आबद्ध यस कृतिमा ‘उजेलीको उज्यालो’, ‘त्यो रात’, ‘उस्तै-दुरुस्तै’, ‘टिनएज’, ‘खुसी’, ‘म चोर होइन !’, ‘साइबर अपराध’, ‘फेक आइ डी’, ‘दिलमायाको प्रविधि क्रान्ति’, ‘देउता रिसाएनन्’ कथाहरू सङ्ग्रहित छन् ।

“…किशोरमनमा विभिन्न किसिमका तरङ्ग उत्पन्न हुने गर्दछन् । किशोररकिशोरीहरूले प्रायः रङ्गिन सपना देख्ने गर्दछन् । आफ्ना धारणासँग समाजले विमति जनाउँदा, आफूले चाहेको अभिभावकहरूले नमान्दा र विद्यालयमा शिक्षकहरूद्वारा अपमानित हुनुपर्दा यदाकदा किशोर९किशोरीहरूद्वारा अप्रिय काम हुने गरेको पनि पाइन्छ । त्यसैले किशोर९किशोरीहरूको भावना बुझी अभिभावक तथा शिक्षकहरूबाट उनीहरूको कोमल मन९मस्तिष्कमा आघात नपर्ने गरी व्यवहार गरिनु पर्दछ । सोही उमेरको मनोभावलाई यसमा कथात्मक रूप दिइएको छ ।” शुभकामनामा प्रा. डा. हिरण्यलाल ज्ञवाली लेख्छन्, “यो कथाकृति किशोर९किशोरीहरूसँग प्रत्यक्ष सम्बन्ध राख्ने र उनीहरूलाई सत्मार्गतर्फ लाग्न उत्प्रेरित गर्ने शिक्षक, अभिभावक आदिका साथै किशोर अवस्थाको मनोविज्ञान बुझ्न इच्छुक जुनसुकै उमेर समूहका पाठकहरूका लागि उपयोगी र पठनयोग्य रहेको छ । यसका हरेक कथा सुरुदेखि अन्त्यसम्म पाठकको मनमा कौतूहल जगाई तान्न सफल देखिन्छन् र चित्त बुझ्दो समाधानमा सबै कथा टुङ्गिएको पाइन्छ । त्यसैले किशोर मानसिकताको चित्रण गरी नैतिक सन्देश दिने कार्यमा कथाकारलाई सफलता मिलेको पाइन्छ ।”

“यी कथाहरूले आजको समाजमा व्याप्त अन्धविश्वास, बेथिति र विसङ्गतिको सूक्ष्म किसिमले चिरफार गरेका छन् ।” माया ठकुरी लेख्छिन्, “ रचनाकार स्वयम् आफू पनि एउटी नारी हुनाले एउटी बालिका किशोरावस्थामा पुग्दाको मनस्थितिलाई बडो गम्भीरतापूर्वक कथाको रूपमा रेखाङ्कित गरिएको पाइन्छ । कथाकार मन्जु ज्ञवालीका कथाहरूमा किशोर किशोरीहरूले जानी नजानी भरेका चकचक र गल्तीहरूलाई सुन्दर र रोचक तरिकाले इङ्गित गर्दै कथाका माध्यमबाटै उनीहरूलाई सही बाटोमा मोड्ने प्रयास गरेकोमा लेखिका धन्यवादको पात्र बन्नुभएको छ ।”

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

००००

२. आलोकका प्रतिबिम्ब — ईश्रचन्द्र ज्ञवाली 

साहित्य, कला, संस्कृति र विचारका क्षेत्रमा पनि प्रशस्त कलम चलाएका कवि ईश्वरचन्द्र ज्ञवालीकृत पाँचौँ कविता सङ्ग्रह हो — “आलोकका प्रतिबिम्ब” ।

तीन खण्डमा विभाजित प्रस्तुत पुस्तकमा ‘व्यवस्था फाल्नु पर्दछ’, ‘अन्तिम विद्रोह बाँकी नै छ’, ‘परिवर्तन’, ‘जीवनको आशावादिता’, ‘मुर्दाहरूको शासन’, ‘पूर्णमुक्तिको कर्नाल’, ‘सङ्कटकालको आदेश’, ‘जब सम्चार आउने बेला हुन्छ’, ‘अन्त्य हुन्न’ आदि ५४ थान कविता सङ्ग्रहित छन् ।

प्रकाशकीयमा लेखिएको छ, “लेखक यी कविता स्वतन्त्र र निर्बन्ध विचारका रूपमा व्यक्त भएका छन् । त्यसैकारण कवितामा कम्युनिष्ट आन्दोलन भित्र र बाहिरको राजनैतिक परिवेशको सकारात्मक(नकारात्मक, सङ्गतिपूणर् र असङ्गत, सुकृत र विकृत पक्ष सबैमाथि आलोचनात्मक झटारो हानिएको छ । पछिल्लो समयमा भएका राम्रा-नराम्रा, उपलब्धि-क्षतिका भाव र अवस्थालाई कविताले देखाएका छन् । महान् परिवर्तनको उद्देश्य प्राप्त भयो कि भएन भन्ने प्रश्न यहाँ छ । विचार-यात्राबाट विचलित भएपछि प्रतिवर्गले कसरी खेद्छ र देश र जनताले कति क्षति भोग्नु पर्छ भन्ने मूल्यवोध पनि गर्छन्-कवि ।  अनि बलिदान खेरा जान्छ त १ क्रान्तिको रगत निष्फल हुन्छ त ? भन्ने आशङ्का पनि व्यक्त भएको छ । कविताले देशप्रेम र देशभक्तिको पक्षधरतालाई जोडदार रूपमा उठाएका छन् र राष्ट्रिय स्वाधीनता विनाको राजनैतिक परिवर्तनको तात्त्विक उपलब्धि नहुने ठहराएका छन् । तसर्थ यहाँ राष्ट्रियतावादी स्वर प्रखर रूपमा गुञ्जिएको छ । यी कविता विवरणात्मक भएर पनि आस्वादनीय र अर्थपूर्ण छन् । तसर्थ कृति पठनीय, मननीय र रोचक पनि छ । रसिक-पाठकलाई कवितामा खुराकी प्राप्त हुनेछ भन्ने हामीले ठानेका छौं ।”

लेखकीयमा लेखक लेख्छन्, “मनोरञ्जनका रुचि अनुकूल लेख्ने बानी परेन । न त कसैको भाटस्तुति लेख्ने बानी नै पर्यो । मान्छेका अन्तस्तलमा जे बोध हुन्छ, जे अनुभूतिपरक बिम्ब बस्छ, भावनामा पनि त्यही त पोखिने हो । मान्छेको त्यो अन्तस्थ: चेतना पनि सामाजिक बस्तुस्थितिले निर्माण गर्दो रहेछ । एकै समय, उही ठाउँ, उही परिस्थिति, उही घटना, उही परिवेशमा रहेर पनि फरक-फरक व्यक्तिमा फरक-फरक भावना, सम्वेदना, अन्तस्थ: चेत पैदा हुने रहेछ, फरक भावनाहरू जागृत हुने रहेछन् । उही वस्तुले पनि फरक व्यक्तिमा फरक चेतना निर्माण गर्ने कुरो चाहिं गजबको छ । धेरैलाई वर्तमान सुन्दर लागेको होला तर मलाई लागेन । यो त झन् झन् कुरूप बन्दै जान थालेको भान भएको छ । शिवत्व र सुन्दरत्व पनि त वर्गीय नै हुने रहेछ ? त्यही, उही वस्तुले वा घटनाले उत्पन्न गरेका तर फरक चेतना हुन्(शायद यी कविता । त्यसैले सिधासिधा, सरलसरल, वस्तुगत अभिव्यक्ति पनि बन्न गएका हुन सक्छन् कहीँ कहीँ । कवितामा वर्तमानको भन्दा फरक चेतना अभिव्यक्त भएको छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ४१ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

००००

३. अबोध — बिमला हुमागाईं (बोध श्री) 

“अभावै अभावमा चलेको मानिसको जिन्दगी जे गरे पनि पूर्णचाहिँ नहुँदो रहेछ  ।” यो भनाइ सिनेमाकी निर्मात्री, अभिनेत्री तथा गीतकार बिमला हुमागाईंको हो र उनकाे दोस्रो उपन्यास – “अबोध”को हो ।

२०० पृष्ठमा फैलिएको यस उपन्यास १५ भागमा विभाजित छ । उपन्यासले नारी सङ्घर्ष र संवेदनालाई दर्बिलो रुपमा प्रस्तुत गरेको छ । उपन्यास रमिलाको जीवन वरिपरि घुमेको छ । खेल्ने कुद्ने उमेरमै आफन्तबाट जबरजस्त खेप्न पर्नु, पारिवारिक यातनाबाट सहन नसकी विवाहको बाटो रोज्नु, विवाह असफल हुनु, जति सक्षम भई कमाउन सके पनि पतिबाट, सासूबाट आफू नै दोषी ठहरिनु, कोही कसैबाट सहारा लिन खोज्दा झन् बेसहारा हुन पुग्नु जस्ता दुखद घटनाहरू आइपर्छ रमिलाको जीवनमा । रमिला वास्तविक समाजको नारी पात्र हो । यसरी उपन्यासकारले एक विद्रोही तथा सङ्घर्षशील नारीको कारुणिक कथालाई सरल र मिठो भाषाशैलीमा प्रस्तुत गरेकी छन् ।

उपन्यासमा उल्लेख छ, “माया विविध खालका हुन्छन् । एउटा, केटाले केटीलाई गर्ने माया हुन्छ । अर्को, बूढाबूढीलाई गर्ने माया पनि हुन्छ । त्यो मायाबाहेक अरू खास विशेष माया भएर म उहाँसँग जोडिएको हैन किनभने हाम्रो सोसाइटीले केही मान्छेलाई नै नराम्रो मान्छ । मैले गएर कसलाई भन्नूँ ? उहाँसँग फिजिकल छैन, यो छैन, त्यो छैन भनेर । मतलब हाम्रो रिलेसन पतिपत्नीको जस्तो छैन, हामी एक(अर्काप्रति अट्याच छैनौं भनेर मैले कसलाई सुनाऊँ ? कसैलाई भनेँ भने पनि त्यो एलिगेशन केटी मान्छेलाई नै आउँछ । पैसा खान आएकी थिई, पैसा नभएपछि छाडेर गई भन्छ समाजले । मलाई थाहा छ नि त हाम्रो सोसाइटी कस्तो छ भनेर । मैले त धेरै नै भोगिसकेको छ्ु । अनि, मैले एक चरणसम्म सहने निर्णय गरेँ र सहेँ पनि ।”

बोध नलेज इन्टरटेन्मेन्टले प्रकाशनमा ल्याएको उपन्यासको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

००००

४. परशुराम — किरण आचार्य

किरण आचार्य पौराणिक विषयमा आधारित उपन्यास लेख्न रुचाउँछिन् । उनको पहिलो ‘जरत्कारु’ पछिको दोस्रो उपन्यास हो ‘परशुराम’ ।

१ सय ६४ पृष्ठमा फैलिएको प्रस्तुत उपन्यासको कथानक सत्य र त्रेतायुगका सन्धिकालीन पात्र परशुरामको अद्भुत इहलीलामा आधारित छ ।

“…सिर्जना हुन गयो एउटा डरलाग्दो, भयानक इतिहास – रक्तराजे जत इतिहास। यो जातीय द्वन्द्वको इतिहास अबोध र युवावर्गबीचमा भएको होइन बरु समाजका अत्यन्त विद्वत् कहलाइएको ब्राह्मण र क्षेत्रीय वणर्बीचको हो । अन्ततः त्यो जातीय विनाश मात्र नभएर मानवताकै निम्ति कलङ्कित इतिहास बन्न पुग्यो । यो महाताण्डवका सूत्रपातकर्ता थिए, अर्जुन अर्थात् सहस्त्रार्जुन अर्थात् कार्तवीर्यार्जुन ।” लेखकीयमा किरण आचार्य लेख्छिन्, “त्यसैको प्रतिकारमा ब्राह्मण वर्णको रक्षार्थ खडा भयो, एउटा अति विद्वान् शिक्षक जो ज्ञानबाट अघाउँदैनथ्यो । शिक्षणलाई नै आफ्नो सर्वस्व र जीवनको मूल लक्ष्य ठानेको थियो । त्यो सरल र शान्त राम जसले जनतामाथि थापरिएको राज्यआतङ्क, अन्याय, अत्याचार र शोषणविरुद्धको प्रतिकार गर्न परशु उठाएर परशुराम बन्न पुग्यो । परिणामस्वरूप ब्राह्मण र क्षेत्रीय वणर्बीच जातीय द्वन्द्वको सूत्रपात भयो अनि कैयौंपटक भए विद्वत् ब्राह्मण बध अनि एक्काइस पटक यो धाराबाट क्षेत्रीय वर्णको दुर्भाग्यपूर्ण वंशसंहार भयो ।”

पुस्तकको पछिल्लो पृष्ठमा राजकुमार बानियाँ लेख्छन्, “यसमा परशुरामको मात्र नभएर हैहयवंशका अधिपति कार्तवीर्य सहस्त्रार्जुनको पनि समानान्तर कथा छ । शस्त्रविद्याका धुरन्धर परशुरामले पृथ्वीका क्षत्रीयहरूको २१ पटक संहार गरेको विषय नै यस आख्यानको मुख्य आकर्षण हो । पाठकलाई हजारौँ वर्षअघिका कतिपय पात्र, घटना र परिवेश अहिले पनि हुबहु मिलेको अनुभूति हुनेछ। परशुराम प्राचीन सभ्यताको जरासम्म पुगेको आद्योपान्त रोचक, रोमाञ्चक र पठनीय आख्यान हो भन्नेमा दुबिधा छैन ।”

शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।