हामीसँग थुप्रै कथाकार साथीहरू छन् जो जबरजस्ती आफ्ना कथाहरू पढाउन खोज्छन् । कथा पढिदियो छन्द न बन्दको हुने । फेरि उनीहरू नै सोध्छन्– “मेरो कथाहरू कस्ता छन् ? मन परेन ।” भन्ने कुरालाई हल्का घुमाएर भनिदा पनि उनीहरूको लेखन अहममा चोट पुग्ने र भित्रभित्रै मन कुँडाइरहने । तर यसको बदलामा केही यस्ता कथाकारहरू पनि छन्, जो “स्वान्त सुखाय, बहुजन हिताय” का लागि कथा लेख्छन् र चुपचाप बसिरहन्छन् ।
मैले यही दशैंको लामो बिदामा कथाकार प्रमोद प्याकुरेलका केही कथाहरू इन्टरनेटको सहयोगमा पढेँ । कथाहरूले मन छोयो । उनीसँग दोहोरो संवाद भयो र उनीले आफ्नो “झुल्या कागत” उपहार दिए । कथाहरू पढेँ । कोही कथाकारहरू राम्रा कथा लेखेर पनि चुपचाप बस्न सक्दा रहेछन् भन्ने ज्ञान मलाई प्रमोद प्याकुरेलले पनि दिए । आज म कथाकार प्रमोद प्याकुरेलको कथाहरूको बारेमा दीपक दृष्टि राख्न चाहन्छु ।
सर्वप्रथम नै भन्छु, कथाकार प्रमोद शान्त र शालीन कथाकार हुन् । उनी हाम्रै सहर बस्तीमा भोगिएका विषयहरूमा राम्रा कथाहरू लेख्छन् र चुपचाप रहन्छन् । हल्ला प्रमोदको स्वभाव हैन ।
झुल्या कागत कथाकार प्रमोदको प्रारम्भिक कथासङ्ग्रह हो । यस सङ्ग्रहलाई बुल्बुल प्रकाशनले प्रकाशित गरेको छ । शिशिर अधिकारीको सामान्य आवरणमा सुसज्जित यस कथासङ्ग्रहमा चित्रकार अर्पणा र सुदिपले प्रत्येक कथाहरूमा मेलो मिलाएर कथाको भाव झल्किने गरी काँचा चित्रहरू कोरेका छन् । कृति १७० पेजको हाराहारीमा सुसज्जित छ । सङ्ग्रहभित्र २० वटा फरक विषयका कथाहरूलाई कथाकार प्रमोद प्याकुरेलले समेटेका छन् ।
समग्रमा भनिंदा यो कथासङ्ग्रहको बाहिरी आवरण झुल्या कागत सामान्य कथासङ्ग्रह झैँ प्रतीक हुन्छ । तर जब पाठकहरू साहस बोकेर प्रमोदका कथाहरू स्पर्श गर्छन् सङ्ग्रहका प्रत्येक कथाहरूले कथाको सुरुवाती वाक्यबाट नै पाठकलाई च्याप्प समातिरहन्छ ।
प्रमोदको कथा वाचन शैली पूर्वस्मृतिमा छ । उनी पहिले कथाको सामान्य उठान गर्छन् त्यसपछि पूर्वस्मृतिमा पाठकलाई चुर्लुम्म डुबाएर कथाको व्याख्या र पुष्टि एकसाथ गर्छन् । पाठकहरू कथाकार प्रमोदले आफ्ना कथाहरूमा हिँडेको गोरेटोमा मन्त्रमुग्ध भएर हिँडिरहन्छन् । प्रमोद कथामा पाठकले नै भोगेका देखेका वा कल्पना गरिरहेका कुराहरू सुनाउँदै हिँड्छन् । प्रमोदको हरेक कथाहरू मोसन पिक्चर झैँ चलायमान छन् ।
नेपाली कथाले शारदाकालीन समय वि.सं.१९९२ देखि हाल सम्म आउँदा कथामा विविध मोडहरू पार गरिएको छ । कथाकार गुरुप्रसाद मैनालीले सुरुवात गरेको आधुनिक नेपाली कथाको आदर्श उन्मुख यथार्थवादी धारलाई हालको नामुद कथाकार प्रमोद प्याकुरेलले पनि पछ्याएको त देखिन्छ तर प्रमोदका हरेक कथाहरूले आदर्शलाई छोडेर यथार्थवादी धारलाई समाउँदै गुरुप्रसादको वाक्य संरचनाको शैलीलाई पनि भत्काएका छन् । प्रमोदका कथाहरूले वर्तमान लवजलाई हुबहु रूपमा टिपेको छ । पात्रको उमेर, जातीय रङ्ग, शैक्षिक योग्यता र आर्थिक अवस्था अनुरूप पात्रहरूले बोल्ने लवजलाई प्रमोदको कथाशिल्पले राम्ररी सिँगारेको छ । उनका प्रत्येक कथाहरूमा बोलिने संवाद प्रमोदले आफै नबोलेर सम्बन्धित पात्रहरूद्वारा बोलाइएको छ ।
प्रमोद प्याकुरेलको कथाकारिताको एक सुन्दर पक्ष भनेको उनीले कथामा जोड्ने सांस्कृतिक पक्ष नै हो । संस्कृतिभित्र रहेका जनश्रुतिका कथाहरूलाई जलपको रूपमा टिपेर प्रमोदले आफ्ना कथाहरूमा कसी लगाउँछन् । उनीले प्रयोग गरेका सांस्कृतिक झलकहरू पाठकहरूले पहिल्यै कतै सुनिसकेका त छन् तर ती सुनाइहरूलाई कथाकार प्रमोदले ताजा र प्रस्ट पारिदिएका छन्, जसरी बाँडाको ज्यासलमा लगिएको पुरानो गहनालाई नयाँ गहनामा रूपान्तरण गरिन्छ । यस कथासङ्ग्रह भित्रको पहिलो कथा “कैले भैरव’ कथा र “नरदेवको ढुङ्गो’ यसका उदाहरण हुन् । सामान्य विषयबाट उठान गरिएको कैले भैरव कथामा राणाकालीन समयको थाहा नपाउँदो चर्चा र बसन्तपुरमा देखाइने भैरव जात्राको सांस्कृतिक पक्षको घटनालाई हो कि हो कि शैलीमा प्रस्तुत गरेका छन् । कथामा संस्कृति, परम्परा, जात्रा र इतिहासको सुन्दर लेप लगाउने शिल्प प्रमोदको कथाकारिताको जबरजस्त पक्ष हो ।
प्रमोद काँठमा जन्मिए, काँठमै हुर्किए र त्यही काँठलाई शहरले अतिक्रमण गरेकै ठाउँमा आफ्नो जीवन गुजारिरहेका छन् । तसर्थ उनीका कथाहरूमा काँठको रहनसहन र परिवेश त मज्जाले झल्किन्छ नै यसको अलावा प्रमोदका कथाहरूमा काँठको सांस्कृतिक महत्त्व र विचलनहरू पनि कलात्मक तरिकाबाट आउँछन् ।
धेरै कथाकारहरूले आफ्ना कथाहरूमा आग्रह र पूर्वाग्रह राखी कथाहरू लेख्ने गर्छन् तर प्रमोदका कथाहरूले आग्रह र पूर्वाग्रह राखेर लेखेता पनि त्यो लुप्त प्राय हुन्छ । वास्तवमा प्रमोदका कथाहरूमा आग्रह वा पूर्वाग्रह भनेकै काँठ हो । तर प्रमोदले आफ्ना कथाहरूमा काँठलाई प्रवेश गराउँदा त्यो संस्कारको रूपमा प्रस्तुत गर्छन् । यो प्रमोद प्याकुरेलको कथाकारिताको सुन्दर पक्ष हो ।
कथामा यौन र प्रेमको चर्चा यदि शील तरिकाबाट घुसाइयो भने त्यसले कथाका पाठकहरूलाई चटनीको काम गर्दछ । प्रमोदले झुल्या कागज कथासङ्ग्रहमा “पुजारीजी’ कथामार्फत यौनलाई शील तरिकाबाट सजाएका छन् । राजनीतिको विषय उठान गरी कथाका आदर्श नायकलाई आदर्श पात्रमा नै सजाएर कथालाई यौनको भुमरीमा घुमाएका छन् । कथाले मागे अनुसार’ को जनबोली अनुरूप पुजारीजी कथामा यौनलाई अझै खुलाउन वा देखाउन सकिन्थ्यो । तर प्रमोदले यस कथामा जम्मा एक अनुच्छेदमा यौनलाई कलात्मक र प्रतिकात्मक रूपमा पस्किएका छन् । कतिपय पाठकहरूले उनीको यो शैलीलाई यौनको कोणबाट नबुझ्न पनि सक्छन् । प्रमोद प्याकुरेल वास्तवमा यौनका कथाकार पटक्कै होइनन् तर पनि उनीलाई कहीँ कतै यौनका कथाहरू लेख्न रहर जाग्दा लेख्न त लेख्छन् तर उनी यौनका विषयमा पाठकको धीत मर्ने गरी शब्दहरू खेलाउन र सजाउन भने सक्दैनन् ।्
सङ्ग्रहभित्र रहेको “मञ्जरी’ कथा किशोर उमेरको खुल्दुली र उकुसमुकुसको कथा हो । यसमा काँठको केही परिवेशलाई पनि कथाकार प्रमोदले घुसाएका छन् । गरिबीको सानो झलक यसै कथामा देखिन्छ पनि । तर मञ्जरी कथामा प्रमोदले किशोरीको मनोदशा र अनजानपनलाई प्रस्तुत गरेका छन् । प्रस्तुितकाे शैलीमा उनीले वयस्क युवतीहरूको प्रयोग गराएर कथालाई यौनको सानो झिल्काले सक्काउने प्रयास गरिए पनि कथा यौनको आगोमा नसल्किएर वास्तविक किशोरी उमेरकै वरिपरि घुमेको छ । साँचोमा कथाकार प्रमोद बाल र किशोर मनोविश्लेषणमा पनि गजबको कथा लेख्न सक्ने सामर्थ्य राख्न सक्ने कथाकार हुन् । यसको सानो झल्को मञ्जरी कथाले गराएको छ भने “आमाको चुल्ठो’ कथाबाट बाल स्वभावको चित्रण गरेका छन् प्रमोदले । बालखको आनीबानी र स्वभावलाई स्वाभाविक पारामा प्रस्तुत गर्ने खुबी प्याकुरेलको शिल्पमा छ । ्
कथाले वर्तमान विसंगति र समयले डामेको घाउहरू पनि बोल्नु पर्छ । मान्छेका आरोह अवरोह र उकुसमुकुसलाई पनि कथाले सम्बोधन गरिएको हुनु पर्छ । यस मामिलामा पनि प्रमोद प्याकुरेलको कथाहरू सक्षम छन् । “पागल घडी’ कथा यसैको एक नमुना हो । त्यसो त प्रमोदका कथाहरू कतै पर्याचेतले भरिएका छन् भने कतै सामाजिक द्वन्द्वले भरिएका पनि छन् ।
मैले प्रमोद प्याकुरेलको पहिलो कथासङ्ग्रहका कथाहरू र उनीका पछिल्ला समयका कथाहरू पनि पढेको छु । यस अर्थमा कथाकार प्रमोदको कथाधार भनेको सांस्कृतिक र मठमन्दिरका किंवदन्तीहरूलाई वर्तमान पात्रहरूबाट सजीव राख्ने कार्यमा अग्रसर भएको पाइन्छ । संस्कृतिमाथिको अतिक्रमण पनि प्रमोदको कथाकारिताको विषय हो । उनी बाल अनुभूतिहरूलाई कथाको माध्यमबाट पाठकको मनमा अमिट छाप छोड्न अग्रसर छन् ।
कथाकार प्रमोद प्याकुरेल हल्लाखोर कथाकार पटक्कै होइनन् । हल्लाखोरको यो जगजगीमा प्रमोदका कथाहरू जोरपाटीतिरै चुपचाप बसेका छन् । थुप्रै कथाकारहरू जन्माएर चर्चामा ल्याएको सुरभि साहित्य प्रतिष्ठानको उत्पादन भएर पनि प्रमोद प्याकुरेलका कथाहरू चाबहिल क्रस गर्न रुचाइरहेका छैनन् । एकदिन पागल समयलाई साक्षी बनाएर एक हुल कथाका पागल पाठकहरूले कथाकार प्रमोदको छरिएका कथाहरूलाई पाण्डुलिपि र अनलाइनबाट खोजेर एकमुष्ट पढेपछि मात्र नेपाली साहित्यमा कथाकार प्रमोद प्याकुरेलको सानदार उपस्थिति हुने छ । म निर्धक्क भन्न सक्छु प्रमोदका कथाहरू पढ्ने हर कोही पाठक प्रमोदको कथावाचन शैलीबाट पाई पाई सन्तुष्ट हुनेछन् ।
आजको पाठकले प्रमोदको कथालाई पढ्न भ्याउलान् नभ्याउलान् तर भोलिका पाठकले प्रमोदको कथाहरूलाई अवश्य पढ्नेछन् । साँचोमा प्रमोद प्याकुरेल भोलिका कथाकार हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।