जीवन गतिशील छ। र, अर्थपूर्ण जीवन निर्माणका लागि जीवनको गतिसँगै शृङ्खलाबद्ध रूपमा विविध निर्णयहरू लिनुपर्ने हुन्छ। ती निर्णयहरू यस प्रकारका रहन सक्छन्:

  • उच्च शिक्षा लिनमा ध्यान केन्द्रित गर्ने कि सिधा काममा हात हाल्ने?
  • पहिले जीवन उद्देश्य पूरा गर्ने प्रक्रियामा जाने कि प्रेम-सम्बन्धमा रहने?
  • कहिले र को सँग बिहे गर्ने? तुरुन्तै बच्चा जन्माउने/नजन्माउने?
  • करिअर रोज्ने कि आध्यात्मिक बाटो?
  • भनेको जस्तो नहुँदा करिअर परिवर्तन गर्ने/नगर्ने?
  • प्रेमी/प्रेमिकाबाट अलग रहने/नरहने?
  • बैंकमा पैसा जम्मा गर्ने कि लगानी गर्ने?
  • कुन व्यवसाय सुरुवात गर्ने?
  • कुन पेशामा भविष्य बनाउने? लेखन या चलचित्र निर्माण?
  • आफूलाई अनुपयुक्त लाग्ने महिला/पुरुषसँग शारीरिक सम्बन्ध राख्ने/नराख्ने?

प्रायःजसो तपाईँ हामी यस किसिमका निर्णयहरूबारे स्पष्ट हुन सक्दैनौं। कुनै एक विकल्प छनोट गर्नुपर्ने जिम्मेवारीबाट टाढा रहने कोसिस गर्छौं। साहसिक निर्णय लिनुपर्ने ठाउँमा अनिर्णयको अवस्थामा रहेर, महत्त्वपूर्ण निर्णयहरू टारेर बहुमूल्य जीवन खेर फाल्न पुग्छौँ। केही उदाहरणहरू लिऊँ। मानौँ, तपाईँ एउटा संस्थाको साधारण कर्मचारी हुनुहुन्छ। केही वर्ष त्यस संस्थामा कार्यरत भएपछि आफूले गर्दै आएको कार्य अर्थपूर्ण पाउनु भएन भने? आत्मसन्तुष्टि प्राप्त भएन भने? आफ्ना मूल मानहरूसँग कुनै मेल नखाएको पाउनुभयो भने? यस्तोमा जागिर परिवर्तन गर्न या संस्थाबाट बिदाइ लिने साहसिक निर्णयमा पुग्नु बुद्धिमानी रहन्छ। तर तपाईँ त्यसो गर्नुहुन्न। संस्था प्रतिष्ठित छ, सहकर्मी साथीहरू राम्रा छन्, कार्यकारी निर्देशक सहयोगी छन्, पारिश्रमिक आकर्षक नै छ, यो अवस्थालाई सजिलै झेल्न सक्छु भन्ने जस्ता व्याख्यात्मक टिप्पणीहरूमा टेकेर सोही जागिरलाई निरन्तरता दिनुहुन्छ। दशकौं बित्छन् तर तपाईँ त्यही जागिरमा झुण्डिरहनु हुन्छ। यतिका दशक कुनै एक रुचिको कार्यमा लगानी गर्न सकेको भए जीवनको गति/अवस्था अर्कै हुन सक्थ्यो। यसमा तपाईँको कत्तिपनि ध्यान जान सकेको हुँदैन।

त्यसैगरी मानौँ, तपाईँ उच्च शिक्षा हासिल गर्नका लागि अमेरिका जाने प्रक्रियामा हुनुहुन्छ। चारदेखि पाँच वर्ष बितिसक्दा पनि तपाईँको अमेरिका जाने प्रयास सफल नभए? तपाईँले अर्को विकल्प सोच्नुपर्ने हो। तर तपाईँ त्यसो गर्नुहुन्न। नेपालको उच्च शिक्षा गुणस्तरहीन छ, यहाँ अध्ययन सकेपछि उपयुक्त जागिर पाउन गाह्रो छ, भविष्य सुनिश्चित हुन सक्दैन भन्ने जस्ता विचारहरू राखेर आफू अमेरिका जानैपर्ने औचित्य प्रमाणित गर्न थाल्नुहुन्छ। अर्को थप दुईतीन वर्षहरू यसै बित्न सक्छन् तर तपाईँ अमेरिकी सपना देख्न छाड्नु हुन्न। यतिका वर्षहरू अरु कुनै उपयुक्त कार्यमा लगानी गर्न सकेको भए जीवन बेग्लै हुन सक्थ्यो। यसमा तपाईँको कत्तिपनि ध्यान जान सकेको हुँदैन। भविष्य अनिश्चित रहँदारहँदै पनि तपाईँ अमेरिकामा उच्च शिक्षा लिने लक्ष्य बाहेक कुनै अर्को साहसिक निर्णय लिने आँट गर्नुहुन्न।

यसरी यी दुई उदाहरणहरूबाट नकारात्मक मनोवृत्ति राखेर, बिना साहसिक निर्णय अथवा आफ्नो जीवन कस्तो बनाउने भन्ने विषयमा स्वयं आफू जिम्मेवार नहुँदासम्म, स्पष्टतासाथ निर्णायक नबन्दासम्म जीवनको गति मोड्न नसकिने र अर्थपूर्ण जीवन निर्माण नहुनेमा प्रस्टै हुन सकिन्छ।

निर्णय लिन किन आवश्यक ?

जीवनमा एउटा न एउटा निर्णय लिनैपर्छ। निर्णय लिने कार्य अलवा अर्को उत्कृष्ट विकल्प परिकल्पना गर्न सकिँदैन। यसको पछाडि केही मुख्य कारणहरू रहेका छन्। सोहीबारे संक्षेपमा चर्चा गरौँ।

कारण एक, सीमित स्रोतहरू। स्रोतहरू भन्नाले समय, उर्जा, पैसा र स्वास्थ्यलाई बुझ्न सकिन्छ। यी स्रोतहरू असीमित होइन, सीमित रूपमा नै उपलब्ध हुने गर्छन्। उपलब्ध स्रोतहरू के आधारमा विनियोजन गर्ने, के-कसरी र कहाँ लगानी गर्ने, त्यस मार्फत के-कस्ता प्रतिफलहरू सुनिश्चित गराउने आदि बारेमा प्रस्ट हुनु जरुरी छ। एउटा उचित निर्णय लिनु भनेको सीमित स्रोतहरूको उचित लगानी हुनु हो। युवावस्थामा जुन स्तरको निर्णय लिएर सफलताको जुन उचाइमा पुग्न सकिन्छ बुढ्यौलीमा सोही स्तरको निर्णय लिएर सोही स्तरको उचाइमा पुग्न सकिँदैन। कारण? युवावस्थामा जुन मात्रामा समय, उर्जा, पैसा र स्वास्थ्य उपलब्ध हुन्छन् ती बुढ्यौली अवस्थामा उपलब्ध हुनै सक्दैनन्। अर्को महत्त्वपूर्ण कुरा, आज लिइने निर्णयको गुणस्तरले निकट भविष्यमा कस्तो गुणस्तरको जीवन निर्माण गर्ने भन्ने निर्धारण गर्छ। त्यसैले सीमित रूपमा उपलब्ध स्रोतहरूको सदुपयोग गर्नका लागि समयमै सही निर्णय लिनु आवश्यक छ।

कारण दुई, मानसिक शान्ति। कुनैपनि कुराहरू, आफ्ना इच्छा आकांक्षाहरू, सपनाहरू, व्यक्तित्व तथा कमीकमजोरीहरू आदिबारे स्पष्ट हुन सकिएन भने सोचे जस्तो जीवन निर्माण गर्न सकिँदैन। यदि यी सम्पूर्ण कुराहरूबारे स्पष्ट हुन र सोहीअनुसार उचित निर्णय लिन सक्यौँ भने जीवनले गति लिँदै छ, सही दिशामा अघि बढिँदै छ भन्ने अनुभूति हुन्छ। त्यसैगरी मनमा कुनै दुविधा रहँदैन र मानसिक शान्ति पनि कायम राख्न सकिन्छ। त्यसैले जीवनलाई गतिशील राख्न, मनको स्पष्टता बढाउन र मानसिक शान्ति कायम राख्नका निम्ति निर्णय लिनु आवश्यक छ।

कारण तीन, अवसरको मूल्य। हरेक कार्य गर्दा या कुनै एक निर्णय लिँदा निश्चित अवसरको मूल्य चुकाउनु पर्ने हुन्छ। अर्थात्, एउटा कार्य गर्ने निर्णय लिँदा स्वतः अर्को कार्य गर्ने अवसर गुमाउन पर्ने हुन्छ। जस्तैः एउटी महिलालाई प्रेमिका बनाउँदा अरु आकर्षक महिलाहरूलाई प्रेमिका बनाउने अवसर त्याग्नुपर्ने हुन्छ। त्यसैगरी कुनै रात्रीभोजमा रमाइलो गर्दाको समय तालिममा सहभागी हुने अवसर छाड्नुपर्ने हुन्छ। त्यसैगरी एउटा व्यवसायमा सक्रिय रहँदा अर्को व्यवसाय गर्ने अवसरबाट वञ्चित हुनुपर्ने हुन्छ। यस्तोमा यी तमाम् कार्य या निर्णयहरू गम्भीरतापूर्वक गरिएन भने? यता न उताको भइन्छ। न प्रेमिकासँग राम्रो सम्बन्ध हुन्छ न अरु महिलाहरूसँग। न रात्रीभोजको पूर्ण आनन्द लिन सकिन्छ न तालिममा सहभागी भएर सिक्न सकिन्छ। न आफूले गरेको व्यवसायमा सफल भइन्छ न अर्को व्यवसायमा। अवसरको ठूलो मूल्य चुकाउनु पर्ने बाध्यता आइपर्छ। त्यसैले अवसरको मूल्यको भारी कम गर्न जिम्मेवार भएर, गम्भीरतापूर्वक निर्णय लिनु आवश्यक छ।

कारण चार, मानसिक उर्जाको हानि। मानसिक उर्जा भन्नाले संज्ञानात्मक कार्यहरूमा आबद्ध हुँदा चाहिने, प्रयोग हुने इच्छा वा क्षमतालाई बुझिन्छ। यसका तीन प्रमुख पक्षहरू रहेका छन्: मानसिक कार्य, प्रेरणा र मुड (मनोदशा)। कुनैपनि कुरा, कार्यहरूबारे कस्तो मानसिक कार्य गरिन्छ अथवा ती कुरा, कार्यहरूबारे कस्तो सोच राखिन्छ? कसरी अनुभूति गरिन्छ? मानसिक कार्य गर्न कत्तिको प्रेरित छौँ? मुड कस्तो रहेको छ? यी यावत् पक्षहरूले कुनैपनि कुरा, कार्यहरू गर्दा मानसिक उर्जाको स्तर कति रहने भन्ने निर्धारण गर्छ। यो निर्णय लिने प्रक्रियामा पनि उत्तिकै लागू हुन्छ। यदि तपाईँ हामी प्रेम-सम्बन्धमा धोका दिने वा प्रतिबद्ध रहने, उच्च शिक्षाका लागि अमेरिका वा अस्ट्रेलिया वा क्यानडा जाने, डाइभर्सिटी भिसा (डिभी) भर्ने वा नभर्ने, जीवन बिमा गर्ने वा नगर्ने, घरमै पकाएर खाने वा बाहिर खाने भन्ने जस्ता कुराहरूबारे लामो समय दोधारमा पर्नु भयो भने? कुनै एउटा निर्णयमा पुग्न सक्नुभएन भने? तपाईँको मानसिक उर्जाको स्तर घट्दै जान्छ। भनाइको तात्पर्य, तपाईँको मानसिक कार्य गर्ने क्षमता कम हुँदै जान्छ। सो कार्य गर्न प्रेरणाको स्तरमा गिरावट, मानसिक थकानमा वृद्धि हुनुका साथै मुड पनि बिग्रिँदै जान्छ। त्यसैले मानसिक उर्जाको हानि घटाउनका लागि निर्णय लिनु आवश्यक छ।

निर्णय गर्न कठिन हुनुका प्रमुख कारणहरूः

निर्णय लिन कत्तिको महत्त्वपूर्ण छ र यसले जीवनमा कसरी प्रभाव पार्नसक्छ भन्नेमा हामी स्पष्ट छौँ। यद्यपि तपाईँ हामी निर्णय लिन असहज/अप्ठ्यारो मान्छौँ। कहिल्यैपनि आत्मविश्वासी भएर समयमै निर्णय लिन सक्दैनौं। लामो समयसम्म महत्त्वपूर्ण निर्णयहरू थाँती राख्न, अनिर्णयको अवस्थामा भुल्न, कुनै कार्य नगरीकन निष्क्रिय अवस्थामा बस्न वा यथास्थितिमा रहन पुग्छौँ।  यस्तो अवस्था सिर्जना हुनुमा केही मुख्य कारणहरू हुन सक्छन्। सोहीबारे संक्षेपमा उल्लेख गरौँ।

पहिलो कारण, अस्पष्टता। अधिकांश हामीले आफूलाई पूर्ण रूपमा चिन्न र बुझ्न सकेका हुँदैनौं। भनाइको मतलब, आफ्नो व्यक्तित्व प्रकार के भन्नेबारे अनभिज्ञ छौँ। बहिर्मुखता हो कि सहमतता? खुलापन हो कि कर्तव्यनिष्ठता वा मनोविक्षुब्धता? यी व्यक्तित्व प्रकारहरूबारे वृहत् ज्ञान नहुँदा, आफ्नो प्रमुख व्यक्तित्व प्रकार पहिचान गर्न नसक्दा र सोहीअनुसार कदम चाल्ने आइडिया (विचार) नहुँदा  आफ्नै व्यक्तित्व मिल्दोजुल्दो कार्यहरू, कुराहरू उपलब्ध हुँदा त्यसबारे आवश्यक निर्णय लिन सक्दैनौं। त्यसैगरी हामी व्यक्तिगत प्रतिभा, बुद्धिमत्ता, ताकत, कमजोरीहरू र आफ्ना आन्तरिक इच्छाहरूबारे पनि अनभिज्ञ नै छौँ। यस्तोमा प्रतिभा, बुद्धिमत्ता र ताकतले भ्याउने, आन्तरिक इच्छाहरू परिपूर्ति गराउने खालका कार्यहरू या अवसरहरू प्राप्त हुँदा पनि त्यसबारे उचित निर्णय लिन सक्दैनौं।

दोस्रो कारण, डर। हामीले लिने निर्णयहरू सधैँ सही हुन्छन् भन्ने छैन। गलत निर्णयहरू लिने सम्भावना पनि उत्तिकै रहन्छ। प्रायः हामी गलत निर्णयहरू गर्न पुगिने र ती निर्णयहरूले निम्त्याउने जटिलताहरू देखि धेरै डराएका हुन्छौँ। त्यसैगरी अरुले केही भन्ने हुन् कि, हामीप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउने वा हामी विरुद्ध नै खडा हुने हुन् कि भन्ने जस्ता कुराहरूमा पनि उत्तिकै भयभीत हुन्छौँ। वास्तवमा भन्नुपर्दा, मैले एउटा गलत निर्णय लिएँ भने के हुन सक्छ होइन, मैले कुनै निर्णय लिइनँ भने चाहिँ के-कस्ता जटिल समस्याहरू आइपर्छन् भन्नेबारे बढी सोच्नुपर्ने हो। अफसोच! हामी निर्णय लिनुमा भन्दापनि निर्णय नलिनुमा बढी सुरक्षित महसुस गर्छौँ। जसकारण कुनै महत्त्वपूर्ण कुरा वा विषयहरूबारे निर्णय लिनुपर्ने समयमा अनिर्णयको बन्धनमा बाँधिन पुग्छौँ।

तेस्रो कारण, जिम्मेवारी देखि टाढा भाग्नु। आफूलाई निर्णायकका रूपमा स्वीकार गरियो वा जिम्मेवार रहन सकियो भने हदैसम्मको कठोर निर्णय लिन सकिन्छ। तर हामी त्यसो गर्न चाहँदैनौं। कुनै विशेष महत्त्वको निर्णय लिनुपर्यो भने अरुको धारणा सुन्न, उनीहरूको सुझाव लिन अग्रसर रहन्छौँ। उनीहरूले नै आफ्नो लागि निर्णय गरिदेओस् या निर्णय लिन सहयोग गरिदेओस् भन्ने अपेक्षा राख्छौँ। जसकारण जीवनमा महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने बेला आफ्नो जिम्मेवारीबाट पन्छिने वा ढुलमुले प्रवृत्ति देखाउने गर्छौँ।

चौथो कारण, निर्णय लिने कार्यलाई अतिनै महत्त्व दिनु। कुनैपनि कुरा, कार्यलाई अति महत्त्व दिइयो भने त्यो गरिँदैन। त्यहाँ अनुत्पादकताको ग्राफ (लेखा चित्र) बढेर जान्छ। यो कुरा निर्णय गर्ने कार्य, प्रक्रियामा पनि उत्तिकै लागू रहन्छ। कुनै एक महत्त्वपूर्ण निर्णय लिनु छ भने अब हामी यसो भन्न सक्छौँ, ‘हैट्! यो त अत्याधिक महत्त्वपूर्ण निर्णय हो। म कुनैपनि हालतमा गलत हुनु हुँदैन। मलाई गलत निर्णय गर्ने छुट पनि छैन।’ यस्ता भनाइहरू वा धारणाहरू राख्नु भनेको उत्कृष्टता/पूर्णतावाद अपेक्षा राख्नु हो। जुन सम्भव हुने विषय नै होइन। त्यसैले यस्ता धारणाहरू विकास गर्दा या पूर्णतावाद पछ्याउँदा सजिलै अनिर्णयको अवस्थामा अल्झिन पुग्छौँ।

पाँचौं कारण, अल्छीपन। कुनै एक निर्णय गर्न वा निर्णय गर्ने बित्तिकै त्यहाँ मिहिनेतको आवश्यकता स्वतः जोडिने गर्छ। तर दुःखका साथ भन्नुपर्छ, हामी कडा मिहिनेत गर्न त्यति रुचाउँदैनौं। सबै कुराहरू आफै मिल्दै जाने, समस्याहरू आफै समाधान हुँदै जानेमा पूर्ण विश्वास राख्छौँ। अन्ततः कुनैपनि कुरा वा विषयहरूमा आवश्यक निर्णय लिनुपर्ने समयमा उर्जाशील रहनुको साटो अल्छी गर्ने गर्छौँ।

निर्णायक बन्ने सशक्त विधिहरूः

समयमा निर्णय लिन वा निर्णायक बन्न सकिएन भने जीवनमा उकालो होइन, ओरालो तर्फ लागिन्छ। र, अन्ततः एक औसत दर्जाको व्यक्तिको रूपमा बाँच्न वा सामान्य जीवनयापनमा चित्त बुझाउनु पर्ने बाध्यता आइपर्छ। यो कुरा हामीले स्पष्ट सँग बुझिसकेका छौँ। त्यसैले निर्णायक व्यक्ति बन्नुको अर्को विकल्प छैन। यसका लागि निम्नलिखित सशक्त विधिहरू, रणनीतिहरू अवलम्बन गर्न सकिन्छ:

  • अनिर्णयको अवस्थामा बस्नु एउटा गलत निर्णय गरे भन्दा बढी खतरनाक एवं विनाशकारी हुन्छ। त्यसैले गलत तथा खराब निर्णयहरू गर्न नडराउनुहोस्। कुनैपनि निर्णय गर्दा मनमा उत्पन्न हुने डर हटाउन निर्णय लिने प्रक्रियालाई नयाँ तरिकाबाट बुझ्न, ग्रहण गर्न जरुरी छ। पहिलो, अधिकांश निर्णयहरूबारे पुनः विचार विमर्श गर्न पर्याप्त समय हुन्छ। यस अवधिमा आफ्ना वास्तविक चाहनाहरू बुझ्न, कमि कमजोरीहरू पहिचान गर्न र निर्णयहरूबारे अस्पष्टता पूर्ण रूपमा मेटाउन सकिन्छ। अनि यसै आधारमा नयाँ निष्कर्ष सहित परिमार्जित निर्णय लिन सक्ने हैसियतमा पुगिन्छ। दोस्रो, तपाईँ हामीले लिने निर्णयहरू कहिल्यै प्राणघातक हुँदैनन्। यी निर्णयहरू सच्याउनका निम्ति कयौँ मौकाहरू उपलब्ध हुन्छन्। तेस्रो, गलत निर्णयहरू मार्फत पनि नयाँ कुराहरू सिक्न र ठूला अनुभवहरू बटुल्न सकिन्छ।

 

  • हरेक दिन स-साना कुराहरूमा अल्झिनु पर्ने हुन्छ। ती कुराहरू उति चाखलाग्दो नभएपनि त्यसबारे चाँडो भन्दा चाँडो आवश्यक निर्णय लिन आफूलाई अभ्यस्त गराउनुहोस्। उदाहरणार्थ, यदि तपाईँ एअरपोर्ट सम्म जाँदै हुनुहुन्छ भने केमा जाने, कुन बाटो हुँदै जाने, सिधा बाटो जाने कि भित्री बाटो भन्ने जस्ता कुराहरूमा धेरै अल्मलिने नगर्नोस्। आफूले प्रयोग गर्ने गाडी र बाटो सम्बन्धित तुरुन्तै निर्णय गर्नोस्। त्यसैगरी यदि तपाईँलाई भोजमा सरिक हुने निम्तो आएको छ र तपाईँ सँग लगाउनका लागि कयौँ जोर उत्कृष्ट डिजाइन र ब्राण्डका लुगाहरू छन् भने के लगाउने होला भनेर दुविधामा नबस्नुहोस्। एकपछि अर्को लुगा लगाउँदै, आफूलाई कस्तो देखिएको छ भन्दै घण्टौं सम्म परिक्षण नगर्नोस्। साथीभाइ वा परिवारसँग कुन लुगा लगाउने भनेर पनि राय नमाग्नुहोस्। जुन लुगा लगाउँदा बढी सहज हुन्छ, त्यही लगाएर जानेमा तत्काल निर्णय गर्नोस्। जब तपाईँले यस किसिमका स-साना र रुचि नभएका काम, कुराहरूबारे छोटो समयमा निर्णय लिनुहुन्छ, तपाईँलाई ठूलठूला र कठिन निर्णय लिँदा प्राप्त हुने सन्तुष्टि अनुभूत गर्ने अवसर जुर्छ। यस अतिरिक्त, निकट भविष्यमा जस्तोसुकै कठोर निर्णय लिन थप आँट र उर्जा  प्राप्त हुन्छ।

 

  • एकपटक गरेको निर्णय नै अन्तिम निर्णय मानेर त्यसैमा अडिग रहने कोसिस गर्नोस्। जे जस्तो परिस्थिति आइपरे पनि मस्तिष्क परिवर्तन गरि निर्णय परिवर्तन गर्ने वा नयाँ निर्णय लागू गराउने प्रयास नगर्नोस्। मानौँ, तपाईँले जीवनको कुनै एक विन्दुमा वर्तमान प्रेमी वा प्रमिका विषाक्त रहेको र आफ्नो मानसिक स्वास्थ्यको लागि हानिकारक रहेको अनुभूत गर्नुभयो। तपाईँले ती प्रेमी वा प्रेमिकाबाट अलग रहने निर्णय गर्दै आधिकारिक रूपमा पनि ब्रेकअप दिनुभयो। यस्तोमा हप्ता दिन या महिना दिनपछि सोही प्रेमी वा प्रेमिका नै अरुभन्दा आकर्षक र बुझकारी रहेको भन्दै पुनर्मिलनमा जोड नदिनुहोस्। आफू एक्लो रहने निर्णयलाई नै शिरोधार गर्नोस्। त्यसैगरी मानौँ, तपाईँले आउँदो शनिबार साथीहरूसँग पैदल यात्रा जाने निर्णय गर्नुभयो। तर त्यस दिन हल्का झरी पर्ने पूर्वानुमान भयो भने? अब आफ्नो निर्णय बदल्ने तर्फ नलाग्नुहोस्। छाता, छत्री वा रेनकोट ओडेर र आवश्यक परे लट्ठी टेक्दै झरी परेपनि पैदल यात्रामा जानुहोस्। यो तपाईँको लागि नयाँ अनुभव हुनसक्छ।

 

  • ढिलो निर्णय गर्नु कुनै निर्णय नगरे सरह हो। निर्णय लिनुपर्ने अवस्था आएपछि त्यसलाई थाँती राख्नु, स्थगित गर्नु या लामो समयका लागि पन्छाउनु बुद्धिमानी होइन। त्यसबाट तपाईँको अपरिपक्वता एवं गैरजिम्मेवारीपन झल्किन्छ। मानौँ, तपाईँलाई एक मित्रले व्यापार साझेदार बन्ने प्रस्ताव राख्यो। सकेसम्म धेरै सेयर खरिदको लागि आग्रह पनि गर्यो। यस्तोमा तपाईँले एक हप्ताको समय माग्नु भयो र ती मित्रलाई समयावधि कटिसक्दा पनि कुनै निर्णय दिनु भएन भने? एक त ती मित्रमा तपाईँले कहिले निर्णय दिनुहुन्छ भन्ने खुलदुली हुन्छ। अर्को लामो समयसम्म पनि तपाईँको तर्फबाट कुनै निर्णय र प्रतिक्रिया नआउँदा तपाईँ प्रतिको सम्मान, विश्वास भाव घट्दै जान्छ। त्यसैगरी कसैले तपाईँ सँग पैसा सापटी माग्यो। यस्तोमा तपाईँले तीन दिनको समय माग्नु भयो र त्यो समयावधि पूरा हुँदासम्म तपाईँले कुनै निर्णय दिनु भएन भने? एक त ती व्यक्तिमा पैसा सापटी पाइन्छ कि भन्ने आशा हुन्छ। अर्को कयौँ दिनसम्म पनि तपाईँको तर्फबाट पैसा उपलब्ध हुने वा नहुने भन्ने कुनै निर्णय र प्रतिक्रिया नआउँदा तपाईँ प्रतिको सम्मान, विश्वास भाव कम हुँदै जान्छ। त्यसैले निर्णय लिनुपर्ने अवस्था आएपछि निर्णय गरिहाल्नुहोस्। ढिलासुस्तीलाई कुनै स्थान नदिनुहोस्।

 

  • जति ठूलो र संवेदनशील जिम्मेवारी, त्यतिनै ठूलो र धेरै संख्यामा विशेष महत्त्वका निर्णयहरू गर्नुपर्ने हुन्छ। जति धेरै निर्णयहरू सचेत रूपमा गरिन्छ, त्यतिनै उत्कृष्ट निर्णायक बन्दै गइन्छ। त्यसैले आफूलाई यस्तो स्थानमा राख्नुहोस्, जहाँ धेरै भन्दा धेरै महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने हुन्छ। यसको लागि जुन कुनै संस्था वा समूहमा आवद्ध भएपनि नेतृत्व तहमा पुग्ने लक्ष्य लिनुहोस्। यसलाई यसरी बुझौँ। कुनैपनि संस्थामा केवल एक सामान्य कर्मचारी भएर होइन, नेतृत्व तहमा पुगेर कार्य गर्ने संकल्प लिनुहोस्। कुनैपनि राजनैतिक दलको केवल कार्यकताको हैसियतमा सीमित हुने होइन, नेतृत्व तहमा पुग्ने लक्ष्य निर्धारण गर्नोस्। जब नेतृत्वमा पुग्नुहुन्छ, त्यसपछि प्रत्येक निर्णय सचेत रूपमा, संयमित भएर लिनुहोस्। केवल व्यक्तिगत स्वार्थ वा फाइदा उठाउने खराब मनसाय राखेर होइन, समग्र रूपमा संस्था र समाजका लागि के कति फाइदा सुनिश्चित गराउन सकिन्छ भन्ने असल मनसाय राखेर निर्णय गर्नोस्। यही कार्यशैलीले तपाईँ एक सम्मानित निर्णायकको रूपमा स्थापित हुँदै जानुहुन्छ।

 

  • उचित समयमा उचित निर्णय लिन सकियो भने सम्भावित समस्याहरू टार्न सकिन्छ। अन्यथा अनेकन् समस्याहरू भोग्नुपर्ने हुन्छ। त्यसैले समस्याहरू देखा पर्नु अगावै आवश्यक निर्णय लिने गर्नोस्। मानौँ, तपाईँ दुईचार जना महिलाहरू सँग शारीरिक घनिष्ठता कायम राख्न सफल हुनु भएको छ। अब तपाईँहरू बीच नियमित जसो कुनैपनि बेला, कुनैपनि ठाउँमा यौन सम्बन्ध रहने सम्भावना उच्च रहन्छ। यस्तोमा सधैँ सुरक्षा साधन (कण्डम) लिएर हिँड्ने र सोही साधन प्रयोग गरेर मात्रै सम्बन्ध राख्ने निर्णय लिनुहोस्। यसो गर्दा तपाईँहरू बीच असुरक्षित सम्बन्ध रहँदैन। परिणामस्वरूप तपाईँ निकट भविष्यमा अनावश्यक गर्भ रहने, यौन रोग अथवा यौन संचारित रोगहरू सर्न सक्ने जस्ता समस्याहरूबाट मुक्त हुन सक्नुहुन्छ। त्यसैगरी मानौँ, तपाईँले संगीतलाई करिअरको रूपमा छनोट गर्नुभयो। केही महिना संगीत कक्षा लिएपछि आफूमा सांगीतिक चेत र क्षमता नभएको पाउनु भयो भने? संगीत त्यागेर वास्तविक रुचि भएको क्षेत्रमा करिअर बनाउने निर्णय गर्न ढिलाइ नगर्नोस्। यसो गर्दा तपाईँ निकट भविष्यमा समस्याहरूको रूपमा आउन सक्ने असन्तुष्टि, पश्चताप, निराशा, तनाव आदिबाट टाढा रहन सक्नुहुन्छ।

 

  • महत्त्वपूर्ण निर्णयहरू लामो समय थाँती राख्दा, ती निर्णयहरूबारे धारणा परिवर्तन गरिरहँदा या नयाँ निर्णयहरू गर्ने पक्षमा उभिँदा प्राप्त हुने परिणामहरू र पीडाबारे सूक्ष्म अवलोकन गर्नोस्। यसैकारण मनमा उत्पन्न हुने अशान्ति, अस्तव्यस्तता र अनिश्चितताबारे पनि सूक्ष्म अवलोकन गर्नोस्। यस अभ्यासबाट तपाईँलाई उपयुक्त निर्णयहरू लिन सिर्जनात्मक उपाय र प्रेरणा मिल्छ। त्यसैगरी कुनैपनि कुरामा स्पष्ट हुन नसकेको अवस्थामा प्राप्त हुने परिणामहरू अवलोकन गर्नोस्। अनि के कारण अस्पष्ट छु, कस्तो स्वभाव राख्दा र आफ्नो व्यवहारमा कस्तो सुधार, परिवर्तन ल्याउँदा सहजै निर्णायक बन्न सकिन्छ, ती यावत् विषयहरूमा आत्मनिरीक्षण गर्नोस्। मानौँ, तपाईँ स्वदेशमै बसेर केही काम गर्ने वा विदेश गएर भविष्य बनाउने भन्ने विषयमा स्पष्ट हुन सक्नु भएको छैन। लामो समयसम्म अनिर्णयको अवस्थामा हुनुहुन्छ। यस्तोमा आफूले भोग्दै आएका परिणामहरू अवलोकन गर्नुका साथै आत्मविश्लेषण गर्नोस्। यस अभ्यासबाट तपाईँलाई कुनै एक निर्णयमा पुग्न स्पष्टता, ठूलो मद्दत मिल्न सक्छ।

 

  • आफ्नो जीवनको कार्यकारिणी अधिकृत अरु कोही नभएर तपाईँ हामी आफैँ हौँ। यस्तोमा आफ्नो निर्णय आफैँ लिन सक्नुपर्छ। अरु मानिसहरूको भर पर्नु या उनीहरूको धेरै राय, सुझावहरू सुन्नु उति ठीक होइन। मानौँ, तपाईँ प्रेमी/प्रेमिकालाई ब्रेकअप दिने वा नदिने, अहिल्यै व्यवसायमा हात हाल्ने वा पढाइमा ध्यान केन्द्रित गर्ने, पहिले आर्थिक अवस्था सुधार गर्नमा लाग्ने वा आध्यात्मिक कार्यमा सक्रिय रहने, कुनैपनि काममा संलग्न हुँदा पैसा प्राथमिकतामा राख्ने वा आत्मसन्तुष्टि भन्ने जस्ता विषयहरूमा निर्णय लिन सक्नु भएन भने? अरु मानिसहरूलाई यो गरौँ कि त्यो भनेर प्रश्न नगर्नोस्। यसको पछाडि केही कारणहरू छन्। एक, उनीहरूको सुझाव सुनेर, उनीहरूले दिएको निर्णय अनुसरण गरेर प्राप्त हुने परिणामले तपाईँको व्यक्तिगत विकास हुन सक्दैन। तपाईँ एक परिपक्व निर्णायकको रूपमा स्थापित हुन सक्नुहुन्न। दुई, सधैँ अरुको सहयोग लिएर निर्णय गर्ने हुँदा तपाईँमा एकल निर्णय लिने बानीको विकास हुनै सक्दैन। एक्लै निर्णय लिन सक्ने हैसियत हुँदाहुँदै पनि अरुको कुराहरू सुन्न थाल्नुहुन्छ। निकट भविष्यमा कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउँदा दोधारे मनस्थितिमा पुग्नुहुन्छ। स्वतन्त्र रूपमा आफ्नो निर्णय लिने आँट गर्न सक्नुहुन्न। त्यसैले आफ्नो लागि अरुलाई निर्णय गर्ने अधिकार नदिनुहोस्। आफूलाई एक कुशल निर्णायकको रूपमा स्वीकार गर्दै निर्णायक बन्ने पूर्ण जिम्मेवारी लिनुहोस्।

 

  • आफ्ना मूल मानहरू अथवा शीर्ष मानहरू (मूल्य मान्यताहरू), सपना र जीवन उद्देश्य बारेमा स्पष्ट हुनु अत्यावश्यक छ। यतिमात्र होइन, ती कुराहरूबारे थप स्पष्ट हुन र त्यसका लागि निरन्तर कार्य गर्न अग्रसर हुनैपर्छ। यस प्रकृतिको रणनीतिक कदम चालेर  सहज रूपमा निर्णायक बन्न वा उचित निर्णय लिन सकिन्छ। मानौँ, तपाईँलाई एउटा प्रतिष्ठित संस्थाबाट जागिरको प्रस्ताव आयो। त्यसबारे अन्तिम निर्णयमा पुग्न संस्थाले तपाईँलाई दुई हप्ताको समय पनि दियो। अब तपाईँ के गर्ने, के नगर्ने अवस्थामा पुग्नुभयो भने? आफ्ना शीर्ष मानहरू केलाउनुहोस्। ती मानहरू आधिकारिकता, सुन्दरता, सिर्जनशीलता, निष्कपटता, वफादारीता, विश्वसनीयता, व्यक्तिगत विकास, सफलता, आत्मसम्मान, प्रेम, खुसी, सिकाइ, सुरक्षा, समानुभूति, शान्ति, आनन्द आदि हुन सक्छन्। यदि तपाईँले सो जागिर स्वीकार गर्दा सिर्जनशीलता, व्यक्तिगत विकास, सफलता, आत्मसम्मान, सिकाइ जस्ता मानहरू सुनिश्चित हुन सक्दैनन् भने त्यो जागिर तपाईँको लागि उपयुक्त होइन। यदि तपाईँले सो जागिर स्वीकार गर्दा तपाईँको सपना र जीवन उद्देश्य पूरा हुन सक्दैन वा कुनैपनि किसिमको सहयोग मिल्दैन भने पनि त्यो जागिर तपाईँको लागि उचित हुँदै होइन। त्यस प्रस्तावित जागिर नखाने निर्णयमा पुग्नु नै तपाईँको भलाइ रहन्छ। त्यसैगरी मानौँ, तपाईँ जीवन साथी रोज्ने पक्षमा हुनुहुन्छ तर कुन महिला/पुरुष रोज्ने भन्नेमा अनिर्णित हुनुहुन्छ भने? आफ्ना शीर्ष मानहरूबारे सचेत रहनोस्। यदि तपाईँले ती महिला/पुरुष जीवन साथीको रूपमा स्वीकार गर्दा सुन्दरता, विश्वसनीयता, प्रेम, समानुभूति, शान्ति जस्ता मानहरू सुनिश्चित हुन सक्दैनन् भने ती महिला/पुरुष तपाईँको लागि उपयुक्त होइन। यदि ती महिला/पुरुष सँग सम्बन्ध जोड्दा तपाईँको सपना र जीवन उद्देश्य वास्तविकतामा परिणत हुन सक्दैन भने पनि ती महिला/पुरुष तपाईँको लागि उचित हुँदै होइन। त्यसैले कुनैपनि निर्णय गर्नु अगाडि आफ्ना मूल मानहरूको सम्बोधन हुने वा नहुने, सपना र जीवन उद्देश्य हासिल गर्नमा थप मद्दत मिल्ने वा नमिल्ने बारेमा यकिन भएर मात्रै अन्तिम निर्णय लिने गर्नोस्।

 

  • एक उत्कृष्ट निर्णायकका रूपमा परिचित हुन ओठे (खोक्रो) होइन, गहन निर्णयहरू लिन सक्नुपर्छ। यहाँ ओठे निर्णयहरू भन्नाले दीर्घकालीन वा समग्र सोच बिना राखिने निर्णयहरू हुन् भने गहन निर्णयहरू भन्नाले गम्भीरतापूर्वक, दीर्घकालीन वा समग्र सोच राखेर लिइने निर्णयहरू हुन्। ओठे निर्णयहरू कुनैपनि बेला तोडिन या परिवर्तन हुन सक्छन् भने गहन निर्णयहरू जस्तोसुकै परिस्थितिमा पनि अन्तिम या अपरिवर्तनीय हुन्छन्। केही उदाहरणहरू मार्फत प्रस्ट हुने कोसिस गरौँ। मानौँ, तपाईँ साथीले आयोजना गरेको रात्रीभोजमा उपस्थित हुनुभयो। तपाईँको पिउने बानी छ भने मदिरा (रक्सी)को व्यवस्था नहुने कुरै भएन। अब तपाईँले पछिल्लो समय रक्सी पिउँदाको ह्याङ्गओभर अझै हटेको छैन भनेर रक्सी नपिउने निर्णय लिनु भयो भने? यसैलाई ओठे निर्णय लिएको भन्ने बुझिन्छ । त्यहाँ साथीले पिउनका लागि हल्का जोड गर्ने बित्तिकै तपाईँको नपिउने निर्णय उत्तिखेरै तोडिन्छ । केहीजानी त्यस रात्रीभोजमा तपाईँले रक्सी नछोए पनि अर्को भोजमा पर्याप्त पिउनुहुन्छ नै। यसरी तपाईँको रक्सी पिउने बानी कहिल्यै हट्न सक्दैन। तर यसको ठीक विपरीत तपाईँले अत्याधिक रक्सी पिउँदा हुने वान्ता, ह्याङ्गओभर, विवाद, झगडा, खर्च तथा  मानसिक र शारीरिक स्वास्थ्यमा पर्न जाने नकारात्मक प्रभावहरूबारे सचेत रहनुभयो। नियमित पिउने बानीले आफ्ना मुख्य मूल्य मान्यताहरू कसरी हनन भएका छन् या आफूले गर्ने व्यवहार र मूल्य मान्यताहरू कसरी बाझिएका छन् भन्नेबारे पनि सेचेत रहनुभयो अनि सोहीअनुरूप कहिल्यै रक्सी नपिउने निर्णय लिनुभयो भने? यसैलाई गहन निर्णय लिएको भन्ने बुझिन्छ। त्यसपछि तपाईँ जस्तोसुकै परिस्थिति र साथीभाइको दबाबमा पनि रक्सी पिउने पक्षमा हुनुहुन्न। यसरी तपाईँ रक्सी नपिउने निर्णयमा अडिग रहन सक्नुहुन्छ। त्यसैगरी मानौँ, तपाईँ विवाहित पुरुष हुनुहुन्छ र पनि एउटी महिला तपाईँप्रति आकर्षित भइन्। अब तपाईँले ती महिला आफ्नी श्रीमतीभन्दा आकर्षक एवं कामुक नभएको हुँदा कुनै बेइमानी, लप्पन छप्पन नगर्ने या भनौँ धोकेबाज नहुने निर्णय लिनुभयो भने ? यसैलाई ओठे निर्णय लिएको भन्ने बुझिन्छ । तपाईँले आफ्नी श्रीमतीभन्दा आकर्षक महिला भेट्ने बित्तिकै नयाँ सम्बन्ध जोड्नेबारे सोच्न थाल्नुहुन्छ। तर यसको ठीक विपरीत तपाईँले सम्बन्धमा प्रतिबद्ध नहुँदा, धोकेबाज हुँदा, लप्पन छप्पन गर्दा, असत्य बोल्दा, विश्वसनीयता कायम राख्न नसक्दा उत्पन्न हुने जटिल समस्याहरूको सूक्ष्म विश्लेषण गर्नुभयो। परिवारको खुसी र बच्चाहरूमा पर्न जाने नकारात्मक प्रभावहरू, उनीहरूले आफूलाई प्रेरणाको स्रोत व्यक्तिका रूपमा लिने/नलिने, आफूले गर्ने व्यवहार र मूल मूल्य मान्यताहरू बीच उचित तालमेल भएको/नभएको आदि बारेमा सचेत रहनुभयो अनि सोहीअनुरूप श्रीमतीलाई कहिल्यै धोका नदिने निर्णय लिनुभयो भने? यसैलाई गहन निर्णय लिएको भन्ने बुझिन्छ। त्यसपछि तपाईँले कयौँ आकर्षक महिलाहरूसँग भेट्ने, हिमचिम बढाउने अवसर पाउँदा पनि श्रीमतीलाई धोका नदिने वा प्रेम-सम्बन्धमा सधैँ इमान्दार रहने, शतप्रतिशत जिम्मेवारी लिने निर्णयमा अडिग रहिरहन सक्नुहुन्छ। त्यसैले हरेक क्षेत्र वा विषयहरूमा आफूलाई एक सर्वोत्कृष्ट निर्णायकको हैसियतमा स्थापित गराउनका निम्ति सधैँ ओठे होइन, गहन निर्णयहरू लिने गर्नोस्।