‘कस्तो लेख्यो भने पत्रिकामा छापिएला ?’ केही दिन पहिले एउटा जुम जमघटमा कार्यक्रम सञ्चालकले अनायासै सोधे । म विस्मित भएँ । गोलमटोल जवाफ दिएँ, ‘पत्रिकामा छापिने खालको होइन, पाठकले पढ्ने खालको लेखे हुन्छ ।’
खासमा त्यो नवप्रतिभाको मनोविज्ञानमा आधारित प्रश्न रहेछ । मूलधारका पत्रपत्रिकाका शनिबारे परिशिष्टांकले नचिनेका, नपत्याएका, नछापेका या चल्तीको भाषामा रद्दीको टोकरीमा फालिएका नवलेखकहरुको साझा सवाल रहेछ ।
एकातिर पहुँच नहुने वा चिनजान नभएका नवलेखकका रचना नछापिएको दुखेसो छ भने अर्कातिर कतिपय लेखक एकै दिन सबैजसो पत्रपत्रिकामा छाइरहेका हुन्छन् । केही समय पहिले एक लेखकले एकै दिन तीन वटा शनिबारे परिशिष्टांकमा रचना छापिएको फोटो हालेर फेसबुक रंगाएकी थिइन् ।
यो दृश्य नयाँ लेखकहरुलाई कोक्याउने भइहाल्यो । म भेउ पाउँदिनँ, एकै साता तीन वटा लेख लेख्न भ्याउने कस्तो आशुलेखक हो ? सबैलाई एकैचोटि छाप्नैपर्ने कस्तो बाध्यता हो ?
अहिले धेरैजसो लेखक पत्रपत्रिकाको पछि लागेका छन्, पत्रपत्रिकालाई पछि लगाउने लेखक भने विरलै छन् । पत्रपत्रिकामा स्थानको सीमा हुन्छ नै । तिनले लामो, साहित्यिक र प्रयोगात्मक रचनालाई ठाउँ दिन सक्दैनन् पनि ।
यति हुँदाहुँदै पनि लेखकहरु पत्रपत्रिकाकै पछि किन लागेका छन् त ? पक्कै जनमानसमा एकैचोटि पुगेर वाहवाही पाउने हुटहुटी तिनमा छ । कतिसम्म भने निजी ब्लगमा मात्र लेख्ने वा कतै प्रकाशन नभएको रचना राख्ने लेखक कोही भेटिँदैन । यहाँ त किताबमा समेत पत्रपत्रिकामै छापिएका बासी रचनावलि हुन्छन् ।
साँच्चै नयाँप्रति पत्रपत्रिकाको उत्सुकता छैन त ? शनिबारे परिशिष्टांक संयोजनका अनुभवी विमल आचार्य नयाँको परख गर्ने प्रवृत्ति नभएकाले के लेख्यो भन्दा पनि कसले लेख्यो भनेर हेरिएको हुन सक्ने आकलन गर्छन् । ‘‘पुराना लेखक ट्वाक्कटुक्क मिलाएर लेख्छन् । एकसरो सम्पादन पनि नगरी सीधै प्रुफरिडरलाई दिए हुन्छ,’ उनी भन्छन्, ‘‘नयाँको हकमा कसैले सिफारिस नगरी नछापिने स्थिति छ ।’ नयाँ लेखकको छाप्न थालेपछि उभारै आएको उनको अनुभव छ ।
एक अनौपचारिक सर्भे गर्दा के थाहा भयो भने प्रायः परिशिष्टांकमा सेलेब्रिटी ठानिएका तर प्रायः दोयम दर्जाका २० जनाजति लेखक समेटिएका हुँदा रहेछन् । यिनले आफूलाई बिर्तावाल नै सम्झँदा रहेछन् । त्यसमा कतै वामपन्थी सिन्डिकेट छ, कतै कांग्रेसी सिन्डिकेट । कतै पूर्वेली सिन्डिकेट छ त कतै पहिचानवादी सिन्डिकेट ।
त्यसो त हरेक क्षेत्रमा साना–ठूला समूह आफैँ बन्छन् । कतिपय स्थितिमा त्यस्ता समूह चाहिन्छन् पनि । जगजाहेर छ, नेपालमा ‘‘सिन्डिकेट’ शब्दको अर्थसंकुचन हुँदै गएर सीमित व्यक्तिहरूको एकाधिकार र भागबण्डामा खुम्चिएको छ । साहित्य सिन्डिकेट, आलोपालो, दरभाउ र ठेक्कापट्टातिर बढ्दो छ ।
‘सबभन्दा सिन्डिकेट पत्रपत्रिकामा छ, घुमिफिरी उही नाम दोहोरिएर आउँछन् । उही नाम सबै मुद्दाका विशेषज्ञजस्ता देखिन्छन्,’ लेखक एवं समीक्षक महेश पौड्याल भन्छन्, ‘पत्रिका वा प्रकाशनगृहका एजेन्डाको छेउछाउ काम गर्ने लेखक सिन्डिकेटको भित्री घेरामा पर्छन्, नगर्ने बाहिरी घेरामा । आक्कलझुक्कल अरू लेखकलाई पनि समेट्छन् ।’
यहाँ सरकारी अड्डा हुन् या निजी मठ, सबै अघोषित सिन्डिकेट चलाइरहेका छन् ।
साँच्चै भन्ने हो भने नेपालमा लेखकहरुको संख्या पनि गणना गरिसाध्ये रहेनछ । बेहिसाब लेखकहरुलाई प्लेटफर्म सिर्जना गर्नु चुनौतीपूर्ण पनि छ । ‘नेपाली साहित्यकार कलाकार कोश’ या ‘नइ टेलिफोन कोश’ मा समेटिएका भन्दा नअटाएका लेखक नै बढी छन् ।
पत्रपत्रिका साहित्यिक सिन्डिकेटको एउटा नमुना हो भने परिचय कोश र टेलिफोन कोश आफैँमा अर्को सिन्डिकेट । यहाँ सरकारी अड्डा हुन् या निजी मठ, सबै अघोषित सिन्डिकेट चलाइरहेका छन् ।
त्यसो त आजको साहित्य २० जनालाई मियो बनाएर घुम्न पनि सक्दैन । यसको विकास र प्रवर्धनमा वैयक्तिक र संगठित रूपमा हजारौँ सर्जक, सयौँ अध्येता, समीक्षक, विवेचक र लाखौं पाठक आआफ्नै किसिमले सक्रिय छन् ।
‘एक–डेढ दशकयता हामीकहाँ लेखक–प्रकाशकको एउटा यस्तो वर्ग देखा परेको छ जसले लोकप्रिय छापा माध्यमका केही सम्पादक एवं फिचर एडिटरहरूको सहयोगमा नेपाली साहित्यको वर्तमान चेहरा तिनै १५-२० जनाको अनुहारहरूको कोलाज मात्र हो कि भन्ने भान पार्न खोजेको छ,’ कवि एवं समीक्षक हरि अधिकारी भन्छन्, ‘म कसैको नाम लिन चाहन्नँ तर यो कटु यथार्थ हो र नेपाली साहित्यको गुणात्मक विकासका लागि हानिकारक पनि ।’
कतिपय प्रतिष्ठान-संस्थानका हरेक प्रकाशन वा मुखपत्रमा तिनकै पदाधिकारी वा कर्मचारीका रचना भेटिन्छन् । गुणस्तर होस् वा नहोस्, नयाँ होस् वा नहोस् । कतिपय पदाधिकारीका लेख–रचना समयमा तयार नहुँदा पत्रिका छपाइको मिति नै धकेलिन्छन् । विद्यालयदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म कसको रचना राख्ने वा नराख्ने भन्नेमा पनि सिन्डिकेट नै छ ।
‘जाति, वर्ग, क्षेत्र, लिंग वा विचारलाई स्पष्ट आधार बनाएर गठन गरिएका कतिपय संस्थाहरूको घोषित एजेन्डै हो, सिन्डिकेट,’ अध्येता महेश पौड्याल थप्छन्, ‘तर, साहित्य सेवाको नाम जपिरहेका कतिपय संस्थामै पनि सिन्डिकेट देखिनु चाहिँ विडम्बना हो ।’ त्यसबाट नयाँ प्रतिभाले सहयोगी हात पाउँदैन भने प्रभाव सकिएका र नयाँ स्वाद नबुझेका लेखककै हालिमुहाली हुन्छ ।
सिन्डिकेटको अर्को दुर्दान्त दृष्टान्त हो, साहित्य महोत्सव । इलामदेखि धनगढीसम्मका साहित्य महोत्सवको खातापाता पल्टाउने हो भने त्यसको अनुहार उदांगो भइहाल्छ ।
सिन्डिकेटको अर्को दुर्दान्त दृष्टान्त हो, साहित्य महोत्सव । इलामदेखि धनगढीसम्मका साहित्य महोत्सवको खातापाता पल्टाउने हो भने त्यसको अनुहार उदांगो भइहाल्छ । जस्तोः नेपाल लिटरेचर फेस्टिभलका आठ संस्करणसम्म स्थायी जागिरेजस्ता अनुहार देखिए । गत वर्ष पोखरा लगिएका भनिएका नयाँ लेखक पनि एक अमूक प्रकाशनका नयाँ लेखक वा मन परेका सम्भावित लेखक मात्रै थिए ।
त्यही रोग सरुवा भयो, धनगढीको विश्व नेपाली साहित्य महोत्सवमा । महोत्सवका प्यानलिस्टदेखि विषयसम्म पुनरावृत्ति कस्तो बाध्यता थियो कुन्नि ? कतिसम्म भने युवा स्रष्टालाई मञ्च दिने हुँकार गरेको काँकडभिट्टा साहित्य महोत्सवले समेत काठमाडौँबाटै बासी र बूढाखाडा लेखकहरुको जन्ती ‘एयरलिफ्ट’ गर्यो ।
काठमाडौं, पोखरा, वीरगन्ज, नेपालगन्ज, जनकपुरदेखि काँकडभिट्टासम्म एउटै जुलुस किन छ भने यहाँ अघोषित सिन्डिकेट छ । विडम्बना त के भने एउटा सिन्डिकेटको आलोचना गर्नेले नै सगर्व अर्को सिन्डिकेट खडा गरेका छन् ।
‘लिटरेचर फेस्टिभलको उद्देश्य विशुद्ध व्यापारिक हुन्छ । केही लेखकहरूको महत्त्वाकांक्षा तुष्टि गर्दैमा त्यसले सम्पूर्ण साहित्यकारलाई समेट्दैन,’ समालोचक नेत्र एटमको टिप्पणी छ, ‘‘साहित्यमा जो चलेको छ, उसलाई ब्रान्डका रूपमा उपयोग गरी मिडियाले हाइलाइट नगरेका लेखकहरू लेखक नै होइनन् भने मनोविज्ञान सिर्जना गरिएको छ ।’
सिन्डिकेटमा सीधै जोडिइहाल्छ, प्रकाशक । आफूलाई प्रकाशक शिरोमणि ठान्ने एक संस्थाले मिडिया पहुँचका आधारमा आफ्ना हरेक लेखकलाई सेलेब्रिटी या ‘‘सिद्धहस्त लेखक’ को जामा भिराउने अभूतपूर्व सफलता पाएको छ । त्यही चमकधमकका कारण लेखकहरु त्यहीँ धुइरिन्छन् र त्यसमा सफल नहुँदा मात्रै अरुको दैलोमा धाउँछन् ।
केही प्रकाशक सीधै सेलेब्रिटी या नाम चलेकाको मात्र किताब छाप्नुलाई जन्मसिद्ध अधिकार सम्झिन्छन् । किताब बेच्ने खेलमा हिरोइनलाई उपन्यास लेखाउनदेखि कमेडियनहरुलाई पुस्तक विमोचक गराउनसम्म पछि पर्दैनन् । तिनले हम्मेसि नयाँ लेखकलाई स्वागत गरेको भने देखिँदैन ।
‘प्रकाशनगृहहरूमा व्यावसायिकभन्दा पनि आग्रही दृष्टिकोण छ । नाम चलेका केही लेखकको घेरा तोडेर उदार भएको देखिँदैन,’ महेशको अध्ययन छ, ‘उनीहरूलाई के थाहा छैन भने, उही लेखक, सबै समयमा मानक, नवीन र ग्राह्य भइरहन सक्दैन । प्रकाशनगृहले आफू फैलिन र सान्दर्भिक भइरहन पनि त नयाँ प्रतिभालाई नउठाई धर छैन ।’
कतिपयले पुरस्कार, पदक पसल नै थापेका छन् । पुरस्कारलाई ‘बक्सिस’ ठान्ने कतिपय दाताको मनोविज्ञान छ ।
माने पनि नमाने पनि सिन्डिकेटका सेन्टर बनेका छन्, पुरस्कार- सम्मानहरु । सरकारी पुरस्कारहरु पार्टी कार्यकर्ताले नै ‘कुशबिर्ता’ बनाएका छन् । निजी पुरस्कार गुठीहरुको प्राथमिकतामा अझै पनि सत्यमोहन जोशी, माधवप्रसाद घिमिरेहरु नै छन् । उपरीमाथि थुपरी गर्ने परिपाटीले पुरस्कार फगत कर्मकाण्ड सावित भइसक्यो ।
कतिपयले पुरस्कार, पदक पसल नै थापेका छन् । पुरस्कारलाई ‘बक्सिस’ ठान्ने कतिपय दाताको मनोविज्ञान छ । कुन पुरस्कारका लागि कसलाई भन्यो वा प्रभावित पार्यो भने पाइन्छ भन्ने खालका कुरा पनि छरपस्ट छन् । कतिपय पुरस्कारमा कुनै बेला पुरस्कृत व्यक्ति नै बिचौलिया बनेका देखिन्छन् । पुरस्कारको सिन्डिकेटमा राजनीति, जातजाति र क्षेत्रीयताको प्रतिविम्बन हुनु पनि सामान्य भइसकेको छ ।
‘अहिलेसम्म कम्युनिस्ट विचारधारामा विश्वास गर्नेहरूले राखेका र परिचालन गरेका सयौँ साहित्यिक पुरस्कार एक जना पनि गैरकम्युनिस्ट सर्जकलाई दिइएको थाहा छैन,’ समीक्षक हरि अधिकारी भन्छन्, ‘वैरागी काइँला र तुलसी भट्टराईको जिम्मामा परेका पुरस्कारहरू पूर्वाञ्चलवालाहरूले मात्र पाउँदै आएका छन् भने तीर्थ श्रेष्ठ र सरुभक्त आदिको हातमा डाडुपन्यू पर्यो भने उनीहरूले सकेसम्म पोखरातिरका सर्जकलाई मात्र पुरस्कृत गरेको देखिएको छ ।’
पुरस्कारपछि कार्यक्रम, विमोचन र अन्तर्क्रियामा पनि एकखाले सिन्डिकेट नै छ । एकै दिन दुई–तीन वटा कार्यक्रममा विमोचकहरुको हस्याङफस्याङ पनि हेर्न लायककै हुन्छ । समग्रमा मिडिया, पुस्तक प्रकाशक, पुरस्कार, सम्मान, महोत्सवदेखि विमोचन कार्यक्रमसम्ममा एकैखाले व्यक्ति उछलकुद गरिरहेका छन् । साँचो अर्थमा तिनले दिन नसकेको चाहिँ कृतित्व नै हो । अनुवादको कोटामा समेत सिन्डिकेट पुष्पित र पल्लवित छ ।
कतै नभएको सिन्डिकेट नेपाली साहित्यमा मात्रै छ त ? त्यसो चाहिँ होइन रहेछ । अध्येता महेश पौड्यालको शब्दमा विश्वसाहित्यमा पनि सिन्डिकेट छ । नोबेल पुरस्कार समिति, अपवादबाहेक वाम विचारलाई प्रोत्साहन गर्दैन । बुकर पुरस्कार पाउने कमन वेल्थबाट आउने लेखकका कृतिले नै हो ।
अमेरिकी विश्वविद्यालय र प्रकाशन संस्थानले छापेका धेरै ‘‘प्रतिनिधिमूलक’ भनिएका साहित्यका विधागत संकलनमा एसियाली लेखक समेटिन्नन् । अमेरिकी र क्यानेडायली मूलधारको साहित्य र पाठ्यक्रममा पनि नियोजित रूपमा आदिवासी लेखकहरूलाई नेपथ्यमा पारिएको छ ।
मूलधारका अमेरिकी प्रकाशन गृहहरू अश्वेत लेखकहरूका रचना छापिरहेका छैनन् । टोनी मोरिसनपछि कुनै पनि ठूलो कदको अश्वेत लेखकले अमिरिकी मूलधारमा आफूलाई स्थापित गर्न सकेको छैन ।
‘सिन्डिकेटभन्दा पनि गुटबन्दीका कारण चर्चामा रहिरहने सर्जकहरूलाई नै बेफाइदा भएको छ,’ हरि अधिकारीको अनुभव छ, ‘‘त्यस्ता लेखकका हरेक दोस्रा–तेस्रा कृतिको स्तर खस्किँदै गएको छ ।’
सेलेब्रिटी या सिताराको पछि लागेको नेपाली साहित्य कति भूलभूलैयामा छ भने देवीचन्द्र श्रेष्ठलाई चिनेकै छैन । गुप्तवासमा रहेका युवा लेखक सरोनरको बौद्धिक सुनामीमा रत्तिभर चाख छैन । कणाद महर्षि, जसराज किराती या रेशम विरहीलाई कवि नै मान्दैन । रोशन शेरचनहरु किन पुरस्कार पाउँदैनन् ? त्यसको पनि कुनै जवाफ छैन ।
फलस्वरुप मुट्ठीभर व्यक्ति चकलेटी बजारको चर्को मानसिक दबाब खेपिरहेका छन् । ‘सिन्डिकेटभन्दा पनि गुटबन्दीका कारण चर्चामा रहिरहने सर्जकहरूलाई नै बेफाइदा भएको छ,’ हरि अधिकारीको अनुभव छ, ‘‘त्यस्ता लेखकका हरेक दोस्रा–तेस्रा कृतिको स्तर खस्किँदै गएको छ ।’
आफूले जति बुझेको छ, त्यसको सीमान्त त्यही होइन । पुरानो पुस्तालाई जित्ने विचारको तीक्ष्णता, निजत्वको छाप, प्रयोगधर्मिता र समसामयिक जीवन र जगत्लाई हेर्ने मौलिक दृष्टि अनि भाषिक लालित्यले नै हो । त्यो चुनौती सन्तोष खडेरी, श्रेयज सुवेदी, विजया लक्ष्मी, विभु लुइटेल, विराट अनुपम, शिक्षा रिसाल, रोहेज खतिवडा, दीपक पराजुली, मुना चौधरी, त्रिवेणी, छम गुरुङ, स्मृति रानाभाट, निरु राजवंशी आदि हनोहार लेखकले नै स्वीकार गर्न सक्छन् ।
हो, सकारात्मक सुरुवात ‘लाइक’ गरेरै हुन्छ । तर जेलाई पनि कसरी लाइक गर्ने ? अब सबैले अलिअलि कुण्ठा, आडम्बर, आक्रोश र भ्रम घटाउनै पर्छ । ‘नेपाली साहित्यमा सिन्डिकेट त पक्का छ । तर असल, लोभबाट मुक्त र आत्मविश्वास बोकेको स्रष्टालाई हल्लाउन सक्दैन । एउटा बाटोमा रोक्ला, अर्को अवसरमा गौँडो छेक्ला । तर प्रतिभाले हजार बाटा आफैँ निर्माण गरिदिन सक्छ,’ महेश पौड्यालको निष्कर्ष छ, ‘यो तथाकथित सिन्डिकेटभन्दा पर, तटस्थ पाठकहरूको एउटा सत्ता छ । त्यो नै सर्वोच्च सत्ता हो ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।