म आठ कक्षामा पढ्थेँ । पहिलो कक्षा १० बजे सुरू हुन्थ्यो । १० बजे नेपाली पढाउनु हुने प्रभा मिस नेपाली कम अमेरिका धेरै पढाउनु हुन्थ्यो । कुनैबेला उहाँ अमेरिका जानुभएको रहेछ । हरेक दिन अमेरिकामा यस्तो र उस्तो भन्ने कुरो नै धेरै सुन्न पथ्र्यो । अमेरिकाका बारेमा अमेरिका नै नगइकन धेरै थोरै जानकारी हामी पनि राख्थ्यौँ । त्यतिबेला अहिले जस्तो औँलाको टुप्पोमा सूचना त थिएन नै, तर अमेरिकी सूचना केन्द्र जो नजिकै न्युरोडमा थियो । अहिले एभरेष्ट बैंक बसेको घर अमेरिकी सूचना केन्द्रले सायद लामो अवधिको लागी भाडामा लिएको थियो । अहिलेको भन्दा धेरै सफा, सुग्घर थियो । भुइँतल्लामा नै अमेरिकन लाइब्रेरी थियो । म काठमाडौँको काठबाट सहरमा पढ्न आउनेलाई न्युरोड ने चौँकाधौँक थियो । त्यसमाथि अमेरिकन लाइब्रेरीको भवनको त के बयान गर्नु ? ठूलो सिसाको ढोका खोलेर भित्र पस्ने अनि फेरि दाहिनेतिरको ढोका खोलेर पुस्तकालय । पुरै एअरकण्डिशन । जाडोको बेला न्यानो, गर्मीको बेला शीतल । हामी त त्यहाँको भौेतिक व्यवस्थाले नै अचम्भित थियौँ । तर यी सब कुरा विस्तारै साधारण लाग्न थालिसकेको थियो ।

दिनमा एकपटक पुस्तकालय जाने त्यहाँ रहेका पत्रपत्रिकाको शीर्षक पढ्ने, मिलाएर राखिएका अंग्रेजी पुस्तक तानेर हेर्ने बानी लागिसकेको थियो । त्योभन्दा महत्त्वपूर्ण कुरा त त्यहाँबाट प्रकाशित हुने चिल्लो कागजमा छापिएको स्वतन्त्र विश्व नामक अति सुन्दर म्यागाजिन सित्तैमा लिने लोभ थियो । स्वतन्त्र विश्वको दुईवटा प्रयोग थियो, पहिलो पुस्तकको जिल्दा हाल्नुभन्दा अगाडि के रहेछ भनेर पढ्ने । जिल्दा हाल्नको लागि उबेला राम्रो र साइज मिलेको कागज पाउन नै मुस्किल थियो । मैले घरको पसलबाट चुरोटको बट्टा प्याक भएर आएको चुरोटको पेटी खाली गरेर किताबमा जिल्दा लगाउँथे । चुरोटको पेटीको कागज अति नै बलियो हुन्थ्यो , तर त्यसको एउटा दुर्गुण थियो । पसिनाले विस्तारै त्यो कालो हुन्थ्यो र त्यो कालो अलकत्रे रंग किताबमा पनि सथ्र्यो । त्यो कालो सायद अलकत्राको एउटा स्वरूप थियो । जुन चुरोटमा सर्दी नजावोस् भनेर भित्रपट्टि राखिएको हुन्थ्यो ।

स्नेह सायमि

यस्तो जिल्दाको अभावमा स्वतन्त्र विश्वको जिल्दा हाल्नपाउनु ठूलै मौका थियो । त्यतिखेर किताब पढे पनि नपढे पनि राम्रोसँग जिल्दा हाल्ने एक किसिमको परम्परा नै थियो । कारण के पनि होला भने किताब, कापी र कलम अहिले जस्तो झोलामा हालेर जाने चलन थिएन । किताब र कापी हातैले च्यापेर लैजाने र कलम फोन्टेन पेन भने सर्टको खल्तीमा हाल्ने चलन थियो । बेला बेला मसी राख्नुपर्ने, त्यो मसी पनि चुहिने हुँदा विद्यार्थीहरूको सर्टको खल्तीमा नीलो मसीको ढब्बा हुनु, औैलाहरूमा नीलो मसी लाग्नु स्वाभाविक मानिन्थ्यो ।

अँ, म नेपाली कक्षाको बारेमा र पहिलो घण्टीमा पढाउनु हुने प्रभा मिसको बारेमा भनिरहेको थिएँ । उहाँ नेपाली र नेपाली व्याकारणभन्दा अमेरिका पढाउन आउनुहुन्थ्यो । पहिलो घण्टी भएको हुनाले राष्टिय गान गाउन लगाउनु हुन्थ्यो । अनि मेचमा बसेरै सबथोक भन्नुहुन्थ्यो ।

कुनै कुनैबेला हामीलाइ ह्रस्व दीर्घ आयो कि आएन भनेर जाँच लिनुहुन्थ्यो । जाँच लिने उहाँको आफ्नै तरिका थियो । एक विद्यार्थीलाई एक म्याराग्राफ कालोपाटीमा लेख्न लगाउने र अर्को विद्यार्थीलाई करेक्सन गर्न लगाउने । हामीहरू धेरैले व्याकरणको त के कुरा ह्रस्व र दीर्घ पनि जानेका थिएनौँ । कालोपाटीमा ह्रस्व दीर्घ सच्याउनु परेपछि एकजनाले ह्रस्व ह्रस्व बनाउँदै लैजाने अर्कोले सबै शब्दहरूलाई दीर्घ दीर्घ बनाउने गथ्र्यौ । त्यो देखेर प्रभा मिस रिसाउनु हुन्थ्यो र हामीलाइ लट्ठीले चुट्नु हुन्थ्यो । तर चुटेर हामीले सिक्न सक्दैनथ्यौँ । प्रभा मिसको नेपाली कक्षामा अमेरिकाको बयानले नेपाली व्याकरणको जग राम्रो भएन ।

अहिले देख्छु, नेपालीहरूको चरित्र । उबेलाका हामी व्याकरणका अन्जान विद्यार्थीहरूजस्तै । आफ्नो मान्छे, आफ्नो साथी, आफ्नो नेता, आफ्नो दलका कुरा सबै शतप्रतिशत राम्रो भनिदिनुपर्ने र नभनेको दिन शत्रु हुने । विवेक प्रयोग गरेर यो राम्रो, यसमा अरू सुधार गर्नुपर्ला कि भन्नै नहुने । उसका सबै कुरा राम्रो भनुन्जेल उसका मान्छे, अलिकति स्वतन्त्र विचार राख्यो कि उसका विरोधी । उबेला त अन्जानले सबै ह्रस्व र सबै दीर्घ लेखियो । अहिले देख्छु, एकसेएक विद्वानहरू पनि अन्जान भएको अभिनय गरिरहेका छन् । के जीवन यसरी नै बाँच्न सकिएला र ?
अस्तु