
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक । रामदयाल राकेशकाे ‘केही समीक्षा’, भारती गौतमकाे ‘अमेरिकामा आमा’, धीरकुमार श्रेष्ठकाे ‘नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल’, बिनोद खड्काकाे ‘घाउ’, पुरुषाेत्तम सुवेदीकाे ‘विजय चालिसेका छानिएका कथा’, कृष्ण बजगाईंकाे ‘कागजकाे मन्त्री’हरू हुन् ।
००००
१. केही समीक्षा — रामदयाल राकेश
साहित्यकार, संस्कृतिविद् मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय समालोचक डा. रामदयाल राकेशको नवीनतम समीक्षात्मक कृति हो — “केही समीक्षा” ।
९६ पृष्ठमा मौलिएको यस कृतिमा ‘द्रौपदी अवशेष’, ‘इजोरिया’, ‘खलंगामा हमला’, ‘खेलौनाको सेक्स गेम’, ‘लू’, ‘द्रौपदी’, ‘दुलारी’ र ‘प्रतीकात्मक प्रश्न’ कृतिहरूको समालोचनात्मक आलेखहरू पाइन्छ । जस्तै ‘आख्यानको रूपमा प्रेमा शाह’मा ‘पहेँलो गुलाफ’कथाको विश्लेषण र ‘सानु शर्माको औपन्यासिक उत्कृष्टता’मा ‘उत्सर्ग’ उपन्यासको सारसंक्षेप आदि समावेश छन् । साथै ‘समसामयिक उपन्यास लेखन’ र ‘समसामयिक नेपाली समालोचना’ पनि सङ्ग्रहित छन् । सङ्ग्रहित लेखहरूमा सरल र सहज भाषाशैलीको प्रयोग साथै यथार्थ मूल्याङ्कन पाइन्छ ।
पुस्तकको पछिल्लो कभर पृष्ठमा कमल ढकाल लेख्छन्, “हृदयको सुवासमा धूपभन्दा टाढा जान्छ र झनै सुगन्धित हुन्छ । मलाई यस्तै लाग्दछ । डाक्टर रामदयाल राकेश पनि हृदयलाई सुवासित गर्न हिँडिरहनुभएको छ । पढेर लेखेर नअघाउने उहाँ लेखिरहनुहुन्छ, पढिरहनुहुन्छ र अक्षरमा सुवास छर्दै हृदय सुवासित बनाउँदै अघि बढिरहनुभएको छ ।”
लेखकीयमा रामदयाल राकेश लेख्छन्, “समीक्षा लेखनको प्रेरणा मैले नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार भवानी भिक्षुबाट पाएको थिएँ । उहाँलाई म एकपल्ट भेट्न गएको थिएँ र उहाँले के भन्नुभयो भने नेपालीमा समीक्षा लेखन नगण्य छ । तसर्थ तिमी समीक्षा लेख्ने गर । पुनश्च: मैले सुरु सुरुमा कविता लेख्ने गर्दथेँ तर मलाई नै आत्मसन्तुष्टि नभएकोले मैले कविता विधालाई अँगाल्न सकिनँ । भनिन्छ, असफल कवि आलोचक बन्दछ । म समीक्षा लेखनमा सक्रिय हुन थालेँ ।”
पुस्तकलाई सिमल बुक पब्लिकेसनले बजारमा ल्याएको हो र यसको मूल्य ३ सय ५० रहेको छ ।
००००
२. अमेरिकामा आमा — भारती गौतम
प्रसिद्ध कवयित्री, लेखिका भारती गौतमकृत संस्मरणात्मक उपन्यास हो — अमेरिकामा आमा ।
यसमा परिवारसँग बिताएको लेखिकाको तीस वर्षे जीवनको व्याख्या तथा विश्लेषण पाइन्छ । ‘रित्तो काख’, ‘काठमाडौँ छाडेका दिन’, ‘छोरो मेरो शिक्षक’, ‘परिवार र पर्व’, ‘फर्किएर ओहायो’, ‘मातृत्वमा बुद्धत्व’ आदि उपशीर्षहरू समावेश छन् । नेपाल र अमेरिकाको परिवेश, भाषाको विविधता, सामाजिक, सांस्कृतिक, पारिवारिक विषयहरूलाई समेटेर लेखिकाले पुस्तकलाई सरल, मिठो र आकर्षक तरिकाले प्रस्तुत गर्नुभएको छ ।
“सुसंस्कारयुक्त, सुशिक्षित तथा मातृभूमिप्रति सद्भावना, स्नेह र समर्पणको पवित्र भावनामा डुबेकी नेपाली आमाका अनुकरणीय र उदाहरणीय व्यवहारहरूका छत्रछायामा अमेरिकाजस्तो विकसित मुलुकका विभिन्न नगरहरूका विद्यालयहरूमा छोराछोरीहरू हुर्केको चित्रण यस कृतिमा औधी प्रशंसनीय र अनुकरणीय छ ।” भूमिकामा प्रा. डा. तारानाथ शर्मा लेख्छन्, “एउटा ससानो उदाहरणका लागि अमेरिकाको विद्यालयमा पढ्ने छोराको यो प्रश्न कम्ती स्वाभाविक र रमाइलो छैन, ‘ममी, तपाईं र बुबा मेरो कस्तो बुबाआमा हो ? स्यामुएकको जस्तो रियल (साँच्चै) कि जनी र सेराको जस्तो स्टेप (ुसौतेनी) हो ?’”
“सन्तोष र शान्ति प्राप्तिको टाकुरामा स्थापित गराउन सक्षम उपाधि ‘आमा’ निषेधित विषयवस्तु या प्रतिबन्धित शहर नभएको अनुभूतिसम्म पुग्ने लामो यात्राको कहानी हो यो । यात्रा र अनुभव रोचक र उल्लेखनीय भएर हैन त्यसको विपरीत भएकोले नै मेरो हृदयबाट पोखिएको हो ।” पुस्तक भन्दा पहिलेमा लेखिका लेख्छिन्, “अरूसँग भेट गर्नुभन्दा आफ्नैसँग भेट गर्नु सबैभन्दा कठिन हुँदो रहेछ । संस्कारगत आस्थाका पर्खालबाट बाहिरिन जति गाह्रो हुन्छ संस्कारगत मान्यताको ढोका बाहिर निस्किएर फेरि भित्रिन त्यो भन्दा सजिलो हुँदो रहेनछ । परिभाषा र मान्यतालाई चुनौती गर्नु अनि अदृश्य जीवन बाँच्नु झन् कठिन रहेछ ।”
४ सय ९६ पृष्ठमा आबद्ध, शब्दार्थ प्रकाशनबाट बजारमा आएको पुस्तकको मूल्य ७ सय ५० रुपियाँ रहेको छ ।
००००
३. नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल — धीरकुमार श्रेष्ठ
लामो समयदेखि साहित्यिक पत्रकारिता र साहित्य लेखनमा सक्रिय वरिष्ठ साहित्यकार धीरकुमार श्रेष्ठद्वारा लेखिएको स्रष्टापरक समालोचनात्मक कृति हो – “नेपाली साहित्यकाशमा हेमचन्द्र पोखरेल” ।
प्रस्तुत पुस्तक हेमचन्द्र पोखरेकको जीवनी तथा व्यक्तित्व र कृतित्वमा आधारित छ । प्रथम परिच्छेद ‘व्यक्ति’मा पोखरेलको जन्म र बाल्यकाल, घर र घरायसी साथै जीवन दर्शन र पेसा बारे उल्लेख गरिएको छ भने द्वितीय परिच्छेद ‘कृति’ र तृतीय परिच्छेद ‘मूल्याङ्कन’मा हेमचन्द्रका निजी स्वभाव, प्रवृत्ति र व्यक्तित्व र उनले के कस्ता साहित्यिक कृति लेखे र ती कस्ता छन् भनी विवेचना गरिएको छ ।
प्रा. डा. गोविन्दराज भट्टराई लेख्छन्, “धीर भाइको यो कृतिको उद्देश्य ता एम. ए स्तरीय शोधको पूर्णता थियो । यस पालि अत्यन्तै गरिहो गरी पढेपछि लाग्यो हेमचन्द्र गुरुलाई छुनुपर्ने सम्पूर्ण तत्त्व र पक्ष यसमा समावेश रहेछन् । अरू धेरै भन्नु लेख्नुपर्दा अब ता उहाँको कृति पढेर तिनको विस्तारका प्रक्रिया मात्र बाँकी रहलान् तर उहाँलाई चिन्ने चिनाउने मूल कुरा यिनै हुन् ।”
“प्रस्तुत पुस्तक प्रकाशनको विषयसँगै स्मृतिको मेरो पुरानो ग्रन्थबाट धीरकुमार सतहमा उत्रिए । कुनै समयमा पढेर थन्क्याएको रुचिकर किताबजस्तो । न त कतैबाट हाम्रा नातेदार न त धनकुटासँग उनको कुनै पुर्ख्यौली रगत न त मेरा बुबाको प्रत्यक्ष विद्यार्थी । यो विविधताको अपवाद कुनै अदृश्य शक्तिले मेरा बुबासँग जोडिएका धीरकुमार ।” भारती गौतम लेख्छिन्, “यसै अर्थले पदेन धीरकुमार मेरो परचक्री भएनन् । मैले पढ्ने अवसर नपाएका मेरा बुबाको व्यक्तित्वका गहन पक्षहरूभित्र पौडिन सक्षम धीरकुमारलाई मेरो हृदयले टाढा देख्ने कुरै भएन । बाकै चेतनाले सायद हामीलाई भावनाको एउटै गुच्छामा समेट्यो ।”
पुस्तकलाई समकालीन साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । १ सय २३ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
००००
४. घाउ — बिनोद खड्का
करिब ४० देशको भ्रमण गर्नुभएको बिनोद खड्काकृत नियात्रासङ्ग्रह हो – “घाउ” । यसमा ‘पहिलो ब्याकप्याक यात्रा’, ‘सुरुङभित्रको सकस’, ‘युद्धको अवशेष तस्बिरहरूमा’, ‘माउन्ट मेरु कि सुमेरु ?’, ‘एङ्कोरवाटमा स्वर्गको यात्रा’ आदि २० थान नियात्रा सङ्ग्रहित छन् ।
“कुरूप नजरहरूका लागि समस्यै समस्या छ । स्वार्थी नजरहरूको सोचमा स्वार्थ नै बलवान् लाग्ने गर्छ । कुरूप नजरहरूले रोप्छन् अशान्तिको बिउ । स्वार्थले मलजल गर्छन् । युद्ध उमार्छन्, युद्ध हुर्काउँछन् । घाउ बाँड्नु नै उनीहरूका लागि उपलब्धि हुन्छ । बिर्सने गर्छन् उनीहरू कि यो पृथ्वीमा ओर्लिने हरेक मान्छेले एकदिन यो पृथ्वी छोड्नैपर्छ । उनीहरूले पनि एकदिन छाड्नै पर्छ । लिएर जान सक्दैन कसैले केही । सबै यही छोड्नुपर्छ । मालिक होस् वा नोकर, गरिब होस् वा धनी, शासक होस् वा धनी, शासक होस् वा जनता, सबैले छोड्नै पर्छ यो पृथ्वी एकदिन । बस्, यात्राले मलाई सिकाएको यही हो, यत्ति हो ।” मनका कुराहरूमा लेखक लेख्छन्, “भियतनाम र कम्बोडियाको यात्रा मेरा लागि यो पृथ्वीलाई फरक ढङ्गले हेर्ने एउटा अवसर थियो । इतिहासको चस्माले विगतलाई हेर्ने एउटा मौका थियो । मानवताको कसीले मान्छेहरूलाई नाप्ने एउटा समय थियो । खोइ कति बुझेँ, कति नापेँ, सायद यही पुस्तक स्वयंले बताउँला । निष्कर्ष यत्ति नै थियो कि मानवताभन्दा ठूलो अर्को कुनै धर्म छैन । मानवताभन्दा ठूलो अर्को कुनै कर्म छैन । खुसी बाँडेर जिउन सक्नुभन्दा ठूलो अर्को कुनै मानव जीवन छैन । घाउरहित समाजको सिर्जना गर्नुभन्दा ठूलो अर्को कुनै उपलब्धि छैन ।”
३ सय ३२ पृष्ठमा फैलिएको यस पुस्तकलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो ।
००००
५. विजय चालिसेका छानिएका कथा
सम्पादक पुरुषोत्तम सुवेदीद्वारा सङ्कलित पुस्तक हो – “विजय चालिसेका छानिएका कथा ।”
विजय चालिसे – नेपाली साहित्य क्षेत्रका चिरपरिचित स्रष्टा हुनुहुन्छ । उहाँको कथालेखन २०३० मा प्रारम्भ भई त्यसयता निरन्तर रहेको छ । उहाँले ६ दर्नभन्दा बढी पुस्तकहरू प्रकाशन गरिसक्नु भएको छ ।
यस पुस्तकमा भने उहाँको हालसम्म प्रकाशित ६ कथासङ्ग्रह ‘त्रिविधि’, ‘प्रयोग/प्रत्यारोपण’, ‘भग्न आस्थाको खण्डहर’, ‘अग्निचक्र’, ‘खोसिएको सपना’, ‘विज्ञानको कैदी’ बाट ३६ र सङ्कलनमा सङ्ग्रहित नरहेका पत्रपत्रिकामा प्रकाशित भएका ८ गरी ४३ थान कथाहरू सङ्ग्रहित छन् । प्रगतिवाद तथा उत्तर आधुनिक चिन्तनमा प्रस्तुत कतिपय कथामा सामाजिक विकृति तथा विसङ्गतिप्रति व्यङ्ग्य गरिएको छ भने कतिपय कथाहरूले पहिचानका लागि प्रतिरोध गर्ने पात्र पनि बोकेका छन् ।
पुरुषोत्तम सुवेदी लेख्छन्, “विजय चालिसेका कथामा निरङ्कुश नेपाली राजनीतिका २०३२ साल, ३६ र ४६ साल, मात्र होइन हिंस्रक र राजनीतिका २०५२ साल र २०६२ साल अनि २०७२ साल समेत नेपाली राजनीति र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण सबैजसो समय गोचर हुन्छन् । आम मान्छे पत्रकारिता र सामाजिक सञ्जालले अविश्वास र शङ्काको आँखाले हेर्ने दृष्टिको विकास भएको नेपालको राजनीतिक र सामाजिक संवेदनशीलताको झलक विजयका कथामा अधिकांश ठाउँमा पनि शङ्का, सन्देश र असहमतिका साथ दृश्याङ्कित रहेको देख्न सकिन्छ । अग्रगामी विकास र विश्वासका पक्षधर सबै शक्तिहरू झैँ यसको निकास खोजिनु पर्ने आग्रह पनि उनका अनेक कथाहरूमा लुकेर प्रकट रहेको देखिन्छ ।”
प्रकाशकीयमा लेखिएको छ, “कथाकार विजय चालिसेको कथायात्रा तथा युगचेतनासहति कथागत प्रवृत्ति पहिचान, विश्लेषण तथा मूल्याङ्कन गर्न त यो कृति आधार सामग्री बन्ने नै छ, साथै चालिसेको कथाकारिता पर्यालोकन गरी स्तर निरूपण गर्न पनि उपयोगी हुने छ ।”
२ सय ५५ पृष्ठमा फैलिएको पुस्तकलाई तन्नेरी प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकको मूल्य १ हजार रुपियाँ रहेको छ ।
००००
६. कागजकाे मन्त्री – कृष्ण बजगाईं
नियात्राकार तथा कथाकार कृष्ण बजागाईंद्वारा लेखिएकाे पुस्तक हाे – कागजकाे मन्त्री ।
१ सय १२ पृष्ठमा फिँजिएकाे यस पुस्तकमा ‘कागज’, ‘शंका’, ‘मूर्दा शान्ति’, ‘उद्याेग’, ‘निन्दा’, ‘प्रत्यभिज्ञा’, ‘हल्ला’, पखेटा’, ‘हतियार’, ‘पैचाे’, ‘तिताे सत्य’, ‘गालीकाे सङ्कट’ लगायत ५२ थान लघुकथा सङ्ग्रहित छन् ।
सरल र सहज भाषाशैलीमा लेखिएका लघुकथाहरूमा समाजकाे वास्तविता झल्केकाे छ । सशक्त पात्रहरूकाे चित्रणले पुस्तक जीवन्त र पठनीय रहेकाे छ ।
आत्मकथ्यमा लेखक लेख्छन्, “हामीले बाँचिरहेकाे उत्तर आधुनिक समाजकाे भागदाैडकाे समयमा रचिने साहित्य हाे, लघुकथा । अति व्यस्त पढिने साहित्य लघुकथा हाे । व्यस्तताकाे पनि आफ्नै पिडा छ । अहिलेकाे व्यस्त मानिसले पलपलकाे हिसाब गरिरहेकाे हुन्छन् । समयकाे मूल्य खाेजिरहेका हुन्छन् । त्यही समयकाे उपज हाे लघुकथा ।”
‘पैँचाे’ लघुकथामा लेखिएकाे छ –
“लाेग्नेकाे आवाज सुनेर घरभित्र रहेकी स्वास्नीले हत्त न पत्त ढाेका खाेलेर बाहिर आइन् । सबैजनाले एक अर्कालाई हेराहेर गरे । त्यहाँकाे दृश्य देखेर स्वास्नीलाई भाउन्न भयाे । घरभित्र पसेर उनले ड्याम्म ढाेका लगाइन् । सपनामा पनि उप सपना देखिरहेकी स्वास्नी ढाेकाकाे आवाजले ब्युँझिन् । सँगै सुतेकाे लाेग्ने ओछ्यानमा थिएन । दाैडेर ढाेका खाेल्न गइन् । ढाेकामा बाहिरबाट चुकुल लगाएकाे थियाे ।”
भुँडीपुराणबाट प्रकाशित पुस्तककाे मूल्य १ सय ९० रुपियाँ रहेकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : अधिकारीकाे ‘क्रुज डायरी’देखि मैनालीकाे ‘घाउ आफैँलाई दुख्छ’सम्म

साताका पुस्तक : पुडासैनीकाे ‘बत्तीमुनि उज्यालो’देखि सापकोटाकाे ‘चिसो बाफ’सम्म
