‘हुर्रे ! म राजा ।’
हातमा एक–एक मुठी निगुरो बोकेका तीन–चार जना केटामध्ये एउटाले हात माथि उठाउँदै घोषणा गर्यो ।
‘कसरी ?’

बाँकीले उसलाई राजा मान्ने कि नमान्ने दोधार बोकेर उसको दाबीको कारण जान्न चाहे ।
‘यो निगुरो मैले सबैभन्दा अग्लो भीरबाट टिपेर ल्याएको हुँ, त्यसैले म राजा,’ उसले भन्यो ।
‘त्यसो भए मैले यो निगुरो सप्तकोसीपारिबाट ल्याएको हुँ । भीरमा जानुभन्दा कोसी तर्नु झन् गाह्रो हो । त्यसैले मैले राजा हुन पाउनुपर्छ,’ पहिलोको दाबी अस्वीकृत गर्दै दोस्रोले भन्यो ।

‘मैले झन् दलदलको माझमा गएर ल्याएको, त्यसैले म राजा !’ अर्कोले अघिल्ला दुईको दाबीलाई मानेन ।
‘म राजा !, म राजा !’ बाँकी अरूले पनि आफूले ज्यान जोखिममा पारेर निगुरो टिपेकाले आफू राजा हुन पाउनुपर्ने तर्क गरे ।
पहिलोले देख्यो, कोही उसलाई राजा मान्न तयार छैनन् । ‘जब मलाई कसैले राजा मान्दैनन् भने म अरूलाई राजा किन मान्नु ? अरूलाई राजा हुन किन दिनु ?,’ पहिलोले यस्तै सोच्यो ।

सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् ।

 

उसले जुक्ति निकाल्दै भन्यो –
‘निगुरो टिप्दैमा कोही राजा हुँदैन ।’
‘उसो भए तिमी राजा हुन पाउँदैनौ,’ एउटाले तर्क गर्यो ।
‘हो हो तिमी राजा हुन पाउँदैनौ,’ बाँकीले होस्टेमा हैँसे मिसाए ।
‘त्यसो भए म यो निगुरो फालिदिन्छु,’ पहिलोले भन्यो ।
उसको सिको गर्दै सबैले निगुरो भुइँमा फाले ।
सबैलाई निगुरो फाल्न सहमत गराउन सकेकोमा पहिलो मुसुक्क हाँस्यो । साथीलाई राजा भन्नुपर्ने बाध्यता सकिएकोमा बाँकी केटाहरू पनि खुसी छन् ।

‘दाइ, तपाईको घर यतै हो ?’
साँझको बेला चौतारोमा बसेर गफ गरिरहेका गाउँलेमध्ये एक जनालाई सोधेँ ।
‘हो !’ एक जनाले संक्षिप्त जवाफ दिए ।
‘यसलाई के गाउँ भन्छन् ?’
साँझको बेला थियो र म त्यही गाउँमा कतै बास बस्नुपर्ला कि भन्ने सोच्दै थिएँ ।
‘चेस्मिटार,’ उसले आफ्नो गाउँको नाम बतायो ।
त्यतिखेरै डाँडापारिबाट सर्रर हावा आयो । दिनभरि कामले लखतरान भएका गाउँलेको मुहारमा अलिकति भए पनि सन्तोषको आभा देखियो ।

‘कुन पञ्चायतमा पर्छ यो ?’ मैलै सजिलोका लागि सोधेको थिएँ ।
मेरो प्रश्न सुनेर गाउँलेले मुखामुख गरे । प्रश्नको जवाफ दिनुको साटो एउटा जो अलि जेष्ठ नागरिकजस्तो थियो, उसले गाउँलेहरूतिर फर्केर भन्यो, ‘पञ्चायत छैन साथी हो ! पञ्चायत छैन । सहरबाट आएकाहरूको कुनै विश्वास नगर्नु अब ।’
‘हत्तेरिका ! यात्राको क्रममा कस्ता–कस्ता मान्छेको फेला परिन्छ, कस्तो–कस्तो ठाउँमा पुगिन्छ, के भन्नु, के नभन्नु !’ मनमा यस्तै विचार आयो । तर, नयाँ ठाउँमा थप बोल्नु जोखिमपूर्ण हुने ठानी चुपचाप सुनकोसी गड्तिर लक्ष्य गर्दै ओरालो लागेँ ।
२०४८ माघ १८ गतेको कुरा हो ।

सानोमा पढेको भाँड कुकायो कथा सम्झिएँ । नदी तरेपछि सबैले पालैपालो साथीहरू गनेछन् । गन्दा एक जना साथी नपुगेपछि सबै रुन थालेछन् । खासमा उनीहरूले आफूलाई चाहिँ गन्न बिर्सिँदा रहेछन् ।
इतिहासमा भाँडहरू कुकाएको उही भाँड–बेँसी सेरोफेरोका गाउँलेसँग म भर्खरै साक्षात्कार भएको थिएँ ।
 

‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो ।                …

अँध्यारोको एउटा टुक्रा कोठामा फैलिएको छ ।
‘डार्लिङ ! अन्तर्वार्ताका दिन म छँदै छु नि !,’ उसले भन्यो ।
‘होइन, मलाई जागिर चाहिएको छैन ।’
‘त्यसो भए कति पैसा चाहिन्छ म लेखापाललाई भन्दिन्छु,’ उसले दुवै हात समायो ।
‘अहँ, मसँग पैसा छ ।’
‘अन्त ?’ कोठामा एकछिन अलमल व्याप्त भयो ।
‘ठिकै छ, तिम्रो लोग्नेलाई दर्ता फाँटबाट करमा सारिदिन्छु,’ उसलाई बिस्तारी आफूतिर तान्न चाह्यो ।
त्यहीबेला तात्न लागेको फलाममा अचानक बाछिटा परे जस्तो भो ।
ऊ एक–कदम पछाडि हटी । उसलाई भुलको हल्का अनुभव भयो ।
‘तिमी त्यो बूढोलाई छोडिदेऊ । मसँगै बस ।’
‘अहँ, म त्यो बूढोलाई छोड्न सक्तिनँ । मलाई त्यसको माया लाग्छ ।’
‘… … … … ?’
‘… … … … !’
‘मलाई एउटा सन्तान चाहिएको छ !’
यति भनेर ऊ चुप लागी ।
मौन सम्मति लक्षणम् !
बिस्तारी अँध्यारोको एउटा टुक्रामा उनीहरूको छाया मिसियो । तर, त्यसरी अँध्यारोमा एकाकार हुनुअघि उसले उसलाई एउटा कुरा चाहिँ भनेन । वा भन्न चाहेन । त्यसयता उनीहरूको भेट तीन–चार पटक भइसके पनि यो कुरा उसलाई अझै थाहा छैन ।
उसका दुई वटा छोरा छन् । उसले परिवार नियोजन गरेको छ ।

 

मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन ।

म जागिरे भएको थाहा पाएपछि उसले मलाई बारम्बार पत्र लेख्न थाल्यो । म पनि साहित्यिक भावनाले भरिएका टुक्काहरू जोड्दै जवाफ दिइरहन्थेँ ।

मसँग पत्राचार गर्न पाएकोमा ऊ खुसी थियो । कहिले ऊ मेरो लेखनको प्रशंसा गथ्र्यो । कहिले अक्षरहरूको ।
पत्रमा बहिनीका बारेमा केही न केही प्रसङ्ग उल्लेख गरेकै हुन्थ्यो ।
अहिले ऊ १० कक्षामा पढ्दै छे । उसलाई राम्रा बुट्टा भएका स्वीटर–पञ्जा बुन्न आउँछ । ऊ घरको भित्री काममा सिपालु छे । उसले बनाएको अदुवा–लसुनको अचारको गाउँभरि प्रशंसा हुन्छ । आदि–इत्यादि ।
पत्रोत्तरमा बहिनीसँग सम्बन्धित कुराहरूमा भने कुनै प्रतिक्रिया जनाएको हुन्नथेँ ।
एकदिन उसले आफ्नी हिनीको बिहेको कार्ड पठायो । म कार्यालयको कामले डोरमा खटिनुपर्ने भयो । बिहेमा जान पाइनँ ।
त्यसपछि उसका कुनै पत्र आएनन् ।
दसैँमा गाउँ गएका बेला ऊसँग भेट भयो ।
‘क्या हो यार ! अचेल तिमी किन पत्र लेख्दैनौ ?’ भेटमा मैले गुनासो गरेँ ।
‘के गर्नु यार ! खेतीपातीको काममा व्यस्त हुनुपर्छ,’ जवाफमा उसले भन्यो, ‘पत्र लेख्न फुर्सदै हुँदैन ।’
मुखले जे भने पनि आँखाले अर्कै कुरा भनिरहेको थियो । उसलाई म सानैदेखि चिन्छु । ऊ खेतीपाती गर्न परिवारलाई सघाउने मान्छे होइन ।

‘अनि बहिनीको के छ घरतिरको खबर ?’
‘ठिक छ रे !’ उसले संक्षिप्त जवाफ दियो र कतै जान हतार भए जस्तो गर्यो ।
दसैँको शुभकामना दिँदै म पनि अघि बढेँ ।
बाटोमा मनमनै सोचेँ – बहिनीको बिहे भइसकेपछि उसले मलाई पत्र लेख्न छोड्नुको कारण फुर्सद नभएर होइन विषयवस्तु नभएर हो ।

‘देवकोटाका पालामा जस्तो गम्भीर साहित्य लेख्ने चलन रहेन अब । कविता लेख्नु त झन् जोखिमपूर्ण कुरा हो ।’
उसको बोलीमा रक्सीको हरक आइराखेको थियो ।
ऊ मेरो समकालीन लेखक साथी हो ।

प्रमाणपत्र तह पास गरेपछि ऊ राजधानी हानिएको थियो । म गाउँकै स्कुलमा पढाउन थालेँ । केही महिनापछि उसका लेख–कविता छापिएका केही पत्रिकाहरू उसले पठायो । रेडियो नेपालमा कविता, अन्तर्वार्ता सुन्न पाइने तिथिमितिको जानकारीसहित पत्र पनि लेखिरहन्थ्यो ।

एकपटक मलाई खिसी गर्दै ‘यता काठमाडौँले प्रतिभा खोजिरहेको छ तर विडम्बना हाम्रा धेरै देवकोटाहरू अझै गाउँमा डल्ला फुटाउँदै छन्,’ भनेर चिठीमा लेखेको थियो ।
‘मोफसल भनेको मोफसलै हो,’ उसको तर्क हुन्थ्यो ।
थुप्रै दिनपछि आज यसरी गाउँमा भेट हुँदा उसको सोचाइ र व्यवहारमा राम्रै परिवर्तन भएको देख्न पाइयो । गाउँमा हुँदा चुरोटसम्म खान मान्दैनथ्यो । राजधानीबासी भएपछि प्रतिबन्धित कुराहरू पनि खान सिकेछ ।

 

बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी ।

‘अचेल म लेखन समसामयिक हुनुपर्छ भन्ने विशेष अभियान चलाउँदै छु । तपाई त मेरो पुरानो जिग्री हो । तपाईलाई थाहै छ । यहाँ बोल्नेको पिठो बिक्छ, नबोल्नेको केही बिक्दैन । त्यसैले हिजोआज म समसामयिक चाखलाग्दा कुरा र कृति समीक्षा लेख्छु । सम्पादकले नै यो लेखिदिनु पयो भनेर दिन्छन् । महिनामा दुई–चार हजार पारिश्रमिक टुट्दैन । कृति–समीक्षा गर्दा जसको कृति हो उसले पनि खर्च दिन्छन् । तपाईले कुनै कृति निकाल्नु भा’को छ भने भन्नुहोला । राम्रै समीक्षा लेखिदिन्छु । तर तपाईसँग पैसा लिन्नँ ।’
बोली सकेर उसले मेरा आँखामा अपेक्षित प्रतिक्रिया खोज्यो । म एकोहोरो कुरा सुनिरहेको थिएँ । अपेक्षित केही नपाएपछि उसले फेरि भन्यो, ‘साहित्यलाई अनुत्पादक बनाउनुहुँदैन, बुझ्नुभो ! सोखका लागि मात्र लेख्ने कुरा हुन्न । लेखिसकेपछि लेख्नेमान्छे बाँच्नु पनि पर्छ ।’

‘तपाईजस्तो प्रतिभा भएको मान्छे क्षमता खुम्च्याएर बेकारमा यो गाउँमा बसिरहनुभएको छ,’ उसले थप भन्यो, ‘सम्झिँदा पनि दिक्क लाग्छ ।’

बोल्दा–बोल्दै ऊ भुइँमा टुक्रुक्क बस्यो । र, वाक–वाक गरेर छाद्न थाल्यो – गाजरका टुक्रा, नपचेको मासुको चोक्टा, ढाडिएको चिउरा, अमिलो पानी ।

‘सरी है !,’ अलि सहज भएपछि उसले भन्यो, ‘आउँदा बाटोमा साथीहरूले निकै कर गरेर अलिकति खाइयो । तर, म त्यस्तो रेगुलर खाने मान्छे होइन ।’

विचरा मेरो साथी ! दुई वर्षअघि ठुलो साहित्यकार हुन राजधानी हिँडेको मान्छे, छाद्न चाहिँ गाउँमै आइपुग्यो ।

घोडेटोमा उनी, एक जना युवक र भरिया नजिकै आइपुगे । बिहानको मिर्मिरे उज्यालोमा उनका र मेरा आँखा जुधे ।
यात्रामा म प्रायः लम्केर हिँड्ने मान्छे । तर, उनलाई भेटेपछि हतारमा स्पिड ब्रेक लाग्यो । बिस्तारी हेराहेर गर्दै हिँडियो । घरि उनले हेर्ने घरि मैले हेर्ने । केहीबेर हिँडेपछि नुनथला डाँडा आइपुग्यो ।
डाँडाबाट उत्तरतिर आकर्षक हिमाली दृश्य देखियो । तीमध्ये एउटालाई देखाएर उनले भनिन्, ‘आहा ! कति राम्रो हिमाल । सगरमाथा कति नजिकै !’

नुनथलाबाट सगरमाथा देखिँदैन । सर्वोच्च शिखरप्रति उनको आत्मीय अनभिज्ञता देखेर मलाई मनमनै हाँस उठ्यो ।
‘खासमा त्यो कुनै हिमाल होइन, अग्लो पहाड हो । हिँउदमा सेतो देखिन्छ, बर्खामा कालो ।’
एकाएक म बोलेको सुनेर उनीहरूले मतिर हेरे । लामीडाँडाबाट भरिया लिएर आउने उनीेहरू दाजु–बहिनी रहेछन् ।
‘के नाम हो यसको ?,’ बहिनीले सोधिन् ।
‘दूधकुण्ड !’
मैले जानी–जानी दूधकुण्ड शब्दलाई जोड दिएर भनेँ । दाजुले मेरो मनासय बुझ्यो कि के ग¥यो, मलाई गहिरिएर हे¥यो । बहिनी लाजले राती भइन् ।
‘के रे ! दूधकुण्ड ?’ उनले सहजै सोधिन् ।
‘हो, दूधकुण्ड ।’
‘कसरी थाहा पाउनुभो ?’
‘एकपटक भैरुङ–पाती खोज्दै म त्यहाँ पनि पुगेको थिएँ,’ मैले भनेँ ।
मेरो भनाइ उनले कति बुझिन्, दाइले कति बुझ्यो थाहा छैन ।
‘ए, ए…’ उनले भनिन् । हाम्रो बोली फुटेकोमा दाजु चाहिँ च्याँठियो । त्यसपछि दाजुको आँखा छलेर घरि उनले हेर्ने म मुसुक्क हाँस्ने, घरि मैले हेर्ने उनी मुसुक्क हाँस्ने गर्दै हामीले बाटो काट्यौँ ।

बाम्राङमास्तिर आइपुगेपछि बाटो मोडियो । उनी को थिइन्, कहाँकी थिइन् नाम–ठेगाना सोध्नै बिर्सिएछ । तर, दाजुको आँखा छल्दै उनले मुसुमुसु हाँसेको दृश्य आज पनि सम्झना छ ।

२०४७ साल पुस १० गते नुनथला डाँडामा भेटेको त्यो अपरिचित मुस्कान सम्झिँदा आज पनि सिरिङ–सिरिङ लाग्छ ।
सेल्फीको जमाना थिएन । नत्र दाजुको आँखा छलेर दुई–चारवटा सेल्फी त अवश्य जान्थ्यो ।