पछिल्लो दशक नेपाली साहित्यमा छोटा सिर्जनाहरूको महत्त्व स्रष्टा र पाठकबिच रूचिको विषय बनेको छ । यसै रूचिमा लघुकथाले आफ्नो रूप र गतिलाई परिमार्जित र परिभाषित गर्दै आफ्नो स्थानमा पकट जमाएको देखिन्छ । त्यसो त, नेपाली साहित्यमा लघुकथा वि.सं. १९९० को शारदाकालीन समयदेखि नै प्रकाशनमा आएको हो । अनेक उतारचढावका बाबजुत ३० को दशकलाई नेपाली लघुकथाको स्वर्णकाल मानिन्छ । यसै समयमा भारतीय उत्कृष्ट लघुकथाहरूको प्रभावका कारण नेपाली स्रष्टाहरूले उत्कृष्ट लघुकथाहरू लेखनको सुरूवात गरेका थिए । त्यसै कालखण्डमा सक्रिय एक लघुकथाकारको नाम हो, ध्रुव मधिकर्मी ।
भक्तपुरमा जातीय पेसा मिठाई निर्माणमा रमाइरहेका मधिकर्मीको एक शिक्षित पुस्ता ध्रुव मधिकर्मीले आफूलाई मिठाई निर्माण पेसाबाट अलग गरी साहित्यको रसापानमा किशोरावयबाटै होमिएका थिए । उनीले काव्यको माध्यामबाट साहित्यमा प्रवेश गरे पनि आख्यानको माध्यामबाट आफूलाई स्थापित गरेका छन् । लघुकथा ध्रुव मधिकर्मीको एक जबरजस्त चिनारी हो ।
लघुकथामा संयुक्त कृति प्रकाशन गर्ने श्रेय ध्रुव मधिकर्मीलाई (वि.सं. २०३४ सालमा नै) जान्छ । श्याम आसासँगको सहकार्यमा मधिकर्मीले ‘साथी’ उपनाम राखी ‘लघु’ लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका हुन् ।
साझा प्रकाशनले वि.सं. २०५१ सालमा ध्रुव मधिकर्मीको ‘बुद्ध कहीँ छैन’ लघुकथासङ्ग्रह प्रकाशित गरेको देखिन्छ । जसमा ध्रुवका ३५ वटा लघुकथाहरू सङ्ग्रहित छन् । लघुकथाहरू छोटा र चोटिला छन् ।
‘दीपक दृष्टि’को पहिलो भागमा उर्जावान् सक्रिय स्रष्टा ध्रुव मधिकर्मीको ‘बुद्ध कहीँ छैन’ रोजिएको छ । यो मधिकर्मीको पहिलो एकल लघुकथासङ्ग्रह हो । अधिकांश लघुकथाहरू अत्यन्तै छोटा र चोटिला छन् । यो सङ्ग्रहले लघुकथामा ३०० शब्द र पात्रहरू नामैले पुकारिनु पर्ने मान्यतालाई शील तरिकाले तोडेको छ । प्रस्तुत लघुकथासङ्ग्रहले समसामयिक समय बोलेको छ । ‘आन्दोलन’ श्रृङ्खलाअन्तर्गतका दुई लघुकथाहरूलाई थाँती राखेर भन्ने हो भने सङ्ग्रहित सबै लघुकथाहरूले युग बोलेका छन् ।
सटिक र सूत्रात्मक शैलीको प्रयोग गरिएका लघुकथाहरूले व्याङ्ग्यलाई केन्द्रमा राखेको छ । नीति, धर्म, समाज र यथार्थलाई लघुकथाकार मधिकर्मीले जीवनका रङहरूसँग घोलेका छन् । पशुपन्छी र प्रकृतिलाई पात्र बनाई समाजको विसङ्गति दर्साउन सफल मधिकर्मीका लघुकथाहरूले दन्त्यकथा, पञ्चतन्त्रका कथा र इसपका कथा अनि पात्रहरूको झलक दिन्छन् । महाभारतको पात्रहरूबाट पनि ध्रुवले लघुतम् कथा बुनेका छन् र ती नै लघुतम् कथाबाट पाठकको मनमा बस्न सफल पनि छन् ।
यस सङ्ग्रहभित्र सङ्ग्रहित अधिकांश कथाहरू तत्कालीन समयका राष्ट्रिय साहित्यिक पत्रिकामा प्रकाशन भएका लघुकथा हुन् । यी लघुकथाले केवल ध्रुव मधिकर्मीको परिचय मात्र बोलेन कि तत्कालीन समयमा तत् तत् साहित्यिक पत्रिकाको स्तरबृद्धि र प्रचारमा पनि सहयोग गरेको देखिन्छ ।
सङ्ग्रहमा ध्रुव मधिकर्मीले लधुकथाका नाममा केही छोटाकथाको आभास पनि दिएका छन् । उदाहरणका लागि लालच, यस युगको कथा, बुभुक्षा, प्रपञ्च आदि कथाहरूलाई लिन सकिन्छ ।
समग्रमा ध्रुव मधिकर्मीका लघुकथाहरूले जीवनमा सकारात्मक बाटो रोजेको छ । उनीसँग लघुकथाको सिद्धान्त र कल्पनाको भण्डार छ । हरेक लघुकथाका पाठक तथा स्रष्टाले ‘बुद्ध कहीँ छैन’ पढेर वा स्वयं स्रष्टासँग भेटेर जीवनको सकारात्मक गन्तव्यतर्फ अघि बढ्न सक्नेछन् । ध्रुव मधिकर्मीका लघुकथाहरूले जीवन बोलेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।