‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ४ पुस्तक । बिनोद खड्काकाे ‘पातलका मान्छेहरू’, गोमविक्रमकाे ‘मगर संस्कृति, परम्परा र गरिमा’, शुभेच्छा घिमिरेकाे ‘क्यान्सर, खानपान र म’, तीर्थ सिग्देलकाे ‘बिर्तामोड : उद्भव र विकास’हरू हुन् ।
००००
१. पातलका मान्छेहरू — बिनोद खड्का
करिब ४० देशको भ्रमण गर्नुभएको बिनोद खड्काकृत नियात्रासङ्ग्रह हो — “पातलका मान्छेहरू” ।
यसमा ‘पातालको पहिलो भिसायात्रा’, ‘बिहेको प्रस्ताव’, ‘आकाशे लेखाइ’, ‘म्यानहटनको चिसो’, ‘सम्मेलनपछि’, ‘क्यासी र कफी’, र ‘पातालका मान्छेहरू’ गरी २८ वटा शीर्षक रहेका छन् ।
ती शीर्षहरूलाई २००९, २०१४, २०१६ र २०१८ गरी चार भागमा विभाजित छन् । यसमा नियात्राकारले आफूले भ्रमणावलोकन गरिएको क्षेत्रको राम्रोसँग वर्णन गरी हामीलाई पनि सँगसँगै घुमाउनु भएको छ । सभ्य-सुन्दर शैलीमा अमेरिकाको भ्रमणबाट प्राप्त कुराहरूलाई यस पुस्तकमा समेट्न सफल हुनुभएको छ ।
भूमिकामा ठाकुर शर्मा भण्डारी लेख्छन्, “नियात्राकार बिनोद खड्काको लेखनशैली परिष्कृत, परिमार्जित, अत्यन्त आकर्षक र विनोदीशैली रहेको छ । यात्राको वर्णन भावुक र संवेदनायुक्त लाग्यो । भिसाको क्रममा विदेश पलायनको दृष्टिकोण आफूमा नरहे पनि अमेरिकनहरूले अरू मुलुकका मानिसहरूलाई गरिने व्यवहार नकारात्मक हुँदाहुँदै पनि मनमा आएका भावनाहरूलाई उन्मुक्त तरिकाबाट व्यक्त गर्दै दोस्रो चोटि भिसा पाएपछि चतुर अमेरिकनहरूले गर्ने व्यवहारप्रति पनि प्रशंसा गरेर आफूलाई संयमित बनाएको सन्दर्भ शक्तिशाली र मननयोग्य छ । लामो भिसायात्रा परिमार्जित प्रशंसायोग्य निबन्ध बन्न पुगेको छ ।”
अत्यन्त शक्तिशाली नियात्रा ‘आधा आकाश सिङ्गो यात्रा’मा ‘आमा’को विषयलाई यसरी उठाइएको छ, “आमालाई धर्तीसँग दाँजेको सुनेको छु । पक्कै पनि आमा धर्ती नै हुन् । धर्ती माताका लागि संसारका पूरा मानव जाति नै आफ्ना सन्तान हुन् । एउटा बच्चो यस धर्तीमा पदार्पण गर्छ, त्यसैमा खेल्छ, दौडिन्छ, हुर्कन्छ र त्यसैमा उब्जेको खाएर बाँच्छ तर कालान्तरमा ऊ अनेक स्वार्थहरूले घेरिएर त्यही धर्ती पनि बाँड्छ वा विभाजन गर्छ, बाँध्छ र अरूलाई आफ्नो तिर आउनबाट वञ्चित गर्छ, मानौँ पूरा धर्तीको मालिक हो ऊ ।”
शब्दार्थ प्रकाशनबाट बजारमा ल्याएको ३ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
००००
२. मगर संस्कृति, परम्परा र गरिमा — गोमविक्रम
कवि, कथाकार तथा सम्पादक गोमविक्रमकृत एक अनुसन्धानात्मक कृति हो – “मगर संस्कृति, परम्परा र गरिमा” । यसमा मगर संस्कृति, परम्परा र गरिमाका धेरै तवरका विषयहरू प्रस्तुत छन् ।
२ सय १६ पृष्ठमा आबद्ध यस पुस्तक ‘मगर जातिको चिनारी’, ‘मगरी चाडपर्व, पूजा र दिवसहरू’, ‘मगर साहित्य’, ‘परम्परागत मगरी खेलकुद’लगायत १४ परिच्छेदमा विभाजन गरिएको छ । प्रत्येक परिच्छेदमा २ देखि २१ वटा उपशीर्षक समावेश छन् । सन्दर्भअनुसार विभिन्न अवसरका तस्बिरहरू समावेश गरिएको कारणले पनि पुस्तक जीवन्त रहेको छ ।
“मगर समुदाय जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा पहिलो स्थानमा पर्दछ । मगरको बढी बसोबास भएको क्षेत्रलाई मगरात भनिन्छ । पहिले गण्डकीपूर्वलाई बाह्र मगरात र गण्डकीपश्चिमलाई अठार मगरात भनिन्थ्यो । बाह्र मगरातहरूको मुख्य थर थापा, राना र आले तथा अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा, रोका र घर्ती थरका मगरको बसोबास रहेको छ । मगरका १५०० भन्दा धेरै उपथरहरू रहेको बताइएको छ ।” भूमिकामा प्रा. डा. कपिल लामिछाने लेख्छन्, “केही हिन्दू र केही मगर बौद्ध धर्म मान्दन्छन् । मूलतः मगर प्रकृतिपूजक समुदाय हो । केही मगरहरू तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन् । लामा गुरु पुरोहितको रूपमा हुन्छन् । केही मगरहरू हिन्दु धर्मका अनुयायी छन् । उनीहरू धामी झाँक्रीमा विश्वास गर्छन् । अद्यापि कैयौँ हिन्दु मन्दिरमा पुजारी मगर समुदायबाट रहने प्रचलन छ ।”
मनका कुरामा लेखक लेख्छन्, “पुस्तक तयार गरुञ्जेल कतिपय ठाउँ र अवसरमा जातियताका कुराहरू पनि नउठेका होइनन् भोगाइ जेसुकै भए पनि जातियताका कुरा उठाएर विवाद ल्याउने उद्देश्य लेखकका रत्ती होइन र त्यस रूपमा नलिइदिनु हुन सबैमा अनुरोध गर्दछु । मगर समुदायभित्र केही विवादित विषयहरू पनि नभएका होइनन् जस्तै दसैँ मनाउने सन्दर्भमा, मगर आदिकवि विषयमा, भाषिक, सांस्कृतिक लगायत मगरभित्रै पनि जातीय विभाजन ल्याइन थालिएको छ जस्तै पुनमगरहरू अहिले छुट्टै जातिमा रूपान्तरित हुन लागेका छन् ।”
भुँडीपुराणले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४ सय ९० रहेको छ ।
००००
३. क्यान्सर, खानपान र म — शुभेच्छा घिमिरे
अक्सफोर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्नुभएको, अहिले आफ्नो जीवनलाई स्तन क्यान्सरका बारेमा जनचेनता फैलाउने काममा समर्पित गर्नुभएको शुभेच्छा घिमिरेद्वारा लेखिएको कृति हो – “क्यान्सर, खानपान र म” । यसलाई महेश पौड्यालले नेपालीमा अनुवाद गर्नु भएको छ ।
१ सय ६१ पृष्ठमा आबद्ध यस पुस्तकमा क्यान्सर शीर्षकमा पाँच खण्ड, खानपान र म आदि शीर्षक समावेश छन् ।
पुस्तकको पछिल्लो पृष्ठमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला लेख्छिन्, “आफ्ना सबैभन्दा दुःखपूर्ण र भयावह दिनहरूलाई संसारसामु राख्न र त्यस यात्राबारे लेखेर ती क्षणहरूलाई पुनः ताजा गर्न ठूलो साहस चाहिन्छ । हास्य रसको हल्का स्पर्शसहित लेखिएको पीडा, सङ्घर्ष र विजयको यो उत्कृष्ट कथा पढ्दा आँसु रोकिनै मान्दैनन् । अरूलाई आशाको सञ्चार गर्ने साहसी तिमीलाई स्याबास !”
“यो किताब ती वीर योद्धाहरूका लागि हो जसले क्यान्सरसँग युद्ध लडेका छन् र जितेका छन् । यो तिनका लागि हो, जो निरन्तर युद्धरत छन् । यो पुस्तक परिवार, साथीभाइ, सहकर्मी तथा अपरिचितहरूका लागि पनि हो । यो ती सबै व्यक्तिहरूका लागि हो जो यसै कडीले, तर भिन्न प्रकारले जोडिएका छन् । पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “क्यान्सर, खानपान र म मेरो निजी यात्राको संस्मरण हो — ममा क्यान्सर देखिनुको, त्यसको उपचारको तथा यसपछि मेरो जीवन कसरी सधैँका लागि परिवर्तित भयो, त्यस उपचार क्रमको यो वृत्तान्त । यस पुस्तकमा मेले कहीँ आयुर्वेदिक घटकहरूको पनि चर्चा गरेकी छु जसले मलाई सहयोग गरे । साथमा मैले अनेकौँ पिँढीदेखि हामीसम्म आइपुगेको केही अमूल्य परम्परागत रिसेपीको पनि उल्लेख गरेकी छु ।”
श्र्वरा-सरा घिमिरे प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।
००००
४. बिर्तामोड : उद्भव र विकास — तीर्थ सिग्देल
समाजको यथार्थ चित्रण गर्न सक्ने, अनुसन्धानमूलक लेखनमा रुचि राख्ने लेखक तीर्थ सिग्देलद्वारा लेखिएको अनुसन्धानात्मक कृति हो – “बिर्तामोड : उद्भव र विकास” ।
यसमा औलो र बिफरको प्रकोप, बसाइँसराइ र भूमिपुत्रहरू, बिर्तामोडका सामर्थ्य, राजनीतिक आन्दोलनको मुख्य केन्द्र, बिर्तामोडका प्रमुख पर्यटकीय स्थलहरू, र बिर्तामोड नगरपालिका : एक परिचय, गरी २४ वटा शीर्षकमा बिर्तामोडको आधा शताब्दीको इतिहास उल्लेख गरिएको छ ।
“दिनानुदिन वृद्धि हुँदै गएको बिर्तामोडको सामर्थ्य र शक्तिको पहिचान गर्न अति नै ढिला भइसकेको थियो । मुलुकले पछिल्लो लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली आत्मसात् गरेपश्चात् नेपालमा स्थिरताको युग प्रारम्भ भएको छ । २०७४ सालमा संविधान जारी गरेपश्चात् भएका आम निर्वाचनहरू र त्यसबाट आएको नयाँ नेतृत्वले आफ्नो भूगोलको संरक्षण र संवर्द्धनका लागि लगातार प्रयत्न गरिरहेका छन् । तर विकास भनेको भौतिक मात्र हो भन्ने सोचको अन्त्य नभएसम्म वा मानवीय चेतनाको विकास र ऐतिहासिक धरोहरहरूको संरक्षण गर्नुपर्छ भन्ने नवीन सोचको प्रारम्भ नभएसम्म अझै पनि सही अर्थमा विकास भएको मानिने छैन ।”प्रकाशकीयमा लेखिएको छ, “आधुनिक विश्व र त्यो जनमतले सिर्जना गरेका नयाँ सोच र चिन्तनले ओषत विकासका ढोकाहरू खुल्दै गएको मान्ने सकिन्छ । समयसँगै बदलेऊ, नत्र तिमी सकिने छौ । यो भनाइ नयाँ त होइन, तर सुन्दा नयाँ लाग्छ किनभने समाज द्रुत गतिमा अगाडि बढ्दैछ । प्रविधिले संसारलाई अँगालिसकेको छ र हामी त्यसको पछाडि दौडन बाध्य छौँ ।”
“बिर्ताबजार राणा शासनको जिल्लाकै प्रशासनिक केन्द्र थियो । बिर्ताबजारमा प्रहरी चौकी, माल अड्डा, कचहरी र भूमिसुधारका जिल्ला कार्यालय थिए । त्यो समयमा एउटा गोलघर समेत बनाइएको थियो, जहाँबाट प्रशासन चलेको थियो ।”
“बिर्तामोडले शिक्षा, स्वास्थ्य र व्यवसायको क्षेत्रमा फड्को मारेको छ । बिर्तामोडमा ससाना पसलदेखि ठुलठुला अटोमोबाइल्स, अस्पताल र फाइभस्टार होटलहरूसम्म खुलेका छन् । अहिले यो सहरको रूप फेरिएको छ ।”
मिडिया रिसर्च सेन्टर, बिर्तामोडबाट प्रकाशित, २ सय २० पृष्ठमा फैलिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।