(७)
आज मलाई किन हो कुन्नी, डुल्न मन लाग्यो ।
बाटोमा एउटा पुरानो साथी भेटेँ । उसको एउटी केटीसित प्रेम भएको कुरा मलाई थाहा थियो । उसको भनाइबाट थाहा पाएँ— त्यो केटीसँगको उसको प्रेम असफल भएछ । र त्यही असफलताको झोँकमा ऊ अहिले कवि भएको छ । गजल लेख्छ । अचेल ऊ गजलको माध्यमबाट त्यो केटीको खोइरो खन्दै हिँड्छ । गजलमा ऊ प्रायः आइमाईहरुलाई बेइमान र धोकेबाज भनेर गाली गर्छ ।
आफूलाई यो शताब्दीको महान् भावुक गजलकार सावित गर्नकै लागि उसले आफ्नो पहिलेको व्यक्तित्वमा जबर्जस्ती केही परिवर्तन गर्न लागेको कुरा मैले एकैछिनमा नै थाहा पाएँ । उसले अचम्मको प्रस्ताव राख्यो– ‘ऊ त्यो रेष्टुराँमा जाऊँ, चियासिया खाउँला र मेरा गजलहरु पनि सुनाउँला ।’
यो मेरो निम्ति निकै ठूलो अवसर थियो । मलाई उसका चालू खालका गजलहरु सुन्ने भन्दा चिया खाने इच्छा थियो, त्यसैले मैले उसको भनाइलाई स्वीकृति दिएँ ।
उसले त्यो रेष्टुरेन्टलाई आफ्नै बाउको जस्तो ठानेर गजल सुनाउन थाल्यो । ठूलो ठूलो स्वरमा । मैले सोचेँ, उसको स्वरमा जस्तै उसको गजलमा पनि त्यत्तिकै दम भैदिएको भए ऊ पक्कै यो शताब्दीकै महान् भावुक गजलकार हुने थियो । तर विश्व गजल इतिहासको दुर्भाग्य, यसो हुन सकेन ।
मसित घडी भइदिएको भए, उसले मेरो साढे तीन घण्टा खाइदियो भन्ने कुरा म तपाईँलाई प्रमाणित गरेरै भन्न सक्ने थिएँ । तर जेहोस्, चिया चाहिँ निकै स्वादिलो लाग्यो । त्यसैले मैले उसका अगाडि उसको गजलको कुनै नकारात्मक टिप्पणी गरिनँ । यसो गर्ने मसित नैतिक अधिकार पनि त थिएन ।
अब म एकपेट टन्न भात ख्वाउने सहृदयी साथीसँग भेट हुने कल्पना गर्न थालेँ । संयोगले एउटा भेट भयो तर उसबाट मैले आफ्नो इच्छापूर्तिको कुनै सम्भावना देखिनँ । त्यसैले मैले पनि जानाजान आफूलाई स्वार्थी बनाएँ । मैले ऊसित धेरै लामो कुरा गरेर समय खेर फाल्नु उचित ठानिनँ । त्यसैले तपार्इँले मलाई मूर्ख भन्ने कुनै आधार छैन ।
मलाई अब भोक लाग्न सुरु भयो तर खल्तीमा एक कप चियाको भुक्तानी दिन सक्ने पैसो पनि छैन ।
एउटा स्वयंसेवक साथी भेट भयो । ऊ सेवाभन्दा बढी भाषण गर्छ । मसँग भेट हुनासाथ उसले निम्न व्यहोराको भाषण गर्न थाल्यो –
‘अचेलका युवाहरु निस्क्रिय हुँदै गइरहेका छन् र युवाहरु बेरोजगार हुनुका पछाडि धेरै सीमासम्म उनीहरु स्वयं जिम्मेदार छन् ।’
तर देशमा ऊ जस्ता भाषण गर्ने स्वयंसेवक धेरै भएका कारण नै यहाँ युवाहरुको यो हविगत भएको हो भन्ने कुरा उसले भन्दै भनेन । ज्यान गए पनि भनेन ।
ऊ आफ्नो भनाइलाई मबाट जबर्जस्ती समर्थन गराइरहेथ्यो । मानौँ निकट भविष्यमा उसले त्यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको मानविकी संकायका लागि शोधपत्र नै तयार गर्दैछ । केहीबेर भाषण छाँटिसकेपछि मात्र ऊ आफ्नो बाटो लाग्यो । मेरो भोक भने जस्ताको तस्तै थियो । अझ स्पष्ट नै भन्ने हो भने भोक अझ बढेको थियो ।
तत्पश्चात फेरि एउटा नेता साथी भेट भयो । ऊ देशबाट बेरोजगारी हटाउने सन्दर्भमा हडताल गराउन चाहन्थ्यो । मलाई थाहा भएअनुसार, ऊ प्रायः जसो त जेलभित्रै सास लिने गर्छ । भोकको बारेमा उसलाई खासै महत्त्वपूर्ण ज्ञान होला जस्तो मलाई लागेन । किनभने उसले पनि मलाई भोजन गराउने कुनै लक्षण देखाएन ।
अब एउटा उपाय मात्र बाँकी थियो ।
र, एउटा सार्वजनिक धाराबाट टन्न पानी पिएर मैले आफ्नो त्यो नवीनतम् उपायलाई कार्यान्वित गरेँ ।
घण्टाघरको सियोले रातीको नौ बजिसकेको जानकारी घोचीघोची दिइरहेथ्यो । त्यसैले अब निदाउनैका लागि पनि घर फर्कनु जरुरी थियो ।
म फटाफट् अँध्यारोबाट अँध्यारै मन लिएर, अँध्यारोतिर फर्किएँ ।
(८)
धेरै पटक म घोत्लिएको छु तर कुनै पटक पनि मैले आफ्नो जिन्दगीको कुनै खास प्रयोजन पत्ता लगाउन सकेको छैन । अब त मैले साँच्चि नै म प्रयोजनहीन जिन्दगी बाँचिरहेको अनुभव गर्न थालेको छु । घोत्लिने क्रममा मैले निकालेका निष्कर्षहरुको सार पनि यही नै हो सायद ।
अहिले म समयभन्दा पनि चाँडो हिँड्न खोजिरहेछु तर कहाँ पुग्न खोजिरहेछु, त्यो चाहिँ थाहा छैन । लक्ष्यहीन भएर हिँड्नु अब त मेरो बानी नै भइसकेको छ ।
यद्यपि कर्तव्य पूरा गर्ने सन्दर्भमा म अहिले कुनै औषधी पसल पुग्नु पर्ने हो किनकि माइतबाट फर्किएदेखि स्वास्नी सिकिस्त छे र छोरो ब्रोङ्काइटिसले मर्न लागेको छ । तर औषधी पसलतिर जानुपर्ने जस्तो खतरनाक विचारलाई मैले आफ्नो मस्तिष्कमा घुसाउने कुनै जमर्को गरेको छैन ।
यतिबेलै मैले कसैले मलाई बधाई दिएर केही महत्त्वपूर्ण जानकारी दिएको कल्पना गरेँ । कल्पनाअनुसार कसैले मलाई बधाई दियो र भन्यो— ‘तपार्इँकी स्वास्नी र छोराको मृत्यु भयो ।’
र, यस्तो शानदार कुरो सुनेर म औधि खुशी भएँ तर यथार्थमा त्यस्तो केही भएको थिएन ।
अचेल म स्थिर रहेर पनि हिँड्न थालेको छु तर उस्तै । लक्ष्यहीन ।
मेरो हिँडाई अझै तीव्रतर हुँदैछ । कतै भाग्नै लागेको जस्तो । परिस्थितिदेखि, बाध्यतादेखि, कर्तव्यदेखि र आफैँदेखि पनि भाग्न लागे जस्तो ।
तर बूढो रुखले के छाड्थ्यो मलाई । त्यो लगातार मेरो पछिपछि आइरहेथ्यो । जराहरु फैलाएर । ती जराहरु हैनन्, त्यसका हातहरु हन् । ती हातहरुले कुनै बेला पनि मेरो घाँटी अँठ्याउन सक्छन् ।
हिँड्दाखेरि कसैको आँखामा स्वास्नी र छोराछोरीको प्रतिबिम्ब देखिने सम्भावनाबाट सुरक्षित हुनका लागि म कसैको आँखातिर हेर्ने गर्दिनँ । हामी जस्ताको लागि यो एउटा मननयोग्य आइडिया हो । मैले यो आइडियाको कपिराइट दर्ता गरेको छैन । त्यसैले तपाईँहरु पनि यो आइडियालाई ग्रहण गर्न सक्नु हुन्छ ।
नभए डायरीमा नोट गरेर राख्नुस्, जीवनको कुनै पनि कालखण्डमा यस्तो आइडियाको आवश्यकता पर्न सक्छ ।
(९)
नियन्त्रण गर्न अप्ठ्यारो पर्ने वस्तुहरु मध्ये ‘मन’ पनि एउटा हो ।
(मलाई पनि दार्शनिक कुरा गर्न आउँछ ।)
अगाडि भन्न छुटेको । केही महिनाअघि मेरो घरमा एउटा अर्को सदस्य थपियो । समय भन्दा चाँडै जन्मियो तर छोरो भएर जन्मियो ।
मेरो त्यो नाबालक छोरोको मन अहिले नियन्त्रणमा छैन ।
आफ्नो आमाको स्तन चुसेर ऊ आफ्नो भोक मेट्न चाहन्छ तर ऊ आफ्नी आमाको स्तनबाट अब दूध चुहिँदैन भन्ने कुरामा अनभिज्ञ छ ।
डाक्टरहरु भन्छन्, पौष्टिक चीजहरुको कमी भएमा दूध सुक्छ । कसलाई थाहा छैन यो कुरा ? तर मेरा निम्ति पौष्टिक खानेकुरा जुटाउनु भनेको कुरो सगरमाथाको चुचुरोमा चढ्नु जस्तै हो । त्यो पनि बिना प्रशिक्षण र बिना अक्सिजन ।
बालक रुन थाल्यो । हामीले वास्ता गर्नु पर्ने आवश्यकता ठानेनौँ । झन् रुन थाल्यो । अन्त्यमा ऊसित हामीले सम्झौता गर्नुपर्यो । आमाले दूध नझर्ने स्तनको लाम्टा उसको मुखमा हुलिदिई । केहीबेर उसले चुस्यो तर दूध नआएपछि ऊ फेरि रुन थाल्यो ।
बालकले अर्थोक केही खान मानेन । आमाले स्तन निचोरेर दूध निकाल्न खोजी तर निस्किएन ।
साह्रै भएपछि शायद छोराले पनि रोइरहनु उपयुक्त ठानेन ।
(१०)
अहिले मलाई एउटा साथीको सम्झना आइरहेछ । सम्झना आउनुको एउटा खास कारण छ । केही सीमासम्म म आफूलाई ऊसित तुलना गर्न सक्छु ।
जातले ऊ ठकुरी हो, त्यसैले हामीहरुले उसलाई ‘बाबुसाहेब’ भनेर पनि सम्बोधन गर्थ्यौं । यस प्रकारको सम्बोधनले ऊ औधि खुसी हुन्थ्यो र आफूलाई ठूलै मान्छे ठान्न थाल्थ्यो ।
उसका बाबुले सम्पत्तिका नाउँमा एउटा यही छोराबाहेक अरु केही पनि जुटाउन सकेनन् । पुर्खाहरु निकै धनी थिए रे भन्ने गरेको मैले उसको मुखबाट थुप्रै पटक सुनेको थिएँ । त्यसैले ऊ अझै आफूलाई ‘बाबुसाहेब’ कै रुपमा स्थापित गर्न चाहन्थ्यो । ऊ जटिल खालको परिस्थितिमा बाँचिरहेको थियो । ऊ न आफ्नो पुर्ख्यौली रवाफ छाड्न सक्थ्यो, न त वर्तमान स्थितिसँग सम्झौता गर्न सक्थ्यो ।
म उसले भोगिरहेको जटिल परिस्थितिको कल्पना गरेर आफ्नो स्थितिसित सन्तुष्ट हुन खोजिरहेछु । यो रमाइलो विडम्बना हो ।
अहिले फेरि मलाई एकाएक मृत्युको डर लाग्न थालेको छ ।
कहिलेकाहीँ यस्तो लाग्छ, टहरो सम्पूर्ण भत्किएर ममाथि खसेको छ र म टहरोले थिच्चिएको छु । टहरोसँगै ममाथि छोराछोरी, स्वास्नी पनि बोझ भएर खसेका छन् र म झन्झन् थिचिँदैछु ।
कहिलेकाहीँ झ्यालबाट देखिने बूढो रुखले आफ्नो जरा फैलाएर मलाई उम्कन नसक्ने गरी बेरेको जस्तो अनुभव हुन्छ । यस्तो बेलामा म निसास्सिएर छट्पटाउनेबाहेक केही गर्न सक्दिनँ ।
एकपटक त यस्तो पनि लाग्यो— मेरो अगाडि सगरमाथा उभियो र म त्यसमा चढ्दाचढ्दै एकैचोटि चिप्लिएर खसेँ र ममाथि सिंगै सगरमाथा पनि खस्यो । म सगरमाथाको बोझ थाम्न नसकेर जोडले कराएँ । शब्दकोशमा यस्तो स्थितिलाई अत्ताल्लिनु भनिन्छ क्यारे !
अनि फेरि लाग्यो, एउटा विकराल नदी मतिर बढ्दै आइरहेछ । मैले त्यसपछि आफूलाई त्यो भयावह नदीको माझमा उभिइरहेको पाएँ । एकैछिनपछि एउटा ठूलो भेल आएर नदीले मलाई निलेको जस्तो लाग्यो ।
मलाई मृत्युको यत्तिका सम्भावित रुपहरु देखेर साँच्चिकै डर लाग्यो ।
(११)
विभिन्न किसिमका परिस्थितिहरुको पीडादायक आक्रमणबाट केही दिनलाई जोगिन मेरा अगाडि अब एउटै उपाय मात्र शेष रहेको थियो । यो टहरोजस्तो घर बेच्नु ।
मैले यस प्रकारको कुरा गर्दा मेरी स्वास्नी रोई र सम्भवतः मनमनै मलाई र मेरो नपुंसकतालाई धिक्कारी पनि । (नभनेको पो, उसले खुलेरै धिक्कारेकी थिई) छोराछोरीको मुहार पनि विकृत भयो । तिनीहरुले पनि बाबुको रुपमा आफूहरुले एउटा लुसो जन्तु पाएको जस्तो अनुभव गरे सायद । मलाई विश्वास छ, यिनीहरुले “अर्को जुनीमा पनि हामीजस्तै आमाबुवा पाऊँ” भन्ने खालको भावुक र आदर्शले खाँदाखाँद भएको वाक्य यो जीवनमा कहिले पनि उच्चारण गर्ने छैनन् ।
तर मेरा अगाडि टहरो बेच्नुको अर्को कुनै विकल्प थिएन ।
संसारमा आफ्नो घर खुसी–खुसी सस्तोमा बेचेर कोही पनि आफू शरणार्थी हुने उपायतिर लाग्दैन भन्ने कुरा मैले भनेको खण्डमा त्यो मेरो काम नलाग्ने भावुकता ठहर्दैन होला तर म साह्रै विवश भैसकेको थिएँ । त्यसैले आफू अब कहाँ बस्ने भन्ने केही टुंगो नभई एकमात्र टहरो जस्तो घर बेच्न पुगेँ ।
अब ओत लाग्नलाई एउटा डेरा लिनु आवश्यक थियो । दौडधूपपछि एउटा गुफा फेला पारेँ । यो गुफामा केही दिनसम्म आफूलाई विशाल आकाशबाट चाहिँ सुरक्षित राख्न सकिन्थ्यो ।
सुविधाको निम्ति गुफाको एउटा कुनालाई भान्सा भनेर सम्बोधन गरियो । बाँकी भागलाई दुईवटा कोठामा एउटा थाङ्नो जस्तो कपडाले विभक्त गर्यो ।
यस प्रकार हामी जिन्दगी बाँच्ने अभ्यासमा अझै संलग्न थियौँ । फेरि ठूला-ठूला कविहरुले जिन्दगीसित हरेश खानु हुँदैन पनि त भनेका छन् । मैले ती कविहरुको सम्मान पनि त गर्नु थियो !
संयोग । गुफा बाहिर पनि एउटा बूढो रुख रहेछ । उस्तै । डरलाग्दो । र आक्रामक मुद्रामा उभिरहेको । यो गुफाभित्र बस्दा पनि मलाई सधैँ बूढो रुखको डर लागिरह्यो ।
चुरोट सल्काउँदा गुफा एकैछिनलाई उज्यालो भयो । त्यो उज्यालोमा मैले देखेँ, भित्तामा ठाउँठाउँमा प्लाष्टरहरु उप्किएर एउटा विशाल र डरलाग्दो आकृति जस्तो बनेको छ । यद्यपि त्यो आकृतिलाई जुन आकारमा कल्पना गर्यो त्यस्तै देखिन्छ तर मैले त्यो आकृतिलाई एउटा भयानक राक्षसबाहेक अरु कुनै आकारमा कल्पना गर्न सकिनँ ।
एउटा नयाँ किसिमको डरले मुटुमा फेरि जरो गाड्न सुरु गर्यो र मैले आँखा चिम्लिएँ ।
एकाएक म एउटा कार्यालयको हाकिम हुन पुगेँ । अब मेरो जिन्दगीले अर्कै मोड लिनेछ भन्ने कुरा जसले पनि सजिलै अनुमान लगाउन सकिने कुरा हो । स्वास्नी, छोराछोरी र बाबुआमाको दृष्टिमा अब म ‘औचित्यहीन’ ठानिने छैन । यो उपलब्धि मेरो जीवनको पहिलो र महत्त्वपूर्ण उपलब्धि हो ।
गुफाजस्तो डेरा अब मलाई साँच्चिकै साँघुरो लाग्न थाल्यो । सोच्न थालेँ— यतिका दिन यो चिहानभित्र थुनिएर हामी कसरी बाँच्यौँ ?
बाँच्नुको स्तरमा अब केही परिवर्तन आउने छ तर कस्तो परिवर्तन ल्याउने अझै सोच्न सकेको छैन, रुप–रेखा बनाउँदैछु ।
दसैँ आउँदैछ । नयाँ लुगाफाटोको आवश्यकता अनुभव हुन थाल्यो । अब त्यति खास समस्या छैन । एक महिनाको तलबले सबैलाई राम्रो स्तरको लुगा किन्न सकिन्छ ।
नयाँ डेरामा सबथोकको सुविधा पनि छ । सबभन्दा सुविधाजनक त कोठाका फैलावट नै छन् । विगतका दिनहरुका चिहान जस्तो कोठाको सम्झना आउने खालका कोठाहरु छैनन् यहाँ । अब मलाई कोठाले निल्ला भन्ने डर हुने भएन । प्लाष्टरमा डरलाग्दो आकृति छैन । झ्यालबाट बूढो रुख देखिँदैन । बरु झ्यालबाट च्याएको खण्डमा फराकिलो आकाश नियाल्न सकिन्छ ।
अब मेरो आकाश पनि फराकिलो भएको छ । टेबुल घडीले अब टेबुलको आधार पाएको छ र त्यसको टिक्टिक् पनि अब मलाई पीडादायक लाग्दैन ।
पहिले-पहिले मैले आफ्नो जिन्दगीलाई फाटेको जुत्तासँग तुलना गर्ने गर्थेँ तर मेरो अहिलेको जिन्दगीलाई जुत्तासँग दाँज्न सकिँदैन ।
अब मनमा पनि कुनै किसिमको हीनता छैन, मस्तिष्क पनि एकदमै स्वस्थ र स्वच्छ हुँदै गएको छ । जिन्दगीमा स्थापित भएको डरलाग्दो स्थिरता पनि समाप्त भएको छ ।
आज पनि पसलनेर मैले त्यो केटीलाई देखेँ, जो पहिले मलाई खूब हेर्ने गर्थी । आज मैले उसलाई बैनी भनेर बोलाएँ । मनमा कुनै किसिमको दुर्भावना थिएन ।
‘क्या मीठो सपना देखिएछ,’ भन्दै म निद्राबाट एक्कासि ब्युँझिएँ ।
सबथोक उस्तै थिए । कुनै परिवर्तन थिएन । उही गुफाजस्तो कोठा । भित्तामा उही राक्षसजस्तो आकृति । उही बूढो रुख । उही टेबुल घडी । र उही पुराना आफ्ना असजिला स्थितिहरु ।
सब यथावत् ।
(१२)
मैले झुटो बोल्दै भनेँ— ‘मलाई भोक लागेको छैन ।’
र, उसले पनि त्यसैगरी भनी— ‘मलाई पनि भोक लागेको छैन ।’
हामीहरु लामो समयदेखि यस्तै झूटो बोल्दै आइरहेका छौँ ।
मेरो एउटा मित्र कोठामा आयो । अचेल उसको आगमन मेरो निम्ति सधैँ ईर्ष्याको विषय हुन्छ ।
स्वास्नीले उसलाई मात्रै चिया बनाई । उसले मतिर हेर्दै भन्यो— ‘किन, अचेल चिया खान छाडिदिएको ?’
मैले उसको कुरा स्वीकार गरेँ । उसले जानेको कुरा भन्यो— ‘तिमीहरु जस्ताले चिया खान छाडिदिने हो भने हामी जस्ता गरिबको के होला ?’
उत्तरमा म फिस्स हाँसे । स्वास्नीको हाँसो पनि लगभग त्यस्तै थियो । उसले हाम्रो वास्तविकता जानेर यो कुरा भनेको भए यो हाम्रालागि एउटा तीतो व्यंग्य हुने थियो । हामी दुवैले बाध्य भएर स्वाद लिनुपर्ने खालको व्यंग्य ।
अचेल जहिलेदेखि हामीहरु भोको रहन थालेका छौँ, आफ्नो बोली, आफ्नो हिँडाइ र आफ्नो बसाई आदि सम्पूर्ण व्यवहारलाई कृत्रिम बनाउनु परेको छ ।
हामीहरुले इनामेल लगाएर बोल्नु परेको छ र इनामेल लगाएर हाँस्नु परेको छ ।
गुफाको छेउमै हालसालै ठडिएको विशाल घरको घरधनिले आफ्नो नयाँ घरको झ्यालढोकामा इनामेल लगायो । इनामेलको बास्ना आयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।