अलि ठूलो बैङ्क्वेटसम्ममा गाली खाँदा त मज्जा पनि आउने रहेछ । एउटै कफी सपले काण्ड पुर्‍याइदिँदा चैँ नि, कस्तो कस्तो लाग्ने ।

कस्तो भन्दा, अठारौँ–उन्नाइसौँ शताब्दीतिर क्षय रोगको उपचार नै थिएन रे । यो रोग अलि ठूलाठालुलाई पनि लाग्ने । कवि जोन किट्सलाई पनि यसै रोगले लगेछ । उत्तिखेरै त थाहा पाएनन् मानिसहरूले । किट्सलाई कसैले चिनेकै थिएन । पछि साथीहरूले उनका रचना सङ्कलन गरेर छपाएपछि उनी एकाएक अहिलेसम्मकै महान् कविहरूमा गनिए । त्यसपछि त, क्षय रोग लाग्यो कि किट्सलाई लागेको रोग पो लाग्यो भन्ने, खुसी हुने । बैङ्क्वेटको गाली र किट्सको रोग — क्या योग ! क्या जोड !

साहित्यका, विशेष गरी आख्यानका पात्रहरूको विश्लेषण गर्दा हामी कुनै पात्रले यो वा त्यो कुरा किन गर्छ भन्ने थाहा पाउनलाई उसको ‘मोटिभेसन’, यानि कारक तत्त्वको विश्लेषण गर्छौँ । माथि, कफी सपमा आउने गालीको ‘मोटिभेसन’ मलाई थाहा छ ।

पहिलो, नेपालमा नेपथ्यमा पारिएका पात्रहरूलाई राजनीतिको, समाजको वा साहित्यको मूलधारमा ल्याउने प्रयास ठोस रूपमा गरेको वामपन्थीहरूले हो । यो भनाइ हजम नहुनेहरूले गाली सेना निर्माण गरेका हुन् । अर्को कुरा, उत्तराधुनिक समयका यी ‘फेसनेबल’ मुद्दाहरूमा सबैले आआफ्नो अंशियारी खोज्छन् । भेटेनन् भने वक्र्रोक्तिको शैलीमा पाँडेगाली दिन्छन् । दिएकै हुन् । सुनियो त !

प्रस्ट भनौँ न — हामीमा कांग्रेस–कम्युनिस्टले यसरी जरा गाडेको छ मानौँ हावा पनि, पानी पनि, माटो पनि, रुखपात पनि… कित्तामा देख्छौँ हामी । सत्यलाई सत्य बनेर उभिन पनि एउटा एउटा झण्डा चाहिन्छ अचेल । झण्डाको ओढा नओढेको सत्य पनि कलियुगमा कसैको लग्नस्थानमा उच्च बनेर बसेको बृहस्पतिजस्तो हुन्छ — काम नलाग्ने ।

बृहस्पति लग्नमै छ । तर के गर्नु ? सपना कस्तो भने नि — गाडा अगाडि, घोडा पछाडि । गाडाले घोडालाई बाटो देखाउँछ, जब कि गाडामा आँखा हुँदैनन्, थाहा छ । अनि कहाँ पुर्‍याउनु गाडाले घोडाको काफिला? कृष्णभीरतिरै त होला ।

राजनीति अगाडि, लेखन पछाडि । गाडा अगाडि, घोडा पछाडि ।

राजनैतिक आन्दालेनले घिस्याएका अधिकांश कला–साहित्यका आन्दोलनको गन्तव्य, विश्वभरि नै कृष्णभीर नै देख्छु । यो तब हुन्छ, जब एउटा लेखक आफूलाई घेराहरूको सदस्य बनाएर सुरक्षित हुने उपक्रममा लाग्छ । तर, वस्तुत: लेखक हुनु, र सुरक्षित हुन खोज्नु भन्ने नै विरोधाभासी कुरा हुन् । सुरक्षित हुन खोज्ने लेखकले आफ्नो कम्फोर्ट जोनको कोकुन निर्माण गर्छ, र त्यसैभित्र लुतो कन्याउँदै, आनन्द लिँदै बस्छ । ऊ जोखिम उठाउन खोज्दैन । जुन लेखकले थोरबहुत जोखिम उठाउन खोज्दैन, यसले नयाँ कुरा लेख्ने वा नयाँ अवधारणाको आविष्कार गर्ने संभावन करिब करिब न्यून भएर जान्छ । जति पनि प्रणेताहरू आए, आफ्नो सुरक्षाको घेरा तोडेरै आए । सुरक्षित हुनुको शर्तमा सत्यलाई कुल्चनुपर्ने जुन् बाध्यता हुन्छ, त्यसलाई लात मारेरै आए । र नै केही न केही नयाँ कुरा लेखेर आए । एउटा लेखकले एउटा विचारसमूहको सदस्यको रूपमा आफूलाई कल्पना गर्नु भनेको केही परिहाल्यो भने उक्त समूहले बचाउँछ भन्ने चिन्तनले गर्दा हो । अँ, लेखकले लेखकहरूकै बीच उभिन खोज्नुमा त त्यति ठूलो समस्या देखिँदैन, र लेखकले राजनीति अथवा यस्तै अन्य इन्टरेष्ट ग्रुपको बीचमा उभिन खोज्नु र आफ्ना लागि विभिन्न प्रकारका सुरक्षा सुनिश्चित गर्न खोज्नु भनेको एक अर्थमा ज्यादै खुम्चनु पनि हो । खुम्चनु भन्दा निर्वासनमा पर्न अथवा मर्न नै तयार भए कतिपय लेखकहरू, तर सत्यलाई डग्न दिएनन् । हार्दिक श्रद्धाञ्जली सुकरात, एन्तोनियो ग्राम्ची, वाल्टर बेन्जामिन, अवतार सिंह पाश, कृष्णलाल अधिकारी, कृष्णसेन इच्छुक, अनेक अनेक लेखकहरू, जो आफू सुरक्षित हुनुभन्दा सहिद हुनु श्रेष्ठ ठानेर बिदा भए !

अब कुरा प्रगतिशील लेखनको । मूल मुद्दा त त्यो हो नि त, आजको ।

प्रगतिशील लेखनका मुद्दा केके हुन् बुझ्न कठिन छ । के चैँ होइनन् यसका मुद्दा भन्नुजस्तो छ । तर, ‘आँखाको सोझी नाक’ भनेजस्तो, यसले नेपथ्यमा परेका वा पारिएका वर्गलाई मूलधारमा ल्याउने र अधिकार दिलाउने अभिष्टलाई केन्द्रमा राख्छ, सायद । यसै अभिष्टको पूर्तिको बाटोमा रोडा बनेर बस्ने सामन्त वा सामन्ती चिन्तनलाई धूलिट्याम पार्नुपर्छ भन्ने यसको दार्शनिक तर्क छँदैछ । अँ, नबुझिएको एउटै कुरो छ — को कतिखेर समान्त हुन्छ, र को सर्वहारा हुन्छ, अत्तोपत्तो हुँदैन । तुलामा, एउटा पल्लाको मान्छे फुत्त अर्को पल्लामा पुग्छ । फेरि पल्लो पल्लाको मान्छे फुत्त अर्को पल्लामा पुग्छ । त्यसैले, यो समान्त र सर्वहारा भन्ने पनि, ‘कायममुकायम’ अवस्था हो कि भन्नुजस्तो नि । कुनै बेला ‘सर्वहारा’ वर्गमा परेको मान्छेका, खै कता हो, ९ वटा सुन पसल छन् रे । तर पनि, ऊ बुहारी हो कि छोरीले ‘गरिब’ को कोटामा उच्च शिक्षा पाउनुपर्छ भनेर मन्त्रालय धाउँदैगरेको कसैले देखेछ अस्ति, सिंहदरबारभित्र । अनि कि, यो वर्गको मापन अर्थ हो कि जात? यो हाइब्रिड मोडलको वर्ग निर्धारणले नि नेपालको कम्युनिस्ट आन्दोलन, र केही हदसम्म प्रगतिशील आन्दोलन पनि जातीय आन्दोलन हुने खतरा देखिन्छ । फल के भने, वर्ग निर्धारणका जटिल र सङ्गीन आर्थिक प्रश्न क्रमश: नेपथ्यतिर धकिेलिँदै छन् । कुनै पनि सिद्धान्त र दर्शनको मूल मर्म नै नेपथ्यमा धकेलिएरपछि, र आफ्नो अनुकूलताअनुसारको व्याख्या अगाडि आएपछि, आन्दोलनमा आउने विचलनलाई कसैले पनि रोक्न सक्दैन ।

वर्ग र जात – आर्थिक विषय हुन् कि जातीय, र यसलाई माक्र्सवादले कसरी सम्बोधन गर्ने, यस कुरामा नेपालमा वैचारिक समूह कुनै निचोडमा पुगेका छन् वा छैनन्, थाहा छैन । यो कन्फ्युजन सडकदेखि सदनसम्ममा देखिन्छ । कवि गोष्ठी, साहित्यिक कार्यक्रम, प्रतियोगिता…सबै सबैतिर देखिन्छ । यो दुर्भाग्यपूर्ण कुरा हो । र यस दुर्भाग्यको श्रोत के भने, जात पहिचानसँग टाँसिएको, र लामो समयसम्म रहने विषय भयो अने मान्छेको आर्थिक दशा परिवर्तनशील कुरो भयो, जो माथि जान पनि सक्छ, तर जान पनि सक्छ । आझ आजको पूँजीवादी र भूमण्डलीकृति समयमा सबैभन्दा अस्थीर भनेकै मान्छेको आर्थिक दशा हो । नपत्याए, तपाईं शेयर बजारमा हुनुहुन्छ? अस्ति नैको फुर्ति र हिजोआजको फुर्ति हेर्नुुस् न । केही भन्नु छ कि?

करिब करिब स्थायीजस्तो लाग्ने जात, र विल्कुलै अस्थायीजस्तो लाग्ने आर्थिक दशालाई ‘एउटै’ वा ‘उस्तै उस्तै’ भनेर बुझ्दा सोह्र दुना आठ त हुन्छ नै । भएकै छ त नेपालमा !

अँ, कुरा नेपथ्यका मान्छेलाई मूलधारमा ल्याउनेतिरको थियो अघिसम्म । अहिले कता पुग्यो, अत्तोपत्तो नाइँ ।

मन्छेहरूलाई मूलधारमा ल्याउनु एउटा कुरा हो । तर यी प्रश्न सोध्नु अर्कै कुरा —
— मूलधारमा टिकाउनु पनि पर्छ कि? राजनीतिको, समाजको वा राष्ट्रिय जीवनको मूलधारमा आज पनि उसै गरी सम्मानित छन् कि छैनन् ती नेपथ्यका पात्रहरू?

— तिनको जीवनको अवस्था फेरिनु पर्छ । सडक किनारमा मकै पोल्ने आमा सडक किनारमै छिन् कि कुनै पक्की घरका सरिन्? सुकुम्वासी कता पुगे? राउटे–चेपाङ–कुसुण्डाले जङ्गल छोडेर कुन नगरमा बसाइँ सरे?

उत्तर — अहिले नकराउनुस् न । मौसम अलि ठीक छैन । पछि कुरा गरौँला ।

कुरो प्रगतिशील साहित्यको हो भने यता पनि प्रश्न सोधिनु वाञ्छनीय छ—

१. लेखक कुन पार्टीको हो, त्यस कुराको कुनै अर्थ छैन । वामपन्थी नै हो वा होइन भन्ने कुरामा पनि खासै दम छैन । वामपन्थ भन्नु, समस्याको समाधानका लागि कुनै एउटा राजनीतिक मोडेलमा विश्वास गर्नु हो, सारमा । तर, अन्यायमा परेका मान्छेको मर्मकथा लेख्नु, र त्यसका लागि आफ्नै चिन्तको कुनै मौलिक समाधान सुझाउनु पनि प्रगतिशीलताको लक्षण हो । कुनै एक प्रकारको समाधानको मोडेलमा विश्वास गरे पनि, नगरे पनि, लेखक सतत: प्रगतिको पक्षधर हो, अन्यायको विरोधी हो, नेपथ्यका मानिसहरूको हिमायती हो, र समाजको चिन्तनलाई जकडेर राख्ने अधिसंरचनाहरूका बाङ्गा पक्षको घोर विरोधी हो भने ऊ प्रगतिशील हो । कुरै सक्किगो । उसको राजनैतिक रुझान् यता वा उता हुनुपर्छ भन्ने चिन्तन भ्रामक हो, गलत हो ।

२. प्रगतिशीलताको पगरी निकै सस्तो छ । सडक किनारतिर पनि बिक्छ । तर जसले पनि लगाउने भएकोले त्यसले अकार गुमाएको पनि सत्य हो । सोध्नुपर्छ— प्रगतिशील साहित्यको सौन्दर्यपक्षमा के कति सुधार भयो कालान्तरमा ? विम्बविधान उही, तर्क उही, उही पुराना द्विचर, माक्र्स र एङ्गेलकै जागित्रको सास पसेको, नाराकै बाहुल्य हो भने त्यसले प्रगतिशीलले साहित्यको विकासयात्राममा कुनै सिन्को भाँचेका छैनन् भनेर भन्दा, अर्को बेङ्क्वेटको यात्रा पनि त्रासदीपूर्ण हुने तय छ ।

रोल मोडलको कुरा जता पनि आउँछ । तर, मोडलेको अर्थ न मेथ्यू आर्नोल्डले भनेजस्तो टचस्टोनको सिको हो, न तर हेरोल्ड ब्लुमले भनेजस्तो ‘एङ्जाइटी अफ इन्फ्लुएन्स’ को मोहमा लेखिएको कुनै रचना हो । नेपालमा प्रगतिशील लेखनमा देखिएका मोडेलमा रिमाल मोडेल, भूपी मोडेल, युद्धप्रसाद मोडेल, पारिजात र अलि पछि गएर आहुति मोडेल देखिन्छन् । अरू पनि होलान् । केही भने लुसुन र गोर्कीका चेलाचपेटा छन् । थोरै चे ग्वेभाराका, र अलिकति मार्खेजका । एउटा अध्येता वा समालोचकले यी मोडेलका हिमायतीहरूले क्रमश: आफ्नो लेखनमा के कस्ता नवीन तर्क वा शैली भित्र्याए, त्यसको विवेचना गर्नु जरुरी छ ।

अतीतको लेखन, अतीत सम्झने वा अभिलेखमा चाख राख्नेहरूका लागि छोडौँ । समकालीन नेपाली प्रगतिशील साहित्यमा कतिपय आकर्षक नवीनता देखिन्छन् जो पहिले देखिँदैनथे । थियो होला, तर छद्म हुँदो हो । वक्र हुँदो हो । घुमाउरो हुँदो हो । तर, अहिले, लेखकहरू खुल्लमखुल्ला भएर आएको ठीक साँचो हो । तर, दुभाग्य, यस्ता उम्दा लेखकको सङ्ख्या निकै कम छ, जसले आफ्नो लेखनमा नवीनता भित्र्याए, र आफूलाई भिडमा एउटा छुट्टै प्रतिभाको रूपमा स्थापित गरे ।

यी नवीनताको चर्चा गरौँ । नेपाली प्रगतिशील लेखनमा जति सुन्दर तरिकाले जातजातिका पहिचानसँग जोडिएका मौलिक र रैथाने विम्बहरू सायद अन्य लेखनमा आउनुपर्नेजति परिमाणमा आएनन् । नेपाललाई अनेकता र विविधताको देश भनेर हामी कहिल्यै थाकेनौँ । तर हाम्रो लेखन, लामो समयसम्म कि संस्कृत वाङ्मय, कि राजनीति कि त इतिहासकै पोल्टाबाट विषय, विम्ब, कथन, उद्धरण, उदाहरण र प्रतीक टिपेरै उभियो । सानो सङ्ख्यामा रहेको एउटा जातिको रैथाने निधि पनि हाम्रो कविता वा कथाको विषय वा उपकरण बन्न सक्छ भन्ने उतिसारो नसोचेको नेपाली साहित्यले, विशेष गरी २०६२–६३ को आन्दोलनपछि आफ्नो आँखा रैथानै मिथक र संस्कृतितिर पनि घनीभूत रूपले लगाएको देखिन्छ । एउटा लेखकले जगतलाई हेर्ने आफ्नो विश्वदृष्टिलाई आफ्नै मौलिक पहिचानको जगमा उभ्याउनुपर्छ भन्ने चिन्तनले यस बेला प्रशय पाएको सत्य हो । त्यसो हुँदा, पहिले पहिले कि पिछडोपनको प्रतीकको रूपमा मात्रै साहित्यमा भित्रने जानजातिको वस्तुस्थिति, अचेल गहनाको रूपमा पनि साहित्यमा भित्रिन थालेको छ । कुनै पनि जातिको मूलधार प्रवेशका लागि यो एउटा बलियो टेको हो, र यसको श्रेय साहित्यलाई दिनुपर्ने हुन्छ, यद्यपि, यसको पृष्ठभागका राजनीतिले काम गरेको प्रस्ट देखिन्छ ।

यसमा अलिकति विवेचना जरूरी देखन्छ । नेपाली साहित्यभित्रको ‘नेपाली’ स्वभाव भनेको भाषा मात्रै नेपाली भएर निर्धारित हुने होइन । कुनै एउटा कविता वा कथाले नेपाली हुनलाई संसारको जुनै भाषामा अनुवाद गरिए पनि अलिकति नेपालीपन बचाएर राख्नुपर्ने हुन्छ । कुनै रचना कुनै नितान्त नेपाली उपकराणमा उभियो भने त्यो उपकरण अनुवादयोग्य हुँदैन । रचनाले जतिवटा भाषाको विचरण गरे पनि उक्त नेपाली उपकरण अक्षुण्ण रहन्छ । त्यसले रचनाको नेपालीपन बचाएर राख्छ ।

प्रगतिशील लेखनभित्रै, गोपालप्रसाद रिमाल, भूपी शेरचन, पारिजात, रमेश विकल, कृष्णचन्द्र सिंह प्रधान, दुर्गालाल श्रेष्ठ, श्यामल, खगेन्द्र सङ्ग्रौला, मञ्जुल, रुद्र खरेल, विमल निभा, अमर गिरी र नारायण ढकालहरूले, आफू जस्तो जस्तो राजनैतिक आन्दोनमा सरिक भएका भए पनि आफूले लेख्ने गरेका नाटक, कविता, निबन्ध वा आख्यानमा कला पक्षमाथि सम्झौता नगरीकनै लेखनको एउटा मानक स्थापित गरेको सत्य हो । उनीहरूका रचनालाई कहीँ न कहीँ लुसुन, गोर्की, बर्तोल ब्रेख्ट अथवा विलियम कार्लोस विलियम्सकै विरासतको नेपाली कडी हो भन्न पनि सकिन्छ, विषयवस्तुमा भन्दा पनि शैलीमा ।

हुन त प्रगतिशील कोको भनेर सोधियो भने ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनेजस्तै ताल हुन पुग्छ । अधिकांश लेखकहरू, विचारले र संस्थागत रूपले आफू जता टाँसिएका भए पनि आफूलाई प्रगतिशील नै भन्न रुचाउँछन् । माथि उल्लेखित केही मानक नामहरूले निर्माण गरेको विरासत पछ्याउँदै धेरै धेरै युवाहरू प्रगतिशील साहित्यको धारामा उभिएको पाइन्छ । तर पनि, धोरै, निकै थोरै प्रगतिशील लेखकहरूले आफूलाई मिशन राइटिङ र नारावादको दलदलबाट माथि उठाएको देखिन्छ । मिशन राइटिङको जोखिम के छ भने, यो आवधिक हुन्छ, क्षणिक हुन्छ, र एउटा मुद्दाले किनारा नपाउँदासम्म मात्रै जीवित हुन्छ । त्यो मुद्दा सम्बोधित भइसकेपछि उक्त साहित्यको आर्काइभल भ्यालु, अर्थात् एक अभिलेखको रूपमा केही महत्त्व रहनुका अतिरिक्त अन्य कुनै महत्त्व रहेको देखिँदैन । उदाहरणका लागि २०६२–६३ पछि सुरु भएको पहिचानवादी लेखनको नियति यस्तै भयो । पहिचानवादी लेखकहरूले, पहिचानवादी राजनीतिकै एजेन्डा अघि बढाएका हुन्, र नयाँ संविधान जारी हुँदा, यहाँ उठेका अधिकांश मुद्दा संवोधित भए । फलत:, लेखनमा आएका धेरैजसो पाहिचानवादी मुद्दा गएर आर्काइभल बन्न पुगे ।

पहिचानवाद एउटा दीर्घजीवी साहित्यिक आन्दोलन बन्न सक्थ्यो, तर बनेर । भन्न त भन्लान् आलोचकहरूले — यसको मूल्याङ्कन गरिहाल्ने बेला भइहालेको छैन । तर, रुझान् थाहा पाइन्छ । नेपालको पहिचानवादी आन्दोलनको जग जातजातिको मौलिक संस्कृति, मिथक, जीवनशैली वा ज्ञानकोशको उत्खनन् हुनु पर्नेमा, इतिहासकको कुनै कालखण्डमा शासनसत्तामा रहेका मान्छे, वर्ग वा जातको विरोधमा बढी केन्द्रित भयो । यसो हुँदा, यस साहित्यिक–सांस्कृतिक आन्दोलनले अनिवर्य रूपमा एउटा द्विचर खडा गर्‍यो । फलत: सबै सबैको आन्दोलन हुनुपर्नेमा, अनिवार्य खडा हुन पुगेको द्विचरको अर्को पल्लामा रहेका जातजाति, वर्ग वा मानिसहरूले पहिचानवादी आन्दोलनमा आफ्नो अंशियारी देखेनन् । त्यसैले, न पहिचानवादी आन्दोलन सङ्गठित हुन सक्यो, न त यसले कसैको बलियो नेतृत्व नै पायो । तर, अझै पनि, यस आन्दोलनलाई सङ्ल्याएर अगाडि लाने संभावना र लानुपर्ने आवश्यकता म देख्छु । किनकि, नेपालका अनेकानेक जातिको मौलिक ज्ञानकोशको किञ्चित अंश पनि लेखिएको छैन, सतहमा ल्याइएको छैन । कुरा यत्ति हो, पहिचानवादी आन्दोलनलाई भीडन्तको उपकरण होइन, उत्खननको विविध बनाउनु आवश्यक देखिन्छ । यसलाई प्रोटेस्ट लेखनको होइन, मौलिक अभिव्यक्तिको आधार बनाउनु जरुरी छ ।

यसको थप विवेचना गरौँ । मूलधारकै विमर्शबाट प्रभावित भएर साहित्यमा प्रवेश गरेका कतिपय उदयीमान लेखकहरू केही कविता वा कविता छापिएपछि, अथवा एकाध पुस्तक प्रकाशित भएपछि पहिचानवादी आन्दोलनको स्पर्शमा आए । त्यसपछि, माथि उल्लेखित अनिवार्य द्विचरको एकापट्टि उभिए अथवा उभ्याइयो । र अर्कोपट्टि उनीहरूको संलग्नता वा लोकप्रियता त्यसै त्यसै घटेर गयो । अर्कापट्टि के भयो, घाटा लाग्यो वा नाफा, भन्न सकिन्न । तर, यी उदइिमान लेखकहरूले राष्ट्रिय आकार ग्रहण गर्दै जाने आफ्नै बाटोमा आफैँ तघारो लगाएको ठिक साँचो हो । उनीहरूको एजेन्डै खुम्चेको कारण उनको आत्मविश्वासमा पनि धेरथोर आँच आएको पनि प्रस्टै देखिन्छ । उनीहरूले यो कुरा बुझिसक्दासम्म अझ नयाँ पुस्ता आइसकेको हुनेछ, र उनीहरूका लागि पुन: उभिन कठिक पनि हुन सक्छ ।

प्रगतिशील लेखकहरूमा अर्को पनि विचलन देखियो, जसले लेखक र लेखनबीच एउटा ठूलो खाडल निर्माण भएको देखिन्छ । त्यो के भने आफूलाई ‘स्थायी प्रतिपक्ष’ मानिआएका लेखकहरू सरकारी निकायमा नियुक्ति पाइसक्दा ‘तैँ चुप, मै चुप’ को स्थितिमा पुगेको देखिन्छ । यो निकै ठूलो विचनल हो, जसले लेखन र स्वाभाविमानलाई जोडेर हर्ने नयाँ पुस्ताका अनुयायीहरूको आत्मविश्वासलाई त्यसै त्यसै घटाइदिन्छ । हुँदा ह्ुँदा यहाँसम्म भएको छ कि हामीले कल्पना गरेको आदर्श प्रगतिशील लेखककै अभाव भएको छ । सबै सबै कतै न कतै, कुनै न कुनै नियक्ति अथवा लाभकै लाइनमा देखिएपछि, लेखन र कमिटमेन्टको विमर्श नै अमानक भएको पनि देखिन्छ ।

अलि नकाम समालोचनाले पनि गरेको देख्छु । प्रगतिशील लेनखको समालोचनापक्षले समयातीत र समयको भासमा गाडिने साहित्यको भेद भन्दिनुपर्ने हो, तर भनेन । समयातीत प्रगतिशील साहित्यका वैश्विक नमुनाको त्यति विवेचना भएको पाइँदैन नेपालमा । पढे पनि नपढे पनि लुसुन र गोर्कीलाई नै मोडेल मानिन्छ । यसमा समस्या छ छैन, तर लुसुन र गोर्कीको समय हामीले बाँचिरहेको समयभन्दा धेरै नै अगाडिको हो । त्यसैले, न त मुद्दामा, न नै शैलीमा उनीहरू आजको प्रगतिशील लेखनका लागि मोडेल हुन सक्छन् । आज लेखिरहेका प्रगतिशील लेखकहरूलाई, हाम्रा समालोचकहरूले मिचेल फुको, फ्रेडेरिक जेमिसन, गायत्री स्पिभाक, टेरी इगलटन, बटलर, पल द म्यान आदिका नवीन विचारसँग पनि परिचित गराउनु जरुरी छ, र घुमीफिरी उही पुराना मोडेलमा ठोक्किने खतराबाट मुक्त रहनका लागि अगाडिको बाटो देखाउनु पनि जरुरी देखिन्छ । नत्र, एउटा भित्तोमा ठोक्किँदा ठोक्किँदा टाउको किचिपिची भइसक्छ । अँ, भित्तो भने रातो हुन सक्छ ।

भित्तै भए पनि रातो त भयो त । रातो त ‘अति उत्तम’ होइन र?

हैट, यसरी तर्क गरेपछि त कफी सप नै पनि किन चाहियो र? अब त पान दोकान नै पनि काफी हुने देख्छु ।