धम्कीलाई खासै केही मानिन्न । मानेर पनि के साध्य, सधैँ आउँछन् ! मान्न थालियो भने घरबार डाम ।

तर धम्की जब प्रेमपूर्ण भएर आउँछ नि, थेग्न गाह्रै पर्छ । जस्तो कि— म अमेरिका जाने बेला एयरपोर्टमा जस्सरी पनि आइज, आइनस् भने तँलाई जिन्दगीभर भेट्दिनँ । नभेटे पनि नभेट् न त मूले भन्न सकिन्छ र? सकिन्नँ । सजिलो त नहोला, तर सकेसम्म त्यस्ता प्रेमपूर्ण धम्कीलाई टेडपुच्छर लाइन्छ ।

मेरा अग्रज उदय अधिकारीका धम्कीमा यति प्रेम र विश्वास हुन्छ कि, त्यसलाई काट्ने हिम्मत उहाँसँगै पनि हुँदैन सायद । हुँदो हो त अलिकति त मोटाउनु पर्ने । करिब पन्ध्र वर्षदेखि हेरिराछु । जिउ — उही हुइपा ।

उहाँका कतिपय धम्की झेलिसकेर उम्किई पनि सकेको छु । ‘फेसिङ ए लिटिल भोल्क्यानो’ एउटा प्रमाण । अर्को भन्दिनँ, तर छ । अझ अर्को चैँ यहाँ ओकल्छु ।

केके लेखी बस्छस् ? प्रगतिशील साहित्यको बारेमा लेख् खुरुक्क ।

यो धम्की करिब साढे तेह्रपटक थेगिसकेँ होला । अस्ति त साह्रै लाज भएर भनेको थिएँ— पख्नू है सर, एउटा नयाँ हेलमेट किन्छु अनि लेखूँला ।

हेल्मेट किनिनँ । आफैँसँग तर्क गरिबस्ने, तर यसबारे नलेख्ने मन बनाएँ । भनेँ— नजाने गाउँको बाटै पो किन सोध्नु र? फेरि आफैँले कतै लेखेको सम्झेँ— हैट्, नजाने गाउँको पनि बाटो त सोध्नुपर्छ । लोकसेवाको जाँचमा सोध्न सक्छ । मध्य–पहाडी लोकमार्गले कुन कुन जिल्ला छुन्छ लेख् भन्यो भने के गर्नु?

लेख्न तयार भएँ । कारण के भने नयाँ हेल्मेट नै नचाहिने भयो अब । पुरानैले चल्ने देखेँ । कारण, कुनै पनि लेखकलाई अप्रगतिशील देख्दै देखिनँ, भेट्दै भेटिनँ । अँ, सिद्धान्ततः ‘प्रगतिवादी’ मानिएकाहरू पनि सोइसोइला खेलिरहेका देखिन्छन् — दरबारछेउ, संसद्मा, दक्षिणतिर, उत्तरतिर । ‘स्थायी प्रतिपक्ष’ पनि नियुक्ति पाएपछि तैँचुप, मैँचुप । अँ, नियुक्ति नपाएका चैँ अब प्रतिपक्षमा । माइतीघर साक्षी छ त ! बोलाउनू त, अचेल बोल्छ माइतीघर ।

सँगै । सँगै पो त छन् त सबै, सदनमा पनि सडकमा पनि । को प्रतिपक्ष, को सरकार ?

चौतारीकै मादल भएको देखेँ प्रगतिवाद । जसले बजाए पनि हुने । जसरी बजाए पनि हुन्छ । खरी झरेको मादल । जसरी ठोके पनि भुक् भुक् भुक् भुक् मात्रै गर्ने । बिस्तारो बजाऔँ, लौ परमेश्वरी भन्दै आउलान् छिमेकी ।

नेता पूजाआजामा मस्त । पहेँलो च्यादर । रातो रामनामी । ॐ नमः शिवाय । त्रिपुण्डको कुरो लेखिनँ ल !

विमानस्थालमा कालो बोको । उता भोटो जात्रामा राष्ट्रप्रमुख ।

झलझली सम्झेँ सिइएम जोडलाई । भनेका थिए रे— समाजवाद यस्तो टोपी हो, जसलाई जसले पनि लाउँदा लाउँदा आकारै बिग्रिसकेको छ । हुन पनि हेरौँ न ! जल्लै पनि पो ! गोरु बेचेको साइनो पनि नभएकाहरूले पनि ‘प्रजातान्त्रिक समाजवाद’ भनेर गोरु त बेचे त ! भलै नदाएका बहर गोरु किन नहुन् !

सुरु गर्ने ठाउँ भेटे पो ! जमानामा के भइरहेको छ अत्तोपत्तो नपाउने एक जना मित्र छन्, जो प्रगतिशील लेखक सङ्घका निकै ठूला पदाधिकारी छन् । विगत सत्र वर्षदेखि चिन्छु । कविता सङ्ग्रह ल्याउने भनेको त्यति नै भयो होला । अत्तोपत्तो नाइँ । यस्ता धेरै पो छन् त ! नमोनमः ।

प्रगतिशीलमा नदर्रिएकाहरूको त चर्चै गर्नु परेन । नत्र मार्छन् उदय अधिकारीले ।

उही ओ हेनरीको कथा ‘अन्तिम पात’ मा एक दिन त उदात्त चित्र बनाएर छोड्छु भनेर बसेको एउटा असफल चित्रकार छ । उसप्रति हार्दिक समवेदना । त्यस्तै एकजना मित्र छन् घनेन्द्र ओझा । ‘प्रजातन्त्रवादी लेखकका कवितामा मार्क्सवाद’ शीर्षकको उनको लेखको भ्रूणले, कम्तीमा पनि दश वर्षको समय बिताइसकेको हुनुपर्छ । अझै आस मारेका छैनौँ हामीले । त्यो आउँछ नै होला, अन्तिम पात बनेर । आशा गरौँ न ! उनी पनि आखिर आसै गरेर त बाँचेका छन् । ‘आमाको सपना’ जस्तो — हो बाबू, त्यो अवश्य आउँछ ।

फेरि अर्को कुरो सम्झेँ । लिन ह्वाइट जुनियर भन्ने एकजनाले भनेका रहेछन्— पश्चिममा तीन वटा ठूला मिथकको जगमा उभिएको छ— ग्रिसेली मिथक, बाइबल र मार्क्सवाद ।

अब, मार्क्सवाद मिथक हो त? होइन त? हो त?

मार्क्सवाद पूण रूपमा लागू भएको चैँ कतै पनि देखिएन रे ! त्यसैले यो मिथक हो भन्ने भेटिए ।

मार्क्सवाद अलि अलि लागू नभएको मुलुक कतै पनि हुँदैन रे ! त्यसैले, यो मिथक भन्नु चाहिँ मिथ्या हो रे !

झगडा नि ! यो पनि हो जस्तो लाग्छ । त्यो पनि हो जस्तो लाग्छ । दिग्भ्रमित ।

कसलाई सोध्नु? सबै त अश्वत्थामा छन् यहाँ । कि त फिसर किङ छन् । कसैको निधारमा छ घाउ, सबैले देख्छन् । कसैको गुप्ताङ्गमा । देखाउन मिल्दैन । चह-याएर उखरमाउलो । उफ् !

कुरो प्रगतिशील साहित्यको । तर आज विषयले प्रवेशै पाउलाजस्तो लगेको छैन । यो प्रवेशविन्दु नै नभएको विषय प-यो । बाहिर बाहिरै रुमल्लिइरहन मज्जा । भित्र पस्यो कि फस्यो !

को फसेको छैन र यहाँ? भनौँ न ।

यानानमा माओले भनेका रहेछन् — जे लेख्छौ नि, त्यसले मजदुर र किसानको हित गरोस् । गर्दैन भने नलेख ।

यो उनको लाइन प-यो । लेखकीय जीवनभरि कसैले यति मात्रै गरिरहेको भए, सलाम । तर कहिलेकाहीँ यो, तर अरूबेला त्यो गर्छौं र पो ! के गर्नु, हरिभक्तले भनेकै जस्तो मन छ । कतै चौबन्दीमा अल्झिन्छ । कतै पछ्यौरीमा अल्झिन्छ ।

मजदुर किसानको कुरो अलि पछि, ल ?

एकजना प्रगतिशील कवि बहिनी आइन् पाण्डुलिपि देखाउन । अर्को बुद्ध जन्माउने धम्की पढेँ एउटा कवितामा । सोधेँ — बहिनी, एउटै भएको बुद्धलाई त सम्हाल्न सकेनौँ र विदेसियो । अब अर्को बुद्ध के गर्छ्यौ ? भन त, पुरानो बुद्धको उपदेशको कति प्रतिशतचाहिँ हामीले व्यवहारमा उतार्यौं ?

सुन्छु — त्यो कविता आसन्न सङ्ग्रहबाट हटिसक्यो ।

अँ, बुद्ध कसरी विदेशियो? सायद जिज्ञासा थियो । हेरौँ न, बुद्धका सबै गुम्बाका लुङ्तर । तिनका लेखिएको भाषा कहाँको हो? पढ्न सकिन्छ?

‘तेरा लेखमा सिलसिला हुँदैन । टुप्पाटुप्पामा छुँदै हिँड्छस् । कतै डेग लागेर बस्दैनस्,’ भने अस्ति एकजना शुभचिन्तकले । सुध्रिन्छु भन्छु, फेरि लियो टोल्स्टोयको पो सम्झना आउँछ । मास्टर थिए रे कुनै बेला । कक्षा सकेर बाहिर जाँदा विद्यार्थीले यसरी तान्थे अरे, कि कपडै च्यातिन्थे अरे । संसारमा सबैभन्दा बढी लुगा च्यातिने मास्टर को हुन् भनेर सोधोस् न लोकसेवाले । तपाईं पास हुनुहुन्छ अब । ढुक्क ।

जमिनदार । तर लेख्नुपर्ने निमुखाका कुरा । जुत्ता बनाउने मोचीका । सुहायो त टोल्स्टोयलाई ?

अनि सारा जमिन बाँडिदिएछन् । भएछन् फक्कडबाबा । सर्वहारा ।

अनि लेखेका थिए रे द ओल्ड सुमेकर — एउटा गरिब मोचीको कथा ।

कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ ! सम्झन्छु फेरि ।

विषयः प्रगतिशील साहित्यको छ । कुरो कलकत्ता पुगिसक्यो ।

दुइटा शाश्वत प्रश्न भने सोधिनुपर्छ यहाँ, उत्तर नदिइए पनि हुन्छ ।

प्रश्न १ — मार्क्सवादका आधारभूत मान्यता, मार्क्सदेखि आजसम्म आइपुग्दा कति फेरिए ? कहाँ कहाँ र कुन कुन बिन्दुमा संशोधन भयो? कि उही छ? समाजमा वर्गको अवस्था फेरियो कि उही छ? दुईबाट चार भए कि, पाँच कि, छः कि, उही दुई? कवि असीम सागरलाई सोधौँ त ! उनी कम्तीमा ६ वटा वर्ग त सकडमै उभिएर देखेको कुरा गर्छन् ।

प्रश्न २ — साहित्यमा, समाजको आर्थिक यथार्थलाई लेख्ने विधि फेरियो कि उही छ ? पुरानै रह्यो कि नयाँ भयो? नयाँ भयो भने नेपाली साहित्यमा त्यो नयाँ भित्रियो? कि बाँकी छ ?

यी दुवैका उत्तर उदय अधिकारीले दिएदेखि मलाई उम्कन सजिलो हुन्थ्यो कि?

— साम्यवादका लागि सशस्त्र क्रान्ति, उत्पादनका पुर्जामाथि कब्जा — मार्क्स ।

— साम्यवादका लागि शस्त्रविहीन सामाजिक परिवर्तन — इडुवार्ड बर्नस्टेइन ।

— सर्वहाराले आफैँ नेतृत्व गर्दैनन् क्रान्तिको । यसका लागि एउटा स्थायी व्यवस्था चाहिन्छ नेतृत्वको । यानि, पार्टी चाहिन्छ । र क्रान्ति, कल–कारखाना भएको सहरमा मात्रै होइन, गाउँ गाउँ पु-याउनुपर्छ । किसानक्रान्ति पनि गर्नुपर्छ — लेनिन ।

— मार्क्स र लेनिनले पुगेन । सबै जमिन र सम्पत्तिको राष्ट्रीयकरण गर्नुपर्छ । सबले काम गर्नुपर्छ । नगर्नेलाई घोक्रेठ्याक । दबे पनि दबुन् आम मान्छे । (२ करोडजति मात्रै मरेका रे नि मान्छे ।) तर राज्य तगडा हुनुपर्छ । कल कारखाना खोल्नुपर्छ र राज्यले नै चलाउनुपर्छ । राष्ट्रवाद सरकारको केन्द्रीय चिन्तन हुनुपर्छ । — स्टालिन ।

— गाउँबाट छापामार युद्धले घेरौँ । किसान, मजदुर, निम्न तहका पुँजीपति सबै साथी । बिस्तारै सहर पनि कब्जा । शासनका पुराना पद्धति र प्रतिष्ठान ध्वस्त । साम्यवादको स्थापना — माओ ।

— यिनै कुरा धेरथोर मिलाउँदा र मिसाउँदा, अनि छोप चैँ माओको राख्दा — प्रचण्डपथ । चुनाव ? ठिकै छ । सांसद ? ठिकै छ । संविधान नि ? ठिकै छ । आजसम्म आउँदा त ओम नमः शिवाय । इन्दोरको मन्दिरको सम्झना झलझली छैन र?

करिब करिब यी र यिनकै बाछिटा हुन् । माओको कुरा बढी युरोपभन्दा बाहिर, विशेषतः एुसियातिरको । युरोपेली विचारको चक्रमा पर्नु हुँदैन, किनेर बेचिदिन्छन् भन्नेसम्मको चिन्तन । एउटा खुट्टो उता, एउटा अमेरिकातिर हुँदा पो गाह्रो पर्छ बुझ्नलाई । अँ, छोराछारीलाई बाहिर पढाउन चाहिँ मिल्यो ।

यतातिर नलागे पनि हुन्थ्यो होला तर सिद्धान्ततः प्रगतिशीलताको जग यतैतिर मानिन्छ । चर्चा त गरौँ न !

हामी चैँ ‘लेखनका कुरा’मा छौँ । यो संसद्, सत्ता, शक्ति — के गर्नु र ?

हाम्रो लाइन ज्ञानगुनको । यो ज्ञानगुनको लाइनको धारो समाउँदा कतै पुगिएला कि?

पहिले भने— आर्थिक अवस्थाले चेतना निर्धारण गर्छ ।

फेरि भने — यो बुर्जवा व्यवस्था भनेको आफैँभित्रका विरोधासहरूका कारण ढल्छ ।

अब, कहिले ढल्छ भनेर पर्खिरहनुप-यो । ढलेको खासै देखिएन । एउटा ढले पनि अर्को त्यस्तै आइहाल्ने, जब्बर । सर्वहारा फेरि पनि कलधारामै ।

अनि सोच फेरे । भने, समाजको चेतना आफैँ फेरिएला भनेर पर्खेर भएन । फेर्नुपर्छ भन्ने जोश पो निकाले । यसमा केही चिन्तकका विचार निकै शक्तिशाली भए ।

एउटा आए एन्तोनियो ग्राम्ची । उनको सोच थियो— शासक वर्ग वा सरकारले ‘सत्य’ जस्तो देखिने विचार वा पद्धति बनाउँछन्, र जनता तिनको मोहपासमा ‘हो पो रहेछ’ भनेर अल्झिन्छन् । तिनको उच्छेदन जरुरी छ ।

लुइस अल्थुसरले उनको कुरालाई अगाडि बढाए । भने, एकातिर कल्याणकारी जस्ता देखिने व्यवस्था, जस्तै शिक्षा, धार्मिक प्रतिष्ठान अथवा सञ्चार माध्यम नै सत्ताको चङ्गुललाई नजानिँदो पाराले जनतामा कस्छन् । बल नै प्रयोग गर्ने सेना, पुलिस वा अन्य कानुन त हुन्छन् नै । दुवैतिरबाट जनता, क्रमशः भासमा । यो कुरो मिचेल फुकोका लेखनमा झनै प्रस्ट भएर आयो ।

उता फ्रेन्क्सफर्ट स्कुल भनिने समूहले अर्को कुरा ग-यो । भन्यो— पर्खेर बस्ने होइन, समाजको चेनता नै फेर्नुपर्छ । उठाउनुपर्छ । त्यहाँका चिन्तकले भने, मार्क्सवादले पुग्दैन । मायामा चिनी मिसाउनुपर्छ । यसमा मनोविज्ञान, सामाजिक अध्ययन र दर्शन पनि मिसाएर समग्रमा हेर्नुपर्छ । यिनलाई समाजको चेतना विस्तार अन्य कुराले भन्दा कलाले र साहित्यले गर्न सजिलो हुन्छ जस्तो लाग्यो । भएको व्यवस्थाको खोइरो खन्ने, र नयाँको वकालत कलामार्फत् गर्ने ।

पुरानो अथवा कुरूप व्यवस्थाको खोइरो कसरी खन्ने ।

भन्नुहोला — नारा लाउने नि ! जानेकै छौँ त !

अस्ति रमाइलो गरे साथीहरूले । बर्तोल्त ब्रख्तले नारा नलगाई प्रगतिशील कविता लेखे । हो, त्यस्तो लेख्नू नि भनेर के भनेको थिएँ, सब जाइलागे । नारा नै कविताको शैली हो नि ! नारै त हो ! किन नलेख्ने? लेख्छौँ नि हामी । यस्तै यस्तै ।

अब म बबुरोले भनेर रोकिने हो र नाराको तुफान ? वर्षौं भइसक्यो त चलेको !

सोच्नु पनि खासै नपर्ने । रेडिमेड भनौँ न !

यसै फ्रेङ्क्फर्ट स्कुलका एडोर्नोको एउटा कुरो नि, मनन गरियो भने बेडा पार पो गर्छ कि ! समाजको, अर्थतन्त्रको वा शासन व्यवस्थाको कुरूपता देखाउनलाई नारा नलाऊ । कलालाई यसरी कुँदा, यसरी कुँद कि त्यो आफैँमा कुरूप देखियोस् । धकेलोस् । झस्काओस् । अत्ताल्लिने बनाओस् । कसो कसो त्यसले भन्न सकोस् — इः, म यथार्थ हुँ, र म यस्तो छु । हेर मलाई । सक्छौ?

यत्ति भइदियो भने यसको विकल्पमा के हुनुपर्छ भनेर कलाकारले, लेखकले वा कविले चिन्तन गर्न थाल्छ ।

यो हो एडोर्नोको ‘क्रिटिकल रियालिज्म’, हाम्रो समान्य पिपलबोटे भाषामा । अलि अप्ठ्यारो भाषामा सुन्न खुलामञ्चतिर जानुपर्छ । भन्छन्, ‘सारसङ्ग्रवादीहरूको विसर्जनवाद र संशोधनवादले प्रतिकान्तिका मतियारहरूकै पृष्ठपोषण गरेकोले यसबेला हाम्रो अग्रगमन कुण्ठित हुन पुगेको छ । यसमा देशी–विदेशी षड्यन्त्रकारीको साजिस छ भन्ने हामीलाई लागेको छ ।’

यो सुन्न आएका हुन्छन् गरिब, शोषित, वञ्चित, सीमान्तकृत । कान यता । आँखा उता — दाल भात कतिखेर बाँड्लान् र खाएर पुनः पुग्नु गाउँ । मकै गोड्ने बेला भयो । भैँसी आजै ब्यायो कि? बित्तो सानो छ र !

यो प्रगतिशीलताको ताँदोमा तीनवटा नाम थपौँ है !

१. रेमण्ड विलियम्स । बिचरा केही वर्षअगाडि मात्रै मरे । भेट्नेहरूले भनेको सुनेको छु — सारै असल पो थिए अरे ! उनको भनाइ — संस्कृति भनेको पनि मानवनिर्मित हो । त्यसैले, उनको विचारलाई सांस्कृतिक भौतिकवाद पनि भने । उनको मूल कुरो के थियो भन्दा, समाजको मनोदशाको अध्ययन, त्यस समाजको वस्तुस्थिति, संस्कृति वा साहित्य पढेर बुझिन्छ । यिनको बुझाइ के थियो भन्दा संस्कृति भन्ने कुरा, सबैभन्दा सटीक ढङ्गले आम मान्छे, कामदार र मजदुरले बनाएका हुन्छन् र तिनको अवस्थाको चित्रणलाई बढी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्छ । अथवा तिनकै सिर्जनाको अध्ययन गर्नुपर्छ । सुकिलामुकिलाको होइन । हस्तक्षेप गर्ने काम भने, यद्यपि पनि, व्यवस्थाको हो, अध्येताको होइन ।

२. स्टेफेन ग्रिनब्लेट । यी र यिनका अनुयायीले इतिहासलाई फरक ढङ्गले हेर्ने कुरा गरेका हुन् । पुरानो इतिहास सधैँ शासकलाई केन्द्रमा राखेर लेखियो । अबचाहिँ, त्यस बेलाको समाजिक अवस्थालाई केन्द्रमा राखेर लेख्नुपर्छ । त्यसो गरियो भने, इतिहासमा आम जनताको अनुहार पनि आउँछ । र, तत्कालीन समाजको वास्तविक सामाजिक र आर्थिक दशाको चित्र पनि आउँछ । त्यसलाई भने नवइतिहासवाद । यो अहिले पनि चलिरहेकै छ । माथिको सँग फरक के भने, यसले कसको अवस्थाको अध्ययन गर्ने भन्ने निश्चत छैन । सबैको । सर्वहाराको पनि । सुकिलामुकिलाको पनि ।

यत्तिकै जाला जस्तो भयो, उदय सर ! कताबाट प्रवेश गर्नु, कता निस्कनु र खोइ ! बरु दाँतेको ‘इन्फर्नो’ मा आउनू । त्यहाँ सजिलो होला । अथवा, एकदेव ढकालको ‘रत्नभवन’ मा भेटौँ ।

त्यहीँ भन्नुहोला — तैँले छुटाइस् केटा कुराहरू । खोइ चे ग्वाभेरा ? खोइ फिडेल क्यास्ट्रो ? कता गए मेक्सिम गोर्की र लुसुनहरू ?

ग्वाभारा र क्यास्ट्रोमा दर्शनकै नयाँ ताँदो भेड्दिनँ । गोरिल्ला युद्धको नयाँ कडी भने भेट्छु । मेरो ज्ञान नपुगेको हो कि ? त्यसैले नाम मात्रै लिएँ र तर्पण दिएँ ।

मेक्सिम गोर्की र लुसुन सर्जक परे । तिनको कुरा आज गरिनँ । आज सिद्धान्तको कुरो गर्न त खोजेँ, तर छेउटुप्पो केही पत्तो पाइनँ । बुझिनँ ।

थप्नुपर्ने नाम अरू पनि छन् । टेरी इगल्टन । एलेन सिन्फिल्ड । वाल्टर बेन्जामिन । मिचेल फुको । गायत्री स्पिभाक । नाम मात्रै लिएँ । यत्ति मात्रै आयो । थप कुरो आएन । गृहकार्य जस्तो पो भो कि?

अनि कि, पूर्वमा साम्यवादको ताँदो समाउन बुद्धको धर्मचक्रको सुराकी गरौँ । योगी नरहरिनाथको ‘वैदिक साम्यवाद’ भेटिन्छ भने हेर्दा पनि हुन्छ । नहेर्दा पनि भएकै छ आजसम्म ।

आज बाँचेका प्रगतिशीलले जाँदाजाँदै अर्का एकजना मनिषीको कुरो नगरी धरै छैन । ती परे — फ्रेडेरिक जेमिशन । विशेषतः आज हामी उत्तरआधुनिकता र भूमण्डलीकरणको युगमा बाँचेको छौँ र प्रगतिशीलताको कुरा गरिरहेक छौँ भने उनको नाम कसरी नलिनु र? अहिले पनि बँचेकै पो छन् त, बुवा ।

लिम न, नामै त हो । उनका दुई वटा कुरालाई मनन गरे पुग्छ । पहिलो— उत्तरआधुनिकता भन्नु पुँजीवादकै सांस्कृतिक व्याख्या हो, तर्क हो । भन्नुको तर्क के भने, उत्तराधुनिकताको आडमा पुँजीवादले हामीलाई चुस्छ । त्यसो भा, बूढा, उत्तराधुनिकताका विरोधी पो रैछन् । विरोधी नै पनि नभनौँ, तर नयाँ शैलीका व्याख्याता भने हुन् । धेरैजसो मार्क्सवादी उनले सोचेजस्तै गरी सोच्छन् र उत्तराधुनिकताको कुरो सुन्नासाथ नारा लाउन थालिहाल्छन् ।

तर यो एउटा मत पो हो त !

जेमिशनलाई अर्को पनि लाग्छ — इतिहासलाई टुक्रा टुक्रा पारेर सके पुँजीवादीले । ध्यान वर्तमानमै केन्द्रित पारे । र वर्तमानमा, सबै कुरो बजारमा लगेर बेचे । उनको गुनासो । गुनासा त कति भने नि — पुरानो टुटाइएको, परिष्कृत र आम संस्कृतिबीचको पर्खाल भत्काइएको, गहिराइबिनाको नयाँ वर्तमान खडा गरिएको, उत्पादनभन्दा पनि पुनरुत्पादनतिर तन्किएको समय ।

प्रगतिशील त प्रगतिशील कि, तर कुन प्रगतिशील?

पहिले यो कुरा पत्ता लाउन सके नि, केही मेलोमेसो पाइन्थ्यो कि?

अर्को अङ्कसम्म सास अड्काएर बसेँ । उदय सर, बरु इन्टरभ्यु दिन सजिलो, हतासाले हानेर यो पराललाई नि, गुन्द्री बनाउन अति गाह्रो ।

क्रान्ति गरेर उः त्यो डाँडो चढ । पल्लोपट्टि सुनैसुनको बगैँचा छ । त्यो तिम्रो हो ।

हो, यस्तै आसमा लेखिरहनुको विकल्प के छ र, नि?