त्यस दिन प्रधानमन्त्रीले फोन गर्दा म कुखुरालाई चारो हाल्दैथिएँ । ‘तुरुन्त आइहाल’ भनेपछि हतारहतार एउटा कुखुरो झोलामा हालें र लगाएको ट्राउजर, टीशर्ट पनि नफेरी रात्रिबस चढेर भोलिपल्ट बिहानै उहाँको निवासमा पुगें । भन्नुभयो, ‘मन्त्रिपरिषद पुनर्गठन हुँदैछ, तिमीलाई उद्योगमन्त्री बनाइदिएको छु । दश बजे शपथ ग्रहण छ, वेलैमा हाजिर हुनू ।’
मन्त्री त हुने भएँ । तर दौरा–सुरुवाल थिएन, कसरी शपथ ग्रहण गर्नु ? अनि पुगें सालोको डेरामा । ऊ एउटा राम्रै होटलमा वेटर थियो । उसको ड्रेस नै दौरा–सुरुवाल थियो । ड्रेस लगाएर काममा जान ठिक्क परेको रहेछ । मैले आफ्नो समस्या बताएँ र उसको दौरा–सुरुवाल मागें । बिचरासँग जगेडा दौरा–सुरुवाल रहेनछ । दौरा–सुरुवालको अभावले भिनाजुको मन्त्री पद नै धरापमा पर्ने बुझेपछि उसले त्यस दिन विदा लियो र आफ्नो दौरा–सुरुवाल फुकालेर मलाई दियो । मैले त्यही लगाएर ठाँटसँग शपथ ग्रहण गरें ।
झोलामा हालेको कुखुरो के गरिस् भनेर सोध्नुहोला । मलाई थाहा थियो, तपाईं यस्तै झिनामसिना कुरामा अल्झिनुहुन्छ । मान्छे मन्त्री भैसक्यो, तपाईंलाई भने कुखुराको चिन्ता ! तैपनि सोधिहाल्नुभो, भनिदिन्छु । कुखुरा भएको झोला मैले प्रधानमन्त्रीलाई टक्रयाएँ । कृष्णलाई भेट्न जाँदा सुदामाले कनिका लगेका थिए, म खाली हात कसरी जान सक्थें ? आफूसँग जे छ, त्यही लिएर गएँ । सुदामालाई जस्तै मलाई पनि केही त होला भन्ने आस थियो नि ! आखिर हामी पनि केटाकेटीदेखिकै मिल्ने साथी थियौं । मैले ल्याएको कुखुरो उहाँलाई सानैदेखि मन पथ्र्यो । त्यसवेला कुखुराधनीले थाहा नपाउने गरी लुकाएर ल्याउँथें र जंगलमा पोलपाल गरेर खान्थ्यौं । उहाँ भूमिगत हुँदा भूमिगत रूपमै कुखुरा पुर्याउँथें । उहाँ खुला राजनीतिमा आएपछि मैले पनि खुला रूपमै कुखुरा पाल्न थालेको थिएँ । राष्ट्रिय कुखुरापालक संघको संस्थापक अध्यक्ष थिएँ, जसमा गाउँका समग्र सातवटै कुखुरापालकहरू आबद्ध थिए । प्रधानमन्त्रीबाट मेरो योग्यता र अनुभवको कदर भएपछि सातै जनाले राष्ट्रिय पत्रिकामा संयुक्त विज्ञापन छपाएर मलाई बधाई दिएका थिए ।
मन्त्री भएपछि एक हप्ता माला र खादामै बित्यो । अर्को हप्ता सचिव एउटा फाइल बोकेर आइपुगे । ‘के ल्याउनुभो ?’ मैले सोधें । ‘लेसोथोबाट एउटा सेमिनारको निम्ता आएको छ’ उनले भने । ‘कुन जिल्लामा पर्छ यो ?’ मैले फेरि प्रश्न गरें । उनले बताए, ‘स्वदेश होइन, विदेश हो । अफ्रिकामा पर्छ ।’
विदेश भनेपछि मन त्यसै त्यसै दंग भयो । सोचें, म मन्त्री भएको दुनियाँले थाहा पाइसकेछ । अनि गम्भीर आवाजमा भनें, ‘ठीक छ । गइदिउँला । कहिले जानुपर्ने हो ?’
सचिव अनकनाए । भने, ‘सहसचिव स्तरको सेमिनार हो…’
कर्मचारीले थाङ्नामा सुताउँछन् भन्ने मलाई थाहा थियो । सतर्क भएँ र स्वर बढाएर सोधें, ‘सेमिनारको उद्घाटन कसले गर्छ ?’
‘अन्तर्राष्ट्रिय सेमिनार हो,’ फाइल पल्टाउँदै उनले भने, ‘उद्घाटन त्यहींको मन्त्रीले गर्ने रहेछ ।’
‘तपाईंहरूको यस्तै बुद्धिले देश पिछडिएको हो । मन्त्री आउने ठाउँमा कर्मचारी गएर हुन्छ ?’ मैले कडा स्वरमा आदेश दिएँ, ‘अरू कुरा छोड्नोस्, म जाने तयारी गर्नोस् ।’
सचिव लुत्रुक्क परे । मलाई लाग्यो, बल्ल आफ्नो हैसियत थाहा पाए । कर्मचारीलाई यसैगरी लुत्रुक्क पार्नुपर्छ । नत्र क्रान्तिको उपलब्धि खतरामा पर्छ ।
उनले सोधे, ‘कति जनाको टोली बनाउनुपर्ला ?’
‘म भैहालें । श्रीमती जिल्लामै छिन् । कुखुरा उद्योग उनकै जिम्मामा छ । उनको ठाउँमा साली जान्छिन् । मेरो सल्लाहकार एक जना, अनि पीए । जम्मा चार जना ।’
‘एक जना उपसचिव पनि राख्नुपर्ला कि ?’ उनले सुझाव दिए ।
फेरि कर्मचारी घुसाउने षडयन्त्र ? यिनले यस्तै गरेर मन्त्रीलाई असफल पार्ने हुन् । मेरो कन्पारो तात्यो । कड्केर भनें, ‘यो उच्चस्तरीय राजनीतिक भ्रमण हो । यसमा कर्मचारीको के काम ? जाँदा विदाइ गर्न र फर्कंदा स्वागत गर्न तपाईंहरू एयरपोर्टमा आइहाल्नुहुन्छ । हवाइजहाज चढेपछि उता पुर्याइहाल्छ । त्यहाँको व्यवस्था गर्न सम्बन्धित दूतावासलाई भन्नोस् ।’
‘सेमिनारमा प्रस्तुत गर्ने कार्यपत्र सहसचिवज्यूले तयार पारिसक्नुभएको छ । त्यो आजै हजूरलाई टक्रयाउँला,’ सचिवले भने ।
कर्मचारीको घेराबन्दीमा कुनै हालतमा पर्न हुँदैन भन्ने मैले राम्ररी बुझेको थिएँ । तिनले तयार पारेको कार्यपत्र लिएर आफ्नो स्तर घटाउने कुरै थिएन । भनें, ‘त्यसको काम छैन । म आफैं तयार गर्छु ।’
सचिवका आँखा ठूला भए । छक्क परेछन् क्यार । ‘हजूरले जस्तो मर्जी हुन्छ’ भनेर हात जोडे र लुरुक्क फर्केर गए । मेरो छाती ठूलो भयो ।
सल्लाहकार आफ्नै सालो थियो । होटलमा काम गरेकाले टाक्कटुक्क अंग्रेजी पनि बोल्थ्यो । अब दौरा–सुरुवाल छोडेर सूट–टाई लगाउन थालेको थियो । उसलाई भनें, ‘अर्को हप्ता विदेश जानुपर्ने भो । सेमिनारका लागि एउटा कार्यपत्र तयार गर्ने व्यवस्था गर ।’
त्यसपछि म सेमिनारको महत्त्वपूर्ण तयारीमा व्यस्त भएँ । दुई जोर सूट सिलाएँ । एक जोर ट्रयाकसूट किनें । चश्मा थोत्रिएको थियो, नयाँ बनाएँ । जुत्ता ठीकै थिए, नयाँ उतै किनेर लगाउने निर्णय गरें । एउटा राम्रो सूटकेस किनें । सालीलाई दुई जोर नयाँ लुगा हालिदिएँ । श्रीमतीलाई फोन गरेर विदेशबाट ल्याउनुपर्ने सामानको सूची बनाएँ । एक हप्ता यसैमा बित्यो ।
निश्चित दिनमा आफ्नो दलबल सहित विदेश प्रस्थान गरें । राजदूत आफ्नै पार्टीका थिए । दूतावासले राम्रै व्यवस्था गरेको रहेछ । सेमिनारको उद्घाटनमा शानसँग उपस्थित भएँ । आफ्नो परिचय दिंदै सहभागी चौबीसै जनासँग हात मिलाएँ । सेमिनारमा भाग लिन मन्त्री नै आएको भनेपछि मेरो ठूलो इज्जत भयो । सबैले ‘मिनिस्टर’ भनेर सम्बोधन गर्न थाले । खाना निकै मीठो रहेछ । आठथरी त मासु मात्रै !
भोलिपल्ट मैले कार्यपत्र पढ्ने पालो थियो । बिहान ब्रेकफास्टपछि सालोसँग मागेर हेरेको, १८ पृष्ठको रहेछ । के–के लेखेको हो, बुझे त मरिजाऊँ । ‘कसलाई लेख्न लगाएको ?’ भनेर सोधेको, लेख्ने मान्छे उसले पनि चिनेको रहेनछ । उसले आफ्नो होटलको म्यानेजरलाई भनेछ, म्यानेजरले बेलुका बेलुका जाँड खान आउने रिटायर्ड प्राध्यापकलाई भनेछ, उसले आफ्नो पुरानो विद्यार्थीलाई अह्राएछ र त्यसले कम्प्युटरमा कताकताबाट कट–पेस्ट गरेर भोलिपल्टै तयार पारिदिएको रहेछ ।
त्यत्रो कार्यपत्र पढ्न सम्भव थिएन । मैले अक्किल लगाएँ र ‘समयको कमीले पूरा कार्यपत्र पढ्न असमर्थ भएँ, त्यो तपाईंहरूलाई ईमेलबाट उपलब्ध गराउँछु’ भनेर शुरू र अन्तिमका एक–एक प्याराग्राफ पढेर काम सकें । त्यही पढ्न पनि सारै गाह्रो भयो । बीचबीचका शब्द उच्चारण गर्न नसकेर पसीना छुटयो । धन्न, मैले कार्यपत्र सुनाउने बेलामा सात–आठ जना मात्र उपस्थित थिए । तीमध्ये पनि एउटा झुपुझुपु उँघिरहेको थियो र चार जना आपसमा गफ गरिरहेका थिए । त्यसले मलाई निकै राहत भयो ।
त्यही दिन सालोले खोजेर ल्याइदिएको एउटा यूटयुबरलाई कार्यक्रमको ब्यानरसामु उभिएर घच्चीको अन्तर्वार्ता दिएँ । सेमिनारमा नेपालको प्रस्तुति प्रभावकारी भएको र नेपालको प्रगतिबारे थाहा पाएर दुनियाँ चकित भएको बयान गरें । अन्तर्वार्तालाई सामाजिक सञ्जाल र आफ्नो पार्टीका अनलाइनहरूमा राख्न लगाएँ । साथीहरूले भाइरल बनाए । देशमा प्रधानमन्त्री पछि मेरै चर्चा हुन थाल्यो ।
त्यसपछि हामी शपिङतिर लाग्यौं । बजारमा खासै केही पाइँदो रहेनछ । साली निराश भई । अनि मैले फर्कने कार्यक्रम फेरबदल गरें । सीधै स्वदेश नफर्केर युरोपतिर लागें ।
युरोपमा सालीले धक फुकाएर शपिङ गरी । त्यहीं उसको भूतपूर्व ब्वाइफ्रेन्ड फेला पर्यो, जो एउटा पेट्रोल पम्पमा काम गर्दो रहेछ । एक दिन बियरले रमरम भएपछि उसले एउटा बुलन्द आइडिया निकाल्यो र हामीबीच गम्भीर छलफल भयो ।
उसले भन्यो, ‘हजूर त उद्योगमन्त्री । देशमा अब गुन्द्रुक उद्योग खोल्नुपर्यो । हामीकहाँ वर्षेनि लाखौं टन साग खेर गइरहेको छ । त्यसलाई जम्मा गरेर गुन्द्रुक बनाउने हो भने संसारभर गुन्द्रुकको निर्यात गर्न सकिन्छ । वर्षेनि करोडौंको आम्दानी हुन्छ ।’
‘देशभरिबाट साग कसरी संकलन गर्ने नि ?’ मैले प्राविधिक समस्यातर्फ ध्यानाकर्षण गराएँ ।
‘त्यसका लागि एउटा एप लन्च गर्नुपर्छ,’ उसले जुक्ति सिकायो ।
‘लगानी कसले गर्छ ?’ मैले मूल प्रश्न उठाएँ ।
उसले भन्यो, ‘शुरूमा तीन करोड जति लाग्छ । त्यो भनेको दुई लाख युरो हो । पेट्रोल पम्पको मालिक पेड्रो मेरो साथी जस्तै छ । म उसलाई लगानी गर्न मनाउँछु । एप पनि उसैले बनाइदिन्छ ।’
मलाई तालुमा आलु फलेजस्तो लाग्यो । स्वदेश फर्केकै दिन दुइटा कुखुरा लिएर प्रधानमन्त्रीलाई भेटें र सबै कुरा बताएँ । उहाँ दंग पर्नुभयो । त्यसै दिन बेलुका टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, ‘हाम्रो सरकार आएपछि विश्वमा देशको प्रतिष्ठा बढेको छ । लेसोथोमा उद्योगमन्त्रीले पाएको अभूतपूर्व सम्मान त्यसैको प्रमाण हो ।’
उहाँले घोषणा गर्नुभयो, ‘अब हामी प्रत्यक्ष वैदेशिक लगानीमा गुन्द्रुक उद्योग स्थापना गर्दैछौं । यो दुनियाँकै पहिलो गुन्द्रुक उद्योग हुनेछ । त्यसका लागि ‘मेरो साग’ नाउँको एप लन्च गरिनेछ, जसबाट देशभरिको साग संकलन गर्न सकिनेछ । अब देशमा एक त्यान्द्रो साग पनि खेर जानेछैन ।’
गुन्द्रुक उद्योग र ‘मेरो साग’ एपको चर्चा चुलिइरहेकै वेला सालीको भूतपूर्व ब्वाइफ्रेन्डले फोन गरेर भन्यो, ‘पेड्रोले त लगानी गर्न मानेन । अब के गर्ने ?’ मैले भनें ‘चूप लागेर बस । अरू केही गर्नुपर्दैन । घोषणा गर्नु थियो, गरिहाल्यौं । त्यसको पुच्छर लाग्न कसलाई फुर्सत ?’
यसैबीच वैदेशिक लगानी भित्र्याएर राष्ट्रको समृद्धिमा योगदान पुर्याएको भनेर चारवटा टेलिभिजन र आठवटा अनलाइनमा मेरो अन्तर्वार्ता प्रसारित भइसकेको थियो । राष्ट्रपतिबाट पदक पनि पाइसकेको थिएँ ।
यसप्रकार, मन्त्रीका रूपमा मेरो पहिलो विदेश भ्रमण सफल रह्यो । अर्को विदेश भ्रमणको दाउ हेर्दै थिएँ, कोरोना आयो र लकडाउन भैहाल्यो । त्यसपछि एक वर्ष भइसक्यो, देशको इज्जत बढाउन कतै जान पाएको छैन । हेरौं, अब कहिले मौका पर्ने हो ?
(पूर्व प्रकाशित)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।