भोलि शुक्रबार, पांक्षिक रूपमा स्तम्भ थालेको छु– मलाई थाहा छैन

विगत केही दिनदेखि दिमागमा एउटा कुराले बहुत जोर जोरसँग हिर्काइरहको छ । तर शीर्षक ‘गोठमा झुण्डिएको त्यो डोरी‘सिवाय अरू एक शब्द लेख्न सकेको छैन । शुरु गर्नुभन्दा निरन्तरता दिनु खै किन गाह्रो हुन्छ ? मलाई थाहा छैन ।

“फेरि अर्को पनि गएछ ।”, आवाज निरजको हो, आफ्नै रुमबाट सुनाउँछ ।

“लाइभ आएरै ?”, म सोध्छु, तर ऊसँग पक्का जानकारी छैन । भन्छ, “अरे ! तर भिडियोचाहिँ छैन मैले देखेको ।”

म झन धेरै रन्थनिन्छु । मेरो दिमागमा खै केले हो ? पटक पटक एघार हजार भोल्टको झड्का महसुस भइरहन्छ ।

गत मंगलबार साँझ, दिन साहित्यपोस्टकै वेवसाइटमा बिताएर पल्टिने सुरमा थिएँ, अचानाक फेसबुकको न्यूज फिटमा एउटा भिडियो देखियो । जुन एक युवतीले लाइभमा आएर आत्महत्या गरेको थियो । तर मैले हेरेकै भिडियोचाहिँ लाइभ नभएर मेरो फ्रेण्ड लिस्टमै भएकी एक युवतीले आफ्नो वालमा राखेकी थिइन् । जुन केही दिनअघिको भिडियो भए पनि मैले हेरेको थिइनँ । समचारमा भने पढेको थिएँ ।

कृष्ण ढुङ्गेल

उसो त मान्छे मरेको,  काटमारको,  कुटपिटको तथा आत्महत्या गरेको फोटा तथा भिडियोहरू सञ्जालमा राख्नेलाई घृणा गर्छु । भरसक हेर्दिनँ । न्यूज फिडमै आइपुगे पनि छिटो छिटो स्क्रोल गरेर भाग्छु । तर त्यो भिडियोबाट मलाई भाग्न खै केले दिएन ? मलाई थाहा छैन ।

हो, म त्यो भिडियोबाट भाग्न सकिनँ । हेरेँ । भिडियोमा एक कलकलाउँदो उमेरकी युवती छिन्, उमेर २० पक्कै पुगेको नहोला ! बेडमाथि कुर्सी राखेर उनी फेनमा सल बाध्ने कोसिसमा देखिन्छिन् । केही समयको प्रयासमा सफल हुन्छिन् र केहीबेरमै कुनै पीडा नै महसुस नभए जसरी तनक्क हुन्छिन् । के साँच्चै मर्न यति सजिलो छ ? यो प्रश्न आफैँलाई गरिरहँदा म आफूलाई पूर्ण रूपमा खालि महसुस गर्छु । लाग्छ, मेरो भाडाको कोठा पूरै घुमिरहेको छ । म पल्टिएको ओछ्यान घुमिरहेको छ, फन्फनी । र सबैभन्दा बढी त मेरो दिमाग घुमिरहेको छ । त्यो अव्यक्त शून्यताले मलाई मेरो बाल्यालसँग जोडिएको एक घटनासम्म पुर्याइ छोड्छ । खै किन कुनै स्मिृतिमा धुमिल बनिरहेको कुरासम्म पुग्न पनि केहीले पैदा गरिदिएको शून्यता आवश्यक हुन्छ ? मलाई थाहा छैन ।

====================

उमेरले सात वर्षको हुँदो हुँ । गाउँमा भर्खरै बिजुली बलेको थियो । बिजुलीसँगै भित्रिएको थियो टेलिभिजन । शनिबार नेपाल टेलिभिजनले हिन्दी फिल्म दिन्थ्यो । नेपाली फिल्म हेर्नका लागि सिडीको सहारा लिनुपथ्र्यो । त्यो पनि आफ्नोमा पहुँच थिएन । तावा परिवारमा विदेशबाट ल्याएको ३२ इन्चे टेलिभिजन र डिभिडी प्लेअर थियो । र, त्यही हेरिन्थ्यो दाइ दिदीहरूसँग नेपाली फिल्महरू । त्यो समयमा नेपाल फिल्मी जगतमा राजेश हमाल, निखिल उप्रेती, दीलिप रायामाझी, श्रीकृष्णलगायतका हिरोहरूको राज थियो । त्यसमा पनि मलाई सबैभन्दा मन पर्ने दीलिप रायामाझी । अचेल मेरा प्रिय नायक दीलिप रायमाझी के गर्दै होलान् ? मलाई थाहा छैन ।

फिल्म हेर्नेक्रममा एउटा कुरो मेरो बालमस्तिष्कमा गहिरो गरी गढ्यो । जसलाई उप्काएर फाल्न कसैले सकेन, र त्यसको रहस्य थाहा पाउन म आफैँ माथि प्रयोग गर्दाे भएँ । यदाकदा फिल्महरूमा हिरोहरू मरिरहेका हुन्थेँ । कही राजेश हमाल त कहीँ निखिल उप्रेती, कही दीलिप रायामाझी त कहीँ श्रीकृष्ण श्रेष्ठ । तर अघिल्लो फिल्ममा मरेको त्यही हिरो अर्काे फिल्ममा हाँसिरहेको हुन्थ्यो । गुण्डाहरूलाई पिटिरहेको हुन्थ्यो । अचम्म ! मेरो लागि खुब रहस्यको कुरो बन्न पुग्यो त्यो । अँ साँच्ची, मान्छे मरेपछि जाने स्वर्ग र नर्क कहाँ कहाँ होलान् ? मलाई थाहा छैन ।

दिन शनिबारको । महिना पक्कै पनि भदौको । म कुखुराको खोरपछाडि माछाको चारो गँड्यौला खन्दै थिएँ । गँड्यौलाका लागि मलिलो माटो खन्दैजाँदा माटोमा खै कहिलेदेखि पुरिएर रहेको डोरी फरुवामा अल्झिएर आयो । डोरी त्यस्तै दुई मिटरको हुँदो हो । त्यसबेला ममा खै कुन शक्तिले काम गरिरहेको थियो ? म सरासर ग्वाली (गोठ) तिर लागेँ । दिउँसो गाई वस्तु ग्वालीमा हुँदैनन् । अझ बर्खामास, उसै पनि हिलो हुने, ग्वाली सुकाउनका लागि भए पनि वस्तुभाउ सबेरै निकाल्नु पर्छ । तर गाईको बाछो भने ग्वालीमै थियो । मेनुका (दिदी) ग्वालीको छेउमै थिई ।  मेनुकाको भागमा दिउँसो बाछोलाई मीठो घाँस खुवाउने जिम्मा परेको हुनुपर्छ । ऊ मलखाडीका डिलमा रहेको कलकलाउँदो दूबो काट्दै थिई ।

ग्वालीमा ढाट लगाइएको हुन्छ । ताकि वस्तुभाउले घाँस तथा पराल नटेकून् र घाँसमा नगोब्य्राऊन, नमुतून् । ग्वालीमा मभन्दा थोरै अग्लो बनाएर टाँड छुट्याइएको थियो । तल वस्तु बाँध्ने, माथि दाउरा, मकैका ढोड, खोस्टालगायत राख्न मिल्ने प्रयोजनाका लागि । टाँड छापिएको थिएन, तर बाँस तथा काठका छ्डकेहरू बाक्लै राखेर सामान राख्ने मिल्ने बनाइएको थियो । भुइँदेखि भेट्ने मेरो उचाइ थिएन, वस्तुका लागि लगाइएको ढाटमा चढेर टाँडमा तेस्राइएको एउटा बाँसमा उही गँड्यौला खोज्दा फेला पारेको डोरी बाँधे । त्यही डोरीलाई मालाझैँ आफ्नै घाँटीमा पनि बाँधे । मलाई थाहा थियो, झुण्डेपछि मान्छे मर्छ । कर्सिगं बाको मिलमा काम गर्ने लाटो पनि त झुण्डिएरै मरेको थियो नि ! तर एउटा फिल्ममा मरेको हिरो अर्काेमा कसरी बाँच्छ ? मलाई थाहा थिएन ।

डोरो सुर्कनो नभएर गाँठो परेछ, घाँटीमा दबिएन । तर असर त परिगयो । डोरीलाई हातले समाएर म ख्याक् ख्याक् गर्न थालेछु । खुट्टाहरू कोक्रोझैँ हल्लिने थाले छन् । खासमा त्यो मेरो ढाटमा टेकेर आफू बाँच्ने प्रयास हुनुपर्छ । तर मेरा खुट्टा र ढाटको तालमेल कति पनि मिलेको थिएन् । डोरी घाँटीमा सुर्कनो न परेर के भो त, मेरो अगाडि अँन्धकार छाउँदै गएको मलाई महसुस भए । केहीबेरमै मैले आफूलाई भुइँमा पछारिएको पाएँ । छेउमा मेनुका रुँदै बसेकी थिई । घाँटीमा उसैगरि डोरी मालाझैँ गाँठो परेर बसेको थियो । आँखाअघि, केहीबेरअघि टाँडमा बाँधेको डोरोको चुँडिएर रहेको भाग पूर्ण स्थिर बनेकै थिएन । सुस्तरी सुस्तरी चलयामान थियो । थाहा पाएँ, म फिल्मका हिरोहरू जस्तै मरेर बाँचेको रहेनछु । बरु म छट्पटाउन थालेपछि मेनुका मेरो खुट्टामा आएर झुण्डिएकी रहिछे । माटोमुनि दबिएर बसेर मक्किएको डोरीले मेनुका र मेरो भार थाम्न नसकी चुट्टिएको रहेछ । र म बाँचेको रहेछु । धन्न ! डोरी मक्किएको रहेछ । यदि डोरी नमक्कीएको वा डोरी मेनुका र म दुवैको भार थाम्न सकेको भए आज म स्वर्ग वा नर्क कहा हुन्थेँ होला ? मलाई थाहा छैन ।

………………

मान्छेले आत्महत्याको प्रयास मुख्यतः दुई कारणले गर्छ– आवेग (आक्रोस) र मानसिक समस्या । तर म अपवाद हुँ । म रहरले आत्महत्याको प्रयास गर्नेहरूमध्ये पर्छु । मानसिक समस्याको कारण आत्महत्या गर्नेहरूका बारेमा उनीहरूको समस्याको समाधान नै प्रमुख समधान हुनुपर्छ । तर आवेग र रहरको आत्महत्या सरासर मूर्खतासिवाय केही होइन । र यी दुई कारकहरूले अहिलेको लाइभ आएर आफैँलाई मार्नेहरूको शृंखलामा मनोवैज्ञानिक सम्बन्ध राख्छ । यी दुई एकअर्कामा के कति अवस्थामा अन्तरसम्बन्धित पनि छन् भन्ने मलाई लाग्छ ।

आक्रोशमा गरिने कुनै पनि क्रियाकलापमा कसैलाई देखाउने रहर हुन्छ । रहरमा गरिएका त रहरै भइहाले । यसरी हेर्दा आक्रोमा पनि सूक्ष्म रूपमा रहर मिसिएको हुन्छ । साथीभाइ, प्रेमीप्रेमिका तथा परिवारमा आएका विवादको आवेगमा आएर गरिने मनोविज्ञानले ‘अरूलाई देखाइदिन्छु’ भन्ने मनोभाव पैदा गर्छ र त्यसैको नजिता अहिले एकपछि अर्को गर्दै फेसबुकमा लाइभ आएर आत्महत्या गर्नेहरूको शृंखला हो ।

हामी अहिले आफ्ना बच्चालाई सकेसम्म दुःख नदिन चाहान्छौँ । सुखसयलमा उनीहरूलाई राखेको कुरा सम्झेर आफैँसँग घमण्ड गर्छौँ । तर दुःख सिकाउन बिर्सिन्छौँ । दुःख नबुझ्ने भनेको जीवनको आधी पाटो छुट्नु हो । दुःखले आवेगमा नियन्त्रण सिकाउँछ । यदि आवेगमा नियन्त्रण गर्न सक्नेमात्र हो भने पनि कमसेकम अरूलाई देखाउने आक्रोशमा गरिने आत्महत्यामाथि लगाम लगाउन सकिन्छ ।

तपाईँलाई सबै पुगिसरी भए तापनि आफ्ना बच्चालाई आवेग नियन्त्रण सिकाउनुहोस् । बच्चाले सिक्ने भनेकै आफ्नो परिवारबाट हो । जानीजानी दुःख दिनुहोस्, साना साना । सामथ्र्य छ भन्दैमा उनीहरूका सारा इच्छा र चाहानाहरू पूरा नगर्दिनुहोस्, केही अपूरै छोड्दिनुहोस् । अभावमा रहन दिनुहोस् । केही इच्छा चाहानाहरू उनीहरूकै लागि छोडिदिनुहोस् । विज्ञान, प्रविधि र विश्वको बारेमा थाहा नभए पनि हुन्छ, मानवीयता र संवेदना बुझाउनुहोस् ।

हामी खै किन संस्कारको नाममा बच्चाहरूमा आवेग, संवेदनाहिनता र घमण्ड भरिरहेका छौँ ? मलाई थाहा छैन ।