तपाईंले शुरुबाटै चिया अड्डा ‘फलो’ गर्नुभएको छ भने निक्की तपाईंका लागि नयाँ नाम नहुन सक्छ । अघिल्लो दुई भागमा निक्की आइन । मैले एउटा भागमा आत्महत्या गर्नेहरूप्रतिको हेराईका बारेमा र मानव मनको संवेदनशीलताका बारेमा चर्चा गरेको थिएँ भने अर्को भागमा सामाजिक संजालको सदुपयोग कसरी गर्न सकिन्छ भनेर केही कुराहरू राखेको थिएँ । त्यसलगत्तै निकै दिनपछि निक्कीले मेसेज पठाई, “तपाईंको चिया अड्डामा त आजकल चियाको कुरै हुन छोड्यो नि ?”

“अँ, आजभोलि गाउँतिर आको छु । घरमै चिया पिउँछु । चिया अड्डामा नपसेको धेरै भयो । घरकै चिया पिएर बसेपछि गाउँकै कुराहरू लेखौंजस्तो सोच पनि आयो ।”

“यो त झन् मज्जाको कुरा हो नि ! अनि मलाई किन वास्ता नगर्नुभा’को त ?”

“मतलब ?”

“मेसेज गर्नुभएन नि ! ”

म उसलाई किन मेसेज पठाउँथें र । असली परिचय नै नखुलेकीलाई बरु एड पो कुन सुरमा गरेछु । कोही आफ्नै साथीले केटीको आइडी बनाएर मजाक पो गरेको हो कि ? फेक आइडीलाई जवाफ त अड्कलेर दिनुपर्छ, अझ आफैँ पहिले नै बोलाउँला र ? तैपनि रूखो बनिहाल्न मन लागेन र भनिदिएँ, “आजकल फेसबुक अलि कम नै चलाउँछु ।”

“हाहाहा, गफ पनि अलि पत्याउने लगाउनु नि ! चौबीस घण्टा अनलाइन बसेर, घण्टा घण्टामा पोस्ट गरिराख्ने मान्छेले फेसबुक कम चलाएँ अरे !”

म निच्च परें ।

हुन पनि सुतेको बेलाबाहेक दिनको अठार घण्टा त छुस्स छुस्स गरेर मोबाइल खेलाइरहेको हुँदो रहेछु । त्यसमा पनि अधिकतम समय त फेसबुक नै चलाइरहेको हुँदो रहेछु ।

हिजो राती पनि मोबाइलको चार्ज सक्किएपछि वस्तुभाउलाई किलोमा बाँधेजसरी मोबाइललाई चार्जरमा जोडेर सुतेँ । बिहान उठेपछि आँखा खुल्नासाथ फेरि त्यही मोबाइल हेरेर दिनको शुरुवात गर्नु नै थियो । अनि टन्न चार्ज नभरेर भयो त ?

पुराना दिनहरू सम्झिएँ, जतिबेला हातमा मोबाइल थिएन । फेसबुक भनिने सबैले चिहाउन मिल्ने जिन्दगीको खुल्ला नाटक पनि थिएन । हामी स्वतन्त्र थियौँ । जीवनका असली रङहरू हामीसँग थिए । हामी त्यतिबेला चौतारीमा गफ गरिरहेका हुन्थ्यौं । या कतै कुनै चियापसलको बाहिर हातभरि मैदाको धुलो समेटेर क्यारम बोर्डमा पोइन्ट जितिरहेका हुन्थ्यौं ।

सुरेश बडाल

म हाम्रो गाउँका आमाहरूलाई हेर्छु । घरकै आमा, हजुरआमालाई हेर्छु । न त मोबाइलको चासो, न त फेसबुकमा के के भयो भन्ने चिन्ता, न त इन्स्टाग्राममा कस्तो फोटो पोस्ट्याउने भन्ने पीर । फगत जिन्दगी जिन्दगीजस्तै नै वास्तविक देखिन्छ । हजुरआमाहरूलाई न त सन्चो भएन भनेर कहिल्यै फिलिंग सिक लेखेको फेसबुकमा स्टाटस राखेर केयर रियाक्ट बटुल्नु पर्छ भन्ने ध्याउन्न छ । न त आमाहरूलाई हातहरू छिया छिया पारेर घाँस काटेको भिडियो खिचेर टिकटक बनाउनु पर्छ भन्ने सुर छ ।

हजुरबाहरू ‘हर गंगे’ गरेर नुहाउनु हुन्छ एकाबिहानै, गायत्री मन्त्र पढ्नु हुन्छ, ध्यान जप गर्नुहुन्छ । उठ्नासाथ क-कसको आज बर्थडे परेछ भनेर कहिल्यै हेर्नु हुन्न । बा’हरू बजार डुल्नु हुन्छ, किनमेल गर्नु हुन्छ, खेतबारीमा जानु हुन्छ, भत्केका आली अड्याउनु हुन्छ, पानी लगाउनु हुन्छ, समाह थुन्नु हुन्छ, घरतिर यताउता नियाल्नु हुन्छ, खाजा खानुअघि दहीच्युरा, मकै भटमास, गहुँको रोटीहरूका फोटाहरू खिच्नु हुन्न, फेसबुकमा राखेर खाजा सेलाउने बेलासम्मै नखाई नखाई, लाइक र कमेन्ट गन्नु हुन्न ।

आउन त प्रविधि हामीलाई नजिक बनाउन भनेर आयो । तर हिजो जो टाढा थिए, त्यसलाई त नजिक बनाइदियो, तर जो नजिक थिए, तिनलाई भने निकै पर बनाइदियो । म कहिलेकाही अचम्ममा पर्छु । कति धेरै परिचितहरू जसलाई हामी असलमा को हौँ भन्ने थाहा छ, उनीहरू फेसबुकमा लाइक गर्छन्, कमेन्ट गर्छन् । तर बाटोमा भेट्दा बोलिहाल्न हिच्किचाउँछन् । अनि अरू केही अपरिचितहरू पनि छन् जसले हामीलाई रत्तिभर चिन्दैनन् तर फेसबुकमा जोडिएपछि कतै भेट्दा बोलाइहाल्छन् ।

हामीलाई हाम्रा छेउछाउका मान्छेहरू बिराना लाग्न थालेका छन् भने परका मान्छेहरू आफ्ना लग्न थालेका छन् । जिन्दगीको रित यस्तै नै हो । समयले जसको महत्त्व देख्छ उसैलाई नजिक ल्याएर जोडिदिन्छ । जो आफूसँग जोडिन आउँछन् उसैसँग भावनात्मक रूपमा सम्बन्ध स्थापित गरिदिन्छौँ हामी । र त यस्ता सम्बन्धहरू टुट्दा अथवा केही दूरी हुँदा हाम्रो चित्त दुख्ने गर्छ ।

पहिले स्कुल पढ्दा सँगै एउटै भाँडामा खाएका, एउटै बेन्चमा वर्षौँ बिताएका साथीहरू पनि समयसँगै छुटेर जान्छन् । हामी कुनै समयमा एउटालाई बेस्ट फ्रेण्ड भन्छौं, त्यही बेस्टफ्रेण्ड पनि समयअनुसार थपिँदै अथवा एउटाको ठाउँ अर्कोले लिँदै जान्छन् । हामीसँग स्कुल पढ्दा, गाउँघरमा खेल्दा, कलेज पढ्दा, व्यापार व्यवसाय वा अन्य कुनै जागिर गर्दासमेत नयाँ नयाँ साथीहरू बन्दै जान्छन् । ती साथीहरू हामीले चाहेर बनेका हैनन्, ती त समय र आवश्यकताले जुराएका हुन् । तर यो पनि सत्य हो कि चाहना नमिलेकाहरू चाहिँ आत्मीय बन्न सक्दैनन् ।

हामी समयको कुनै कालखण्डमा कुनै एक मान्छेलाई नै विशेष ठानेर हरदम च्याट गरिरहेका हुन्छौँ । फेसबुकमा पनि त्यही व्यक्तिलाई खोजिरहन्छन् हाम्रा आँखाहरू र कुराकानी गर्छन् औँलाहरू । तर यो सम्बन्धको पनि एउटा सिमा रहन्छ । जब कुरा गर्ने विषयहरू लगभग सकिँदै जान्छन् तब कुराकानी पनि पातलिँदै जान्छ । हिजोका मन मिल्ने साथीहरू अब हल्काफुल्का लाइक र कमेन्टमै सिमित हुन्छन् । त्यही औपचारिक सम्बन्ध पनि बिस्तारै धमिलिँदै जान्छ र बिल्कुल अपरिचितजस्तै हुन जान्छन् । बिस्तारै त्यो ठाउँ अर्थात मेसेन्जरको च्याटबक्स अर्कै साथीले लिन थाल्छ ।

आउने-जाने, मिलन-विछोड र समयले गराउने कार्यहरू सबै जिन्दगीका पाटाहरू हुन् । एउटै मान्छे साथीको रूपमा जिन्दगीभर रहनसक्नु एउटा असामान्य अवस्था हो । यसरी सम्बन्धलाई जोगाउने कला कोही कोहीसँग मात्र हुन्छ । नत्र त हिजो नजिक भएकाहरू आज टाढा हुन्छन्, आज नचिनेकाहरू भोलि नजिक बन्छन् । भावनालाई आफ्नो अनुकूल सन्तुलनमा राखेर हामीले सम्बन्धको सत्यलाई स्विकार्न सक्यौँ भने सायद हामी धेरै दुखी हुनु पर्दैन ।

त्यही भएर त भनिन्छ नि, जो साथी जीवनभरको लागि साथ दिन आउँछ त्यही नै जीवनसाथी हो । यसकारण अस्थायी सम्बन्धहरू, इन्टरनेटबाट बनेका भर्च्युअल सम्बन्धहरू चिरस्थायी भएनन् भनेर पीर मान्नु हुँदैन । हामीले वास्तविक जीवनमै साथहरू छुटेका देखेका छौँ । जसरी छुटेकी थिई ऊ जसलाई म ज्ञानी भनेर जिस्काउँथें, ऊ मलाई बुद्धु भन्थी । नभन्दै बुद्धु नै त रहेछु म । जो फेसबुकबाट जीवनमा ओर्लिएकी थिई, उसलाई जीवनकै कारागारमा आजीवन बन्दी बनाउने मन थियो, तर ऊ त मेरा आँखाहरूमा भ्रमका धुलो छरेर फरार भैदिई ।

निक्की सोध्छे, “कस्तो लाग्दैछ त घरको चिया ?”

भन्छु, “यहाँ चिनी नराख्दा पनि मिठास आउँछ चियामा, किनकि यहाँ आफ्ना मान्छेहरूसँग बसेर चिया पिउन पाइन्छ ।”

“उता शहरमा नि ?”

“उता त केही थोपा यादहरू तप्किन्छन् कपमा । तिमीलाई थाहै हुनुपर्ने, नमीठा यादहरूमा मीठा स्वादहरू हुँदैनन् ।”

“जो आफ्नो थिएन, त्यो गयो, अनि त्यो पराईलाई सम्झेर जिन्दगी कतिन्जेल चल्छ ?”

“कतिन्जेल पनि चल्दैन मलाई थाहा छ, तर तिमीलाई यो पनि थाहा हुनुपर्ने, कहिल्यै रित्तो नहुने कोठा भनेकै मनको कोठा हो, अर्को नआउन्जेल पुरानाका खातापाता भुइँभरि छिरोलिएका हुन्छन् ।”

निक्की निकैबेर मौन रहन्छे ।